टीकापुर । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन् । बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ । यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो । बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन । भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बस्नुभएको छ । विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहनुभएको छ भने उहाँका वस्तुभाउ पनि भोकै छन् । उहाँलाई आफूले के खाने, वस्तुभाउलाई के खुवाउने तनाव भएको छ । “वस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयो”, उहाँले भन्नुभयो, “अब आफू पनि भोकै, वस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन् ।” वडा नं ८ कै शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहनुभएको छ । उहाँले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको जनाउँनुभयो । वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ । उहाँको परिवार वस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ । वस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ । “अधिकांशका वस्तुभाउ पनि सडकमै छन्, सबैलाई वस्तुभाउको आहारा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ”, उहाँ भन्नुहुन्छ, “हामी त सहयोगीहरूले दिएका चाउचाउ र चिउराले ज्यान धानिरहेका छौँ, तर वस्तुभाउलाई के खुवाउनु रु” शनिबार विस्थापित हुनुभएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन । उहाँहरू पनि वस्तुभाउसहित सडकमा बस्नुभएको छ । विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ । बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ । यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ । खुला आकाशमा सडकमै बसिरहनुभएकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ । उहाँको घरखेत सबै बाढीमा मिसिएकाले उहाँको परिवार र उहाँले पालेका वस्तुभाउको आहारामा समस्या भएको छ । “पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेन”, उहाँले भन्नुभयो, “सम्पत्तिका नाममा बचेका यी वस्तुभाउ हुन्, वस्तुभाउ पनि भोकले मर्ने भए ।” भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुवस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । “हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौँ, अझै मानिसकै उद्धार भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन । पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन ।” पशु शाखा प्रमुख जैसी आजबाट पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताउनुभयो । “अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “धेरै मानिसका वस्तुभाउ बगेका, बङ्गुर मरेका, कुखुरा मरेका खबर आएका छन् । अब हामी तथ्याङ्क लिन्छौँ ।” नगरपालिकाद्वारा सहयोगको अपिल भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पुर्याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ । नगरप्रमुख केवल चौधरीद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ “जसरी सबैको सहयोगमा बाढीबाट प्रभावितलाई उद्धार गरियो, त्यसरी नै उनीहरूलाई राहतका लागि पनि सहयोग गर्न आग्रह गरिन्छ । यस घडीमा सम्पूर्ण नागरिक, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई नगरपालिकासँग समन्वय र सहकार्य गरी सहयोग गर्न अपिल गरिएको छ । ”भजनीका सबै वडा प्रभावित भएकाले नगरपालिका एक्लैले उनीहरूलाई राहत तथा उद्धारजस्ता कार्य गर्न नसक्ने भएकाले सहयोगीलाई साथ दिन आग्रह गरेको हो ।
बागलुङ : बागलुङको ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो । यस कार्यक्रमअन्तर्गत रहेर अब गाउँपालिकाले कृषकले जति धेरै जमिनमा खेती गर्छन्, उसलाई उति धेरै प्रोहोत्सान भत्ता उपलब्ध गराउने उहाँको भनाइ छ । कृषकले बाँझो जमिनमा खेती गरेवापत गाउँपालिकाले प्रतिरोपनी रु दुई हजार उपलब्ध गराउने उहाँले बताउनुभयो । “गाउँपालिकाले कृषकका लागि निकै राम्रो कार्यक्रम ल्याएको छ, उहाँहरूलाई चाहिने आवश्यक सहयोगसँगै जति धेरै क्षेत्रफलमा कृषि गर्नुहुन्छ, उति धेरै भत्तासमेत पाउनु हुनेछ, अहिले प्रतिरोपनी रु दुई हजारका दरले प्रोहोत्सान भत्ता दिने भएको छ”, उहाँले भन्नुभयो । बसाइँसराइले पालिकाभित्र रहेका खेतीयोग्य जमिन बाँझिदै गएपछि उत्पादनसमेत निकै कम भएको उहाँको भनाइ छ । उत्पादन बढाउनकै लागि यो कार्यक्रम ल्याएको भन्दै यसले कृषकलाई खेती गर्नतर्फ आकर्षित गर्ने उहाँले बताउनुभयो । उहाँले बाँझो जमिनमा खेती विस्तार गरी कृषिमा पालिकाले आत्मनिर्भर बन्ने लक्ष्य राखेको बताउनुभयो । “अहिले गाउँ रित्तो बनिसक्न थाल्यो, गाउँले सबै बसाइँसराइ गरेर बजार झरिरहेका छन्, गाउँमा बस्नेले पनि थोरै बारीमामात्रै खेतीपाती गर्ने गरेका छन्, पहिले–पहिले बालीले हराभरा हुने खेतबारी अहिले पूरै वनमाराले ढाकेको छ, हरेक वर्ष उत्पादन घट्दै गएको छ”, कृषिशाखा प्रमुख भट्टराईले भन्नुभयो, “गाउँपालिकाले अहिले नयाँ कार्यक्रम ल्याएको छ, यो कार्यक्रमले बसाइँसराइ रोकेर बाँझिएका जमिनमा खेती गर्न प्रोहोत्सान गर्ने र उत्पादन बढाउने छ ।” ताराखोला क्षेत्रमा पहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ । कृषकलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रीकरण गर्नतर्फ पनि गाउँपालिकाले जोड दिएको छ । पालिकाले मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण योजना गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँले आधुनिक सामग्रीले कृषकलाई खेतीपाती गर्न सहज हुने र उत्पादनमा समेत सहयोग पुग्ने बताउनुभयो । “हामीले अघिल्ला वर्षहरूदेखि नै कृषकलाई प्रोहोत्सान हुने खालका कामहरू गर्दै आएका थियौँ, यस वर्ष पनि प्रोहोत्सान भत्तासँगै कृषकलाई आधुनिक औजार वितरण गर्ने कार्यक्रम छ, मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण हुने छ, यसले कृषकलाई खेतीपाती गर्न सहज हुने छ, उत्पादनमा पनि वृद्धि हुने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन वृद्धि गर्ने नै मुख्य लक्ष्य रोको हुँदा कृषकको आवश्यकतानुसार सहयोग भइरहेको छ, केही कृषकले पालिकाबाट अनुदान पाएपछि कृषिलाई व्यवस्थितरूपमा गर्न थाल्नुभएको छ ।” उच्च पहाडी क्षेत्रमा पर्ने ताराखोलामा आलु, भाँगो, किबी, कोदो, मकैलगायतका खाद्यबाली उत्पादन हुने गर्छ । उहाँले व्यावसायिक खेतीमा लागेका कृषकलाई आवश्यक पर्ने सहयोग पालिकाले निरन्तर गर्दै आएको बताउनुभयो । “थोरै सङ्ख्यामा व्यवसायिक खेतीमा लाग्नुभएका कृषक पनि यहाँ हुनुहुन्छ, उहाँहरुले आफूलाई आवश्यक परेको सहयोग पालिकालाई माग्नुहुन्छ, पालिकाले पनि प्राविधिक तथा अन्य सहयोग गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । गाउँपालिकाले जिल्लामै पहिलोपटक जैविक कृषि बगैँचासमेत सञ्चालन गरेको छ । यो बागलुङमा विल्कुलै नयाँ हो । गत वर्षदेखि सुरु भएको जैविक कृषि बगैँचा ३७ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको कृषि शाखा प्रमुख भट्टराईको भनाइ छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको रु १५ लाखबाट बगैँचा सञ्चालन गरेको उहाँले बताउनुभयो । ३७ रोपनी जग्गामध्ये २० रोपनी क्षेत्रफलमा किबीखेती र अन्य १७ रोपनीमा आलु, भाँगोलगायत विभिन्न खाद्यबाली तथा फलफूल लगाएको उहाँको भनाइ छ । “ताराखोलामा जैविक कृषि बगैँचा सञ्चालन गरेको एक वर्ष भइसक्यो, गत वर्षदेखि जैविक कृषि बगँैचा सञ्चालन भएको हो, बगैँचामा सबैभन्दा धेरै किबीखेती गरिएको छ, किनकि यहाँ धेरैको किबी उत्पादनतर्फ चासो देखिएको छ”, उहाँले भन्नुभयो, “आलु, भाँगोलगायतका खाद्यबाली र फलफूल पनि यहाँ लगाइएको छ, यहाँ लगाएका खाद्यबाली र फलफूल पनि राम्रो हुँदै गएको छ, यहाँ कृषकहरू आएर अवलोकन गर्न सक्छन् भने उनीहरूले यहाँबाट केही सिकेर आफैँ पनि व्यावसायिकरूपमा खेती सुरु गर्न सक्छन् ।” धेरैको शहर बजार मोहले गाउँ रित्तिए । एक दशकअगाडिसम्म निकै चहलपहल हुने गाउँ सुनसान बन्दै गए । गाउँका खेतीयोग्य जमिन वनमाराले ढपक्कै ढाकिए । गाउँमा कसैलाई साह्रो–गाह्रो प¥यो भने उद्धार गर्ने पनि छैनन् । यो समस्या बागलुङको अधिकांश पालिकाको हो । गाउँ छाडेर बजार झर्नु कतिको रहर त कतिको बाध्यता पनि हो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारलगायतका सुविधा नहुँदा बजार झर्नु स्वाभाविक पनि हो । तर, पछिल्लो समय जिल्लाका पालिकाहरूले आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएका छन् । विकास हुन थालेपछि केही त गाउँमै रोकिए तर धेरैले बजारलाई नै रोजे । गाउँमा बस्नेले पनि कृषि भने कम नै गर्न थाले । गाउँमा बस्नेहरूले पनि कृषि गर्न छाड्न थालेपछि बारीसँगै करेसाबारीमा पनि कालोपाती बताएका छन् । त्यसले गर्दा उत्पादन घट्ने र परनिर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ । जिल्लामा उत्पादन बढाउने र पालिकालाई आत्मनिर्भर बनाउनतर्फ धेरैको ध्यान छैन ।
रुपन्देही । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो । दसैँ सस्तो बजारबारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाड पर्वहरुमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन साथ बजारको आयोजना गरिएको बताउनुभयो । यस क्षेत्रका अधिकांश नेपाली चाडपर्वको बेलामा मात्र नभएर अन्य समयमा पनि बजार गर्न सीमावर्ती भारतीय बजार सुनौली र नौतनहवा पुग्ने गर्दछन् । भारतीय बजारमा जाने नेपाली ग्राहकलाई रोक्ने उद्देश्यका साथ विभिन्न उद्योगी, व्यवसायीसँगको सहकार्यमा उपभोक्ताहरुलाई सर्वशुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताउनुभयो । विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानको सहभागिता रहने दसैँ बजार २०७९ मा साल्ट ट्रेडिङसहित खाद्यन्न, जुत्ता, चप्पल, दुई पाङ्ग्रे अटोमोबाइलसहितका १५ देखि १७ वटा स्टल रहने उहाँले जानकारी दिनुभयो । यस अवधिमा करिब रु ४० देखि ५० लाख बराबरको कारोवार हुने अनुमान गरिएको कार्यक्रम संयोजक कार्कीले बताउनुभयो । दसैँ र तिहार लक्षित बजारमा सीमावर्ती भारतीय बजार सुनौलीमा नेपालीको घुइँचो लाग्ने गरेको छ । यस्ता नेपाली उपभोक्तालाइ नेपाली बजारमै रोक्ने सङ्घको उद्देस्य रहेको कार्कीले बताउनुभयो ।
पोखरा । कास्की प्रहरीले पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको ‘एटिएम’ फोड्न प्रयास गर्ने १ जनालाई नियन्त्रणमा लिएको छ । आज दिउँसो एटिएममा संकास्पद क्रियाकलाप गरेको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘आज दिउसो एटिएममा संकास्पद क्रियाकलाप गरेको खबरपछि एकजलाई नियन्त्रणमा लिएका छौं, उनले भने, ‘अहिले छानबिन भइरहेको छ। ’ संकास्पद गतिविधि गरेको अवस्थाबाटै उक्त व्यक्तिलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । संविधान दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नं –१५ ले अन्तर विद्यालय सडक दौड प्रतियोगिता सम्पन्न गरेको छ। ’शान्ति र स्थायित्वका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं –१५ को वडा कार्यालय परिसरमा आज आयोजित सडक दौड प्रतियोगितामा वडाका १८ विद्यालयका झन्डै २५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रा तर्फ श्री सिद्ध मा.वि.की श्रेया मगर प्रथम, सिद्ध मा.वि.कै सोनीका परियार द्धितिय, भ्यू प्वाइन्ट स्कुलकी सजिना सुनार तृतीय, सिद्ध मा.वि.की रचना चौधरी चौथो बन्न पुगिन् भने, केल्स एकेडेमीकी अश्विनी पौडेलले सान्त्वना प्राप्त गरिन्। यस्तै, छात्र तर्फ हिमालय लाईफ नेपालका राज परियार प्रथम, श्री सिद्ध मा.वि.का विवश रेग्मी द्धितिय, हिमालय लाइफकै विजय वि.क तृतीय, शुभ तारा थ्री एन्जल्सका आशिष घले चौथो र सिद्ध मा.वि.का विवेक गुरुङले सान्त्वना प्राप्त गरे। विजयी प्रतियोगीले क्रमशः ८ हजार, ७ हजार, ६ हजार र ३–३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले ७ औँ संविधान दिवसको शुभकामना दिँदै धेरै पहिलेदेखि धेरै संविधान बने पनि ती संविधान जनताको पक्षमा नरहेको र विभेदकारी रहेको कारण जनताको सङ्घर्ष र बलिदानी पश्चात् नेपालको संविधान २०७२ ल्याउन सफल भएको बताइन्। उनले २०७२ सालको संविधानको जगमा टेकेर नै आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको भन्दै यो संविधानको रक्षा गर्ने, सफल बनाउने र यो शासन व्यवस्थालाई स्थापित बनाउने काम पनि हामी सबैको जिम्मेवारी रहेको उनले बताइन्। गुरुङले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आज ३ किलो मिटर दौडमा सहभागी भएका खेलाडी भोली १० किलोमिटर हुँदै भविष्यमा राष्ट्रिय खेलाडी बनेर म्याराथनमा सहभागी बन्न सक्नेतर्फ जोड दिइन्। कार्यक्रमलाई शुभकामना दिँदै वडा नं –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए। उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्ता प्रतियोगिताले वडा नं –१५ मा रहेका विद्यालय र विद्यार्थी बिच आपसी सम्बन्ध बढाउनुको साथै भाईचाराको विकास गरी प्रतिस्पर्धी नभई सहयोगी सँस्थाको रुपमा शिक्षालाई अगाडि बढाउने भावना जागृत गराउने उद्देश्यका साथ सडक दौड प्रतियोगिताको आयोजना गरिएको बताए। यस्तै, कार्यक्रमका संयोजक तथा पोखरा –१५ का सदस्य आशिष भण्डारीले संविधान दिवसको अवसर पारेर विद्यार्थीहरू बिच आयोजना गरिएको यस सडक दौड प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउँदै स्वच्छ र शान्त वडा बनाउनको निम्ति सन्देश प्रवाह गर्न चाहेको प्रतिक्रिया दिए। उनले संविधान देशको कानुन रहेको भन्दै यसको परिपालना गर्नु सबैको कर्तव्य रहेको भन्दै आजको संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितालाई सफल पार्न खटिने सम्पूर्णलाई धन्यवाद दिए। कार्यक्रममा वडा नं –१५ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्य मन्दिरा परियार, सदस्य वलराम पौडेल, सशस्त्र मुख्यालय लामापाटनका प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ, पोखरा–१४ का वडा अध्यक्ष वोधराज कार्की, पोखरा –१७ कि वडा अध्यक्ष राधिका योगी शाही, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, रेडक्रस पोखरा –१५ का सभापति, एथलेटिक्स संघका प्रतिनिधि, स्काउटका प्रतिनिधि लगायत टोल विकास तथा आमा समुहको सहभागिता रहेको थियो।
बाँके । बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको हो । राप्तीसोनारी–८ शम्शेरगञ्जका ७३ वर्षीय बुद्धिमान लामाको करेन्ट लागेर मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लामाको पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी सिक्टा सिँचाइ आयोजनाको नहरमा डुबेर कोहलपुर–८ का ११ वर्षीय आकाश गिरीको मृत्यु भएको छ । शनिबारदेखि बेपत्ता रहेका गिरीको शव आइतबार साँझ मात्र नहरमा फेला परेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।
पाल्पा । सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ । सडक नजिकै जोडिएको घर, बाटो हिँड्ने यात्री एकछिन अडिएर मीठो सङ्गीतको धुन सुनेर आफ्नो गन्तव्यमा पाइला बढाउँछन् । सङ्गीतको तालमा आफ्नो जीवनको समय उत्तराद्र्धमा पुगेको अझै पत्तो छैन, टीकाराम ढकाललाई । उमेर गन्ती गर्दा उहाँ ठ्याक्कै ६१ वर्षमा पुग्नुभयो तर सङ्गीतले १६ वर्षे जवानीको जोशिलो पारामा सङ्गीतको तालमा डुबुल्कु मार्नुहुन्छ । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुका उहाँको दैनिकी वाद्यवादनमा बित्ने गरेको छ । कोठामा सजाएर राखिएका थरिथरिका बाजा बजाएर जीवन व्यतीत गरिहनुभएको छ । “उमेरले छ दशक नाघिसकेछ तर सङ्गीतले १६ वर्षे ठिटो छुजस्तो बनायो, बाजा बजाउन भनेपछि मनभित्रै देखि नै निकै जोशिलोपन बढेर आउँछ, बुढ्यौली टेकेजस्तो लाग्दैन”, उहाँले भन्नुभयो, “सङ्गीतमा रमाएर बाँच्ने नै मेरो सङ्कल्प हो त्यसरी नै बाँचिरहेको छु,, एउटा नशाजस्तै बनेको छ ।” घरमा बुबाबाट बाँसुरी बजाउने प्रेरणा पाएपछि १३ वर्षको उमेरदेखि नै वाद्यवादनमा लाग्नुभएका ढकालले १७ थरिका बाजा बजाउनुहुन्छ । आफूले बजाउने सबै बाजा घरमा किनेर राख्नुभएको छ । बाँसुरी, खैजडी, मुजुरा, मादल, माउथ हार्मोनियम, हार्मोनियम, किबोर्ड, अक्टोप्याड, मुर्चुङ्गा, पात, छ्याइछ्याइ, सहनाई, ठूलो झ्याली, शङ्ख, डमरु, सारङ्गी, मोहोलीलगायतका बाजा बजाउन सिपालु हुनुहुन्छ । बिहान उठेदेखि नै साँझसम्म बाजासँगै दैनिकी बितेको छ । करिब तीन लाख बढीका वाद्यवादनका सामग्री खरिद गर्नुभएको छ । नयाँ बाजा देख्ने बित्तिकै झिकाउने र घरमा आफैले सिक्ने गर्नुहुन्छ । उहाँले पुराना बाजा मात्रै नभई बजारमा आएका आधुनिक खालका बाजा पनि मज्जाले बजाउने गर्नुहुन्छ । लोपोन्मुख अवस्थामा रहेको पुरानो बाजा मोहोली र मुर्चङ्गा घरको दराजमा संरक्षण गरेर राख्नुभएको छ । विशेष गरी बाँसुरी, खैजडी, मुजुरा, हार्मोनियम, सारङ्गी, अक्टोपसलगायतका बाजा बढी बजाउन मन पराउनुहुन्छ । “औपचारिकरुपमा कला संस्कृति सिक्ने चाहना थियो तर त्यस समयमा वातावरण बनेन, राष्ट्रियस्तरसम्म पुगेको भए एक खालको राष्ट्रिय कलाकारको उपाधि बन्थ्यो, तै पनि स्थानीयस्तरमा नै वाद्यवादनमा भिजेको छु, यसमै सन्तुष्टि मिलेको छ, मेरो कलालाई राष्ट्रियस्तरका कलाकारले पनि चिनेर घरमा बेला–बेलामा आउने गर्नुहुन्छ ।” मानिसका जीवनका दुःख र पीडालाई भुल्न सङ्गीत अतिआवश्यक रहेको उहाँ बताउनुहुन्छ । ब्लड क्यान्सर रोगले ग्रसित उहाँ नियमित उपचारसँगै घरमै वाद्यवादन कार्यमा रहँदा रोगको पीडा नै भुल्दै गएको अनुभव सुनाउनुभयो । करिब १६ वर्ष अघि क्यान्सर रोगले आक्रमण गरेपछि नेपाल तथा भारतका विभिन्न अस्पतालमा नियमित उपचार गरेपछि अहिले दुई वर्षयता भने रोग निको हुँदै जाँदा उपचारमा अस्पताल कम धाउनुपरेको छ । करिब १४ वर्षसम्म रोगसँग जुध्नुभएका ढकालले घरको कोठामा बसेर दिनभर विभिन्न थरिका बाजा बजाउने गर्दा आफ्नो शरीरको करिब २५ प्रतिशत रोग निको हुँदै गएको अनुभूति सुनाउनुभयो । सरकारले सङ्गीतलाई संरक्षण गरिनुपर्नेछ, जसले गर्दा यस क्षेत्रमा लाग्न सबैलाई प्रेरणा मिल्नेछ । मेरो शरीरको रोग निवारण गर्ने एक चिज सङ्गीत हो, सङ्गीतमा भुलेपछि सबै कुरा बिर्सिर्दै गएको ढकालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बाजा बजाउँदै गर्दा रोगको पीडा कम भएको महसुस भयो, जीवनलाई भुलाउने माध्यम भनेको सङ्गीत रहेछ, जीवनको अन्तिम समयसम्म पनि यसरी नै वाद्यवादनमा नै रमाउनेछु, यसमै जीवन आनन्दमय व्यतीत भइरहेको छ ।” रामपुर भजनकीर्तन मण्डलीका अध्यक्षसमेत रहनुभएका ढकालले संस्थालाई व्यवस्थित गरी यस क्षेत्रमा वाद्यवादनमा रुचि जगाउने र सिक्न चाहनेलाई सङ्गीत सिकाउने लक्ष्यका साथ सामाजिक कार्यमा उहाँ सक्रिय भएर लाग्नुभएको छ । अहिले यस क्षेत्रमा युवा उहाँकै कलाबाट प्रभावित भएर विभिन्न थरिका बाजा बजाउने र भजनकीर्तनमा सहभागी हुने गरेका छन् । सङ्गीत अपार चिज हो, जतिसुकै मानिस पढेर विद्वान् भए पनि जीवन जिउने यो अति आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँ समूहमा गाउँघरमा हुने धार्मिक तथा शुभकार्य, विभिन्न सभा समारोह, मेला महोत्सव, सांस्कृतिकलगायतका विभिन्न कार्यमा वाद्यवादनमा सरिक हुँदै आउनुभएको छ । पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, गुल्मी, कास्की, नवलपरासी, गोरखा, लमजुङ, बाग्लुङ, महेन्द्रनगर, सुर्खेत, काठमाडौँ, चितवनलगायतका विभिन्न जिल्लामा वाद्यवादनका निम्ति उहाँ पुग्नुभएको छ । पुराना मौलिक बाजा बजाउने कलाकारसँग नगरको कला संस्कृतिको विकासमा स्थानीय सरकारले छलफल तथा सुझाव माग गरेमा यस क्षेत्रको विकास हुने थियो तर कला संस्कृति संरक्षणमा नागरिकले अनुभूति हुने खालको काम नगरेकोमा भने उहाँ चिन्तित हुनुहुन्छ । घरमा युवा वाद्यवादन सिक्न बेला–बेलामा आउने गरेकाले आफूमा भएको कला, संस्कृति नयाँ पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने उहाँको इच्छा छ । सङ्गीत जीवन जिउने एउटा शक्ति मात्रै नभई यसको मीठो ध्वनिले पारिवारिक वातावरण रमाइलो र खुसी बनाएको बताउनुहुन्छ, उहाँका श्रीमती विष्णुमाया ढकाल । “मैले जाने बुझेदेखि नै वाद्यवादनमा बढी सौखिन हुनुहुन्छ, घरपरिवारको कुनै तनाव छैन, सबै जिम्मेवारी मैले सम्हालेको छु, उहाँको दैनिकी वाद्यवादनमा नै बितिरहेको छ”, उहाँले भन्नुभयो । सङ्गीतले धेरै मानिसलाई बाँच्ने प्रेरणा र दुःख पीडा भुल्न सिकाउँछ । सङ्गीतको शक्ति एउटा आवाज, भाषा वा बोलीजस्तै हो । यसमा इमोसन र भावना हुन्छ । सङ्गीतको स्केल, धुन, पद्घति, शैली निकै बेग्लै हुन्छ, जसलाई महसुस गर्न सकिन्छ, शब्दमा भन्न सकिँदैन । अद्भूत आनन्दमय हुन्छ साङ्गीतिक संसार । सङ्गीतले क्षणिक मनोरञ्जन दिनेमात्र होइन यसले चिरस्थायीरुपमा आनन्द समेत दिन्छ । आत्मसुखको मूल स्रोत नै सङ्गीत हो । भक्तिमार्गको अभिन्न अङ्ग नै सङ्गीत हो । मान्छेले मात्र सङ्गीतमा आत्मसुख पाउँदैनन् । पशुपन्छीलाई समेत मोहित पार्ने खुबी सङ्गीतमा छ ।
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको थियो । उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा सर्यो । दश वर्षअघि उहाँले लगाउनुभएका स्याउका बिरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहनुभएका जुमबहादुरले २०५८ सालमा अवकाशपछि थालनी गर्नुभएको स्याउखेतीप्रतिको रुचि उहाँमा अझै घटेको थिएन । स्याउखेतीका विषयमा जागिरे जीवनमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसक्नुभएका जुमबहादुरले जनआन्दोलनपछि परम्परागतरुपमै स्याउखेती थाल्नुभएको थियो । स्याउ राम्रो उत्पादन हुन नसक्दा उहाँको मात्रै हैन निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् तर जुमबहादुरले आफ्नो व्यक्तिगतरुपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने तयारी गर्नुभयो । पन्ध्र रोपनी जग्गामध्ये आठ रोपनी जग्गामा स्याउखेतीका लागि तयारी अवस्थामा राखिएको छ । पाँच रोपनी जग्गामा नयाँ दुई सय २० बिरुवा र पुराना ५० वटा स्याउका बिरुवा छन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात्का कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाए पनि कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएका आधुनिक प्रजातिको स्याउका बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । परीक्षणका लागि लगाएको स्याउखेती एक वर्षमै सफल बनेको पाइएको छ । सानो बोटमा धेरै स्याउ फल्नेगरी विकास गरिएको इटालियन प्रजातिको स्याउले एकै वर्षदेखि उत्पादन दिन थालेपछि ढोरपाटन क्षेत्रको हावापानीमा उक्त स्याउको परीक्षण सफल भएको ढोरपाटन स्याउ ब्लकका अध्यक्षसमेत रहनुभएका जुमबहादुरले बताउनुभयो । “मैले स्याउखेती गर्न थालेको धेरै भयो, परम्परागत स्याउ फस्टाउन सकेन तर एक वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको बिरुवामा स्याउ फलेको छ, अहिले एक सय २० बिरुवा लगाइसकेको छु, एक वर्षअघि लगाइएका सय बोटमध्ये २१ बोटमा स्याउ फलेको छ”, जुमबहादुरले भन्नुभयो, “यहाँका किसानले परम्परागत तरिकाले लगाएका स्याउको उत्पादन हावापानीअनुसार राम्रो उत्पादन नहुँदा समस्या थियो, अहिले उक्त नयाँ प्रजातिको स्याउका बिरुवा अनुदानमा प्राप्त गरेकामा एक वर्षमै स्याउ फल्दा दङ्ग परेका छन् ।” बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौं भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ । ढोरपाटन उपत्यकाका सेन्तुङ, श्यालपाखे र निशेलढोर, मसलगायत स्थानमा परम्परादेखि नै फाट्टफुट्ट स्याउखेती हुने गरेपनि त्यसले व्यावसायिकता पाउन सकेको थिएन । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई मसेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रमसमेत चलाइ यहाँका किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो । ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि किसान खुसी भएका छन् । ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले एक सय ८१ वटा बिरुवामध्ये केही बिरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताउनुभयो । यस्तै ढोरपाटनकै जीवन पुनले पनि परीक्षणका रुपमा उक्त प्रजातिको एक सय १६ बिरुवा लगाउनुभएकामा १६ वटाको हुर्काइ राम्रो देखेपछि थप एक सय बिरुवा लगाउनुभएको हो । ढोरपाटन स्याउ ब्लकका अध्यक्ष जुमबहादुरले यो वर्ष ढोरपाटनका स्याउ लगाउन इच्छुक किसानलाई कृषि ज्ञानकेन्द्रमार्फत चार हजार ५०० बिरुवा माग गर्नुभएको उक्त केन्द्रकाका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । “छिटो फल्ने, थोरै जग्गामा धेरै बिरुवा लगाउन सकिने र आधुनिक प्रजातिका स्वादिलो स्याउ फलाउन सकिन्छ”, उहाँले भन्नुभयो, “ढोरपाटन, निशेलढोर, तमानको उच्च भाग र जैमिनीको उच्च भागबाटसमेत उक्त स्याउका बिरुवाको माग भएको छ, स्याउ किसानको उत्साहलाई ज्ञानकेन्द्रले मनन गरेको छ, बागलुङको हावापानीमा इटालीबाट ल्याइएको बिरुवा राम्रोसँग हुर्किएर फल दिएको छ ।” उक्त बिरुवा डेढदेखि दुई मिटरसम्म अग्लो हुन्छ । ढोरपाटन क्षेत्रको हावापानीमा इटालियन प्रजातिअन्तर्गतका चार प्रकारका आधुनिक स्याउको परीक्षण सफल भइसकेकाले व्यावसायिक उत्पादन बढाउनका लागि किसानलाई पहिलो वर्ष ५० र अहिले ७५ प्रतिशत अनुदानमा बिरुवा दिन थालिएको प्रमुख भट्टराईले बताउनुभयो । इटालियन प्रजातिको एउटै बिरुवाको बजार मूल्य एक हजार २०० रहेको छ भने अहिले ७५ प्रतिशत अनुदानमा विरुवा वितरण गर्दासमेत किसानको लागत प्रतिबिरुवा रु तीन सय पर्ने गरेको छ । परम्परागतरुपमा लगाइएको स्याउको बोटले तीन वर्षदेखि चार वर्षसम्ममा मात्रै उत्पादन दिन थाल्ने गरेकामो आधुनिक प्रजातिको स्याउको बिरुवाले एक वर्षमै उत्पादन दिन थालेपछि यहाँका स्याउ किसान हर्षित भएका छन् । उक्त बिरुवाको मनाङ र मुस्ताङमा सेमत उच्च माग रहेको छ । थोरै स्थानमा धेरै स्याउ छोटो समयमै फलाउनका लागि इटालियन स्याउको बिरुवा उपयुक्त छ । छुट्टाछुट्टै स्याउखेती गर्दा तारबार र पर्खालमा धेरै लागत लाग्ने भएकाले सामूहिकरुपमा नै स्याउ खेती गर्ने अभियानमा निशेलढोर र ढोरपाटनका किसान अग्रसर भएका छन् । स्थानीय जागतको स्याउलाई हाइब्रिड गरेर उक्त प्रजातिको स्याउका बिरुवा उत्पादन गरिएको हो । लगाएको एक वर्षमा फल्न थाल्ने उक्त इटालियन प्रजातिका स्याउ सुरुमा १०केजीदेखि सुरु भएर बयस्क रुखमा ८० केजीसम्म फल्ने गर्दछ ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने, बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले उपहार दिन थालिएपछि गर्भ र सुत्केरी परीक्षण गराउने दर ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको छ । ]“तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई एक वटा कुखुराको भाले दिने गरेका छौँ”, स्वास्थ्य शाखा प्रमुख बरुवालले भन्नुभयो, “सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा दिन्छौँ ।” आर्थिक वर्ष २०७८/७९ मा अन्नपूर्ण गाउँपालिकामा एक सय २७ ले संस्थागत प्रसूति सेवा लिएका छन् । उनीहरु मध्य ४५ जना पालिकाभित्रकै स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । आठ वटा वडा रहेको अन्नपूर्णको १ दोवा, ३ दाना र ४ नारच्याङबाहेकका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र छन् । वडा नम्बर ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालन भएको छ । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको छ । आव २०७८/७९ मा रु छ लाख विनियोजन भएको यो कार्यक्रमका लागि चालु आव २०७९/८० मा पनि रु छ लाखनै विनियोजन गरेर निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताउनुभयो ।