आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...

पोखरा:  पोखरा १ कस्केरीका मनध्वज तामाङ भदौं ६ गते माछा मार्न सेती नदीमा बल्छी हानिरहेका थिए ।   माछामा नजर लगाइरहेका मनध्वजले अचानक दाई सन्तोष तामाङ सेती नदीमा बगिरहेको देखे ।   आफ्नो दाई नदीमा बगिरहेको देखेपछि उनले नजिकै रहेका सादा पोशाकका प्रहरीलाई उद्धार गर्न सहयोग मागे तर सहयोग पाएनन् । ति सिआइडीको टोलीले ३ जनालाई पक्राउ गरेर वडा प्रहरी कार्यालय बगरको भ्यानमा राखे । त्यसपछि लागुऔषधको कारोबार भएको कुरा मनध्वजले चाल पाए । त्यही समूहमा सन्तोष तामाङ पनि थिए ।   सिआइडीले लागुऔषध कारोबारीलाई खेदेपछि सन्तोष डराएर सेती नदीमा हाफ फालेको स्थानीयको भनाइ छ ।   एसपी खनालको नेतृत्वमा छानबिन समिति   सन्तोष तामाङको फोन साथीले प्रयोग गरेर अर्को साथीलाई सम्पर्क गरिरहेका थिए । साथीले कस्केरीतिर जाऔं भनेपछि त्यहाँ गएको र लागुऔषधको कारोबार बारे सन्तोष बेखबर रहेको स्थानीयहरुको तर्क छ । तर प्रहरीले त्यो कुरालाई स्वीकार गरेको छैन ।    गल्ती नभए सन्तोष सेती नदीमा हाम नफाल्ने प्रहरीको जिकिर छ । त्यसैले सत्यतथ्य पत्ता लगाउन प्रदेश प्रहरी कार्यालय गण्डकीले छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।   ‘बेपत्ता सन्तोषको अझैपनि अवस्था अज्ञात नै छ । खोजीकार्य भइरहेको छ र परिवारलाई पनि समन्वय गरिरहेकै छौ, जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकले भने, ‘घटनाको सत्यतथ्य पत्ता लगाउने गरी प्रदेशबाट एसपी साबको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।’   उनका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रहरी उपरीक्षक केदार खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।    अझै भेटिएनन् सन्तोष   सेतीमा पसेका सन्तोषको खोजीकार्य तिब्र पारिएपनि अझै पनि उनको अवस्था अज्ञात छ ।    उनी सेतीमा बगेको भाई मनध्वजले पुष्टि गरेपछि खोजी गर्न वडा प्रहरी बगरमा सन्तोषका परिवारले निवेदन दिएका थिए ।   त्यतीमात्र नभइ आफ्नो दाई सिआइडीले लखेटेकै कारण सेतीमा हाम फाल्न बाध्य भएको आरोप लगाउदै दुई वटै सादा पोशाकका प्रहरी (सिआइडी) लाई कारवाही गर्नुपर्ने तामाङ परिवारको माग छ ।     परिवारको माग अनुसारनै सशत्र प्रहरी बलको टोलीसँगको सहकार्यमा खोजी कार्य जारी रहेको डिएसपी श्रवण कुमारले बताए ।    ‘खोजी कार्यका लागि परिवारले प्रहरी कहाँ निवेदन दिएको छ, परिवारले निवदेन नदिएपनि यस्तो अवस्थामा प्रहरीले खोजी कार्य गर्नु कर्तव्य नै हो, उनले भने, ‘हामीले व्यापक खोजी गरिरहेका छौ ।'    उनले सो घटनामा जोडिएका २ जना सादा पोशाकका प्रहरीलाई छानबिन समितिको प्रतिवेदन नआउन्जेल जिम्मेवारीबाट हटाइएको बताए ।    ‘अनुसन्धानका लागि छानबिन समिति नै गठन भएको छ । उहाँहरुको प्रतिवेदन नआएसम्म कारवाही स्वरुप अहिले जिम्मेवारीबाट हटाइएको छ,’ डिएसपी श्रवण कुमारले भने ।   तीनजनामाथि अनुसन्धान जारी   गत ६ गते लागुऔषधसहित पक्राउ परेका तीनैजनामाथि अनुसन्धान जारी रहेको डिएसपी श्रवण कुमारले बताए ।   ‘छानबिन समितिले आफ्नो तरिकाले काम गरिरहेको छ । बेपत्ता सन्तोषको खोजी कार्य पनि जारी छ, उनले भने, ‘यता लागुऔषधसहित पक्राउ परेका तीन जनामाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरु हाम्रो नियन्त्रणमै छन् ।’    लागुऔषध कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानूनी प्रावधान रहन्छ ।    वडा प्रहरी कार्यालय बगरको टोलीले गत भदौ ६ गते पोखरा १ जौबारी मुनी सेती नदीको तिरबाट लागुऔषधसहित पोखरा २५ का विरेन्द्र शर्मा, सोही स्थानकै सविन आलेमगर र एक जना नाबालगलाई पक्राउ गरेको थियो ।  

