रुकुमपूर्व । रुकुमपूर्वमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ भने बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी भए पनि अहिलेसम्म एक किलो आलु पनि बिक्री गर्न नसकिएको त्यहाँका किसानले बताएका छन् । अहिले उक्त गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँमा फलेको आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको वडा–१० निवासी चेबाङ कृषक समूहकी सदस्य सातमाया बुढाले बताउनुभयो । त्यहाँ चक्लाबन्दी कार्यक्रममार्फत समूहले धेरै आलु उत्पादन गरेपछि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको उहाँले गुनासो गर्नुभयो । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको सदस्य बुढाको भनाइ थियो । बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उहाँले बताउनुभयो । “अहिले पुथा उत्तरगङ्गा गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ ।” सदस्य बुढाले भन्नुभयो, “आलु खनेर बारीमा थुपारेका छौँ, उत्तरगङ्गा नदीमा पुल नहुँदा पनि हामीले यहाँ उत्पादन गरेको आलु जिल्ला सदरमुकाम रहेको रुकुमकोटको बजारसम्म पु¥याउन पनि सकेका छैनौँ ।” उत्तरगङ्गा नदीमा पुल नहुँदा सवारी साधन वारपार गर्न नसक्ने र तकसम्म गाडी जान नसक्दा र आफूहरुले आलु बोकेर उत्तरगङ्गा नदी पार गर्न नसक्दा आलु घर तथा बारीमै थन्क्याएर राख्नुपरेको छ । यस्तै गाउँपालिकाको ११ नं वडा दमचनका नमूना कृषक समूहका सचिव हृदय बुढाले दमचनमा उत्पादन भएको आलुले बजार नपाएको गुनासो गर्नुभयो । दुःख गरेर गाउँवासीले लगाएको आलु बजारमा पु¥याउन नसक्दा कतिपयको आलु कुहिन सुरु गरेको उहाँको भनाइ थियो । उत्पादित आलुको मूल्य पनि आफूहरूले भनेजस्तो नभएको सचिव बुढाले बताउनुभयो । अहिले बजारमा आलुको मूल्य प्रतिकिलो रु एक सय रहेको र आफूहरूले पनि आलु घरबाटै रु एक सयमा बेच्न खोज्दा ढुवानी खर्च पनि नउठ्ने पीडा सुनाउनुभयो । भूमे गाउँपालिका–९ का किसान धनबहादुर ओलीले पनि आफूले उत्पादन गरेको आलुले बजार नपाएको गुनासो गर्नुभयो । आफूले उत्पादन गरेको र गाउँका अन्य मानिसले उत्पादन गरेको सबै आलु घरमै थन्क्याएर राख्दा आलु कुहिन थालेको उहाँको भनाइ थियो । आलु कुहिन सुरु गरेको र बजार व्यवस्थापनको सुरसार केही नदेख्दा किसानमा निराशा छाएको किसान ओलीले बताउनुभयो । यस्तै आलु ब्लक कार्यक्रम सञ्चालन भएको भूमे गाउँपालिकाको ७ नं वडामा उत्पादित आलु पनि घरमै थन्किएको छ । बीउ अभावका बेलामा खोजीखोजी लगाएको आलको उत्पादन राम्रो भए पनि बजारमा पु¥याउन नसक्दा विगतका वर्षहरू नै आफ्नो उत्पादन खेर गइरहेको किसानले बताउँदै आएका छन् । जिल्लामा कतै पनि सङ्कलन केन्द्र नहुँदा उत्पादनलाई पनि व्यवस्थितरूपमा राख्न नसकिएको उनीहरुले बताए । एकीकृत कृषि तथा पशुपक्षी विकासरुकुमपूर्वको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आलुको बजार व्यवस्थापनमा भौगोलिक विकटताले केही समस्या भए तापनि किसानले मूल्य निर्धारण गर्न नसक्दा समस्या भएको बताउनुभयो । किसानले आफूले उत्पादन गरेको आलुको मूल्य बजारको मूल्यभन्दा चर्को भन्ने गरेका कारण पनि त्यहाँको आलु बजारसम्म पुग्न नसेको उहाँको भनाइ थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिमरुप दिइने बताउनुभयो । आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख अर्यालले विद्युतीय (डिजिटल) स्रोत सामग्रीको उत्पादनमा विशेष जाड दिइने र त्यसलाई सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचारप्रसार