ढोरपाटन:    बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानी...

भोजपुर  :  एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् ।   टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ८५ वर्षीय हरि ताम्राकारले बताउनुभयो ।    विसं १८७२ देखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन सरकारले १८७० सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसहितका पूर्वी पहाडमा खनिज पदार्थ उत्खनन् गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो ।   अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको ताम्राकार बताउनुहुन्छ । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ डोली पैसा बनाउने गरिन्थ्यो ।   टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । धोद्लेखानीबाट तामा ल्याएर टकसँगै  विभिन्न सामग्री निर्माण गरिन्थ्यो । तर त्यो खानी पनि अहिले बन्द भएको छ । दशकौँ अघिसम्म सयौँको सङ्ख्यामा रहेका यहाँका उद्योग अहिले सातवटामा सीमित छन् । विसं १८७२ मा यही बजारबाट तामाको डोली पैसाका नामले प्रख्यात टक छापिने गरेको थियो । अहिले यस्तो ऐतिहासिकस्थल सुनसान छ ।     लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार सुनसान छ । बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाका बताउँछन् । इतिहासअनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत यो रहेको पाइन्छ । माझकिरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यतिबेला यहाँ थुप्रै माल, अड्डा अदालत पनि खोलिएका थिए ।   “सम्पदा समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन्”, ताम्राकारले भन्नुभयो, “यहाँका बासिन्दा आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको छ ।” हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दूरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुनसकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उहाँले बताउनुभयो ।   ‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजिकै टक्सार विमानस्थलसमेत छ । “टक्सार बजारका धातु उद्योगलाई ब्युँताएर यसको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीलाई अभिप्रेरित गर्नुपर्ने खाँचो छ”, स्थायीय कुमार श्रेष्ठले भन्नुभयो । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्रमात्रै होइन, विदेशमा समेत निर्यात हुने गर्छन् । अहिले बजारको मागलाई यहाँका उद्योगले धान्न सकिरहेका छैनन् ।   “धातुका सामग्री बनाउने जनशक्ति पलायन भएपछि यस्तो अवस्था आएको हो”, उहाँले भन्नुभयो । बसाइँ सरेर गएकाहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेका छन् । घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरेका छन् । यो बजार सुनसान बन्दा भोजपुरकै चिनारी धमिलो हुँदै गएको श्रेष्ठ  बताउनुहुन्छ । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक ठाउँ हो”, उहाँले भन्नुभयो । यहाँ कलात्मक शैलीमा निर्माण गरिएका घरसँगै मठ मन्दिर भत्किन थालेका छन् । यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ । 

