सुदूरपश्चिम । ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहनुहुन्छ । सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उहाँसहितका वृद्धवृद्धा पुग्नुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक दिवासेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ ।” पचास वर्षअघि श्रीमतीको निधन भएर एक्लोपन महसुस गर्नुभएका उहाँका घरमा छोराबुहारी, नातिनातिना हुनुहुन्छ । त्रीयासी वर्षीय भूमिनन्दन जोशी पनि दिउँसोको समयमा दिवासेवा केन्द्रमा पुग्नुहुन्छ । “भजनकीर्तन र देउडा लगायतका गीत सङ्गीतको धुन बज्दा उत्साह र उमङ्ग थपिन्छ”, उहाँले भन्नुभयो, “आफ्नो दिनको सहारा नै यो सेवाकेन्द्र बनेको छ ।” धनगढीकै ८२ वर्षीया चन्द्रा रोस्यारा सेवाकेन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको अनुभव सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “जीवन ठिकै चलेको छ, घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन् ।” दिवासेवा केन्द्रमा दैनिक कम्तीमा आठ÷दश जना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ । हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजनकीर्तन गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमङ्ग थपिने गरेको देखिन्छ । त्यसक्रममा उहाँहरुले जीवनमा भोगेका सुखदुःखका घटनाका बारेमा आपसमा भलाकुसारी पनि गर्नुुहुन्छ । धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडछेउको श्री रामजानकी मन्दिर परिसरको एक भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्द्रले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजनकीर्तनसहितको गीतसङ्गीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको हो । भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिएको हुन्छ । सेवा केन्द्रमा व्यवस्थापनको जिम्मेवारीमा रहनुभएकी दुर्गादेवी महराले सेवा केन्द्रले दिइरहेको सेवाबाट ज्येष्ठ नागरिकका अलावा आफूलाई पनि सन्तुष्टि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाजा र चियाको व्यवस्थापसँगै मनोरञ्जन दिने व्यवस्थाले बुढेसकालमा उहाँहरुलाई राम्रै भएको छ ।” घरमा अभाव, असुरक्षा र एक्लोपनमा बाँचिरहेका कतिपय ज्येष्ठ नागरिकले उचित माया र सहारा नपाउँदा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता देखिन्छ । वयस्क उमेरमा जस्तो बुढेसकालमा खानेलाउने र बाँच्ने तरिका पनि फेरबदल आउने गर्दा ज्येष्ठ नागरिकलाई माया र साहारा निरन्तर चाहिन्छ । कतिपय घरपरिवारबाट उचित व्यवहार र माया नपाउँदा जीवनको उत्तरार्धमा वृद्धवृद्धा पीडित हुने गरेका घटना सुनिन्छन् । वृद्धवृद्धालाई दिउँसोको सयम बिताउन पाउने उचित ठाउँको अभाव महसुस हुँदा समाजसेवी रमणचन्द्र श्रेष्ठसहितको पहलमा विसं २०७१ मा श्री जानकी ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापनाको योजना बनेको थियो । “महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सुरुको अवस्थामा ज्येष्ठ नागरिक शीर्षकमा रु दुई लाख बजेट प्राप्त हुँदा प्रारम्भिक काम सुरु गर्यौ”, केन्द्रका संरक्षकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “पछि स्थानीय समाजसेवी ईश्वरमान श्रेष्ठ, श्रीमान् श्रेष्ठ, त्रैलोक्यमान श्रेष्ठ र सुवर्णमान श्रेष्ठसहितका सहोदर दाजुभाइले आप्mना स्वर्गीय आमाबुबाको स्मृतिमा यो भवन निर्माणलाई पूर्णता गरिदिनुभयो ।” दुई तले दिवासेवा केन्द्र भवनको पहिलो तल्लामा भजनकीर्तन र प्रवचनका कार्यक्रम भइरहन्छन् । दोस्रोे तल्लामा धार्मिक पुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माणमा प्रदेशसभाका सदस्य डिल्लीराज पन्त र