पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढवा दिनुपर्ने बताउनुभएको छ ।   नेपाल इँटा उद्योग महासङ्घको १४औँ वार्षिक साधरणसभाको सोमबार धनगढीमा उद्घाटन गर्दै उहाँले देशलाई आत्मनिर्भर बनाउन सरकारले आयात बढाउने र निर्यात घटाउने नीति लिएको बताउनुभयो ।    उहाँले बन्द रहेका उद्योग सञ्चालन गर्न सरकारले पहल गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।   मन्त्री बडूले इँटा उद्योगी व्यवसायीले देशको विकास र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो । इँटा उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उहाँको भनाइ थियो । इँटा उद्योगी व्यवसायीलाई सहुलियत दरमा बैंकिङ कर्जा प्रवाहको व्यवस्था गर्न सरकार लागि परेको उहाँले बताउनुभयो ।   सरकारले उत्पादनशील तथा रोजगारमुखी व्यवसायको विकासलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति रहेको उल्लेख गर्दै उहाँले उत्पादनशील उद्योग व्यवसायमा जोड दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । 

गलेश्वर  :  मगर संस्कृतिको धरोहर मानिने जयसिङ्गे राजा र हैमती रानीको स्मरणमा आधारित प्राचीन सोरठी नृत्य लोपलोपोन्मुख अवस्थामा पुगेपछि मगर समुदायका अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन् ।    जयसिङ्गे राजा र हैमती रानीको कथामा आधारित उक्त नृत्य मगर समुदायको मौलिक नृत्य हो । देवी, देउता, पौराणिक घटना र कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ । सोरठी गीतमा मानिसका दुःख, वेदना, समस्यालगायत चाडपर्वका शुभकामनालाई पनि लयवद्धरुपमा प्रस्तुत गरिन्छ । मगर समुदायमा सोरठी नाच विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत नाच्ने गरिन्छ । यो नाचलाई पुख्र्यौली नाच पनि भन्ने गरिन्छ । सोरठीमा पुरुषले महिलाको वेशमा कलात्मक ढङ्गले मादलको तालमा ताल मिलाएर नाच्छन् ।   महिलाको वेशमा सजिएका पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठीमा ठाउँअनुसार दुईदेखि तीनजना मारुनी बनेका हुन्छन् । त्यस्तै मादले पनि दुईदेखि तीन जना हुन्छन् । म्याग्दीमा पनि गाउँघरमा मगर समुदायमा चाडबाड, विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमासमेत नाच्ने गरिँदै आएको छ । जिल्लाको उत्तरी र पश्चिम भेगका मगर बस्तीमा पहिलेजस्तो सोरठी गीत र नाच छ्यापछ्याप्ती देख्न सकिँदैन ।सोरठी गाएर नाच्नुपूर्व सबै देवीदेवताको नाम लिएर तीन तालमा मादल ठोक्नुपर्ने मान्यता छ ।    यसैलाई सरस्वती उतार्ने पनि भनिन्छ । सोरठी नृत्यमा पहिले सरस्वती जगाइ सकेपछि मादलको तालमा नाच्ने गरिन्छ। परम्परागत मान्यताअनुसार चोखो हृदय भएको मान्छे तीन ताल मादल बजाउँदा हल्लिन्छ र उसलाई विधिपूर्वक थामथुम पारेर बसाल्नुपर्छ ।    सरस्वती पुज्ने, आँगन पुज्ने, मादल पुज्ने, आंशिक दिनेलगायतविधि पूरा गरेपछि मात्र सोरठी सुरु हुने म्याग्दी पुख्र्यौली सङ्घका अध्यक्ष थप्रसाद गर्बुजाले बताउनुभयो । गाउँ र ठाउँ अनुसार सोरठी गीतको लय र विधि पनि फरक–फरक हुने उहाँको भनाइ थियो । सोरठीमा गाउन र नाच्न मादले, मारुनी, पुरुसुङ्गेसहित कम्तीमा २० कलाकार आवश्यक पर्छ । मादलकै तालबाट मूल गायकको निर्देशनअनुसार अन्य कलाकारले गायनमा साथ दिने गर्छन् ।   सोरठीको अलिखित इतिहाँस   सोरठी नाच्ने र गाउँने चलन कसले र कहिलेदेखि चलाएको हो भन्ने कुराको इतिहास अलिखित छ । यो नाच पछिल्ला पुस्तामा हस्तान्तरण हुन नसक्दा भने बुढापाका चिन्ता व्यक्त गर्छन् । समयअनुसार गाइने सोरठी गीतको आफ्नै विशेषता छ ।   पछिल्लो समय मगर समुदायमा सोरठी नाच्ने र नाच्नका लागि गाउने गीत तथा कथा वाचन गर्ने जनशक्ति अभाव हुँदै गएको मालिका गाउँपालिका–४ च्युरीबोटस्थित दाजुङ खोलाख्याली सोरठीका अध्यक्ष बोमबहादुर पुनले बताउनुभयो । सोरठी संरक्षण र प्रवद्र्धन गर्न स्थानीय सरकारसँगै युवाले चासो दिन आवश्यक रहेको मालिकागाउँपालिका–४ स्थित नेपाल मगर सङ्घ इकाइ समिति ओखरबोटका अध्यक्ष तुलप्रसाद पुनले जानकारी दिनुभयो ।   सोरठीमा मारुनीले चोली, धरो, रुमाल, चुरापोते, टीका आदि लगाउने गर्छन् । ठाउँ अनुसार पुरुसुङे पनि मादले र मारुनीको साथमा नाच्दछ । पुरुसुङले दौरा सुरुवाल, स्टकोट लगाएका हुन्छ भने मारुनीले कम्पनी माला र शिरमा सेली पहिरिएका हुन्छन् ।सोरठी नाचमा दैवी शक्ति रहेको विश्वास गरिन्छ ।समाजमा सानो, ठूलो, जातभात, धनी ,गरिब नभनिकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको संरक्षण अभियन्ताले बताए  ।   युवा पुस्ताले यो नाच सिक्न चाहेर पनि समय अभावले पुस्तान्तान्तरण हुन नसकेको नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति अध्यक्ष डकमाया पाइजाले बताउनुभयो । जिल्लाका अधिकांश मगर बस्तीमा नाचिने यो नाच संरक्षण र प्रवद्र्धनका लागि अहिले मगर समुदायका युवा जुटेका छन् । युवा पुस्तामा मौलिक संस्कार हस्तान्तरण हुन आवश्यक रहेको उहाँको भनाइ थियो । “सोरठी मौलिक संस्कार संस्कृति मात्र नभइ हाम्रो पहिचान पनि हो । यसको संरक्षण र प्रवद्र्धनमा राज्यले चासो दिनुपर्छ,” अध्यक्ष पाइजाले भन्नुभयो ।   लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको सङ्गीत र लयको बारेमा पछिल्लो पुस्ताले सिक्न आवश्यक रहेको अधिवक्ता मनोज घर्तीगरले बताउनुभयो । “यो नाच नेपालकै परम्परागत नृत्य हो । नयाँ पुस्ताले यो नाच सिक्न आवश्यक छ,”उहाँले भन्नुभयो,“यसको संरक्षण र पुस्तान्तरणमा अग्रजले युवालाई पुराना ज्ञान सिकाउन जरुरी छ ।” जिल्लामा सोरठीको संरक्षण र प्रचारप्रसारका लागि केही सोरठी संरक्षण समिति बनेका छन् ।   समुदायमा प्रचलित सोरठी नाचको संरक्षण र जगेर्ना गर्नका लागि आफूले गाउँपालिकाबाट योजना बनाएर सहयोग उपलब्ध गराउने धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । “यो नाच मगरसमुदायको मात्र नभइ साझा मौलिक संस्कार हो”, उहाँले भन्नुभयो,“सोरठी नाच संरक्षण, जगेर्ना र प्रवद्र्धन गर्न सोरठी संरक्षण समितिसँग छलफल गरेर आवश्यकताअनुसार सहयोग गर्ने योजना बनाएको छु ।” जिल्लाका अधिकांश ठाउँमा अतिथिको सत्कारमा सोरठी नाच्ने गरिएको छ । सोरठी गाउने र नाच्नेलाई दान दिने र सोही दानले कलाकारले खर्च चलाउने चलन परापूर्वकालदेखि रहँदै आएको छ । 

  बागलुङ । बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा चार सय १८ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योगमा कृषि तथा वन पैदावर र हस्तकलामा आधारित भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा जिल्लामा उद्योगतर्फ  एक सय ५० र वाणिज्यतर्फका दुई सय ६८ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले जानकारी दिनुभयो ।    शर्माका अनुसार जिल्लामा एक सय ५० साना तथा घरेलु उद्योगले वस्तुको उत्पादन र बजारीकरणमा जोड दिने गरी दर्ता भएका छन् भने सोही आर्थिक वर्षमा दुई सय ६८ वस्तुको खरिद तथगा बिक्री, प्याकेजिङलगायतको कामका लागि दुई सय ६८ उद्योग दर्ता भएका हुन् ।        खासगरी बागलुङवासीले निजी तथा कृषि प्रवद्र्धनात्मक उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको शर्माको भनाइ । शर्माका अनुसार उद्योग दर्ता, वाणिज्य दर्ता, नामासरी, नवीकरण, ठाउँसरीबापत गत आवमा कार्यालयले रु २६ लाख ९४ हजार पाँच सय २५ राजस्व रकम सङ्कलन गरेको छ । यस्तै उद्योगतर्फ रु नौ लाख ६३ हजार छ सय ५०, वाणिज्यतर्फ राजस्व रु १६ लाख ८० हजार र तालिमका क्रममा उत्पादित वस्तु बिक्रीबाट रु ५० हजार राजस्व सङ्कलन भएको छ ।         “जिल्लामा खासगरी कृषिजन्य क्रियाकलाप, उत्पादन र बजारीकरण गर्ने, फर्निचर उद्योग सञ्चालन गर्ने र सिलाइबुनाइ पसल सञ्चालन गर्दै उद्योग बढी दर्ता भएका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय जिल्लामा उद्योग नै नगरी सञ्चालनमा आएका उद्योगसमेत सचेतनाका कारण धमाधम दर्ता भइरहेका छन्, हामीले उद्योग दर्ता, नवीकरण लागतको कामसँगै पदमार्ग, चौतारी र पार्कलगायतका संरचना रु ८१ लाखको लागतमा निर्माण सम्पन्न गरेका छौँ ।”   यस्तै गत आवमा दुई सय ६८ उद्योगको नवीकरण, पाँच सय १३ वाणिज्यतर्फका उद्योगको नवीकरण, ३८ उद्योगको नामसरी, २० वाणिज्यतर्फको उद्योगको नामसरी, चार उद्योगको ठाउँ सरी, तीन वाणिज्यतर्फका उद्योगको ठाउँसरी, २१ उद्योगको लगत कट्टा, ९५ वाणिज्य उद्योगको लगत कट्टा, पाँच उद्योगको नाम परिवर्तन, २१ वाणिज्य उद्योगको नाम परिवर्तन, १४ उद्योगलाई प्रतिलिपि, वाणिज्यतर्फका २६ उद्योगलाई प्रतिलिपि, १५ उद्योगको पुँजीवृत्ति र ५७ वाणिज्यतर्फका उद्योगको पुँजी वृद्धि गरिएको छ ।          गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले ३९ स्थानमा पार्क तथा पदमार्ग निर्माण गरिएको कार्यालयको भनाइ छ । गत आवमा कार्यालयले पदमार्ग, चौतारो तथा पार्क बनाउने, कोरोना प्रभावितलाई उपकरण, उद्यमशीलता विकास तालिम, कुशन बनाउने तालिम, क्रिष्टलका गहन बनाउने तालिम, झोला बनाउने तालिम, खेलौना बनाउने तालिम, प्लम्बिङ तालिम र सिलाइबुनाइ तालिम सञ्चालन गरिएको कार्यालय सूचना अधिकारी विष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कार्यालयले सहरमा मात्रै नभएर गाउँमा समेत पुगेर विभिन्न उद्योग तथा व्यवसायको विकास गर्नका लागि तालिम दिँदै आएको छ । 

  काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान अर्पण गरिएको हो ।   सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गर्नुभयो । यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । प्रधानसेनापति शर्मा र उहाँबीच अहिले भेटवार्ता भइरहेको छ । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आउनुभएको हो ।

  पोखरा​ । मुस्ताङको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको अपेक्षित उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ । पोखरा पर्यटन परिषद्द्वारा आइतबार पोखरामा आयोजित मुस्ताङ जिल्लाको पर्यटन प्रवद्र्धन तथा कोराला नाका विषयक अन्तक्र्रियामा वक्ताले पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि यहाँका सम्भावनालाई अझै पनि उजागर गर्न नसकिएको सहभागीले बताउनुभएको थियो  । सरोकारवाला निकाय तथा जनप्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उहाँहरुले मुस्ताङदेखि पोखरा हुँदै त्रिवेणीसम्म सडक सञ्जालले जोड्दै यहाँको पर्यटन प्रवद्र्धन गर्नसके स्वदेशी एवं पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राख्नुभयो ।      कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङलाई मुक्तिनाथ मन्दिरले मात्र चिन्ने गरिएको जनाउँदै त्यहाँका प्राकृतिक सम्पदा र संस्कृतिलाई बुझन बुझाउन जरुरी रहेको बताउनुभयो । “मुस्ताङ जिल्लाका सबै क्षेत्र डुलेपछि मात्र थाहा हुन्छ कि प्राकृतिक सम्पदाले कति धनी रहेछ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङको लोमङथाङ अझै प्रसिद्ध रहेको छ ।”       मुस्ताङको कोरालादेखि नवलपुरको त्रिवेणीसम्मको सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढाउन सङ्घीय सरकारसँग समन्वय गरी अघि बढिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “गण्डकी प्रदेशकै गौरवको योजना कोराला नाकादेखि त्रिवेणीधामसम्मको सडक जति छिटो सम्पन्न भयो त्यति नै यस क्षेत्रको विकास र आर्थिक उन्नति हुन्छ”, उहाँले भन्नुभयो ।       गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट उपल्लो मुस्ताङमा परापूर्वकालमा बनेका सम्पदा रहेको र ती सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न जरुरी रहेको बताउनुभयो । “मुस्ताङ जिल्ला प्राकृतिकरुपमा विश्व मै धनी छ तर ती सम्पदाको प्रचारप्रसार नेपाल सरकारले गर्न नसक्दा हामी पछि परेका छौँ”, उहाँले भन्नुभयो ।      “नेपालकै सबैभन्दा पुरानो गुम्बा मुस्ताङमा छ, माटोले बनेको  पर्खाल किन नहोस दरबार पनि यही नै छ, विश्वमा नै नपाइने शालीग्राम यही पाइन्छ”, उहाँले थप्नुभयो”, “मुस्ताङको माटो नै फरक छ ।” नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले मुस्ताङ जिल्ला नै प्राकृतिक सम्पदाको खानी भएकाले यसको प्रचारप्रसारमा कमी रहेको धारणा राख्नुभयो ।    मुस्ताङको घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङका पर्यटकको बसाई लम्ब्याउन मुक्तनाथ र मानसरोवर मात्र नभएर जिल्लाका प्राकृतिक सम्पदाको दृष्यावलोकन गराउन जरुरी भएको आवश्यकता औँल्याउनुभयो । “अहिले मुस्ताङ पुग्ने ९० प्रतिशत धार्मिक पर्यटक छन्, उनीहरूलाई एक दुई दिन मुस्ताङमा नै बस्ने  वातावरण सृजना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।        उहाँका अनुसार अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शका लागि त्यहाँ पुग्ने  गर्छन । गर्मी स्थानमा बसेको उनीहरु चिसो ठाँउमा पुग्दा उनीहरुलाई श्वासप्रश्वासमा अप्ठेरो हुँदा मुस्ताङमा आधारभूत स्वास्थ्य केन्द्र ठाउँठाउँमा राख्न जरुरी भएको त्यहाँका जनप्रतिनिधिले जोड दिए । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले मुस्ताङ जिल्लाका  पदमार्ग सडक बन्दा पर्यटकको बसाई घट्दै गएको बताउँदै मुस्ताङको पर्यटनसँगै कृषिलाई नै सँगै लिएर जान जरुरी रहेको बताउनुभयो । मुस्ताङको स्याउ अत्यन्तै स्वादिलो रहेकाले यहाँ उत्पादित स्याउ विश्व बजारमा पु¥याउनुपर्नेमा पनि कार्यक्रममा जोड दिइयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटनसँग मुस्ताङ प्रत्यक्ष जोडिएको जनाउँदै त्यहाँका प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीयरुपमा भरपुर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । समाजसेवी लोप्साङ विष्ट, रिङजिङ गुरुङ, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देललगायते मुस्ताङको पर्यटन विकासमा मुख्य बाधक सडक भएकाले कोराला नाका छिटो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

  लुम्बिनी । लुम्बिनी विकास कोषले १० मङ्सिर २०७५ मा आयोजना गरेको पक्षी महोत्सवले सारसलाई लुम्बिनीको नगर पक्षी घोषणा गरिरँहदा उपस्थित संरक्षणकर्ता र अतिथि पाहुनाले गडगडाहट ताली पिटेका थिए । धार्मिकग्रन्थ रामायण र महामानव सिद्धार्थ गौतमबुद्धको जीवनकथामा यो पक्षीको महत्वपूर्ण वर्णन छ । तर पछिल्लो समयमा बुद्धजन्मस्थलकै सारस संरक्षकत्वबिहीन छन् ।            विश्वभरि बुद्ध धर्मको प्रचारप्रसार बढेको बेला बुद्ध कथाको एक महत्वपूर्ण अध्यायका रुपमा वर्णित दुर्लभ पक्षी सारसको जीवनचक्र बुद्धजन्मस्थल लुम्बिनीमा नै सङ्कटमा देखिएकोप्रति कसैको चिन्ता भएन । चरा संरक्षणको क्षेत्रमा काम गर्ने लुम्बिनी ग्रीन युथ क्लबका अध्यक्ष अर्जुन कुर्मीको अनुभवमा लुम्बिनी विकास कोषको पूर्वी पर्खाल बाहिर प्रायः देखिने दुई दर्जनभन्दा बढी सारसका जोडी पछिल्ला केही वर्षयता हराइरहेका छन् । स्थानीय चराप्रेमी कुर्मीले लुम्बिनी विकास कोषको उत्तरी भाग लुम्बिनी ग्रामको सिमसार क्षेत्रमा पालिएका सात जोडी सारस पनि देखिन छाडेको बताउनुभयो ।            त्यस्तै आसपासका क्षेत्रमा सधैँ विचरण गरिरहने सारसका बसाइँ पनि स्थिर नरहेको उहाँको भनाइ छ । गर्मीयाममा सिमसार क्षेत्र सुक्ने भएकाले सारसको वंश वृद्धिमासमेत समस्या हुने गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको भरथापुर, भुजहिया, आमा, सम्मरीमाई गाउँपालिकाको बेतकुइँया र फरेना तथा कोटहीमाई गाउँपालिकाको बोगदिया आदि स्थानका तालतलैया, नदी–खोला र सिमसार क्षेत्र सुख्खायाममा सुक्ने गरेकाले सारस चल्ला कोरल्ने बेला अन्यत्र जाने गरेका छन् । साथै, कपिलवस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा सारस पाइने गरेको छ ।            स्थानीय सञ्चारकर्मी अञ्जना चौहानले भन्नुहुन्छ, ‘‘पहिले एकै स्थानमा ठूलो बथानमा सारस सजिलै देख्न पाइन्थ्यो । सधैँ जोडीमा रमाउने सारस किसानका खेत खेतमा आनन्दले विचरण गर्थे, तर अहिले त्यस्तो कमै देखिन्छ ।’’ बढ्दो सहरीकरणले सारसलाई विस्थापित गराएको उहाँको तर्क छ ।   हिमाली प्रकृति संस्थानले सन् २०२२ को मार्चमा गरेको अध्ययनका अनुसार रूपन्देही र कपिलवस्तु जिल्लामा सारसको कूल सङ्ख्या ३५४ रहेको थियो । जबकि सन् २०२० मा नेपालमा सारसको सङ्ख्या चार सय चार र सन् २०२१ मा तीन सय ९४ थियो । अहिले दिन प्रतिदिन सारसको सङ्ख्या घट्दै गएको संस्थानका कार्यक्रम निर्देशक डा सुदीप सुवेदीले बताउनुभयो ।           विद्युतीय सञ्जाल, बढ्दो सहरीकरण, कोलाहल, औद्योगिक प्रदूषण, चोरी सिकारी, खेतीमा विषादीको अन्धाधुन्ध प्रयोग र सिमसार क्षेत्रमा मान्छेको व्यापक हस्तक्षेपका कारण बासस्थान असुरक्षित हुँदै गएपछि सारसको सङ्ख्या घट्दै गएको सुवेदीको भनाइ छ । सिमसार, खेतबारी र घाँसे मैदानमा बस्न रूचाउँने सारस पक्षी कीरा फट्याङ्ग्रा आहार गर्ने भएकाले बालीनालीमा समेत फाइदा पुग्ने गरेको बताउँदै डा सुदीप सुवेदीले भन्नुभयो, ‘‘खेतबारीमा अत्यधिक कीटनाशक औषधिको प्रयोगले सारसको प्रजनन क्षमतामा समेत असर पुर्‍याइरहेको छ ।’’            सारसले प्रायः असार–साउनमा ओथारो बस्ने, चल्ला कोरल्ने गर्दछ । सम्मरीमाइ–७ का अगुवा किसान अशोक त्रिपाठीले भन्नुभयो, “लामो डाँठ हुने कालानमक, कनकजिरा, गौरिया, बासमतीलगायतका रैथाने धानखेतीमा सारसले गुँड बनाउन रुचाउँछ । पछिल्ला वर्षमा ती लामो डाँठेधान विस्थापित भएपछि सारसलाई सुरक्षित बासस्थलको समस्या भइरहेको छ ।’’हुन त अहिले पनि बुद्धजन्मस्थल लुम्बिनीमा सारसको सङ्ख्या राम्रै रहेको अनुमान गरिएको छ, तर सुख्खायाममा नदी, खोलानाला, तालतालैया लगायतका सिमसार क्षेत्र सुक्ने गरेका कारण पनि सारसको वंश वृद्धिमा नकारात्मक असर परिरहेको पक्षी विद्हरूको कथन छ ।             त्यसैगरी पछिल्लो पाँच वर्षमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ को आमागाउँ आसपासमा मात्र करेन्ट लागेर सात सारस मरेको नेचर कन्जरभेसन फाउन्डेसनका कैलाश जयसवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जाडोयाममा कुहिरो लागेका बेला बिजुलीको नाङ्गो तारमा ठोक्किँएर धेरैजसो सारस मर्ने गरेका छन् ।’’           प्रसारण लाइनको नाङ्गोतारमा ठोक्किँएर नगरपालिका क्षेत्रमा मात्र बर्सेनि सरदर छ जोडी सारस मर्ने गरेको जयसवालले बताउनुभयो । विसं २०७७ साउन तेस्रो साता नगरपालिका– ६, तरकुलहा गाउँको दक्षिण सीमामा रहेका छमध्ये दुई जोडी सारस करेन्ट लागि मरेको उहाँको भनाइ छ । सारसलाई विश्वमै अग्लो उड्ने चरा मानिन्छ । छ फिटसम्म अग्लो र साढे तीन किलो तौलको हुने सारसले पखेटा फैलाउँदा दुबै पखेटाको लम्बाइ आठ फिटसम्म पुग्छ ।            जयसवालले भन्नुभयो, ‘‘सजिलैसँग उड्न नसक्ने शारीरिक अवस्थाका कारण नेपालको एक संरक्षित पक्षी सारस करेन्ट लागेर मर्ने गरेका छन् ।’’चरा संवेदनशील क्षेत्र जोगाउन तारमा करेन्ट नलाग्ने गरी इन्सुलेट गर्ने, तारमा रिफ्लेक्टर राख्ने, तथा नाङ्गो बिजुलीको तार विस्थापित गरी प्लास्टिकले बेरिएको अत्याधुनिक केबुल हाल्नेजस्ता उपाय अपनाएर सारसलगायत पक्षी जोगाउन सकिने जयसवालको भनाइ छ । सारसलाई प्रेम र समर्पणको प्रतीक मानिन्छ । बुद्ध आदर्श माविका शिक्षक हरिमोहन चौधरीको अनुभवमा सारस सधैँ जोडीमा बस्ने गर्दछन् ।            उनीहरूको भाले वा पोथीमध्ये एउटाको मृत्यु भयो भने अर्कोले नयाँ जोडी बनाउँदैन । सकेसम्म एक्लै बस्ने अथवा छिटो प्राणत्याग गर्ने गर्छन् । सिद्धार्थ गौतम (बुद्ध)को जीवनीमा सारसको प्रसङ्ग महत्वपूर्ण छ । नातामा दाजुपर्ने आफ्ना मामाको छोरा देवदत्तले प्रहार गरेको बाँण लागेर घाइते सारसलाई राजा शुद्धोधनको न्यायालयमा उभिएर राजकुमार सिद्धार्थ (पछि बुद्धत्व प्राप्त गरेपछि उनी गौतमबुद्ध बने) ले जीवनरक्षा गरेका थिए । हिन्दूहरूको सबैभन्दा आस्थाको धार्मिकग्रन्थ रामायणका रचनाकार महर्षि वाल्मीकिले सारसको जोडीको वियोगान्त कथाबाट नै छन्द निर्माणको प्रेरणा पाएको धार्मिक कथन छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बरईले भन्नुभयो, “बाल्मिकीले रचना गर्नुभएको रामायणको आरम्भ नै सारस (क्रौन्ची) जोडीको वियोगमा आधारित रहेको मानिन्छ ।’’            तमसा नदी तटमा प्रणयरत सारस जोडीमाथि एक सिकारीले वाण प्रहार गर्दा एकको मृत्यु भयो । जोडीको वियोगमा अर्को सारसले तत्काल प्राण त्याग गर्‍यो । यी दृश्य देखेपछि एक ऋषिले सिकारीलाई श्राप दिएका थिए र त्यो श्रापको श्लोकबाट अनुष्टुप छन्दमा रामकथाको रचना भएको थियो । रामायण जस्तै बुद्धको जीवनीमा पनि सारसको निकै महत्व छ । राजकुमार सिद्धार्थले घाइते सारसलाई जीवनदान दिएदेखि नै बुद्ध जन्मस्थलमा सारसको बाक्लो बासस्थान सुरु भएको मानिन्छ । अधिकारकर्मी तथा नागरिक अगुवा कपिलबस्तुका रामदयाल ठाकुरले भन्नुभयो, ‘‘सारस ‘बुद्धपक्षी’ हो, यसको रक्षा गर्नु हाम्रो धर्म हो ।’’           लुम्बिनीमा सारसले नगरपक्षीको सम्मान पाएको छ । गत वर्ष मङ्सिर १० गते लुम्बिनी विकास कोषले आयोजना गरेको पक्षी महोत्सवका अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगरपक्षी घोषणा गरेको हो । सो अवसरमा लुम्बिनीका तत्कालीन नगर प्रमुख मनमोहन चौधरीले भन्नुभयो, ‘‘भगवान बुद्ध र सारसबीच विशेष सम्बन्ध छ । त्यसैले हामीले सारसलाई नगरपक्षी घोषणा गरेका हौँ ।’’  सरकारले नेपालमा पाइने ८९० प्रजातिका चराचुरुङ्गीमध्ये सारसलाई अतिसंवेदनशील प्रजातिमा सूचीकृत गरेको छ । नेपालमा हाल सारसको सङ्ख्या तीन सय बढीको हाराहारीमा रहेको पक्षीविद्हरूको अनुमान छ । नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत भूपाल नेपालीले लुम्बिनीमा मात्रै दुई ५० को हाराहारीमा सारस रहेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सन् २००० मा सारसलाई दुर्लभ पक्षीका रुपमा सूचीकृत गरेको छ । लुम्बिनी विकास कोष र क्रेन फाउन्डेसनको सहकार्यमा सन् १९९४ देखि लुम्बिनीमा सारस संरक्षण अभियान पनि सञ्चालनमा छ । अमेरिकाको अन्तर्राष्ट्रिय क्रेन फाउन्डेसनले सन् १९९४, डिसेम्बर २५ मा लुम्बिनी विकास कोषसँग सम्झौता गरेर सारस संरक्षणका लागि कोषअन्तर्गतको एक हजार १५५ बिघामध्ये लुम्बिनी ग्राम क्षेत्रभित्र पर्ने दुई सय ५६ एकड (१५३ बिहा) जमिन ५० वर्षका लागि भाडामा लिएको छ । क्रेन फाउन्डेसनले लुम्बिनी सारस आरक्ष स्थापना गरेको भए पनि अवस्था ज्यूँका त्यूँ छ ।           नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सारसलाई संरक्षित पक्षीको रुपमा अनुसूची १ मा सूचीकृत गरेको छ । साइटिस सन्धिले अनुसूची २ र आइयुसिएनले रातो किताबमा सारसलाई संवेदनशील पक्षीको सूचीमा राखेको छ । नेपाल बर्ड रेड डाटा बुकमा पनि यसलाई संवेदनशील पक्षीको सूचीमा राखेको छ । नेपाल पक्षी संरक्षण सङ्घमा आवद्ध चराविज्ञ हिरुलाल डगौराका अनुसार सारसले प्रजननको अवधिमा दुई वटा अण्डा पार्ने गर्छ । चल्ला कोरलेपछि छ महिनासम्म माउसँगै बस्छ र छ महिनापछि सारससँगै झुण्डमा जोडी बनाएर बस्छ । डगौराले सिमसार क्षेत्र हास हुँदै गएकाले सारसको बासस्थान र आहारमा कमी आएको बताउनुभयो ।            चरा विज्ञहरूका अनुसार नेपालसँगै अस्ट्रेलिया, कम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा सारस पाइने गर्छन् । विश्वमा १५ प्रजातिका सारस पाइने गरेका छन् भने नेपालमा चार प्रजातिका सारस पाइन्छन् । नेपालमा पाइने प्रजातिमा कर्‍याङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस क्रेन हुन् । लक्ष्मण सारसलाई खोया हाँस पनि भनिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सारसलगायत दुर्लभ पक्षीको सिकार गर्ने व्यक्तिलाई रु १५ हजारदेखि ३० हजारसम्म जरिवाना वा तीनदेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

  बागलुङ: भुजीखोलाको किनारै किनार ढोरपाटन घुम्न जानेहरु धेरैले सोध्छन् ‘‘केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो ?’’ कुलबहादुर गहभरी आँसु पार्नुहुन्छ । विस्तारै ओभाउँदै गरेको घाउ कोट्याएजस्तै लाग्छ उहाँलाई । परिवार उजाडिएसँगै बास उडाएको भदौ १७ गतेको त्यो राती सम्झिँदै भन्नुहुन्छ, ‘‘हो यही खोला हो, हाम्रो त घर उजाडियो, परिवार खोस्यो पहिरोले ।’’     भुजीखोलाले बगाएका उहाँका छोरा नारायण विकको एक सातापछि शव भेटिएको थियो । उहाँसँगै बाढीमा बगेका बुहारी टेकमाया, छोरी तिर्सना र नातीनी मनिष विक अहिले पनि बेपत्ता छन् । एउटै परिवारका चार जना सदस्य गुमाउनुभएका कुलबहादुर बिस्तारै कालो दिन बिर्सने प्रयास त गर्नुहुन्छ तर हरेक बर्षको भदौ र बेला बेलामा आउने प्रश्नले उहाँको घाउमा नुनचुक लगाउन भने छोडेको छैन । बेपत्ताको आशा पनि मारिसक्नुभएका कुलबहादुरको न घर छ नत परिवारनै । कुलबहादुर जस्तै ढोरपाटन नगरपालिका–९ बोबाङको भुजीखोला आसपासमा दुई वर्षअघिको घाउ नओभाएकाहरु धेरै छन् । दुई वर्षअघि भुजीखोलामा आएको बाढी पहिरामा परेर मृत्यु भएका २२ जना र बेपत्ता रहेका १५ जना सबैको परिवारका आँखा ओभाएका छैनन् । विसं २०७७ भदौको महिना केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजीखोला आफ्नै लयमा थियो । जतीसुकै ठूलो वर्षा हुँदा पनि आफ्नो लय नछोड्ने भुजीखोलाले वर्षापछि बाढी आए पनि घरमा पसेर विध्वंश मच्चाउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्ष पनि खोला यसैगरी सुसाउँथ्यो र अहिले उसै गरिरहेको छ ।      बाउबाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेँसी झरेका बेला बोबाङबासीका आश्रयस्थल थिए । ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाई भुजीखोला छेउछाउमा भए पनि उनीहरुको स्थायी बसोबास त्यहीँ हो । भदौ १७ भुजीखोला किनारका स्थानीयका लागि कालो दिन बन्यो । रातको १२ बजे यही खोलामा एक्कासी उर्लेको बाढीले ऐया पनि भन्न नपाई सबै बगाइदियो ।       बाढीपहिराले ढोरपाटन नगरपालिका वडा नं ९ देखि ६ सम्मको खोला किनार बढार्यो । कसैलाई लछारेर किनारा लगायो, कसैको प्राण लियो र धेरै जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार भुजीखोलाको बाढीपहिराका कारण ढोरपाटनका मात्रै ३७ जनाले ज्यान गुमाएका थिए । पन्ध्र जना अझै बेपत्ता छन् । ढोरपाटन–९ को सुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि नरसंहार मच्याउने गरी बाढी आएको बोबाङका वडाध्यक्ष खीमबहादुर घर्ती मगर बताउनुहुन्छ ।      कहिले भेटिएलान् हराएकाहरु ?       भदौ १७ गते रातको १२ बजेदेखि सम्पर्कविहीन भएका ४० जनामध्ये तीन जना घाइते अवस्थामा भेटिए । त्यसयता निरन्तर एक महिनाको खोजीमा २२ जनाको शव भुजीखोला र बडिगाड खोलाको किनारमा भेटिए । एकै पटक सम्पर्कविहीन भएका १५ जनाको अझै पत्तो छैन । ‘‘प्राय ठूलो बाढीपहिरामा परेकाहरु बेपत्ता हुन्छन्, भेटिँदैनन्, हाम्रो प्रहरीले लामो समय खोज्यो तर भेटेन’’, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भन्नुभयो ‘‘स्थानीयले केही भेटेर खबर गरे प्रहरीले थप खोजी गर्ने हो, नभए उनीहरुको परिवारलाई राहत र पुनःस्थापनामा सहभागी गराइएको छ ।’’ बेपत्ता नभेटिँदा परिवारलाई भने पिरोल्ने गरेको छ ।      वडा नं ९ का टेकमाया विक, तिर्सना विक, मनिषा विक, रोशन विक, रवि विक, सुरेन्द्र विक, जितबहादुर घर्ती, प्रकृति पुन, मनकुमारी विक, उमिसा विक, हस्तमाया विक, तुलमती विक, कौशिला पुन, विशाल पुन र मोहन विक अझै बेपत्ता हुनुहुन्छ ।    क्षतिपछिको पुनःनिर्माण र पुनःस्थापना     बाढीपहिराको खबर पाएलगत्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको थियो । हेलिकप्टर चढेर ढोरपाटन पुग्नुभएका दुवैले राहत र पुनःस्थापनाको कुरा त गर्नुभयो । अहिले पीडितहरु भन्छन् , ‘‘उहाँहरु चढेर आएको हेलिकप्टरको हावासँगै उडे पीडितलाई दिएका आश्वासनहरु ।’’ गण्डकी सरकारले प्रति मृतक रु ५० हजार र सङ्घीय सरकारको रु दुई लाख नगद राहतबाहेक पीडितले केही पाएनन् । तत्कालीन आवश्यकता पूरा गर्दा नै पाएको नगद राहत सकियो ।      बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि सरकारले तत्कालै मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपत् जोखिम क्षेत्र घोषणा गरेको थियो । तर दुई वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित भएको छ । जिल्लाभरि छ सय ३२ घर पुनःनिर्माण गर्नुपर्ने गरी भत्केका छन् । ढोरपाटनमा मात्रै एक सय ३२ घरमा क्षति पुगेको थियो ।      बाढीले घरबास उठाएको दुई वर्षमा बल्ल सरकारले विपत् जोखिम क्षेत्रमा कार्यक्रम ल्याएको छ । समयमा पुनःनिर्माणका कार्यक्रम नआउँदा पीडित बसाइ सरेर अन्यत्रै गएका छन् । कतिपयको अझै बिचल्ली छ । ‘‘कसैले आफैँले घर बनाए, केहीको नगरपालिकाले दिएको ससानो रकमले घर बनेको छ’’ वडाध्यक्ष घर्ती भन्नुहुन्छ ‘‘निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रममा झमेला हुँदा पीडित झन पीडामा छन् ।’’     गृह मन्त्रालयअन्तर्गत रहेको ‘राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ को कार्यक्रम कार्यान्वयन गरिरहेको जिल्ला प्रशासन कार्यालयले यही साता मात्रै ६९ घरका लागि पहिलो किस्ताको रकम पठाएको छ भने १६ घरको पहिलो किस्ता पाइपलाइनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताउनुभयो । निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बने पनि जिल्लामा कार्यान्वयन ढिलागरी भएको थियो । कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम प्रक्रिया पुगेका घर पुनःनिर्माणमा राज्यले सहयोग गर्ने उल्लेख छ । कार्यविधिअनुसार पहाडी जिल्लामा घर बनाउन रु चार लाख, घडेरीका लागि रु तीन लाख गरी पीडितले रु सात लाखसम्म पाउने व्यवस्था छ ।      उक्त रकममध्ये गाउँपालिका भए १० प्रतिशत र नगरपालिका भए १५ प्रतिशत स्थानीय तहले लगानी गर्नुुपर्छ । प्रदेश सरकारले ३० प्रतिशत लगानी गरेपछि बाँकी रकम सङ्घले व्यवस्थापन गर्नुपर्छ । नगरपालिकाले राहत कोषमा जम्मा भएको रकमबाट दिएको अनुदानले घर बनाएकाले कार्यविधिले तोकेको रकम पाउने वा नपाउने भन्नेमा भने अन्योल छ । 

  बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरको छ ।       बागलुङ नगरपालिकाले नदीजन्य पदार्थको कर सङ्कलनमा प्रदेश सरकारले तोकेको दरभन्दा कम दर राखी मिलेमतोमा कर उठाएर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भन्दै आयोगमा उजुरी परेको थियो ।       उक्त उजुरी माथिको अनुसन्धानमा नगरपालिकाले ढुङ्गा, गिट्टी र बालुवाको बिक्री वितरणका लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानुन बमोजिम तोकेको दररेटभन्दा घटी निर्धारण गरेको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो ।          नगरपालिकाले कम दररेट राख्दा नेपाल सरकारलाई रु १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बामोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।       सो भ्रष्टाचार कार्यमा संलग्न रहेको भन्दै आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मालाई विपक्षी बनाइ आरोपपत्र दायर गरेको हो । 

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिले हलमा प्रर्दशन भइरहेको फिल्म ‘प्रकाश’ हेरेपछि कतिपय दृश्य र विम्बमा आपत्ति जनाएका हुन् ।    शिक्षा मन्त्री पौडेलले फिल्ममा राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको भन्दै विश्वज्योति हलमा फिल्म हेरेपछि  प्रतिक्रिया दिंदै फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताएका हुन् ।   जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए । फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंग पनि जोडिएको छ ।   यस्ता विम्बहरु राजनीतिक आस्थासँग जोडिएर प्रस्तुत भएको बताउँदै मन्त्री पौडेलले भने, ‘मैले फिल्मभन्दा शिक्षकसँग भन्दा एउटा आस्थासँग सम्बन्धित देखें । राजनीतिसँग सम्बन्धित । त्यहाँ प्रस्तुत भएको विम्व, झण्डा, आफैं पनि शहीदको छोरा, विकृति गर्ने निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महसुस हुन्छ ।’   स्वयं पनि माओवादी आन्दोलनमा होमिएका नेता पौडेलले फिल्ममा जुन स्थानको कथा देखाइएको हो त्यहींका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए । ‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो,’ उनले भने ।   नेपालमा शिक्षाको स्तर फिल्ममा प्रस्तुत भएको भन्दा धेरै अघि बढेको बताउँदै मन्त्री पौडेलले सामुदायिक विद्यालयको अवस्था पनि सुधारिएको बताए । तर फिल्ममा देखाइएजस्तो समावेशिता र गरिबीको कुराप्रति आफ्नो ऐक्यबद्धता रहेको उनले सुनाए ।   अहिले हलमा प्रदर्शन भइरहेको फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा लगभग १ करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मले दोस्रो सप्ताहन्त पनि सन्तोषजनक व्यापार गरेको छ । दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, राजन खतिवडा र प्रकाश घिमिरेको प्रमुख भूमिका छ ।   अनलाइन खबरबाट