आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...

  बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।    आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्युभएको हो ।   स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ ।     आइतबारदेखि हराइरहेका वृद्धाको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिनुभयो ।

  काठमाडौं । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ ।   सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।   उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेङ्गुका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेङ्गु देखापरेको छ ।   “पहाडी क्षेत्रमा पहिला डेङ्गु, मलेरियालगायतका लामखुट्टेले सार्ने रोग देखिने गरेका थिएनन्” सम्पर्क व्यक्ति जोशीले भन्नुभयो, “पहाडी क्षेत्रमा सडकको व्यवस्था भएसँगै यातायातका साधनको चहलपहल बढ्न थाल्यो, त्यसमै लामखुट्टेसमेत भित्रिन थाले, त्यसमाथि जलावायु परिवर्तको असरसमेत पर्यो  ।”   पहिला सर–सामान ल्याउनका लागि वर्षमा दुई–तीनपटक मात्रै पहाडी क्षेत्रका बासिन्दा तराई झर्ने गरेको उल्लेख गर्दै उहाँले पहिला औलो र डेङ्गुको त्यति खतरा नभएको बताउनुभयो । यातायातका साधनमा चहलपहल बढेसँगै लामखुट्टेले सार्ने रोगको जोखिमसमेत उत्तिकै बढेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा विशेषगरी खोँच, उपत्यका, नदी तथा खोलामा बढी न्यानो हुने ठाउँमा लामखुट्टे बढी पाइने गरेको उहाँको भनाइ छ ।   “स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने कार्य गरेको छ”, उहाँले भन्नुभयो, “आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको छ । पहाडीसहित तराईका जिल्लामा  जनचेतना फैलाउने कार्यसँगै डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ ।”   उहाँका अनुसार डेङ्गुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ । त्यसपछि विस्तारै घट्दै जान्छ । दुई–तीन वर्षअघिदेखि मात्रै डेङ्गुको सङ्क्रमणबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । त्यसअघि डेङ्गुको सङ्क्रमण सुदूरपश्चिममा निकै कम थियो ।   डेङ्गु ज्वरो भाइरसका कारण लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार छैन । अस्पताल पुगेका बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ । एडिस एजिप्टी र एडिस एल्वोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट डेङ्गु सार्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेका गमला, फूलदानी, कुलर, टायरलगायतको सफा पानीमा लार्भा बस्ने भएकाले समय–समयमा पानी फाल्ने कार्य गर्नु पर्दछ ।     गमलाको प्लेट, फूलदानी, कुलर, टायरमा जम्मा भएको पानी कम्तीमा हप्तामा एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ बिहान घरबाहिर जाँदा लामखुट्टले नटोकोस् भनेर सावधानी अपनाउनुपर्छ ।