उपमहानगरपालिका कार्यालयबाट पनि सहयोग प्राप्त भएको संरक्षक श्रेष्ठले बताउनुभयो । ज्येष्ठ नागरिक सङ्घ कैलालीका पूर्वअध्यक्ष दिव्यप्रसाद पन्तले समाजका पथप्रर्दशक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महसुस हुन नदिनका लागि दिवासेवा सञ्चालनमा सङ्घले पनि सक्दो सहयोग पुर्याइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा छोराबुहारी, नातिनतिना, छाडेर एकान्त ठाउँ ९वृद्धाश्रम०मा बस्नु पर्दा धेरै ज्येष्ठ नागरिकमा मानसिक पीडा र चिन्ता हुनेगरेको स्थलगत अध्ययनका क्रममा देखिएकोले अब यसको विकल्प खोज्नुपर्ने देखिएको छ ।” उक्त केन्द्रले वृद्धवृद्धालाई पटपटक तीर्थाटनमा समेत लैजाने गरेको छ । यसबाहेक बत्ती कात्ने, जनै बनाउने, कामका साथै च्याउ, प्याज, फलफूलका बेर्ना बनाउने तालिमसमेत दिने गरिएको छ ।
समय र परिस्थितिसँगै हाम्रा चाडबाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीज रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ । संस्कृतिको संरक्षणभन्दा पनि मनोरञ्जनतिर मात्रै तीज रमाइलोको उल्लास छ । विभिन्न पर्यटकीय ठाउँ, मठमन्दिर, पार्क जस्ता क्षेत्रमा पुगेर टिकटक बनाउने, फेसुबकमा फोटो, भिडियो पोष्ट गरेर तीज रमाइलो मनाइरहेका छन् । स्थानीय रमा गौतमले समयअनुसार आएका नयाँ–नयाँ प्रविधिको उपयोग गर्दै यसपटक तीज टिकटकमा नाचेर मनाइएको बताउनुहुन्छ । विगतका तीजका कार्यक्रममा उहाँ निकै सक्रिय भएर प्रतियोगितात्मक कार्यक्रममा नाचगानमा सहभागी भए पनि अहिले भने तीज पर्व सुरु भएदेखि नै सामाजिक सञ्जालमार्फत आफ्ना प्रस्तुति प्रस्तुत गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “घरमै बसेर नयाँ–नयाँ कपडा लगायो, आफूलाई मन परेको गीत रोजेर टिकटक बनाउने पोष्ट गर्ने, धेरैले यसको प्रयोग गर्नुहुन्छ, यसमै तीजको रमाइलो भइरहेको छ, अन्यत्र कार्यक्रममा जाने झण्झट गरिएन, बाहिर कार्यक्रम हेर्न पहिलाजसो उत्सुकता र रमाइलो लाग्दैन ।” टिकटक बनाउने पोष्ट गर्ने, लाइक, भ्युज, कमेण्टमा बढी ध्यान तानिएको छ । टिकटक, फेसबुकलाई नै बढी समय दिएर आफ्ना प्रतिभा देखाउने जमात युवायुवती, बालबालिकादेखि ज्येष्ठ नागरिकमा पनि उत्तिकै छ । फुर्सदिला व्यक्तिलाई टिकटक, फेसबुक समय भुलाउने माध्यम बनेको र यसबाट लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर बनेको कला खनाल बताउनुहुन्छ । “अरुका सामु नाच्न पटक्कै आउँदैन, यसो नाच्न खोजे पनि लाज र डर लाग्थ्यो, टिकटक आएपछि भने घरभित्रै हल्का नाच्न सिकियो, फुर्सदमा टिकटकमै नाच्न र अभिनय गर्न सिकिरहन्छु”, उहाँ भन्नुहुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । सबैका घर घरमा इन्टरनेटको सुविधा पुगेको छ । स्मार्ट फोन प्रयोग गर्ने धेरै छन् । त्यसकारण पनि हाम्रा चाडपर्व विशेष गीतमा टिकटक बनाउने, नाचगान गर्ने, फेसबुकमा पोष्ट गर्नेको जमात छ । चाडपर्वका गतिबिधि सामाजिक सञ्जालमा बढी देखिन थालेको छ । कतिपयले टिकटक र फेसबुकमार्फत देखाउनकै लागि पनि भड्किलो तरिकाले पर्व विशेषका गतिविधि देखाउने गर्दा भने विकृति बढेको धेरैको ठम्याइ छ । सही सदुपयोग गर्न जानियो भने सामाजिक सञ्जाल आफूमा लुकेर रहेका प्रतिभा देखाउने अवसर र यसबाट धेरै राम्रा कुराको जानकारी लिन सकिन्छ । तीज विशेष प्रतियोगितात्मक कार्यक्रममा यस पटक खासै उत्साह देखिएन । पहिले पहिले यहाँ आयोजित कार्यक्रममा प्रतियोगिको ठूलो सहभागिता रहेपनि यस पटक न्यून मात्रामा मात्रै थिए । सूचना प्रविधिको विकास र प्रयोगले नाचगान कार्यक्रममा पहिलेजसो रुची छैन । अघिल्ला वर्षमा तीज प्रतियोगितात्मक कार्यक्रममा १५ समूहभन्दा बढी प्रतिस्पर्धामा प्रतियोगिको सहभागिता रहने गरेकोमा अहिले ६ समूहले मात्रै कार्यक्रममा सहभागिता जनाएको रजघरा बजार व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलले बताउनुभयो । “यस पटक सहभागीको सङ्ख्या अति नै न्यून भयो, पहिला त धेरै टाढाबाट गीत र नाच तयारी गरेर आउथे, प्रचारप्रसार व्यापक रहेपनि नाच्ने र गाउने समूह घट्दै गयो” उहाँले भन्नुभयो । यसैगरी विजयपुर बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा पनि जम्मा ६ समूहले मात्रै सहभागिता जनाए । प्रथम, द्वितीय, तृतियका लागि ठूलो नगद रकम पुरस्कार रहेता पनि सहभागितामूलक कार्यक्रममा दर्शकले खासै चासो दिएनन् । यहाँ विगतका वर्षमा ठूलो समूहमा कार्यक्रम हुने गरे पनि पछिल्ला वर्षमा तीजमा प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दो छ । घरमै बसेर इन्टरनेटमा सबै कुराको उपयोग गर्ने सुविधा भए पश्चात् घरदेखि बाहिर हुने खुल्ला प्रतिष्पर्धात्मक कार्यक्रममा सहभागी हुन जाने उत्साह नभएको सिर्जनशील युवा क्लवका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिलाका लागि आयोजना गरिएको कार्यक्रममा महिला सहभागीता नै कम हुन थालेको छ, घरमै बसेर इन्टरनेट प्रयोगकर्ता बढ्दै, प्रत्यक्ष रुपमा घरबाहिर निस्केर खुल्ला प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दै गयो, पहिलाजसो दुख र बेदनाको तीज अहिले नभएर होला, सबैलाई सुख र सुविधा छ ।” यस्ता तीज विशेष आयोजना गरिएका प्रतियोगितात्मकमूलक कार्यक्रममा दर्शकको उपस्थिति पनि घट्दै गएको छ । दर्शकको उपस्थितिले भरिभराउन हुने खुल्ला चउर, बजारका चोक पछिल्ला वर्षमा उपस्थिति पातलिँदैछ ।
कञ्चनपुर । कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ । सोमबार मात्रै शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा छ जनाले ज्यान गुमाएका छन् । निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । विसं २०७८ मा शुक्लफाँटा–१ वन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भएको हो । लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो । यसवर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गत साता मात्रै बेदकोट नगरपालिका हात्तीथालाकी एक महिला हात्तीको आक्रमणबाट घाइते हुनुभएको छ । हात्तीको आक्रमणबाट मानिस मात्रै होइन किसानको अन्नबाली र घरमा क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले हात्तीको बासस्थान साँघुरिदै गएपछि हात्तीको आक्रमण बढ्न थालेको बताउनुभयो । “दुई तीन वर्षयता हात्तीको आक्रमण बढेको छ”, उहाँले भन्नुभयो, “पहिला सिजनमा आउने हात्ती छोटो समयमा फर्किन्थ्यो अहिले दुई÷तीन महिनासम्म यहाँ बस्ने गरेको पाइन्छ ।” हात्ती प्रायः एउटै ठाउँमा नबस्ने र घुमफिर गरिरहने भएकाले हात्ती हिँड्ने बाटोमा पनि आक्रमण हुने गरेको छ । “हात्ती एउटै स्थानमा बस्दैन एकै रातमा पाँच÷सात किलोमिटर हिँड्छ”, उहाँले भन्नुभयो, “हाम्रो यहाँ वनजङ्गल कम छ हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन त्यो बीचमा धेरै बस्ती छन् ।” उहाँका अनुसार हात्ती हिँड्ने बाटोमा बस्ती भएका कारणले पनि मानिसमाथि हात्तीको आक्रमण बढेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मौसमी रुपमा ५०÷६० को बथान भारतीय दुधुवा नेसनल पार्कबाट आउने गरेका छन । यी हात्तीको वथान कहिले नेपाल कहिले भारततर्फ आउजाउ गरिरहेको हुन्छन् । “बच्चाको साथमा आएको हात्तीले आक्रमण गर्दैन”, सहायक संरक्षण अधिकृत ऐरले भन्नुभयो, “पाँच÷छ भाले अधबैसे हात्ती बथानबाट एक्लिएका छन् उनीहरुले बथान खोज्दै हिँड्छन्, ती हात्ती नडराउने र छिटो आक्रमण गरिहाल्ने हुन्छन् ।” उहाँका अनुसार ती अधबैसे हात्ती अहिले स्थायी रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बस्न थालेपछि बस्तीमा आक्रमण हुन थालेको हो । कञ्चनपुरमा मध्यवर्ती क्षेत्रमा शिविर धेरै छन् विशेषगरी हात्ती हिँड्ने बाटोमा बस्ती विस्तार भएका कारण हात्तीले अन्नबाली र घरमा क्षति पुर्याउने गरेको छ ।
लेखनाथ । सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गुँदेताल संरक्षणको अभावमै छ । एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्णरूपमा संरक्षण हुनसकेको छैन । सरकारको तर्फबाट संरक्षणमा काम अगाडि बढाइएको छैन । कास्कीमा रहेका नौवटा तालमध्ये खास्टे, न्यूरेनी र गुँदेताल पोखरा–२६ मा पर्छन् । गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष ठाकुरप्रसाद ढुङ्गानाले सरकारी तहबाट चासो नदिँदा ताल संरक्षण हुन नसकेको गुनासो गर्नुभयो । अग्रज पुर्खाले बस्नका लागि गुन्द्री बुन्न प्रयोगमा आउने गुँद पाइने भएकाले परापूर्वकालदेखि नै उक्त तालको नाम गुँदे रहँदै आएको स्थानीय सुमन भट्टराईले जानकारी दिनुभयो । तालवरपर घाँसेमैदान भएकाले यसलाई चराहरूको बासस्थानका रूपमा विकास गराउन उपयुक्त छ । तर पोखरा महानगरले चराको बासस्थानका रूपमा विकास गर्न कुनै चासो देखाउँदैन । अब सरकारको मुख ताक्नुभन्दा स्थानीयवासी नै ताल संरक्षणमा जुट्न थालेका स्थानीय बताउँछन् । गुँदेताल वातावरण तथा मत्स्य सहकारी र गुँदेताल संरक्षण समिति तालको संरक्षणमा जुटेका छन् । ताल संरक्षणअन्तर्गत पहिलो चरणमा तालले ओगटेको जग्गाको सीमाङ्कन गर्ने काम भएको छ । साथै वरपर फुटट्रयाक निर्माण गर्ने कार्य सकिएको छ भने तालमा माछाका भुरा छाड्ने कार्य पनि केही वर्षदेखि सुरु गरिएको छ । विश्व सम्पदामा रामसार सूचीमा सूचीकृत गुँदेतालको संरक्षण र विकासमा स्थानीय नै जुटेपछि वन कार्यालय र हरियो वन कार्यक्रमले समेत केही मात्रामा सहयोग प्रदान गर्न सुरु गरेको गुँदेताल संरक्षण समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो । वातावरणीय प्रभाव र मानवीय अतिक्रमणका कारण सागुरिँदै गएको यो तालको क्षेत्रफल १२.३८ हेक्टर रहे पनि जलक्षेत्र भने न्यून मात्रामा रहेको छ । जसको गहिराइ औसतमा दुई मिटर र सीमसारको भाग धेरै रहेकाले यो तालमा प्रशस्त कमल देख्न पाइन्छ । हेमन्त ऋतु अर्थात् जाडो मौसममा हिमाली भेगका चराचुरिङ्गी जाडो छल्न र गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न गुँदेतालमा आउने गरेकै गुँदेताललाई बर्डवाचिङ सेन्टर अर्थात् चरा हेर्ने ठाउँका रूपमा विकास गर्न सकिने जानकारी स्थानीय गणेश अधिकारीले दिनुभयो । संरक्षण र आयआर्जनका रूपमा तालको विकास गर्ने उद्देश्यले केही वर्षदेखि स्थानीय सरोकारवाला सङ्गठितरूपमा ताल संरक्षणमा जुटेका र त्यो सदस्य सङ्ख्या एक सय ४५ पुगेका छन् । समितिमा रहेका सदस्य ताल संरक्षणका साथै माछा भुरा र चराको हेरचाहमा सक्रिय रहने छन्, ताल संरक्षणका नाममा पछिल्लो समय तालको जलाधार क्षेत्रभित्रै माटोले पुरेर ट्रयाक खोल्ने कामले यो ताल पनि मानवीय अतिक्रमणको चपेटामा परेको देखिन्छ । यसका लागि स्थानीय मौन बस्ने र सरकारी निकायबाट बेलैमा ध्यान नदिने हो भने तालको अस्थित्व नै लोप हुने र पछिका पुस्ताले यहाँ ताल थियो रे भन्ने इतिहास सुन्न नपरोस् । पछिल्लो सयम यहाँको रुपाताल र फेवातालमा बजेट विनियोजन गरिए पनि अन्य तालहरू संरक्षणको पर्खाइमा छन् । पोखरा नगर क्षेत्रमा मात्र फेवा, वेगनास, रुपा, कमल, गुँदे, न्यूरेनी, खास्टे, दिपाङ, मैदी गरी नौ वटा ताल छन् भने सहरी क्षेत्र बाहिर दुई सिक्लेसमा कफूचे र माछापुच्छ«े गाउँपालिकामा पिपर ताल छन् । तत्कालीन लेखनाथ नगरपालिकाले विसं २०५४ मा सात तालको बाटिका सहरका रूपमा विकास गर्ने योजना ल्याइएको भए पनि संरक्षणका लागि कार्य अगाडि नबढाएको स्थानीय सूर्यप्रसाद बरालले जानकारी दिनुभयो ।
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिनुभएको हो । सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ । वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताउनुभयो । उहाँका अनुसार गत जेठ २३ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने उल्लेख छ । वीरेन्द्रनगर–३ मा सडक, खोला अतिक्रमणको समस्या बढी छ । खोर्केखोलाको क्षेत्र मिचेर घर निर्माण गरिरहेकाले वर्षात्मा बाढी र कटानको समस्या देखिएको छ ।
दाङ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताउनुभयो ।
पाल्पा । गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपथ्र्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिनुभयो । वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य चौकीमा २२ गते, वडा नं ३ को झिरुवास स्वास्थ्य चौकीमा २१ गते, वडा नं ४ को मित्याल स्वास्थ्य चौकीमा ११ गते, वडा नं ५ को गल्धा स्वास्थ्य चौकीमा १४ गते, वडा नं ६ को अर्चले स्वास्थ्य चौकीमा १२ गते तथा वडा नं ७ को ज्यामिरे स्वास्थ्य चौकीमा १३ गते भिडियो एक्सरे सेवा दिइने उहाँले बताउनुभयो । यही भदौ ११ गतेदेखि उक्त सेवा सुरु गरिएको हो । “प्रदेश सरकारले एक जना तालिम प्राप्त अनमीको व्यवस्था गरेपछि यो सेवा सुरु गरेका हौँ”, संयोजक दिसाले भन्नुभयो । गर्भवतीको समस्यालाई ध्यानमा राख्दै पालिकाले उक्त सेवा सुरु गरेको हो । गर्भवतीलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत हरेक महिना प्रत्येक वडा वडामा समय तय गरेर सेवा प्रवाह गर्न थालिएको उहाँले बताउनुभयो । गाउँकै स्वास्थ्य चौकीबाट सेवा पाउँदा उनीहरुलाई ठूलो राहत मिलेको छ । यसअघि तानसेन र रामपुर धाउँदा यातायात, बास बस्नेलगायतका समस्या थियो । स्थानीयस्तरमै सेवा पाउँदा सास्ती भोग्नुपर्ने समस्या टरेको निस्दी–४ की हिराकुमारी खाम्चाले बताउनुभयो । “टाढा जानुपर्ने झन्झटले गर्भवती स्वास्थ्य परीक्षण गर्दैनथे, अब ठूलो राहत पुगेको छ”, उहाँले भन्नुभयो । मेसिन बिग्रिने, स्वास्थ्यकर्मी अभावलगायत समस्याले कतिपय बेला भने सेवा सेवा नलिइकन फर्कनुर्ने समस्या थियो । निजी क्लिनिकमा महङ्गीका कारण सेवा लिन समस्या थियो ।
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन् । मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ । मृत्युको कारण यकिन हुन नसकेको उहाँले बताउनुभयो । गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको विष्टले बताउनुभयो ।
मिथिला क्षेत्रमा आज साँझ चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै चौरचन (चौठचन्द्र) पर्व सकिएको छ । भदौ शुक्लपक्षको चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने उक्त पर्व आज साँझ विधिपूर्वक पूजा गर्दै सकिएको हो । यसवर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन्द्र पर्व आज एकै दिन परेको छ । दिनभरि उपवास भएका परिवारका महिला सदस्यहरूले साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै उपवास बसेको बर्तालुले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पूजा गर्ने परम्परा छ । चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरुले प्रसाद ग्रहण गर्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै श्रद्धा र आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र पनि भन्ने गरिन्छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा ९पिरुकिया० र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ ।