ढोरपाटन:    बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानी...

  भोजपुर । भोजपुरको  धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो ।       मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका छन् । आसपासमा चरण क्षेत्र भएकोले यहाँ गाईबस्तु मन्दिरभित्र पस्ने गरेको स्थानीयबासीको भनाइ छ ।        ऐतिहासिक मन्दिर रहेकोले यसको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीय नूरी शेर्पाले बताउनुभयो । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने उहाँको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ ।       “यो एउटा पवित्र धार्मिक तथा पर्यटकीयस्थल हो”, शेर्पाले भन्नुभयो, “तर यहाँ बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । संरक्षणमा दिन ध्यान आवश्यक छ । यहाँको महत्वलाई सबै माझ बुझाउन सके धेरै पर्यटकलाई भित्रयाउन सकिन्छ ।”       मन्दिरको नजिकै परेवा उडाउने तथा बली पूजा गर्ने ठाउँ छ । केही समयसम्म यहाँ जोगी बस्ने गरेका थिए । भाकल पूरा गर्न यहाँ परेवा लगेर उडाउने प्रचलन छ ।  यस क्षेत्रको दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ वालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्छ । मानिस यहाँ सदविज छर्न पुग्छन् ।        यहाँ लाग्ने मेलामा भोजपुर, खोटाङ, धनकुटा, संखुवासभाबाट मानिस आउँछन् । यहाँको मन्दिरमा सल्लाको काठ फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानी चुहिँने गरेको छ । टिनको छानो लगाएर मन्दिर परिसरलाई तारको घेराबारा गर्नुपर्ने स्थानीयबासी बताउँछन् ।        मन्दिरको संरक्षणको लागि काम गर्ने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र भएकोले यस क्षेत्रको विकासमा ध्यान दिने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।       केही दूरी पर खोटाङको सिमना रहेकोले त्यहाँका स्थानीय तहसँग छलफल गरेर योजनावद्धरुपमा काम गर्ने उहाँको भनाइ छ । “मन्दिरको संरक्षणको लागि काम गर्छौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यो ठाउँ स्थानीयको धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय क्षेत्र पनि हो । यसको बृहत्तर विकास गर्न  सिमाना जोडिएका खोटाङका स्थानीय तहसँग पनि समन्वय गर्ने सोच छ ।”       मन्दिर रहेको स्थानबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्से लगायत आठ हजार मिटर अग्ला छ ओटा र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।       यो क्षेत्र भएर नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग विस्तार भएको छ । मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ ।         प्राकृतिक सौन्दर्यता नियाल्ल साथै धार्मिक दर्शनको लागि अहिले मानिस दैनिक जसो आउने गरेको टेम्के डाँडाका गणेश विष्टले बताउनुभयो । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकोले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ । “मन्दिर संरक्षण हुन सकेको छैन”, विष्टले भन्नुभयो, “खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेको जस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिरको संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको श्रोत बन्न सक्छ ।”  

पोखरा :  पोखरास्थित एकता बचत तथा ऋण सहकारी संस्थाले एबीसीकर्मी एमबी आस्था मगर सम्मानित गरेको छ ।    संस्थाको एघारौं साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा पोखरामा रहेर एबिसी टेलिभिजन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरलाई एकता पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।    कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्मा, सहकारीका अध्यक्ष बालासिंह काउछा मगर, रुपा गाउपालिकाका अध्यक्ष नवराज शर्मा लगायतले अबिर, खादा, सम्मानपत्र र नगद सहित सम्मान गरेका थिए ।    पत्रकार एमबी आस्थासँगै सहकारीले कलाकारिता पुरस्कारबाट सरिता सारु मगर, जनप्रतिनिधि सम्मान अन्तर्गत रुपा गाउँपालिका प्रमुख नबराज ओझा, पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य भिम कुमारी पुन गर्बुजा र पोखरा महानगरपालिका वाड प्रतिनिधि कृष्णहरि काफ्लेलाई सम्मान गरेको थियो ।   एकता सहकारीले आफ्ना जेष्ठ नागरिक शेयर सदस्यमा महिला तर्फ बालमाया श्रेष्ठ, पुरुष तर्फ कुलप्रसाद अधिकारि, उत्कृष्ट कारोबार  कर्तामा महिला तर्फ धनमाया राना, पुरुष तर्फ छमबहादुर खत्री, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ५ भित्र राजिब शर्मा, बिस्णु के सि अधिकारी, नारायणी अधिकारी सुबेदि, आस्था पौडेल  र बुद्ध कुमारी खड्कालाई सम्मान  गरेको छ ।    त्यस्तै उत्कृष्ट कर्मचारीहरुमा कर्जा बिभाग प्रमुख शर्मिला केसी, काउण्टर बिभाग प्रमुख अमृता रेगामी र बजार प्रतिनिधि यसोदा श्रेष्ठ थापा मगरलाई सम्मान गरेको थियो ।   एकता बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा तथा पाँचौं अधिबेशनबाट  सुदर्शन पौडेलको अध्यक्षता ९ सदस्यीय संचालक समिति र लेखा समिति निर्बिरोध निर्बाचित गरेको छ । निर्बाचित समितिमा अध्यक्षमा सुदर्शन पौडेल, उपाध्यक्षमा तिलकप्रसाद तिवारी, सचिव राम बहादुर मगर, कोषाध्यक्ष  खुम थापा मगर रहेका छन् ।   सदस्यहरुमा ज्योति तामाङ, बिस्णु के सि अधिकारी , शक्ति बराल, बालुमाया पुन र प्रकाश के सि रहेका छन । त्यस्तैगरी लेखा समिति  संयोजकमा बिश्वनाथ ओझा र सदस्यहरुमा देब कुमारी गुरुङ र प्रकाश पुन रहेका छन ।    साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारीको माध्यामबाट सवैलाई जोड्ने काम भएकाले यसमा रहेका सम्पूर्ण शेयर सदस्यहरुले उत्पादनमुखी काममा सहकारीलाई जोड्नुपर्ने बताइन् ।   रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले सहकारीहरु अब शहरमुखी नभइ गाउमुखी हुनुपर्ने बताउदै आफ्नो पालिकामा कुनैपनि सहकारीले कृषि लगायतका उत्पादनमुखी क्षेत्रमा लगानी गर्न चाहेमा आफुले जग्गा उपलब्ध गराउने बताए ।    कार्यक्रम संस्थाका अध्यक्ष बालासिंङ काउछा मगरको अध्यक्षता, उपाध्यक्ष नवराज सुवेदीको स्वागत र सचिव तिलकप्रसाद तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।   

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशन भएको छ।   आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले  बताए। ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो।   बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।   नतिजा सार्वजनिक गर्ने निर्णय गर्नको लागि बैठक बोलाएको छ । अहिले बोर्डको बैठक बसिरहेको एक बोर्ड सदस्यले जानकारी दिए । उनले भने, ‘हामी परीक्षा बैठक बस्ने तयारीमा छौं । आज नतिजा आउँछ ।’   गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

  कुश्मा । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि यस गाउँलाई नियाल्न सकिन्छ ।        यस गाउँमा दुई सयको हारहारीमा घर छन् । आधाभन्दा बढी घरका ढोकामा लगाइएका चावी नखुलेको भने वर्षौँ भएको छ । देशमा सशस्त्र द्वन्द्वमा फस्नु अघिसम्म गाउँको रौनक नै बेग्लै थियो । घरमुली कमाउन विदेशिए पनि उनका परिवार गाउँमै रमाउँथे । आफूहरु पनि घरखेत गर्दै मेलापातमै रमाउने गर्थे । अहिले ती दिनहरु गाउँलेका सम्झनामा मात्र सीमित छन् । उनीहरु भन्छन् “अहिले ती दिनहरु सबै इतिहास भइसके, पाका उमेरका गाउँलेका सम्झनामा मात्र सीमित बन्न पुगेका छन् ।”       “पहिले त गाउँ कम्ता रमाइलो थिएन नि बाबु”, अगेनाछेउमा बसेर झिलिङ्गा रोटी बनाउँदै गर्नु भएकी डिलकुमारी गुरुङले भन्नुभयो, “पहिले पनि टाढाटाढाबाट घुम्नका लागि अहिलेजस्तै मान्छेहरु आउने गर्थे, उनीहरु एक दिन मात्रै बस्न र घुम्न भनेर आए पनि चार पाँच दिन बसेर पो जान्थे नि बाबु । हामी पनि निकै खुसी हुनथ्यौँ । किन भने यहाँ आएका मानिसले हाम्रो गाउँ मन पराएर गाउँ छोड्नै मानेका छैनन् ।”        उहाँ जन्मेको, हुर्केको माइती घर पनि आफ्नो घरदेखि केही मिनेटकै दूरीमा रहेको छ । “बाल्यकालदेखि हाम्रा दिनहरु गाउँमै बिते, हामीलाई त आफ्नै यही गाउँ नै प्यारो लाग्दो रहेछ”, गुरुङले भन्नुभयो । उहाँका दुई छोरामध्ये एउटा बेलायती सेनामा र अर्का पोर्चुगलमा हुनुहुन्छ । पोर्चुगलको छोरा सपरिवार उतै हुनुहुन्छ ।        “छोराहरुले गाउँमा दुःख नगर्नु पोखरा गएर बस्नु भन्याभनै गर्छन्”, उहाँले भन्नुभयो, “बुढाले सहर गएर बस्न मनै पराउँदैनन्, कहिलेकाहीँ गइहाले पनि उतिनै बेला फर्किहाल्छन्, कहाँको सधैँका लागि बस्न सकिन्थ्यो र ?”        अवसर र बाध्यताले विदेशमा रहेका देउरालीवासीको मन गाउँकै पाखामा, गोरेटो  बाटोमै घुमिरहेको देखिन्छ । नमूना गाउँ बनाउने अभियानमा विदेशबाट आर्थिक सहयोग मात्र होइन सपना पनि बाँड्ने गरेका छन् । उनीहरुले गाउँको विकासका लागि विभिन्न क्षेत्रमा निःस्वार्थ भावनाले लगानी गर्दै आएका छन् । यस गाउँका अधिकांश युवा बेलायत, हङकङलगायत युरोपका देशमा छन् ।        “वडाले गाउँको विकासको लागि खर्च गर्ने रकमको पाँच गुणा बढी रकम विदेशमा बस्ने भुकदेउरालीवासीले गर्नुभएको छ”, निर्वतमान वडाध्यक्ष गौप्रसाद गुरुङले भन्नुभयो, “रातमा गाउँ पूरै झलमल देखिन्छ, ठाउँठाउँमा अत्याधुनिक शौचालय निर्माण गरिएको छ, खेलकुद मैदान बनाइएको छ, स्वास्थ्यचौकी निर्माण गरिएको छ ।”       विदेश र सहर बस्ने देउरालीवासी मिलेर गाउँमा सहकारीमार्फत अलैँची खेतीको सुरुआत गरिएको छ । “घर छाडेर बाहिरिएकाको खाली भएको बाँझो जमिन दश वर्षको लागि भाडामा लिएर अलैँची खेती गर्न थालिएको छ”, निर्वतमान वडाध्यक्ष गुरुङले भन्नुभयो, “ताङ्ले, लप्सीबोट, भमरकोट हुँदै म्याग्दीको घोडेपानी जोड्ने काम भइरहेको हुँदा यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।” गुरुङ पर्यटकीय चहलपहल बढेपछि सहरमा भएका युवा गाउँ फर्कनेमा ढुक्क हुनुहुन्छ ।        बाजा बजाउने दलित समुदायको संस्कृति जोगाउन पनि विदेशमा बस्ने स्थानीयवासीले सहयोग गर्दै आएका छन् । “हामीलाई चाहिने बाजा, पोसाक र समाजघर निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ”, बाजा बजाउँदै गर्नुभएका भुकदेउराली नौमती बाजा समूहका सदस्य डिलप्रसाद परियारले भन्नुभयो, “हामी बाजा बजाउन अन्यत्र धेरै ठाउँमा पनि जाने गरेका छौँ, त्यहाँबाट आउने केही पैसा हामीले राख्छौँ भने बाँकी  समाज घरमा राख्ने गरेका छौँ ।” उहाँका अनुसार यसभन्दा अघि सङ्कलन भएको रकम गाउँकै घोडेटो बाटो निर्माणमा खर्च गरिएको छ ।        भुकदेउरालीका दश घरमा पाहुना घर सञ्चालन गरिएको छ । रित्तिएको गाउँमा बाहिरबाट पाहुना आउँदा सिङ्गो गाउँ नै खुसी हुन्छ । बाजागाजासहित पुरै गाउँले मिलेर फूलमालाले सम्मानसहित पाहुना घरसम्म पुर्याउने गर्छन् । “गाउँमा मान्छेहरु बस्न छाडिसके”, पाहुना घरकी सञ्चालिका पूर्णिमा गुरुङले हाँस्दै भन्नुभयो, “तपाईंहरु पाहुना भएर आउँदा ज्यादै खुसी लाग्छ, सधैँ गाउँमै बसिदिए हुन्थ्यो झैँ लाग्छ ।”        एक दिनका लागि आउने पाहुनालाई पनि घरकै सदस्य जसरी गरिने व्यवहारले गहिरो आत्मीयता दर्शाउँछ । पाहुना घरका कारण रित्तिएको आफ्नोे गाउँ फेरि भरिनेमा उनीहरु आशावादी छन् । “देशमा सङ्कटपछि गाउँ पूरै खाली भयो”, भुकदेउराली नमुना गाउँ सामुदायिक होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङले भन्नुभयो, “अहिले तीनचार घरका फर्किसक्नुभएको छ, एक दिन सबैजना गाउँमै फर्कनु होला भन्ने विश्वास छ ।”        कुश्मा, बागलुङ, पोखरादेखि मात्र नभएर काठमाडौँलगायत टाढाका जिल्लाबाट पनि पाहुना घरमा पर्यटक आउने गर्छन् । पछिल्ला दिनमा त चलचित्रदेखि विभिन्न गीतको छायाङ्कन गर्नसमेत चलचित्रकर्मी आउने गरेका छन् ।        गाउँमा आउने पाहुनाका लागि स्थानीयरुपमै उत्पादन भएका अर्गानिक खानाका परिकारजस्तै कोदोको सेलरोटी, कोदोको ढिँडो र कोदोको सुख्खा रोटी, भुटेको मकै, भटमास, गुन्द्रुकको अचार, स्थानीय जातका दाल, लोकल कुखुराको मासुलगायतका खाना तयार हुन्छन् ।        “यस ठाउँ साँच्चिकै नमूना रहेछ”, कुश्माबाट घुम्नका लागि भुकदेउराली पुगेका विजय चापागाईंले भन्नुभयो, “प्राकृतिक सुन्दरता त छँदैछ, त्यसका अतिरिक्त गाउँलेले पाहुनालाई देखाउने आत्मीयता, सफासुग्घर घरआँगन र रातमा झलमल बल्ने गाउँ अनि ठाउँठाउँमा बनाइएका आधुनिक शौचालयले मेरो ध्यान खिचिरहेको छ ।” 

   मोरङ । गएको वर्ष मोरङमा सवारी दुर्घटनाबाट एक सय २९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८-७९ मा एक हजार दुई सय ८५  विभिन्न सवारी दुर्घटनाबाट उक्त मृत्यु भएको हो । उक्त दुर्घटनामा तीन सय ५३ जना गम्भीर घाइते र एक हजार छ सय ५४ जना घाइत भएका थिए ।      आव २०७७-७८ मा विभिन्न एक हजार एक सय ६२ वटा सवारी दुर्घटनाबाट एक सय ४२ जनाको मृत्यु हुनुका साथै तीन सय ४९ जना गम्भीर घाइते र एक हजार चार सय २० जना घाइते भएका थिए । आव २०७६-७७ मा चार सय ८७ वटा सवारी दुर्घटनाबाट ८९ जनाको मृत्यु हुनुका साथै दुई सय सात जना गम्भीर घाइते र पाँच सय २३ जना घाइते भएको ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।      कार्यालयले आव २०७८-८९ मा ७१ हजार पाँच सय १७ सवारी साधनलाई कारवाही गरी रु चार करोड ५७ लाख एक हजार राजस्व सङ्कलन गरेको छ । आव २०७७-७८ मा ७० हजार एक सय २९ सवारी साधनलाई कारवाही गरी रु चार करोड २० लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ भने आव २०७६-७७ मा ५४ हजार दुई सय नौ सवारी साधनलाई कारवाही गरी रु तीन करोड १९ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।      कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । कार्यालयका अनुसार आव २०७८-७९ मा पाँच हजार तीन सय ९९ वटा कार्यक्रमबाट एक लाख ३३ हजार छ सय पाँच जना, छ सय ७७ पटक विद्यालयमा गरिएको कार्यक्रमबाट १९ हजार पाँच जना विद्यार्थी लाभान्वित भएका छन् ।      आव २०७७-७८ मा तीन हजार आठ ४९ वटा कार्यक्रमबाट ५२ हजार एक सय २६ जना, चार सय ३३ पटक विद्यालयमा गरेको कार्यक्रमबाट ५२ हजार एक सय २६ विद्यार्थी लाभान्वित भएका छन् भने आव २०७६-७७ मा तीन हजार पाँच सय ४४ कार्यक्रमबाट ४५ हजार पाँच सय ६७ जना र दुई सय ५० पटक विद्यालयमा गरिएको कार्यक्रमबाट चार हजार पाँच सय १० विद्यार्थी लाभान्वित भएको निरीक्षक कार्कीले बताउनुभयो ।  चालु आव २०७९-८० को साउन मसान्तसम्ममा ८३ विभिन्न सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु हुनुका साथै एक सय २१ जना घाइते भएका छन् ।      सोही अवधिमा तीन हजार छ सय ५७ सवारी साधनलाई कारवाही गरी रु २३ लाख १८ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि बूढीगङ्गाको निमुवादेखि विराटनगर रानीसम्म ५० वटा ट्राफिक नियमसम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै विराटनगर प्रवेशद्वारसम्म १० वटा प्रहरीको डमी बोर्ड राखिएको छ ।      बाटोको अवस्था, मादक पदार्थ सेवन र तीव्रगतिमा सवारीसाधन सञ्चालनले ८० प्रतिशत दुर्घटना हुने गरेको निरीक्षक कार्कीले बताउनुभयो । मोटरसाइकल दुर्घटना गर्ने चालकमध्ये अधिकांश १५ देखि ३० वर्ष उमेरका युवा रहेको उहाँको भनाइ छ ।      कार्यालयले दुर्घटना न्यूनीकरण गर्न दैनिकरुपमा विभिन्न २० स्थानमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै ६५ स्थानमा मादक पदार्थ सेवनलगायत जाँच गर्ने गरेको छ । 

  भोजपुर । एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् ।   टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ८५ वर्षीय हरि ताम्राकारले बताउनुभयो ।    विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन सरकारले १८७० सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसहितका पूर्वी पहाडमा खनिज पदार्थ उत्खनन् गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो ।   अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको ताम्राकार बताउनुहुन्छ । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो ।   टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । धोद्लेखानीबाट तामा ल्याएर टकसँगै  विभिन्न सामग्री निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले सातवटामा सीमित छन् । विसं १८७२ मा यही बजारबाट तामाको डोली पैसाका नामले प्रख्यात टक छापिने गरेको थियो । अहिले यस्तो ऐतिहासिकस्थल सुनसान छ ।   लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान छ । बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाका बताउँछन् । इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत यो रहेको पाइन्छ । माझकिरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए ।   “सम्पदा समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्”, ताम्राकारले भन्नुभयो, “यहाँका बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको छ ।” हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दूरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुनसकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उहाँले बताउनुभयो ।   ‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थलसमेत छ । “टक्सार बजारका धातु उद्योगलाई ब्युँताएर यसको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो छ”, स्थायीय कुमार श्रेष्ठले भन्नुभयो । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्रमात्रै होइन, विदेशमा समेत निर्यात हुने गर्छन् । अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन् ।   “धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो”, उहाँले भन्नुभयो । बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ  बताउनुहुन्छ । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो”, उहाँले भन्नुभयो । यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ । 

  बागलुङ । तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् । विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।    लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा डेङ्गुको सङ्क्रमण पुष्टि भइरहेको छ ।    उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिएपछि उपचारका लागि आएकालाई डेङ्गु परीक्षण गर्दा पुष्टि भएको उहाँले बताउनुभयो । दुई वर्षअघि चार, गत वर्ष तीन जना बिरामीमा डेङ्गु देखिएपछि धवलागिरि अस्पतालमै उपचार गरिएको थियो । यो वर्ष पनि लक्षणसहितका बिरामी धेरै देखिएको पोखरेलले बताउनुभयो । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालय बागलुङले पनि सबैलाई आग्रह गरेको छ ।   डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।    “धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेङ्गुको लक्षण हुन्”, डा पोखरेलले भन्नुभयो, “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुनसक्छ ।” बिरामी बढी सिरियस हुने भएकाले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उहाँले सुझाव दिनुभयो ।    गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घर–घरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेङ्गु लामखुट्टेकै टोकाइबाट सर्छ । “एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो ।   वर्षात्को बेला देखिने अन्य धेरै प्रकारका रोगको पनि सङ्क्रमण बढेको छ । अस्पतालमा दैनिक चार सयदेखि पाँच सय जनासम्म बिरामी उपचार र स्वास्थ्य परीक्षण गर्न आउन थालेका छन् । अस्पतालको भीडले पनि वर्षात्जन्य रोग बढेको देखिएको डा पोखरेलले बताउनुभयो ।  

महेन्द्रनगर    :    ‘गौराको बिरुडो ठूलो, दशैँको जमरा                            आउनी रए झानी रए तै लोली गमरा’   बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो । हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौँसम्म चल्ने देउडा खेल दुई वर्ष कोरोना महामारीका कारण हुन सकेन ।    “बल्ल दुई वर्षपछि देउडा खेल्न पाइयो यसपटक रहर पूरा गर्छु ।” देउडिया पन्तले भन्नुभयो, “दुई वर्षपछि देउडा खेल्न पाउँदा निकै खुसी छु ।” दुई वर्षपछि देउडा खेल्न पाउँदा भीमदत्त नगरपालिका–७ का परमानन्द भट्ट पनि उत्साही देखिन्थे । “देउडामा रमाउन पाउँदा अर्कै जोश जाँगर आउँछ, दुई वर्ष घरभित्रै थुनिए ।” उहाँले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुन्छ, यो साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।”   बिहीबार बिरुडा भिजाएर विधिवतरूपमा गौरापर्व सुरु भएपछि सुदूरका गाउँबस्तीमा देउडा भाका गुञ्जिन थालेका छन् । गौरापर्वको सुरुआतसँगै यहाँको माहोल देउडामय बनेको छ । गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् ।   महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । यहाँको खुलामञ्चमा महाकाली साहित्य सङ्गमले देउडा आयोजना गरेको छ भने महेन्द्र स्मारकमा खप्तड समाजले देउडा प्रतियोगिताको आयोजना गरेको छ । त्यसैगरी अन्यथलोमा समेत देउडा खेल सुरु भएको छ ।   गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको देउडिया रमेश पन्त बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, उहाँले भन्नुभयो, “देउडा लोक नृत्य पनि हो । यो हाम्रो ऐतिहासिक, धार्मिक महत्व र हाम्रो पहिचान पनि हो ।” देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।   “देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन”, उहाँले भन्नुभयो, “यसको संरक्षण र संवद्र्धन गर्नु जरुरी छ ।” उहाँले पछिल्लो समय यसको महत्व अझ बढेको बताउनुभयो ।    देउडामा पुराना धार्मिक र राजनीतिक कथादेखि समाजका गतिविधि गीतमार्फत बाहिर ल्याउने गरिन्छ । गीतमार्फत नै गतल प्रवृत्तिका विरुद्ध प्रहारसमेत हुने साहित्यकार कविराज भट्टले बताउनुभयो । “सुदूरपश्चिममा अन्य चाडपर्व र मेला जात्रामा पनि देउडा खेलिन्छ”,  उहाँले भन्नुभयो, “गौराका बेला देउडाको महत्व झन् बढी हुन्छ ।”  देउडा सुदूरपश्चिमको पहिचानसमेत रहेको उहाँको बताउनुभयो ।    गौरा सुरु भएदेखि यहाँका गाउँबस्तीमा १५–२० दिनसम्म देउडा खेल्ने गरिन्छ । “देउडामा वर्तमान राजनीतिक स्थिति र समाजमा घटेका घटना र विकृतिमाथि ब्यङग्य पनि गरिन्छ । माया प्रेमका कुरासमेत आउँछन्”, उहाँले भन्नुभयो, “देउडालाई सांस्कृतिक चटनीका रूपमा पनि लिन सकिन्छ ।”   गोलो घेरामा एक–आपसमा हात बाँधेर ठूलो समूहले गाउँदै नाच्ने गरिन्छ । त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेलहरू पनि खेलिन्छन । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्कमरूपमा गाइन्छ ।” स्थानीय टीकादत्त जोशीले भन्नुभयो, “हाम्रा यी परम्परा हराउँदै जान थालेका छन्, युवापुस्ताले यसको संरक्षण गर्नु जरुरी छ ।” संस्कृति मासिँदै गए पहिचानसमेत हराउँदै जाने भएकाले यसको पुस्तान्तरण आवश्यक रहेको उहाँले बताउनुभयो ।   “देउडामा यो ठाउँको इतिहास, संस्कृति र साहित्य छ”, उहाँले भन्नुभयो, “अहिले त मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर त्यसो होइन, देउडा इतिहास र संस्कृतिसँग जोडिएको छ, अहिलेका पिँढीले यो बुझ्न जरुरी छ ।”  गौरापर्वमा साथीभाइ भेटघाट गर्ने अवसर पनि मिल्ने भएकाले देउडा गीतमा गाउँघरको सम्झना, माया, प्रेम र पुराना चालचलनका भाका हालेर गाइने गरिन्छ । पछिल्लो समय देउडाको मौलिकता हराउन लागेकप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।