आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...

  काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक को बनेपा नगरपालिका–१३ र १४ का बासिन्दालाई स्वच्छ खानेपानी वितरण गरिएको छ । खानेपानीको समस्या रहेको यहाँका बासिन्दालाई विभिन्न दातृ निकायको सहयोग तथा स्थानीय उपभोक्ताको संयुक्त आयोजनामा साँगाकोट खानेपानी जल उपभोक्ता समितिले डिपबोरिङ खानेपानी परियोजना सम्पन्न गरी दुई वडाका तीन सय ४६ घरपरिवारलाई खानेपानी वितरण गरिएको हो ।   अटोनोमस प्रोभिन्स अफ बोल्जानो इटाली, प्रो नेपाल इटाली र आपसको निम्ति समाज नेपालको सहयोगमा सो परियोजना सम्पन्न भएर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका संयोजक जीवन श्रेष्ठले बताउनुभयो । खानेपानी आयोजनाको आज भएको उद्घाटन कार्यक्रममा संयोजक श्रेष्ठले तीन वर्ष अगाडि सुरु गरिएको आयोजना कोभिड–१९ को प्रभावका कारण ढिलो सम्पन्न भएको जानकारी दिनुभयो ।   ‘शुद्ध पिउने पानी आजको आवश्यकता, सहज उपलब्धता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ ‘एक घर, एक धारा’ अभियानअन्तर्गत अहिले तीन सय ४६ घरपरिवारलाई स्वच्छ पिउने पानी वितरण गर्न सफल भएको छ । संयोजक श्रेष्ठले भन्नुभयो, “पानीको मुहान र ट्याङ्की निर्माणको क्षमताअनसुार करिब छ सय घरपरिवारलाई वितरण गर्न सकिने भएकाले बाँकी घरहरूलाई बजेट र आवश्यक व्यवस्थापनको काम सम्पन्न गर्दै वितरण गर्दै जानेछौँ ।”   साँगा आसपासका इटाचा, दिपडोल र गोसिन्चा गाउँमा थप बजेटको व्यवस्थापन गर्दै पाइप र धारा जडान गरी पानी वितरण गर्ने जनाएको छ । रु एक करोड ५१ लाख १९ हजार आठ सय ६८ लागतमा सो आयोजना सम्पन्न भएको हो । सम्पन्न भएको आयोजनाले टाढा–टाढाबाट पानी बोकेर दैनिक घर चलाउने महिलाका लागि अझ थप सहज भएको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले शुभकामना सन्देशमार्फत आयोजना पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।   साँगाका स्थानीय समाजसेवी प्रचण्डराज प्रधानले दातृ निकायको सहयोगमा साँगावासीलाई पिउनेपानी उपलब्ध गराउन धेरै कष्ट गरेर सफल भएको बताउनुभयो । पानीको मुहान तल र बस्तीमाथि भएकाले बोरिङ गरी वितरण गरेको पानीलाई थप शुद्धीकरणका लागि प्रशोधन केन्द्र निर्माण गरी वितरण गर्न आवश्यक रहेकाले त्यसका लागि नगरपालिकाबाट सहयोग गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

  पोखरा । नेकपा एकीकृत समाजवादीक कास्कीको अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । पार्टी अध्यक्ष धनराज आचार्य पोखराको मेयर उम्मेद्वार बन्दादेखि नै कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका हमाललाई शनिबार पोखरामा भएको भेलाले अध्यक्षमा चयन गरेको हो ।   पोखरा २१ कृष्ति स्थायी घर भएका पुराना, सालिन र इमान्दार कम्युनिष्ट नेताका रुपमा चिनिएका हमाल २०३६ साल बाट विद्यार्थी राजनीतिमा उदायका हुन् । उनी नेकपा एमाले क्षेत्रीय कमिटी उपाध्यक्ष, जिल्ला कमिटी सदस्य, एकीकृत समाजवादीमा जिल्ला कमिटी सदस्य र उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् ।     त्यसैगरी एकीकृत समाजवादीको उपाध्यक्षमा पूर्ण लामा चयन भएका छन् । यस अगाडि जिल्ला कमिटीमा उपसचिव रहेका उनी समाजवादी निकट युवा संघको समेत केन्द्रीय उपाध्यक्ष छन् ।   १६९ सदस्यीय जिल्ला कमिटी रहेको एकीकृत समाजवादी कास्कीमा अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरेर ६ जना पदाधिकारी रहने व्यवस्था छ । एकीकृत समाजवादीको जिल्ला कमिटी भित्र ५५ सदस्यी सचिवालय छ भने समावादीका पाँच हजार एक सय जना संगठित सदस्य रहेका सो पार्टीले जनाएको छ ।

  तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो । यहाँ सहरी तथा ग्रामीण क्षेत्रबाट पनि पठनपाठनका लागि विद्यार्थी आउने गरेका छन् । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने विद्यार्थी आउने गरेका छन् ।        विसं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । जुन बेला यही ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो ।    क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११/१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो ।    कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ । त्यस्तै शहीद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।    क्याम्पसले नर्सिङ, इन्जिनियरिङको पठनपाठन सुरु गर्ने लक्ष्य लिएको छ । त्यसका लागि भवन र थप जनशक्ति आवश्यक पर्ने क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । क्याम्पसको शैक्षिक विकासका लागि बीस वर्षे गुरुयोजना बनाइएको छ । क्याम्पसलाई मानक विश्वविद्यालयमा रुपान्तरण गर्ने लक्ष्य राखिएको छ ।    क्याम्पसमा हाल ६४ प्राध्यापक र १६ कर्मचारी कार्यरत छन् । विद्यार्थीको शुल्क क्याम्पसको मुख्य आम्दानी रहेको र क्याम्पस आर्थिक रुपमा आत्मनिर्भर बन्न सफल भएको क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । “सरकारी निकायको सहयोग शून्य रहे पनि विश्वविद्यालय अनुदान आयोगबाट भने केही रकम प्राप्त हुने गर्छ”, उहाँले भन्नुभयो ।    क्याम्पसको कूल आम्दानीको ९० प्रतिशत तलबभत्तामा खर्च हुने गरेको छ । क्याम्पसले आर्थिक वर्ष २०७८/७९ मा रु सात करोड ९१ लाख १७ हजार आम्दानी गरेको थियो । सरकारी तवरबाट कुनै सहयोग नरहेको क्याम्पसमा प्राध्यापकको तलबमा मात्रै रु ३५ लाख खर्च हुने गरेको छ । चन्दा, दान र विद्यार्थीको शुल्कबाट प्राध्यापकलाई तलब खुवाउँदै आइएको छ । “गरिब तथा ग्रामीण भेगका विद्यार्थी अध्ययन गर्ने भएकाले निकै कम शुल्क मात्रै लिने गरेका छौँ”, हड्खलेले भन्नुभयो ।   क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । हड्खलेले भन्नुभयो, “सरकारी क्षेत्रबाट क्याम्पसको लागि ठूलो सहयोग छैन । समुदायकै व्यक्तिको प्रयासले क्याम्पस आज यो अवस्थासम्म आइपुगेको छ ।”   क्याम्पसको छात्रावासमा बस्नका लागि गत वर्ष पाँच सय विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये ३० विद्यार्थी मात्रै छनोट भएका थिए । विसं २०५८ मा सुरु भएर विसं २०७५ मङ्सिरमा छात्रावास निर्माण सम्पन्न भएको थियो ।    क्याम्पसमा विद्यार्थीको आकर्षण बढेसँगै यहाँ प्राविधिक शिक्षा सञ्चालनको तयारीका लागि व्यास नगरपालिकाले पनि चासो देखाएको छ । प्राविधिक विषय सञ्चालनका लागि अध्ययन गर्न व्यास नगरपालिकाले नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको छ । उक्त समितिमा व्यास नगरपालिका–१ का वडाध्यक्ष रमेशचन्द्र हड्खले, क्याम्पस सञ्चालक समितिका अध्यक्ष वा प्रतिनिधि, विज्ञान तथा प्रविधि क्षेत्रबाट एक जना सदस्य छन् ।

  बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् ।     यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए ।        जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको छ ।  पहिलेको तुलनामा  केही दिनयता यहाँका स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।     उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताउनुभयो । केही दिनयता भाइरल ज्वरो निकै बढी देखिन थालेको छ ।  भाइरल ज्वरोबाट  बालबालिका बढी सताइएका छन् ।        अहिले प्रत्येक गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका पाटन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।          मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपिनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिनुभयो ।   ज्वरोका बिरामीहरुमा अन्य सङ्क्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिँदै उहाँले     ज्वरोका बिरामीहरुले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने हुँदा स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने सुझाव दिनुभयो ।         वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो  । वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा।श्रेष्ठको आग्रह थियो ।     पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरुसमेत फेला पर्न थालेका छन् ।

  सर्लाही: सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको  छ । जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो ।    हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिनुभयो । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्याएको छ । बस्तीमै हात्ती आएर क्षति पुर्याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।    हात्तीका कारण स्थानीयवासी जङ्गलमा घाँस दाउराका लागि जान समेत सकेका छैनन् । स्थानीयवासी र प्रहरीको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको छ ।  

  बर्दिया । बर्दियाको मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् ।        इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ ।

  काठमाडौं । यस वर्षको दशौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’ नारा तय भएको छ ।   हरेक वर्ष असोज १ गते मनाइने यो दिवसका लागि यस वर्ष पनि उक्त नाराका साथ साताव्यापीरूपमा कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ । सोका लागि मन्त्रालयले प्रदेश र स्थानीय तह तथा सम्बन्धित क्षेत्रमा समन्वय र संयोजन गरिरहेको जनाइएको छ ।

