पोखरा : गुल्मीका बिरामीलाई मगर संसार ग्रुपले आर्थिक सहयोग हस्तातरण गरेको छ । मगर संसार ग्रुपले गुुल्मीका टि.बी. ( क्षयरोग)का बिरामी स्मृति पुलामी मगरलाई ७१ हजार ९ सय ६८ रुपैयाँ आर्थिक सहयोग हस्तातरण गरेको हो । रोजगारीको शिलशिलामा विभिन्न देश तथा स्वदेशमा रहेका नेपालीहरुबाट मगर संसार ग्रुपले सहयोग अभियान संचालन गरेर संकलन भएको रकम बिरामी मगरलाई हस्तातरण गरेको ग्रुपका अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिए । बिरामी मगरको अहिले काठमाडौँमा उपचार भइरहेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका ८ वर्षिय स्मृति पुलामीको उपचारमा आर्थिक अभाव भएपछि ग्रुपले सहयोग अभियान संचालन गरेको थियो । ग्रुपले उपचारमा आर्थिक अभाव भएकाहरुलाई सहयोग अभियानसँगै विभिन्न अनलाइन प्रतियोगिताहरुसमेत संचालन गर्दै आएको छ ।
काठमाडौँ : अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आउनुभएको छ । हाल क्यानडामा रहनुभकी नायिका एलिजा गौतमलाई तीजका कुरा गर्दा सानो बेलाका यादहरु आउने गर्छ । यसपटक माइतीको हजुरआमा बितेकाले उहाँले तीज मनाउनुभएको छैन तर उहाँलाई तीजका यादहरू मनभरि आइरहेका छन् । नायिका गौतम भन्नुहुन्छ, “तीज हामी नेपाली महिला दिदी–बहिनीको महान् चाड हो । पहिले–पहिले आमा हजुरआमाले मनाउँदाजस्तै रमाइलो अहिले पनि हुने गरेको छ, बिहे गरेका छोरी चेलीबेटी भेला भएर तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बस्दा छुट्टै रमाइलो हुन्छ ।” आफू जता भए पनि तीजमा चाहिँ सबै जनासँगै जम्मा भएर दुःखसुख साटासाट र नाचगान गर्ने चलन पहिलेदेखि चल्दै आएको छ, चाडपर्वमध्ये तीजलाई मैले महान् चाडको रुपमा लिने गरेको छु”, उहाँ जोड दिनुहुन्छ, “तीजका बेलामा आलु र करेलाको पक्कु मेरो ममीले एकदमै मीठो बनाउनुहुन्छ, ढकनी, काँक्रोको अचार (खल्पी), ठेकीमा हालेको दही, काँक्रो, फर्सीको मुन्टा आदि सानैदेखि खाँदै हुर्केको भएर पनि होला तीज भन्नेबित्तिकै पुरानै याद आउँछ ।” यसपटकको तीजमा गौतमको काला चश्मा नृत्य निकै लोकप्रिय पनि भएको छ । अभिनेत्री सञ्चिता लुइँटेल आफन्त, दिदीबहीनी एकदम टाढा–टाढा भएकाहरूसँग भेट गरेर नाचगान गर्ने पर्वका रूपमा तीजलाई लिनुहुन्छ । “तीजमा मीठो परिकार दर बनाएर खाने, सुख, दुःख, वेदनालाई गीतमा अभिव्यक्त गरेर रमाइलो गर्ने गरिन्छ, तीज भन्नेबित्तिकै रातो सारी लगाएर शिवजीको व्रत बस्ने र पूजा गर्ने नै हो”, उहाँ भन्नुहुन्छ । “ मेरा दुई बहिनी एक महिना अगाडिदेखि नेपालमै थिए, यसपालि तीजमा सँगै बसौँला रमाइलो गरौँला भन्ने सोच थियो तर माहिली बहिनी फ्रान्स गई, कान्छी बहिनी अमेरिका गई म र ममीमात्र भएकाले अब हजुरमुमाका जाने र सबै जना भेला भएर मीठा–मीठा परिकार खाइ नाचगान गरेर मनाउने सोचमा छु ।” लोकगायिका पूर्णकला बिसी कार्यक्रमहरुमै व्यस्त हुनुहुन्छ । “सानैदेखि नाच्ने गाउने रमाइलो गर्ने पर्व भएका कारण मैले तीजलाई वशेष चाडका रूपमा लिने गरेको छु, आफू गीतसङ्गीततिर आबद्ध भएका कारण पनि मैले बच्चैदेखि तीजलाई मन पर्ने चाडको रुपमा लिन्छु”, उहाँ भन्नुहुन्छ, “बाल्यकालदेखि नै तीजमा मात्र एकपटक नयाँ लुगा लगाइने गरिन्थ्यो । जुनसुकै बेलामा कपडा खरिद गर्न सक्ने अवस्था थिएन वर्षमा एकपटक नयाँ कपडा लगाउने चलन भएकाले पनि मलाई बाल्यकालकै कुराहरू याद आइहाल्छ ।” उहाँ पोखरामा तीजका कार्यक्रम सकेर स्याङ्जा घरमा पुगेर तीज मनाउँदै हुनुहुन्छ । तीजका कार्यक्रममा प्रस्तुतिका लागि व्यस्त गायिका राधिका हमाल पनि तीजलाई विशेष चाडका रुपमा लिनुहुन्छ । “तीज संस्कार र संस्कृति बोकेको महिलाका लागि विशेष चाड हो । यसको परिभाषा मैले दिन त असम्भव छ, तर पनि नेपाली महिलाको विशेष चाडका रूपमा तीजलाई लिने गर्छु”, उहाँ बताउनुहुन्छ , “तीजमा मेरो विभिन्न कार्यक्रम त भइरहेको छ । त्योभन्दा पनि मैले तीजमा साना–साना भाइबहिनीलाई सहयोग गर्ने गरेको छु । यसपालिको तीजमा पनि बालबालिकालाई सहयोग गर्छु र ललितपुर लेलेमा तीज विशेष कार्यक्रममा सहभागी हुँदैछु ।” गायिका सुशीला पाठक ‘पापाकी परि’ गीतबाट चर्चामा आउनुभएपछि कार्यक्रमतिर व्यस्त हुनुभएको छ । अर्की गायिका एन्जिला रेग्मीलाई पनि तीज निकै राम्रो लाग्छ । “नारीहरूको महान् पर्वका रूपमा लिइने तीज म चाहिँ रमाइलोे चाडका रुपमा लिन्छु । सबै जना भेला भयो, गायो, नाच्यो दिदीबहिनीले लागाएको हरियो, रातो सारी यस्ता विभिन्न कुराले गर्दा तीज रमाइलो लाग्छ”, उहाँ बताउनुहुन्छ ।
हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ को क्याम्पस डायरेक्टरको रूपमा सूरज राज केशरी चयन भएका छ्न्। हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिन्छ ।यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पुर्याउने र उद्यमशीलता समेत पैदा गर्ने भएको हुँदा यसको महत्व छ र आफ्नो कार्यकालमा यस पर्तियोगितालाइ थप नया आयाम दिने उनले बताए। विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् । गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरीले नेतृत्व गर्दैछन् ।
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरितालिका तीजको मौलिकता कायम राख्दै भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताउनुभएको छ । तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भड्किलोपन हटाउन सके पर्वको सांस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहीले तीज पर्वले समाजमा विद्यमान लैंगिक, जातिय विभेदलगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उत्पे्ररित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ, यसको आफ्नै मौलिकता छन्, चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।” साथै मुख्यमन्त्रीले यस्ता धार्मिक/सांस्कृतिक पर्वले नेपालीहरुको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावकायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । खासगरी हिन्दु महिलाहरुले भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्वमा भगवान शिवको आराधाना गर्दै शौभाग्य, दीर्घायू र पारिवारिक सुखको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए । बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।
सिन्धुली । ‘सुनको चुरा, औंठी नि सुनकै छ’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण थियो, गीत बजेको पत्तो नहुनु । हिँडाइसम्बन्धी समस्या भएका केही महिलाहरु ह्विलचियरबाट उठ्न सकेका थिएनन् । एकापट्टीको खुट्टा मात्र गुमाएकी दिपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै सार्थीहरुलाई नचाउन उस्काइरहनु भएको थियो । घन्किरहेको गीतको शब्द, सुनको चुरा औंठी नि सुनकै छ, माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ । ‘हे, मनको कुरा गा¥हो भो खोल्न, क्यारी भनु थाल्यो नि मन पोल्न, सुनको चुरा औंठी नि सुनकै छ । माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ ।’ यस गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी ह्विलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी) लाई । गायत्री थापाको शब्द, उहाँकै सङ्गीत । राजमजी खाण र देवी घर्तीको स्वर ठूलो आवाजमा बजिरहँदा उहाँलाई यो हरफले मन छोयो । आफ्नै कथा गीतमा भनिदिए झैँ लाग्यो । ‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन । कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी ?’ आँखा आँसुले भरियो । उहाँ, निःशब्द हुनुभयो । केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थाल्नु भयो । दुःख, पीडालाई बेवास्ता गरेर हाँस्ने जाँगर बढाउनुभयो । सुनको चुरा नभएपनि औँठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थाल्नु भयो । ह्विलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न शुरु गर्नुभयो । अन्य साथीसङ्गीले ताली पिटेर साथ दिए । कार्यक्रमस्थल हाँसोले भरियो । सबैको अनुहारमा उमङ्गता छायो । फराकिलो हृदय मात्र होइन् फरासिलो स्वभावले भरिपूर्ण भएकी चमलादेवीलार्ई गीतले भने झैँ मनको कुरा खोल्न गार्हो भएपनि तीजको कुरा बोल्न केहिले छेकेन । उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाउनुभयो । ‘नारी जातिको पर्व हो तीज । साथीसङ्गी जम्मा भएर रातो सारी लर्खाउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछमी नाचिन्थ्यो,’ अपाङ्गता हुनुअघिको तीजलाई सम्झिनु भयो । झन्डै २५ वर्षपछि सार्थीसङ्गीसँग तीज मनाउन पाएको खुशियालीले उहाँलाई फेरी एक्छिन भावुक बनायो । ‘तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौँ । भोलिपल्ट तीन सय जना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यौ । बाटोबाटो नाँच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौँ । नाच्दैनाच्दै घर फर्किन्थ्यौँ । गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो । रातभर जाग्राम बस्थ्यौँ । त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी रु,’ उहाँले सुनाउनु भयो । उबेला मनाइने तीज र यो बेला बनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्दाका क्रममा चमलादेवीको अगाडि खीर, अचारलगायतका परिकार आयो । पहिलो चम्चा खीर निल्दै उहाँले भन्नुभयो, ‘मीठो रहेछ । यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो ।’ उहाँ मात्र कहाँ हो र ? उहाँकै छेउमा रहेका तथा अपाङ्गता भएका महिलाहले पनि आफूहरुको पहिलो अनुभव भएको सुनाए । यसरी, उस्तैउस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसङ्गीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु आफूहरुका लागि हर्षको कुरा भएको सुस्त श्रवण शक्ति भएकी सुनिता दाहालले बताउनुभयो । अपाङ्गता भएका महिलाको लागि शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) बताउनुहुन्छ । ‘महिलालाई वर्षेनी दर खान स्थानीय सरकारले सरकारी सम्पति छुट्याउने गर्दछ । अपाङ्गगता भएका महिलाहरुलाई समेटिँदैन । सपाङ्गता भएका महिलाहरु कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्,’ उहाँले भन्नुभयो, ‘सपाङ्गता भएका महिलालाई जस्तै अपाङ्गगता भएका महिलाहलाई पनि तीज मनाउने रहर हुन्छ । त्यसैले यस वर्ष अपाङ्गगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नु परेको हो ।’ अपाङ्गगता भएका महिलालाई सरकारी कार्यालयलेसम्म अपाङ्गगतासम्बन्धि बाहेकका कार्यक्रममा नसमेटेको उहाँको दुखेसो छ । कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेका सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीले जनाएको छ ।
लेखनाथ : रोजगारीकै लागि खाडी मुलुकमा नपुगेका होइनन् उनी । परिवार पाल्नकै लागि दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । उनीसँग बास बाहेक गरी खाने एक टुक्रा पनि जमिन छैन । चार वर्षकै उमेर छँदा उनका बुबाको मृत्यु भयो । परिवार पाल्ने मूल व्यक्तिकै मृत्युले उनको परिवारमा विचलन मात्र आएन दैनिकी समेत कष्टपूर्ण बन्यो । चार वर्षमा टुहुरो बनेका प्रकाशलाई उनकी आमाले गाउँघरमा खेतालो गएर ल्याएको ज्यालाले हुर्काइन् । आमाको दुःख, कष्ट उनले सानै उमेरमा देख्दै र भोग्दै आए । आमाको दुःख बाँड्नु पर्छ भन्ने सोच उनीमा आयो । पोखरा–२६ लेखनाथ स्थित सिलिङ्गे निवासी ४२ वर्षीय प्रकाश विश्वकर्मा बिहान बेलुका हातमुख जोर्न १२ वर्षकै उमेरमा गाउँलेको हलो मात्रै जोतेनन् उनले पोखरा नदिपुरको एक भाँडा पसलेकहाँ तामाका भाँडा बनाउने कामसमेत गरे । तामाका भाँडा बनाउँदाको पैसाले नपुगेर विदेशमा बढी कमाइन्छ कि भनेर उनी तामाका भाँडा बनाउँदा बनाउँदै विदेश हानिए । दुई कक्षासम्म अध्ययन गरेका प्रकाशले पछिल्ला दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । विदेशमा पाउने मासिक ३० हजार रुपैयाँले परिवार पालिने काम मात्र भएपछि उनले सोचविचार गरे ‘सीप भएको मानिस किन बिदेशमा बसिराख्नु यति पैसा त नेपालमै कमाइन्छ’ । परिवारसँग पनि सँगै बस्न पाइने भन्दै नेपाल फर्के उनी । पत्नी, एक छोरा र एक छोरी भएका प्रकाशले एक वर्षयता घर नजिकै लेखनाथको कालिका चोकमा आरन व्यवसाय सुरु गरेका छन् । मासिक रु छ हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर उनले आरन व्यवसाय सुरु गरेका छन् । “जिजु बाजेको पालादेखि सञ्चालन हुँदै आएको आरन व्यवसाय युवाले अँगाल्न छाडिसकेकाले मैले यही पेशामा भविष्य देखेर रोजेँ”, प्रकाशले राससलाई भने, “हाम्रा बाउ बाजेले पनि यही पेशा गरे अहिलेका युवा सबैले छाडे ।” उनी यही पेशाबाट विदेशमा कमाइने पैसा घरै बसेर आर्जन गर्न सकिन्छ र भविष्य पनि छ भन्दै दत्तचित्त भएर आरन व्यवसायमा लागेका छन् । उनको आरन व्यवसाय एक वर्षदेखि राम्रो चलेको छ । उनको काममा उनकी पत्नीले पनि सघाउँछिन् । छोरा कक्षा ११ र छोरी कक्षा सातमा पढ्दै छन् । “मैले