म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सिसि टिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घटना र झैझगडामा कमी आउने अपेक्षा गरिएको छ । बजारका मुख्य चोकमा २५ सीसी टिभी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव अमृतमान शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको रु १० लाख बजेटबाट उक्त कार्य सम्पन्न गरिएको हो । बजारमा जोडिएका क्यामेराको रेखदेखको जिम्मा भने इलाका प्रहरी चौकी भुरुङतातोपनीको जिम्मा लगाइएको छ । प्राकृतिक उपचार स्थल र पर्यटकको थकान मेटाउने थलोको रुपमा परिचित तातोपानी कुण्डमा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई ध्यानमा राखि बजार क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीसी क्यामेराबाट ठूलो मद्दत पुग्ने प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड र अन्नपूर्ण पदयात्राले समेटिएको भुरुङ तातोपानीमा अत्यधिक पर्यटकीय गतिविधि हुने गरेको छ ।
चितवन : लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धान आदि खाने गरिन्छ ।” यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने जानकारी दिँदै उहाँले भन्नुभयो “हामी यस दिन देवीदेवतासँग रोगव्याधी नलागोस् भनेर आशीर्वाद लिने गर्दछौँ । भाकल भए त्यसको समेत पूजा गर्दछौँ ।” घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ । सोही दिन पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्ने परम्परा छ । पछिल्लो समय धेरै चेपाङले धर्म परिवर्तन गरेसँगै विगतको जस्तो पर्व रमाइलो हुन छाडेको गुनासो गर्दै उहाँले भन्नुभयो “९० प्रतिशत चेपाङ क्रिश्चियन बनेपछि भाषा, धर्म, संस्कृति जोगाउन मुस्किल भयो । यो पर्व अहिले लोपन्मुख अवस्थामा पुगेको छ ।” सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङले यो समुदायले भूयार र न्वागी गरी दुई वटा पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी मनाउने गरिन्छ ।” फागुन र चैतमा रोपेका बाली साउन/ भदौमा तयार भएपछि चढाउने गरिन्छ । प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ । मुख्यरुपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्याएर भगवानलाई चढाइ खान सुरु गरिने सचिव चेपाङले बताउनुभयो । राप्ती नगरपालिकाको चार किल्लाका पहलमान चेपाङले न्वागी पुरानो परम्परा र संस्कृति भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो ठूलो पर्व हो । घरघरमा हामी खुसीयाली साटासाट गरेर यो पर्व मनाउँछौँ । कतिपयले यो पर्व समूहगत रुपमा पनि मनाउँछन् ।” चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले छ महिना पनि खान पुग्दैन । जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन रहेको छ । पहलमानले भन्नुभयो,“न्वागी पूजा नगरेसम्म अन्न जुठो हुन्छ, चोख्याएर मात्रै खान्छौँ ।” धर्म परिवर्तनका कारण पछिल्ला दिनमा पर्व मनाउनेको सङ्ख्या घटेको उहाँको भनाइ थियो । पहलमानले भन्नुभयो “हाम्रो धर्म र संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्छ ।” पहाडी क्षेत्रमा रहेका लोपन्मुख यो जाती धेरैको आफ्नै जमिन समेत छैन । वनमा फलेका कन्दमूल खाएर कतिपयले जीविका टार्नुपर्ने बाध्यता छ । शिक्षाको अभावमा बाल्य अवस्थामा नै विवाह हुने गरेकाले जन्मिएका बालबालिका र आमाको स्वास्थ्य अवस्था जटिल हुने गरेकाले यो जातिका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनीहरुको माग थियो । यस वर्षबाट चेपाङ समुदाय बसोबास गर्ने चितवन, मकवानपुर र धादिङ जिल्लामा बागमती प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको छ । नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातीको बसोबास बढि छ । छिटफुट २४ जिल्लामा चेपाङ समुदाय बस्ने गरेको सङ्घले जनाएको छ । विसं २०६८ को गणनाअनुसार नेपालमा यो जातीको सङ्ख्या ६८ हजार तीन सय ९९ पुगेको छ । तीमध्ये चितवनमा यो सङ्ख्या २८ हजारभन्दा बढी छ । पछिल्लो जनगणनाको सङ्ख्या आइसकेको छैन । जिल्लाको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा यो जातीको बाक्लो बसोबास छ ।
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सुरु गरिएको छ । हेमजामा रहेको हेमजा मिनि मार्केट र बिकास आयल स्टोरमा भएको शौचालयलई सार्वजनिक गरिएको हो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले महानगरको अवधारणा अनुसार निजि शौचालयलाई सार्वजनिक गरिएको बताए । वडामा सार्वजनिक शौचालय नभएको अवस्थामा निजी क्षेत्र बाट सहयोग गरेकोमा धन्यवाद दिदै एक बर्ष भित्र प्रत्येक वडामा महानगरले सार्वजनिक शौचालय बनाउने उल्लेख गरे । महानगरको वडा हुन सार्वजनिक शौचालय हुन आवश्यक हुने बताउदै अन्य व्यवसायीलाई साजेदार गर्न आग्रह गरे । हेमजा मिनि मार्केटका सञ्चालक शिवलाल पौडेलले मार्केटमा भएको शौचालयलाई सार्वजनिक घोषणा गर्दै सेवा गर्न पाउँदा गर्व महसुस गरेको बताए । उनले सडकमा भएको अव्यवस्थित पार्किङ हटाउन सहजिकरण गर्ने बताउदै मार्केटमा पार्किङ गर्न दिने बताए । विकास आयल स्टोरका सञ्चालक भोजराज पौडेलले निजि शौचालयलाई सार्वजनिक गर्ने काम राम्रो लागेको बताए । कार्यक्रममा पुर्व वडा सदस्य दलबहादुर कुवँर र नेकपा एमाले पोखरा २५ हेमजाका अध्यक्ष ऋषिराम पौडेलले बोलेका थिए । कार्यक्रममा लियो क्लब अफ हेमजा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, विभिन्न राजनीति दल र विभिन्न संस्था प्रतिनिधिको उपस्थिति थियो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ईश्वरी बाँस्तोलाले गरेका थिए ।
म्याग्दी : म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना प्रस्तुत गर्नुभएको छ । रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाउनुभएको थियो । उहाँले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभयो । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आउनुभएको थियो । सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गर्नुभएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान जिल्ला प्रहरी कार्यालय म्याग्दीले हरेक महिना प्रहरी एकाइका उत्कृष्ट प्रहरी कर्मचारी पहिचान गरेर सम्मान गर्न थालेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउन र हौसला प्रदान मासिकरूपमा सम्मान गर्न सुरु गरिएको हो । बेनी नगरपालिका–१ को रत्नेचौर प्रहरी बिटका हवल्दार बिष्णु पौडेललाई विसं २०७९ को साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी सम्मान प्रदान गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो । नाबालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल परिचालन भई घटनास्थलमा नै पीडितलाई उद्धार र पीडकलाई नियन्त्रणमा लिन सफल भई अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको र ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई पक्राउ गरेको हुँदा पौडेललाई ‘वेष्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
तनहुँ : म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उहाँले बताउनुभयो छ । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रतिलिटर दूधमा रु दश त्यसैगरी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा रु १० अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ । यसअघि गाउँपालिकाले प्रतिलिटर रु पाँच अनुदान दिँदैआएको थियो । सहकारी आबद्व भएका दुग्ध किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले सुत्केरी, गरिब र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ ।
बागलुङ : एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युतको पहुँच थिएन । विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ । गाउँलेले पिसानी (अन्न पिस्ने काम)का लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । गाउँघरमा अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्टहरू जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेका ठाउँमा यसको प्रयोग हुने गरेको छ । तर जिल्लाको अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुले पाँच वर्ष अगाडिसम्म पानी घट्टमै आँटो पिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई–तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेको छ । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेको छ भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् । मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीय नरबहादुर घर्तीमगरको भनाइ छ । उहाँले पहिले–पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको जनाउँदै अहिले सबै मिलमै कुटानी पिसानीका लागि जाने गरेको बताउनुभयो । उहाँले घट्टको विकल्पमा अरु माध्यम नभएको सुनाउँदै अहिले धेरै प्रविधि भित्रिएको बताउनुभयो । “पहिले हामीले कुटानी पिसानी गर्ने ढिकी, जाँतोबाहेक अरु केही थिएन, कि घरमै जाँतोमा आटो पिठो पिस्नु पथ्र्यो, कि घण्टौँ लगाएर टाढाको मिलमा जानु पथ्र्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले त पानीघट्टको प्रयोग कम मात्रा हुन्छ, गाउँमै मिल बने घट्टलेभन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा मान्छे जता छिटो हुन्छ उतै जान्छन्, पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थालिसके, मान्छेले सजिलो र छिटो खोज्दोरहेछ ।” पानीघट्टको प्रयोग घटेपछि सञ्चालकहरू पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक–दुई माना उठाउने गर्थे । त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए । अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक वीरबहादुर सुनारले बताउनुभयो । गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको जनाउँदै पछिल्लो समय घट्ट ठप्पै भएको उहाँको भनाइ छ । “घट्ट भत्कियो, मान्छे आउन छाडे, पहिले मेरो घट्टमा गाउँले सबै आउने गर्थे, मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्, मान्छे नै आउन छाडेपछि घट्ट अहिले जीर्ण बनेको छ, मर्मतसम्भार पनि गरेको छैन”, सञ्चालक सुनारले भन्नुभयो, “यहीबाटै परिवार पालेको थिएँ, अहिले सबै मिलमा जान्छन्, कोही आउँदैनन्, त्यसले गर्दा अब अरु नै पेशा गर्नुपर्ने अवस्था आएको छ, डेढ वर्षभन्दा बढी भयो मेरो घट्टमा मान्छे नआएको, त्यसभन्दा पहिले मान्छेहरु फट्टफुट्ट आउने गर्थे ।”
काठमाडौं । मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बूढानीलकण्ठ नगरवासीले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेका छन् । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेको हो । नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको कीर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइँसराइ र मतदाता परिचयपत्रलगायतका कागजात बोकेर निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोलले बताउनुभयो । निर्वाचन कार्यालय धर्नाका क्रममा निर्वाचन कार्यालय पुगेका बूढानीलकण्ठ–१० एमाले नगर कमिटी अध्यक्ष जगत निरौलाले नामावलीबाट नगर कार्यपालिका सदस्यसमेतको नाम हटाइएको भन्दै आक्रोस पोख्नुभयो । निर्वाचन कार्यालयमा सम्पूर्ण कागजात पुर्याएर आएको नामावलीबाट नाम हटाउनु जनताको अन्याए भएको उहाँको भनाइ छ ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढवा दिनुपर्ने बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घको १४औँ वार्षिक साधरणसभाको सोमबार धनगढीमा उद्घाटन गर्दै उहाँले देशलाई आत्मनिर्भर बनाउन सरकारले आयात बढाउने र निर्यात घटाउने नीति लिएको बताउनुभयो । उहाँले बन्द रहेका उद्योग सञ्चालन गर्न सरकारले पहल गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । मन्त्री बडूले इँटा उद्योगी व्यवसायीले देशको विकास र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो । इँटा उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उहाँको भनाइ थियो । इँटा उद्योगी व्यवसायीलाई सहुलियत दरमा बैंकिङ कर्जा प्रवाहको व्यवस्था गर्न सरकार लागि परेको उहाँले बताउनुभयो । सरकारले उत्पादनशील तथा रोजगारमुखी व्यवसायको विकासलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति रहेको उल्लेख गर्दै उहाँले उत्पादनशील उद्योग व्यवसायमा जोड दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
गलेश्वर : मगर संस्कृतिको धरोहर मानिने जयसिङ्गे राजा र हैमती रानीको स्मरणमा आधारित प्राचीन सोरठी नृत्य लोपलोपोन्मुख अवस्थामा पुगेपछि मगर समुदायका अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन् । जयसिङ्गे राजा र हैमती रानीको कथामा आधारित उक्त नृत्य मगर समुदायको मौलिक नृत्य हो । देवी, देउता, पौराणिक घटना र कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ । सोरठी गीतमा मानिसका दुःख, वेदना, समस्यालगायत चाडपर्वका शुभकामनालाई पनि लयवद्धरुपमा प्रस्तुत गरिन्छ । मगर समुदायमा सोरठी नाच विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत नाच्ने गरिन्छ । यो नाचलाई पुख्र्यौली नाच पनि भन्ने गरिन्छ । सोरठीमा पुरुषले महिलाको वेशमा कलात्मक ढङ्गले मादलको तालमा ताल मिलाएर नाच्छन् । महिलाको वेशमा सजिएका पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठीमा ठाउँअनुसार दुईदेखि तीनजना मारुनी बनेका हुन्छन् । त्यस्तै मादले पनि दुईदेखि तीन जना हुन्छन् । म्याग्दीमा पनि गाउँघरमा मगर समुदायमा चाडबाड, विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमासमेत नाच्ने गरिँदै आएको छ । जिल्लाको उत्तरी र पश्चिम भेगका मगर बस्तीमा पहिलेजस्तो सोरठी गीत र नाच छ्यापछ्याप्ती देख्न सकिँदैन ।सोरठी गाएर नाच्नुपूर्व सबै देवीदेवताको नाम लिएर तीन तालमा मादल ठोक्नुपर्ने मान्यता छ । यसैलाई सरस्वती उतार्ने पनि भनिन्छ । सोरठी नृत्यमा पहिले सरस्वती जगाइ सकेपछि मादलको तालमा नाच्ने गरिन्छ। परम्परागत मान्यताअनुसार चोखो हृदय भएको मान्छे तीन ताल मादल बजाउँदा हल्लिन्छ र उसलाई विधिपूर्वक थामथुम पारेर बसाल्नुपर्छ । सरस्वती पुज्ने, आँगन पुज्ने, मादल पुज्ने, आंशिक दिनेलगायतविधि पूरा गरेपछि मात्र सोरठी सुरु हुने म्याग्दी पुख्र्यौली सङ्घका अध्यक्ष थप्रसाद गर्बुजाले बताउनुभयो । गाउँ र ठाउँ अनुसार सोरठी गीतको लय र विधि पनि फरक–फरक हुने उहाँको भनाइ थियो । सोरठीमा गाउन र नाच्न मादले, मारुनी, पुरुसुङ्गेसहित कम्तीमा २० कलाकार आवश्यक पर्छ । मादलकै तालबाट मूल गायकको निर्देशनअनुसार अन्य कलाकारले गायनमा साथ दिने गर्छन् । सोरठीको अलिखित इतिहाँस सोरठी नाच्ने र गाउँने चलन कसले र कहिलेदेखि चलाएको हो भन्ने कुराको इतिहास अलिखित छ । यो नाच पछिल्ला पुस्तामा हस्तान्तरण हुन नसक्दा भने बुढापाका चिन्ता व्यक्त गर्छन् । समयअनुसार गाइने सोरठी गीतको आफ्नै विशेषता छ । पछिल्लो समय मगर समुदायमा सोरठी नाच्ने र नाच्नका लागि गाउने गीत तथा कथा वाचन गर्ने जनशक्ति अभाव हुँदै गएको मालिका गाउँपालिका–४ च्युरीबोटस्थित दाजुङ खोलाख्याली सोरठीका अध्यक्ष बोमबहादुर पुनले बताउनुभयो । सोरठी संरक्षण र प्रवद्र्धन गर्न स्थानीय सरकारसँगै युवाले चासो दिन आवश्यक रहेको मालिकागाउँपालिका–४ स्थित नेपाल मगर सङ्घ इकाइ समिति ओखरबोटका अध्यक्ष तुलप्रसाद पुनले जानकारी दिनुभयो । सोरठीमा मारुनीले चोली, धरो, रुमाल, चुरापोते, टीका आदि लगाउने गर्छन् । ठाउँ अनुसार पुरुसुङे पनि मादले र मारुनीको साथमा नाच्दछ । पुरुसुङले दौरा सुरुवाल, स्टकोट लगाएका हुन्छ भने मारुनीले कम्पनी माला र शिरमा सेली पहिरिएका हुन्छन् ।सोरठी नाचमा दैवी शक्ति रहेको विश्वास गरिन्छ ।समाजमा सानो, ठूलो, जातभात, धनी ,गरिब नभनिकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको संरक्षण अभियन्ताले बताए । युवा पुस्ताले यो नाच सिक्न चाहेर पनि समय अभावले पुस्तान्तान्तरण हुन नसकेको नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति अध्यक्ष डकमाया पाइजाले बताउनुभयो । जिल्लाका अधिकांश मगर बस्तीमा नाचिने यो नाच संरक्षण र प्रवद्र्धनका लागि अहिले मगर समुदायका युवा जुटेका छन् । युवा पुस्तामा मौलिक संस्कार हस्तान्तरण हुन आवश्यक रहेको उहाँको भनाइ थियो । “सोरठी मौलिक संस्कार संस्कृति मात्र नभइ हाम्रो पहिचान पनि हो । यसको संरक्षण र प्रवद्र्धनमा राज्यले चासो दिनुपर्छ,” अध्यक्ष पाइजाले भन्नुभयो । लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको सङ्गीत र लयको बारेमा पछिल्लो पुस्ताले सिक्न आवश्यक रहेको अधिवक्ता मनोज घर्तीगरले बताउनुभयो । “यो नाच नेपालकै परम्परागत नृत्य हो । नयाँ पुस्ताले यो नाच सिक्न आवश्यक छ,”उहाँले भन्नुभयो,“यसको संरक्षण र पुस्तान्तरणमा अग्रजले युवालाई पुराना ज्ञान सिकाउन जरुरी छ ।” जिल्लामा सोरठीको संरक्षण र प्रचारप्रसारका लागि केही सोरठी संरक्षण समिति बनेका छन् । समुदायमा प्रचलित सोरठी नाचको संरक्षण र जगेर्ना गर्नका लागि आफूले गाउँपालिकाबाट योजना बनाएर सहयोग उपलब्ध गराउने धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । “यो नाच मगरसमुदायको मात्र नभइ साझा मौलिक संस्कार हो”, उहाँले भन्नुभयो,“सोरठी नाच संरक्षण, जगेर्ना र प्रवद्र्धन गर्न सोरठी संरक्षण समितिसँग छलफल गरेर आवश्यकताअनुसार सहयोग गर्ने योजना बनाएको छु ।” जिल्लाका अधिकांश ठाउँमा अतिथिको सत्कारमा सोरठी नाच्ने गरिएको छ । सोरठी गाउने र नाच्नेलाई दान दिने र सोही दानले कलाकारले खर्च चलाउने चलन परापूर्वकालदेखि रहँदै आएको छ ।