  बागलुङ । पहाडको टुप्पोमा छ मुठाचौर, यहाँभन्दा माथि कुनै बस्ती छैन ।    तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ ।    तमानखोलाको मत्वपूर्ण पर्यटकीयस्थल बराह ताल नजिकै रहेको मुठाचौरमा माटो, ढुङ्गा र काठले बनेका घर छन् । त्यस वरपर रहेको समथर भूभाग, मकै, आलु फल्ने बारीहरुले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । अझ यहाँबाट देखिने दर्जनौँ हिमश्रृङ्खला र अनेकौँ दृश्यले यहाँको प्राकृतिक वातावरणलाई मनोरम बनाएको छ । यस ठाउँमा करिब एक सय घरपरिवार बसोबास गर्दै आइरहेका छन् ।    हरेक वर्ष स्थानीय उनीहरु पाँच महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । मुठाचौर माथिल्लो क्षेत्र ९लेक०मा पर्छ भने भयरबोङ्गा, कटेरी गाउँ केही तल पर्छ । यहाँका अधिकांश नागरिक पशुपालन र खेतिपातीमै व्यस्त छन् । यो ठाउँ प्राकृतिक रुपले सुन्दर भए पनि सडक, विद्युत्लगायत विकासका पूर्वधारले जोडिन नसक्दा ओझेलमा परेको स्थानीय चूणामणि छन्त्याल बताउनुहुन्छ ।   “यहाँका स्थानीय बर्खाको समय मुठाचौर बस्छन्, हिउँद लाग्यो भने बेसी झर्छन्, हिउँदमा हिउँ पर्छ, जाडो हुन्छ, बर्खामा पशु पाल्न पर्यो, त्यसले गर्दा यहाँ आउँछन्, यहाँ घाँस राम्रो हुन्छ, चरन क्षेत्र पनि धेरै छ, यो ठाउँ निकै राम्रो छ, तर यहाँ अहिलेसम्म विकास आउन सकेको छैन”, छन्त्यालले भन्नुभयो, “मोटरबाटो र बिजुली आएको भए यो ठाउँ निकै चर्चित हुन्थ्यो, पर्यटकलाई भित्र्याउन सकिन्थ्यो, यहाँ अहिले पनि खानेपानी चरम अभाव छ, भूगोलले पनि ठगेको ठाउँ प¥यो, अब विकास होला ।”   बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य छन् । उनीहरुले भाँङ (सुकेको निगालो), दियालो र टुकी बालेर रात बिताउन बाध्य भएको छन्त्यालले बताउनुभयो । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको उहाँको भनाइ छ । यहाँसम्म पुर्याउन भौगोलिकरुपले निकै कठिनाई रहेको उहाँले बताउनुभयो । तीनै तहका सरकारले चासो देखाए मुठाचौरले मुहार फेर्न धेरै समय नलाग्ने उहाँ बताउनुहुन्छ ।   “अहिले पनि यहाँ बस्ने नागरिक टुकी र दियालोको भरमा रात कटाउँछन्, कुवा, पोखरी र आकाशे पानीको भरमा छन्, सडक र विद्युत् पुग्न अब धेरै नलाग्ला, अहिले कटेरीसम्म पुगेको छ, स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाए यस ठाउँको विकास गर्न कुनै समस्या छैन, अलिकति भूगोलका कारण समस्या हो”, उहाँले भन्नुभयो, “यसलाई विकास गर्नसके यो ठाउँ पर्यटकीय गाउँ बन्न सक्छ ।”   छन्त्यालले मोटरबाटोले जोड्न सके यहाँ उत्पादन भएका आलु, सिमीले राम्रो बजार पाउने बताउनुहुन्छ । सडक नभएकाले उत्पादन भएका कृषिउपज आफैँ उपभोग गर्नुको विकल्प छैन । स्थानीय खिमा रसाइलीले आफूहरु वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य रहेको बताउनुभयो । उहाँले सडक, विद्युत् र खानेपानी नहुँदा उपभोग्य सामान घोडा खच्चडमा बोकेर उपभोग गर्दै आएको बताउनुभयो । रसाइलीले सडक नहुँदा पालिकाको केन्द्र बोङ्गादोभानदेखि सामान बोकेर उपभोग गर्नुपरेको गुनासो गर्नुभयो । बर्खाको समयमा मात्रै यहाँ बस्ने हुँदा धेरै समस्या बोग्नुपरेको उहाँ बताउनुहुन्छ ।   “ यहाँ बस्ने भनेको बर्खामा मात्रै हो, बर्खामा सबै सामान बजारबाटै ल्याउनुपर्छ, हिलोले गर्दा घोडा खच्चड पनि हिँड्न सक्दैनन्, त्यसले गर्दा मान्छेलेनै नुन, तेल र चामल बोकेर ल्याउनु पर्छ”, रसाइलीले भन्नुभयो, “खानेपानीको समस्या पनि निकै छ, आकाशको, पोखरीको पानी खानु पर्छ, मोटरबाटो आए त निकै सजिलो हुन्थ्यो हो, गाडीले सामान ल्याउँथ्यो होला, यहाँ फलेका आलु, सिमी पनि बजार झार्न सजिलो हुन्थ्यो होला, बिजुली बत्ति कहिले आउला यो ठाउँमा ?”   स्थानीय असारदेखिनै मुठाचौर जान सुरु गर्छन् भने असोज कात्तिक लाग्नासाथ गाउँ झर्ने गर्दछन् ।    मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्ने गर्दछन् । गाउँपालिकाले कटेरी गाउँको शिरसम्म मोटरबाटोले जोडे पनि मुठाचौरसम्म पुर्याउन सकेको छैन । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले मुठाचौर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएको भन्दै यसको विकासका लागि गाउँपालिका लागि परेको बताउनुभयो । अध्यक्ष बुढामगरले मुठाचौरको विकासका लागि पालिकाले योजना बनाएर क्रमागत रुपमा विकास गरीरहेको बताउनुहुन्छ । यस ठाउँका नागरिकलाई आवश्यक पर्ने सबै खाले विकासका पूर्वाधार निर्माण गर्न सुरु भएको उहाँको भनाइ छ ।   “मुठाचौरको विकास हाम्रो मुख्य प्राथमितामा छ, सबै विकास निर्माणका लागि हामीले कामको सुरुआत गरेका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो । अध्यक्ष बुढामगरले यहाँ आधा वर्ष मात्रै नागरिक बसोबास गर्ने भएको हुँदा पूर्वाधारले जोडिन ढिला भएको भन्दै केही समयमै विकासका पूर्वाधारले जोडिने बताउनुभयो । मुठाचौरमा पर्यटकलाई आकर्षण गर्नसके यहाँका नागरिकको जीवनस्तर उकासिने भन्दै मुठाचौर नजिकै रहेको बराहतालको विकासमा समेत आफूहरु जुटेको उहाँको भनाइ छ । बराह ताल र त्यहाँ रहेको मन्दिर पुनःनिर्माण भएको र आन्तरिक पर्यटक पनि बढ्न थालेको भन्दै अध्यक्ष बुढामगरले अब मुठाचौरमा पूर्वाधार निर्माण गरे ‘होम–स्टे’ सञ्चालन गर्ने बताउनुभयो ।   “सबैभन्दा पहिले यहाँ सडक, विद्युत् र खानेपानीको व्यवस्थापन गर्छौं, अब यसलाई पर्यटकीय गाउँ बनाउने गरी काम गर्ने योजना बनाएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “केही समय लाग्ला तर मुठाचौर निकै आकर्षक गाउँ बन्ने छ ।”

  काठमाडौं । राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।   प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजन बिहानै स्नान एवं मन्दिर पूजा आराधना गरी फर्कने गर्छन् ।     शुक्रबार बेलुकी दीप प्रज्ज्वलन गरी बसेका भक्तजन र अन्य भक्तजनको पनि बिहानैदेखि इन्द्रदहमा स्नान गर्न भीड लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । इन्द्रदहको धार्मिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले सक्दो प्रयास गरेको उहाँले बताउनुभयो । थानकोटदेखि नै भक्तजनको भीड लाग्ने भएकाले शुक्रबारदेखि नै स्वयंसेवक खटाएर काम गरिएको नगरपालिकाले जनाएको छ ।   भाद्र शुक्ल चतुर्दशीका दिन वसन्तपुरमा इन्द्रजात्रा हेर्नेले बेलुकी बत्ती बाली जाग्राम बसेर आज बिहान पूर्णिमाका दिन स्नान गर्नुपर्ने धार्मिक विधि छ । भक्तजनका लागि सुविधा होस् भन्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्ने गरेको छ ।   देवराज इन्द्रसँग जोडिएको पौराणिक कथाका आधारमा यहाँ प्रत्येक वर्ष मेला लाग्ने गरेको छ । कथाअनुसार स्वर्गबाट फूल चोर्न आएका इन्द्रलाई राजधानीका वसन्तपुर क्षेत्रमा समातिएको थियो । इन्द्रलाई छुटाउन उनकी आमा पनि स्वर्गबाट यहाँ आएको किम्वदन्ती छ । जसलाई यहाँका मानिसले आफूसँगै स्वर्ग लगे छोडिदिने वचन दिएका थिए ।    वसन्तपुरबाट स्वर्ग जान इच्छुकलाई लिएर हिँडेका इन्द्रले भाद्र शुक्ल पूर्णिमाका दिन बिहान इन्द्रदहमा स्नान गर्नुभएको थियो । इन्द्रसँगै आएका मानिस पनि स्नान गरिरहेका बेलाको मौका छोपी इन्द्र र आमा स्वर्ग गएको भनाइ विशेष गरी बूढापाकाले सुनाउने गरेका छन् ।    त्यसबेला वसन्तपुरका स्थानीयवासी भने त्यहीँ स्नान गरी घर फर्किएका थिए । यसै सम्झनामा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बत्ती बाल्ने र स्नान गर्ने भक्तजन फर्केका थिए  । यहाँको मेलामा काठमाडौँ उपत्यकाका साथै वरपर जिल्लाका स्थानीयवासी पनि सहभागी हुने गरेका छन् ।        कोरोना महामारीका कारण विगतका दुई वर्ष कम भक्तजन आएकामा यस वर्ष भने धेरै भक्तजन इन्द्रदह आएको नगरपालिकाले जनाएको छ । यहाँ कालु पाँडेको समाधिस्थलसमेत रहेकाले यस क्षेत्रलाई पर्यटकीय ठाउँका रुपमा विकास गरिएको नगर प्रमुख गिरीले बताउनुभयो ।