बागलुङ । निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखरखेती लगाइएको छ । उक्त स्थानमा दुई वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जग्गा चक्लाबन्दी कार्यक्रममार्फत ती खती लगाइएको थियो । यस्तै बानपा–१२ स्थित सहेलाको फाँटमा चासो कृषक समूहको झण्डै दुई सय रोपनी जग्गामा कागतीका बिरुवा हुर्कँदै गरेका छन् । सोही समूहलाई समेत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चक्लाबन्दी कार्यक्रममा समावेश गरिएको थियो । बाँझो जग्गालाई एउटै ‘पलट’ बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रूपमा लिने गरिन्छ । बाँझो जग्गामा एकीकृत खेती गर्नका लागि गलकोट नगरपालिकाको एक सहकारीले निलुवा लेकमा जग्गा चक्लाबन्दी गरेर खेती थालेको छ । जिल्लामा विस्तारै जग्गा चक्लाबन्दी गरेर व्यावसायिक खेती प्रणालीमा लैजान थालिएको छ । बसाइँसराइले क्रमशः गाउँका जग्गा बाँझो पल्टिने, जग्गाको खण्डीकरणका कारण यान्त्रिकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना आएको हो । नगदे बालीको उत्पादन बढाउने, यान्त्रिकरणको माध्यमबाट उत्पादन लागत घटाउने र खेर गएको जग्गालाई सदुपयोग गर्नका लागि जग्गा चक्लाबन्दीको योजना अघि सारेको सो परियोजनाले जनाएको छ । परियोजनाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा पाँच स्थानमा करिब पाँच सय रोपनीभन्दा बढी जग्गा चक्लाबन्दी गरेकामा चालु आवमा चक्लाबन्दी योजनाका लागि पुनः पाँच योजनाका लागि रु ५० लाख बजेट विनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना बागलुङका वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले बताउनुभयो । उहाँका अनुसार चक्लाबन्दी कार्यक्रममा समावेश हुनका लागि फार्मको साठी रोपनी र समूहको एक सय रोपनी जग्गाभन्दा माथि हुन आवश्यक छ । “पछिल्लो सयम कृषिमा यान्त्रिकरण भइरहेको छ, पहाडमा साना–साना खण्डकीरणका जग्गा छन् भने केहीले जग्गालाई बाँझो बनाएर छाडेका छन्”, उहाँले भन्नुभयो, “दुई वर्ष पहिला परियोजनाले पाँचवटा चक्लाबन्दीको योजना सफल भएको छ, यो वर्ष पुनः पाँच स्थानको जग्गा चक्लाबन्दी गर्ने गरी योजना माग गरेका छौँ, चक्लाबन्दीले नगदे बाली बढाएको छ भने सम्भावित बाँझो जग्गालाई घटाएको छ, बाँझो जग्गा भाडामा लिएरसमेत जग्गा चक्लाबन्दी गर्न सकिने भएकाले जग्गाको उपयोगिता चक्लाबन्दीसँगै दोब्बरले बढेर जान्छ ।” परियोजनाका अनुसार दुदीलाभाटी, ढोरपाटनमा समेत चक्लाबन्दी गरेको जग्गामा नगदे तरकारी तथा फलफूल बाली लगाइएको बताउनुभयो । चक्लाबन्दी जग्गामा अन्नबालीबाहेक जुनसुकै खेती गर्न सकिन्छ । चक्लाबन्दी जग्गामा सजिलै यन्त्र उपकरण लैजान सकिने, पानीको निकास हुने, पहिरो नजाने तथा उत्पादनमा समेत वृद्धि हुने र उत्पादन लागत घट्ने भएकाले जग्गा चक्लाबन्दीमा किसानको आकर्षण बढेको छ । चक्लाबन्दी भन्दैमा डोजर लगाएर जग्गा सम्याउनेमात्रै नभएर जग्गाको खण्डीकरण मिलाउने र अन्नबाहेकको एकल बाली लगाउनेलाई समेत चक्लाबन्दीका रूपमा लिदै आएको वरिष्ठ कृषि अधिकृत पौडेलको भनाइ छ । पौडेलका अनुसार चालु आवमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत ४० विभिन्न कृषि योजनामा रु पाँच करोड बजेट विनियोजन भएको छ । छपन्न जनाको बाँझो जग्गा भाडामा लिएर गलकोटको सयपत्री बहुउद्देश्यीय सहकारीले एक सय २४ रोपनी जग्गा चक्लाबन्दी गरेर परीक्षण खेती थालेको छ । प्रतिरोपनी वार्षिक दुई हजार भाडा तिर्ने गरी जग्गा चक्लाबन्दी गरेर खेती गर्न थालिएको सहकारीका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको रु २६ लाख र सहकारीको रु चार लाख लागतमा एक सय २४ रोपनी जग्गा चक्लाबन्दी गरिएको हो । “किसान घटाउने उत्पादन बढाउने हाम्रो योजना हो, परीक्षणका लागि केही खेती गरेका छौँ, गत वर्ष चक्लाबन्दी गरेको जग्गामा यस वर्ष जमिन दबेर खाल्डाखुल्डी परेको छ, पुनः जग्गा व्यवस्थित गरेर नगदेबाली लगाउनेछौँ”, उहाँले भन्नुभयो, “अहिले लसुन तथा सिमी लगाइएको उक्त स्थानलाई यस वर्ष पुनः व्यवस्थित गरेपछि खेती थालिनेछ ।”
गण्डकी । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै दर्शनार्थी पुग्न थालेपछि यहाँको चहलपहल बढेको छ । विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत पितृ उद्धार हुने विश्वासका साथ यहाँ दर्शनार्थी आउने गर्दछन् । मुस्ताङ पुगेका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउनुभयो । “यस वर्ष सोह्र श्राद्धको पहिलो दिन आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ”, उहाँले भन्नुभयो, “पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वासले टाढाटाढाबाट मन्दिरमा दर्शनार्थी आउने गर्दछन् ।” मन्दिर आएका दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई बोत्तलमा भरेर घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीयरुपमा पनि उत्तिकै महत्वपूर्ण छ । अघिल्ला दुई वर्ष कोरोना कहरले यहाँको धार्मिक पर्यटन प्रभावित भए पनि यस वर्ष भने पर्यटकको आगमन राम्रो हुने विश्वास लिइएको मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा होटेल ग्रान्ड साम्बाला सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी सुरज गुरुङले बताउनुभयो । मुक्तिनाथ क्षेत्रमा अक्टोबरदेखि नै विदेशी पर्यटकको चहलपहल हुने गरेको बताउँदै उहाँले सोह्र श्राद्धको समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन अत्यधिक हुने गरेको जानकारी दिनुभयो । पछिल्ला वर्षमा चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । कोरोना कहरअघिका वर्षमा देखिएको पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको गुरुङले जानकारी दिनुभयो । चार दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो । ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता थियो । पछिल्ला वर्षमा बन्दै गएका सुविधासम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ । यहाँस्थित रानीपौवा यहाँको ऐतिहासिकताको ज्वलन्त उदाहरण पनि हो । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएछ । रानी सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएको छ । सोही अनुरोधकै आधारमा सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गर्नुभयो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा यहाँ धर्मशाला निर्माण गर्दा कुष्मा अर्मादीका काठ प्रयोग गरिएको हो । रानीले बनाइदिएको धर्मशाला भएकाले तत्कालीन समयदेखि नै यो ठाउँको नाम रानीपौवा रहन गएको हो । तत्कालीन समयदेखि नै यो धर्मशाला मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको स्थानीयवासी बताउँछन् । धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवं आवश्यक अन्य समान बेच्नेक्रम सुरु भएको रानीपौवामा अहिले भने झण्डै २५ वटा सुविधा सम्पन्न होटेल रहेको र अन्य बन्ने क्रममा रहेको पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ । करिब २०३२÷३३ सालसम्म यो ठाउँ सामान्य लेक रहेकामा अहिले बजारका रुपमा परिणत भइसकेको छ । रानीपौवामा धर्मशाला नबन्दासम्म मुक्तिनाथ आएका दर्शनार्थी त्यहाँबाट केही तल पुराङ गाउँमा बस्नुपर्दथ्यो । चार वर्ष वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथको भ्रमणसँगै भारतीय धार्मिक पर्यटक आउने क्रमले गति लिएको यस स्थानको पर्यटन कोरोना कहरका कारण त्यस यताका दुई वर्षयता प्रभावित भयो । पर्यटकलाई लक्षित गरी निर्मित यहाँका होटलका कोठाबाटै देख्न र अनुभव दिन सकिने हिमाल एवं मनोरम भूवनोटले जो कोहीलाई लोभ्याउँछ । पर्यटकको रोजाइअनुसारका राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाका परिकार यही पाइन्छ । सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्लो दशकयता मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन् । पोखराबाट हवाइ उडान र सडक यातायात दुवैबाट मुक्तिनाथ पुग्न सकिन्छ । पर्यटकको सुविधालाई लक्षितगरी विभिन्न सुविधासम्पन्न यातायातका साधन सञ्चालन भइरहेको यात्री बस प्रालि पोखराका सञ्चालक बोबरजङ्ग गुरुङले बताउनुभयो । “पर्यटकका लागि मुक्तिनाथ जान सुविधासम्पन्न बसका साथै जीपको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “सोह्र श्राद्धका साथै अन्य समयमा पनि पोखरा हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बर्सेनि बढिरहेको छ ।” हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिएको छ ।
मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वा: खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामन: (गुरू) ले जिब्रोको प्वालमा नास:द्य: (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो । स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग)चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्य: दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो । जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ । संस्कृतकर्मी श्रेष्ठले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।” शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताउनुभयो । जिब्रो छेड्ने व्यतिमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामन: थरका व्यक्ति)को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पु¥याइएको थियो । डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामन:गुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्ये: ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो । धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् । आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ । आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु(सुइरो) लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा तीन सय ५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७–१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन् । शनिवार राति ९ बजे श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्नुभएको हो । उहाँले यसअघि विसं २०७४ मा जिब्रो छेडाउनुभएको थियो । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक–पटक रोकिदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुन: सञ्चालनमा ल्याएको थियो । विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यस वर्ष पुन: वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो । जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दु:ख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दु:ख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरिएको छ। यस निर्वाचनको लागि एक लाख पन्ध्र हजार म्यादी प्रहरीको भर्ना खुला गरिएको हो । र म्यादी प्रहरीको सेवा अवधि ४० दिनको मात्रै हुनेछ । साथै म्यादी प्रहरीलाई विभिन्न सेवा तथा सुविधा पनि तय गरिएको छ। जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ। यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् । तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ। निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ। अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाको भनाइ छ। भदौ ३० गतेदेखि असोज ६ गते सम्म इच्छुक व्यक्तिले आफ्नो नजिकको जिल्ला प्रहरी परिसर कार्यालयमा आवेदन दिनुपर्नेछ।
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ। विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए। काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ। लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ। भदौ ६ गते उनी केन्यामा हुने टी २० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए। क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन्। गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए। उनले आफूमाथि लागेको आरोपको सामना गर्ने र निर्दोष भएको बताएका थिए। लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन। उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरिने पनि प्रहरीको भनाइ छ। भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। जाहेरी परेपछि प्रहरीले सोही दिन पीडितको स्वास्थ्य परीक्षण गराएको थियो। प्रहरीले घटनास्थलबाट प्रमाणहरू जुटाउने काम गरिरहेको जनाएको छ। प्रहरीले काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि संकलन गरेको छ। उनीहरू काठमाडौंको होटलमा जानुअघि भक्तपुरको नगरकोटस्थित होटलमा पनि पुगेको प्रहरीले जनाएको छ।
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव चार डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस छ ।
तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८र७९ मा रु चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु चार करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ । दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ । कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा छ वटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ ।
तनहुँ: कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पक्राउ परेका श्रेष्ठविरुद्ध शुक्रबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को समन्वयमा निजलाई गैडाकोट नगरपालिका–२ स्थित राजमार्गमा बाप्र०३–००१ह १५६८ नंको टेम्पो चलाइ हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । विसं २०६० साउन १८ गते भानु नगरपालिका–६ बस्ने ५५ वर्षीय चाउरे श्रेष्ठलाई घातक हतियार कोदालो प्रयोग गरी प्रतिवादीले घाइते बनाएका थिए । घाइते श्रेष्ठको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । घटनापश्चात प्रतिवादी फरार रही लुकीछिपी बस्दै आएका थिए ।
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा रु १३ लाख बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गए राति करिब १० बजेको समयमा जिल्लाको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा रहेको किराना पसलमा आगलागी भएको थियो । स्थानीय ३७ वर्षीय राजकुमार महतोको चारकोठे कच्ची घरको किराना पसलमा विद्युत् सर्ट भई आगाली भएको सूचना अधिकारी पाठकले बताउनुभयो । आगलागीको सूचना पाएलगत्तै प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहायतामा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त आगलागीबाट किराना पसलको सामान, फ्रिजलगायतको सामग्री जली करिब रु छ लाख बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै गए राति ९ः४५ बजेको समयमा देवचुली–१३ को भाजियापुरी टोलस्थित आशाको किरण शिशु स्याहार केन्द्रको भवनमा समेत विद्युत्को तार सर्ट भएर आगलागी भएको सूचना अधिकारी पाठकले बताउनुभयो । आगलागी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय कावासोती, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र कावासोती नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो आगलागीबाट भाँडावर्तन र भवन गरी करिब रु सात लाख बराबरको क्षति भएको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।