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ।   गोरखा नगरपालिका- १० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो।   पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए।   जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो।

गण्डकी:    भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए। चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलवार बिदाइ गरे।   झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भने, ‘पितृ उद्धारका लागि गरिने हाम्रो कूलपूजा हो, यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजिन्छ, भदौबाहेक अरु महिनामा मनाउन नमिल्ने भएकाले यसलाई भदौरे पर्व भनिएको हो।’ प्रकृति पूजक मगरहरूले यो पर्वलाई धुमधामसँग मनाउने गरेको उनले सुनाए। अरु जातजातिमाभन्दा अनौठो गरी कूल पुज्ने परम्परा रहेकाले पनि भदौरे सिस्नो खोस्ने पर्वले धरैको ध्यान खिच्ने गरेको तारागाउँका अगुवा घर्तीको अनुभव छ। भदौ त्यसमाथि बार पनि एउटै पारेर भदौरे पर्व मनाउने गरिन्छ। सचिव घर्तीका अनुसार शनिबारदेखि सुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने चलन छ। सधैँझैँ यसपालि पनि पर्वको पहिलो दिन गाउँका बूढापाकाले घर र बाटोघाटो सफाइ गरे। दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवायुवतीसमेत मिसिए। तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए। सोही ठाउँमा उहिले–उहिले लेकका गोठालाले ठेकीमा नौनी घिउ र मही लिएर आउने गरेको बताइन्छ। ‘सोमवार साँझदेखि विधिवतरूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ’, सचिव घर्तीले भने, सुँगुरको साँप्रोलाई हरियो सिस्नाको मुठ्ठाभित्र बाँधेर अविवाहित युवायुवतीले खोसाखोस गर्ने अनौठो चलन यस पर्वसँग गाँसिएको छ।’ सोमवार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम मगर जातिको हेम्थो ९कूल० घरमा हुन्छ। राँगाको बलि पनि कूलघरकै आँगनमा दिने गरिन्छ। स्थानीय रिमबहादुर घर्तीको घरलाई गाउँलेले कूलघर मान्दै आएका छन्। घर्तीका बुवा मुखिया भएकाले सोही घरलाई पछि कूलघरका रूपमा लिइएको हो। पूजापाठ, बलि र सिस्नो खोस्ने काम कूलघरकै पछाडिको बारीमा हुन्छ। बारीमा देउता पुज्दा रनवन पुर्कादै ढ्याङ्ग्राको तालमा गीत गाउने चलन छ। उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ। पूजा र बलि दिने ढुङ्गालाई गाउँलेले डम्मरु ९उखुरधुम० पूजास्थलमा कुटस र अम्रिसोको लिङ्गो गाडिएको हुन्छ। लिङ्गोलाई गाउँलेले ‘सितम सेउला’ र ‘बजा सल्ला’ भनेर चिन्छन्। लिङ्गोमुनि पूजा, धुपबत्तीसहित गुरुबा र पुजारीले पूजापाठ चलाउँछन्। गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ। गाउँका साँध–सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ। गीतलाई बूढापाकाले बाचा बाँधेको रूपमा पनि लिन्छन्। खाम भाषामा गाइने भएकाले जो–कोहीलाई गीत बुझ्न कठिन पर्छ। पुर्खा, कूलपितृ र देवी–देउतालाई गीतबाटै घुमाएर कूल (हेम्थो) घरमा ल्याएर राखिन्छ। वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगाको बलि दिने बेला हुन्छ। बलि दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ। जिउँदो राँगाको सात करङ भाँचेपछि मुटु निकालेर कूलघरको सिरानमा चढाउने परम्परा रहेको स्थानीय झकबहादुर घर्तीले बताए। बिहानै राँगाको बलि दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) सुरु हुन्छ। गीतबाट घुमाइफिराइ पितृलाई कूलघरमा ल्याएपछि दिउँसोपख सुँगुरको बलि दिने बेला हुन्छ। कूलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बलि दिइन्छ। उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ। पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ। गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी सुरु हुन्छ। बलि दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ। एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन्। पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरू हुन्छन्। समूहमा ‘आयो, आयो..’ भन्दै गीत गाउने गरिन्छ। बारीको पल्लो छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न य्वती तम्तयार हुन्छन्। हातमा सिस्नो समातेका युवक युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन्। युवतीहरू पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस। यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ। कोही घोडा र सिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन्। ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ। युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ। अन्तिममा एक पक्षले जित्छ। जसले जिते पनि सँुगुरको साँप्रोको मासु प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन्। युवतीले जिते युवकहरूले दण्ड तिर्नुपर्ने चलन छ। अन्तिममा फेरि कूलघरको आँगनमा आएर सिस्नो खोसाखोस गरेपछि भदौरे पर्व सकिन्छ। यसरी नै सदियौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन्। पर्वको आयोजना र व्यवस्थापन मगर समाजले गर्दै आएको छ। समाजले पर्वको खर्च जोहोका लागि छुट्टै कोषसमेत बनाएको छ। गाउँलेको भलो, सुख, ऐश्वर्यसहित पशुचौपायामा रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाइन्छ। छिमेकी गाउँबाट समेत पर्व अवलोकनका लागि आउने गरेको ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले बताए।   ‘भदौरे मगर समुदायको सांस्कृतिक पर्व हो, पछिल्लो समय यो मेलाकै रूपमा आयोजना हुन थालेको छ, पर्व हेर्न मानिसको घुइँचो लाग्छ’, उनले भने, ‘परम्परागत संस्कृतिको जगेर्नाका लागि वडा र गाउँपालिकाले पनि सक्दो सहयोग गर्दै आएको छ।’ पहिले ताराखोला–४ र ५ को साझा पर्वका रूपमा भदोरैलाई लिने गरिए पनि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो पर्व जोडिएको छ। परम्परा धान्न बूढापाकादेखि युवापुस्ताको सक्रियता र सहभागिता रहँदै आएको वडाध्यक्ष खत्रीले बताए। विवाहितले सिस्नो खोस्न नमिल्ने भएकाले पनि युवापुस्ताको सहभागिता यो पर्वमा अनिवार्यजस्तै छ।   सिस्नो खोस्ने पर्वलाई अविवाहित युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ। सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ। घरदेखि टाढा रहेका पनि भदौरे मान्न गाउँ फर्किने गर्छन्। आफन्त भेटघाट हुने, सुखदुःख साट्ने मेसो पनि यो पर्वले जुटाउँछ।   सदियौँअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले यो पर्वको प्रचलन बसालेको संस्कृतिकर्मी बिर्बलाल घर्तीले बताए। ‘भदौरे पर्व किन र कहिलेदेखि मनाउन सुरु गरियो भन्ने यकिन तथ्य त कसैसँग छैन’, उनले भने, “कृषियुग सुरु भएपछि यस्ता पर्व, परम्परा सुरु भएको मानिन्छ।’ भदौरे पर्वको कथामा पनि वनपाखा, पशुचौपाया र गोठालाको प्रसङ्ग रहेको संस्कृतिकर्मी घर्तीले बताए। उनका अनुसार ताराखोला–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कूलपूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ। हिलमा गत साता सो पर्व मनाइएको थियो। अर्गलमा भने मङ्सिरमा सिस्नो खोस्ने पर्व मनाउने चलन छ। ‘भदौरैजस्ता ऐतिहासिक र सांस्कृतिक पर्व, परम्पराको जगेर्ना हुनुपर्छ’, संस्कृतिकर्मी घर्तीले भने, ‘यी कुनै जातजातिको मात्र नभएर समाज र राष्ट्रका धरोहर हुन्, चिनारी हुन्।’