  काठमाडौँ ।  विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन ।        बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो । कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर पानी जम्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले राससलाई जानकारी दिनुभयो ।        “विकास निर्माणका कामबाट हुने कमिसनको खेल र काममा झारा टार्ने प्रवृत्तिले यस्तो भएको हो, महानगरपालिकाले तीन महिना पनि नटिक्ने कस्तो कालोपत्र गर्यो ?, तोकिएको गुणस्तरमा काम नहुँदा यस्तो भयो, समितिले तीनपटक बजेट छुट्याए पनि महानगरपालिकाले नै गर्न खोजेकाले यो सडकको काम गर्न दिइएको हो”, उहाँले भन्नुभयो ।         कालोपत्र हुनु एक वर्षअघि भने यो सडक समितिको बजेटबाट मर्मत सम्भार गरिएको थियो । विश्व सम्पदा क्षेत्रको सडक बनाएको तीन महिनामै भत्कँदा पर्यटकका माध्यमबाट देशका बारेमा गलत सन्देश गएको स्थानीय व्यवसायी मङ्गलकुमार श्रेष्ठ बताउनुहुन्छ । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको बीचबाट जान बाध्य हुनुपरेको छ ।        महानगरपालिकाको रु नौ करोड लागतमा निर्माण भएको करिब एक किमी सडक तीन महिना पनि नटिक्दा स्थानीयवासी, पर्यटक र बौद्धनाथ दर्शन गर्न आउने भक्तजन दैनिक प्रभावित हुने गरेका छन् । काठमाडौँ महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको बताउनुहुन्छ ।        “महानगरपालिका निर्माण विभाग प्रमुख राम थापालाई गुणस्तरहीन काम भएकाले भुक्तानी रोकेर राम्रो काम गराउन भनेँ, वडाले त्यहाँभन्दा बढी गर्न नसक्ने भएकाले सडक बनाएको केही समयमै भत्कियो, अहिले हिँड्न नै समस्या भएको छ”, उहाँले भन्नुभयो ।   यस सम्बन्धमा महानगरपालिका निर्माण विभाग प्रमुख थापासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आफू बैठकमा भएकाले केही भन्न नसक्ने बताउनुभयो । विदेशबाट आउने धेरै पर्यटक बस्ने हायात रिजेन्सी होटलको पूर्वोत्तरको पर्खालको यो सडकको दुरावस्थाले नेपालले विश्व सम्पदा क्षेत्रलाई कति महत्व दिएको छ भन्ने सन्देश जाने महानगरपालिका– ६ का अध्यक्ष भुवन लामा बताउनुहुन्छ ।        आफू वडामा निर्वाचित हुनुअघि बनेको सडक भएकाले यस विषयमा के–के भएको भन्ने बुझी महानगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने उहाँले जानकारी दिनुभयो ।

  कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिकाको पूर्वी सीमा नदी वनहरा छेउमा झुपडी बनाई बस्दै आएका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ । वनहरा नदीले भूमिहीन परिवार बसोबास गर्दै आएको क्षेत्रतर्फ कटान गर्न थालेपछि उनीहरु जोखिममा परेका हुन् ।    “एकातर्फ नदीले जग्गा कटान गरिरहेको छ”, पीडित दलबहादुर बोहराले भन्नुभयो, “अर्कातर्फ नालामा वर्षाको पानी भरिन्छ, बाढी आए भाग्ने ठाउँ नै छैन ।” आकाशमा वर्षा गराउने बादल आउने क्रम सुरु भएसँगै झुपडी छाडेर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । रातिका बेला वर्षा हुन थालेपछि नजिकैको नदीमाथि बनाइएको पुलमा ओत लाग्नका लागि जाने गरेको पीडित प्रकाश साउदले बताउनुभयो ।    “वर्षा कतिबेला हुन्छ थाहा हुँदैन”, उहाँले भन्नुभयो, “त्यही भएर बालबालिकासहित पुलमुनि छाडा चौपायासँगै सुत्नुपर्ने बाध्यता छ ।” दिउँसो झुपडीमा गर्मीका कारण बस्नै सकिँदैन । वर्षा भए झोपडी चुहिन्छ । यस्तो अवस्थामा पुलमुनि सुत्नुको विकल्प नभएको उहाँ बताउनुहुन्छ । शिविरमा बस्दै आएका परिवारका छानामा राखिएका त्रिपाल पुराना भइसकेका छन् । त्यसबाट वर्षात्को पानी चुहिन्छ । अत्यावश्यक सामान जोगाउनका लागि निकै समस्या भएको भूमिहीन परिवारको दुःखेसो छ ।    वन क्षेत्र नजिकै बस्दै आएका भूमिहीन परिवारलाई नदीको बाढीसँगै जङ्गली जनावरको समेत उत्तिकै डर छ । “झुपडी छेउबाटै गए राति बाघले गाईलाई मारेर घिसार्दै वन क्षेत्रमा लग्यो”, पीडित अमृता साउदले भन्नुभयो, “जीउ जोगाउनसमेत मुस्किल भइसकेको छ, सुरक्षित स्थानमा शिविर सार्न पाए ज्यान जोगिन्थ्यो ।”    डडेल्धुराको आलितालमा पहिराले घरखेत सबै बगाएर लग्दा भूमिहीन भएर शिविरमा बस्न आएको उहाँले बताउनुभयो । “पीडित भएर बस्नका लागि ठाउँ खोज्दै यहाँ आइपुग्यौँ, यहाँ पनि सुरक्षितरूपमा बस्न नपाइने भएको छ, राति लामखुट्टेले टोकेर हैरान बनाउँछन्, बालबालिकालाई लामखुट्टेबाट जोगाउन जाग्रामसमेत बस्नुपर्छ, नदीमा बाढी आए पूरै परिवार जाग्राम नै बस्छौँ”, उहाँले भन्नुभयो ।   पुनःस्थापनको आशैआशमा बस्नुपर्ने अवस्था आएको उहाँले दुखेसो पोख्नुभयो । नदीको वारि र पारि गरी दुई ठाउँमा आर्यघाटसमेत रहेको छ । “नजिकमा मजदुरी पाइँदैन, कयौँ रात भोकै पनि सुतेका छौँ”, पीडित मानध्वज लुहारले भन्नुभयो, “टाढा गएर फर्कन सकिँदैन, परिवारलाई एक्लै छाडेर जान पनि सकिँदैन, यसैगरी दुई दशक बित्नै लागे पनि पुनःस्थापनको कुनै निकायबाट पहलसम्म हुनसकेको छैन ।”   नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले बालबालिकासहित युवादेखि बूढापाकासम्म बिरामी पर्ने गरेका उनीहरुको भनाइ छ । पीडित कलावती दमाइले भन्नुभयो, “उपचारका लागि आर्थिक अभाव हुँदा झुपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था रहेको छ, आधारभूत स्वास्थ्य केन्द्रबाट सामान्य किसिमको औषधिमात्रै पाइन्छ, स्वास्थ्यकर्मीले औषधि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने लेखिदिन्छन्, पैसा हुँदैन, औषधि खरिद गर्न पाउँदैनाँै, त्यसपछि एउटै विकल्प पीडा सहनुमात्रै रहन्छ ।” दुई दशकदेखि भूमिहीन परिवारले बस्दै आएको शिविरमा १२ परिवारमात्रै बस्दै आएका थिए ।    “शव जलाएको धुवाँ शिविरसम्म पुग्ने गर्दछ, पहिला पहिला शव जलाएको गन्ध आउँदा निकै अप्ठ्यारो हुन्थ्यो”, शिविरका बासिन्दाले भन्नुभयो, “अब बानी नै परिसक्यो, यो क्षेत्र छाडेर अरु ठाउँ जान सकिँदैन, कुन ठाउँ गएर बस्ने हो, पहाडमा छदा बाबुबाजेले अरुको काम गरे, कामै नपाइने भएपछि बाध्य भएर यहाँ आइपुगेका हौँ, यस क्षेत्रमा समेत जीवन जिउन निकै कठिन छ ।”   डडेल्धुराका पहिरो पीडितसमेत थपिएपछि शिविरमा २८ परिवार बस्दै आएका छन् । शिविरमा बाजुरा, बझाङ, अछाम, बैतडी र डडेल्धुराबाट आएका भूमिहीन परिवारको बसोबास रहेको छ । शिविरमा बसोबास गर्दै आएका परिवारको एउटै भनाइ रहेको छ, “हामीलाई सुरक्षित स्थानमा पुनःस्थापन गरिदिनुपर्यो ।”

  दमौली । तनहुँको व्यास नगरपालिका–४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उहाँ सानै हुँदादेखि फुटबल खेल्नुहुन्थ्यो । उहाँले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेलमैदान थिएन । उमेरले ३५ पुग्नुभएका उहाँ जिल्लामा हालसम्म पनि व्यवस्थित खेलमैदान नबन्दा निराश हुनुहुन्छ ।    गुरुङ हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट मान्यताप्राप्त रेफ्रीको भूमिका हुनुहुन्छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने फुटबल खेलमा उहाँले रेफ्रीको भूमिका निभाइरहनुभएको छ ।    “म पूर्व खेलाडी र फुटबललाई एकदमै माया गर्ने मान्छे, आधा जीवन फुटबलमै गयो, न आफू खेल्दा राम्रो मैदानमा खेल्न पाइयो न त अहिलेका खेलाडीले राम्रो मैदानमा खेल्न पाएका छन्”, गुरुङ भन्नुहुन्छ, “न पहिला न अहिले, न हिजो न आज खेलसँग सम्बन्धित निकायले खेल मैदानलाई अनि खेलाडीलाई वास्ता नगरेको देख्दा नरमाइलो लाग्छ ।”   आफूले पनि राम्रो खेलमैदानमा खेल्न नपाएको र अहिलेका खेलाडीले पनि राम्रो खेलमैदानमा खेल्न नपाएकामा उहाँको गुनासो छ । “जिल्लामा फुटबलप्रति एकदमै आकर्षण छ, तर खेल्ने वातावरण छैन, सम्बन्धित निकाय किन हो कुन्नी कानमा तेल हालेर बसेको छ”, उहाँले प्रश्न गर्नुभयो, “व्यवस्थित रङ्गशाला बनाउन केले छेकेको रहेछ ?”   खेलाडी अनि खेलमैदानका लागि भन्दा पनि पार्टीगत हिसाबले काम गर्ने प्रवृत्ति रहेको गुरुङको आरोप छ । “खेलाडीलाई प्रोत्साहन गर्ने परम्परा नै छैन”, उहाँले भन्नुभयो, “त्यसो भएपछि कसरी खेलकुद र खेलाडीको विकास हुन्छ ।”    जिल्लामा व्यवस्थित रङ्गशाला नहुँदा जस्तोसुकै खेलमैदानमा पनि खेल खेलाउनुपर्ने बाध्यता छ । व्यास–३ स्थित खुलामैदानमा कयौ वर्ष फुटबल प्रतियोगिता भए । अहिले यो मैदानलाई नगरपालिकाले पार्क बनाउन लागेको छ । यसको विकल्पमा विपी वनवाटिकामा खेल सञ्चालन हुँदै आएको छ । फुटबल खेलाडी प्रेम आलेमगरले व्यवस्थित मैदानको अभावमा फुटबल खेलाडीले सीप सिक्न नपाएको बताउनुभयो ।   भलिबलका खेलाडी एवं प्रशिक्षक पदम सुनार जिल्लामा भलिबलको राम्रो सम्भावना भए पनि पूर्वाधार अभावका कारण खेलाडीले राम्रो गर्न नसकेको बताउनुहुन्छ । “जस्तो छ त्यस्तैमा खेलाडीले प्रशिक्षण गर्नुपर्ने अवस्था छ, अनि कसरी खेलाडीको सीप विकास हुन्छ ?”, उहाँले भन्नुभयो । व्यास–२ निवासी खेलप्रेमी विवेक भट्टराईले व्यवस्थित खेलमैदान नहुनु दुःखद् रहेको बताउनुभयो । “सदरमुकाममै व्यवस्थित खेलमैदान नहुनु दुःखद पक्ष हो, यो वा त्यो भन्नै पाइँदैन, सरोकारवालाहरुले जिम्मेवारी लिनुपर्छ”, उहाँ भन्नुहुन्छ ।   दमौलीकै खेलप्रेमी अन्जिपकुमार श्रेष्ठले भएको खेलमैदानलाई व्यवस्थित गराउनुभन्दा पार्क बनाइएको भन्दै गुनासो गर्नुभयो । अर्का युवा किरण श्रेष्ठले व्यवस्थित खेलमैदान बनाउन यतिसारो किन गाह्रो भएको भन्दै सरोकारवाला निकायलाई प्रश्न गर्नुभयो । व्यास–१३ का मेघनाथ आचार्य व्यवस्थित खेलमैदान निर्माणका लागि सबैले दबाब दिनुपर्ने बेला आएको बताउनुहुन्छ ।    केही दिन अगाडि दमौलीस्थित विपी वनवाटिकामा प्रथम मेयरकप फुटबल प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडी खेल खेल्न आए । कुनै टिममा त विदेशी खेलाडी पनि थिए । विपी वनवाटिकास्थित खेलमैदान पानी परेपछि हिलाम्य भयो । हिलाम्य खेलमैदानमै खेल सञ्चालन गर्न आयोजक बाध्य भयो ।    “हिलै हिलो भएको खेलमैदानमा खेल्नुपर्दा खेलाडीलाई कस्तो भयो होला ?”, म्याग्दे गाउँपालिका–७ हर्षपुर घर भई हाल व्यास–३ बस्ने मोहन बरालीले भन्नुभयो, “जिल्लामा त राम्रो खेलमैदान नै छैन भन्ने छाप खेलाडीमा पर्यो ।”   केही दिन अगाडि जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट गर्यो । समितिका अध्यक्ष अनिल पाण्डे पूर्वाधार अभावकै बीचमा खेल सञ्चालन गरेर खेलाडी छनोट गर्न बाध्य भएको बताउनुभयो । “खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको छ, खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका लागि कभर्डहल छैन, भलिबल कोर्ट छैन”, पाण्डेले भन्नुभयो ।    विपी वनवाटिकास्थित खेलमैदानमा रङ्गशाला बनाउने कुरा चलेको धेरै भयो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । रङ्गशाला बनाउने चर्चा त्यत्तिकै सेलाएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलप्रति आकर्षण बढे पनि खेलमैदान नहुँदा समस्या भएको बताउनुभयो । “खेलकुद मैदानलाई व्यवस्थित गर्नेतर्फ जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।    नगरपालिकाले भने विपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित गराउनेतर्फ गम्भीर रहेको बताएको छ । नगरपालिकाका प्रवक्ता एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले उक्त खेलमैदानलाई खेल खेल्न सक्ने बनाइने बताउनुभयो । “यो मैदानलाई व्यवस्थित गराउनकै लागि बीचमा रहेको कभर्डहल सारेका छौँ”, उहाँले भन्नुभयो ।

देउखुरी । तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो । यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए ।   मङ्गलबार बेलुकी करिब साढे ५ बजे चट्याङ लागेर दुई जनाको ज्यान गयो । नौ जना घाइते भए । सोही घटनामा घाइते भएकाको मन अझैसम्म झस्किरहन्छ ।  तीजको दिन रातो साडी लगाएर नाच्ने रहरसँगै दिदीबहिनी टिकटक बनाउँदै रमाइलो गरेको बेलाको दृश्य मोबाइलमा हेरेर  टोलाउँदै आँशु पुछ्दै  गर्नुभएकी घोराही–१२ गुरैकी जयन्ती घर्तीले भन्नुभयो, “सँगै नाचेको भिडियो टिकटकमा राख्ने रहर पूरा नहुँदै बहिनीलाई  आँखा अगाडि गुमाउनुपर्यो, मनै थाम्नै सकिएको छैन ।” सोह्र वर्षीया बहिनी दीपा घर्तीले चट्याङमा परेर अकालमा ज्यान गुमाउनुपर्यो  । आँखामा राखे पनि नबिझाउने बहिनी गुमाउँदा एक्लै भएको उहाँले बताउनुभयो । यतिबेला गुरौँगाउँ नै शोकमा परेको छ ।   दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा यमकुमारी साह उपचाररत भेटिनुभयो । उहाँलाई चट्याङ लागेको करिब २४ घण्टा बितिसकेको छ । मङ्गलबार बेलुका ५ बजे घटना भएको थियो उपचारका लागि घोराही ल्याउँदा बुधबार ५ बजेको थियो । गुरौँगाउँबाट उहाँसहित नौ बिरामीलाई घोराहीबजार ल्याउन २४ घण्टा लाग्यो । यमकुमारीलाई चट्याङ लाग्दा  आफूसँगै रमाइलो गर्न गएकी १९ वर्षीया छोरी मनिषा साहको घटनास्थलमै मृत्यु भयोे ।   आँखा अगाडि छोरी गुमाउनुपर्दा उहाँँलाई सम्हालिन गाह्रो भएको छ । यमकुमारीका चार छोरी चट्याङमा परेकामा दुई महिनाकी छोरी जेनिसालाई पनि चट्याङले घाइते बनाएको छ । “नाचेर रमाइलो गर्ने भनेर सालडाँडाको नयाँ बस्तीमा दिउँसो दुई वजेदखि नाच्न गएका थियौँ, ठूलो पानी पर्न थालेपछि साँझ पाँच वजे घर फर्किने बेलामा अचानक चट्याङले हान्यो, हामी सबै ढल्यौँ, होश आउँदा नजिकै रहेकी छोरी जलेर प्राण त्यागिसकेकी थिइन्”, उहाँले भन्नुभयो । चट्याङको चपेटामा परेका सबै बेहोस भएका थियौँ । अहिले शरीर थलिएको छ, खुट्टा सुन्निएका छन् । त्यो घटनाले मन स्थिर हुनसकेको छैन ।    घाइतेलाई उपचारका लागि समयमै अस्पताल पुर्याउन सकिएन । त्यो ठाउँ भौगोलिकरूपमा विकट छ । सडक र सञ्चारको सुविधा छैन । घटना भएपछि गाउँलेका घरघरमा खबर गर्न हिँड्दाहिँड्दै थकाइ लागेको थियो । साँघुरो कच्ची बाटोका कारण डोको र कपडाको झोलुङ्गा बनाएर घाइतेलाई अस्पताल ल्याउनुपरेको सोही घटनामा परेकी घोराही–१२ की  बेलकुमारी घर्तीले बताउनुभयो । घटना भएपछि आकुलब्याकुल भएका गुरौँवासी रातभर सुत्न सकेनौँ । घाइतेलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन पनि नसकेको उहाँले बताउनुभयो । गाउँका युवा, बलिया सबै रोजीरोटी र कामको सिलसिलामा विदेशी भूमिमा गएका छन् । गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिकमात्रै रहेको बेलकुमारीको भनाइ थियो  ।    सोही वडाका वडाध्यक्ष द्रोर्ण बहकरीले आफ्नो वडाको पीडा देखेर निकै दुःखी भएको बताउनुभयो । यसका लागि नगर कार्यपालिकाबाट दुर्गमका नागरिकको आधारभूत सेवाका लागि विशेष पहल गर्न लगाउने बचन दिनुभयो । “कहिले पनि त्यो ठाउँमा फोन लाग्दैन, बिजुली बत्तीको पनि व्यवस्था छैन, खानेपानीको समस्या पनि उस्तै छ,  उहाँले भन्नुभयो, “अब कसरी हुन्छ गुरौँका नागरिकका लागि केही गरेरै छाड्नेछु”, उहाँले भन्नुभयो ।   घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बिरामीको उपचार गर्दा अस्पतालमा लाग्ने सबै खर्च घोराही उपमहानगरले व्यहोर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । ज्यान गुमाएकाहरूको परिवारलाई विपद् व्यवस्थापन समितिबाट रकमसहित राहतको व्यवस्था गर्ने उहाँले बताउनुभयो । घाइतेलाई मानसिक पीडा धेरै छ । उपचारसँगै परामर्शको काम भइरहेको सम्बद्ध चिकित्सकको भनाइ थियो ।   चट्याङ लागेर घाइते हुनेमा १५ वर्षीया निरुता साह, १५ वर्षीया जयन्ती घर्ती, १६ वर्षीया यामुसरी थापा, ३८ वर्षीया यमकुमारी साह रहेको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । यसैगरी सामान्य घाइते हुनेमा चार वर्षकी जेनिशा साह, १४ वर्षीया अन्जना घर्ती, १५ वर्षीया सावित्रा वली, ३८ वर्षीया बेलकुमारी घर्ती, ४२ वर्षीया मनकुमारी वली रहेको प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

  धनकुटा ।  प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुङ्गा) का मूर्तिहरु बन्न बन्द भएको छ । जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखापरेपछि उहाँले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अव धनकुटामा मूर्तिकलाको एक अध्याय सकिएको छ ।   बहत्तर वर्षिय धनकुटा नगरपालिका–६ निवासी जोशीले काम गर्ने क्रममा आफ्नो स्वास्थ्यले साथ नदिएपछि मूर्ति निर्माण काम गर्न छाडेको जानकारी दिनुभयो । “उच्च रक्तचापले बिरामी भएर हात कमजोर भयो, परिवारले पनि काम नगर्नु भनेपछि छाडिदिएँ”, उहाँले भन्नुभयो । यस क्षेत्रमा उहाँ झण्डै २५ वर्षसम्म क्रियाशील हुनुहुन्थ्यो ।  विसं २०३० देखि १८ वर्ष सरकारी सेवा गरेर २०५२ सालमा निवृत्त भएपछि उहाँ यस क्षेत्रमा संलग्न हुनु भएको हो ।    कुनै प्रशिक्षण नलिएका जोशीले सानैबाट मूर्तिकलामा रुची भएकाले जागिर छाडेपछि यसलाई आफ्नो निर्वाहको माध्यम बनाउनु भएको थियो । कलाकारितामा लागेपछि नाम र दाम मिलेको बताउँदै उहाँले भन्नुभयो, “यसले मलाई पाँच जनाको परिवारको जीवनयापनका लागि सहज भएको थियो । अब यो काम छाडेपछि भने आर्थिक समस्याले पिरोलेको छ ।”    उहाँले निर्माण गरेका पत्थरका मूर्ति विभिन्न मन्दिर र सार्वजनिक स्थलमा स्थापना गरिएका छन् । प्रारम्भमा एक मूर्तिको एक हजार आठ सय रुपैंयामा काम गरेका जोशीले पछिल्लो समय एक लाखसम्म लिने गरेको बताउनुभयो । उहाँका अनुसार एक फुट पत्थरको मूर्ति बनाउन १५ दिनदेखि एक महिना लाग्ने गर्दछ । उहाँले आफूले निर्माण गरेका मूर्तिहरु जिल्ला बाहेक काठमाडौँ , रोल्पा, तेह्रथुम, सुनसरीका लागि ७० भन्दा स्थानमा स्थापना गरिएको जानकारी दिनुभयो ।    काठमाडौँ  त्रिभुवन विश्वविद्यालयका लागि लक्ष्मीप्रसाद देवकोटाको शालिक, धनकुटा छिन्ताङ्ग हत्या काण्डका १६ शहिद मध्ये १० वटा शालिक, धनकुटाका शहिद भीमनारायण श्रेष्ठको शालिक, धनकुटाका प्रजातन्त्र सेनानी डगलसिंह लिम्बूको शालिक जोशीका मुख्य कृति हुन् ।   आफ्नो एकल प्रयासमा चार वर्ष लगाएर धनकुटा नगरपालिका–६ को लहरे चौतारा भन्ने स्थानमा  निःशुल्क रुपमा विशाल पत्थरमा कुँदेर गणेश र महाकालीको मूर्तिसँगै मन्दिर र पार्क बनाउनुभएपछि जोशी देशभरि चर्चामा आउनुभएको थियो । विसं २०५९ देखि २०६३ मा निर्मित यस श्री शक्ति विनायक मन्दिर तथा पार्कमा ती मूर्ति बाहेक सिमेन्टबाट बनेको सिड्नी साई बाबा, भीमसेन, गजराजलगायत विभिन्न मूर्तिहरु यहाँको मुख्य आकर्षण रहेको छ ।   यस क्षेत्रमा नाम र दाम भए पनि नयाँ पुस्तामा जागरण र धैर्यता नभएकाले प्रस्तर कलालाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न नसकिएको उहाँको गुनासो छ । “अहिलेका पुस्ताहरु कम्प्युटरमा बटम थिचेर तुरुन्त बन्ने वस्तु खोज्छन् तर पत्थरमा मूर्ति बनाउने त्यस्तो सोच र धैर्यताले सम्भव छैन”, जोशीले भन्नुभयो । नेपाल सरकारको क्षेत्रीय प्रतिभा पुरस्कार (२०६७), राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९), साविक जिल्ला विकास समिति धनकुटा, धनकुटा नगरपालिकालगायत देशका विभिन्न सङ्घ/संस्थाबाट उहाँ सम्मानित तथा पुरस्कृत हुनुहुन्छ ।

