पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  बागलुङ । पहाडको टुप्पोमा छ मुठाचौर, यहाँभन्दा माथि कुनै बस्ती छैन ।    तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ ।    तमानखोलाको मत्वपूर्ण पर्यटकीयस्थल बराह ताल नजिकै रहेको मुठाचौरमा माटो, ढुङ्गा र काठले बनेका घर छन् । त्यस वरपर रहेको समथर भूभाग, मकै, आलु फल्ने बारीहरुले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । अझ यहाँबाट देखिने दर्जनौँ हिमश्रृङ्खला र अनेकौँ दृश्यले यहाँको प्राकृतिक वातावरणलाई मनोरम बनाएको छ । यस ठाउँमा करिब एक सय घरपरिवार बसोबास गर्दै आइरहेका छन् ।    हरेक वर्ष स्थानीय उनीहरु पाँच महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । मुठाचौर माथिल्लो क्षेत्र ९लेक०मा पर्छ भने भयरबोङ्गा, कटेरी गाउँ केही तल पर्छ । यहाँका अधिकांश नागरिक पशुपालन र खेतिपातीमै व्यस्त छन् । यो ठाउँ प्राकृतिक रुपले सुन्दर भए पनि सडक, विद्युत्लगायत विकासका पूर्वधारले जोडिन नसक्दा ओझेलमा परेको स्थानीय चूणामणि छन्त्याल बताउनुहुन्छ ।   “यहाँका स्थानीय बर्खाको समय मुठाचौर बस्छन्, हिउँद लाग्यो भने बेसी झर्छन्, हिउँदमा हिउँ पर्छ, जाडो हुन्छ, बर्खामा पशु पाल्न पर्यो, त्यसले गर्दा यहाँ आउँछन्, यहाँ घाँस राम्रो हुन्छ, चरन क्षेत्र पनि धेरै छ, यो ठाउँ निकै राम्रो छ, तर यहाँ अहिलेसम्म विकास आउन सकेको छैन”, छन्त्यालले भन्नुभयो, “मोटरबाटो र बिजुली आएको भए यो ठाउँ निकै चर्चित हुन्थ्यो, पर्यटकलाई भित्र्याउन सकिन्थ्यो, यहाँ अहिले पनि खानेपानी चरम अभाव छ, भूगोलले पनि ठगेको ठाउँ प¥यो, अब विकास होला ।”   बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य छन् । उनीहरुले भाँङ (सुकेको निगालो), दियालो र टुकी बालेर रात बिताउन बाध्य भएको छन्त्यालले बताउनुभयो । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको उहाँको भनाइ छ । यहाँसम्म पुर्याउन भौगोलिकरुपले निकै कठिनाई रहेको उहाँले बताउनुभयो । तीनै तहका सरकारले चासो देखाए मुठाचौरले मुहार फेर्न धेरै समय नलाग्ने उहाँ बताउनुहुन्छ ।   “अहिले पनि यहाँ बस्ने नागरिक टुकी र दियालोको भरमा रात कटाउँछन्, कुवा, पोखरी र आकाशे पानीको भरमा छन्, सडक र विद्युत् पुग्न अब धेरै नलाग्ला, अहिले कटेरीसम्म पुगेको छ, स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाए यस ठाउँको विकास गर्न कुनै समस्या छैन, अलिकति भूगोलका कारण समस्या हो”, उहाँले भन्नुभयो, “यसलाई विकास गर्नसके यो ठाउँ पर्यटकीय गाउँ बन्न सक्छ ।”   छन्त्यालले मोटरबाटोले जोड्न सके यहाँ उत्पादन भएका आलु, सिमीले राम्रो बजार पाउने बताउनुहुन्छ । सडक नभएकाले उत्पादन भएका कृषिउपज आफैँ उपभोग गर्नुको विकल्प छैन । स्थानीय खिमा रसाइलीले आफूहरु वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य रहेको बताउनुभयो । उहाँले सडक, विद्युत् र खानेपानी नहुँदा उपभोग्य सामान घोडा खच्चडमा बोकेर उपभोग गर्दै आएको बताउनुभयो । रसाइलीले सडक नहुँदा पालिकाको केन्द्र बोङ्गादोभानदेखि सामान बोकेर उपभोग गर्नुपरेको गुनासो गर्नुभयो । बर्खाको समयमा मात्रै यहाँ बस्ने हुँदा धेरै समस्या बोग्नुपरेको उहाँ बताउनुहुन्छ ।   “ यहाँ बस्ने भनेको बर्खामा मात्रै हो, बर्खामा सबै सामान बजारबाटै ल्याउनुपर्छ, हिलोले गर्दा घोडा खच्चड पनि हिँड्न सक्दैनन्, त्यसले गर्दा मान्छेलेनै नुन, तेल र चामल बोकेर ल्याउनु पर्छ”, रसाइलीले भन्नुभयो, “खानेपानीको समस्या पनि निकै छ, आकाशको, पोखरीको पानी खानु पर्छ, मोटरबाटो आए त निकै सजिलो हुन्थ्यो हो, गाडीले सामान ल्याउँथ्यो होला, यहाँ फलेका आलु, सिमी पनि बजार झार्न सजिलो हुन्थ्यो होला, बिजुली बत्ति कहिले आउला यो ठाउँमा ?”   स्थानीय असारदेखिनै मुठाचौर जान सुरु गर्छन् भने असोज कात्तिक लाग्नासाथ गाउँ झर्ने गर्दछन् ।    मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्ने गर्दछन् । गाउँपालिकाले कटेरी गाउँको शिरसम्म मोटरबाटोले जोडे पनि मुठाचौरसम्म पुर्याउन सकेको छैन । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले मुठाचौर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएको भन्दै यसको विकासका लागि गाउँपालिका लागि परेको बताउनुभयो । अध्यक्ष बुढामगरले मुठाचौरको विकासका लागि पालिकाले योजना बनाएर क्रमागत रुपमा विकास गरीरहेको बताउनुहुन्छ । यस ठाउँका नागरिकलाई आवश्यक पर्ने सबै खाले विकासका पूर्वाधार निर्माण गर्न सुरु भएको उहाँको भनाइ छ ।   “मुठाचौरको विकास हाम्रो मुख्य प्राथमितामा छ, सबै विकास निर्माणका लागि हामीले कामको सुरुआत गरेका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो । अध्यक्ष बुढामगरले यहाँ आधा वर्ष मात्रै नागरिक बसोबास गर्ने भएको हुँदा पूर्वाधारले जोडिन ढिला भएको भन्दै केही समयमै विकासका पूर्वाधारले जोडिने बताउनुभयो । मुठाचौरमा पर्यटकलाई आकर्षण गर्नसके यहाँका नागरिकको जीवनस्तर उकासिने भन्दै मुठाचौर नजिकै रहेको बराहतालको विकासमा समेत आफूहरु जुटेको उहाँको भनाइ छ । बराह ताल र त्यहाँ रहेको मन्दिर पुनःनिर्माण भएको र आन्तरिक पर्यटक पनि बढ्न थालेको भन्दै अध्यक्ष बुढामगरले अब मुठाचौरमा पूर्वाधार निर्माण गरे ‘होम–स्टे’ सञ्चालन गर्ने बताउनुभयो ।   “सबैभन्दा पहिले यहाँ सडक, विद्युत् र खानेपानीको व्यवस्थापन गर्छौं, अब यसलाई पर्यटकीय गाउँ बनाउने गरी काम गर्ने योजना बनाएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “केही समय लाग्ला तर मुठाचौर निकै आकर्षक गाउँ बन्ने छ ।”

  काठमाडौं । राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।   प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजन बिहानै स्नान एवं मन्दिर पूजा आराधना गरी फर्कने गर्छन् ।     शुक्रबार बेलुकी दीप प्रज्ज्वलन गरी बसेका भक्तजन र अन्य भक्तजनको पनि बिहानैदेखि इन्द्रदहमा स्नान गर्न भीड लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । इन्द्रदहको धार्मिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले सक्दो प्रयास गरेको उहाँले बताउनुभयो । थानकोटदेखि नै भक्तजनको भीड लाग्ने भएकाले शुक्रबारदेखि नै स्वयंसेवक खटाएर काम गरिएको नगरपालिकाले जनाएको छ ।   भाद्र शुक्ल चतुर्दशीका दिन वसन्तपुरमा इन्द्रजात्रा हेर्नेले बेलुकी बत्ती बाली जाग्राम बसेर आज बिहान पूर्णिमाका दिन स्नान गर्नुपर्ने धार्मिक विधि छ । भक्तजनका लागि सुविधा होस् भन्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्ने गरेको छ ।   देवराज इन्द्रसँग जोडिएको पौराणिक कथाका आधारमा यहाँ प्रत्येक वर्ष मेला लाग्ने गरेको छ । कथाअनुसार स्वर्गबाट फूल चोर्न आएका इन्द्रलाई राजधानीका वसन्तपुर क्षेत्रमा समातिएको थियो । इन्द्रलाई छुटाउन उनकी आमा पनि स्वर्गबाट यहाँ आएको किम्वदन्ती छ । जसलाई यहाँका मानिसले आफूसँगै स्वर्ग लगे छोडिदिने वचन दिएका थिए ।    वसन्तपुरबाट स्वर्ग जान इच्छुकलाई लिएर हिँडेका इन्द्रले भाद्र शुक्ल पूर्णिमाका दिन बिहान इन्द्रदहमा स्नान गर्नुभएको थियो । इन्द्रसँगै आएका मानिस पनि स्नान गरिरहेका बेलाको मौका छोपी इन्द्र र आमा स्वर्ग गएको भनाइ विशेष गरी बूढापाकाले सुनाउने गरेका छन् ।    त्यसबेला वसन्तपुरका स्थानीयवासी भने त्यहीँ स्नान गरी घर फर्किएका थिए । यसै सम्झनामा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बत्ती बाल्ने र स्नान गर्ने भक्तजन फर्केका थिए  । यहाँको मेलामा काठमाडौँ उपत्यकाका साथै वरपर जिल्लाका स्थानीयवासी पनि सहभागी हुने गरेका छन् ।        कोरोना महामारीका कारण विगतका दुई वर्ष कम भक्तजन आएकामा यस वर्ष भने धेरै भक्तजन इन्द्रदह आएको नगरपालिकाले जनाएको छ । यहाँ कालु पाँडेको समाधिस्थलसमेत रहेकाले यस क्षेत्रलाई पर्यटकीय ठाउँका रुपमा विकास गरिएको नगर प्रमुख गिरीले बताउनुभयो ।

  नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालले आर्थिकरुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ ।   त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिकरुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्करुपमा उपलब्ध गराउन सुरु गरिएको हो ।   त्यस्ता बिरामीको लागि रगत परीक्षणबापत लाग्ने शुल्कसमेत नलाग्ने अस्पतालका मेसु डा पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रगतको समूह परीक्षण र प्रशोधनबापत प्रतिपिन्ट रु आठ सय ५० शुल्क लाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्ग, सवारीलगायतका विभिन्न दुर्घटनामा परेका व्यक्तिको लागि सेवा निःशुल्क गरिएको हो ।   त्रिशूली अस्पतालमा कोरोना र डेङ्गु रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएको छ । अबदेखि लक्षित वर्गको लागि रगतको परीक्षण र रगतसमेत निःशुल्क उपलब्ध गर्न थालिएको हो ।

  कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ ।        राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको रु १० लाखको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गर्नुभएको हो ।        गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले घरमै रहेका बेला मीनालाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चबापत रु ५० हजार रकम उपलव्ध गराएको थियो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्तिवापतको रकम उपलव्ध गराउने प्रावधान छ ।

  कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।   आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताउनुभयो । काम छ भन्दै एकान्तमा बोलाई जबरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ ।    ती किशोरी सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ । बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको प्रहरीले देखेपछि उपचारका लागि अस्पतालसम्म पुर्याएको प्रनाउ शाहीले बताउनुभयो ।    “भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो । त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्”, प्रनाउ शाहीले भन्नुभयो, “केही समयको उपचारपछि उनको होस खुल्यो, उनलाई आफन्तको जिम्मा लगायौँ ।”    बलात्कृत किशोरीले आज बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र पीडित बालिकाको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

  पोखरा । पोखरामा सवारी साधन अनुमति पत्रको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।    यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्की गण्डकी प्रदेश, कास्की पोखराबाट सञ्चालन गरिएको वर्ग ‘के’ स्कुटरको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।    भदौँ २२ गते सञ्चालन भएको उक्त परिक्षामा तनहुँ भानु नगरपालिका वडा नं. २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षा दिने जिल्ला मकवानपुर घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा प्रकाउ परेका हुन ।  साथै उक्त परिक्षा दिन लगाउने भानु नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ को निरा रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए ।  दोषीलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ  ।  

  काठमाडौँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ ।         औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् ।        उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ ।       काठमाडौँ उपत्यका लगायत देशका अन्य जिल्लामा दैनिक डेङ्गुका बिरामी बढिरहेका छन् । अहिलेसम्म छ हजारभन्दा बढी डेङ्गुका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ  । डेङ्गुका प्रकोप बढ्न थालेपछि सर्वसाधारणले पनि घरमा सिटामोल किनेर राख्ने गरेका छन् । यसले पनि सिटामोलको अभाव भएको बताइएको छ ।  मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार मण्डलले बजारमा सिटामोलको अभाव नभएको बताउनुभयो ।       शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा श्रवणकुमार मण्डलले डेङ्गुका बिरामीलाई उच्च ज्वरो आउने र ज्वरो कम गर्नका लागि सिटामोल खानुपर्छ भन्नुभयो ।  धेरै नै ज्वरोका बिरामी बढेकाले सिटामोलका माग बढेर अभाव भएको हुनसक्ने उहाँको भनाइ छ ।          नेपाल औषधि व्यवस्था विभागका निर्देशक भरत भट्टराईले सिटामोल पाइएन भन्ने गुनासो सुनेको बताउनुभयो । “डेङ्गु बढेसँगै एक÷दुई दिन अघि मात्र जनताले सिटामोल पाइनन् भन्ने सुनेको छु”, उहाँले भन्नुभयो, “सिटामोलको अवस्था के हो भन्नका लागि औषधि उत्पादक सङ्घलाई आइतबार बोलाएर छलफल गर्ने छु ।” उहाँले सङ्कटको बेला औषधिको मूल्य बढाउनका लागि अभाव सिर्जना गर्न थालिएको हुनसक्ने बताउनुभयो ।        उहाँले महामारीको बेला सिटामोलजस्तौ औषधिको अभाव हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले औषधि उत्पादक सङ्घलाई बोलाएर तत्काल सिटामोल उत्पादन गर्न निर्देशन दिने बताउनुभयो ।    ५० लाख सिटामोल उत्पादन गर्दै     नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको बताउनुभयो । उहाँका अनुसार हप्ता दिनभित्रमा कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल औषधि उत्पादन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार  करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन थालिएको छ ।        अहिले पनि औषधि लिमिटेडसँग करिब १५ लाख ट्याबलेट मौज्दात रहेको उहाँको भनाइ छ । सङ्घका उपाध्यक्ष सन्तोष बरालले बजारमा सुनेको जस्तो सिटामोलको  अभाव नभएको बताउनुभयो । “मैले पनि बजारमा अभाव छ भन्ने सुनेको छु तर त्यस्तो सारै अभाव छैन । हामीले उत्पादन गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो ।        उहाँका अनुसार नेपालमा बार्षिक १० करोड ट्याबलेट सिटामोलको  माग रहेको छ । सङ्घले भने वार्षिक पाँचदेखि साढे पाँच करोड ट्याबलेट उत्पादन गरिरहेको छ ।

  मकवानपुर । मकवानपुरको चेपाङ बस्ती रहेको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा रु ४६ लाख १८ हजारको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।        राक्सिराङ–७ स्थित स्थानीय शङ्कर खोलामा एक सय १४ः३० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ । नेपाल सरकारको झोलुङ्गे पुल निर्माण क्षेत्रगत कार्यक्रमअन्तर्गत सो पुल निर्माण भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो ।          बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा तथा गाउँपालिका अध्यक्ष मल्लले संयुक्तरुपमा आज सो पुलको उद्घाटन गर्नुभएको हो । पुल निर्माण भएपछि राक्सिराङ–७ का दुई सय ५० घरधुरीका करिब दुई हजार जनसङ्ख्या लाभान्वित भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । विसं २०७८ वैशाखमा सो पुल निर्माण सुरु भएको थियो ।        सो अवसरमा राज्यमन्त्री प्रजाले चेपाङ समुदायको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोग पु¥याउनुपर्ने आग्रह गर्नुभयो । 

  राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो,“यसका लागि कारागार र  सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाइनुपर्छ । ”    किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा संयुक्त रुपमा  आज यहाँ आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्नुहुँदै उहाँले अध्ययन कागजमा छापिएका अक्षरबाट मात्र नहुने बताउनुभयो । जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने राष्ट्रपति भण्डारीको भनाई थियो ।   “समाज परिवर्तन, राष्ट्रको उत्थानका लागि नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति हुनुपर्छ, त्यसका लागि सुपठित हुनु पहिलो शर्त हो,  समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञान र सभ्यताको समृद्धि पनि हो”, उहाँले भन्नुभयो ।   अनेक भाषा वा भएको देशमा अन्य देशमा लगेर साहित्यलाई समृद्ध बनाउने फाउण्डेशनका प्रयत्न स्वागतयोग्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले साहित्यकार  ध्रुवचन्द्र गौतमको अथक साधना र संस्कृतिविद् सत्यमोहन जोशीको बहुआयामिकताको पनि प्रशंसा गर्नुभयो ।    कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो ।   शनिबारसम्म चल्ने जात्रामा करिब ६०  प्रकाशनगृहका पुस्तक प्रदर्शनीमा राखिएको छ । फाउण्डेशनका अध्यक्ष ऋषिराम अधिकारीले विगत पाँच वर्षअघिदेखि किताब जात्राको आयोजना गर्दै आएको जानकारी दिनुभयो । जात्राका अवसरमा पठन संस्कृति, नेपाली साहित्यलगायत विषयमा बहस पनि आयोजना गरिने जनाइएको छ ।