भरतपुर । विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रबार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको साथबाट एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र एक सय ४० मिलीग्राम खैरो हेरोइन फेला परेको उहाँले जानकारी दिनुभयो । मोबाइल चार थान, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थाल्नुभएको थियो । अहिले उहाँको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाउनुभएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहनुहुन्छ, किनकि उहाँले परिवारबाटै त्यस्तै शिक्षा पाउनुभयो । अहिले उहाँ महिनावारी हुँदा छ दिनसम्मै बाध्य भएर छाउगोठमै बस्नुहुन्छ । तर देउताको डरले घरभित्र बस्ने कुरा भने उहाँको मस्तिष्कमै आउँदैन । गाउँघरमा छाउगोठ भत्काउने अभियान चले पनि रमिला त्यसको विपक्षमा हुनु उहाँको बाध्यता नै छ । खप्तडछान्ना गाउँपालिका–४ की हरिना रोकायाले पनि देउता रिसाउने भन्दै महिनावारीको बेला अहिलेसम्म घरमा बस्न पाउनुभएको छैन । घरमा बस्दा अनिष्ट हुने भन्दै परिवारकै सल्लाहमा उहाँ छाउगोठमा बस्न बाध्य हुनुहुन्छ । “घरको दैलो पनि छुन दिँदैनन्”, उहाँले भन्नुभयो, “सबैभन्दा समस्या महिनावारी भएकै बेलामा हुन्छ, तर परिवारले नै त्यो स्वभाविक प्रक्रिया भन्दै छाउगोठमै बस्न बाध्य पार्छन् ।” रोकायाका अनुसार माइतीघरभन्दा बढी पोइलीघरमा छाउपडी मानिन्छ । उहाँको माइतीघर वडा नं ७ मा छोरीलाई महिनावारी हुँदा घरको दैलो छुनेदेखि गाईवस्तु दुहुनेसम्म गरिन्छ । पोइलीघरमा भने आँगनदेखि तरकारीका लहरा छुनसमेत बञ्चित गरिएको उहाँले बताउनुभयो । “बिहेको सुरुमा त सिस्नाको झाडी नजिकैको गोठमा बस्थ्यौँ । एक दिन सुतेकै बेलामा राति भत्कियो । त्यो दिनको घटना सम्झिँदा त आङै सिरिङ्ग हुन्छ ।” राति छाउगोठ भत्किने बेलामा तीन–चार दिने साउने झरी रहेछ । रोकाया सम्झिनुहुन्छ, “छाउगोठभित्र पानी पनि जमेको थियो । झरी रोकिने अवस्थै थिएन । गोठको छतको काठ कुहिएर पूरै झर्नै लागेजस्तो थियो । प्लाष्टिक ओढेर सुत्न खोजेकी थिएँ । माथिबाट झ्याप्प भत्कियो । खरको छानो हुँदा बाँचियो ।” रोकायाका अनुसार अहिले छाउपडीले पहिलेको जस्तो दुःख भने भोग्नु पर्दैन । “छाउगोठ भए पनि सुरक्षित हुन्छन्”, उहाँले भन्नुभयो, “राति एक्लै सुत्न पनि केही डर हुँदैन । पहिलेको अवस्था त कुरै छाडौँ”, उहाँले छाउगोठ मुक्त नभए पनि अलि व्यवस्थित भएको बताउनुभयो । बुङ्गल नगरपालिका–६ की सीता बोहराले ३९ वर्षमा पाइला टेक्नुभयो । उहाँ १३ वर्षको उमेरदेखि नै महिनावारी हुन थाल्नुभयो । माइती र पोइलीघर नजिकै भएको हुँदा उहाँलाई सुरुको बेला महिनावारी भएकै समयजस्तो अहिले पनि भइरहन्छ । घर, वस्तुभाउ, भाँडाकुँडा तथा पुरुष मान्छेलाई अहिले पनि छुन पाइँदैन । बस्ने, खाने, हिँड्नेदेखि पानी पँधेरा पनि छाउपडीका लागि अलग भएको उहाँले बताउनुभयो । “सबैभन्दा कष्टकर समय नै महिनावारीको बेलामा हुन्छ । तर हाम्रो गाउँ ठाउँमा देउताले भनेको नमाने उल्टै आफैँमाथि दुर्घटना हुने भन्छन् र