काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् । सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सफाइ कार्यक्रमको पहिलो दिन आज विहान बागवजार,कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो । यस अभियानले स्वच्छ काठमाडौँ बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । ”
पोखरा । तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ(तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ(स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ(पर्वत), महासचिवमा टसबहादुर गुरुङ(लमजुङ),नेत्र गुरुङ(स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ(बाग्लुङ), सहसचिवमा डबिन गुरुङ(पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ(कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ(स्याङजा) रहनुभएको छ। यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ,साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ(लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ(स्याङजा),महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पुजा गुरुङ(लमजुङ), रामप्रसाद गुरुङ(स्याङजा), मिना गुरुङ(गोर्खा) चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा रनु गुरुङ(गोर्खा), संगिता गुरुङ(लमजुङ), ममता गुरुङ(स्याङजा), सिता गुरुङ(तनहुँ), धनप्रसाद गुरुङ(तनहुँ), युमिन्द्र गुरुङ युबिन(स्याङजा), काजी गुरुङ(स्याङजा), सुनिमा गुरुङ(गोर्खा) र रोशन गुरुङ(स्याङजा) चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। निर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिवद्धता व्यक्त गर्नुहुदै तिनवर्षे कार्यकाल नमुना बनाउने घोषणा गर्नुभयो। नवनिर्वाचित कार्यसमितिलाई फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। यस अघि पाँचौ साधारणसभा, तेश्रो अधिवेशन तथा स्रष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य मिनप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले मौलिक कला, सँस्कृति विकासका लागि राज्यको तर्फबाट साथ हुनुपर्ने र आफ्नो तर्फबाट सक्दो पहल हुने बताउनुभयो। कठिन बेलामा पनि तमु कलाकार संघ गण्डकीले उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गर्नुभएको थियो। कार्यक्रममा तमु कलाकार संघका केन्द्रिय अध्यक्ष सर्मिला गुरुङ, संस्थापक अध्यक्ष राजु गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सल्लाहकार यामबहादुर गुरुङ, जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सचिव जिवन दाहाल, सम्मानित स्रष्टा शान्ति गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्व.मेनकाजी गुरुङ स्मृति पुरस्कारबाट अग्रज गायिका शान्ति गुरुङलाई नगदसहित सम्मान गरिएको थियो। यसै गरी अमेरिकाबाट आउनुभएकी गायिका ज्योति गुरुङलाई स्वागत, अन्नपुर्ण गाँउपालिका भलिबल संघको अध्यक्षमा चयन हुनुभएकोमा संघका आजीवन सदस्य एवम सहयोगी लामा अमृत गुरुङलाई बधाई ज्ञापन गरिएको थियो। यसरी नै कलाकार संघले वर्षको उत्कृष्ठ सदस्यहरुमा महिलातर्फ रबिना गुरुङ र पुरुषतर्फ दिलु गुरुङलाई सम्मान गरिएको थियो। यस्तै गरी संघको संरक्षकहरु संस्थापक अध्यक्ष दुर्गा गुरुङ र संरक्षक संस्थापक सदस्य शंकर बिरही गुरुङलाई बधाई ज्ञापन गरिएको थियो भने सहयोगीहरुलाई कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा संघकी संस्थापक अध्यक्ष दुर्गा गुरुङले गीत प्रस्तुत र संघका कलाकारहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए। तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत र महासचव टसबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
’ हरितालीका तीज पर्व नजिकिँदै गर्दा कलाकारहरुले पनि तीज केन्द्रित गीतहरु धमाधम बजारमा ल्याएका छन् । यसै क्रममा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलले पनि ‘हरहर बासना अगरबत्तीको’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ । पौडेलकै स्वर र शब्द रहेको गीतमा गायिका आशा बिसीले साथ दिनुभएको छ । रवि कार्कीले लय सङ्कलन गर्नुभएको यस गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गर्नुभएको छ भने म्युजिक एरेन्ज कृष्ण केसीको रहेको छ । ‘हरहर बासना अगरबत्तीको, कसले माया गर्छ तिम्लाइ मैले जत्तिको’ गीतमा पौडेललाई छोरी स्वीकृति पौडेलले पनि अभिनयमा साथ दिएकी छिन् । नवीन पौडेलका यसअघि ‘बोल्नुपर्छ ओई’, ‘लेउ खुकुरी लेउ, पर्यो देशलाई चोट’, ‘कस्तो आयो जमाना’ लगायतका गीतहरु बजारमा आइसकेको छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले श्रीकृष्ण भगवानले संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने आशिर्वाद प्रदान गरुन् भन्नुभएको छ । ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र ज्ञान विज्ञान भवन सातदोबाटोद्वारा आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आयोजित ‘चैतन्य झाँकी एवं प्रवचन’ कार्यक्रममा उहाँले विश्वमा कृष्ण भगवान्प्रति श्रद्धा बढेमा कुनै पनि नागरिकमा हिंसाको सोच नआउने भनाइ राख्नुभयो । हरेक मानिसले आफ्नो चित्त शान्ति गरी ईश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन स्थिर हुने र बानी व्यवहारमा परिवर्तन हुने उहाँले दाबी गर्नुभयो । विश्वशान्तिका लागि सेवाकेन्द्रका दिदीबहिनीले योगदान गरिरहनुभएकामा गृहमन्त्री खाणले प्रशंसा गर्नुभयो । उक्त अवसरमा मन्त्री खाणसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त कार्यक्रममा राधाकृष्णको रुप धारण गरी बसेका बालबालिकालाई दही खुवाउनुभएको थियो । कार्यक्रममा कृष्ण सुदामाको गीति नाटक प्रदर्शन गरिएको थियो । सेवाकेन्द्रका मुख्य सञ्चालिका ब्रह्माकुमारी कुमारीले गृहमन्त्री खाणलाई सम्मान प्रदान गर्नुभएको थियो ।
पोखरा । आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा गीतकार चन्द्रवती वाग्लेको ‘शून्य छ जन्मेको घर बरिलै’ शीर्षकको गीत बजारमा आएको छ । उहाँले गीतमा नेपाली मौलिकताको तीजको झल्को दिएको छ नै समाजको वास्तविकतालाई पनि चित्रण गर्न खोजिएको छ । कृषिप्रधान मुलुकमा बाँझिदै गएका घरबारी चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै उहाँले तीनताका बाबुबाजेका पालाको घरपरिवार र समाज अहिले पाउन छोडिएको उल्लेख गर्नुभएको छ । दुःख गरेर जोगाएको सम्पत्तिको पछिल्लो पुस्ताले संरक्षण गर्न नखोजेको र सुख सुविधाका नाममा परिवार नै बोकेर सहर पस्ने गरेको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ । पहिलोपटक २०७४ सालमा आइन छोरी भनेर गीत लिएर बजारमा आउनुभएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा भाग एक, गरिन गुनासो, जागीरे नारी भाग एक, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइसहित शून्य छ जन्मेको घर बरिलै शीर्षकका गीत बजारमा आएका हुन् । वाग्लेको हरिश्चन्द्र शोक काव्य २०७५ मा प्रकाशित भएको थियो । सरकारी सेवामा पोखरा महानगरपालिकामा सातौँ तहको अधिकृतका रुपमा कार्यरत वाग्ले कस्केली अधिकृत समाजका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ । वाग्लेको यो गीतसहित ११ एकल र दुई वटा संयुक्त गरी १३ गीत रेकर्ड भई बजारमा आएका हुन् । उहाँले दर्जनौँ फुटकर गीत तथा कविता रचना गर्नुभएको छ । गीतका माध्यमबाट समाजका सत्यतथ्य बाहिर ल्याउँदै सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बर्सेनि तीजका एल्बम बजारमा ल्याएकी वाग्लेको यस गीतको भिडियो निर्देशन, छायाङ्कन, सम्पादन शिवराज भुर्तेलले गर्नुभएको छ । भिडियोमा कलाकार तीर्थराज वाग्ले, विष्णुमाया भुर्तेल, सपना तिवारी र सुनिता नेपालीले अभिनय गर्नुभएको छ । गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो युट्युब च्यानलले बजारमा ल्याएको छ ।
बर्दिया: बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश गर्यो । बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । प्रायः निकुञ्जको दक्षिणी भेगमा भेटिने बाघ उत्तरतर्फ उक्लिन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा त्रसित भएका छन् । भेरीगङ्गा नगरपालिका– ५ का वडाध्यक्ष पे्रमबहादुर सारुले बाघ बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दामा त्रासमा बढेको गुनासो गर्नुभयो । “एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि अरु थुप्रै बाघ छन्, यहाँ मानिसमा त्रास बढेको छ, बस्ती बाहिर निस्किन डराइहेको अवस्था छ,” उहाँले भन्नुभयो, “निकुञ्ज प्रशासनले बाघलाई बस्तीमा जान नदिन निगरानी बढाउनुपर्छ, बाघ उकालो चढिरहेकाले निकुञ्जले यसतर्फ पनि ध्यान दिनुपथ्र्यो ।” मध्यवर्ती क्षेत्रमापर्ने जङ्गलमा बाँस काट्न गएका भेरीगङ्गा गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको आइतबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । जङ्गलमा मानिसलाई आक्रमण गरेको तीन दिनपछि बाघ गेरवानीसँगै जोडिएको सल्यानको कालीकाटी गाउँपालिकाको बाटुले गाउँ पुगेको थियो । सोही बाघलाई बुधबार निकुञ्ज कर्मचरी, सुरक्षार्थ नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । बाटुले र गेरवानी निकुञ्जसँग सीमा जोडिएका (मध्यवर्ती क्षेत्र) गाउँमा पर्दछन् । प्रायः निकुञ्जको दक्षिणी भागमा भेटिने बाघ पछिल्लो समय उत्तरतर्फ बढेपछि आक्रमणको जोखिम बढेको स्थानीयवासी बताउँछन् । गेरवानीका स्थानीयवासी केशव चन्दले निकुञ्जले बाघको निगरानीमा बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जमा बाघको सङ्ख्या धेरै छ, मानिसको सिकार खोज्दै जतिबेला पनि गाउँ आउने जोखिम बढ्यो, बाघलाई बस्ती प्रवेशमा रोक्न निकुञ्जले निगरानी बढाएको देखिँदैन ।” मध्यवर्ती क्षेत्रका स्थानीयवासीले निकुञ्जबाट बाहिरिने वन्यजन्तुको सुरक्षाको व्यवस्था मिलाउन निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय सरकार, सल्यान र सुर्खेत जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । निकुञ्ज कार्यालयका अनुसार सल्यानबाट नियन्त्रणमा लिइएको समस्याग्रस्त पाटेबाघ १२ वर्ष बूढो हो । बूढो एवं शारीरिक रुपले अशक्त बाघले जङ्गलमा सिकार गर्न नसकेपछि मानिस र पशु चौपायाको खोजी गर्ने निकुञ्जका कर्मचारी बताउँछन् । जसलाई निकुञ्जले ‘समस्याग्रस्त बाघ’का रुपमा उद्वार गर्दै बाँके राष्ट्रिय निकुञ्जमा राखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पनि यस्तै समस्याग्रस्त तीन वटा बाघ उद्वार केन्द्रमा राखिएको छ । निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठले घाँस काट्न गएका स्थानीयवासीलाई आक्रमण गरेपछि बाघको निगरानी बढाएको बताउनुभयो । “उक्त घटनापछि हाम्रो विशेष टोली गेरवानी आसपासमा खटिएर बाघको खोजी गरिरहेको थियो,” उहाँले भन्नुभयो, “मानिसलाई आक्रमण गर्ने बाघ त्यहीँ क्षेत्र आसपासमा हुन्छ, किनकी बाघ सिकार गरेको क्षेत्रमै रहन्छ, बुधबार बिहान सल्यानमा दुई पशुचौपायालाई मारेपछि पत्ता लगाउन सजिलो भयो ।” गोरु मारेको करिब २०० मिटर दूरीमा रहेको बाँसघारीमा आराम गरिरहेको अवस्थामा बाघ भेटिएको थियो । बाघलाई बेहोस् बनाउने सुईको प्रयोग गरी नियन्त्रणमा लिइएको थियो । निकुञ्ज कार्यालयले माथिल्लो भेगमा निगरानी बढाएको दाबी गरेको छ । “गस्ती बढाउनुका साथै जङ्गली जनावरको आक्रमणबाट सुरक्षित रहन सावधानी अपनाउन व्यवहार परिवर्तनसम्बन्धी अभियान सञ्चालन गरिरहेका छौं,” प्रमुख संरक्षक अधिकृत श्रेष्ठले रासससँग भन्नुभयो, “निकुञ्जसँग जोडिएका बस्तीका मानिस आफै सचेत भएमा यस्ता घटनाबाट सुरक्षित रहन सकिन्छ ।” उहाँका अनुसार निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वन जहाँ भए पनि वन्यजन्तुको आक्रमण दिउँसोको समयमा भएकाले सचेत भएमा आक्रमणबाट बच्न सकिने उहाँको भनाइ छ । निकुञ्ज कार्यालयले मानव वन्यजन्तुद्वन्द्व न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा १३ रणनीतिक योजना बनाएको जनाएको छ । प्रमुख संरक्षक अधिकृत श्रेष्ठले उक्त योजना अनुसार कार्यक्रम सञ्चालन गरी क्षति न्यूनीकरण गर्ने बताउनुभयो ।
काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा पाँच सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार नौ सय ३० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ९४ हजार छ सय १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक लाख ४८ हजार चार सय ६१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप चार सय २१ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७७ हजार तीन सय ५८ पुगेको छ । यस रोगका कारण पछिल्लो समय कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ । त्यसैगरी पछिल्लो समय ९७ हजार छ सय ५७ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय ६५ पुगेको छ । तीमध्ये होम आइसोलेशनमा पाँच हजार ६७, संस्थागत आइसोलेशनमा एक सय ९८, आइसीयूमा ५४ र भेन्टिलेटरमा सात जनाले उपचार गराइरहेका छन् ।
बेंसीसहर: लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ। साउन ३१ गते बसेको गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो। संक्रमितहरूको पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। संक्रमित भएर रोग र अपमानबाट बाँचिरहेका व्यक्तिलाई सानै भए पनि राहत स्वरूप भत्ताको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए। एचआइभी संक्रमितलगायत पछाडि परेकाको जीवनस्तर उकास्ने विषयमा गाउँपालिका सजग रहेको उनले बताए। यसअघि गाउँपालिकाले ६० देखि ६९ वर्ष उमेरका एकल पुरुष र ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक पाँचसय भत्ता दिने निर्णय गरेको थियो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुल घलेका अनुसार पालिकाभित्र १६ जना एचआईभी संक्रमित रहेका छन्। उनीहरूमध्ये ५ जना पुरुष र ११ जना महिला छन्। स्वास्थ्य शाखामार्फत एआरटी औषधि प्रयोग गरिरहेका उनीहरू कोही पनि सामाजिक रूपमा बाहिर खुलेका छैनन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले संक्रमितहरूले भत्ता बुझ्नका लागि निवेदनको साथमा नागरिकताको प्रतिलिपी र एचआइभी संक्रमित पुष्टी हुने कागजात पेस गर्नुपर्ने बताए।
दाङ । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए । लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ । यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ । विद्यार्थी सवार डुङ्गा पल्टिएपछि उनीहरुका कापी, किताब, झोला सबै भिजेर नष्ट भएका छन् । दुर्घटना भएको देख्ने बित्तिकै स्थानीयवासीले बालबालिकाको उद्धार गरेका थिए ।