  बागलुङ ।  बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल निर्माण थालिएको छ वर्ष भयो तर छ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुनसकेको छैन । पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुुनसकेको छैन ।    मोटरेवल पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले विसं २०७३ असोज ४ गते सडक डिभिजन कार्यलयसँग सम्झौता गरेको थियो । सोह्र महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुलको काम ४० प्रतिशतमात्रै भएको उक्त कार्यालयका प्रमुख बलिराज मल्लले जानकारी दिनुभयो ।    कार्यालयबाट पटक–पटक काम गर्न ताकेता गरे पनि निर्माण कम्पनीले अटेरी गरेपछि गत वर्ष पुस १ गते ठेक्का सम्झौता तोड्ने सूचना प्रकाशन गरेको उहाँको भनाइ थियो । सूचना प्रकाशपछि निर्माण कम्पनीका प्रमुख काम सक्छौँ भनेर आएको तर काम नगरी गत असारदेखि सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।   “गत वर्ष पुस १ गते सम्झौता तोड्ने भनेर हामीले सूचना प्रकाशन ग¥यौँ, त्यसपछि ठेकेदार कम्पनीका प्रमुख काम गर्छौँ भनेर सम्पर्कमा आउनुभयो, तर उहाँले असारसम्म कुनै पनि काम गर्नु भएन, असारपछि उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्न”, कार्यालय प्रमुख मल्लले भन्नुभयो । कार्यालयले ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढाइसकेको उहाँको भनाइ थियो ।   ठेकेदार कम्पनीको पेश्की जमानतसमेत जफत गरिएको र  अब नयाँ सम्झौता गरिने बताउनुभयो । उक्त कम्पनीले हालसम्म ४० प्रतिशत मात्रै काम गरेको छ । निर्माण कम्पनीले सडक डिभिजन कार्यालयसँग रु तीन करोड ५० लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । पुलको दुवैतिर निर्माण गरिएको पर्खाल भूजीखोलामा आएको बाढीका कारण भत्किएर क्षति पुगेको छ ।   निर्माण सुरु भएको लामो समयसम्म पुल सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । भूजीखोलामाथि निर्माण थालिएको पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । हिउँदको समयमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि बर्खाको समयमा भने ठप्प हुने गरेको छ । अधिकारीचौरका अधिकांशले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । बर्खामा गाडी खोला नतर्ने भएपछि उनीहरुले उत्पादन गरेको तरकारी बारीमै कुहिएर नष्ट हुने गरेको छ ।   “गाउँ मोटरबाटोले जोडियो, पुल पनि बन्न थाल्यो भनेर कृषिमा लगानी गरियो, अहिले पुल नबन्दा उत्पादन भएका सागसब्जी, गोलभेँडा, बन्दा सबै बारीमा कुहिएर नष्ट भएका छन्, पुल बन्न थालेको छ वर्ष बितिसक्यो, अहिलेसम्म दुईतिर पिलरमात्रै उठाइएको छ, अरु कामै गरेको छैन”, स्थानीयवासी शिवराज कँडेलले भन्नुभयो, “पुल नबन्दा बजारमा तरकारी र फलफूल पुर्याउन निकै सकस भएको छ, यो समय त गाडी नै चल्दैन, त्यसले गर्दा हामी निकै मारमा परेका छौँ, हाम्रो माग कसैले सुनेन ।”   भूजीखोला बढेपछि गत असार पहिलो सातादेखि गाडीहरू ठप्प भएको उल्लेख गर्दै उहाँले ठेकेदार कम्पनी र सम्बन्धित निकायको बेवास्ताका कारण यतिका वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको गुनासो गर्नुभयो । समयमै पुल नबन्दा स्थानीयवासी दुई मिनेटमा पुग्न सकिने ठाउँमा ४५ मिनेटभन्दा बढी यात्रा गर्न बाध्य भएको कँडेलले बताउनुभयो ।    “पुल बनेको भए वारिबाट पारि सडकमा पुग्न दुई मिनेट पनि लाग्दैन तर अहिले हामी एक घण्टा लगाएर पारि तर्ने गर्छौँ, बजारबाट सामान लिनपर्यो भने दिनैभरि लाग्छ, गाउँले मिलेर पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गरायौँ तर कुनै सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “गाउँमा कोही बिरामी पर्यो भने तत्काल अस्पताल पु¥याउनसक्ने अवस्था छैन, गाउँमा सडक छ तर पुल नहुँदा गाडी चल्दैन, त्यसले गर्दा हामीले दुःख भोग्नुपरेको छ, अझै कति समय लाग्ने हो यो पुल बन्न रु”   पुल अलपत्र पार्ने निर्माण कम्पनी र ठेकेदारलाई कडा कारबाही गर्नुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् । तोकिएको समयमा पुल नबन्दा बारीमा उत्पादन भएका फलफूल र तरकारी कुहिँदा लाखौँको नोक्सानी व्यहोर्नुपरेको स्थानीय कृषक कृष्णलाल कँडेलको गुनसो थियोे ।    “वर्षौँ भयो पुल बन्न थालेको खै अहिलेसम्म बनेको ?, त्यस्ता ठेकेदारलाई कारबाही हुनुपर्छ, यो पुल त सिङ्गो गाउँलेको भविष्यसँग जोडिएको छ, समयमै पुल बन्ला भनेर लाखौँ रकम लगानी गरियो, अहिले आम्दानी गर्ने बेला नोक्सान मात्रै भइरहेको छ”, उहाँले भन्नुभयो, “हिउँदमा भएको भए मान्छेले पनि बोकेर बजारसम्म पुर्याउन सकिन्छ, पानी झरी पर्छ कसरी लाने ?, खोला तार्नै सकिन्न ।”    मोटरबाटोले गाउँ नजोडिँदा हिउँदको समयमा उत्पादन गरेका फलफूल तथा तरकारी भरीया लगाएर बुर्तिबाङ बजारसम्म पुर्याउने गरिएकामा  मोटरबाटोले गाउँ जोडिएपछि तरकारी लिन घरमै पनि गाडी आइपुग्ने उहाँले बताउनुभयो ।    “मोटरबाटो गाउँमा पुगेपछि त निकै सजिलो भएको थियो, पहिले मान्छे लगाएर बजारमा लैजानुपथ्र्यो, बाटो आएपछि व्यापारीहरु घरमै गाडी लिएर लिन आउँथे”, कँडेलले भन्नुभयो, “यस्तो बर्खाको समय छ, खोला उर्लेर आएको छ, अहिले त न गाडी आउँछ, न बोकेर बजार पु¥याउन सकिने अवस्था छ, त्यसैले गर्दा तरकारी फलफूल गाई भैँसीलाई दिन बाध्य भएका छौँ ।”  

  पर्सा । पर्साको वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् ।    नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन  सुझाव दिएका छन् ।    हाल दैनिक रुपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताउनुभयो ।  

  दोधारा चाँदनी :  सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ ।    तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको ब्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व बिधिवत रुपमा सुरु हुने यसका जानकार गोमती भट्टले बताउनुभयो ।    “एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ”, उहाँले भन्नुभयो, “बिरुडा भिजाउँदा माङ्गलकी  सगुन फाँग गाउँछौँ ।” बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ ।         फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताउनुभयो । “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्न भन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ”, उहाँले भन्नुभयो, “यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ ।       सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्र्याउने ब्रतालु सरस्वती अवस्थी बताउनुहुन्छ । “गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुबधागो लगाउने गछौँँ”, उहाँले भन्नुभयो, “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।”      अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथ गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने चलन छ ।      प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिनछ ।     गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । कञ्चनपुरमा पनि महाकाली साहित्य सङ्गमलगायत संस्थाले गौराको अवसरमा विभिन्न कार्यक्रम राखेका छन । साहित्यकार रमेश पन्त ‘मीतबन्धु’का अनुसार आजदेखि महेन्द्रनगरस्थित खुला मञ्चमा गौरा महोत्सव आयोजना गरिएको छ । “गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि गर्दैछौँ, उहाँले भन्नुभयो, “परम्परालाई जोगाउन र पुस्तान्तरणका लागि पनि हामीले कार्यक्रम गर्न लागेका हौँ ।” काठमाडौँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीले पनि गौरा पर्व धुमधामका साथ मनाउने गर्छन् ।