बागलुङ :  बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ ।   पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ ।  केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।    डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन् ।    पहिराले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युत्का पोल पनि बगाएको छ । “पानीका दुईवटा ट्याङ्की नै बगेकाले खानेपानीको हाहाकार छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “हामी त घर न घाटको भएका छौँ, अब कहाँ बस्ने, के खाने” ।    उहाँले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताउनुभयो । उहाँले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुःखेसो पोख्नुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गर्नुभएको छ । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए । पहिराले दुईवटा खानेपानीका ट्याङ्की बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् ।    यहाँका दर्जनौँ विद्युत्का पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताउनुभयो । “अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।” रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिराले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।    दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्याङ्कीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन् । अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन् । सातापछि पुग्दा पनि पहिरो निरन्तर खसेको छ । निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ ।    पहिराले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राख्नुभएको छ । यसका लागि पहल गर्न उहाँले वडाध्यक्षलाई आग्रह गरेको बताउनुभयो । एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ ।   निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन । पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ । “पहिरो नियन्त्रणमा लाग्नुभन्दा बस्ती नै सार्दा सजिलो र सुरक्षित होला”, इञ्जीनियर त्रिलोचन गिरीले भन्नुभयो, “यो पहिराले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ ।” पानी परेमा पहिरो झनै बढ्न सक्ने उहाँले बताउनुभयो । विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उहाँले बताउनुभयो । “सात–आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ, उहाँहरु अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ”,उहाँले भन्नुभयो, “पहिराले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ ।”

  पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।     पोखरा महानगरपालिका वडा नं. १३ बस्ने सूर्य कुमारी गुरुङको घरमा जुवा खेलिरहेका अवस्थामा नगद १ लाख ७ हजार २ सय ५५ रुपिया र २ सय ११ पत्ति तास सहित ८ जना व्यक्तिलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिक वडा नं.१३ मियापाटन बस्ने घरधनी वर्ष ४४ की सुर्य कुमारी गुरुङ, जिल्ला सर्लाही घर भई हाल जिल्ला कास्की पोखरा  ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत, सोही स्थान बस्ने वर्ष ३५ को रूपक बस्नेत , बागलुङ जैमिनी नगरपालिका ७ घर भई हाल  कास्की पोखरा ११ फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ३१ को सुर्य थापा,  जिल्ला धादिङ निलकण्ठ नगरपालिका ४ घर भई हाल कास्की पोखरा ११ बस्ने वर्ष ३७ को रमेश ठकुरी, जिल्ला कास्की पोखरा १३ बस्ने वर्ष ४० को आश बहादुर गुरुङ र  जिल्ला लमजुङ राईनाश नगरपालिका  १० घर भई हाल जिल्ला कास्की पोखरा १० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन् ।    नियन्त्रणमा रहेका दोषी व्यक्तिहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दश दिनको  म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।  

  बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन् ।   ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन् । त्यसको मुख्य कारण हो सडक । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक खुलेको एकदशक बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारसम्म सडक राम्रो छ । जब ढोरपाटन जानका लागि बुर्तिबाङ बजार पार गरिन्छ, तब सडकको दुरावस्था सुरु हुन्छ । सडकका कारण आन्तरिक पर्यटक पनि अपेक्षितरुपमा ढोरपाटन पुग्न सकेका छैनन् ।    ढोरपाटन पुगेर फर्किने पर्यटकले पनि निकै दुःख पाउने गरेको गुनासो गरेका छन् । चितवनदेखि ढोरपाटन घुम्न पुगेका रमेश बस्यालले अप्ठ्यारो सडकका कारण दुःख पाउनुपरेको बताउनुभयो । बस्यालले ढोरपाटनको नाम धेरैपटक सुनेको र घुम्न आएको भन्दै अप्ठ्यारो सडकका कारण गाडी बिग्रिँदा बाटोमा अलपत्र पर्नुपरेको सुनाउनुभयो ।   “ढोरपाटनको नाम जति चर्चित छ, त्यति सुन्दर पनि रैछ, तर त्यहाँसम्म पुग्ने सडक निकै खराब रैछ, बाइकमा जाने त सम्भावना नै रहेन छ, गाडीमा पनि निकै मुस्किल हुँदोरहेछ, धेरै पटक नाम सुनेको र सामाजिक सञ्जालमा फोटो देखेर घुम्न आएको निकै दुःख पाइयो”, बस्यालले भन्नुभयो, “जाने बेलामा बाटोमा गाडी बिग्रियो, रातिका बेला निकै समस्या पर्यो, झण्डै अलपत्र परियो, तीन दिन बिदा लिएर आएको गाडी बिग्रिँदा एक दिन ढिला भयो, सडक निकै जोखिमपूर्ण रहेछ ।”    सालझण्डी ढोरपाटन सडकलाई पर्यटकीय सडकका रुपमा पनि लिइन्छ । सडकका कारण स्थानीयलाई पनि सास्ती भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ का खिमबहादुर सुनारले सडकका कारण टाढाटाढाबाट आउने पर्यटकले दुःख पाएको बताउनुभयो । सडकमा ट्र्याक्टरबाहेक अरु हिँड्न नसक्ने भन्दै गाडी लिएर आउने पर्यटक बाटोमा समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ । “यो बाटो खुलेको धेरै वर्ष भयो अहिले पनि यस्तो अवस्थामा छ, अझ दुई वर्ष अगाडि आएको बाढीले धेरै ठाउँमा निकै अप्ठ्यारो बनाएको छ, यस्तो सडकमा ढोरपाटन जाने पर्यटक आउँछन्”, सुनारले भन्नुभयो, “सडकको हालत निकै खराब छ, ट्र्याक्टर पनि राम्रोसँग हिँड्न सक्दैन, यस्तो सडकमा पर्यटकले राम्रोराम्रो गाडी लिएर आउनुहुन्छ, गाडी कहिले हिलोमा फस्छ, कहिले खाल्डोमा अड्किन्छ, त्यसले गर्दा पर्यटक निरास भएर फर्किनुहुन्छ, बाटो राम्रो हुन्थ्यो भने कति धेरै पर्यटक आउँदा हुन् ?, अहिले यस्तो बाटो छ र पनि पर्यटक आइराख्छन् ।”   ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले सडक खुलेको दशक बढी हुँदा पनि कालोपत्र नहुँदा अपेक्षाअनुसार ढोरपाटनमा पर्यटक भित्र्याउन नसकेको बताउनुभयो । उहाँले सालझण्डी–ढोरपाटन सडकको नाम दिए पनि काम भने अर्घाखाँचीसम्म मात्रै हुँदा अपेक्षितरुपमा ढोरपाटन भित्र्याउन नसकेको उहाँको दाबी छ । “ढोरपाटन पर्यटकीय हिसाबले देशकै उत्कृष्ट गन्तव्य हो, तर यहाँसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण छ, सडकको नाम ढोरपाटनसँग जोडियो काम भने अर्घाखाँचीतिर मात्रै भयो”, उपप्रमुख कायतले भन्नुभयो, “बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक राम्रो हुन्थ्यो भने वर्षमा हजारौँ पर्यटक ढोरपाटन पु¥याउन सकिन्थ्यो, सडकको यस्तो अवस्था हुँदा निकै समस्या भयो ।”   कायतले सडकका कारण ढोरपाटन क्षेत्र पछाडि परेको बताउनुभयो । उहाँले विकासको मुख्य आधार सडक भएको भन्दै सडकको दुरावस्था हुँदा ढोरपाटन क्षेत्र पिछडिनुपरेको उहाँको भनाइ छ । उपप्रमुख कायत भन्नुहुन्छ, “ढोरपाटनले पर्यटनका हिसासबले निकै सम्भावना बोकेको छ, तर सडकले गर्दा यो क्षेत्र नै पछाडि प¥यो, वर्षौंदेखि सडकको यो अवस्था छ, एउटै सडकको पनि दक्षिण काम हुने यस क्षेत्रमा काम नहुँदा हामी पछाडि पर्नुपरेको छ ।”   कायतले ढोरपाटन आउने पर्यटक सडकको दुरावस्थाका कारण बुर्तिबाङ बजारदेखि नै फर्किने गरेको बताउनुभयो । उहाँले ढोरपाटन नामले विश्वमा चिनिए पनि कामले भने निकै पछाडि परेको बताउनुहुन्छ । “ढोरपाटन जानका लागि धेरै पर्यटक आउनुहुन्छ, सडकको अवस्था देखेर कोही बुर्तिबाङ बजारदेखि नै फर्किएर अन्तै जानुहुन्छ भने कोही सहीखोला, दोगाडी र बोबाङसम्म पुगेर फर्किनुहुन्छ, सडकको अवस्था नफेरिएसम्म पर्यटकलाई ढोरपाटन पुर्याउन समस्या छ, ढोरपाटन नामले विश्वमा चिनियो तर कामका हिसाबले निकै पछाडि प¥यो”, उपप्रमुख कायतले भन्नुभयो ।   कायतले सडकको काम तत्काल सुरु गर्न सालझण्डी–ढोरपाटन आयोजनालाई आग्रह गरेको र अहिले टेण्डर आह्वान भइसकेको बताउनुभयो । बुर्तिबाङ मध्यपहाडी लोकमार्गले जोडिएको पनि ढोरपाटन जोडिएको छैन । बागलुङ सदरमुकाम हुँदै बुर्तिबाङ जोडिएको लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको छ । ढोरपाटन पुग्न सालझण्डी–ढोरपाटन सकडमार्फत जानुपर्छ । यो सडक अर्घाखाँची हुँदै आएको छ । अर्घाखाँची क्षेत्रमा सडक स्तरोन्नति भइसके पनि बागलुङ खण्डमा हुन सकेको छैन । ढोरपाटन बुर्तिबाङदेखि ३२ किलोमिटरको दूरीमा रहेको छ । यहाँसम्म पुग्नै पुरै कच्ची सडकमा यात्रा गर्नुपर्छ ।

  पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी विजयी भएका छन् । पवन प्रजापती प्यानलका प्रतिस्पर्धी हिरामणि पण्डितलाई फराकिलो मतान्तरले पछाडि पार्दै केसी विजयी भएका हुन् । देवेन्द्र केसीको पक्षमा १७९१ मत प्राप्त हुँदा हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । भने ३० वटा भोट बदर भएको थियो  । केसीले यस अगाडि २ कार्यकालसम्म संघमा कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् ।   केसीले कुटी ग्रुप अन्तर्गत पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ ।   युवा व्यवसायी एवं नेपाली काँग्रेसका युवा नेतासमेत रहेका देवेन्द्र केसी प्रदेश सभा सदस्यका लागि सिफारिससमेत भएका छन् ।    कास्कीको क्षेत्र नं. ३ ‘ख’ बाट पार्टीले केसीलाई प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको हो ।  

  बागलुङ । लगातारको वर्षात्का कारण आएको बाढीले बागलुङको गलकोट क्षेत्रमा किसानको खेतबारी बगाएर बगर बनाएको छ । खेतबारी बगाउँदा किसानको करोडौँको बालीनाली नष्ट भएको छ ।    गत असारमा आएको बाढीबाट पशुचौपाया बगाए क्षति पुर्याएको थियो । त्यसको एक सातामा आएको बाढी पहिराले दुई सय रोपनी बढी जमिन बगर बनाएको स्थानीय पीडितले गुनासो गरे । बाढीपछिको पहिरोले किसानको घरगोठ बगाउँदा पशु चौपायाकोसमेत क्षति भएको छ ।   मध्यपहाडी लोकमार्गमा व्यवस्थित नाली नभएकाले सडकमै बगेको पानीले बाढीको रुप लिएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो ।    उक्त बाढीले सडक र खेतीमा व्यापक क्षति पुगेको हो । दर्जनौँ स्थानमा खसेका पहिरोले किसानको धानबाली नष्ट भएको छ । नरेठाँटीस्थित धैँसेमारे भन्ने स्थानमा मध्यपहाडी लोकमार्गबाट खसेको पहिरो र नालीको बाढीले दुई सय रोपनी जमिन बगर बनाएको हो । गत असारमा रोपेको धान सबै नष्ट भएको र तत्काल मर्मत गर्न नसकिने गरी खेत सबै बगर बनाएको किसानले गुनासो गरे ।    काठेखोला गाउँपालिका–५ को बिहुँदेखि गलकोट नगरतर्फको सबै सडकमा बग्ने पानीले बाढीको रुप लिँदा सडकका विभिन्न स्थानमा ठूलठूला पहिरो पनि खसेका छन् ।    नाली व्यवस्थापन नगरेकै कारण वडा नंं १ को झाँक्रीस्थान, काफलढुटा र रगेनीलगायतका स्थानमा घुम्ती नै खसेका छन् । मध्यपहाडी लोकमार्गले गत वर्ष नै रु ५० करोड बढी रकम विनियोजन गरेर नाली र घुम्ती व्यवस्थापन गर्ने काम ढिला गरिँदा सडक छियाँछियाँ भएको हो ।       समयमा धान रोप्न नपाए पनि जसोतसो रोपेको धानखेती सबै बगाएको स्थानीय यामबहादुर भण्डारीले गुनासो गर्नुभयो । “खेत बगाएको मात्र छैन, बगर बनेको छ”, उहाँले भन्नुभयो, “वर्षातभर दुःख गरेर रोपियो अहिले सबै नष्ट भयो ।” जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सारेर राखिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।    सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा आउन नसकेको र पैदलयात्रासमेत कठिन रहेको स्थानीय विष्णु विश्वकर्मले बताउनुभयो । वर्षात्कै कारण मध्यपहाडी लोकमार्गको बागलुङदेखि हटियासम्मको ४५ किमी सडक छियाछिया भएको छ । वर्षात्कै कारण कालोपत्र तयारी भएको दुई सय ५० मिटर सडक बग्दा गत वर्षको झण्डै रु दुई करोड लगानी खेर गएको वडा नंं ४ का अध्यक्ष बलबहादुर खत्रीले बताउनुभयो ।    केही समयअघिको वर्षात्ले भत्केको तोरी खोलादेखि ठाना जाने सडक, तथा घामपानी जाने सडकसमेत अझै बन्न सकेको छैन । ती सडकमा सवारी चल्न नसक्दा स्थानीय दैनिक उपभोग्य सामान बोकेरै लैजान बाध्य छन् । बाढीपीडितको राहतका लागि नगरपालिकाले सामान्य राहत दिने योजना बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । 

  रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् । वडा नं १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगत्प्रसाद पुनले बताउनुभयो ।   परिवारका अन्य सदस्य काममा गएका बेला किशोर घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजीनीति गर्दा पनि अहिलेसम्म फोला पार्न नसकिएको किशोरका बुवाले बताउनुभयो । पहिले राम्रै ती किशोरको विगत एक वर्षयता मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएको छ ।   ती किशोरलाई आसपासका गाउँमा खोज्दा पनि नभेटेपछि परिवारले सबैलाई खोजीदिन आग्रह गरेका छन् । परिवारले  किशोरलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा र परिवारको नमोबाइल नं ९८४११०३८६८ र ९८६६९६६४२० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

  सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् ।    उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्ति भयो भने असम्भव भन्ने केही हुन्न भन्ने ज्वलन्त उदाहरण हुन् आशिष । न कुनै खेलकुद मैदान, न कतैको लगानी, न फुटबलको पूर्वाधार, न कोही प्रशिक्षक । जिल्लामा त्यतिबेला भइहाले पनि फाट्टफुट्ट भलिबल हुने गर्दर्थे । तर उनीले आफ्नो फुटबलप्रतिको लगावलाई निरन्तरता दिइरहे । त्यसैले उनी आज सफलतालाई पछ्याउँदै फुटबलमा भविष्य खोजिरहेका छन् ।    मेलम्चीमा एउटा स्थानीय क्लबबाट फुटबल यात्रामा लागेका उनीले जिल्लाका विभिन्न प्रतियोगितामा सामेल हुँदै जिल्ला, क्षेत्र, प्रदेश हुँदै अहिले खुमलटार क्लबमा अनुबन्धन भएका छन् । भर्खरै ‘ए’ डिभिजनमा बढुवा भएको खुमलटारबाट ‘ए’ डिभिजन प्रतियोगिताका लागि मैदान उत्रने तयारीमा रहेको उनीले बताए ।    सिन्धुपाल्चोक जिल्ला काठमाडौसँग जोडिएको जिल्ला भए पनि हरेक दृष्टिकोणले पछाडि परेको जिल्ला हो । सोनाम ल्होछारको अवसरमा इन्द्रावती गाउँपालिकामा भएको क्षेत्रस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलको उत्कृष्ट खेलाडी सम्मान प्राप्त गरेका उनीले त्यही खेलको उत्कृष्ट प्रदर्शनले मनाङ–मस्र्याङ्दी क्लबमा अनुबन्धन हुने अवसर पाए  ।    भूकम्प र कोरोनालगायत आफ्ना विभिन्न समस्याका कारण फुटबलबाट निस्क्रिय रहेका आशिषले अहिले भने खेलको लय समात्न पाएका छन् । मनाङ–मस्र्याङ्दी हुँदै एपिएफ क्लबमा समेत अनुभव बटुलिसकेका उनीले एन्फाको ‘सी’ डिभिजनको खेलमा कोटेश्वरको च्याम्पियन्स ब्वाइजबाट पहिलोपटक ‘सी’ डिभिजनका लागि मैदान उत्रिएका थिए । विसं २०७६ मा श्री भगवती क्लबबाट ‘बी’ डिभिजनका लागि मैदान उत्रने मौका दिएको आशिषलाई लकडाउनका कारण खेलमा निरन्तरता दिन केही समस्या भएको थियो ।   सोही समयतिर बागमती लिगमा जिल्लाबाट सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गरेका उनीले जिल्लाले तृतीय स्थान हासिल गरे पनि उनी भने प्रदेशको उत्कृष्ट डिफेन्डरका रूपमा सम्मानित भएका थिए । विसं २०७८ मा भएको एन्फा लिगमा खुमलटारबाट मैदान उत्रेका आशिषले १३ वटा प्रतिस्पर्धामा १२ मा खेल्ने अवसर पाउँदा म्यान अफ द म्याचको दुईवटा अवार्ड प्राप्त गरेका थिए । उनी क्यापटेन हुन् ।    “खेल भनेको आफ्नै मेहेनतले खेल्ने कुरा हो । चुनौती भनेकै अरुलाई हराएर आफ्नो पक्षमा नतिजा हासिल गर्नु हो । म त्यही चुनौतीको सामना गर्दै खेलिरेहको छु”, उनीले भने । हरेक क्षेत्रमा चुनौती रहेको सुनाउँदै आशिषले खेलप्रतिको अनवरत यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्ने बताए ।   जिल्लामा खेलकुदका गतिविधि निकै न्यून हुने गरेको बताउँदै आशिषले धेरै इच्छाशक्ति भएर पनि पूर्वाधार आवश्यक स्रोत र साधन नहुँदा जिल्लामा कतिपय खेलाडीले आफ्नो प्रतिभा, क्षमता प्रदर्शन गर्न नपाएको बताए । स्कुल तहबाटै विद्यार्थीलाई खेलक्षेत्रमा आकर्षित गर्न सके देशले धेरै राम्रा खेलाडी उत्पादन गर्नसक्ने उनीको बुझाइ छ ।    खेल क्षेत्रमा सुधार गर्नुपर्ने कुरा धेरै रहेको जनाउँदै उनीले खेलाडीलाई हौसलासँगसँगै पारिश्रमिकका कुरामा पनि राज्यले हेर्नुपर्ने बताए । खेलका लागि पर्याप्त पूर्वाधारको निर्माण गर्न नसक्नु र आवश्यक स्रोत, साधन जुटाउन नसक्नुले पनि हाम्रो खेलजगत्मा अपेक्षित सुधार हुन नसकेको स्वीकार्दै पूर्वाधारको विकास गर्न सक्नुपर्ने तर दोष सबै पूर्वाधार र स्रोतलाई मात्र दिएर पन्छिन सकिने अवस्था भने नरहेको उनीको भनाइ छ ।   उनीले भने, “स्रोत र लगानी मात्रले फुटबलको विकास गर्न सकिने भए धेरै स्रोत र लगानी गर्न अन्य क्लब, विदेशी मुलुक विश्व फुटबलमा किन पछाडि परेको रु स्रोत र लगानीले मात्र फुटबलको विकास हुन्छ भन्ने हाम्रो मान्यता पूर्णरूपमा गलत छ । स्रोत र लगानीको प्रभावकारी प्रयोग अनि स्पष्ट रोडम्यापमा आधारित कार्यान्वयनले भने हामीले आफ्नो सपना हुर्काउन सक्छौँ ।” स्थानीय तहले साथ दिए खेलाडी र खेलमा सहयोग हुने उनीको भनाइ छ । विद्यालयमा सिक्ने मौका पनि भए राम्रो हुने उनीको भनाइ छ ।