ढोरपाटन:    बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानी...

  स्याङ्जा । यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् ।   स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो । आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर गाउँका महिला भेला भई समूह बनाएर व्यवसाय थालेको समूहकी अध्यक्ष तुलसीकुमारी थापाले बताउनुभयो । “आँफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमान्मा मात्रै आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “गाउँका इच्छुक महिला दिदीबहिनीको समूहमा कुरा राख्यौँ, छलफल ग¥यौँ र सामूहिक बाख्रापालन थाल्ने निष्कर्षमा पुगेका हौँ ।”   गाउँ नजिकै वनजङ्गल हुँदा खासै घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रापालनलाई व्यावसायिकरुपमा अगाडि बढाउन महिलाहरु सक्रिय भएर लागेका हुन् । “गाउँ नजिकै वनजङ्गल हुँदा पनि घाँसको समस्या छैन”, उहाँले भन्नुभयो, “सामूहिकरुपमा बाख्रा चराउन, औषधि उपचारसहित उत्पादन भएका खसी बोका बिक्रीकालागि पनि सहज हुने विश्वासमा छौं ।”   समूहमार्फत अहिले दश घरमा ६ देखि १० वटा बाख्रापालन गरिएको छ । सुरुआती चरणमा थोरै सङ्ख्याबाट व्यवसाय थालेपनि आगामी दिनमा सङ्ख्या बढाउने समूहको योजना रहेको सचिव कृष्णचन थापाले बताउनुभयो । “अब परम्परागत होइन, सामूहिकरुपमा उन्नत जातका बाख्रापालनतर्फ अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको र तुरुन्तै आम्दानी हुने भएकाले पनि समूहको रोजाइमा बाख्रापालन परेको हो ।”   समूह सञ्चालनकालागि बेला बेलामा बैठक तथा छलफल हुने गरेको छ । समूहकै कामको खर्चका लागि मासिकरुपमा एकसय सङ्कलन गरेर सामान्य खर्चहरु चलाउने गरिएको सचिव थापाले बताउनुभयो ।   पहिले घर घरमा एक दुईवटा बाख्रापालन गरेका यहाँका महिलालाई व्यावसायिकतातर्फ लाग्न वालिङ नगरपालिकाले अभिप्रेरित गरेको हो । नगरपालिकाले बाख्रापालनका लागि महिला समूहलाई आवश्यक तालिम, प्राविधिक सल्लाह तथा परामर्श, औषधि, उन्नत जातको घाँसको बीउ उपलब्ध गराएको पशु विकास शाखा अधिकृत देवकुमारी श्रेष्ठले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा खोर मर्मत तथा निर्माणका लागि जनही १०÷१० हजार नगद र उन्नत जातको एउटा बोयर बोका उपलब्ध गराएको उहाँले बताउनुभयो ।

  पोखरा । सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ ।  कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो ।    कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले यतिबेला बर्सातको समय भएकै कारण  पर्याप्त मात्रामा पर्यटक नआएपछि अव दशैँ–तिहारमा बाहिरी जिल्लाका पर्यटक बढे भने  व्यवसायीलाई राहत मिल्ले बताउनुभयो ।     विशेष गरी शनिबार र बिदाका दिनमा बेगनास ताल वरपर आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान बेगनास आउने गर्छन । माछाका परिकारका लागि बेगनास ताल वर्षौंदेखि प्रसिद्ध मानिँदै आएको छ । अर्का व्यवसायी शोभाखर कँडेलका अनुसार कोरोना अघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने गरेकोमा अहिले ती दिन सम्झना मात्र रहेको बताउनुहुन्छ ।   कोरोनाका कारण यहाँ कार्यरत २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएको र केही डुङ्गा व्यवसायी विदेश र कतिपयले अन्य व्यवसाय रोजेको डुङ्गा व्यवसायी समितिले जनाएको छ । यति बेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलो पालो चलाउने गरिन्छ ।    पोखराकै दोस्रो ठूलो ताल तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनासमा दुई सय ४९ डुङ्गा सञ्चालनमा रहेको समितिले जनाएको छ । बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको फेवामा भन्दा बेगनासमा नै डुङ्गा चढ्न अन्तरिक एवं बाह्य पर्यटक मन पराउछन् ।   “स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर डुङ्गा सञ्चालन गर्ने गरेका छौँ”, डुङ्गा व्यवसायी राम कोइराला भन्नुहुन्छ । बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु छ सय र पाइडलबोटको रु एक हजार लिने गरिएको छ । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ ।    बेगनास तालमा विसं २०३७ देखि व्यावसायिकरुपमा डुङ्गा सञ्चालन हुँदै आएको हो । पैतीस वर्षदेखि डुङ्गा व्यवसाय सञ्चालन गर्दै आउनुभएका शोभाखर कँडेल भन्नुहुन्छ, “विसं २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुङ्गा व्यवसायका रुपमा मात्र थिएन ।  कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोको रुपमा यो ताल प्रयोग गर्दै आएका थिए । 

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले पर्यटन क्षेत्रलाई सधैँ महत्व दिएको बताउनुभएको छ ।    पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसिएन अफ नेपाल (टान)को ४४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रसँगको सहकार्य र सहभागिता बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको हो ।   “कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि पर्यटन मन्त्रालयले ७३ बुँदे कार्ययोजना अगाडि सारेको छ, उक्त कार्ययोजनाको कार्यान्वयन गर्नका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान आवश्यक रहन्छ”, उहाँले भन्नुभयो ।   सचिव अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि व्यापक पूर्वाधार विकासको आवश्यकता रहेको औँल्याउनुभयो । व्यवसायीसँगको छलफलमा पर्यटन मन्त्रालयले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक मनाउने योजना अगाडि सारेको उहाँले उल्लेख गर्नुभयो । पर्वतीय पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालय टानसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।   नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पर्यटन क्षेत्रको पुनःउत्थान गर्नका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभयो ।    टानका निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले भन्नुभयो, “कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउका लागि व्यवसायी एकताबद्ध भएर लागौँ ।”   टानका नवनिर्वाचित अध्यक्ष नीलहरि बाँस्तोला, महासचिव बाबु सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले आम मतदाताले दिएको भोट र विश्वासलाई आफूहरुले गुम्न नदिने बताउनुभयो । उहाँहरुले निर्वाचनमा पराजित साथीहरुको एजेन्डालाई समेत समावेश गरेर आफूहरु अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

बागलुङ । विसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो ।   बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पकोे छ वर्षपछि महाविद्याजनको मुहारै फेरिएको छ । अहिले विद्यालयमा भूकम्पले भत्काएको विद्यालय पुनः ठडिएको छ । विद्यालयमा १२ कोठाको विद्यालय विभिन्न चरणमा विभिन्न सरोकारवाला निकायको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ ।    पाँच वर्ष निकै सास्तीपूर्ण अवस्थामा पठनपाठन भए पनि एक वर्ष यता विद्यालयको पुनःनिर्माण सकिएर पठनपाठनमा सहज भएको विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीले जानकारी दिनुभयो । “२०५३ सालमा डिसिआरडिसी संस्थाले बनाएको १० कोठे भवन भूकम्पले पूरै क्षति पुर्यो, एक कक्षा देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा जम्मा छकोठे पक्की भवनमात्रै थियो, त्यसैको छतमा बागलुङ नगरपालिकाको केही बजेट र आन्तरिक स्रोतको केही बजेटबाट छतमा टिनको छाप्रो हालेर पढाइ चलाइयो”, प्रधानाध्यापक केसीले भन्नुभयो, “विद्यालय पुनःनिर्माणका कारण प्राङ्गण थिएन, शौचालय थिएन, निकै समस्या थियो, टिनले बारेको कक्षामा होहल्ला हुने समस्या थियो, तर पुनःनिर्माण प्राधिकरणले आठ कोठा, बागलुङ नगरपालिकाको र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठा गरी १२ कोठा मात्रै विद्यालय भूकम्पपछि पुनःनिर्माण भयो, अहिले विद्यालयमा निकै सहज तरिकाले पठनपाठन भइरहेको छ ।”   भौगोलिकरुपमा निकै जटिल स्थानमा रहेको विद्यालय भूकम्पका कारण नराम्ररी थिलो थिलो परेकाले पठनपाठनमा समस्या भए पनि अहिले विद्यालयमा आधुनिक पक्की कोठा, व्यवस्थित खेल मैदानसहित सुविधा सम्पन्न शौचालय निर्माण भएपछि विद्यालयले काँचुली फेरेको छ ।         विसं २०७२ पछि भूकम्पले विद्यालयमा क्षति पु¥याएपछि टिनको छाप्रोमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालय पुनःनिर्माणपछि अहिले नयाँ रुप लिएको छ । भिरालो र साँघुरो जग्गामा रहेको विद्यालय भूकम्पपछि गरिएको पुनःनिर्माणले चिटिक्क परेको छ ।    विसं २०५३ मा निर्माण भएको १० कोठे  भए पनि भूकम्पले पूरै क्षति बनाएको थियो । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाअन्तर्गत रु एक करोड २८ लाखको लागतमा दुई ब्लकमा चार/चार कोठे भवन निर्माण गरिएको छ । अहिले जिल्लामा विद्यालयको पुनःनिर्माण सकिएर प्राधिकरणको कार्यालय नै खारेज भइसकेको छ ।    यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट दुई कोठा भवन रु १८ लाखको लागत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सम्पन्न भएको छ । त्यस्तै बागलुङ नगरपालिकाको सहयोगमा दुई कोठा आर्थिक वर्ष २०७६/७७  सालमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक केसीले बताउनुभयो ।    विद्यालयमा पाँच वर्षदेखि कम्प्युटर ल्याबको व्यवस्थापन गरी कम्प्युटर शिक्षासमेत प्रदान गरिएको छ । लामो समयको समन्वय र सहकार्यका बीच विद्यालयको पुनःनिर्माण सकिएको बताउँदै बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अब विद्यालयको ध्यान शैक्षिक गुणस्तर वृद्धि गर्नमा केन्द्रित भएको बताउनुभयो ।    “मेरो पहिलो कार्यकालदेखि थालिएको पुनःनिर्माण अहिले दोस्रो कार्यकालमा पूरा भएको छ, अबको ध्यान शैक्षिक गुणस्तरमा केन्द्रित भएको छ, एक शिक्षक एक ल्यापटप कार्यक्रम ल्याइएको छ, प्रविधिको हिसाबले अध्यापन गराउने लक्ष्य छ”, गौतमले भन्नुभयो, “विद्यालयमा प्रार्थना गर्ने स्थान थिएन, अब भौतिक सुधार भयो, शैक्षिक सुधारमा हाम्रो ध्यान जान्छ ।”       विद्यालयमा कक्षा १ देखि १२ सम्म एक सय ८० विद्यार्थी छन् । कक्षा ११ र १२ मा शिक्षा र लेखा अध्यापन गराएको विद्यालयमा अहिले शुद्ध खानेपानीको भने अभाव भएको विद्यालयले जनाएको छ । विद्यालयमा तारबारको भने व्यवस्थापन मिलाउन आवश्यक रहेको गौतमले बताउनुभयो । विद्यालयमा तारबार नहुँदा पशु चौपाय विद्यालयमा पस्ने गरेको छ । भौगौलिक रुपमा विकट रहेको उक्त स्थानमा एक घण्टा पैदल हिँडेर विद्यालय आउने विद्यार्थीसमेत छन् । 

  दोधारा चाँदनी । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ ।       राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रुपले महेन्द्रनगर बजार बसाल्नुभएको थियो । महेन्द्रनगरमा विपद्को बेला पनि सहज हुने हिसाबले गल्ली निर्माण गरिएका छन् तर पछिल्लो समय ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार नै डुबानमा पर्न थालेको हो । बिहीबार रातिको वर्षाले महेन्द्रनगरको मुख्य बजार डुबानमा परेको छ । यहाँको मदन चोक आसपासका पसल अगाडि जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् ।    यहाँका व्यवसायी मदन चन्दले ढल निकास र खोलानाला अतिक्रमण गरेका कारण बजार डुबानमा पर्न थालेको बताउनुभयो । “अतिक्रमणले खोला नालामा साँघुरिँदै गएका छन् ढल निकास छैन”, उहाँले भन्नुभयो, “यो समस्या तत्काल समाधान नभए थप जटिलता आउँछ दुई वर्ष अगाडिसम्म महेन्द्रनगरमा डुबान हुँदैनथ्यो ।”    उहाँले पसल अगाडि डुबान हुँदा आफू धेरै समस्यामा परेको गुनासो गर्नुभयो । “पसल अगाडि पानी जमेर आउनजानै समस्या छ यस्तोमा के व्यवसाय हुन्छ”, उहाँले भन्नुभयो, “ढल निकासका लागि स्थानीय सरकारले पहल गरोस् ।” जुन हिसाबले महेन्द्रनगरको गुरुयोजना बनेको थियो त्यसको ठीकविपरीत यहाँ संरचना बन्न थालेपछि महेन्द्रनगर बजार डुबानमा पर्नुका साथै अव्यवस्थित हुँदै गएको स्थानीय इन्द्र साउदले बताउनुभयो । “ जुन गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाइएको थियो, त्यो गुरुयोजनाविपरीत घर निर्माण हुन थाले”, उहाँले भन्नुभयो, “खोलानाला अतिक्रमण भए, ढल निकास पुरेर घर निर्माण भएपछि डुबान त हुने नै भयो ।” उहाँका अनुसार कङ्क्रिटले पानी जमिनमुनि रिचार्ज हुन नपाएकाले पनि डुबानको समस्या आएको बताउनुभयो ।    भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताउनुभयो । उहाँका अनुसार अहिले एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाइँदै छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ । “एडीको आनुधिक सहर बनाउने योजनाअनुसार निमार्णको काम अघि बढेको छ यसले पनि केही नाली पुरिएका छन्”, उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा अतिक्रमण र निमार्ण सम्पन्न नहुनु पनि बजार डुबानमा पर्नुको कारण हो ।”    सहरी सडक निर्माण एडीबीको सहयोगमा ३६ दशमलव छ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ । पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणको काम सुरु गरिएको छ ।        विसं २०१४ मा तत्कालिन राजा महेन्द्रले देश दर्शनको क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिलाई सोधपुछ गर्दा त्यहाँको नाजुक स्थिति, गरिबी, खान नपुग्ने कमाइ, खान जमिन पनि नभएको अवस्था थाहा पाएपछि त्यहाँका जनतालाई तराई झर्न आग्रह गर्नुभयो ।       विसं २०१८ देखि पहाडबाट तराई बसाई सर्न सुरु भएकोे यहाँका जानकार बलदेव अवस्थी बताउनुहुन्छ । उहाँका अनुसार त्यति बेला महेन्द्रननगर बजार गौचरन, खेत रजङ्गल रहेको थियो भने थारुको बस्ती पनि त्यो बेला यहाँ रहेको पाइन्छ । विसं २०१८ मा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएको बताइन्छ । त्यति बेला भारतको चण्डीगडको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाएको बलदेव अवस्थीले बताउनुभयो । “यो नेपाल अधिराज्यकै प्लानिङ सहर हो, यो सहर गुरुयोजना बनाएर बनाएको हो”, उहाँले भन्नुभयो, “त्यो गुरुयोजनाअनुसार बजार विस्तार भएन जसले गर्दा आज डुबानको समस्या आयो ।”

  रामपुर । ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो ।      परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने भएपछि यस वर्ष भने कृषकले यहाँ भण्डारण गर्न आलु राख्न चाहेनन् । पहिलो वर्षमा नै आलु बिग्रिएपछि भण्डारण गृह  व्यवस्थापन गर्न अहिले मर्मत तथा सम्भारको काम गरेर व्यवस्थित बनाउन थालिएको छ । भण्डारण गृहमा केही प्राविधिक समस्या भएपछि त्यसलाई पुनः मर्मतसम्भारको काम गरेर सञ्चालनको तयारी गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।    नगर प्रमुख थापाका अनुसार मर्मत गर्न यस वर्ष नगरपालिकाले रु १० लाख रकम विनियोजन गरेर काम भइरहेको छ । गत वर्ष राखिएको आलु निकालेपछि गएको वैशाखदेखि नै यहाँको भण्डारण कक्ष प्रयोगविहीन रहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।    “यहाँ बनाइएको भण्डारण गृहको संरचना आलुबालीलाई लक्षित गरेर तयार पारिएको छ, रामपुरमा धेरै उत्पादन हुने भनेको आलु (खाद्यान्न बालीबाहेक) हो, अन्य तरकारी, फलफूल भण्डारण गृहमा नै राख्नुपर्ने गरेर उत्पादन अहिले छैन, पहिलो वर्ष राखेको केही आलु टुसाएपछि यस वर्ष भण्डारण गृहमा केही सामग्री राखिएको छैन ।”    विसं २०७८ को वैशाखमा निर्माणको काम सम्पन्न गरी शीतभण्डार प्रयोगमा ल्याइएको हो । यहाँ पहिलोपटक रामपुरमा उत्पादन भएको आलु भण्डारण गरिएको थियो । पाल्पा जिल्लाकै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण भएपछि सुरुका समय कृषक उत्साहित भए पनि सुरक्षित भनेर राखिएको ठाउँमा आलु बिग्रन थालेपछि हौसिएका कृषक अहिले निराश बनेका छन् ।   बुटवल, भैरहवालगायतका बाहिरी बजारबाट रामपुरमा भित्रिएका तरकारी निरुत्साहित गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकको लागि बनाइएको संरचना भए पनि राम्रोसँग प्रयोग गर्न नपाएको कृषक धर्मराज ढकालले बताउनुभयो ।    “नेतालाई भाषण गर्ने काम मात्रै भयो, कृषकले उपयोग गर्न पाएनन्, स्थानीय सरकारले यसको रेखदेख र सञ्चालनलाई व्यवस्थित बनाउनुपर्ने हो, संरचना तयार पारेपछि गुणस्तरको छ कि छैन त्यसको परीक्षण नगरिकन प्रयोगमा ल्याउँदा हामीले नराम्रोसँग धोका बेहोर्नुप¥यो, कषकले राम्रोसँग प्रयोग गर्न नपाउने भएपछि देखावटीकै लागि मात्रै रामपुरमा राख्नभन्दा अन्यत्र स्थानान्तरण गरेमा प्रयोगमा त आउँला”, उहाँले गुनासो पोख्नुभयो ।   भण्डारगृहभित्रै बिग्रिएको आलुको क्षतिपूर्ति दिने क्रममा पनि सम्बन्धित पक्षले न्यायोचित काम नगरेको उहाँ बताउनुहुन्छ । गत वर्ष भण्डारण गरिएको आलु बिग्रिएपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति रकमबाट ठगिनुपरेको बताउनुभयो । साढे पन्ध्र क्विन्टल आलु राख्नुभएका ढकालले एक क्विन्टल बिग्रिएकै भए पनि आलु झिक्नुभयो । अन्य आलु सबै बिग्रिएपछि प्रतिबोरा रु दुई हजारका दरले क्षतिपूर्ति दिने भने पनि आफूले साढे १४ क्विन्टलको रु ५६ हजार मात्रै रकम बुझेको ढकाल बताउनुहुन्छ । उहाँले ठेकेदार पक्ष र नगरपालिकाबीच भएको समझदारीअनुसार पाउनुपर्ने रकम रु ५८ हजार पाउनुपर्ने भए पनि दुई हजार रकम कम पाएको बताउनुभयो ।    कृषकको हितका लागि नभई सस्तो लोकप्रियता कमाउन संरचना तयार पारिएको विजयपुर कृषि सहकारी रामपुरका अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो । “गत वर्ष राखिएको आलु अस्तव्यस्त बनेपछि मर्मतसम्भार तत्कालै गरेको भए यस वर्ष आलु भण्डारण कार्य हुन्थ्यो, कृषि बाली उत्पादनको समयलाई मध्यनजर गरेर संरचना व्यवस्थित बनाउनुपर्छ, अहिले आएर बल्ल मर्मतको काम भएको भन्ने सुनिएको छ, अर्कोतर्फ कृषकलाई केही सहुलियत पनि छैन, देखाउनकै लागि मात्रै संरचना बनेजस्तो भयो”, उहाँले भन्नुभयो ।     नारायण ढकालले शीतभण्डारमा राखिएको आलु उम्रने र कुहिने भएपछि आफूले पाउनुपर्ने क्षतिपूर्तिबापतको रु २६ हजार रकम नपाएको गुनासो सुनाउनुभयो । उहाँले राखेको १३ बोरा आलुको अहिलेसम्म पाउनुपर्ने रकम नपाएपछि सम्बन्धित निकाय, जनप्रतिनिधि, राजनीतिक दलका अगुवासमक्ष गुनासो राखेकोमा त्यसको सुनुवाइ नभएको बताउनुभयो । शीतभण्डारणको पूर्वाधार तयार भए पनि राम्रोसँग सञ्चालन नभएको, यसको रेखदेख नगरपालिकाले गर्नुपर्ने हो र निर्माणमा ठेकेदारले लापर्बाही गरेको बताउनुहुन्छ, लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनाल । जुन प्रयोजनका लागि बनाइएको हो त्यसको सही सदुपयोग हुनुपर्ने र तत्काल अनुगमन गरेर नियमितरुपमा सुचारु गर्न सम्बन्धित निकायलाई जानकारी गराउने प्रदेशसभा सदस्य खनालको भनाइ छ ।    कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रविना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्तरुपमा रु तीन करोड २६ लाख ७६ हजार पाँच सय ६६ मा ठेक्का सम्झौता गरी निर्माण गरिएको हो यो संरचना । यसमा फरक फरक क्षमताका पाँच कोठा रहेका छन् । साथै दुईतले दशकोठासहितको प्रशासनिक भवन, अपाङ्गतामैत्री शौचालय छ ।    बीउका लागि एक सय क्विन्टल आलु राखेकोमा व्यवस्थापन राम्रो नहुँदा लगानी र मेहनत सबै खेर गएको यमकान्ति गौतम बताउनुहुन्छ । महँगो मूल्यमा उन्नत जातको बीउ खरिद गरेर उत्पादन गरिएको बीउ आलु सबै कुहिएपछि यस वर्ष खायन आलु मात्रै उत्पादन गर्नुभएको छ । उहाँले बर्सेनि भैरहवाको शीतभण्डारमा बीउ आलु भण्डारणका निम्ति लैजाने गर्नुहुन्थ्यो । आफ्नै गाउँमा संरचना भए पनि राम्रो व्यवस्थापन नहुँदा भण्डारणमा कृषक मारमा परेको गौतमले बताउनुभयो । पहिलो वर्ष नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्रमार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजारमा एक वर्षको लागि सम्झौता गरेको थियो । 

  पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो ।   यो दश बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने भए पनि विभिन्न प्राविधिक कारणले एक सय २० लाई नियमित सेवा दिन सकिने अवस्था रहेको छ । अबको केही महिनाभित्र तीन सय शय्याको अस्पताल बनाउने  काम थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो ।   चिकित्सालयले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षण अस्पतालको तयारी गरेको छ । पहिलो वर्ष चिकित्सालयमा ब्याचरल इन नेचुरोपेथी एन्ड योगा साइन्स (बिएनवाइस) को कक्षा सञ्चालन गर्ने गरी चिकित्सा शिक्षा आयोगमा अनुमतिको लागि पठाइएको नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताउनुभयो ।        चिकित्सालयले आवश्यक तयारी गरेको र विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसमेत सकारात्मक भएकाले आगामी वर्षबाट  सो कक्षा सञ्चालन हुने अधिकारी बताउनुहुन्छ । “नेपालबाट बर्सेनि हजारौँ विद्यार्थी प्राकृतिक चिकित्सा अध्ययन गर्न भारत जाने गर्छन्, यहाँ शिक्षण अस्पताल सुरु भयो भने प्राकृतिक चिकित्सासम्बन्धी प्राज्ञिक जनशक्ति उत्पादन देशभित्रै हुने र पैसा बाहिर जान रोकिन्छ”, अधिकारीले भन्नुभयो ।   नेपालमा अहिलेसम्म प्राकृतिक चिकित्सा विज्ञानको अध्यापन नभएकाले आफूहरुले शिक्षण अस्पताल सञ्चालन गर्न लागेको व्यवस्थापक सापकोटा बताउनुहुन्छ । उहाँका अनुसार शिक्षण अस्पतालका लागि आवश्यक फरक फरक १४ विभाग बनाउनेदेखि लिएर छात्रावासलगायतका भौतिक संरचनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालले चर्चेको १० बिघा जमिन अस्पतालको नाममा नेपाल सरकारले भोगाधिकार दिइसकेको र आसपासका थप सार्वजनिक जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको छ ।         कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रुपमा यस चिकित्सालयले ख्याति कमाएको थियो । प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा  उपचार सेवा लिन आउनेको सङ्ख्या यहाँ हरेक दिन बढ्ने गरेको अस्पतालका व्यवस्थापक सापकोटा बताउनुहुन्छ ।

  मोरङ । आठ दश वर्षअघिसम्म लटरम्म तोरी र मकै फल्ने बारी अहिले सिँचाइको अभावले बाझिँदै गएका छन् । आकासे पानीको भरले थामेको मोरङको लेटाङ नगरपालिका – १ को राजारानी क्षेत्र बाझिँदै गएको हो ।   यस क्षेत्रमा धान रोप्ने चलन पहिलेदेखि नै थिएन तर तोरी र मकै चाँहि राम्रै फल्ने गरेको बताउनुहुन्छ ७६ वर्षीया आशमाया मगर । खेतबारीमा राम्रो उब्जाउ हुन छाडेपछि यहाँका युवा वैदेशिक रोजगारीमा खाडी मुलुक जान थाले । “रोप्न सके कोदो त अलिअलि फल्थ्यो तर कसले रोप्ने सबै युवा विदेश गए”, आशमायाले दुःखेसो गर्नुभयो ।   राजारानी क्षेत्रमा करिब एक सय २० रोपनी जग्गा छ तर अधिकांश जग्गा बाँझै छ । करिब ४० रोपनी जग्गामा केरा खेती लगाइएको छ तर त्यसको उत्पादन पनि राम्रो नभएको स्थानीय दीपक मगरले बताउनुभयो । बाँकी रहेको करिब ८० रोपनी जग्गा बाँझै रहेको छ । खानेपानीको समेत समस्या भर्खरै मात्रै समाधान हुँदै गएको यस क्षेत्रमा सिँचाइको समस्या समाधान गर्न मुस्किल रहेको मगरको बुझाइ छ ।   यस क्षेत्रमा कृषि प्राविधिक खटाएर पकेट कार्यक्रम लागू गर्नुपर्ने स्थानीय दलबहादुर मगरको बुझाइ छ । केरा वा कोदो पकेट कार्यक्रम लागू गरेर सरकारीस्तरबाट सहयोग गरे पर्यटकीय क्षेत्रको रुपमा रहेको

  टक्सार ।  केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर ।    हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो पुस्तामा परम्परागत बाजाभन्दा पनि आधुनिक प्रविधिमा ध्यान बढ्दै गएकाले पुराना संस्कृति र परम्परा पनि ओझेलमा पर्दै जान थालेका हुन् ।       पछिल्लो पुस्तामा पुराना लोकबाजाको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने भावना नदेखिएकाले यस्ता कुरा लोप हुँदै गएको विद्योदय मावि भोजपुर नेपाली विषयका शिक्षक खोमराज धमलाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिलेका पुस्तालाई के हो पञ्चेबाजा, के हो नरसिङ्गा मतलब नै छैन, यस्तै हो भने अब ती कुरा क्रमिकरुपमा इतिहास बन्न सक्छन् ।”    त्यतिमात्र होइन पछिल्लो समयमा बाजागाजा बजाउनेको सङ्ख्यामा कमी आउँदै जान थालेपछि पनि यो परम्परा कम हुँदै गएको स्थानीयको भनाइ  छ । भोजपुर नगरपालिका–५, बोखिमका ६६ वर्षीय पर्शुराम मोते भन्नुहुन्छ, “बाबुबाजेले गर्दै आएको यो परम्परा र यो मान्यतालाई अहिलेको पुस्ता बुझ्न चासो दिँदैनन्”, मोतेले भन्नुभयो, “हाम्रो निधनपछि कसले बाजा बजाउला ? भएको बाजा पनि लोप हुन लागिसक्यो ।”    विशेष गरी सहनाइ विवाहबाहेक दशैँ, तिहार, विभिन्न परम्परागत सांस्कृतिक पर्वका बेला बजाइन्छ । नेपाली लोक संस्कृति जोडिएको पञ्चेबाजामध्ये एक सहनाइको महत्व पछिल्लो पुस्तामा आएर पूरै परिस्कृत हुनथालेको छ ।    वर्षौंदेखि चल्दै आएको लोपोन्मुख मौलिक लोकपञ्चेबाजा जगेर्नाको सट्टा युवा पुस्तामा नयाँ जमानाको प्रविधिमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धरासायी बन्दै गएको भोजपुर नगरपालिका–८ कातुलसी ढुङ्गानाको धारणा रहेको छ । “आधुनिक गीत सङ्गीत र नयाँ प्राविधिक वाद्यवादनको लोकप्रियताले नेपाली पहिचान बोक्ने पञ्चेबाजा (दमाहा, झ्याली, ट्याम्को, नरसिङ्गा र सहनाइ)लगायत नेपाली संस्कृतिको मौलिकपनमा चासो घट्दै गएको छ । ढुङ्गानाले भन्नुभयो, “अहिलेका युवा पुस्ता त बजारमा आएर पेन ड्राइभमा गीत भर्ने, इन्टरनेटबाट डाउनलोड गर्छन् गाउँमा गएर छानी छानी बजाउँछन् ।”    एकातिर चासो कमी हुनु र अर्कोतिर गाउँघरमा पञ्चेबाजा बजाउन जान्ने मान्छेको कमीले पनि लोकबाजाको रौनक हराउँदै गएको भोजपुर नगरपालिका–३ का टेकबहादुर मोतेको भनाइ छ ।  चाडबाडका बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने लोकबाजाका शिल्पकार अहिले कतै कतै मात्र भेटिने मोतेको भनाइ छ ।    बिहे, कर्मकाण्ड, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, विभिन्न पूजालगायत धार्मिक एवं सामाजिक सांस्कृतिक मूल्यमान्यतामा नयाँ प्रविधिले गर्दा मौलिक लोकबाजा ओझेलमा पर्दै गएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने स्थानीय घमचन्द्र दाहाल बताउनुहुन्छ । “युवापुस्ताले आफ्नो रीतिरिवाज नै बिर्सन थालिसक्यो । पुराना परम्परा र संस्कारभन्दा पनि विदेशी संस्कारमा उनीहरूको बढी रुचि छ । आधुनिक प्रविधितिर उनीहरूको ध्यान गएकाले लोकबाजा प्रयोगविहीन बन्दै गएका छन्”, दाहालको भनाइ रहेको छ ।