पोखरा: नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सवैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिएका छन् ।   एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सहकारी डुवाउने, खराब कर्जाका भागिदार र गल्ती गर्नेहरु एमालेका नेता कार्यकर्ता हुन नसक्ने वताउदै त्यस्ता ब्यक्तिलाई कारवाही गर्ने स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएका हुन् । केही केही सहकारी र त्यसका सञ्चालकहरु नै सुदखोर जस्ता भएको वताउदै एमाले सचिव विष्टले त्यस्ता ब्यक्ति र संस्थाले सहकारी आन्दोलनलाई कमजोर बनाएको उल्लेख गरे । ‘कमजोरी जहाँ छ, समस्या जहाँ छ, त्यहाँ समाधान पनि छ । हरेक ठाउँमा देखिएका समस्या समाधानको पहलकद्मी एमालेका नेता कार्यकर्ताले लिनुपर्दछ । गल्ती गर्नेलाई कारवाही गर्नै पर्दछ’ विष्टले भने ।   ‘मिश्रित अर्थव्यवस्था र तीन खम्बे अर्थनीति एमालेको कार्यक्रम हो तर यसको सही प्रयोग र प्रचार गर्न सकिएन ।’ नेता विष्टले भने, ‘समाजवादमा पुग्न श्रम सहकारी बनाएर त्यसमा आवद्ध श्रमिक सदस्यहरुलाई उत्पादनमा जोड्नै पर्दछ । उर्जा र हाईड्रोमा लगानी गर्न लगाएर इक्युटी मार्फत श्रमिकलाई मालिक बनाउन सकिन्छ ।’ कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सहकारी विभाग प्रमुख खगराज अधिकारीले सहकारीलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा विकास गर्न सवै परिवारलाई सहकारी संस्थामा आवद्ध गर्नुपर्नेमा जोड दिए । सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि एमालेको विकास समबन्धी नीतिको सार रहेको उल्लेख गर्दै नेता अधिकारीले काँग्रेस र माओवादी सहकारी विरोधी भएको आरोप लगाए । पार्टीका प्रदेश उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य मन कुमारी जिसी, सहकारी अभियान्ता मिनराज कँडेल, ओमदेवी मल्ल ठकुरी, परीतोस पौडेल,भेषराज बराल  लगायतले सहकारी आन्दोलन, अहिले देखिएका समस्या र समाधानका उपाय, नेपालको अर्थतन्त्रमा सहकारीको योगदान लगायतका विषयमा वोलेका थिए । कार्यक्रमको सञ्चालन एमाले प्रदेश सचिव धनन्जय दवाडीले गरेका थिए ।   भेलाको उदेश्य बारे एमाले गण्डकी प्रदेश सहकारी विभाग प्रमुख महेन्द्र लाल श्रेष्ठले प्रकाश पारेको एमाले गण्डकी प्रदेश प्रचार बिभाग  उप प्रमुख पुण्य पौडेलले  जानकारी दिए।

पोखरा:   पोखरा १० अमरसिंहचोका मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएको सविता कुमारी दनुवारको शव परिवारले बुझेको छ ।   मृतक परिवारलाई ६ लाख क्षतिपुर्ति दिने सम्झौता भएपछि सविताको श्रीमान् दीपेन्द्र दनुवारले शव बुझेका हुन् ।   यद्यपी मृतक परिवारले शव बुझेपनि ठक्कर दिएका मोटरसाइकल चालक सुजन गुरुङ (२१ वर्षीय )माथि भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।    ‘पीडित परिवारलाई क्षतिपुर्ति दिने सम्झौता भएपछि शव बुझेर लगिसक्नुभएको छ । यद्यपी घटनाबारे अनुसन्धान भने जारी नै छ,’ निमित्त प्रमुख श्रवण कुमारले सुनगाभा न्यूजसँग भने । उनले पीडित परिवारले शव बुझेर गएपनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको दोहोर्याए । ‘पीडित परिवारसँग क्षतिपुर्ति बारे कुरा मिलिसकेपनि मुद्धा दर्ता भएकाले अनुसन्धान जारी छ, उनले भने, ‘अनुसन्धान सकेर मोटरसाइकल चालकलाई पेश गर्नेछौ ।’   क्षतिपुर्ति स्वरुप ६ लाख दिने सम्झौतापछि शव उठाएको मृतककी  श्रीमान् दीपेन्द्र दनुवारले सुनाए । ‘अहिले ५० हजार मात्रै पाएका छौ । त्यै ६ लाख दिने कुरा भाको हो । अरु बाँकी पैसा यताको काम(काजक्रिया) सकेर पोखरा आएपछि दिने कुरा छ,’ उनले भने ।   यो पनि पढ्नुहोस   अमरसिंहचोकमा मोटरसाइकलको ठक्करबाट सविताको मृत्यु पोखरा महानगरपालिका १० अमरसिंहचोकमा गत १३ गते (बुधबार) मर्निङ वाकमा रहेकी सवितालाई बिहान करिब ५ बजे लखनचोकबाट औधोगिक क्षेत्रतर्फ जाँदै गरेको ग १० प ३५७६ को (पल्सर २२० सिसी) मोटरसाइकलले ठक्कर दिएको थियो ।   ठक्करपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि केही समयपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।   महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ स्थायी घर भई पोखरा १० बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता दनुवारको ३ वर्षीय दुधे बालक र ५ वर्षीय छोरा छन् । सविताको परिवाले मजदुरी गर्दै जिविकोपार्जन गर्दै आएका थिए ।    यसअघि गत ११ गते सोमबार सभागृहचोकमा मालबहाक ट्रकको ठक्करबाट ज्यान गुमाएकी तनहुँको म्याग्देकी २० वर्षीय वर्षा कुमालको शव पनि परिवारले बुझिसकेको कास्की प्रहरीले जनाएको छ ।    

सरकारले सरोकारवाला पक्षहरूसँग छलफल नै नगरी निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषदबाट पारित गरेर संसदमा पेश गर्न लागेपछि राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले विरोध गरेको छ।   सरोकारवालाहरूसँग प्रभावकारी छलफल नगरी सरकारले ऐनको मस्यौदा संसदमा पेश गर्न लागेको भन्दै अभियानले विरोध गरेको हो। सरकारले संघीय निजामती सेवा ऐनमा समावेश गर्न लागेका केही प्रावधानमा कर्मचारीहरूले फरक मत राख्दै आएका छन्। कर्मचारीका वृत्ति विकासका लागि बाधा पुग्ने प्रावधान मस्यौदामा राखिएको भन्दै विरोध भएको हो।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको ऐनको मस्यौदामा समायोजन पुनारावलोकनको कुनै व्यवस्था नगरिएको उनीहरूको भनाइ छ। साथै खरिदार र शाखा अधिकृत तहको पदपूर्तिमा बढुवाको प्रतिशत घटाइएको, चौथो तहबाट पाँचौं तहमा तहवृद्धिको व्यवस्था नराखिएकोमा उनीहरूले विरोध गरेका हुन्।   सहसचिव तहमा आन्तरिक र खुला प्रतिस्पर्धाको व्यवस्था मस्यौदामा नरहेकोमा पनि उनीहरूको विरोध छ। सेवाको सुरक्षासम्बन्धी व्यवस्थालाई निजामती सेवा ऐन २०४९ मा भन्दा कमजोर बनाइएको भन्दै कर्मचारीहरूले गत भदौ १७ गते विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन्।   संघीय निजामती सेवा ऐनको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र लोक सेवा आयोगबाट सुझाव लिई मन्त्रिपरिषदमा पठाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार छिट्टै ऐनको मस्यौदा मन्त्रिपरिषदबाट पारित गरी संसदमा पेश गरिने बताएका थिए।   कर्मचारीहरूले तीनै तहका सरकारका प्रशासनिक तहमा एकरूपता कायम गर्न समयसीमा किटान गर्न र सबै तहमा एकै मितिबाट लागु हुने गरी प्रत्येक ५ वर्षमा १ तह वृद्धि हुने प्रावधानसहित तहगत व्यवस्था लागु गर्न माग गरेका छन्।   पहिलो पटकका लागि कुनै तहमा ५ देखि १० वर्षसम्म काम गरेका कर्मचारीलाई एक तह र १० वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई दुई तह वृद्धि हुने व्यवस्था गर्न उनीहरूको माग छ। शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत अन्तरतह प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग पनि कर्मचारीहरूले राखेका छन्।   राजपत्र अनंकित दोस्रो श्रेणी खरिदार सरहको पदमा खुला ७० प्रतिशत, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत ज्येष्ठताको व्यवस्थासहित अन्य पदको बढुवा तथा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था निजामती सेवा ऐन, २०४९ को बमोजिम यथावत रहनुपर्ने उनीहरूको भनाइ छ।   साथै सहसचिव र उपसचिव पदको खुल्लातर्फ प्रतिस्पर्धा गर्न तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता र सेवा अवधि भएका राजपत्र अनंकित कर्मचारीले पनि सहभागी हुन पाउनु पर्ने, कर्मचारी समायोजनबाट उत्पन्न समस्याको न्यायोचित समाधानका लागि एक पटकलाई समायोजनको पुनरावलोकन गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग उनीहरूले राखेका छन्।   संघ, प्रदेश र स्थानीय तहमध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवाको निरन्तरता कायम हुनुपर्ने, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवाको अधिकृत तहमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत वढुवाको व्यवस्था हुनुपर्ने, सबै तह, समूह र पदमा समानवृत्ति विकासको सुनिश्चितता गर्नुपर्ने, सरुवा प्रणाली चक्रिय र पुर्वअनुमान योग्य हुनुपर्ने उनीहरूको माग छ।  

राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ।   अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो। यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। ‘धादिङ जिल्लामा पृथ्वी राजमार्गले लामो क्षेत्र ओगटेको छ।   दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ,’ उनले भने, ‘धादिङ जिल्लाले थालेको यो अभियानमा सबै जिल्लाले सुरु गर्नसके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ।’​ अभियानअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ।   पृथ्वी राजमार्ग हुँदै देशैभरका सवारीसाधन सङ्घीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले पनि अभियानको थालनी गरिएको हो। ‘सबै जिल्लाबाट आवतजावत गर्ने सवारीसाधनका चालक सहचालकको धादिङ जिल्लाले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन । सबै जिल्लाका लागि सन्देश दिन पनि यो अभियान थालिएको हो’, उनले भने।   स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। उनले भने, “स्वास्थ्य समस्या भएकामध्ये अधिकांशमा उच्च रक्तचापको समस्या भेटियो। स्वास्थ्य समस्या देखिएका चालक सहचालकलाई आराम गराउँदै उपचार गरेर पठाएका छौं। सवारीधनीलाई फोन गरेर जानकारी दिने र सचेत रहन सल्लाह पनि दिएका छौं।’   दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए। उनले भने, ‘चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियानकै रूपमा चलाएको हो।’ यो अभियानसँगै जिल्लामा रहेका प्रत्येक ट्राफिक युनिटले दैनिक एक–एकवटा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।   कारबाही गर्ने, राजस्व सङ्कलन गर्नेमात्र नभई चालक, सहचालक, यात्रुको गनासो सुन्ने र तत्काल ट्राफिक प्रहरीबाट हुनसक्ने समस्या समाधान खोज्ने लक्ष्य लिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। ‘नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष कार्ययोजना बनाएका छौँ, धादिङ जिल्लामा २४सै घण्टा जाँच पर्ने गरी ठाउँ–ठाउँमा भिन्दाभिन्दै कार्यक्रम गरिरहेका छौं,’ उनले भने।   चालक र यात्रुले भने सडकमै जाँच गर्नुको सट्टा काउन्टरबाट सवारी छुट्नुअघि जाँच गर्दा अझ प्रभावकारी हुने बताएका छन्। बाटोमै सवारी रोकिँदा यात्रुलाई गन्तव्यमा पुर्याउन ढिलाइ हुने भएकाले सवारी छुट्ने ठाउँ बसपार्कमै यस्ता जाँच गर्न चालक मनोज कुमालले आग्रह गरे। यात्रुले भने प्रहरीको यो अभियानको प्रशंसा गरेका छन्। दिनानुदिन भइरहेका दुर्घटना रोक्न चालकको स्वास्थ्य परीक्षणले सहयोग पुग्ने र यात्रा सुरक्षित रहने यात्रु लोक थापामगरले बताए।

वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ।   आइतबार बिहान एक पुरूषले हाम्फाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।​ मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। उनी अन्दाजी ४० वर्षीय पुरूष हुन्।    अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए। 

रुकुम पश्चिम: रुकुम पश्चिमको चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजुबहिनीको ज्यान गएको छ ।   हिजो दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको ज्यान गएको हो ।    जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिनुभयो ।