धनुषा:    मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गर...

  म्याग्दी:  मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार गरेपनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो । करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उहाँलाई सुखसँग कहिल्यै बस्न दिएन । श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् ।    झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) चहयौइरह्यो, दुखी रह्यो । थापा दम्पत्तिका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन् । बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्नुहुन्छ । उहाँको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र सहारा (पत्नी) पनि आफूभन्दा पहिला छुट्लिन् (मृत्यु होला) कि भन्ने पिरले उहाँलाई सताउने गर्दछ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्नुहुन्छ ।   वृद्धभत्ता नै बाँँच्ने सहारा   मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पत्ति खानेकुराको भने सौखिन नै हुनुहुन्छ । जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पत्तिलाई के खाउँ र के लाउँको समस्या भने छैन ।   बिहान ६ बजे उठेर शौचादी कर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्नुहुन्छ । त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान  घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणी शर्माले बताउनुहुन्छ । “मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्” शर्माले भन्नुभयो । उमेरले नेटो काटे पनि उहाँको स्वभाव भने बालसुलभ नै छ । स–साना बालबालिकासँग जिस्कदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उहाँको बानी रहेको छ ।   रोगले छोएन, दुःखले छोडेन   पचास वर्षको उमेर पार गर्न नपाउँदे नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुनुहुन्छ । रोगको बारेमा सोध्दा उहाँले ठट्यौली शैलीमा भन्नुभयो, “चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई । राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरु त केही हुँदैन ।”   उमेरमा अरुको ज्याला मजदूरी र बनिबुतो गरेर जीविका चलाएकी उहाँकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली हुनुहुन्न । असी वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भन्नुभयो “घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियौँ  अनि झारेगैरा (तराई) गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौंँ ।”   ‘सय कटे बिहे गर्थें’   मनमौजी थापाका उट्पट्याङ कुराले सुन्नेहरुलाई पेट मिचीमिची हाँस्न बाध्य     बनाउँछन् । उहाँका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन् । अस्ति आइतबार साँझ छिमेकीको घरमा गफिन आउनु भएका थापालाई  ‘तपाइँको रहर के छ’ भनेर जिज्ञासा राख्दा थापाले भन्नुभयो “सय वर्ष कटेपछि बिहे गर्ने रहर छ ।” थापाको कुरा सुनेपछि छिमेकी पदमपाणी मरीमरी हाँस्नुभयो । बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्छ । अझैसम्म पनि थापा दम्पत्तिले खसीको मासु खान छोड्नु भएको छैन । गाउँमा खसी काटे भने सबैभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्नु हुन्छ । घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बूढाबूढीले जिस्कदै खाने उहाँका छिमेकी शर्माले बताउनुभयो ।   श्रीमती खिरकुमारीलाई आफूले फकाएर विहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउनुहुन्छ । “पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त ।” भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भन्नुभयो “सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे ।”   रातका साथी कुकुर   दिनभरि गाउँ घुमेर र छिमेकीहरुसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पत्तिलाई निकै नियास्रो लाग्ने गर्छ । नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैंभरि बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला ?’ रात अवेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगनमा बस्नुहुन्छ । त्यहाँ बस्दै आएको कुकुर थापा दम्पत्तिको साथी बन्छ । उहाँले एउटा सेतो कुकुर पाल्नु भएको छ । घरको सुरक्षा गर्नेदेखि देखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई उहाँहरुले ‘सेते’ नामले बोलाउनुहुन्छ । त्यही कुकुरलाई सुम्सुम्याउनुहुन्छ, माया गर्नुहुन्छ र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउनुहुन्छ ।    “बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” थापाले भन्नुभयो “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।” ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ ।सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । खिरकुमारीले पनि ८० वसन्त पार गरिसक्नुभएको छ । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आउनुभएको छ ।   “शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ,” खिरकुमारीले भावुक बन्दै भन्नुभयो “बुढेसकालले छोपेपछि जीउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ । निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।”थापा दम्पत्तिको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरु हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैँसँग राख्न वा खाली रहेको घरमा बस्न पटकपटक आग्रह गरेपनि थापा दम्पत्ति मान्नुहुन्न । उहाँहरु भन्नुहुन्छ “बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामथ्र्य छैन ।”   हजुरबुबा र आमाको दुःख कम गर्न हाल जापानमा रहनुभएको उहाँका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरुको सहयोग गर्ने, घर लितपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पत्तिले मान्नु भएन । उहाँ भन्नुहुन्छ “यो उमेरमा अरुलाई दुःख दिन मन नै मान्दैन । नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठूलै समस्या परे गुहार्नुपर्छ, अहिले जनतन चलेकै छ, त्यसैले उनीहरुलाई दुःख दिन पनि मनले मान्दैन ।’’आफूले दुःख पाएर पनि अरुलाई दुःख दिन नचाहने थापा दम्पत्ति गाउँमा सबैका प्यारा हुनुहुन्छ । कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरुले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।

  ललितपुर:   ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो ।    उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ । उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौँ  ।” महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी रु १० हजार दिने भएको महर्जनले जानकारी गराउनुभयो । लपु महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ ।   यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उहाँहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले सुनाउनुभयो ।    महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको महर्जनको भनाइ छ । “महानगरपालिकामा कुल ८१ हजार घर सङ्ख्या छन् । यसमा मात्र १० प्रतिशत घरमा प्लेट जडान गर्न बाँकी छ । प्लेट जडान सम्पन्न भएसँगै हामीले जिपीएस प्रणालीमार्फत हरेक व्यक्तिको घर पत्ता लगाउन सजिलो हुने वातावरण तयार गर्नेछौँ”, उहाँले थप्नुभयो, “यसका साथै हामीले महानगरका टोल–टोलमा प्रचलित र रैथाने नामको नामकरण गरी प्रत्येक नागरिकलाई वारपार गर्न सहज अवस्था सिर्जना गरिदिएका छौँ ।”

  पोखर । २८ औं विश्व आदिवासी दिवसमा तमु धिं नेपालले यसै वर्ष एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई सम्मानसहित“तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा”विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।   कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले तमुहरुले अब देशमै शासन प्रशासनमा पुग्ने र विश्व जगतमा बिक्ने शिक्षामा जोड दिनुपर्ने मार्गनिर्देशन गर्नुभयो।    उहाँले शैक्षिक, प्रशासनिक, राजनीतिक, व्यवसायिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा नाम कमाएका तमुहरुको उदाहरण प्रस्तुत गर्नुहुदै प्रमाणपत्र थन्किने अर्थात खाडी र मलेशिया दौडनुपर्ने शिक्षा नभई नेपालमै शासन प्रशासन, निति योजना निर्माण गर्ने, नयाँ क्षेत्रहरुलाई सम्बोधन गर्ने र विश्वमा माग भएका शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो। यी सबैका मुलभुत विषय भनेको विज्ञान, गणित र अग्रेजी भएको भन्दै उहाँले विज्ञान, प्रविधी, इञ्जिनियरिङसँग सम्बन्धित आइटी, इन्टरप्रेनरशिप, टुरिजम एण्ड मेनेजमेण्ट, माइन्स इञ्जिनियरिङ, टनेल इञ्जिनियरिङ, माउण्टेन एग्रिकल्चर, मेडिकल साइन्स, कानुन, जर्नालिजम जस्ता विषयहरु विद्यार्थीहरुको रोजाई हुनुपर्दछ उहाँको भनाई थियो। विद्यार्थीको रोजाई राम्रो हुनुपर्दछ र अभिभावकले आवाश्यक सहयोग र उचित नियन्त्रण गर्न जरुरी रहेको कुलपति गुरुङको आग्रह थियो। यसरी नै संघ संस्थाहरुले यसरी नै अनुशिक्षण, प्रशिक्षण कार्यक्रम नियमित रुपमा अघि बढाउन आग्रह गर्दै शासन, प्रशासन, शैक्षिक विषयमा कुनै सल्लाह सुझाव चाहिएमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने उहाँको भनाई थियो।   तमु धिं नेपालमा आयोजित कार्यक्रम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कुलपति प्रा.डा.गणेशमान गुरुङ र  डा.चन्द्रबहादुर गुरुङले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई बधाई, सम्मान र आर्शिवाद प्रदान गर्नुभएको थियो भने तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले शुभकामना, तमु धिं नेपालका केन्द्रिय सदस्य एवम शिक्षा विभाग संयोजक श्रीजंग गुरुङले स्वागत, वरिष्ठ उपाध्यक्ष  सुमे.श्रीप्रसाद गुरुङले धन्यवाद व्यक्त र सचिव जुमकाजी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

  पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न स्थानबाट ४ जनालाई लागुऔषधसहित प्रकाउ गरेको छ ।    कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थायी घर भइ हाल पोखरा–३० खत्रीचोक बस्दै आएका ४४ वर्षिय ईन्द्रमान गुरुङ (सन्तोष), पोखरा–१३ बाझापाटन बस्ने ४० वर्षका विकास गुरुङ, पोखरा–३१ भलाम बस्ने सावाँ वि.क र पोखरा–३० घर भइ हाल बगालेटोल बस्दै आएका ५३ वर्षिय  कुमार गुरुङ रहेका छन् ।   उनीहरुको साथबाट विभिन्न परिमाणमा डाईजेपाम, फेनेरागन, नुर्फिन लगायतका ३७० एम्पुल अवैध लागु औषध बरामद गरेको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।    उनका अनुसार उनीहरुलाई लागुुऔषध सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

  पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरू हस्तान्तरण गरेको छ ।    विपद् उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यका साथ एफसिडियोको आर्थिक सहयोग र ब्रिटिस रेडक्रसको साझेदारीमा नेपाल  रेडक्रस सोसाइटी कास्की मार्फत पोखरा महानगरपालिकालाई ती सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।   पोखरा महानगरपालिकाको तर्फबाट सहयोग सामाग्री ग्रहण गर्दै प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनको कार्यमा आफूहरू एकीकृत योजना बनाएर लागेको बताउनुभयो ।    कुनै पनि प्रकारका विपदहरुमा तत्काल रेस्पोन्स सहित राहत तथा उद्धारको काम गर्ने गरी विपद् सम्बन्धी महानगरको संयन्त्रलाई एकै स्थानबाट सञ्चालन गर्ने र त्यसलाई २४ सै घण्टा तयारी हालतमा राख्ने योजनाका साथ काम भइरहेको प्रमुख आचार्यले बताउनुभयो । रेडक्रसको समन्वयमा प्राप्त विपद् जोखिम सिकाइ केन्द्र सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरूको पूर्ण सदुपयोग गर्ने विश्वास समेत दिलाउनुभयो ।   सूचना केन्द्र तथा सामाग्रीहरू हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यवाहक अध्यक्ष दण्डराज शर्माले विपदमा परेका नागरिकहरूलाई तत्काल उद्धारका लागि व्यवस्थित सूचना प्रणाली सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । शर्माले पोखरा र आसपासका क्षेत्रमा बेलाबखतमा देखिने विपद्का घट्नाहरुलाई तत्काल व्यवस्थापन गर्न आफूहरू महानगरसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । सो अवसरमा मनिन्द्र स्थापितले सूचना केन्द्रका बारेमा जानकारी दिनुभयो ।   समुदाय स्तरदेखि नै जनचेतना अभिवृद्धि गर्दै विपद् न्यूनीकरण र पूर्व तयारीलाई भरपर्दो बनाई जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्युनिकरणलाई विकास योजनामा प्रवाहीकरण गरी जनसहभागितामा आधारित उत्थानशील समुदाय निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्रले समुदायमा आइपर्ने विभिन्न प्रकारका विपद् तथा जलवायु परिवर्तनका असर र तिनका कारक तत्त्वहरूको पहिचान र त्यसबाट सुरक्षित रहन आवश्यक सूचना व्यवस्थापनमा सहयोग गर्नेछ ।   रेडक्रसले सूचना केन्द्र सञ्चालन सम्बन्धी ६ प्रकार र फर्निचर सम्बन्धी ६ प्रकारका सामाग्रीहरू प्रदान गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडक्रस कास्कीका कार्यक्रम संयोजक देवनारायण पौडेलले गर्नुभएको थियो ।

  भक्तपुर ।  भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा  नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले  जानकारी दिनुभयो ।  हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् ।     नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बरहा क्षेत्रलाई चारधाम भनिन्छ । नेपालमा निर्माण हुन लागेको  द्वारकाधामका लागि करिब आठ रोपनी जग्गा अर्जुन बस्नेतलगायतले उपलब्ध गराउनुभएको र यसका लागि रु  २० करोड खर्च लाग्ने अनुमान गरिएको  छ ।   मन्दिर स्थानीय, प्रदेश र सङ्घीय, सरकार तथा विभिन्न दाताको सहयोगमा गरिने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । 

नेपालको संविधान २०७२ मा जातीय भेद्भाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेद्भाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् ।   आइतबार सशस्त्र प्रहरी बल २५ नम्बर बाहिनीका एक जवान कोठा खोज्नको लागि दिनभरि बजारमा भौतारिरहनुभयो । बडागाउँदेखि जिरो हुँदै खरियासम्म पुग्दा कोठा नपाएपछि उहाँ निराश हुँदै फर्किनुभयो । श्रीमती र दुई छोराछोरीसँगै बस्दै आउनुभएका जवान आफू दलित भएकै कारण कोठा नपाएको गुनासो गर्नुहुन्छ । “कोठा खोज्नको लागि दिनभरि बजारमा भौतिरिरहेँ, राम्रो पैसा तिर्छु भन्दा पनि विभिन्न बहाना बनाएर कोठाभाडामा दिँदैनन्”, उहाँले भन्नुभयो । “अधिकांश ठाउँमा डेरा खोज्न जाँदा घरधनीले कोठा त छ, तर जात के होला रु भनेर सोध्छन् । यो प्रश्न सुन्ने वित्तिकै कताकता मनमा नमिठो लाग्छ”, उहाँले भन्नुभयो ।   सशस्त्र प्रहरीका जवान मात्र होइन मोदी गाउँपालिका-५ बाजुङ घर भएकी इन्दिरा नेपालीले पनि यस्तै समस्या भोगेको बताउँनुहुन्छ । कोठा चाहिएर खोज्न जाँदा प्रत्येकजसो घरमा सुरुमै थर (जात) सोध्ने गरेको उहाँको गुनासो छ । “जहाँ कोठा खोज्न गए पनि सुरुमै घरबेटीले नानी कुन थरको हो, भनेर सोध्छन्, म सार्की हो भन्ने वित्तिकै कोठा त छैन नानी भन्छन्”, उहाँले भन्नुभयो ।   अध्ययनका लागि कुश्मा आएका फलेवास नगरपालिकाका सुमित परियारले दुई हप्ताको खोजीमा बल्लतल्ल कोठा पाएको बताउँनुभयो । दलित भएकै कारण आफूले सहज रुपमा कोठा नपाएको उहाँको गुनासो छ । धेरै ठाउँमा कोठा खोज्न जाँदा विभिन्न बहाना बनाएर नदिने गरेको उहाँको भनाइ छ । “बजार भन्ने वित्तिकै शिक्षित र सचेत मानिसको बसोबास गर्ने ठाउँलाई बुझिन्छ । तर, यहाँका मानिसको व्यवहार फरक छ”, उहाँले भन्नुभयो ।    हुन त दलित समुदायका लागि यो नौलो समस्या होइन । आर्थिक, सामाजिक र संस्कृतिरूपमा सदियौँदेखि पछाडि पारिएको उक्त समुदाय पहिलेदेखि नै जातीय भेदभाव तथा छुवाछूतको मारमा पर्दै आएको छ ।   दलित अधिकारकर्मी जीतबहादुर नेपालीले दलित समुदायले अझैपनि जातकै कारण कोठा नपाउनु लज्जाको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,“जातीय विभेद तथा छुवाछुतविरुद्ध सबैले आवाज उठाए मात्र यसको अन्त्य हुनेछ ।”    जातीय भेद्भाव गर्न हुँदैन भन्ने कुरा संविधानमानै उल्लेख गरिए पनि जातीय भेद्भाव तथा छुवाछूत सम्बन्धिका घटना उल्लेख्य मात्रामा सार्वजनिक हुनसकेका छैनन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जातीय विभेद्का घटनासम्बन्धी एउटा पनि उजुरी नआएको बताउनुभयो । उहाँले भन्नुभयो,“मेरो कार्यकालमा एउटा पनि उजुरी आएको छैन, मोदी बाजुङबाट एउटा मौखिक उजुरी आएको थियो, हामीले दुवै पक्षलाई बोलाएर छलफल गराएपछि सहमति भएको थियो ।,”    बुढाथोकीले जातीय विभेद् र छुवाछुत सम्बन्धिका उजुरी आएमा राज्यले निर्माण गरेको ऐन कानुन अनुसार दायित्व पूरा गर्न प्रहरीले कुनै कञ्जुस्याइँ नगरेको बरु उजुरी नै नआउनु चुनौती रहेको बताउनुभयो । नेपालको संविधानको धार २४ मा छुवाछुत तथा भेद्भावविरुद्धको हकको उल्लेख गरिएको छ । जातीय भेद्भाव तथा छुवाछुत ९कसूर र सजाय० ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।    संविधान तथा कानुनबमोजिम भेद्भाव तथा छुवाछुतविरुद्धका अधिकार स्थापित गरिएका छन् । साथै भेद्भाव तथा छुवाछुत कार्यलाई कसूरको रुपमा परिभाषित गरी दण्डसजायको व्यवस्था समेत गरिएको छ । जातीय भेद्भाव तथा छुवाछुतको कसूर गर्नेलाई अपराधको प्रकृतिबमोजिम अधिकतम तीन महिनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यस्तै सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय भेद्भाव तथा छुवाछुतको कसूर गरेमा निजलाई ५० प्रतिशत थप सजाय हुन्छ । जातीय भेद्भाव वा छुवाछुत गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।

  पोखरा ।  गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।   पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । उक्त भवन प्रदेश सरकारले करिव ९६ लाखमा उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर बरुवाल, भरत आले, बाल कुमारी गुरुङ, ओम गुरुङ, विश्व तण्डुुकारलाई खादा लगाएर सम्मान गरेका थिए ।   सो अवसरमा उपभोक्ता समितिका अर्का अध्यक्ष तथा अग्रज खेलाडी स्व.योगेन्द्र बहादुर बस्नेतको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।     सो अवसरमा मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरुलाई पौष्टिक आहार समेत वितरण गरेका थिए ।  नवौंको तयारीका लागि खेलाडीहरुको हौसला बढाउन पौष्टिक आहार वितरण गरिएको र नवौंमा छनोट हुने खेलाडीहरुलाई हाइ अल्टिच्यूड तालिमको लागि व्यवस्था गर्ने उनले जनाए ।   कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयको तर्फबाट मन्त्री गुरुङले मोदी गाउँ पालिकाका अध्यक्ष हिरा देवी शर्मालाई नगद ५ लाख पुरस्कार सहित सम्मान गरेका थिए । गण्डकी प्रदेशबाट यूवा मैत्री स्थानिय तह प्रोत्सहान कार्यक्रम २०७८ बाट ८५ वटा गाउँ पालिका मध्ये मोदी गाउँ पालिका उत्कृष्ट हुन सफल भए पछि सम्मान गरिएको हो ।   सम्पन्न कार्यक्रममा मोदी गाउँ पालिकाका अध्यक्ष शर्मा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेल लगायतले खेलाडीहरुलाई पौष्टिक आहार वितरण गरेका थिए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले भवन निर्माणमा सहयोग गर्ने उपभोक्त समितिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रशासनिक भवनबाट आफ्ना दैनिक कार्यक्रमहरु सूचारु गर्न सहज हुने बताए ।   

  नवलपुर। कसैलाई तपाइले सोध्नुभयो,‘तपाईको छोराछोरी कुन स्कुलमा पढ्छन् ?’ उत्तर आउन सक्छ,‘ स्कुल होइन हाम्रा बाबुनानी त बोर्डिङ पढ्छन् ।’ अथवा सरकारी सामुदायिक विद्यालय पढ्ने रहेछन् भने,‘यहिँको फलानो स्कुल जान्छ ।’   त्यसो त यहाँ यो ठिक वा त्यो बेठिक भन्ने पगरी गुथाउन खोजीएको होइन । यथार्थताको धरातलमा उभिएर नियाल्दा वर्ग विभेदको माध्यम पनि नबनेको होइन स्कुल बोर्डिङ ।   राम्रो विद्यालयमा शिक्षा दिउँ भन्ने रहर कुन बाबुआमालाई नहोला । सन्तानको उज्जवल भविष्यका लागि छाक टारेरै भएपनि अभिभावक शिक्षामा सम्झौता गर्दैनन् । महँगो मासिक शुल्कको भारी बोकेरै भएपनि नीजि विद्यालय पठाउँछन् । कारण, सरकारी विद्यालयसँग आम अभिभावक विश्वस्त हुन अझैपनि सकिरहेका छैनन् ।   तर देशमा यस्ता केही सामुदायिक र सरकारी विद्यालय छन्, जहाँ पुग्दा मात्रै पनि तपाइलाई ‘वाह !’ भन्न मन लाग्छ ।   त्यस्तै विद्यालय मध्येको एक हो नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय ।   गौरवमय ५ दशक बढीको लामो इतिहास, उदाहरणीय विरासत र अनवरत अब्बल नतिजाकै कारण यस विद्यालयले आम विद्यार्थी एवं अभिभावकको विश्वास जित्दै आएको छ । यहाँ यस क्षेत्रका मात्रै होइनन्, विभिन्न ९ जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् ।   विसं २०२६ सालमा स्थापना भएको यस विद्यालयले २०६० सालबाट अंग्रेजी माध्यमबाट अध्ययन अध्यापनको सुरुवात गर्यो । २०६७ सालको एसएलसी परिक्षामा आकाश न्यौपाने ‘नेपाल टप’ भएपछि विद्यालयको शिर थप उचोँ भयो । हरेक वर्ष उत्कृष्ट नतिजा दिन सफल यस विद्यालयका विद्यार्थी पटक पटक जिल्ला प्रथम समेत हुँदै आएका छन् ।   उत्कृष्ट विद्यालयको रुपमा शिक्षा मन्त्रालयबाट सम्मानित समेत भएको यस विद्यालय देशकै नमूना विद्यालयको रुपमा पनि घोषित भयो ।   अहिले झण्डै २ हजार विद्यार्थी यहाँ अध्ययन गर्छन् । विद्यालयको हरेक कक्षाकोठामा प्रोजेक्टर छन् । विद्यार्थीहरु विद्यालय समयमा सिसिटिभिको निगरानिमा रहिरहन्छन् । अध्ययनलाई थप व्यवहारिक र परिणाममुखी बनाउन यहाँका शिक्षक, व्यवस्थापन समिति र समुदाय लागिपर्दै आएका छन् ।   कक्षा ६ देखि १२ सम्म अध्ययन हुने यस विद्यालयका प्रधानाध्यापक हुन् अग्नि भुसाल । रोचक के छ भने, उनि यहिँका विद्यार्थि थिए । यहि विद्यालयबाट उनले एसएलसी उत्तिर्ण गरेका हुन् ।   योङ्ग, इनर्जेटिक, बोल्ड छवि बनाएका प्रधानाध्यापक भुसाल विद्यालयलाई थप उचाई दिन लागिरहेका छन् । समयअनुसार प्रविधिको भरपुर प्रयोग गर्दै विद्यार्थीले इच्छाए अनुसारका सिप, तालिम लगायतका अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालय अब्बल रहेको उनि बताउँछन् । भन्छन्,‘कोर्स बुकहरु त भइहाल्यो, यसका अलवा हाम्रा विद्यार्थीहरु खेलकुद लगायतका क्रियाकलापहरुमा पनि अगाडी छन् । हामीले स्रोत साधनमा कमि हुन दिएका छैनौँ । यहि भदौ १ गतेबाट जुनियर र सिनियर सुरक्षा तालिम पनि सञ्चालन गर्दै छौँ ।’   प्रधानाध्यापक भुसालले शिक्षामा सबैको समान पहुँच र गुणस्तरिय शिक्षा नै आफ्नो मुल उद्धेश्य रहेको बताए । ‘यस विद्यालयमा जुनसुकै र जस्तोसुकै परिस्थितीबाट पनि अध्ययनका लागि आउने विद्यार्थि सहज भर्ना हुन पाउँछन्,’ उनले भने,‘विद्यार्थीको क्षमताबारे अध्ययनका लागि ईन्ट्रान्स एक्जाम चाहिँ लिने गरेका छौँ । तर सबै भर्ना हुन पाउँछन् ।’ उनले भने ।   यस क्षेत्रको मात्र नभई आसपासका विभिन्न जिल्लाका अभिभावकहरुको पहिलो रोजाई हो भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय । यहाँको सेवा, सुविधा र मुलतः गुणस्तरिय शिक्षाकै कारण आकर्षण बढ्दै गएको प्रधानाध्यापक भुसालको दाबी छ ।   ‘हामी विद्यार्थीको मनोविज्ञानमा सदैव सजग छौँ । यहाँको सेवा सुविधा र गुणस्तरीय शिक्षाकै कारण आकर्षण बढिरहेको छ । फलस्वरुप हामी नगरपालिका, जिल्ला र राष्ट्रमै अब्बल विद्यालयको छवि निर्माण गर्न सफल भएका छौँ ।’ उनले भने,‘हामी मात्रै उत्कृष्ट भएर हुदैँन, यहाँको नगरपालिका, जिल्ला र राष्ट्रमै सामुदायिक विद्यालयहरु अब्बल हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ यस विद्यालयबाट एसईई परिक्षामा जिल्लामा सबै भन्दा बढी विद्यार्थी सहभागी थिए । सबै विद्यार्थी उत्तिर्ण पनि भए ।   विद्यालयले अहिले कक्षा ११ मा भर्ना खुलाएको छ । प्रधानाध्यापक भुसालले एसईई उत्तिर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई भर्नाका लागि आह्वान गरे । उनले भने ‘अहिले कक्षा ११मा भर्ना खुलाएका छौँ । म सम्पूर्ण विद्यार्थी र अभिभावकहरुलाई आह्वान गर्दछु ।’ अहिले यस विद्यालयमा लगभग ५ सय विद्यार्थी प्लस टू मा अध्ययनरत छन् ।   पूर्वाधार सम्पन्न यस विद्यालयले विद्यार्थीकालागि सवारी सुविधा पनि उपलब्ध गराएको छ ।   विद्यालयले विसं २०८० सालको अन्तसम्म सूचना प्रविधियुक्त विद्यालय र कक्षाकोठा घोषणा गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक कार्यहरु भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिए ।   साथै, अन्य जिल्ला वा टाढाबाट आउने विद्यार्थीको सहजताका लागि यहि वर्षबाट सुरु हुने गरि आवास गृहका लागि तयारी थालिएको अध्यक्ष भुसालले बताए ।