काठमाडौं । नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले कञ्चरपुरका नीरज पाण्डेको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पाण्डेको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी विभिन्न कम्पनी खोलेर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ व्यक्तिले विसं २०७८ मङ्सिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिङ्क इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये प्रदीप उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सिईओ० बनेको, विशालले पीडितको नाममा बैँकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका खेल्दै आएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता कोइरालाले बताउनुभयो ।
काठमाडौं: प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा(२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बबाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ मा प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई आजै पारित गर्ने संसद्को कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ । धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् । गोकर्णेश्वर नगरपालिका वडा नं १ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैँ पानी हाल्नुहुन्छ । सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उहाँले सुनाउनुभयो । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको लामाको गुनासो छ । आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक सात वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो । यो सडकको मापदण्ड विसं २०४५ मै काठमाडौँ उपत्यका विकास प्राधिकरणले केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको हुने भनी सूचना प्रकाशन गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ । यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने सहमति गरेको तीन वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६/२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको दुई वर्षमा पनि काम सकिएन । आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । रु ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् । सङ्घीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ८ का पूर्ववडा अध्यक्ष मनोजकुमार ढुङ्गानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् । कालोपत्र गर्न ग्राभेल थुपारेको छ महिनासम्म पनि सडकमा बिछ्याइएको छैन । हाल यो सडकको नयाँपाटी पुलबाट सुन्दरीजल खण्डको काम बाँकी छ । अन्य स्थानमा पनि केही काम बाँकी छ । हाल तीन महिनादेखि काम रोकिएको स्थानीयवासीको गुनासो छ । वर्षा रोकिए पनि सडकको काम सुरु भएको छैन । वर्षामा गर्न सकिने खम्बा सार्ने, ढल बनाउने काम पनि अलपत्र छ । सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडकछेउका धेरै स्थानीयवासी पीडित छन् । स्थानीय स्वास्थ्यकर्मी डा रोशन पोखरेल सडकमा दैनिक उड्ने धुलोका कारण घाँटी, आँखालगायत स्वास्थ्य समस्या आउने गरेको बताउनुहुन्छ । धुलोले फोक्सो, श्वासप्रश्वासलगायत समस्या लिएरसमेत क्लिनिकमा आउनेको सङ्ख्या बढ्न थालेको उहाँले सुनाउनुभयो । पछिल्लो समयमा सडक बिस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय नगेन्द्र श्रेष्ठले बताउनुभयो । सात वर्षदेखि बिस्तार पूरा हुन नसकेको समाचार सङ्कलनका लाग सम्पर्क गर्दा निर्माण व्यवसायी एवं सरोकार भएका निकायका अधिकारी सम्पर्कमा आउन छाडेका छन् । पुलको अत्तोपत्तो छैन ढिलोचाँडो सडक बिस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँच वटा ठूला साना खोलामा पुलको अत्तोपत्तो छैन । यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक बिस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ । करोडौँ लागतमा सडक बिस्तार भएपनि पैदल मार्ग छैन । पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहनुभएका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्याल बताउनुहुन्छ । सडक बिस्तार भएपछि सवारी तीव्रगतिमा कुदाउने चालकको सङ्ख्या बढ्न थालेको छ । विशेषगरी किशोर उमेरका चालकले तीव्रगतिमा बाइक चलाउँदा दुर्घटना बढ्न थालेको हो । सवारीको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । सात वर्षदेखि सडक कालोपत्र नसकिँदा यस क्षेत्रमा यात्रा गर्ने यात्रीले सास्ती खेप्नुपरेको छ । यात्री धुलो, हिलो एवं बनाउन राखिएका निर्माण सामग्रीका कारण जाम भएर सास्ती खेप्न बाध्य हुन थालेका हुन् ।
सप्तरी: सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ । राजगढ गाउँपालिकामा गत बुधबार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो । उक्त गाउँपालिका–४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही ठाउँका वीरेन्द्र मण्डलको छोरा १३ वर्षीय राजा मण्डलको पनि डुबेरै मृत्यु भएको प्रहरीले जनाएको हो । बुधबार मृत्यु भएका बालकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । यसअघि साउन २६ गते बोदे बर्साइन नगरपालिका–८ काचनमा एक बालिकाको पोखरीमै डुबेर मृत्यु भयो ।सोही ठाउँ बस्ने मीताराम दासकी छोरी छ वर्षीया नन्दनी कुमारी दासको पनि नुहाउने क्रममै मृत्यु भएको थियो । यसैगरी साउन २४ गते जिल्लाको दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भयो । छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित पोखरीमा डुबेर दुई वर्षीय दिप पण्डितको मृत्यु भएको थियो । सोही दिन विष्णुपुर गाउँपालिका–३ बस्ने ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमै डुबेर मृत्यु भयो । उनी पोखरीको मध्य भागमा फुलेको कमलको फूल टिप्न गएका थिए । प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० को सुरुआतमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर मृत्यु भएको थियो । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ । मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ११, २०७७/०७८ मा २२ र २०७८/७९ मा २४ जनाको डुबेर मृत्यु भएको थियो । नयाँ आर्थिक वर्षको सुरुआतमै चार जनाको मृत्युले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । तीन वर्षको अवधिमा बालबालिकाको मृत्यु अन्य कारणले भन्दा डबेरै मृत्यु हुनेको सङ्ख्या अधिक रहेको छ । तीन वर्षमा २१ बालक र १२ बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । जस्मा सात बालक र छ जना बालिका त पाँच वर्ष मुनिका छन् ।यसैगरी १९ देखि २५ वर्ष उमेरका छ पुरुष, २६ देखि ३५ वर्षका दुई महिला र चार पुरुष, ३६ देखि ४५ वर्षका एक महिला र दुई पुरुष, ४६ देखि ५५ वर्षका एक महिला र दुई पुरुष, ५६ देखि ६५ वर्षका तीन पुरुष तथा ६६ वर्ष माथिका तीन पुरुषको मृत्यु पनि डुबेरै भएको उल्लेख छ ।तराई–मधेसमा पोखरीसँगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेर समेत मृत्यु हुने गरेको छ । यो तीन वर्षको अवधिमा २६को पोखरीमा, १०को खाल्डोमा, सातको खोलामा, १०को नहरमा र चार जनाको नदीमा डुबेर मृत्यु भएको थियो । गर्मी बढेसँगै पोखरीमा नुहाउन जानेकोे सङ्ख्यामा वृद्धि हुनुका साथै पोखरीधनी र अभिभावकको लापरबाहीका कारण बर्सेनि पोखरीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ थियो । डुबेर बालबालिकाको बढी मृत्यु हुनामा अभिभावकको लापरबाही नै देखिएको प्रहरीको अनुमान छ । प्रहरी नायब उपरीक्षक काफ्लेले अभिभावकबाट आवश्यक निगरानी हुन नसक्दा घटना वृद्धि भएको बताउनुभयो । “अभिभावक काममा जाँदा बालबालिकालाई घरमा छाडेर जानुपर्ने, बालबालिकालाई गाईवस्तु चराउन वा घाँस काट्न पठाउनुपर्ने हुन्छ,’’ विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका यदुनन्दन यादव भन्नुहुन्छ्, “ग्रामीण बस्तीमा खानेपानी र नुहाउन पोखरीकै भर पर्नुपर्ने हुन्छ यसले गर्दा दुर्घटना बढेको हो ।” प्रहरीका अनुसार यसअघि छठपर्वमा ४२० ओटा छठघाट रहेको पोखरी, नदी तथा नहरमा प्रहरीले सुरक्षा दिएको थियो । प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो, “गाउँबस्तीमा पर्याप्त पोखरी भएकामा तीनमा घेराबार वा कतिपय पोखरीमा डिलसमेत नहुनाले बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ । अभिभावकले बालबालिका कता छन्, के गर्दैछन् भनेर पर्याप्त ध्यान दिनुपर्छ ।” सामुदायिक सेवा केन्द्रका लिल्लाअध्यक्ष हितनारायणलाल दासले बालबालिकालाई पोखरी, नहर, कुलोजस्ता जलाशय भएको स्थानमा एक्लै जान नदिने, पोखरीमा नुहाउनै परे ठूला मानिसको रेखदेखमा नुहाउन लगाउनेबारे अभिभावकलाई सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। डुबेर मृत्यु हुनेमा बालबालिका बढी भए पनि मादक पदार्थ खाएका, छारेरोग लागेका, पानीको गहिराइको बेवास्ता गरेका ठूला मानिसको पनि डुबेर मृत्यु हुने गरेको छ । जिल्ला प्रहरीले डुबेर मृत्यु हुने घटना वृद्धि भएको जनाउँदै अभिभावकलाई ध्यान पु¥याउन र निगरानी गर्न आग्रह गरेको छ ।“तराई–मधेसमा नदी, पोखरी मानिसको दैनिक जीवनसँग जोडिएको छ ।” हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी किनारका भूपदेव मालीले भन्नुभयो, “आयस्रोतको समेत प्रमुख आधार भएको नदी तथा पोखरीमा ज्यान जाने क्रम बढेकाले यसको व्यवस्थापनमा राज्यले नै अग्रसर भई सुरक्षित बनाउनु पर्छ ।”
बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो । आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए ।
दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ । उक्त चितुवा आज बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा आज दिउँसो मरेको हो । उहाँले भन्नुभयो, “पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं, सोही क्रममा चितुवा मरेको हो, चितुवाको ढाडमा पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट पुगेको हुनसक्छ ।” पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको भए पनि टोली नपुग्दै चितुवा मरेको हो । मरेको चितुवाको मुचुल्का उठाएर डिभिजन वन कार्यालय परिसरमै गाड्ने तयारी भएको छ ।
दार्चुला । यहाँ आज जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो । से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।
काठमाडौं: ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालय परिसरमा अबदेखि नेपाल एकीकरणका अभियानकर्मी तथा राष्ट्रिय एकताका प्रतीक तत्कालीन राजा पृथ्वीनारायण शाहसँग बसेर तस्बिर खिच्न पाइने भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले तल्लो दरबारको मूलगेटमा नक्कली पृथ्वीनारायण शाहको स्वरुपको प्रतिविम्ब खडा गर्ने व्यवस्था गरेपछि दरबार सङ्ग्रहालय पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले पृथ्वीनारायण शाहको प्रतिविम्बसँग बसेर तस्बिर खिचाउन पाउने भएका हुन् । सङ्ग्रहालयमा आजदेखि ‘प्रतिविम्बमा श्री ५ पृथ्वीनारायण शाह’ शुभारम्भ भएसँगै पृथ्वीनारायण शाह र कालु पाँडेको भेषमा सजिएर एक÷एक जना व्यक्ति नियमितरुपमा दरबारको परिसरमा रहने व्यवस्था गरिएको समितिका सल्लाहकार राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । “पृथ्वी नारायण शाह र कालु पाँडेको पोसाकसहितको प्रतिविम्बमा बसेर तस्बिर खिच्नका लागि शुल्कको समेत व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “यसबाट ऐतिहासिक गोरखा जिल्लाभित्र आउने पर्यटकलाई तत्कालीन राजा पृथ्वीनारायण शाह र कालु पाँडेका विषयमा जानकारी समेत प्राप्त गर्ने अवसर प्राप्त हुनेछ ।” पृथ्वीनारायण शाहसँग फोटो खिच्न स्थानीयले रु २० तिर्नुपर्नेछ भने जिल्ला बाहिरका र विदेशी पर्यटकले रु ५० तिर्नुपर्ने व्यवस्था गरिएको छ । पृथ्वीनारायण शाहको प्रतिविम्बका रुपमा स्थानीय ओमबहादुर श्रेष्ठ दैनिक सात घण्टा सो भेषमा सङ्ग्रहालयमा रहने उहाँले जानकारी दिनुभयो । त्यस्तै राजाका सहयोगी कालु पाँडेको समेत प्रतिविम्बका रुपमा अर्का एक व्यक्ति पनि नियमितरुपमा सङ्ग्रहालय परिसरमा रहने सल्लाहकार श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रतिविम्बमा श्री ५ पृथ्वीनारायण शाह’ कार्यक्रमको शुभारम्भ गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले यहाँ रहेका ऐतिहासिक विषयबस्तुलाई देश तथा विदेशमा पु¥याएर जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले पहल र प्रयास गरिरहेको बताउनुभयो । उहाँले विकास समितिले गरेको कामको प्रशंसा गर्दै नगरपालिकाबाट आवश्यक सबै प्रकारको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष यहाँका दुई युवा स्रष्टालाई प्रदान गरिने भएको छ । मङ्गलबार बसेको प्रकाशनको बैठकले विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र विसं २०७९ को सम्मान जिल्लाको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको हो । गत वर्ष कोभिड-१९ का कारण कार्यक्रम स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गर्न लागिएको हो । यही भदौ ११ गते मोती जयन्तीका अवसरमा आयोजना हुने समारोहमा सम्मान प्रदान गरिने प्रकाशनका अध्यक्ष काजी रोशने जानकारी दिनुभयो । साहित्यको उत्थानमा पुर्याएको योगदानवापत स्रष्टाद्वयलाई सम्मानित गर्न लागिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुनुहुन्छ । प्रकाशनले हरेक वर्ष मोती जयन्तीका अवसर पारेर साहित्य सिर्जनामा सक्रिय युवालाई उक्त सम्मान प्रदान गर्दै आएको छ । सोही समारोहमा सार्थक प्रकाशनका तर्फबाट ‘सार्थक मोती सम्मान’, धवल कला मन्दिरका तर्फबाट ‘धवल मोती सम्मान’ प्रदान गर्ने कार्यक्रम तय भएको जनाइएको छ । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।