गरिने जनाउनुभयो । कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि घरदैलोमा टोली पठाइएको थिएन । आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गर्नेछ । आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरुलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गर्नेछ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन भएको थियो । आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाइ गरेर वितरण पनि गरिसकेको र कसरी मतदात गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरेको थियो । गत निर्वाचनमा आयोगले निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायत पोष्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरेको थियो । उक्त अवधि अपुग भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ । मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाइ मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सात निर्वाचन चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्नेजस्ता विषय मतदाता शिक्षामा समावेश हुनेछन् । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका २०७६ मा लोकतन्त्र, निर्वाचन, समावेशीता र निर्वाचन, मतदाता नामावली, मतदान, समावेशी निर्वाचन र परिवर्तन, निर्वाचन विवाद र विवाद निरुपण, निर्वाचन र निर्वाचन चक्र, नेपालको निर्वाचन प्रणाली आदि विषय समावेश गरिएका छन् । निर्वाचनमा भाग लिने प्रयोजनका लागि चार निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन प्राप्त हुन आएकोमा राजनीतिक दलबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा जम्मा ७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ८७ कायम भइसकेको छ ।
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स ए.एम.ले दर खुवाएर तिज मनाएको छ । पोखरा महानगरपालिका वडा नं. १० मिलन टोलमा विगत १० वर्ष अगाडी बाट स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापना भएको सिक्स ए.एम. क्लवले हिन्दुनारीहरूको महान पर्व हरितालिका तिज तथा बाबुको मुख हेर्ने दिन पारेर वृद्ध तथा बाल बालिकाहरुलाई दर खुवाउने कार्यक्रम गरी सम्मान गरेको छ । खेलकुदका सँग सगै सामाजिक कार्यमा समेत यूवाहरुको भुमिका महत्वपूर्ण हुने साथै यूवाहरुमा पनि वृद्ध प्रति सकारातमक सोच र व्यवहारको विकास गराउन यस किसिमको कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने क्लवका अध्यक्ष दिपेन्द्रप्रताप चन्द्रले बताएका थिए ।
पोखरा । माझठाना—पोखरा सम्पर्क समाजको आयोजना एवम् रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारा सहित अमरसिंह चोकमा आज आयोजित खुल्ला रक्तदान कार्यक्रममा चार महिला तथा तीन जना नयाँ रक्तदाता सहित ३२ जनाले रक्तदान गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले पहिलो रक्तदाता रामचन्द्र तिवारीलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न युवा वर्गलाई आव्हान गर्नुभयो । समाजका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २८ वडाअध्यक्ष एवम् संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, संस्थाका सल्लाहकार ऋषिराम लामिछाने, हरि बास्तोला, सूर्य तिवारी, निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, संस्थाका पदाधिकारी लगायतले रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०:१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ।
बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् । बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो । टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ । बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने छात्रा रहेको पौडेलले बताउनुभयो । गत जेठमा पनि विद्यालयका दुई विद्यार्थीमा यही प्रकारको बिरामी भएको र त्यसयता यो खालको समस्या नआएको प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । “गत जेठमा पनि विद्यालयमा दुई विद्यार्थीमा यो समस्या देखिएको थियो, त्यसपछि यस्तो समस्या आएको थिएन”, प्रअ पौडेलले भन्नुभयो, “अहिले फेरि समस्या देखियो ।” सात विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन् । धेरै विद्यार्थीमा यसखालको समस्या आउन नदिनका लागि विद्यालय बन्द गर्नुपर्ने स्थानीयको भनाइ छ । उनीहरूले बिहीबारनै विद्यालय बन्द गरेको भए अरु विद्यार्थीमा समस्या नदेखिने बताउँछन् । बिहिबार एकै दिन पाँच छात्रा बेहोस भएर ढलेपछि विद्यालयले अभिभावकलाई बोलाएर जिम्मा लगाएको प्रअ पौडेलले बताउनुहुन्छ । “हिजो पढाउँदै गर्दै पाँच विद्यार्थी बेहोस भए, आज पनि दुई विद्यार्थीमा यो समस्या देखिएपछि हामीले अभिभावक बोलाएर जिम्मा लगायौँ, यहाँबाट दुई शिक्षिकासहित उनीहरू स्वास्थ्यचौकी पठाका छौँ”, उहाँले भन्नुभयो, “यो विषयलाई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएका छौँ ।” बिहीबार बिरामी परेका छात्राको स्वास्थ्य अवस्थामा अहिलेसम्म पनि सुधार आउन नसकेको शिक्षिका सरिता पौडेलले बताउनुभयो । अध्ययन गर्न विद्यालय गएका बालिका एक्कासी बिरामी हुन थालेपछि अभिभावकमा पनि त्रास छाएको छ । विद्यालयमा विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय १४ गतेदेखि सञ्चालन गर्ने विद्यालयले जनाएको छ । तीन दिनपछि पनि अरु विद्यार्थीमा समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिएर अगाडि बढ्ने प्रअ पौडेल बताउनुहुन्छ । “दिनदिनै विद्यार्थी बिरामी पर्ने थाले, तिज पनि नजिकिएको छ, त्यसले गर्दा १४ गतेसम्मका लागि विद्यालय बन्द गर्ने व्यवस्थापन समितिसँगको बैठकलले निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “१४ गते विद्यालय खोल्ने निर्णय भएको छ, त्यस बेलासम्म पनि अरु विद्यार्थीमा यही समस्या देखियो भने स्वास्थ्यकर्मीसँग पराशर्म लिएर थप निर्णय गर्ने छौँ ।”
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय समितिमा मनोनित गण्डकीका फोनिजकर्मीहरुलाई शुक्रवार पोखरामा सपथ ग्रहण एवम् बधाई ज्ञापन गरिएको छ। फोनिजको चितवनमा सम्पन्न सातौं अधिवेशनमा केही असहमति जनाएको गण्डकी प्रदेशका केही अग्रजहरुलाई संघीय समितिले मनोनित गराए पश्चात फोनिज गण्डकी प्रदेश समितिद्धारा आयोजित बधाई तथा लेखनवृत्ति पुरस्कार वितरण समारोहका प्रमुख अतिथि संघीय समितिका महासचिव मिलन लिम्बुले प्रमाणपत्र वितरणका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो। मनोनितमा संघीय समिति सदस्य एवम प्रदेश इञ्चार्ज एमबी आस्थामगर, संघीय समिति सदस्य एवम आमन्त्रित सचिवालय सदस्य दिल शिरिष, संघीय समिति सदस्य मिला दरै, संघीय समिति सदस्य कमला रानामगर र संघीय संगठन विभाग सदस्य इतराज गुरुङ(आशिफ)लाई महासचिव लिम्बुले सपथ ग्रहण गराउनुभएको हो। यसैगरी संघीय समितिले हुमबहादुर गुरुङलाई संघीय समिति सल्लाहकारमा मनोनयन गरेको छ। सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि महासचिव लिम्बुले महाधिवेशनमा कमिकमजोरी रहेता पनि अब फोनिजकर्मीहरुको बिचको एकता अझै सुदुढ हुने बताउनुभयो। केही समस्या भए पनि फोनिजको आन्तरिक आत्मसमिक्षाले एकतालाई थप सुदृढ गर्दै गण्डकी प्रदेश सशक्त ढंगले अभियानमा जुट्ने विश्वास व्यक्त गर्नुभयो। फोनिज गण्डकीले विगतदेखि उत्कृष्ठ कार्य, अभियानहरु गर्ने क्रममा पत्रकारहरुलाई लेखनतर्फ प्रोत्साहन गर्न लेखनवृत्ति प्रतियोगिता आयोजना गरी उत्कृष्ठलाई पुरस्कृत गर्नु उदाहरणीय कार्य भएको भन्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो। संघीय समितिका सल्लाहकार हुमबहादुर गुरुङले सपथ ग्रहण गर्नुभएका गण्डकीका फोनिजकर्मीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विगतमा उत्पन्न भएका समस्याबाट पाठ सिक्दै फोनिजको मर्ममाथि कहिकतैबाट प्रहार हुन नहुने र भुगोलको प्रतिनीधित्वलाई सुनिश्चित गर्न विर्सन नहुने बताउनुभयो।उहाँले फोनिजकर्मीहरुलाई कलम चलाउन प्रोत्साहन गर्न लेखनबृत्ति प्रतियोगिता आयोजना गरिएकोमा सहभागी र उत्कृष्ठ लेखनलाई बधाई एवम् धन्यवाद व्यक्त गर्नुभयो। सपथग्रहण पश्चात फोनिज गण्डकी प्रदेश इञ्चार्ज एमबी आस्थामगरले गण्डकीका फोनिजकर्मीहरुको एकता,फोनिजको अभियान सफल बनाउन र फोनिजको मर्मलाई गण्डकीका फोनिजकर्मीहरु इमान्दारपुर्वक जुटिरहने बताउनुभयो। कार्यक्रममा फोनिज गण्डकीले संघीय सल्लाहकार, समिति र विभागमा मनोनित हुनुभएको फोनिजकर्मीहरुलाई बधाई एवम सम्मान गरिएको थियो भने कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा नं.९को वडाध्यक्षमा निर्वाचित फोनिज कास्कीका कोषाध्यक्ष रमेश गुरुङलाई बधाई तथा सम्मान र फोनिज स्थापना दिवसमा आयोजित लेखनवृत्तिमा उत्कृष्ठ रीता गुरुङ, गोविन्द थापा मगर, श्याम राना मगर र विकास रोका मगरलाई नगदसहित पुरस्कृत गरिएको थियो। कार्यक्रममा सम्मानित वडाध्यक्ष रमेश गुरुङ र लेखनवृत्ति पुरस्कृत गोविन्द थापाले फोनिज गण्डकीले आयोजना गरेको लेखनवृत्तिलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए । कार्यक्रम फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगरको अध्यक्षता कोषाध्यक्ष रत्ना गुरुङको स्वागत र सचिव सुसान्त गाहा मगरको संचालनमा सम्पन्न भएको थियो ।
महोत्तरी । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहान महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित नेपाल र भारतको दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद गरेको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ वेवारिसे अवस्थामा ६० बोरा चिनी प्रहरीले बरामद गरेको हो । रातिको मौका छोपी भारतबाट नेपाल भित्र्याउनका लागि दशगजा क्षेत्रमा जम्मा गरेको ६० वटा बोरामा ३० क्विन्टल चिनी तस्करले गन्तव्यमा पुर्याउन सफल हुन नसक्दा आज बिहान सीमा सुरक्षा गस्तीमा गएका संयुक्त प्रहरी टोलीले उक्त चिनी बरामद गर्न सफल भएको प्रहरीको भनाइ थियो ।बरामद गरिएको चिनी जिल्लाको भिट्ठामोडस्थित मूल भन्सार कार्यालयमा बुझाइएको छ ।
बेनी । हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान । अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ । खोप्रा–खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक भेडापालन पनि हुँदै आएको छ । यिनै गोठमा भेटिनुहुन्छ ७८ वर्षीय लालवीर तिलिजा । पाउद्वार गाउँका बासिन्दा रहनुभएका तिलिजाले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर तिलिजाको जाँगर घटेको छैन । भेडीगोठसँगको उहाँको सामिप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाउनुभएका तिलिजा बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन । बेंशीका फाँटदेखि पहाडका पाखा पखेरा हुँदै हिमालका बुकीसम्म भेडीगोठ राख्ने र भेडा चराउने काममा तिलिजाको जीवनको करिब ७० वर्ष बढी समय बित्यो । छ वर्षको उमेरदेखि नै बुबा आमासँग गोठ बस्नुभएका तिलिजालाई औपचारिक शिक्षा लिने अवसर मिलेन । बुबा आमासँग गोठमा बस्दै गर्दा आफूलाई समेत गोठप्रतिकै लगाब बढेपछि बाबुले गरेकै पेसालाई जीवनभर अँगालेको तिलिजाले बताउनुभयो । “मैले थाहा पाएसम्म हाम्रो जिजु, बाजे, बुबा हुँदै मसम्म आइपुग्दा चार पुस्ताले नै भेडापालन गर्यौँ, मैले भेडापालनबाटै परिवार धाने, छोराछोरीलाई पढाएँ, उनीहरुको रहरअनुसारको देशमा रोजगारको लागि पठाएँ, गोठमै बसेर गरेको आम्दानीबाट सन्तुष्ट छु”, तिलिजाले भन्नुभयो । भेडापालनबाटै कमाएको पैसाले साइला छोरा जापान, जेठा छोरा बेलायत पठाएको तिलिजाले सुनाउनुभयो । “चार छोरा, पाँच छोरी छन्, उनीहरु सबैलाई विद्यालय तहको शिक्षा दिएँ, उनीहरुकै इच्छाअनुसार कतिपयलाई लाखौँ खर्च गरेर विदेश पनि पठाएँ, उनीहरुले र मैले कमाएको पैसाबाट पोखरामा घर पनि जोडेको छु, श्रीमती र कान्छा छोरा अहिले पोखरा बस्छन्, माइला छोराले वडाध्यक्ष जितेर गाउँको नेतृत्व सम्हालेका छन्”, उहाँले पारिवारिक अवस्था सुनाउनुभयो । तिलिजाको गोठमा अहिले करिब तीन सय भेडा छन् । गोठको खर्च र हेरालुको ज्याला कटाउँदा वर्षमा रु १० देखि ११ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उत्पादन गर्न सके बिक्रीका लागि बजारको अभाव नभएको उहाँको भनाइ छ । “जनैपूर्णिमालगायतका पर्वमा पूजाका लागि साँडहरु किन्न ग्राहक गोठमै आउँछन्, चाडपर्वको लागि मासु खानका लागि पनि गोठबाटै भेडा किन्न गाउँले आइपुग्छन्, बरु किन्नेले खोजेजति बिक्री गर्ने भेडा उत्पादन गर्न नै सक्दैनौँ”, तिलिजाले भन्नुभयो । गोठका उकाली ओरालीमा सात दशक समय बिताउनुभएका तिलिजालाई भेडीगोठ बस्ने धित अझै मरेको छैन् । भर्ती हुने र लाहुर जाने सपनामा केही वर्ष भेडीगोठबाट बाहिरिए पनि सफल नभएपछि पुनःभेडापालनमै फर्किएको उहाँले बताउनुभयो । “एक गोठको भेडाको पैसा दलालले खाइदियो, त्यतिबेला रु ८६ हजारमा भेडीगोठ बेचेको थिएँ, बम्बइसम्म पुर्र्याएर दलालले सबै पैसा खाइदियो, १० महिना त्यहाँ बस्दा पनि विदेश पठाउने निधो नभएपछि फेरि गाउँ फर्किएँ र भेडापालनकै इलममा लागेँ”, तिलिजाले आफ्नो सङ्घर्षका उतारचढाव सुनाउनुभयो । विदेशमा रहेका छोराछोरीले गोठबाट विश्राम लिएर आरामदायी जीवनयापन गर्न सुझाव दिने गरेको बताउँदै उहाँले आफ्नो हातपाखुरा चल्दासम्म गोठ छाड्न मन नलागेको बताउनुभयो । तिलिजाले बर्खायाममा खयरखोला हुँदै अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको फेदीसम्मै भेडीगोठ पुर्याउने भएपनि हिउँदयाममा खोप्राडाँडा हुँदै पाउद्वार र पर्वतको लेसपारका बेंशीका फाँटसम्म गोठ झार्ने गर्नुभएको छ । “बाघ र चट्याङको डर भेडीगोठमा भइरहन्छ, केही वर्षअघि चट्याङ लागेर एकैपटक ६२ वटा भेडा मरे, बाघले वर्षमा एक÷दुई वटा भेडा खान्छ, भेडीगोठको सुरक्षामा हामी गोठालासँगै कुकुर हेरालुकै भूमिकामा हुन्छन्”, उहाँले भन्नुभयो । चार पुस्ताले गर्दै आएको भेडापालन आफूपछिको पुस्ताले छाड्ने चिन्ता तिलिजामा छ । तर अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्षसमेत रहनुभएका तिलिजाका छोरा राजेश तिलिजाले बुबाले गर्दै आएको भेडापालनलाई आफूले पनि निरन्तरता दिने सोच बनाएको बताउनुभयो । “अघिल्लोपटक वडा सदस्य र कार्यवाहक वडाध्यक्ष भएर काम गरेँ, यो कार्यकालमा वडाध्यक्षमा निर्वाचित भएर काम गरिरहेको छु, जनप्रतिनिधिको भूमिकाबाट बाहिर आएपछि भेडापालनलाई नै अगाडि बढाउने योजना बनाएको छु”, वडाध्यक्ष तिलिजाले भन्नुभयो । बुबालाई भेडापालनबाट विश्राम लिन सुझाव दिए पनि उहाँले भेडीगोठमै आफूलाई आनन्द रहेको बताउँदै पारिवारिक आग्रहलाई इन्कार गर्ने गरेको उहाँले बताउनुभयो । पहिलेको तुलनामा भेडापालन घट्दो र भेडाको माग बढ्दो क्रममा रहेको बताउँदै उहाँले युवापुस्ताले गोठ बस्न नरुचाउने भएकाले भेडापालनको पेसा पुस्तान्तरण हुन नसक्ने अवस्थामा पुगेको अनुभव सुनाउनुभयो । खयर क्षेत्रमा भेडापालनको सम्भावना रहेको बताउँदै वडाध्यक्ष तिलिजाले पछिल्लो समय केही युवा यस पेसामा आबद्ध हुन थालेको जानकारी दिनुभयो । पाउद्वार गाउँका २१ वर्षीय युवा प्रकाश पुन एक वर्षदेखि भेडापालनका लागि भेडीगोठ बस्न थाल्नुभएको छ । शिख माविबाट कक्षा १२ उत्तीर्ण गरेपछि दुई वर्ष भैँसीपालन गर्नुभएका पुनले एक वर्षदेखि साझेदारीमा भेडापालन गर्न थाल्नुभएको हो । स्थानीय कमल तिलिजा र कुमार पाइजासँग पुनले खयर क्षेत्रमा साझेदारीमा भेडापालन गर्नुभएको छ । “हाम्रो गोठमा तीन सय भेडा छन्, भेडा र साँड उत्पादन गर्न सके जति पनि बिक्री हुन्छ, म भर्खरै यो पेसामा लागेको हुँ, अझै आम्दानी गर्ने अवस्था आइपुगेको छैन, अरु साथीहरुले एकै पटकमा तीन÷चार लाख रुपैयाँको भेडा बिक्री गर्नुहुन्छ”, पुनले भन्नुभयो । पुनका साथि कमलले नौ वर्षदेखि र कुमारले तीन वर्षदेखि भेडापालन गर्दै आएका छन् । अरुको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउन मन लागेर भेडापालनमा लागेको पुनले बताउनुभयो । अहिले खयर क्षेत्रमा तीन वटा ठूला गोठ छन् । ती भेडीगोठमा करिब एक दर्जन घरपरिवारले साझेदारीमा भेडापालन गर्छन् । एक हजार पाँच सयवटा भेडापालन हुँदै आएको खयर क्षेत्रमा भेडापालन गर्दै आएका स्थानीयले जनैपूर्णिमाको अवसरमा मात्रै १० देखि ७० वटासम्म भेडा र साँड बिक्री गर्दै आएका छन् । यसपटकको जनैपूर्णिमा मेलामा मात्रै स्थानीय भेडापालक कृषकले दुई सय ५० बढी भेडाका साँडको बिक्री गरेका थिए । खयर क्षेत्रमा अन्नपूर्ण गाउँपालिका–१ दोबाका धन पुर्जालेसमेत वैदेशिक रोजगारलाई त्योगेर भेडापालन सुरु गर्नुभएको छ । बाह्र वर्षसम्म विदेशमा पसिना बगाउनुभएका पुर्जाले तीन महिनादेखि १७२ वटा भेडा खरिद गरेर व्यावसायिक भेडापालन सुरु गर्नुभएको हो । ‘‘पहिले पनि गाउँमा पुख्र्यौली भेडापालन गर्थे, भेडीगोठ बेचेर साउदी गएँ, त्यहाँबाट फर्किएपछि मलेसियामा पनि गएँ, तर सोचेजस्तो कमाइ भएन, बरु यतै केही गरौँ भनेर भेडापालन पेसामै फर्किएको पुर्जाले भन्नुभयो । हिमाली क्षेत्रमा पालन गरिएका भेडाको खरिदका लागि सहरी र ग्रामीण क्षेत्रका उपभोक्ता गोठसम्म पुग्ने गरेका छन् । विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेडीगोठ नै पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका–८ नाँगीका हेमबहादुर तिलिजा पुनले बताउनुभयो । यस क्षेत्रमा घुम्ती गोठकारुपमा भेडापालन हुँदै आएको छ । खासगरी लेकाली क्षेत्रको चरनमा हुर्कने भएकाले मासुका लागि भेगीगोठका भेडाको माग अत्यधिक हुने गरेको छ । परम्परागतरुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।