त्रिवेणी । थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन सकिने र धेरै आम्दानी हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ थियो । “कागती खेतीमा धेरै लगानी गर्नु पर्दैन, एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ यसैले किसान यसतर्फ आकर्षित छन्”, प्रमुख शर्माले भन्नुभयो, “तर लगाएको तीन चार वर्षसम्म आम्दानी लिन कुर्नुपर्ने हुँदा साना लगानीकर्तालाई केही समस्या पनि हुने गर्छ ।” उहाँका अनुसार नवलपुरमा चार सय ५० घर परिवार कागती खेतीमा आबद्ध छन् । केही वर्ष पहिले केही मात्र किसान कागती खेतीमा आबद्ध भएकामा अहिले क्रमशः सङ्ख्या बढ्दो रहेको इकाइ प्रमुख शर्माले बताउनुभयो । जिल्लामा सामूहिकरुपमा १५ वटा समूहले कागती खेती गरेका छन् । जस्मा दुई वटा सहकारी र २५ वटा फर्म रहेका छन् । यी सबैमा गरी चार सय ५० घरपरिवार कागती खेतीमा आबद्ध रहेको उहाँले जानकारी दिनुभयो । जोन कार्यक्रममा समावेश नभएका केही कागती खेती गर्ने किसानसमेत रहेका छन् । उक्त परियोजनामार्फत सञ्चालित सुन्तला जात फलफूल जोन कार्यक्रममार्फत नवलपुरको बुलिङटार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट, देवचुली र मध्यबिन्दुका केही वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । जोन कार्यक्रम सञ्चालनपछि विभिन्न अनुदान र प्राविधिक सहयोग भएकाले कृषक थप कागती खेतीतर्फ लागेका हुन् । अमिलो जातका फलफूलमा परियोजनाले सहयोग प्रदान गर्ने गरेको छ । परियोजनाको लगानीपछि अमिलो जातका फलफूल लगाउने क्षेत्रसमेत विस्तार भएको छ । इकाइ प्रमुख शर्माका अनुसार जोन कार्यक्रम सुरु हुने समयमा तीन सय ३० हेक्टर जमिनमा अमिलो जातका फलफूल लगाउने गरिएकामा अहिले सात सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमध्ये करिब दुई सय हेक्टर जमिनमा व्यावसायिक कागती खेती मात्रै हुने गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । नवलपुरको तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ । कागती खेतीबाट वार्षिक छ लाख कमाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका– ८, का नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । चार कट्ठा जमिनमा लगाइएको कागती खेतीबाट गत वर्ष उहाँले रु छ लाख आम्दानी गर्नुभयो । यस वर्ष करिब रु नौ लाख आम्दानी हुने कृषक केसीले बताउनुभयो । “गत वर्ष कोभिडले बजारमा समस्या भयो, तर पनि रु छ लाखको कागती बेचेँ, यस वर्ष कागती अझै धेरै फलेको छ, करिब रु नौ लाख जतिको बेच्छु भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “कागती खेतीअघि बाख्रापालन गर्नुभएका उहाँ २०७३ सालदेखि कागती खेतीतर्फ लाग्नुभएको हो”, “बाख्रा पनि पालोँ तर भनेजस्तो भएन, पछि यसको खेती सुरु गरे अहिले सोचभन्दा राम्रो आम्दानी दिएको छ”, केसीले भन्नुभयो । उत्पादन भएको कागती लिन व्यापारी बगैँचामा नै आउने गरेको उहाँको भनाइ थियो । सरदर अहिले प्रतिकिलोग्राम सयका दरले व्यापारीले बगैँचाबाट नै कागती खरिद गरी लैजाने गरेका छन् । काठमाडौँ, नारायणगढलगायत मुख्य सहरमा कागती खपत हुँदै आएको छ। बेच्न “समस्या छैन् घरमै व्यापारी आउँछन्, आफूले फलाउन सके मात्रै हुन्छ”, केसीले भन्नुभयो । उहाँले अहिले कागतीको नर्सरीसमेत सुरु गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रमअन्तर्गत केसीले नर्सरी सुरु गर्नुभएको हो । कागतीका बिरुवाको माग पूर्वदेखि पश्चिममा विभिन्न जिल्लाबाट हुने गरेको उहाँको भनाइ थियो । “परियोजना सञ्चालन भएका विभिन्न जिल्लामा बिरुवा माग आउँछ, सोहीअनुसार बिक्री गर्ने गरेको छु । कागतीको बिरुवा बेचेरसमेत राम्रो आम्दानी हुने गरेको छ”, केसीले भन्नुभयो ।
तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ । कार्यालयले रु एक लाख ३५ हजार छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले रु ४५ लाख ४८ हजार अनुदान दिएको हो । जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन् । तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमाङ्क रु ४५ करोड ४८ लाख बराबरको बीमा गरिदिएको छ । “पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो”, उहाँले भन्नुभयो, “बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।” त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत रु ४१ लाख ४१ हजार तीन सय ६५ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो । व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक/एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको हो । कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । प्रतिपाडी बाच्छीका लागि रु दश हजारका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।
धनकुटा । कोरोना महामारीसँगै थलिएर सुनसान बनेका जिल्लाको प्रमुख केन्द्र धनकुटा नगपालिकाका एक दर्जन बढी पार्क (उद्यान) को अवस्थामा अझै सुधार आउन सकेको छैन्। लाखौँ खर्चेर बनेका ती पार्क अहिले आन्तरिक पर्यटकसमेत नआएर सुनसान बनेका छन् । धनकुटा नगरपालिकाको मुख्य पर्यटकीयस्थलका रूपमा रहेको वडा नं ७ को चुलिवन पार्कमा बनेको भ्यूटावर चढ्न फाट्टफुट्ट आन्तरिक पर्यटक आए पनि चहलपहल बढ्न सकेको छैन । विसं २०७५ बाट सो स्थानमा निजी रु ३५ लाख खर्चेर मिनीमेला तथा पार्क सञ्चालन गर्दै आउनुभएका रामकुमार राई र उहाँकी श्रीमती सीमा थापा (राई) अहिले व्यवसायमा घाटा लागेको बताउनुहुन्छ । स्थानीय सामुदायिक वनलाई वार्षिक नाफाको २० प्रतिशत रकम दिने शर्तमा रोटेपिङ, बालबालिकाका लागि खेल तथा क्यान्टिन सञ्चालनमा लगानी गर्नुभएका उहाँहरूले वार्षिक रु ५० हजार पनि आम्दानी नहुने बताउनुभयो । “घाटैघाटा छ, ऋणको ब्याज तिर्दा–तिर्दा भएको जायजेथासमेत सकिन लाग्यो”, थापाले भन्नुभयो, “पिङ बेचौँभन्दा पनि बिक्दैन, अब के गर्ने होला, तनावमा छौँ ।” आफूहरूले काम सुरु गर्नेबित्तिकै कोरोना सुरु भएकाले आफूहरू ठूलो मर्कामा परेको श्रीमान् राईले चिन्ता व्यक्त गर्नुभयो । विसं २०६३ बाट गत वर्षसम्म नगरले रु एक करोड ३६ लाख खर्च गरेको यस स्थानमा मात्र होइन अन्य स्थानका पार्कहरूको अवस्था पनि उस्तै छ । धनकुटा नगरपालिका–१ जौटारमा बनेको वनभोज पार्क कोरोनाको मारसँगै बाटोघाटोको असुविधाका कारण सुनसान रहेको पूर्ववडाध्यक्ष नीरन तामाङले जानकारी दिनुभयो । यो पार्क विसं २०७४ मा प्रदेश नं १, जिल्ला वन कार्यालय र पाख्रिबास नगरपालिकाको रु १०–१० लाख गरी जम्मा रु ३० लाखको लागतमा निर्माण गरिएको थियो । त्यस्तै सोही वडाको व्यापारिक केन्द्र हिलेबजार नजिक निर्मित पर्यटन मन्त्रालयको रु १० लाख र धनकुटा नगरपालिकाको रु ३८ लाख लागतमा निर्मित बक्रकुड मन्दिर तथा पार्क पनि धार्मिक तिथिबाहेक अन्य समयमा ठप्प छ । “पहिला त निकै मान्छे पो आउँथे त, कोरोनापछि ठप्पै पो बन्यो भन्या !”, बक्रकुड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले भन्नुभयो । धनकुटा नगपालिका वडा नं ३ कागतेमा प्रदेश सरकारको रु ३० लाख लगानीमा निर्मित बाल उद्यान पनि सुनसानजस्तै छ । पार्कहरू सुनसान हुनुमा कोरोनामात्र कारक नभएर नगरको सडक सञ्जाल तथा व्यापारिक गतिविधिमा सुधार नभएर पनि यस क्षेत्रका पर्यटकीय क्षेत्र प्रभावित भएको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । नगर र गाउँ आवतजावत गर्ने सडकको स्तरोन्नति नहुनु, नगरमा निजी लगानीकर्ता आकर्षित हुन नसकेर व्यापार व्यवसायमा मन्दी आएसँगै पर्यटन क्षेत्र पनि प्रभावित भएको घिमिरेको तर्क छ । विज्ञहरूको योजना र अनुसन्धानबाट भन्दा पनि जनताका स्वेच्छिक धारणाबाट पर्यटकीय क्षेत्र बनेकाले लगानीअनुसारको प्रतिफल नआएको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टको भनाइ छ । “काम गर्दा कसैले परामर्श गर्दैनन् । करोडौँ खर्चेर बनेका पर्यटकीय क्षेत्रबाट कुनै आम्दानी छैन”, विष्टले भन्नुभयो । नागरिकका माग इन्कार गर्न नसकेर जताततै बनेका पार्क तथा पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र प्रवद्र्धन गर्न कठिनाइ हुँदा समस्या आएको धनकुटा नगपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिनुभयो ।
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन् । “विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ”, स्थानीय महेन्द्र बोहराले भन्नुभयो, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।” कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उहाँको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । “बेदकोटको चिनारीका रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ”, अर्का स्थानीय कपिल जोशीले भन्नुभयो, “नगरलाई देश–विदेशमा चिनाएको छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।” बाढीले लिङ्गेश्वर क्षेत्रमा पर्यटकहरूका लागि तस्वीर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ बगाएको छ । यस्तै धाम क्षेत्रमा रहेको लिङ्गेश्वर मन्दिर कटानको उच्च जोखिममा छ । “नदीले कटान गरेर मन्दिर बगाउने स्थिति छ, एक मिटरमात्रै बाँकी छ”, बेदकोट नगरपालिका–४ का अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, “फोटो खिच्न बनाइएको सेल्फी प्वाइन्ट बगाएको छ ।” उहाँका अनुसार बाढीले लिङ्गेश्वर जोड्न बगुन खोलामा निर्माणाधीन झोलुङ्गे पुलको ढङ्गाले निर्माण गरिएको पिलर पनि बगाएको छ । “तटबन्ध बगाएर बाढीले क्षति गरिरहेको छ, अहिले तटबन्ध गर्नु र नगर्नुको अर्थ छैन, बाढीले बगाउँछ”, उहाँले भन्नुभयो, “अहिले सामान्य ढुङ्गा राखेर अस्थायी तटबन्ध गरेका छौँ ।” आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि बेदकोट नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । स्थानीय तहको बजेटले मात्रै लिङ्गेश्वर धाम कटानको दीर्घकालीन समाधान गर्न नसकिने बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताउनुभयो । प्रदेश र सङ्घ सरकारसँग थप बजेट माग गरेर कटान समस्याको दीर्घकालीन समाधान खोजिने उहाँले बताउनुभयो । “नगरपालिकाको बजेटले मात्रै यो सम्भव छैन, करोडौँ लगानी लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउँछौँ ।”
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ । आज (शुक्रबार) साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिने छ । ट्रफीलाई असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरमा लगिने लक्ष्य छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते पोखरा रंगशालामामा उदघाटन गरिने छ ।
झापा । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो । भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ । “अधिकांश उपकरण आइसकेको, एकाध बाँकी छ”, उहाँले भन्नुभयो, “अब मेसिन एकअर्कामा जोड्ने काम बाँकी छ ।” कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो । कनकाई–१ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी प्लान्ट स्थापना गरिएको छ । जसबाट दैनिक ४० टन फोहर व्यवस्थापन हुनुका साथै जैविक मल, तापीय ऊर्जा मिल्नेछ । यहाँबाट कुहिने र नकुहिने दुवै प्रकारको फोहर व्यवस्थापन हुने प्रबन्ध निर्देशक चापागाईँले बताउनुभयो । रु १४ करोडको लागतमा कुहिने फोहर व्यवस्थापन गर्ने गरी काम थालिए पनि नकुहिने फोहरसमेत व्यवस्थापन गर्ने गरी रु २४ करोडको लागतमा काम भइरहेको छ । प्लान्ट सञ्चालनमा आएपछि दैनिक एक हजार केजी बायोग्यास, ३० हजार लिटर झोल र आठ टन जैविक मल (ठोस मल) उत्पादन हुने कम्पनीका प्राविधिक सल्लाहकार जीवन श्रेष्ठले जानकारी दिनुभयो । “विश्वमै मिथेन ग्यास व्यवस्थानलाई यो प्रविधि वरदान सावित हुँदै गएको छ”, उहाँले भन्नुभयो, “बढ्दो पृथ्वीको तापक्रम घटाउन सहायक हुने भएकाले पनि विश्व बैंकले यो क्षेत्रमा लगानी गर्दै आएको हो ।” उत्पादित बायोग्यास एलपी ग्यासको विकल्पसँगै अटोरिक्सा, तापीय ऊर्जा चाहिने औधोगिक क्षेत्र, अस्पताललगायतका प्रतिष्ठानमा प्रयोग हुनेछ । यहाँबाट उत्पादन हुने बायोग्यास एलपी ग्यासभन्दा बढी प्रज्वलनशील हुने प्राविधिक सल्लाहकार श्रेष्ठले बताउनुभयो । उत्पादन सुरु भएसँगै पाइपलाइनको माध्यमबाट पाँच किलोमिटर वरपरका एक हजार घरधुरीलाई ग्यास वितरण गरिने जनाइएको छ । प्लान्ट सञ्चालनमा आएपछि २५ वर्षसम्म फोहर व्यवस्थापनको चुनौती समाधान हुने कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले बताउनुभयो । विश्व बैंकको ४० प्रतिशत आर्थिक साझेदारीमा सुरु भएको प्लान्टमा कम्पनीमार्फत हाल सात सय ५० जनाले शेयर लगानी गरेका छन् । एक जना बराबर रु १० हजारदेखि रु एक करोडसम्म लगानी गरेको कम्पनीले जनाएको छ । हाल बिर्तामोड नगरपालिकाले नगरको फोहर व्यवस्थापनका लागि रु दुई करोड ५४ लाख दिने निर्णय गरेको छ । फोहर व्यवस्थापनलाई लागत साझेदारीमा नगरपालिकाले उक्त रकम दिने निर्णय गरेको हो । कनकाई र अर्जुनधारा नगरपालिकाले आर्थिक साझेदारीका लागि प्रतिबद्धता जनाएका छन् । तथापी बिर्तामोड नगरपालिकाको उक्त निणर्यपछि पाँचदलीय गठबन्धनका दलले ध्यानाकर्षण भएको जनाएका छन् । प्लान्ट स्थापना ताका नै कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकासँग आर्थिक सहकार्यका लागि छलफल–वार्ता भएको र सोही अनुरुप कम्पनीले काम अघि बढाएको प्रबन्ध निर्देशक चापागाईँले बताउनुभयो । “फोहर व्यवस्थापन एक मात्र हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “यसले दीर्घकालीनरूपमा फोहर व्यवस्थापन गर्न सकिन्छ, धेरै जनाले लगानी गर्नुभएको छ, आर्थिक सुनिश्चितता पनि हुन जरुरी छ ।” बिर्तामोड नगरपालिकासँगै झापाका ठूला सहरी क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा रु ९२ अर्ब २१ करोड बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई सय २२ दशमलव ८ प्रतिशतले वृद्धि भई ४४ हजार पाँच सय ४० पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७५ दशमलव चार प्रतिशतले वृद्धि भई २० हजार तीन सय ९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५ दशमलव सात प्रतिशतले घटेको थियो ।
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गर्नुभएको छ । सांसदहरुले मिटरब्याजीको समस्या समाधानका लागि भएका पहलबारे जानकारी माग गर्नुभएको थियो । साथै उहाँहरूले मन्त्रीले कार्यकक्षमा जाँदा सांसदहरुलाई उचित समय नदिएको भन्दै सवारी दुर्घटना रोकथाम गर्न र दार्चुलाका बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिनसमेत माग गर्नुभएको थियो । शून्य समयमा सांसदहरू उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मदनकुमारी साह (गरिमा), राजेन्द्रलक्ष्मी गैह्रे र सुरेशकुमार आलेमगरले बोल्नुभएको थियो ।
मुस्ताङ। प्राज्ञिक विद्यार्थी परिषद नेपालले मुस्ताङको जनहित माविलाई शैक्षिक समाग्री सहयोग गरेको छ । मुस्ताङको जोमसोममा रहेको जनहित माविलाई परिषद नेपालले आज (बिहिबार) शैक्षिक समाग्री वितरण गरेको हो । ६० जना विद्यार्थीहरुलाई झोला, अभ्यास पुस्तिका, जेमेट्री बक्स र सजिलो अंग्रजी बोलचाल लगायतका शैक्षिक समाग्री प्रदान गरिएको विद्यार्थी परिषदका नेपाल सहसचिव रमेश कडेंलले जानकारी दिए । उनका अनुसार प्राज्ञिक विद्यार्थी परिषद नेपालले यसअघि पनि विभिन्न जिल्लाहरुमा शैक्षिक समाग्री वितरण गरिसकेको छ । परिषदले ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको बताउदै भने, ‘शैक्षिक समाग्री वितरणले आर्थिक स्तर न्यून भएका र पढ्न खोज्ने विद्यार्थीहरुको लागि हौसलाको बढ्नेछ ।’ जनहित माविका व्यवस्थापन समितिका अध्यक्ष जयन्द्र थकाली, विद्यार्थी परिषद्का राष्ट्रिय सहसचिव रमेश कडेंल, विद्यालयका प्राचार्य रामचन्द्र अधिकारी, परिषदका मुस्ताङ् जिल्ला अध्यक्ष लक्ष्मण ढकाल, जोमसोम नगरका संयोजक रोशनी ल्वागुण एंव विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।