कालिका चोकमा आरन व्यवसाय सुरु गरेको छु, वरपर आरन व्यवसाय नभएकै कारण दिनहुँ आरनमा ग्राहकको भीड लाग्छ”, प्रकाशले भने । पोखराको लेखनाथ स्थित वडा नं २६, २७, २९, १४, १५ का मानिसहरु हँसिया, दाउ, बन्चरो, छिनो, फाली, गैँची, कुटो, कोदालो, तामा तथा सिलोट भाँडा तथा फलामका हतियारमा धार लगाउन आउने गर्छन् । प्रकाशले भने विदेशमा प्राप्त हुने पारिश्रमिक यहाँ सजिलै उठेको छ । “मासिक ३०–४० हजार कमाइ हुन्छ, त्यसले जिनतेन परिवार पाल्ने काम भएको छ, यो पेशा कठिन छ, कामकै सिलसिलामा कहिले आगोले शरीरका अङ्गहरु पोलिन्छन् कहिले हात खुट्टा काटिन्छ, तर पनि सुरक्षित भएर फलामको काम गरेको छु”, प्रकाशले भने । विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाएमा देशको विकास हुने धारणा उनको छ । “आरन व्यवसाय सुरु गर्दा डेढ लाख रुपैयाँ खर्च भएको छ, व्यवसाय गर्दा सरकारी अनुदान पाइन्छ भनिन्छ तर मैले कतैबाट अनुदान सहयोग प्राप्त गर्न सकिन । आरन व्यवसायलाई आधुनिक बनाउनका लागि केही पैसा आवश्यक पर्छ त्यो पैसा नभएर व्यवसाय विस्तार गर्न पाएको छैन”, प्रकाशले भने, “गाउँमा विभिन्न पार्टीका नेता छन् तर सरकारी अनुदान प्राप्त गर्ने बाटो सिकाउँदैनन् ।” प्रकाशलाई व्यवसाय विस्तारका लागि पैसा चाहिएको छ, तर उनले कहीँ कतैबाट पैसा पाएका छैनन् । उले भने, “नेताहरु चुनावका बेला भोट माग्न घर खोजी–खोजी आउँछन् तर अनुदान र सहयोग गर्ने बेलामा वास्तै गर्दैनन् । हामी जस्ता दुखी गरिबलाई हेर्ने कुनै सरकार भएन”, प्रकाशको गुनासो छ ।
गण्डकी : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गर्नुभयो । “मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सन्देशमा उल्लेख गरिएको छ । भाद्र शुक्लपक्ष तृतीयाका दिनपर्ने यस पर्वमा महिलाले भगवान् शिवपार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको प्रदेश प्रमुख गुरुङले भन्नुभएको छ । सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सबैमा खुसी साटासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।
विराटनगर। विराटनगरमा विश्वचर्चित मोबाइल भिडियो गेम पब्जीको ई–स्पोर्ट्स प्रतियोगिता हुने भएको छ। भदौ १८ गते ‘रेजरयाक्ट ई–स्पोर्ट्स’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा नेपालभरबाट १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, बुटवल, नेपालगन्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टोलीको सहभागिता रहने छ। एक टोलीमा चार जना खेलाडी रहने आयोजक समितिका सदस्य अनुराग क्षेत्रीले जानकारी दिए। ‘एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो। यसमा आठ वटा खेल हुन्छ। एउटा खेल २५ मिनेटको हुन्छ’, उनले भने, ‘सबै टोली एकैठाउँमा बसेर स्क्वाड खेल खेल्छन्।’ सहभागीमध्ये सर्वाधिक अंक ल्याउने टोलीले उपाधि जित्ने छ। प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन्। यसैगरी तेस्रो हुने टोलीलाई १५ हजार र चौथोलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिताको आरटीडी ई–स्पोर्ट्स र सर्जिकल नुब युट्युब च्यानल र विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछ।