वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

सुनसरी | मंसिर १२, २०८१

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

सुनसरी:    सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । 

दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । 

    
सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताउनुभयो । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । 

    
उहाँका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उहाँहरुले पाँच वटा टनेलमा च्याउ खेती गर्नुभएको छ । च्याउ बजारमा थोकमा प्रतिकेजी रु एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई रु एक सय ५० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

    
रोशनले भन्नुभयो, “च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।” 

    
तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ । 

    
मासिक तलबमा काम गर्नेले मासिक रु १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले रु पाँच सय काम गरिरहेका छन् । “व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।”

    
च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ । 


साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उहाँको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उहाँको भनाइ छ । “विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुृने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न”, रोशनले भन्नुभयो । 

    
उहाँले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख अनुदान पाउनु भएको थियो भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले रु ९० हजार अनुदान दिएको थियो । 

काठमाडौं:  नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ ।  ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...

थप पढ्नुहोस्

मुस्ताङ:  झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...

थप पढ्नुहोस्

गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...

थप पढ्नुहोस्