डर लाग्छ । घर नजिकै पनि जान मन लाग्दैन ।” उहाँले एकपटक सङ्घसंस्थाले भत्काएका छाउगोठ समाजले पुनःनिर्माण गरेको बताउनुभयो । “पहिलेका गोठभन्दा अहिले केही त राम्रा र अलि व्यवस्थित भएका छन् । तर, मनमा भने देउताको डर कहिल्यै हराउँदैन”, उहाँले भन्नुभयो । बुङ्गलमा विवाहित÷अविवाहित नभनी सबैले गोठमै बस्नुपर्ने उहाँले बताउनुभयो । “हाम्रो यता जोसुकै महिला भए पनि महिनावारी हुँदा छ दिनसम्म गोठमै बस्नुपर्छ । घरमा मेरो दुई जना छोरी पनि त्यसै गोठमा बस्छिन्”, उहाँले भन्नुभयो । रमिला, हरिना र सीतामात्रै होइनन्, बझाङमा हजारौँ महिला अहिले पनि महिनावारीका बेलामा छाउगोठमै बस्छन् । स्थानीय सरकारका जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको अगुवाइमा छाउगोठ भत्काए पनि फेरि छाउगोठ बनाएर बस्न थालेका छन् । “छाउगोठको रूपमात्रै फेरिएको छ”, महिला अधिकारकर्मी तथा अल्पकालीन महिला सेवा केन्द्रकी इन्चार्ज गीता शाहीले भन्नुभयो, “संस्कार र सोच जहाँको त्यहीँ छ । मानसिकरूपमा चेत खुल्दैन भने गोठजन्य संरचना भत्काएर केही हुँदैन ।” उहाँले मुलुक सङ्घीयतामा जानुअघि पनि जिल्ला विकास समितिको नेतृत्वमा छाउपडीमुक्त अभियान चलाएको र बीचमै रोकिएको बताउनुभयो । “सुरुमा छाउगोठ पनि भत्काइए”, उहाँले भन्नुभयो, “विभिन्न सङ्घसंस्थाले चेतनामूलक कार्यक्रम गरे । जिविसले पनि धेरै गाविसमा काम ग¥यो । पछि सबै निकाय सुस्ताए । स्थानीयवासीले छाउगोठ पुनःनिर्माण गरे ।” उहाँका अनुसार छाउगोठ भत्काउने अभियानका बेलामा केही महिलाले त त्रिपाल टाँगेर रात बिताएका थिए । उहाँले महिनावारी हुँदा घरभित्रै छुट्टै कोठामा बस्दै आएका महिला भने अन्धविश्वास तोडेर अघि बढेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा पहिलेको तुलनामा धेरै परिवर्तन भएको बताउनुहुन्छ । “सुदूरपश्चिममा सबैभन्दा बढी छाउपडी मान्ने जिल्ला बझाङ पनि हो । तर पछिल्लो समयमा भने चेतनाको विकासले धेरै परिवर्तन भइसकेको छ । छाउपडी मान्नेहरू धेरै नै व्यवस्थित भइसकेका छन्”, उहाँले भन्नुभयो । बोहराका अनुसार बझाङमा सबैभन्दा बढी जयपृथ्वीका केही वडा, सुर्मा, छविस, मष्टा, खप्तडछान्ना र थलारामा बढी मान्ने गर्छन् । छाउगोठ भत्काउन तथा चेतना फैलाउने फेरि अर्को अभियान सुरू गर्ने उहाँले बताउनुभयो ।
पाल्पा । पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए । शुक्रबार साँझ करिब ५ बजे गाउँ नजिकै रहेको तारे जङ्गलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्न गएको बुझिएको छ । विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि अरिङ्गालको गोलो पोल्न जानुभएको थियो ।
काठमार्डौं । नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । भोलि आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राजधानी काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । झण्डै दुई साता लगातारको वर्षाले काठमाडौँसहित देशका कतिपय स्थानमा चिसो बढेको थियो । पछिल्ला दिनमा घाम लागिरहेकाले तापक्रम पनि स्थिर रहेको छ । आज काठमाडौँको न्यूनतम १५ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।
बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्नुहुन्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ । ढोरपाटन नगरपालिका–२ दुलेमा पर्ने बस्ने दर्जी परिवारको अवस्था निकै दयनीय छ । छाप्रो बनाएको ठाउँ पनि देवीरामको होइन । सार्वजनिक ठाउँ भए पनि नजिक जग्गा हुनेले आफ्नो दाबी गर्दै छोड्न दबाब दिन्छन् । उहाँको श्रीसम्पत्ति ढोरपाटन नगरपालिका–३ सामागाउँमा छ । गाउँमा एउटा घर, गोठ र केही जग्गा जमिन पनि छ । तर उहाँ कहिल्यै त्यो घरमा जानुहुन्छ । घर सम्झिँदा पनि उहाँ झसङ्ग झस्किनुहुन्छ । उहाँ झस्किनुको कारण अन्धविश्वास हो । तीन वर्षमा परिवारका आठ सदस्यको मृत्यु भएपछि दर्जी घर अशुभ भएको भन्दै नौ वर्ष अगाडि परिवार लिएर गाउँ छाड्नुभएको हो । दर्जी भन्नुहुन्छ, “तीन वर्षमा मेरो तीन भाइ छोरा, दुई बहिनी छोरी, आमाबाबु र छ वर्षको भतिजी मरे, मेरो छोराछोरी ठुल्ठूलै भएर मरे, त्यो सम्झिँदा मन भक्कानिन्छ, म त निकै ठूलो पिर परेर घरबारी छाडेर यो बाटोमा आएको हुँ ।” घरमा वर्षैपिच्छे दुई जना परिवारका सदस्यको मृत्यु भएपछि ज्योतिषकहाँ गएको र ज्योतिषले घरमा राक्षसले बास गरेको छ भनेपछि घर छाडेका उहाँ बताउनुहुन्छ । “घरमा वर्ष दिन नबित्दै तीन छोराछोरी मरे, तीन वर्षमा आठ जना आफन्त गुमाएँ, मलाई जति पिर कसलाई परेको होला त्यो बेला ?”, दर्जीले भन्नुभयो, “अति भयो र काठमाडौँमा ज्योतिषलाई हात हेराउन गएँ, ज्योतिषले घरमा राक्षसले बास गरेको छ, अरुको पनि मराण लिन्छ भन्नुभयो, छोरा र श्रीमती पनि डराए, घर अशुभ रैछ त्यही भएर गाउँ नै छाडेर हिँडेको हुँ ।” अहिले दर्जीका कान्छा छोरा, जेठी र साइली छोरी जीवितै हुनुहुन्छ । छोरीहरू विवाह गरेर आफ्नो घरमा छन् भने कान्छा छोरासहित श्रीमती, नाति, नातिनी र बुहारी उहाँसँगै बस्दै आएका छन् । दर्जीलाई छ जनाको परिवार पाल्न अहिले हम्मेहम्मे भएको छ । घर सडक छेऊमा हुँदा गाडी गुड्दा हिलो र धुलोले ढाकिने गर्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो भएभरको घर सम्पत्ति सबै छाडेर यहाँ आइयो, यस्तो बाटोको छेऊमा छ छाप्रो पनि, गाडी चल्दा बर्खामा हिलो छ्याप्छन्, हिउँदमा धुलो उडाउँदै जान्छन्, कसलाई के भन्ने ?, यस्तो ठाउँमा बसेर होला सबैले हेला गर्छन्, बूढेसकाल लाग्यो, काम गरी खान पनि सकिन्नँ ।” दर्जीले अहिलेसम्म आफूले गिट्टी कुटेर, बालुवा बोकेर र मादल बेचेर परिवार चलाउँदै आएको भन्दै आफ्नो बूढेसकाल लागेपछि परिवार पाल्न गाह्रो भएको बताउनुभयो । छोराले पनि काम नपाएर यत्तिकै घरमा बस्ने गरेको भन्दै आफूलाई कसैले सहयोग नगरेको गुनासो गर्नुभयो । “अहिले त बूढेसकाल लागेछ, काम गर्न पनि गाह्रो हुन्छ, अहिलेसम्म गिट्टी, बालुवा कुटेर परिवार पालेँ, अब गाह्रो होलाजस्तो लाग्छ, छोरा छ, उसले पनि कामै पाउँदैन, काम पाए त उसले कमाएर ल्याउँथ्यो होला”, दर्जीले भन्नुभयो, “म गरिब दुःखी हुँ, मलाई कसैले पनि सहयोग गरेको छैन, परिवार पाल्न गाह्रो भएको छ, केही सहयोग गरे त सजिलो हुन्थ्यो, नगरपालिका भन्छन्, गाउँपालिका भन्छन् तर हाम्लाई कसैले सहयोग गर्दैनन् ।” दर्जीकी श्रीमती मीना पुरानो घरमा बसेको भए आफूहरू पनि अहिलेसम्म जिउँदो नरहने बताउनुहुन्छ । “हामी नौ वर्ष पहिले घर छाडेर यहाँ आएको हौ, त्यसबेला घर नछाडेको भए अहिलेसम्म हामीहरु जिउँदो रहने थिएनौँ, अझै पहिले नै घर छाडेका भए हाम्रा छोराछोरी पनि बाँच्ने रहेछन्, ढिलो बुद्धि आयो”, उहाँ भन्नुहुन्छ, “ज्योतिषले अशुभ नभनेको भए अहिलेसम्म हामीहरू सबै मरिसक्थ्यौँ होला ।” दर्जीले सडक छेऊमा बस्न निकै गाह्रो भएको अनुभव सुनाउनुभयो । उहाँ बाटोमा दिनरात गाडी चल्ने हुँदा थाकेर सुत्दा पनि गाडीको आवाजले निदाउन नसक्ने बताउनुहन्छ । “यस्तो ठाउँमा छ घर, घर पनि के भनौँ यस्तो छ, जतिबेला पनि गाडी चल्छन्, दिउँसभरि काम गरेर थकाइ लाग्छ, राति गाडीको आवाजले निदाउँनै दिँदैन”, उहाँले भन्नुहुन्छ । उहाँले घर गतिलो नहुँदा पानी पर्दा चुहिने र हुरी चल्दा छानो र बार सबै उडाइदिने गरेको बताउनुभयो । सरकारले सानो भए पनि घर बनाइदिए आफूहरूलाई ठूलो राहत मिल्ने उहाँ बताउनुहुन्छ । दर्जी भन्नुहुन्छ, “घर पानी पर्दा चुहिन्छ, हुरी चले घरको छानो र बार सबै उडाइदिन्छ, यसरी पनि रात–दिन बिताएका छौँ, सरकारले हाम्रो दुःख देखेन, सानो भए पनि ओत लाग्ने घर बनाइदिए हाम्रा लागि निकै ठूलो राहत हुने थियो ।”
सिरहा । सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्टहाउसमा फेला परेको छ । विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिनुभयो । सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो । असोज २६ गते गेष्टहाउसमा प्रवेश भएको दखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशङ्का व्यक्त गर्नुभयो । प्रहरीले उक्त हत्या घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लुम्बिनी । “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी हुनुहुन्छ । “बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन”, उहाँले भन्नुभयो । सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा हुनुहुन्छ । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उहाँहरूले महिनैपिच्छे पठाउनुभएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आउनुभयो । तर बैंक स्टेटमेण्टमा उहाँको खातामा पैसा छैन । गत साउन महिनामा नयाँ घर बनाउने भनेर जब उहाँ बैंकको भैरहवा शाखामा पैसा निकाल्न जानुभयो, उहाँको खातामा मात्र रु ९० हजार मात्र रहेको थाहा पाउनुभयो । यो अवधिमा उहाँले सो बैंकमा रु चार लाख जम्मा गरिसकेको बताउनुहुन्छ । अहिले उहाँ बैंकले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिरहनुभएको छ । सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि माछापुछ्रे बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी रु १५ लाख ८० हजार जम्मा गर्नुभयो । उहाँको खातामा पनि उक्त पैसा छैन । खातामा पैसा नदेखिएपछि उहाँले बैंकमा