सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ’ खेल्ने परम्परा पनि यसै अन्तर्गत सुरु भएको हुनसक्छ । जे होस् दशैँमा ‘लिङ्गे पिङ’को रौनकै छुट्टै हुन्थ्यो । पिङ नखेली पनि दशैँ मनाइन्छ र? मनाए पनि त्यसको के अर्थ ? भन्ने लाग्थ्यो । दशैँमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका ‘लिङ्गे पिङ’कै हुन्थ्यो । दशैँमा पिङ खेल्नैपर्ने परम्परा कहिले, कहाँ र कसरी सुरु भयो ठ्याक्कै भन्न नसकिए पनि जबदेखि दशैँ मनाइयो, पिङ खेल्न पनि उही बेलादेखि नै सुरु भएको मान्न सकिन्छ । वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन बुढापाकाहरू बताउँछन् । केही वर्षअघिसम्म दशैँ तिहारजस्ता चाडमा प्रत्येक टोलमा पिङ थापिन्थ्यो । पछिल्लो समय गाउँगाउँमा खेलिने ‘लिङ्गे पिङ’को चलन हराउँदै गएको हो । दशैँको सुरुआतदेखि थापेको ‘लिङ्गे पिङ’ तिहारसम्मै राखिन्थ्यो । युवाहरू विभिन्न सिलसिलामा गाउँबाट बिहिर जान थालेसँगै दशैँको खुसीयालीमा रौनक थप्ने पिङ खेल्ने संस्कृति हराउँदै गएको बूढापाहरूको भनाइ छ । दशैँका बेला गाउँका युवाले बालबालिकाको लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्तामा त्यो रहर देखिँदैन । हरेक वर्ष दशैँमा पिङ लगाउने चलन । अनि पिङ बनाउन केही समय अघिदेखि नै गाउँका टाठाबाठाहरूको सहभागिता । बाँस, लठारो, काम्रो, काठ आदिको व्यवस्थापन गर्न हरेक घरबाट केही रुपैयाँ सङ्कलन गरिन्थ्यो । पिङ लगाउने स्थान पनि प्रायः निश्चित नै हुन्थ्यो । साझा चौर या मन्दिरको प्राङ्गण । सबैजना मिलेर तयार पारिएको त्यस पिङलाई गाउँकै सम्पदा जत्तिकै महत्व दिइन्थ्यो । दुई प्रकारका पिङहरूको चलन थियो । लिङ्गे पिङ र रोटे पिङ । लिङ्गे पिङ विशेष चाडवाडमा मात्रै निर्माण गरिन्थ्यो । जुनसुकै बेला नबनाइने भएकाले पनि यसको महत्वलाई संस्कृतिले नै जगेर्ना गर्दथ्यो । अहिले दशैँमा बाटिँदैनन् बाबियाको लठारो । गाडिँदैनन् बाँसका खम्बाहरू । पहिला पिङ लगाइने चौर पनि सुनसान देखिन्छ । माहोल मौन छ, लिङ्गो कटाउँदा गुञ्जिने ‘चाचाहुइया’ गुञ्जिँदैन आजकल । समयले दशैँलाई पनि आफूसँगै फेरिदिएको छ । अहिलेका पुस्तालाई रोटे र लिङ्गे पिङको महत्व मात्रै होइन यसको आकार र स्वरुपका बारेमा पनि थाहा छैन । उनीहरूले सुनेका छन् आमाबुबा वा हजुरबुबा, हजुरमुमाबाट ‘हामी दशैँमा पिङ खेल्थ्यौं । क्या मज्जा आउँथ्यो ।’ यही अभिव्यक्तिले उनीहरूको मस्तिष्कमा छाप पारेको छ ‘दशैँमा पिङ खेलिन्छ ।’ त्यसैले उनीहरू घरभित्रै सानो पिङ लगाइदिन झगडा गर्छन् । कसैको माग पूरा हुन्छ । कसैले भने घरभित्रै खेलिने पिङको समेत मज्जा लिन पाउँदैनन् । लिङ्गे पिङलाई चार दिशामा बाँस गाढेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगारिँदा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिने । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसहरूले पिङ खेल्ने चलन भए पनि युवा वर्गहरू पिङ खेल्नमा बढी नै उत्साहित हुन्थे । बसेर उठेर दुवै तरिकाले मच्चिँदै खेलिने लिङ्गे पिङमा युवायुवतीको दोहोरी नै चल्थ्यो । ‘कसले बढी मच्चिन सक्ने ?’, ‘कसले लिङ्गो कटाउने ?’ भनेर । जसले सक्यो ऊ नै त्यहाँको ‘हिरो’ । रोटे पिङ बनाउन जनशक्ति र खर्च बढी नै लाग्ने भएकाले कमै मात्र बनाइन्थ्यो । काठ, डोरी जस्ता स्थानीय वस्तुहरू प्रयोग गरेर बनाइने रोटे पिङ बनाइन्थ्यो । एकैसाथ धेरै जनाले खेल्न पाउने गरेर रोटे पिङ बनाइन्थ्यो । ‘पिङ खेल्नकै लागि घण्टौंसम्म लाइन बस्ने, तछाडमछाड गर्दै आफ्नो पालो कुर्ने, कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी । यो सबै एकादेशको कथाजस्तै भइसक्यो,’ राहताल गाउँपालिका–५ बड्डीचौरका पदमलाल बिष्टले भन्नुभयो, ‘अहिले समयसँगै दशैँ पनि बदलिएको छ ।’ प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरू प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको उहाँको बुझाइ छ । रोजगारका लागि युवाहरू विदेशिएका कारण पिङ थाप्ने जनशक्ति नै गाउँमा नभएको बिष्ट बताउनुहुन्छ । ‘रोटे र लिङ्गे पिङ बनाउन खुला ठाउँ चाहिन्छ, तर न हामीसँग छेलोखेलो जमिन छ न त समय नै,’ उहाँले भन्नुभयो । पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामाग्रीहरू पनि उपलब्ध नहुने भएकाले पनि रोटे र लिङ्गे बन्न छाडेको उहाँको भनाइ छ । बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन, पर्याप्त समय र आवश्यक स्रोत साधनको अभाव भएकाले पनि दशैँमा लिङ्गे पिङ खेल्ने कल्चर मासिँदै गएको उहाँले बताउनुभयो । “ग्रामीण भेगमा मानिसहरूको बसोबास पातलिएको छ । गाउँ सुनसान छन् । गाउँका सक्रिय जनशक्ति नै विदेश पलायन भएपछि पिङ लगाउने को ? अनि खेल्ने को?वर्षमा एकदिन जमिन छोड्नुपर्छ भन्दै ‘पिङ’को उडान भर्ने युवाहरू रोजगारीका एकाएक विदेसिन थालेपछि पिङ एक्लिएको हो । विस्थापित भएको हो”, उहाँले भन्नुभयो । त्यसो त प्रविधिले मनोरञ्जनका विभिन्न साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेहरूलाई । मानव जीवनमा प्रविधिको बढ्दो हस्तक्षेपलाई पनि केही हदसम्म दोषी मान्नुहुन्छ, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ निवासी गायक तथा संगीतकार कुलमान नेपाली । अहिलेका सोखिन मानिसहरू चौरमा पिङ खेल्नभन्दा कोठामै बसेर मोबाइलमा गेम खेल्न रुचाउँछन् । “दशैँलाई सबैसँग घुलमिल भएर मनाउने चाडभन्दा पनि आफ्नो परिवारमा मात्र सिमित राख्ने कल्चरको विकास भएको छ”, नेपाली भन्नुहुन्छ, “दशैँ सामूहिक पर्वभन्दा ‘प्राइभेट सेलिब्रेसन’को माध्यम बनेपछि पिङ खेल्ने चलन लोप हुँदै जानु स्वभाविक हो ।” उहाँका अनुसार अहिलेको पिढी सुखसयलको भोगी छ । नयाँ पुस्तालाई संस्कृति, परम्परालाई अवलम्बन गर्न झन्झट लाग्छ । उनीहरू पिङ खेल्नु भन्दा कोठामै बसेर मोबाइल चलाउन, कम्प्युटरमा गेम खेल्न रमाइलो मान्छन् । ‘आजकल मान्छेलाई टिका लाएर आशीर्वाद थाप्ने फुर्सद त छैन, पिङ खेल्ने त धेरै टाढाको कुरा हो,’ उहाँले थप्नुभयो । प्रविधि, व्यस्तता र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने भावनाको कमीले दशैँका बेला खेलिने रोटे र लिङ्गे पिङ हराएको उहाँको भनाई छ । नेपाली भन्नुहुन्छ, ‘यो पिढीको मूलमन्त्र हो, बाप बडो न भैया, सबसे बडा रुपैयाँ अहिलेकै पुस्तालाई मात्रै सबै दोष दिन मिल्दैन । अघिल्लो पुस्ताले पनि बुझाउन सकेन, नयाँ पुस्ताले बुझ्नै चाहेन, कुरा यही हो ।’ पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामग्रीहरू पाउनै कठिन भएकाले चाहेरै पनि यसको महत्व घटेको हुन सक्ने बताउनुहुन्छ, वीरेन्द्रनगर नगरपालिका–११ का रमेश सिँजाली । सामग्रीहरू प्राप्त गर्ने प्रक्रिया पनि झन्झटिलो, पट्यारलाग्दो हुने भएकाले चाहेर पनि संस्कृतिलाई निरन्तरता दिन नसकेको उहाँको भनाइ छ । “अहिले गाउँघरमा युवाहरूको सङ्ख्या पनि कम छ । युवाहरू पढाइ रोजगारीका लागि थातथलो छाड्नुपर्ने बाध्यताका कारण पनि पिङ बनाउन कठिन छ,’ सिँजालीले भन्नुभयो, ‘अहिले गाउँ–गाउँमा भित्रिएको प्रविधिसँगै मनोरञ्जनका विभिन्न साधनहरूले गाउँघरमा रोटे र लिङ्गे पिङ लोप भएका हुन थालेका छन् ।” गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खलो हुने गरेको उहाँको भनाइ छ । “गाउँमा मात्र होइन, केही वर्ष अगाडिसम्म सदरमुकाममै पिङ देख्न पाइन्थ्यो तर अहिले त्यो संस्कृति हराइसक्यो”, सिँजालीले भन्नुभयो, “अहिले त जङ्गलमा बास र बाबियो पनि पाइँदैन । सामग्री नै नपाइने भएपछि बनाउनका लागि कसले झण्झट गर्ला र?” उहाँँका अनुसार पहिले बाबियोको डोरी बाटेर बाँसको लिङ्गा गाडेर ‘लिङ्गे पिङ’ हाल्ने गरिन्थ्यो । सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेका कारण पनि ‘रोटे र पिङको संस्कार’ पनि हराउँदै गएको छ ।
कैलाली । यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्यो । केही पूर्णरुपमा विस्थापित भए भने केही आंशिक रुपमा । पूर्ण रुपमा विस्थापित भएका यतिबेला भत्केको घर निर्माणमा जुटेका छन् भने आंशिक रुपमा विस्थापित भएका राहतको लागि नगरपालिका धाउनमै व्यस्त छन् । चाडपर्व आएसँगै भजनीका अधिकांशको घरमा यतिबेला अन्न छैन । बाढीले क्षति पुर्याएका स्थानमा कयौँको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौँको बाढीले भिजेर पूर्ण रुपमा नष्ट भयो । भजनी नगरपालिका–५ लालभोजीमा तुलाराम चौधरी मङ्गलबार नगरपालिका पुग्नुभएको थियो । बाढीका कारण विस्थापित हुनुभएका उहाँ राहतका लागि नगरपालिका पुग्नुभएको हो । घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि खानको लागि घरमा केही नहुँदा त्यसैको जोहोका लागि नगरपालिका पुग्नुभएका उहाँ चाडपर्वको समयमा भएको विपत्तिले निकै अप्ठ्यारोमा पारेको सुनाउनुहुन्छ । “छ जनाको परिवार छ । घरमा खानको लागि केही छैन ।“ उहाँ भन्नुहुन्छ, “ के खाने, के लगाउने निकै समस्या छ । परिवार पाल्नुछ । खेती पाक्न अझै महिना लाग्छ ।” सोही ठाउँका रामबहादुर चौधरी पनि बाढीका कारण विस्थापित हुनुभयो । घरको अन्नपात बग्यो । खेतमा लगाएको धानबाली नष्ट भयो । शरीरमा लगाएको एक जोर लुगा भन्दा केही पनि बचाउन नसकेका रामबहादुरलाई पनि खानको निकै समस्या भएको छ । नगरपालिकाले दिएको राहतले एक दुई छाक टार्न भ्याए पनि अरु दिनको जोहो कसरी गर्ने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ । “घरमा खानलाई केही छैन । लगाउनलाई नत लुगा ।“ उहाँ भन्नुहुन्छ, “चाडपर्व आए, आफूहरु त जसोतसो चुप बसौँला, तर बालबालिकालाई कसरी मनाउने भन्ने पिर छ ।” उहाँ गाउँघरमा अरुको देखासेखी बढी चल्ने गरेको बताउँदै अर्कोले खाएको र लगाएको बालबालिकालाई जसरी पनि पु¥याउनुपर्ने बाध्यता जस्तै बन्ने गरेको बताउनुहुन्छ । “हामी पिडित छौँ । चाडपर्वमा रमाइलो नगर भन्नुभएन । आफूसँग अरुले गरेजस्तो गर्न स्रोत छैन ।“ उहाँ भन्नुहुन्छ, “नगरपालिकाले २५ केजी चामल उपलब्ध गराएको छ । त्यसै चामलले हामीले दसँै मनाउनु छ । के बालबालिकाको इच्छा पूरा होला, चाडवाडमा के हाम्रो पेट भरिएला रु” भजनी –३ का राजेन्द्र विक अझै घर फर्कुनुभएको छैन । परिवारका अन्य सदस्य घर फर्किएको भए पनि आफू अझै हुलाकी सडकको त्रिपालमै बस्दै आएको उहाँ बताउनुहुन्छ । “घर लिपपोत हुँदैछ । गाई बस्तुको गोठ भत्केका कारण अन्त बाँध्ने ठाउँ नभएपछि तीनको रेखदेखको लागि हुलाकी सडकमै छु ।” उहाँ भन्नुहुन्छ, “गोठ बनेपछि घर गाई बस्तु लिएर जानुपर्ला ।” उहाँ घर पुगेर अस्तव्यस्त घरको अवस्था, हिलाम्मे आँगन, भत्केका घरका भित्ताले मन थाम्न मुस्किल हुने गरेको बताउनुहुन्छ । वडा नं ८ का रति ढकाल अझै घर फर्किनुभएको छैन । उहाँ हुलाकी सडकको किनारमा त्रिपालमै बस्दै आउनुभएको छ । उहाँका लागि यो पटकको दसँैले छुन सकेको छैन । दिउँसो घर पुगेर घर मर्मतको काम गरे पनि बस्नको लागि त्रिपालमै आउनुपर्ने बाध्यता रतिलाई छ । “घर छैन । जमरा राख्ने ठाउँ छैन । खानको लागि घरमा अन्न छैन । हामीलाई केको दसँै ।” उहाँ भन्नुहुन्छ, “ज्यान बाँचेको छ । कतैबाट खाद्यान्न सहयोग भयो भने त्यसैबाट गुजारा गरेर ज्यान जोगाउने बाटो खोज्दै छौँ । यो वर्षको दसैँ त त्यस्तै भयो हाम्रा लागि ।” भजनीका बाढी प्रभावितलाई सबैभन्दा ठूलो समस्या नै खाद्यान्नको भएको छ । घरको सबै अन्नपात केही बगेर त केही भिजेर नष्ट हुँदा यतिबेला ती पीडित परिवारलाई के खाने भन्ने चिन्ताले सताएको छ । खेतमा लगायतको धानबाली पनि कयौँ किसानको नष्ट भएको छ । बाँकी रहेको धान भित्राउन पनि अझै महिना दिन लाग्ने स्थिति छ । यसमा नगरपालिका पनि निकै चिन्तित छ । बाढीका कारण विस्थापित भएका करिब सात हजार परिवारलाई नगरपालिकाले आवश्यक खाद्यान्न उपलब्ध गराउन सक्ने स्थिति पनि छैन । “हाम्रो चिन्ता पनि नागरिकलाई भोको हुन नदिन के गर्न सकिन्छ भन्ने नै हो ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले भन्नुहुन्छ, “घरमा भएको अन्न खाली भइसकेको छ । बाहिरको भित्राउन अझै एक महिना लाग्छ । अब एक महिनासम्म पुग्ने राहत नगरपालिकाको स्रोतले भ्याउन सक्दैन ।” उहाँ बाढीका कारण तीन हजार घर पूर्ण र चार हजार घरमा पानी पसेको अनुमानित तथ्याङ्क रहेको बताउँदै अझै वास्तविक तथ्याङ्क आउन समय लाग्ने बताउनुहुन्छ । “हामीसँग वास्तविक तथ्याङ्क आइसकेको छैन । वास्तविक तथ्याङ्क आएपछि कति क्षति भएको रहेछ थाहा हुने छ ।” उहाँ भन्नुहुन्छ, “पानी पसेका घरमा पनि खाद्यान्न बचेको छैन । बचेको खाद्यान्न पनि काम नलाग्ने भएको हामीले देखेर आएका छौँ ।” नगर प्रमुख केवल चौधरीले विस्थापित नागरिकका लागि आवश्यक राहत सहयोगका लागि आह्वान गरिएको जनाउँदै राहत सामग्री नगरपालिकालाई उपलब्ध भए पनि विस्थापित धेरै भएका कारण पु¥याउन नसकिएको बताउनुहुन्छ । उहाँ बाढी आएको दिनदेखि आफूहरुले शान्तिको श्वास फेर्न नपाएको जनाउँदै बाढीबाट विस्थापित परिवारको अवस्था हेर्दा निकै पीडादायी रहेको र त्यो पीडालाई आफूहरुले समाधान गर्न प्रयास गरे पनि सफल हुन नसकेको बताउनुहुन्छ । “हामीसँग सीमित स्रोतसाधन छ । त्यो स्रोतसाधनले सबै प्रभावितको समस्या समाधान गर्न निकै कठिन छ ।” नगर प्रमुख चौधरीले भन्नुहुन्छ, “अहिले विस्थापित नगरपालिका आएर दसैँ मनाउने आधार बनाइदिनुपर्यो भन्दै आग्रह गर्नुहुन्छ । हामी एक्लैले यस्तो विपत्तिको सामना गरेर नागरिकको आवश्यकता पूरा गर्न सक्छौंँ रु”
पाल्पा: नेपालीको महान् पर्व दशैँ–तिहारजस्ता ठूला चाडमा मङ्गल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जयमान बनाउँथ्यो । मङ्गल धुन बज्न थालेपछि हरेक नेपालीमा दशैँ–तिहार सुरु भएको आभास छाउँछ । कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ । दशैँको घटस्थापनादेखि नै गाउँ–गाउँमा पुगेर मालश्री धुन बाबुबाजेले बजाउने गरे पनि पछिल्ला वर्षमा यो धुन बजाउने व्यक्ति नहुँदा संस्कृति नै लोप भएको बताउनुहुन्छ, पाल्पा रामपुरका ५९ वर्षीय रामबहादुर बादी । “दशैँ सुरु भएपछि विभिन्न बाजागाजा लिएर मङ्गल धुन बजाउने चलन हुन्थ्यो, हाम्रा पुर्खादेखि नै चलिआएको संस्कृति पछिल्ला वर्षमा कतै बजेको सुन्न पाइँदैन, बजाउने व्यक्तिको अभावमा रेकर्ड गरिएका धुन रेडियो, टिभीबाट बज्ने गरेका छन् ।” मङ्गल धुन बजाउने कला भएका व्यक्तिको पहिचान र प्रोत्साहन नहुँदा वर्षौँदेखि गाउँघरमा चलिआएको संस्कृति अहिले हराउँदै गएको बादीको बुझाइ छ । समाजमा प्रत्यक्ष बाजागाजा अनि थिति मिलाएर सामूहिकरूपमा बजाइने मङ्गल धुन वास्तवमै अलौकिक छ । न त कुनै शब्द छ न त कुनै बोली तर मङ्गल धुन अर्थात् मालश्री धुन आफ्ना कर्णप्रिय र भावात्मक लयमार्फत हरेक नेपालीको मनभित्र बस्न सफल छ । झ्याम्टा, मादल, सारङ्गी, ढोल, मुरलीलगायत थुप्रै बाजा मालश्री धुनमा बजाइन्छन् । रेडियो र टिभीबाट बज्ने मीठो धुनको गुञ्जनले बल्ल दशैँ लाग्यो भन्ने जनमानसमा आभाष हुन्छ । गाउँघरमा अहिले सबैका हातहातमा मोबाइल, इन्टरनेट तथा सूचना प्रविधिको सुविधाले मालश्री धुन सुन्ने गरिए पनि गन्धर्वले बजाएको धुन प्रत्यक्ष सुनेजस्तो अनुभूति नभएको बाद्यवादक टीकाराम ढकाल बताउनुहुन्छ । “पुराना तथा आधुनिक खालका धेरै बाजा बजाउन सिकियो तर मालश्री धुन बजाउने औधी रहर भएर पनि बजाउन आएन, गाउँमा सिकाउने पुराना व्यक्ति कोही छैनन्, कोसँग सीप सिक्ने होला?”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ घरमा युट्युबमा धुन सुनेर अभ्यास गर्छु, तर अरु बाजाको जस्तो ताल आएन ।” गाउँघर, सहरबजारमा गन्धर्वले मालश्री धुन बजाएको सुन्ने र हेर्नेको उल्लास छाउँथ्यो । गाउँका चौतारी, कोतघर, शक्तिपीठमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको रौनकता बढाउँथ्यो । हिजोआज यी ठाउँमा मालश्रीका आवाज सुन्नै छाडिएको देवराज अर्याल बताउनुुहुन्छ । घटस्थापनादेखि पूर्णिमासम्म माता दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो । धुन बजाउन सीप जानेको व्यक्तिको अभाव, पुराना संस्कृतिप्रति नयाँ पुस्ताले चासो नदिँदा पर्व विशेषसँग जोडिएका मौलिक संस्कृति नै लोप हुदै गएका छन् । पुराना पुस्तामा भएको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु अर्थात् आधुनिक प्रविधिको विकास र सुविधा, नयाँ पुस्ताले मौलिक संस्कृति जगेर्नामा बेवास्ता गर्दा लोपोन्मुख संस्कृति हराउन पुगेको लेखनाथ शर्मा मरासिनीको भनाइ छ । देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ । यो धुनलाई नेपाली परिप्रेक्ष्यमा दशैँ अनि तिहारको अवसरमा बजाइन्छ, प्रयोग गरिन्छ । ठाउँअनुसार बाजागाजा र बजाउने लय पनि फरक–फरक छन् । मालश्री धुन, माल अर्थात् वस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पत्ति, धनधान्य आदि बुझिन्छ । कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको सुरुआतसँगै आउने चाड दशैँ अनि यसै लहरसँग फुल्न तयार धानका बाला, फूल, विभिन्न प्रजातिका दानालगायत आगमनको खुसी पनि हो, मालश्री धुन । मालश्री धुनलाई दशैँ पर्वसँग मात्र सम्बन्धित नभई शरद ऋतुको सुरुआतका रुपमा लिइन्छ ।
ढोरपाटन । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् । चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू मङ्गलबार दिउँसो बागलुङ बजार आइपुगेका छन् । दशैँका लागि खर्च जुटाउन भेडा बेच्न हिँडेका उनीहरू बागलुङको निसीखोला हुँदै मध्यपहाडी लोकमार्गमार्फत बागलुङ बजार आइपुगेका हुन् । बागलुङ बजारसम्म आइपुग्दा उनीहरूसँग ६० भेडा बाँकी थिए । साठी भेडा १५ गतेभित्र बेची सकेर गाउँ फर्कने विचारमा छन् दुवै जना । करिब डेढ सय किलोमिटर पश्चिमबाट हिँड्दै आएका उनीहरू दशैँका लागि सामान किनमेल गरेर जाने सुरमा छन् । नन्दबहादुर भन्नुहुन्छ, “आज १४ दिन भएछ भेडीगोठबाट हिँडेको, धेरैजसो भेडा विक्री भइसके । अब केही मात्र बाँकी छन्, यी सबै बेचेर दशैँका लागि खर्चपर्च लिएर जाने हो, अब तीन–चार दिनमा सबै बेचीसक्नुपर्छ ।” नन्दबहादुरले एक हजार दुई सय भेडापालन गरेकामा अब गोठमा आठ सय भेडा बाँकी रहेको बताउनुभयो । ती भेडालाई गोठालो खोजेर हेरचार गर्न छाडेर आफूहरू बजार झरेको उहाँको भनाइ छ । उहाँले अर्को सालसम्म गोठमा भएका सबै बेचेर नयाँ पाठापाठी हुर्की सक्ने बताउनुहुन्छ । “मैले एक हजार दुई सय भेडा पालेको थिएँ, चार सय बेच्न लिएर आएको अब गोठमा अझै आठ सय छन्, गाउँको एक जनालाई गोठालो लगाएर हामी यता आएको हो, अर्को सालसम्म त गोठमा भएका पनि सकिएर नयाँ पाठा हुर्की सक्छन्, भेडापालन गर्न निकै दुःख छ, बजारतिर आउँदा कमाइ पनि राम्रै हुन्छ”, नन्दबहादुरले भन्नुभयो । नन्दबहादुरले सडक राम्रो भएको हुँदा भेडालाई सहजरूपमा बागलुङ बजारसम्म ल्याउन सकेको बताउनुभयो । यसपालि बाटोमा भेडा खासै बिरामी नभएको उहाँको भनाइ छ । बाटोमा पानी पर्दा आफूहरूले केही समस्या भने भोग्नुपरेको उहाँले सुनाउनुभयो । “यस वर्ष त बाटोमा भेडा बिरामी पनि भएनन्, मरेनन् पनि, अघिल्लोपटक आउँदा तीन भेडा गर्मीले बाटामै मरेका थिए, केही बिरामी भए, अहिले बाटो राम्रो बनेको रहेछ, अलिकति पानीले समस्या बनायो । सजिलैसँग आइयो बागलुङ बजार”, उहाँले भन्नुभयो । नन्दबहादुरका भतिज तीर्थबहादुरले यस वर्ष भेडाको मूल्य बढेको बताउनुभयो । आफूहरूले ल्याएको बथानमा न्यूनतम रु २० हजारदेखि अधिकतम रु ३५ हजारसम्मका भेडा रहेको उहाँको भनाइ छ । तीर्थबहादुरले हालसम्म तीन सय ४० भेडा बेच्दा सोचेअनुसारको आम्दानी गर्न सकेको बताउनुभयो । आफूहरूले ल्याएका भेडा उच्च लेकमा हुर्किएको हुँदा निरोगी रहेको तीर्थबहादुरको भनाइ छ । “अघिल्लो वर्षभन्दा यस वर्ष भेडाको मूल्य केही बढेको छ, हाम्रा भेडा निरोगी छन्, मासु खानका लागि निकै उपयुक्त छन्, अरु सामानको मूल्य बढेको हुँदा भेडाका मूल्य बढेको हो, हामीले यही भेडा बेचेर जीविका चलाउने हो”, तीर्थबहादुरले भन्नुभयो, “ग्राहकले खासै गुनासो गरेका छैनन्, व्यापार राम्रै भइराखेको छ ।” तीर्थबहादुरले लेकबाट यहाँसम्म आउँदा निकै दुःख पाएको सुनाउँदै आफूहरूले ग्राहकलाई खुसी पारेको बताउनुभयो । दशैँको खर्च व्यवस्थापनका लागि आफूहरू भेडा बेच्न यति टाढा आएको उहाँको भनाइ छ । तीर्थबहादुर भेडा बेचिसकेर दशैँ मनाउन गाउँ जाने बताउनुहुन्छ । “भेडा त अरु बेला पनि बेच्न बजारतिर झर्ने गर्छौँ, यो बेला चाडपर्व पनि आयो, यसो परिवारलाई मीठो–मसिनो खुवाउनुप¥यो, एक सरो राम्रो कपडा किनिदिनुप¥यो”, उहाँले भन्नुभयो, “अरु खानेकुरा त अहिले गाउँतिरै पनि पसल खुलेका छन्, उतै किन्नुपर्ला, कपडा यही अलि सस्तोमा पाइएला यतैबाट लगेर जानु पर्ला ।” बागलुङमा हरके वर्ष मुस्ताङ र म्याग्दीबाट च्याङ्ग्रा ल्याउने गरिएको छ । मुस्ताङबाट ल्याइने च्याङ्ग्राको तुलनामा बागलुङ, रोल्पा र रुकुम सिमानादेखि ल्याएका भेडाको मूल्य केही कम भएको पाइएको छ । बागलुङ बजारका ग्राहक कुलबहादुर थापाले मुस्ताङदेखि ल्याइएका च्याङ्ग्राको तुलनामा रोल्पाबाट ल्याइएका भेडाको मूल्य कम भएको बताउनुभयो । उहाँले भेडा व्यापारीले मनपरी मूल्य तोक्दा आम उपभोक्ता मर्कामा पर्ने गरेको गुनासो गर्नुभयो । थापाले बजारमा आउने भेडा च्याङ्ग्राको मूल्यका बारेमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने भए पनि यसप्रति खासै चासो नदेखाएको गुनासो गर्नुभयो । “मुस्ताङबाट ल्याइएका च्याङ्ग्राभन्दा रोल्पातिरबाट ल्याइएको भेडाको मूल्य धेरै कम भएको पाइयो, रोल्पातिरबाट भेडापालक आफैँले बेच्न आएका छन्, मुस्ताङका च्याङ्ग्रा कहाँ–कहाँबाट व्यापारी पुगेर खरिद गरेर ल्याएका छन्, उनीहरूले मनपरी मूल्य तोक्ने गरेका छन्”, उहाँले भन्नुभयो ।
काठमाडौं : बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत–सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने उहाँले सुनाउनुभयो । नवरात्रको पहिलो दिन सोमबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवी भागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडादशैँ बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेषरूपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्छ ।
ढोरपाटन । सुनसान गाउँ, जीर्ण घरहरु, बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ । बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी पर्यो भने अस्पतालसम्म पुर्याउने मान्छेसमेत यस गाउँमा छैनन् । भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो । यस गाउँका अधिकांश युवा विदेशिएका छन् । विदेश नगएका परिवार लिएर बजार झरे । यहाँका धेरै युवा जापानमा छन् । केही युरोपतिर । युवा विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् । स्थानीय रीता थापा भन्नुहुन्छ, “गाउँमा कोही बिरामी पर्यो भने तत्काल अस्पताल पुर्याउने मान्छे पनि पाइँदैनन्, गाउँका खेतबारी सबै बाँझो बनेका छन्, बूढाबूढी र केटाकेटी मात्रै छन् अहिले गाउँमा, केटाकेटी पनि बजारतिरै झर्न थालेका छन् ।” विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने गरेको थापाले बताउनुभयो । दिनदिनै गाउँमा मान्छे घट्दै गएको भन्दै रित्तिएका घर जीर्ण अवस्थामा पुगेको उहाँको भनाइ छ । “बूढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्”, थापाले भन्नुभयो, “सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरु गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन् ।” थापाले छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपातीसमेत खेतालाको अभाव हुने गरेको बताउनुभयो । उहाँ एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपातीले भरिएको बताउनुहुन्छ । “पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो, अहिले एक जना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिँदैन, त्यही भएर बारीमा कालोपाती उम्रिएको छ”, थापाले भन्नुभयो । विदेशमा राम्रो कमाइ हुनेले बजारतिर बसाइँसराइ गरेपछि गाउँ सुनसान बनेको स्थानीय विष्णु थापा बताउनुहुन्छ । “१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो”, थापाले भन्नुभयो, “अहिले त जापानबाहेक अरु ठाउँमा यहाँका मान्छे छैनन्, उनीहरु सबैले गाउँ छोडेर गए, बजारमा जग्गा जमिन जोडेपछि परिवारनै उतै लगे, गाउँ सुनसना भयो ।” उहाँले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने बताउनुभयो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो सुविधा नहुँदा गाउँ छाड्ने बढेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “युवा शक्ति सबै विदेशतिर हिँडे, गाउँमा रोजगारको अवसर छैन, विदेश गएपछि गाउँ बिर्सिन थाले, गाउँमा भएका पनि सुविधा खोज्दै बजार झरे, गाउँमा त उही हुँदा खानेहरु मात्रै छन् ।” बसाइँसराइका कारण यहाँ विद्यार्थीसमेत घटेको देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा जम्मा १६ जना विद्यार्थी रहेको उहाँको भनाइ छ । प्रअ थापाका अनुसार कक्षा पाँचसम्म पढाइ हुने भए पनि कक्षा ३ र ४ मा विद्यार्थी छैनन् । विद्यालय दुई जना शिक्षकको भरमा चलेको उहाँको भनाइ छ । “बसाइँसराइले गर्दा विद्यार्थी घट्दै गएका छन्, स्थानीय सबै जापानतिर छन्, अहिले त बालबालिका पनि उतै लग्न थाले, यहाँ भएका पनि बोर्डिङतिर झारेका छन्, गाउँमा मान्छेनै कम छन्, विद्यार्थी धेरै हुने त झन कुरै भएन”, प्रअ थापाले भन्नुभयो, “कक्षा ५ सम्म पढाइ हुने भए पनि दुई वटा कक्षामा विद्यार्थीनै छैनन्, १६ विद्यार्थीलाई दुई शिक्षकले पढाउँछौँ, तीन वटा दरबन्दी थियो, विद्यार्थी घट्दै गएपछि गत वर्ष एउटा दरबन्दी घट्यो ।” उहाँले धेरै नागरिकले सेवा सुविधाको पछि लाग्दा आफ्नो जन्मभूमि छोड्दै गएको बताउनुभयो । बसाइँसराइले सिङ्गो गाउँनै रित्तो बन्न थालेको उहाँको भनाइ छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घर परिवार रहेका थिए । अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । “मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि सहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएका पनि विस्तारै बजार झर्ने तयारीमा छन्”, थापाले भन्नुभयो । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बसाइँसराइ रोक्न नगरपालिकाले ग्रामीण क्षेत्रमा सहजरुपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको बताउनुभयो । उहाँले पहिलेदेखिनै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको भन्दै नगरपालिकाले गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएको बताउनुभयो । “गलकोटमा बसाइँसराइ गर्नेको सङ्ख्या व्यापक छ, यसलाई रोक्न हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणलाई जोड दिएका छौँ, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बाढी ‘फोकस’ गरेका छौँ”, प्रमुख गैरेले भन्नुभयो, “ढिला चाँडो बसाइँसराइ रोकिने छ, ग्रामीण क्षेत्रका नागरिकसँग बसेर छलफल गरेका छौँ, त्यहाँ चाहिने आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने योजनामा हामी छौँ ।” उहाँले सबै ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडिसकेको भन्दै अब ग्रामीण पर्यटनलाई जोड दिन थालेको बताउनभयो । ग्रामीण क्षेत्रममा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्नेसँगै बसाइँसराइ रोक्ने उहाँको भनाइ छ ।
पोखरा : विश्व पर्यटन दिवसको अवसरमा कास्कीको पर्यटकीय स्थल घान्द्रुकको विभिन्न स्थलमा वृहत सरसफाई गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा ४२ औं विश्व पर्यटन दिवसको अवसरमा सरसफाई गरिएको हो । कास्कीको पर्यटकीय स्थल घान्द्रुुकगाउँ वरपर रहेको फोहोरहरुले पर्यटकमा राम्रो सन्देश नदिने भएकाले सरसफाई अभियान थालिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । ‘घान्द्रुक गाउँ पर्यटकको केन्द्र हो’ उनले भने ‘कास्कीको घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फोहोरमा होइन सफासुग्घर स्थलमा स्वागत गर्न चाहान्छौं । यो अभियान अब निरन्तर सञ्चालन हुनेछ ।’ घान्द्रक पर्यटनहरुको रोजाईमा पर्ने भएकाले गाउँघर सफासुग्घर राख्न स्थानीयले सक्रियता देखाएपछि पर्यटन व्यवस्थापन समितिले सरसफाई कार्यलाई तिव्रता दिन थालेको हो । कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाउँ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरि र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।
तनहुँ । “अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो”, तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी कोपिला नेपालीले भन्नुभयो, “वर्षभरि खाने अन्न उत्पादन नहुँदा अब के गर्ने भन्ने समस्या थपिएको छ ।” छ रोपनीमा लगाएको धान अधिकांश रोग लागेर मरेको छ । औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण नभएको उहाँको गुनासो छ । “गाउँपालिका, कृषि ज्ञान केन्द्रमा पनि समस्याका बारेमा जानकारी गरायौँ, रोगको पहिचान हुन सकेन”, उहाँले भन्नुभयो, “प्राविधिकले दिएको औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण भएन ।” सोही ठाउँ निवासी कृषक गङ्गा वाग्लेको चार रोपनी खेतमा लगाएको धानबालीमा पनि रोगको समस्या फैलिएको छ । “वर्षभरि खाने धान हो, दुःख गरेर लगायौँ, यो वर्ष त मल अभाव पनि ज्यादा भयो”, उहाँले गुनासो गर्नुभयो, “रोगको समस्याले धान उत्पादन नै घट्ने भयो, राज्यले कृषकको समस्या बुझिदिनुपर्छ ।” वर्षभरि खाने अन्न नष्ट हुने भएपछि सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने कृषक पुरुषोत्तम भण्डारीले बताउनुभयो । “वर्षभरि खाने अन्न हो, सबै नष्ट भयो, सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्छ”, उहाँले भन्नुभयो । तनहुँको म्याग्दे गाउँपालिका–७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन् । धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् । रोग लागेको धानलाई यसै छाडे अर्को वर्ष पनि यस्तै हुने हो कि भन्ने डरले समस्या फैलिएको ठाउँमा आगो लगाउने सोच बनाएको कृषकले बताएका छन् । यहाँका करिब ५० कृषकले तीन सय रोपनी क्षेत्रमा लगाएको धानबालीमध्ये एक सय ७० रोपनीमा रोगको प्रकोप फैलिएको छ । म्याग्दे गाउँपालिकाका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले धानमा ‘मेली बग’ को समस्या देखिएको जानकारी दिनुभयो । “झट्ट हेर्दा जिङ्कको कमीले हुने राते रोगको प्रकोपजस्तो देखिने भएता पनि सुरुमा जिङ्क हाल्दा पनि सुधार भएन”, उहाँले भन्नुभयो, “हामीले धानखेतको अवलोकनपश्चात नेपाल कृषि अनुसन्धान परिषद्को सल्लाहबमोजिम औषधि उपलब्ध गराएका थियौँ ।” औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको उहाँले बताउनुभयो । “सुधार भएको ठाउँमा थप विषादी छर्किने र पूर्ण क्षति भएको धानखेतको क्षतिपूर्ति दिने गाउँपालिकाले निर्णय गरेको छ”, उहाँले भन्नुभयो । यो रोगको समस्या तनहुँका अलवा चितवन र मोरङमा पनि देखिएको प्राविधिकले जनाएका छन् ।
पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालले सोमबार पोखरामा ८० जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका ग्रामिण भेकमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसरमा प्राध्यापनरत उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, प्रतिष्ठानका संस्थापक उपाध्यक्ष दुर्गाबहादुर गुरुङ, निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ लगायतले विभिन्न अक्षयकोषदाताहरुबाट स्थापित कोषबाट जनही ८/८ हजार छात्रवृत्ति वितरण गरिएको हो। वार्षिक १५० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानले पहिलो चरणमा गण्डकी प्रदेशका कास्की र वरपरका जिल्लाका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो भने यस पश्चात देशैभरमा छनौट भएका अन्य तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने जनाएको छ। प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरेकी आकृति तमु लगायतले प्रतिष्ठान, छात्रवृत्ति वितरण र शिक्षाका विविध पक्षमा मन्तव्य व्यक्तगर्नुभएको थियो। उक्त कार्यक्रममा तमु विद्यार्थी समितिको तर्फबाट प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरि दश जोड दुई उतिर्ण गरेका विद्याथीृहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो भने उक्त कार्यक्रमको संचालन समितिकी सचिव रेनु गुरुङले गर्नुभएको थियो। छात्रवृत्ति वितरण कार्यक्रम प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षता, स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सञ्चालन सचिव कञ्चन गुरुङले गर्नुभएको थियो। उक्त कार्यक्रम पश्चात तमु विद्यार्थीहरुलाई उच्च शिक्षा लगायत निजामति सेवाका बारेमा तेजबहादुर चाक्ली तमु, कञ्चन गुरुङले अभिमुखिकरण गराउनु भएको थियो।