काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक शुभकामना सन्देशमार्फत सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यो पर्व देवराज इन्द्रको पूजाअर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी मनाउने गरिन्छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्रजात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने प्रचलन रहेको छ । प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उल्लेख गर्नुभएको छ । उहाँले यस पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गर्नुभएको छ ।
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सो पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता मौलिक सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको पनि उल्लेख गर्नुभएको छ । राष्ट्रपतिको सन्देशमा कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ । यो पर्व देवराज इन्द्रको पूजाअर्चनाका साथै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने प्रचलन रहेको छ । काठमाडौँको वसन्तपुरमा भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर इन्द्र जात्रा शुभारम्भ हुन्छ भने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेर जात्रा समापन गर्ने चलन रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि सहकालका देवता इन्द्रप्रति कृज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्दछ ।
काठमाडौँ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको ‘भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । अनन्त चतुर्दशी भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा, आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।
मलेखु । नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरू मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ राष्ट्रिय पर्व हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपमा परिचित यो पर्वमा आफ्ना कुलभरिमा मानिस मुल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ । “नयाँ बाली पाकेपछि पितृलाई नबुझाइ खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ”, धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङले भन्नुभयो, “नयाँ बाली पितृलाई नबुझाइ र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कुल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ ।” चेपाङ समुदायले आफ्नो प्रमुख चाडको रुपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन् । भदौमा नयाँ अन्नवाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री (पान्दे)हरुले एकपाखे ढ्याङ्ग्रोे ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ । “पितृ नबुझाइ र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ”, चेपाङ सङ्घ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्धव चेपाङले भन्नुभयो, “यो पर्वमा झाँक्री बसेर रातभर सिमेभुमे फालाकेर मात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो ।” छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन् । ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ । चेपाङले न्वागी पर्वलाई ‘पान्देई घ्यासा’ चाड पनि भन्छन् । भेला भएर ढ्याङ्ग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने चेपाङ सङ्घ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले बताउनुभयो । वारनामा कोही चेपाङ काममा निस्कँदैनन् । यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बुधबार रातभर ढ्याङ्ग्रोमा फलाकेर बिहान न्वागी पूजा सम्पन्न भएको छ । चेपाङको न्वागीमा पहिलोपटक सार्वजनिक बिदा यस्तै चेपाङ सङ्घले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल्य क्षेत्रमा न्वागी मनाउँदै आएका छन् । यो वर्ष चितवनमा मनाएका छन् । न्वागी मनाउन धादिङ, चितवन र मकवानपुरमा सरकारले बुधबार सार्वजनिक बिदा दिइएको थियो । न्वागी मनाउन सार्वजनिक बिदा दिइएको यो नै पहिलो वर्ष हो । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । महाभारत पर्वत शङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङहरूको घना बसोबास छ । राष्ट्रिय जनगणना विसं २०६८ अनुसार चेपाङ जातिको जनसङ्ख्या ६८ हजार तीन सय ९९ जना रहेको छ । यो समुदायको जनसङ्ख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको तथ्याङ्ककले देखाएको छ । चेपाङ भाषाबाटै ‘धादिङ’को नाम धादिङ जिल्लाको नाम पनि चेपाङ (प्रजा) भाषाबाटै राखिएको भन्ने कथन छ । चेपाङले ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी देउता’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो”, चेपाङ सङ्घ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्धव चेपाङले भन्नुभयो । चेपाङहरू पहिलादेखि नै यहाँ बसोबास गरेको र उनीहरुले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि यसै जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ । चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भिरपहरा आदिको नाम चेपाङ भाषाबाटै राखिएका छन् ।
बागलुङ । कतै सडक खन्दाको समस्याले जमिन खस्छ, पहिरो जाने धेरै घटना छन् तर, बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्ती नै बग्न थालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित भएका छन् । केही दिनदेखि जमिनमा चिरा परेको र मङ्गलबारको अविरल वर्षापछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जङ्गल, ठूला पिपलका रुख, सुन्तलाको बगान, कुखुरा पालन फार्म र कतिपय घरमा चिरा परेका छन् भने केही घर र गोठ भत्केका छन् । “घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।” केही दिनदेखि जमिन चर्केकामा बुधवार बिहान बढी पहिरो खसेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । यो बस्तीका बिजुलीका खम्बा ढलेपछि झण्डै एक सय घरमा बिजुली अभाव भएको उहाँले बताउनुभयो । खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीय चिन्तामा छन् । पहिराले बिजुलीका खम्बा ढल्दा ती घरमा विद्युत् अवरुद्ध भएको गौतमले जानकारी दिनुभयो । उक्त पहिराले स्थानीय कुलराज शर्मासहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिनुभयो । जमिन चिरा परेको स्थान हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उहाँले बताउनुभयो । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको हो । “यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिम भयो, अब धेरै घर विस्थापित हुने भए”, पौडेलले भन्नुभयो, “कतै रोकथाम गर्ने अवस्था नै छैन ।” हरेक बारीका पाटामा कुखुराले खोस्रेझै खाल्डा पर्ने र चिरा पर्दै बग्ने गरेको उहाँले बताउनुभयो । बगेको पहिराले जैमिनी नगरपालिका–१ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ । केही स्थानमा क्षति भइसकेको छ । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ । केही दिनदेखि परेको वर्षाले पहिरो खस्न थप सहयोग पुगेको इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । “तत्काल कुनै पनि उपायले पहिरो रोक्न सकिने अवस्था छैन”, गिरीले भन्नुभयो, “यो अनौठो तरिकारले सिंगो पहाड खस्ने अवस्था भयो ।”
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार पाँच सय १८ जनाले पिसिआर र दुई हजार आठ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा एक सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ । होम आइसोलेशनमा दुई हजार तीन सय ७०, संस्थागत आइसोलेशन एक सय तीन, सघन उपचार कक्षमा २२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७२, ललितपुरमा चार सय ३५ र भक्तपुरमा ३६ सक्रिय सङ्क्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको गाउँ पिलरीफाँटाका हरपाल चौधरीले तीन वर्षदेखि बर्खे बाली भित्र्याउन पाउनुभएको छैन । जङ्गली जनावरले खेतबारीमा पसेर धान, मकैलगायतको बाली खाइदिन थालेपछि परिवार पाल्न अन्यत्र मजदुरी गर्न जानुपरेको छ । वन संरक्षणमा जोड दिइएपछि बिरलै देखिने वन्यजन्तु हाल खेतवारीमा देखिन थालेका छन् । एक विघा जग्गामा लगाएको धानबाली जङ्गली हात्तीले भित्र्याउन नदिने गरेको चौधरीले बताउनुभयो । “हिउँद्मा सुँगुरले खेतबारीमा बसेर गहुँबालीमा क्षति पुर्याउँछ”, उहाँले भन्नुभयो, “वर्षात्का बेला हात्तीको बथानले खेतमा रोपेको धान सखाप पार्छ ।’’ पहिला वर्षभरि पुग्ने अन्नले अहिले दुई महिना पनि खान नपुग्ने गरेको उहाँको गुनासो छ । जङ्गली जनावर भगाउन रातभरि खेतमै जाग्राम बस्ने गरेको सोही ठाउँका वीरसिंह धामीले बताउनुहुन्छ । “हात्तीको बथान साँझ नपर्दै खेतमा पुग्ने गर्दछ, पेटभरि खाएर मात्रै फर्कने गर्दछ” उहाँले भन्नुहुन्छ, “भगाउँदा उल्टै आक्रमण गर्न आउने भएकाले कुन दिन ज्यान ज्याने हो ठेगान छैन, फलेको धान हात्तीले खाएर नोक्सान पु¥याउँदा टुलुटुलु हेर्नु बाहेक अर्को विकल्प छैन ।” एक साताअघि स्थानीय एक बालिकाको हात्तीले ज्यानै लिएको थियो । ‘‘पहिला पटका पड्काउँदा, आगो देखाउँदा, टिन ठटाउँदा हात्ती भाग्थ्योे” धामीले भन्नुभयो, “अहिले त जुनसुकै उपाय गर्दा पनि हात्ती भरपेट खाएर नअघाएसम्म फर्किन मान्दैन ।” साँझ खेतमा छिरेको हात्तीको बथान धान बाली खाएर बिहानीपख मात्रै सामुदायिक वन क्षेत्रमा फर्कने गरेको छ । स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा डेढ दर्जन हात्तीको सङ्ख्या रहेको छ । हात्तीलगायतका अन्य जनावर भगाउन बस्ती नजिकका क्षेत्रमा स्वचालित सेन्सरयुक्त बत्ती जडान गर्न लागिएको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । “केही सामुदायिक वनहरुले बत्ती जडानमा सहयोग गरिरहेका छन्” उहाँले भन्नुभयो, “केही वडाबाट बत्तीको व्यवस्था मिलाउन लागेका छौं, हात्ती बस्तीमा छिरेमा सर्वसाधारणलाई सचेत रहनका लागि खबरदारी गर्न पूर्व सूचना प्रणाली जडान समेत गरिएको छ ।” ठाउँठाउँमा सिसिटिभी जडान गरेर हात्तीको निगरानी गर्ने कार्य समेत हुँदै आएको छ । हात्ती भगाउन स्थानीय बासिन्दा खेतवारीमा खटिने भएकाले मानवीय क्षति हुन नदिन सचेतनाका कार्यक्रम सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको बथानले तीन साताको अवधिमै वडा नं ८ का २५ भन्दा बढी किसानको ३० विघा धान खेतीमा नोक्सानी पुर्याइसकेको छ । तीन विघा मकैमा पनि नोक्सानी गरेको छ । बाल विकास भवन, स्यालो टयुवेल, सामुदायिक वनको कार्यालयको भवनमा पनि हात्तीले क्षति पुर्याएको वडाध्यक्ष महराले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै नजिकका सामुदायिक वन आसपासका गाउँमा हात्तीको बथानले बढी क्षति पुर्याउँदै आएको छ । शुक्लाफाँटा नगरपालिका–७ र ८ का किसानको खेतबारीमा बढी नोक्सानी गरेको छ । हात्तीले कुल्चन बाँकी रहेको धानबाली सुँगुरको हुल आएर खाएर जाने गरेको छ । वर्षात् सकिएपछि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगतको नगरपालिकाको वडा नं १ देखि ६ सम्म वितण्डा निम्त्याउने गरेको छ । धान काट्ने बेला यी वडाहरुमा हात्तीको बथानले धानबाली खाने मात्र होइन, घरभित्र राखेको धानसमेत पर्खाल भत्काएर खाने गरेको छ । त्यसपछि हात्तीको बथान पुरानै बासस्थान भारतीय दुधुवा नेशनल पार्कतर्फ फर्कने गर्दछ । गहुँबाली पाक्नै लागेका बेला पुनः दुधुवाबाट फर्केर नोक्सानी गर्दै आएको स्थानीय नरेन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । तीन वर्षको अवधिमा हात्तीको आक्रमणबाट कञ्चनपुरमा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन । जङ्गली सुगुँरको आक्रमणबाट दुई वर्षको अवधिमा आठ जना घाइते भएका छन् । निकुञ्ज नजिकैको गाउँ सिमलफाँटा धनबहादुर चौधरी भने हात्ती भन्दा बढी निलगाई र चितलको बथानले खेतमा रोपेको धान बाली र गहुँबाली खाएर नोक्सानी पु¥याउने गरेको बताउनुहुन्छ । “गहुँ टुसाउन नपाउँदै जङ्गली जनावरले सखाप पार्छन्” उहाँले भन्नुभयो, “खेतवारीभित्रै सुगुँरले घोल बनाई बस्ने गर्दछन्, खेतमा लगाएको आधा अन्न पनि घरभित्र भित्र्याउन पाइँदैन ।” खेती गर्दा लगानी गरेको रकम समेत नउठ्ने गरेको उहाँको भनाइ छ । यसैगरी भारतीय वन क्षेत्र हुँदै नेपाली बस्तीमा छिर्ने हात्तीले दोधारा चाँदनी नगरपालिकाको वडुवाल टोलमा समेत किसानको बालीनालीमा नोक्सानी पु¥याउने गरेको स्थानीय किसानहरु बताउँछन् । केही महिनाअघि मात्रै शुक्लाफाँटा नगरपालिका –१ र २१ मा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका बाख्रा र घरमा पालेका कुकुर खाएर हैरानीमा पारेको थियो । निकुञ्ज क्षेत्रबाट नजिकका जानकी, लक्ष्मी, जनज्योति मध्यवर्ती सामुदायिक वनभित्र बस्ने गरेको चितुवाले नोक्सानी पुर्याउन थालेपछि स्थानीय बासिन्दाले चितुवालाई निकुञ्जमै भगाएका थिए । वन क्षेत्र नजिकै घर भएकाले कुन बेला कस्तो किसिमको वन्यजन्तुले आक्रमण गर्ने हो भन्ने चिन्ताले स्थानीयवासी सधैँ त्रसित बन्ने गरेका छन् । गत वर्ष वन क्षेत्र नजिकै दाउरा खोज्न गएका बासिन्दालाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो । हात्ती र सुगुँरले घर बस्तीमै पुगेर नोक्सान पुर्याउने र मानवीय क्षति गर्ने भए पनि अन्य जनावरसँगको मानवको द्वन्द्व भने वन क्षेत्रमै हुने गरेको छ । घाँस, दाउरा गर्न गएका बेला चितुवा, गैंडा, बाघलगायतका जनावरले आक्रमण गर्ने गरेको छ । जनसङख्या वृद्धिसँगै मानवीय आवश्यकता बढ्दै जाँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुको वासस्थान विनास, खानेकुराको अभाव र वन अतिक्रमण गर्ने क्रम बढ्दो रुपमा हुँदा वन्यजन्तु मानव बस्तीतर्फ जाने गरेको छ । वन्यजन्तु ओहरदोहर गर्ने जैविक मार्गमा मानव बस्ती बस्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व झन् बढ्न गएको वन संरक्षणको क्षेत्रमा क्रियाशील कालुराम डगौरा बताउनुहुन्छ । उहाँका अनुसार लालझाडी संरक्षण क्षेत्रभित्र पर्ने डोकेबजारको बसोवासले गर्दा भारतसँगको दुधुवा नेशल पार्कसँगको जैविक मार्ग टुटेको छ । ‘‘यस क्षेत्रमा बसोवास गर्ने बासिन्दालाई उचित व्यवस्थापन गरी अन्यत्र अन्तर्राष्ट्रियस्तरको जैविक मार्ग कायम गर्न सकिए नेपाल–भारतका वन्यजन्तुहरु स्वतन्त्र रुपमा हिंडडुल गर्न सक्ने थिए’’, उहाँ भन्नुहुन्छ । जैविक मार्ग टुटेकै कारण हात्तीलगायतका जनावरले मानव बस्तीमा पुगेर बालीनाली सखाप पार्ने, घर भत्काउने र मानवीय क्षति गर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताउनुभयो । “हात्ती भगाउन र जनधनको क्षति न्यूनीकरणका लागि नवीनतम् प्रविधि के हुन सक्छ भन्ने बारे स्थानीय प्रशासनसँग छलफल भइरहेको छ’’, उहाँले भन्नुभयो । तत्कालका लागि हात्ती नियन्त्रण गर्न पट्का पडकाउने, पूर्व सूचना प्रणालीलाई सक्रिय पार्ने कार्य गरिएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले वन क्षेत्र घना हुँदा वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । वन क्षेत्र संरक्षणमा टेवा पुगेपछि वन क्षेत्र नजिकका बस्तीका बासिन्दाले हात्ती र सुगुँरको समस्या झेल्नु परेको उहाँको भनाइ छ । “वासस्थानमा खलल पुगेपछि वन्यजन्तु बस्तीतर्फ सोझिन थालेका हुन्, निकुञ्ज नै अतिक्रमण गरेर बस्ती बसेको छ, विभिन्न बहानामा वन क्षेत्र मास्ने क्रम जारी छ, वन क्षेत्रमा बन्ने संरचना वन्यजन्तुमैत्री नहुँदा समेत समस्या छ” उहाँले भन्नुभयो । हात्तीबारे पूर्वसूचना दिनका लागि बेदकोट, शुक्लाफाँटा, लालझाडी र कृष्णपुरमा साइरन उपलब्ध गराइएको छ । जङ्गली हात्तीलगायतका बन्यजन्तु नियन्त्रणका लागि दुई वर्षअघि सुदूरपश्चिम प्रदेशको लगानीमा बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रमा मेसवायर जडानको कार्य समेत गरिएको छ । केही सामुदायिक वनले समेत बस्ती नजिकका क्षेत्रमा मेसवायर जडान गरेका छन् । मेसवायर जडान भएपछि सुँगुर, चित्तल, निलगाईलगायतका जनावर खेतवारीमा आउने क्रम रोकिए पनि हात्तीको आउने क्रम भने रोकिएको छैन । “रुखका हाँगालाई हात्तीले मेसवायर जडान गरेको क्षेत्रमा तेर्सो गरेर राख्ने र खुट्टाले कुल्चेर ढलाउने गरेको छ” वातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशीले भन्नुभयो, “मेसवायर ढलेपछि हात्ती बस्तीमा सहजै प्रवेश गर्दछ, केही वर्ष अघि मेसवारयर जडान भएपछि हात्ती बस्ती पसेको थिएन, अहिले हात्तीले नयाँ जुक्ति लगाएर मेसवायर ढलाएर बस्ती प्रवेश गर्न सिकेको छ ।” हात्ती लगायतका जङगली जनावरबाट बाली नाली जोगाउनका लागि वन क्षेत्र नजिकका बासिन्दाले वन्यजन्तुले मन नपराउने, नखाने बाली र जडीबुटीको खेती गर्नु पर्ने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अबस्थीले बताउनुभयो । “वन्यजन्तु प्रभावित क्षेत्रमा माछापालन, मौरीपालन लगायतका बैकल्पिक खेती गर्न सकिन्छ” उहाँले भन्नुभयो, “यसबाट किसानले नोक्सानी व्यहोर्नु पर्दैन ।” जनावरका आनिबानी बारे जानकारी भए मानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ । कञ्चनपुरका ७० प्रतिशत बस्तीहरु वन क्षेत्रका वरिपरि नै रहेका छन् । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुले वस्तीमा प्रवेश गरी स्थानीय जनताको जीउ धनको क्षति पुर्याउने कार्य गरे सामान्य घाइतेको प्रकृति हेरी बढीमा रु १० हजार, सख्त घाइतेका लागि बढीमा रु एक लाख, मृत्यु भएमा आश्रितका परिवारलाई रु पाँच लाखसम्म राहत रकम दिने प्रावधान रहेको छ । पशुधन क्षति भएमा भैंसी वा जोत्ने गोरुको मृृत्यु भएमा रु ३० हजारसम्म र अन्य पशुको हकमा बढीमा रु १० हजारसम्म राहत दिने प्रावधान रहेको छ । कञ्चनपुरमा कुल वन क्षेत्र ७८ हजार ७९७ हेक्टरमध्ये ४० प्रतिश अर्थात ३० हजार ५०० हेक्टर क्षेत्र वन निकुञ्जले ओगटेको छ । डिभिजन वन कार्यालयअन्र्तगत ४७ हजार २६२ हेक्टर (६० प्रतिशत) वन क्षेत्र संरक्षण गर्ने जिम्मा छ ।
काठमाडौं । गत जेठ महिनायता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठयता सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । “डेङ्गुको सङ्क्रमण पहाडसँगै तराईका जिल्लामा सबैतिर देखिन थालेको छ”, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले भन्नुभयो, “इवारस् रिपोर्टिङ विधिबाट जिल्ला अस्पतालसम्मको तथ्याङ्क सङ्कलन हुने गरेको छ ।” उहाँले पालिका र प्राथमिक स्वास्थ्य केन्द्रस्तरसम्मको डेङ्गु रोगको बिरामीको तथ्याङ्क अझ बढी रहे पनि सङ्कलन हुन नसकेको बताउनुभयो । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियनत्रणमा खटिएका चिकित्सकसहित कर्मचारीलाई आवश्यक प्रशिक्षण दिनुका साथै जाँचका लागि किट उपलब्धलगायतका कार्य गरिरहेको छ । “सङ्घको सशर्त अनुदानअनुसार डेङ्गु को लार्भा नष्ट गर्न पालिकास्तरमा बजेट आएको छ”, उहाँले भन्नुभयो, “यहाँका विभिन्न पालिकाले सो अभियान सञ्चालन गरिरहेका छन् ।” त्यसैगरी गर्मी क्षेत्रमा हुने डेङ्गुको सङ्क्रमण यहाँका पहाडी जिल्लामा समेत देखिन थालेको छ । निर्देशनालयको तथ्याङ्कानुसार कैलालीमा ४१, कञ्चनपुरमा ३२, डोटीमा १४, अछाममा सात, डडेल्धुरा र बैतडीमा नौ–नौ, दार्चुलामा ३३, बझाङ र बाजुरामा आठ–आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । निर्देशानालयका अनुसार डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि नागरिकहरु पनि स्वयं जिम्मेवार हुनुपर्ने छ । “असोज अन्तिमपछि सङ्क्रमण कम हुँदै जान्छ”, उहाँले भन्नुभयो, “लामाखुट्टे नष्ट गर्ने अभियान सञ्जालन गर्नुपर्छ ।”
चितवन । जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको छ । जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ । भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद्ध आन्दोलन गर्ने सङ्घले जनाएको हो । सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको भए पनि विभिन्न नाकाबाट बिना एलसी भारतीय केराहरु अवैधरूपमा नेपाल भित्रिने गरेको पाइएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । विज्ञप्तिमा भनिएको छ, “यो समस्या समाधान हुन नसके व्यवसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्ने छन् ।” चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले यहाँका कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन् । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भारतीय आयात रोक्न नसके जिल्लाको उत्पादन त्यसै फाल्नुपर्ने बताउनुभयो। नेपालमा छठपर्वसम्मलाई पुग्ने केरा उत्पादन भएको भन्दै उहाँले देशभरबाट भारतीय केरा आयात विरुद्धमा आन्दोलनको तयारी भएको बताउनुभयो ।नेपालमा उत्पादित केराले बजार नपाउने अवस्थामा कृषक आन्दोलित बन्नुपरेको महासङ्घले जनाएको छ । नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ ।