ढुंगा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्। जानकी गाउँपालिका-३ का ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको आरोपमा उनका २४ वर्षीय छोरा गणेश चौधरी पक्राउ परेका हुन्। गणेशलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो। घरायसी विवादमा गणेशले ढुंगा प्रहार गर्दा हिराको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे सूचना प्राप्त हुनसाथ घटनास्थल पुगेको प्रहरीले गणेशलाई सोही स्थानबाट पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्या आरोपमा जनकपुरधाम-२४ को बसहियाका पवन सहनी र मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेको हो । कार्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीले हत्यामा उनकै साथीहरु सहनी र मण्डलको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ । जटहीमा रहेको नेपाल-भारत सीमा पारिबाट लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा भाटाले प्रहार गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको क्रममा मृतकले प्रयोग गरेको साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले लगाएको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
बाँके: नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको लागि निस्शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो । उपमहानगरपालिकाले गएको साउन १ गतेदेखि सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताउनुभयो। उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युुदर घटाउन प्रभावकारी भएको उहाँको भनाइ छ । उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो । ुअस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार नागरिकको सुख, दुःखमा सँगसँगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता होु, उहाँले भन्नुभयो, ुचौबीसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स ‘स्ट्याण्डबाई’ रहन्छन्, ुहामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ । सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले उपमहानगरपालिकाले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाले नगरका २३ वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलोपटक एक जना एमबीबीएस चिकित्सक र ल्याब टेक्निसियनसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छ । ुविशेषज्ञ सेवाका लागि नेपालगञ्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवर्द्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छु, उहाँले भन्नुभयो, ुअहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई मध्यनजर गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिएको छ ।
बारामा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको ज्यान गएको छ । हिजो बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको ज्यान गएको हो । निजगढ नगरपालिका-८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारको मोटरसाइकल दुर्घटना भएको हो । टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएको हो ।
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु र ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो । दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु, सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह रहेका छन् । यस्तै वडानम्बर १२ बस्ने २३ वर्षीया सेजल गुरुङ, सोही ठाउँका ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता, बाराको कलैया-७ का १८ वर्षीय प्रसाद गुप्ता, सोही ठाउँका ३५ वर्षीय अविनाश गुप्ता र बारा जितपुरसिपरा उपमहानगरपालिका-२ का १९ वर्षीय अनिष राई पनि घाइते छन् । उनीहरू मध्ये वीरबहादुर र सुरज साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भई बस दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ। उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो। उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भए वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए।
नेपालगन्ज: सदभावको सहरको रुपमा परिचित नेपालगन्जमा बडादसैंको दिन शुभसाइतमा मङ्गलवार मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् । मुस्लिमको चाडपर्वमा हिन्दुहरु रमाउने र हिन्दुहरुको चाडपर्वमा मुस्लिमहरु रमाउने परम्परालाई कायम राख्दै मुस्लिम अगुवाहरुले दसैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिएका हुन् । यहाँका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले मङ्गलवार हिन्दु समुदायका मान्यजनबाट दसैंको टीका थाप्नुभयो । उहाँले दसैं, तिहार, रक्षाबन्धन, होली, दीपावलीजस्ता चाडपर्वहरु सधैं यसैगरी मिलेर मनाउने गरेको बताउनुभयो । मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनलाई बोलाएर उहाँहरुसँग रमाउने गरेको पनि अगुवा मन्सुरीले बताउनुभयो । हिन्दु र मुस्लिम समुदायले वर्षौदेखि सँगै मिलेर एकआपसमा दुबै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ । सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्दिकीले पनि दसैंमा हिन्दु समुदायका आफन्त र मान्यजनबाट टीका थाप्नुभएको छ भने उहाँले पनि आफुभन्दा सानालाई टीका लगाइदिनुभएको छ । उहाँले वर्षौदेखि आफूले दुबै समुदायका चाडपर्वमा रमाउनेगरेको जनाउँदै एकअर्कासँग मिलेर सँगै मनाउने गरेको बताउनुभयो । हिन्दुले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दुको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्दिकीको भनाइ छ । उहाँले यहाँ बर्षौदेखि दुबै समुदाय अति नै राम्रोसँग मिलेर बसेको जनाउँदै दुबै समुदायवीच निकै राम्रो सम्बन्ध र घनिष्टता रहेको बताउनुभयो । सोही प्रकारले अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंमा टीका जमरा लगाएर आशीर्वाद लिएको बताउनुभयो । उहाँले सबैका चाडपर्वलाई सम्मान गरेर सामेल भई मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । हिन्दु समुदायका अगुवा कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जमा एकअर्काको चाडपर्वलाई मिलेर मनाउने निकै राम्रो परम्परा रहेको जनाउँदै आफुले पनि मुस्लिमका पर्वहरुमा उनीहरुको घरमै पुगेर मनाउँदैआएको बताउनुभयो । उहाँले यहाँ दुबै समुदायवीच अभूतपूर्व एकता र सदभाव रहेको जनाउँदै कहिलेकाहीं बाहिरी हावाले गर्दा केही वातावरण धुमलिने पनि दुबै समुदायले मिलेर फेरि वातावरण सफा गर्दै आएको बताउनुभयो । सोही प्रकारले मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीलाई भेटेर दसैंको शुभकामना दिनुभएको छ । सो अवसरमा सद्भाव र एकताका लागि दुबैले संयुक्त रुपमा सबैसँग आग्रह गर्नुभयो । -एजेन्सी
पोखरा महानगरपालिका–२५ फुर्केटारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ग १६ प २९१ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा ग १६ प २९१ नम्बरको मोटरसाइकल चालक गोरखाको पालुङटार घर भएका ३० वर्षीय शुक्रराज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल चालक र त्यही मोटरसाइकलमा पछाडि बसेका व्यक्तिको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
दाङ देउखुरीमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय शन्तराम चौधरी रहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डको राप्ती गाउँपालिका ५ लठ्ठहवा सिंगेखोला पुल नजिकै बा ९ च ७१९८ नम्बरको स्कारपियोले रा ६ प ५७३८ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई ठक्कर दिएको थियो । बिहीबार राति ९ बजे भएको सो दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सिसहनियाँले जनाएको छ ।