निवेदन दिन जानुभयो तर बैंकले उहाँको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उहाँको गुनासो छ । आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गर्नुभएको भौचर छ । तर, उहाँहरुको बैंक खातामा भने रकम छैन । खातामा जम्मा गरिएको रकम कहाँ गयो रु भन्ने प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ । सेवाग्राहीले क्षमताअनुसार रु पाँच हजारदेखि १६ लाखसम्म जम्मा गरेको बताएका छन् । यसरी जम्मा गरेको करिब रु तीन करोड एजेन्ट र बैंककै कारण गायब भएको उहाँहरूको गुनासो छ । पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका रहेछन् । बैंक र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उहाँहरूको माग छ । ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिँदै आएको हो । पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राख्नुुभएको थियो । सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गर्नुहुन्थ्यो । निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै ढाँट छल गरिरहेको सेवाग्रहीको आरोप छ । वडा नं ५का वडाध्यक्ष श्रवण यादवले भन्नुभयो, “बैंकले स्थानीयवासीको रकम गायब हुँदा अहिलेसम्म पनि एजेन्टविरुद्ध कुनै कारवाही गरेको छैन । उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ ।” वडाध्यक्ष यादवले यसबाट स्थानीयवासी झनै सशंकित हुनुपरेको उल्लेख गर्दै सेवाग्रहीले जोड्नुभएका एक–एक पैसा ब्याजसहित बैंकले तिर्नैपर्ने बताउनुभयो । बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार्दै सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु । म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।” सेवाग्राहीको दाबी सबै सत्य नभएको र रु एक करोड ३२ लाख मात्र अनियमित भएको उहाँको भनाइ छ । त्यसैगरि बैंकका एजेन्ट निरञ्जन पाठकले भन्नुभयो, “यस क्षेत्रमा बैंकिङ सुविधा नभएका बखत २०७५ सालमा बैंककै कर्मचारी र स्थानीयवासीको आग्रहमा शाखारहित कार्यालय सञ्चालन भएको हो, मैले नै सम्झौता गरेको हुँ तर कोभिडको समयदेखि मसँग कुनै सम्झौता भएको छैन ।” एजेन्ट पाठकले व्यवस्थापकले गल्ती गरेकाले उहाँले सेवाग्राहीको पैसा तिर्नुपर्ने बताउनुभयो । सो सम्बन्धमा माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयका प्रवक्ता सुनिल खतिवडाले भने अब अनुसन्धान गरेर स्थानीयवासीको मर्का बुझ्ने बताउनुभएको छ ।
बागलुङ । अहिले पनि बागलुङको माथिल्लो क्षेत्रमा पुग्दा स्थानीयवासीले हापदुला, काम्लो, बख्खु, घुम (भेडाको ऊनबाट बनेको कपडा) लगाउने गरेको देखिन्छ । उच्च पहाडी क्षेत्रमा बाह्रै महिना चिसो हुने हुँदा यहाँका बासिन्दाले यस्ता कपडा लगाउने गरेका हुन् । घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने हुँदा उनीहरुले ऊनको कपडा बढी प्रयोग गर्छन् । यहाँका अधिकांश स्थानीयवासीले सयौँको सङ्ख्यामा भेडापालन गर्ने हुँदा उनीहरुले ऊनबाट कपडा बनाउने पनि गर्दै आएका छन् । निसी, भुजी र तमान क्षेत्रमा बढी प्रख्यात भेडाका कपडा विदेशसम्म पनि पुग्ने गर्छ । कपडा र मासु दुवैका लागि भेडा उपयुक्त हुनेहुँदा भेडापालकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् । मासु स्थानीयस्तरमै बिक्री हुने गरे पनि त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गर्दछ । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ । युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन् । तमानखोला गाउँपालिका– ३ तमान गाउँकी छलीमाया बुढाथोकी ६६ वर्षको हुनुहुन्छ । उहाँले अहिले पनि चर्खामा ऊन घुमाउने र काम्लो, हापदुलालगायत भेडाको रौँबाट कपडा बनाउँदै आउनुभएको छ । ऊनबाट बन्ने कपडा सानैबाट बनाउन सिक्दै आउनुभएकी छलीमायाले यो सीप आमाबाट सिक्नुभएको हो तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उहाँको गुनासो छ । “मैले सानैदेखि बुन्दै आएको हुँ, सानोमा आमाले बुनेको देखेँ, गाउँमा छरछिमेकीले पनि बुन्ने गर्थे, त्यसपछि मैले पनि बुन्न थाले, अहिलेसम्म बुन्दै छु, हात चल्दासम्म बुन्छु नै”, छलीमाया भन्नुहुन्छ, “अहिलेका युवापुस्ताले यस्ता काम गर्नै जान्दैनन्, चासो पनि दिँदैनन्, भेडाबाख्रा पाल्नै छोडे, हाम्रो सासपछि यो सबै हराएर जान्छ होला, मैले नातिनातिनीलाई सिकाउन धेरै खोजेँ तर चासो दिएनन् ।” आफूहरु सानो हुने बेला सिरक, डसना र कपडा नहुने भन्दै भेडाको रौँबाटै डसना र सिरक बनाएर प्रयोग गरेको स्मरण छलीमाया गर्नुहुन्छ । “हामी सानोसानो हुँदा गाउँमा कपडा पाइँदैनथ्यो, अहिलेको जस्तो सिरक, डस्ना भन्ने बजारबाट आउँदैनथे, गाउँमै बाउआमाले भेडाको रौँबाटै बनेका घुम, काम्लो प्रयोग गर्नुपथ्र्यो, कपासको कपडा त धेरैपछि आएको हो हाम्रो ठाउँमा”, उहाँ भन्नुहुन्छ, “अहिले सबै कपासबाट बनेका सिरक डस्ना ओड्ने दोछ्याउने गर्छन्, त्यसले गर्दा पनि नयाँपुस्ताले ऊनबाट बन्ने कपडा बनाउन छोडे, यता तिर बिक्री पनि हुन छोडे, बरु विदेशतिर बढी जान्छ ।” ढोरपाटन–९ की फूलकुमारी पुनमगर अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकामा चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जमाना फेरियो, चाल चलन फेरियो, मान्छेको आनीबानी फेरियो, त्यसले गर्दा पुराना कला र सीप पनि फेरिए । हाम्लेजस्तो काम अहिलेकाले गर्नै छोडे, मैले पहिले महिनामा दुईदेखि चार वटासम्म बख्खु बुन्ने गर्थे, अहिले प्रयोग कम हुँदै गएपछि मैले बुन्न पनि छोडेँ ।” रौँबाट बन्ने कपडा नेपालमाभन्दा विदेशमा बढी माग हुने गरेको फूलकुमारीको भनाइ छ । “पछिल्लो समयमा भेडापालन गर्नेको सङ्ख्यासमेत घट्दै गएपछि ऊनको आपूर्ति नहुने हुँदा कम मात्रै उत्पादन हुने गरेको छ” उहाँ बताउनुहुन्छ, “काम्लो, हापदुलाको माग अहिले नेपालमा निकै कम छ तर विदेशमा निकै बढी छ, मूल्य पनि राम्रो मिल्ने गर्छ, अहिले गाउँमा भेडा पाल्ने पनि घटे त्यही भएर ऊनको व्यवस्थापन गर्न पनि गाह्रो हुँदै आएको छ ।” पहिले एक जनाले कम्तीमा दुई सयदेखि चार सयसम्म भेडा पाल्ने गरेकामा अहिले गाउँका केही व्यक्तिले मात्रै भेडा पाल्ने गरेको फूलकुमारीकोे भनाइ छ । “उतिबेला गाउँका धेरै मान्छेले भेडाबाख्रा पाल्ने गर्थे, एउटा व्यक्तिले कम्तीमा दुई सयदेखि चार सय भेडा पाल्थ्यो, कपडा पनि बनाउने, मासुका लागि पनि बेच्ने गर्थे, अहिले त मासु खानका लागि मात्रै थोरै पाल्ने गर्छन्”, उहाँ बताउनुहुन्छ, “पछिपछि त भेडापालन गर्ने मान्छे भेट्टाउनै मुस्किलपर्ने छ, भेडा पनि लोप हुन लागेका छन् ।” ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम रु सात हजारदेखि रु ५० हजारसम्म पर्ने गरेको स्थानीयवासीको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको निसीखोला गाउँपालिका– ५ की पुतली विक बताउनुहुन्छ । पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएकाले मागसमेत घटेको र आधुनिक प्रविधिका बजारमा आउने आयातित कपडाले गर्दा ऊनका कपडा ओझेलमा परेको उहाँको भनाइ छ । स्थानीयस्तरमा भएका सीप पहिचान गरी गाउँपालिकाले नयाँ पुस्तालाई सिकाउन सके वर्षौंसम्म ऊनका कपडा उत्पादन हुने र स्थानीयवासीले पनि राम्रो आम्दानी गर्न सक्ने उल्लेख गर्दै पुतली स्वदेशमा बढीमा रु ३० हजारसम्म पर्ने ऊनको कपडालाई विदेशमा रु ५०हजारदेखि रु एक लाखसम्मपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ऊनको कपडाको मूल्य निकै बढेको छ, स्वदेशमा भन्दा विदेशमा यसको माग पनि बढी भएको हुँदा न्यून आय भएका नागरिकलाई गाउँपालिकाले यो सीप सिकाएर, आयआर्जनसँग जोड्नसके राम्रो हुने थियो, गरिबको जीवनशैली पनि बदलिने थियो ।”
काठमाडौं । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । अमादब्लङ (६,८१४ मिटर) हिमाल आरोहणमा ११ आरोही समूहका एकसय ३१ ले अनुमति पाएका छन् । हिम्लुङ हिमालका (७,१२६ मिटर) मा १४ आरोही समूहका एक सय ४४ ले आरोहण अनुमति लिएका छन् । यस्तै, धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका आरोहीले अनुमति लिएका छन् । अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ । यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि हालसम्म नेपालसहित ६८ मुलुकका नौ सय एक आरोही यहाँ आएका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आरोहण धमाधम चलिरहेको जानकारी दिनुभयो । उहाँले अहिले पनि केही हिमालमा आरोहण अनुमति पनि जारी भइरहेको बताउनुभयो । उहाँका अनुसार मनास्लु आरोहण लगभग सकिएको छ तर, के–कति सङ्ख्यामा आरोही मनास्लुको चुुचुरोमा पुगे भन्ने विस्तृत विवरण आइसकेको छैन । अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही गएका हुन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्ने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा पनि धेरै सङ्ख्यामा आरोही मनास्लु आरोहणमा गएको बताउनुभयो । गोरखाको आरुखेतमा रहनुभएका उहाँले दिएको जानकारी अनुसार यस सिजनको मनास्लु आरोहण करिब अन्तिम चरणमा छ । अधिकांश आरोही आरोहण सकेर फर्किनेक्रममा रहेका छन् । उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेका प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो ।