महेन्द्रनगर । कञ्चनपुरका अधिवक्ता गजेन्द्र रावलले केही वर्षअघि छाडा पशु व्यवस्थापनमा ध्यान नदिएको जनाउँदै यहाँका चार पालिकाविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गर्नुभयो । सार्वजनिक सरोकारको विषयमा पालिकाको छाडा पशु व्यवस्थापनमा ध्यान नदिँदा पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना बढेको र किसानको खेतीबाली नोक्सान पुगेको जनाउँदै दायरा गरेको मुद्दामा अदालतले अन्तरिक आदेश जारी गर्दै व्यवस्थापनमा ध्यान दिन पालिकालाई आदेश दियो । यहाँ न अदालतको आदेश कार्यान्वयन भयो नत पालिकाले पशु व्यवस्थापन नै गर्न सके । छाडा पशु व्यवस्थापनका नाउँमा भीमदत्त नगरपालिकादेखि यहाँका अन्य पालिकाले करोड रकम खर्च गरे तर राजमार्गबाट छाडा पशुको बसाईं अन्त अझै सरेको देखिँदैन । अधिवक्ता रावलले अदालतले तत्काल यहाँको भीमदत्त , बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका नाममा आदेश जारी गरेको बताउनुभयो । “अदालतको आदेशपछि छाडा पशु व्यवस्थापनका नाममा करोडौँ खर्च गरेको सुनियो तर व्यवस्थापन भएन”, उहाँले भन्नुभयो, “ तर अहिले राजमार्गमा छाडा पशुका कारण दिनहुँजसो सवारी दुर्घटना भइरहेको अवस्था छ ।” उहाँले सार्वजनिक सरोकारका विषय भएकाले पूर्वपश्चिम राजमार्गमा पर्ने पालिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेको जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले छाडापशु चौपायाका कारण यहाँ भइरहेको सवारी दुर्घटनाको डरलाग्दो रुप सुनाउनुभयो । उहाँले बितेको सात महिनाको अवधिमा छाडा पशुकै कारण सवारी दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएको बताउनुभयो । “सात महिनामा छाडापशु राजमार्ग र सडकमा हुँदा ९४ वटा सवारी दुर्घटना भएको तथ्याङ्क छ ।” प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो, “जसमा १८÷१९ जना घाइते भएर अपाङ्गता भएको स्थिति छ ।” दुर्घटनामा दर्जनौँ छाडा पशुसमेत मरेको प्रहरीको भनाइ छ । “सडक पूर्वाधार भनेको विकासको सूचक हो, तर यहाँ गड्डचौकीदेखि मोहना पुलसम्मद दर्जनौँ ठाउँमा छाडा पशु राजमार्गमै भेटिन्छन्”, उहाँले भन्नुभयो, “जसका कारण सवारी दुर्घटना हुँदा मान्छेले जीवनभरि पनि अपाङ्गता भएर बस्नुपर्ने अवस्था आयो ।” उहाँले छाडा पशु व्यवस्थापनमा स्थानीय सरकारसँगै पशुपालक किसान स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । “दूध खाने दिन छाडेपछि छाडा छोड्ने प्रवृत्ति राम्रो भएन”, अधिवक्ता रावलले भन्नुभयो, “ व्यवस्थापनमा सबैको हातेमालो जरुरी छ ।” यहाँस्थित महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बर पन्तले अहिले दुर्घटनाका कारण छाडापशु चौपाया भइरहेको बताउनुभयो । “उहिले सडकलगायत अन्य कारणले दुर्घटना हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले महेन्द्रनगरदेखि कैलालीको चिसापानीसम्म सबैभन्दा बढी दुर्घटना छाडापशुकै कारण भइरहेको छ ।” छाडा पशु राजमार्गमा सर्वत्र हुँदा साँझको समयमा बढी दुर्घटना हुने गरेको उहाँको भनाइ छ । “साँझपछि रातिको समयमा गाईगोरुको रङ पनि कालो सडक पनि कालोपत्र हुँदा बढी दुर्घटना भएका घटना छन्”, उहाँले भन्नुभयो, “कञ्चनपुरमा छाडा पशुको व्यवस्थापन चुनौती बनिरह्यो ।” उहाँले सम्बन्धित पालिकाले अभिलेख राखेर छाडा छोड्ने किसानलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । “दूध खाएर पशु छोड्नेलाई पालिकामा जरिवाना गर्नेदेखि सुविधा कटौतीसम्मको नीति ल्याउनुपर्छ ।” छाडापशुसित मोटरसाइकल दुर्घटना बढी सङ्ख्यामा भएको देखिन्छ ।” कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा वडाध्यक्ष रमेश ऐरले भने यहाँको विन्द्रावन सामुदायिक वनको छेउछाउमा रहेको फाँटमा छाडा पशु व्यवस्थापन गरिरहेका छन् । “हामीले व्यवस्थापन गरेपछि पनि राजमार्गमा पूर्णरुपमा न्यूनीकरण भएको छैन”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाकै सहयोगले पशु व्यवस्थापनमा १२ जना मजदुर राखेर खटिएको छु ।” उहाँले सबै पालिकाले प्रयास नगरेसम्म कञ्चनपुरका छाडा पशु व्यवस्थापन हुन नसक्ने जिकिर गर्नुभयो । “अहिले हाम्रो काञ्जी घरमा साढे चार सयजति छाडा पशु व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि ४० बिघा जमिन ओगटेका छौँ ।”
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताउनुभयो । “हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो ।” उहाँले भन्नुभयो, “अहिले घटनास्थल मुचुल्का सङ्कलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौ । ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता गरेकी छिन्। चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर सार्वजनिक गरेको भन्दै निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्। आज शुक्रबार उनी करिश्माको घर गएकी थिइन्। घरनजिकै तिज मनाउन गएकी करिश्मालाई सोही स्थानमा पुगेर निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्। निहारिकालाई करिश्माले २० हजार रकम दिएकोमा निहारिकाले एक हजार थप गरी २१ हजार रुपैयाँ फिर्ता गरेकी हुन्। न्यायको माग गर्दै नाबालक छोरासहित निरन्तर लडिरहेकी निहारिकालाई अनशनस्थल पुगेर करिश्माले छोरासहित उनलाई ‘एडप्ट’ गर्ने इच्छा व्यक्त गरेकी थिइन्। तर, त्यसको केही दिनपछि नै उनले आरोपित शिवराज श्रेष्ठसँग निहारिकाका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि निहारिका कानुनी उपचारमा जाने भएकी छिन्।
रामपुर । ‘तीजमा छोरी आइन माइत नभन्नु है आमाले, आउन पाइन आमा म त घरको कामले’ यसपालिको तीजमा माइती घरमा जान नपाउँदा फोनबाटै बुढी भएकी आमालाई सम्झाउँदै हुनुहुन्छ, पाल्पा रामपुरकी भगवती देवकोटा । माइतीघरमा आमाको काखमा बसेर दर खादै आँगनीमा मादलको तालमा घन्केर नाच्ने रहर उहाँलाई नभएको होइन । तैपनि समय र परिस्थितिले कर्मघरमा नै परिवारसँग बसेर खुशीयालीका साथ तीज मनाउँदै हुनुहुन्छ । “पहिला–पहिला तीजमा हरेक वर्ष छोराछोरी कोही काखमा, कोही डोर्याउँदै दिनभरको बाटो वर्षे भेल पनि नभनी खोला, नदीनाला तरेर पुगिन्थ्यो, अहिले त आफ्नै घरकै कामधन्दाले गर्दा माइती जानै भ्याइँदैन, माइती नगए पनि घरमै तीजकै रमाइलो गरेर मनाउने तयारी छ”, उहाँले भन्नुभयो । घर व्यवहार, छोराछोरीको पठनपाठन सबै आफ्नै काँधमा आएपछि तीजलाई भनेर माइतीमा हिजोआज कमै जाने गरेको उहाँ बताउनुहुन्छ । बेलाबेलामा भने उमेर ढल्कदै गएका बुबाआमालाई भेटघाट गर्न जाने गर्छु तर तीज पर्व नै भनेर माइती जाने हिजोआज फुर्सद नै मिल्दैन । घरमा सबै सुखसयल, धन सम्पत्ति भए पनि छोरीलाई तीजमा माइतीकै झल्को भने उत्तिकै आउने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अब बुढ्यौलीले छुँदै गयो, दुई÷तीन दिन माइती गएर बस्दा सबै घर बिग्रन्छ कि भन्ने पिरलो हुन्छ, बिहे भएका सुरुका वर्षमा त सधैँजसो तीजमा माइती गइएकै थियो, बाबाको तीनतले घर छोरीलाई के काम लाग्छ र ? भने झै आफ्नै घरमा सुख दुःखसँग रमाउनु पर्ने छोरीको कर्म रहेछ ।” पहिला मीठो मसिनो खान वर्ष दिनकै चाड कुर्नुपथ्र्यो । अहिले परिस्थिति बदलिएकाले पनि महिलाहरु मीठो मसिनो खानकै निम्ति माइतीमै जानुपर्छ भन्ने चलन हराउँदै गएको छ । सतासी वर्षीय विष्णुमाया देवकोटालाई यसपटक पनि तीजमा भाइले माइती बोलाए पनि उमेर अवस्थाले गर्दा माइती जानसक्ने अवस्था छैन । बद्री पंगेनी र कविता अर्यालले यसपटक बजारमा ल्याउनुभएको ‘सुखदुःख गरौँला दिदी आउँ है खुरुक्क, तीजमा भाइले बोलायो मत भए फुरुक्क’ बोलको गीत उहाँको जीवनमा मेल खाएको छ । उहाँलाई माइतीघरमा बाल्यकालमा तीजमा छम्केर नाचेको पल अहिले ताजै छ । “भाइले फोन गरेर बोलाउँदा मन फुरुक्क भएको छ, माइतीघरमा गएर दिदीभाइ बसेर मीठो मसिनो खाने, सुखदुःख गरेर बस्ने चाहना छ तर जान सकिदैन, दिदीभाइ फोनमै सुख दुःख गन्थनमन्थन गरेर तीज मनाउन थालेको धेरै वर्ष भइसक्यो”, ज्येष्ठ नागरिक देवकोटाले भन्नुभयो । हरितालिका तीज महिलाको दुःखसुख र वेदना बोल्ने चाड हो । तीजमा माइती मावली आफन्ती कहाँ गएर भेटघाट मीठो मसिनो खाने, गीत गाएर नाच्ने चलन छ । घरको कामधन्दा, विभिन्न वाध्यता परिस्थितिले तीजमा माइती जान नपाउँदा मनभित्रै पीडा लुकाएर कतिपय महिला बस्न बाध्य छन् । हुन त पहिलेको तीज र अहिलेको तीजमा धेरै फरकपन आइसकेको छ । तीजमै भनेर माइती, मावली नै जाने चलन पनि कम हुँदैछ । भाइले फोन गरेर गत वर्ष पनि तीजमा आउनुभएन यसपटक जसरी पनि आउनुहोला दिदी भन्दैछ तर आमा नभएको माइतीघर नरमाइलो लाग्ने गरेको सीता भण्डारीले दुःखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “म नौ वर्षको उमेर हुँदा आमाले हामीलाई छोडेर अन्यत्र जानुभयो, सानासाना भाइबहिनी हुर्काउने पढाउने सबै मेरो जिम्मा थियो, भाइले आमा सरह नै माया गरे पनि झल्को आमाकै बढी आउँदो रहेछ ।” तीजमा आमा नहुँदा छोरीलाई साह्रै पीडादायी हुन्छ । आमाले गर्ने माया, स्नेह, आमाको हातले पकाएको मीठा परिकार चाडपर्वका समय बढी झझल्को आउँछ । ‘बाबा पनि हुनुहुन्छ, दाजु पनि हुनुहुन्छ, चाहिँदो रहेछ छोरीलाई आमा बरिलै’ भने झैँ माइतीमा सबैको मायाममता पाए पनि आमा नहुँदा छोरीलाई घर नै रित्तोजस्तो अनुभूति भएको रितु गैरे बताउनुहुन्छ । तीजमा विशेषगरी छोरीले कर्मघरमा भोगेका दुःख सुखका कुरा, सासूबुहारीका जुहारीलाई ठट्यौली पारामा गीतका माध्यमबाट पोख्ने चलन छ । पहिले ‘सुन्नुहोला दिदीबहिनी कस्ता आए जमना, बुहारीले सुख देलान् भन्दै नभन’ जस्ता खालका गीतहरु बढी सुनिन्थ्यो भने अहिले समय र बढ्दो प्रविधिको प्रयोगलाई जोडेर पुरानै शैलीमा पनि यदाकदा केही गीतहरु भने सुन्न पाइन्छ । गैरेले सुनाउनुभयो, “अचकालका बुहारीको कति गरम् बहिन मोबाइल र टिकटकभन्दा अर्थोक भएन ।” हिजोआज परिमार्जित भएर यस्ता खालका गीत गाउँघरमा पाकापुस्ताले तीजमा गाउने गर्छन् । पहिलाजसो भने पुराना मौलिक परम्परागत गीत भने अहिले कमै सुन्न पाइन्छ । हिन्दूहरुले मनाउने विभिन्न पर्वमध्ये महिलाको महान् पर्वका रुपमा हरितालिका तीजलाई मनाउँदै आइएको छ । यो चाड महिलाकोे स्वतन्त्रताको पर्व पनि हो । पहिलेका तीज गीत सुन्दा महिलाका धेरै आवाज मात्रै सुनिन्थे । त्यतिबेलाका गीतसङ्गीतले नारीका दुःख वेदनालाई उजागर गरेको हुन्थ्यो तर अहिले भने तीज गीतमा महिला र पुरुषको आवाज बराबरी जस्तै सुन्न पाइन्छ । अहिले बजारमा आएको विष्णु माझीको ‘ए आम्मै जुरेन साइत जाम्ला भनेको मै छोरी माइत, जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुदै रुदै बेंशी मेलैमा’ । गायिका मञ्जु पौडेलको ‘घन्किदे मादलु खरी झरे झर्ला जसोपरे पर्ला, बाबाको आँगनी धुलो उडाम्ला’ यिनै गीतले सामाजिक सञ्जाल, गाउँघरमा तीजको माहोल तताएको छ । भड्किलो बन्दै पर्व हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायामको धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिनुवाको चामल, घ्यु पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्युमा पकाएको खाजा, तामा, करेला जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो । बुढापाका अनुसार केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा थियो । तर हिजोआज भने माछा, मासु, खिरलगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्दो छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार व्रतबस्ने चलन छ । त्यही भएर पनि आडिलो रहन र चिसो सोस्नका निम्ति घ्युमा चामललाई भुटेर बनाइएको दरले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि दरखाने गरिन्छ । अहिले दरखाने निहुँमा ठूलाठूला पार्टीप्यालेस, होटल, रेष्टुरेण्टमा महिला जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मकरुपमा जानेको लहर छ । पाल्पाका विभिन्न होटल, पार्टीप्यालेसमा जनैपूर्णिमा पर्व सुरु भएदेखि नै दिनहुँ समूहमा दरखान जाने महिलाको आकर्षण बढ्दो छ । यहाँको पार्टीप्यालेस, रेष्टुरेन्टमा एक दिनमा पाँचदेखि सात समूहसम्म दरखान जाने गरेको पाइएको छ । दरखाने नाउँमा तडकभडक देखिन थालेको छ । हरितालिका तीजको महत्व तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको पूजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमयरुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपले नेपालभर मनाइन्छ भने भारतका कुनैकुनै प्रान्तमा पनि मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रतराखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरुले यो पर्व मनाउदै आएका छन् । यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरी÷चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार बनाएर खुवाउने तथा मनका भावना एवम् सुख दुःख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यस दिन विशेष महत्वका साथ दरखाने गरिन्छ । यही दरखाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मीठामीठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरालगायतका खाना, फलफूल खाने गरिन्छ । आधुनिकता सँगसँगै पछिल्लो समय भने यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । माछा मासु, मिठाइलगायतका परिकारको प्रयोग बढ्दो छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई व्रतबस्नुपर्ने भएकाले दर खाने दिन राति अबेरसम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो । खासगरी यसमा स्त्रीहरुले पतिका निम्ति निराहार रहेर भगवान् शिव तथा आद्य शक्ति पार्वतीसँग प्राथना गर्दछन् । यो दिन महिला बिहान चाँडै उठी नुहाइधुवाइ गरेर दिनभरि जल, अन्न ग्रहण नगरी व्रतबस्ने गर्दछन् । बेलुकीपख गाउँघर र छिमेकका महिला भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला व्रतभनिए पनि आजभोलि महिला मध्याह्नमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिला नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् । हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रतबसिन् । पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिककालदेखि चल्दै आएको मानिन्छ । आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलालाई मीठामीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलालाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रतबसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता नारी सुयोग्य वरको आशा राखी व्रतबस्छन् । व्रतको समयमा महिलाले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रतअन्य व्रतभन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाइ व्रतबस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिला महादेवको पूजा आराधनापश्चात् फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ । तीज पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यताअनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा तीज पर्वको गहन महत्व रहेको छ ।
काठमाडौं । यहाँका दुई स्थानीय तहले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन् । बर्सातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौँ लाग्ने र सुरक्षाबापतको भत्ता बाटामै सकिने भएकाले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ, नगरपालिकाको केन्द्र र बैंक शाखामा पुग्न घण्टौँ लाग्ने र नगरवासीले निकै सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेका हौँ ।” बर्खाको समयमा सबै ठाउँमा गाडी नपुग्ने तथा नागरिकले धेरै सास्ती व्यहोर्नुपर्ने भएकाले पायक पर्ने ठाउँमा गई भत्ता वितरण भइरहेको गिरीले बताउनुभयो । “बैंकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसाबले धेरै उपयुक्त छ तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस देखिएको छ, प्रभावकारी छैन, त्यसैले नजिकैको स्थानबाट भत्ता वितरण गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत गिरीले भन्नुभयो । सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ तर ज्येष्ठ तथा शारीरिकरूपमा अशक्तको अप्ठ्यारालाई मध्यनजर गर्दै गाउँमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको नलगाडका नगर प्रमुख डम्बर रावतले बताउनुभयो । यस्तै जिल्लाको बारेकोटले पनि गाउँगाउँमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो । “नागरिकको सहजतालाई मध्यनजर गर्दै गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो । वर्षायाममा बाटो सडक सबै भत्किएका कारण बैंक जान र आउनसमेत समस्या भए पनि स्थानीय तहले यस्तो व्यवस्था गरेका छन् । अन्य पालिकाले भने बैंकमा आएर भत्ता बुझन भनेर जानकारी गराएका छन् ।
मतदानस्थल नजिकै थियो । त्यसैले बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी गाउँकी जुनादेवी शर्मा पौडेल लामो समयपछि बुधबार वडा कार्यालयमा पुग्नुभयो । उहाँलाई आफ्नो घरदेखि वडा कार्यालय रहेको ठाउँसम्म पुग्न सवा दुई घण्टा समय लाग्यो । सवारीको प्रबन्ध नभएकाले उहाँ पैदल नै हिँडेर त्यहाँ पुग्नुभएको थियो । उहाँसँगै सोही गाउँका अन्य महिला पनि आयोजित एकीकृत शिविरमा वडा कार्यालय पुगेका थिए । वडा कार्यालय पुगेका टाकुरीबासीलाई वडाको मुकामभन्दा नगरपालिकाको मुकाम नजिक पर्छ । बागलुङ कुश्मीशेरा सडक कालोपत्रे भएकाले उनीहरु पालिका मुकाम ४५ मिनेटमा नै पुग्छन् । तर सबै काम वडा कार्यालयसँग जोडिने भएकाले उकालो नहिँडेर सुख छैन । साविक अमलाचौर गाउँविकास समितिको वडा नं. २, ८ र ९ का गाउँहरुका लागि वडा कार्यालय अपायकमा पर्छ । अपायकमा वडा कार्यालय हुँदा आफूहरुले सास्ती खेप्नुपरेको पौडेलले बताउनुभयो । टाकुरी, सरंगेलगायतका गाउँका लागि वडा कार्यालयले सेवा केन्द्र सञ्चालन गरेरै भए पनि नजिकैबाट सेवा दिनुपर्ने उनीहरुको माग छ । “अहिलेको जमानामा पनि सजिलो सडक छैन, पैदल हिँडेर यतिका लामो सयमा वडा कार्यालय पुगिन्छ”, पौडेल भन्नुहुन्छ, “हामीलाई बरु वडा नं १४ नजिक पर्छ, जैमिनी नगरपालिकाका वडा कार्यालयभन्दा हाम्रो वडा कार्यालय पुग्न समय धेरै लाग्छ ।” बागलुङ नगरपालिकाले आयोजना गरेको एकीकृत सेवा प्रवाह शिविरमा गाउँको योजना सम्झौताका लागि उनीहरु त्यहाँ पुगेका थिए । शिविरमा पुगेर योजना सम्झौता गर्दाभन्दा नगरपालिकाको कार्यालयमै पुगेर योजना सम्झौता गर्न सहज रहेको उनीहरुले बताए । “हामीलाई सेवा लिन सदरमुकाम पुग्न बरु सडक र सवारी दुवै हिसाबले सहज छ”, सरंगेकी सरस्वती पौडेलले भन्नुभयो “वडा कार्यालय नआई सिधै नगरपालिका गएर मात्रै काम बन्दैन । हरेक काममा वडाको सिफारिस चाहिन्छ ।” राज्यको पुनःसंरचना गर्ने बेला भूगोलको अवस्था हेरेर पुनःसंरचना हुन नसकेका कारण टाकुरी र सरंगेलगायतका गाउँका सर्वसाधारणले दुःख पाउनुपरेको स्थानीयवासी यदुनाथ पौडेलले बताउनुभयो । त्यहाँका सर्वसाधारणले वडा कार्यालय पुग्नका लागि सिधा सडक सञ्जाल सहज नभएकाले वडा नं १३ को पैञ्युपाटा वा जैमिनी नगरपालिकाको कुश्मीशेरा हुँदै घुम्नुपर्ने बाध्यता छ । घुमेरै वडा कार्यालय पुग्न रिजर्भ नगरेसम्म सवारी नपाइने पौडेल बताउनुहुन्छ । ससाना सिफारिसका काम, योजनाका काम र वडास्तरमा हुने विभिन्न शिविर तथा कार्यक्रममा सहभागी हुनसमेत नसकेको महिलाको गुनासो थियो । “आज नगरले शिविर चलाएको छ, कसैको स्वास्थ्य परीक्षण भएको छ, कसैले योजना सम्झौता गरेका छन् तर हाम्रो गाउँबाट हामीबाहेक कोही आएनन्”, जुनादेवी भन्नुहुन्छ, “एकल सरो महिला यहाँ आए घर डुब्छ, घरैबसे यहाँ छुट्छ ।” वडा कार्यालयले भने तत्कालै सेवा केन्द्र सञ्चालनको विषयमा कुनै योजना नरहेको जनाएको छ । ‘उहाँहरुलाई अपायक भएको कुरा जायज हो, समस्या धेरै छन्’ वडा अध्यक्ष कोपिलामणि शर्माले भन्नुभयो, “म जनताको गुनासो कार्यपालिकामा राख्छु, अन्य वडामा पनि यस्ता समस्या छन्, सम्बोधन भयो भने निकै सजिलो हुन्छ ।” आधारभूत तहको सेवाका लागि घण्टौँ लगाएर वडा कार्यालय पुग्नुपर्दा ज्येष्ठ नागरिक र अपाङ्गता भएका बढी प्रभावित हुने गरेका छन् । राज्य पुनःसंरचनापछि अपायक क्षेत्र जोडेर सहज बनाउने नीति भएपछि व्यवहारमा भने कार्यान्वयन भएको छैन । त्यसैले केही वडा टुक्र्याए पनि कतिपय स्थानमा अझै समस्या छ ।RSS
बागलुङको सुदूर गाउँ निसी । आफ्नै भाषा, मौलिक कला, संस्कृति र परम्परा भएको ठाउँ । डेढ दशक अगाडिसम्म निकै दुर्गम मानिने निसी मध्यपहाडी लोकमार्गले जोडिएपछि सुगम बनेको छ । निसी क्षेत्र सुगम बन्दै गएपछि यहाँका भाषा, कला र संस्कृति भने ओझेलमा पर्न थालेका छन् । लोकमार्गले जोडिएपछि बाह्य संस्कार संस्कृतिको सिको हुन थालेपछि यहाँका संस्कार संस्कृति ओझेलिन थालेका हुन् । कला, संस्कृतिसँगै यहाँका मगर समुदायको आफ्नै ‘मगर खाम भाषा’ पनि लोप हुने खतरा बढेको छ । युवा पुस्ता पढ्न तथा रोगारका सिलसिलामा गाउँ जोडेर बजार छिर्न थालेपछि यो भाषा लोप हुने अवस्थामा पुगेको हो । लोकमार्गले निसी क्षेत्र जोडिनु पूर्व यहाँका स्थानीयले आफ्ना बालबालिकालाई गाउँमै पढाउने गर्थे । गाउँमा खाम भाषानै बोल्ने हुँदा संरक्षित थियो । अहिले सामान्य आर्थिक अवस्था भएकाबाहेक धेरैले आफ्ना बालबालिकालाई पढाउनका लागि बजार पठाएका छन् । उनीहरु बजारमा हुँदा यो भाषा निकै कम बोल्ने गर्छन् । गाउँमा पढ्ने बालिबालिकाले अहिले पहिलेको जस्तो खाम भाषा बोल्न छोडेका छन् । विद्यालयमा आफ्नै भाषाको पाठ्यपुस्तक छैन । त्यसैले गर्दा पनि भाषा संरक्षणमा ठूलो चुनौती बढेको छ । मौलिक भाषा र संस्कृतिले चिनिने निसी अहिले अस्तित्व कसरी जोगाउने भन्ने अवस्थामा पुगेको छ । बुढापाकाले यसको संरक्षणमा चासो देखाए पनि युवा युस्तामा भने त्यो इच्छा त्यति देखिदैन । निसीखोलामा बोलिने खाम भाषा अठार मगरात अन्र्तगतको हो । यो भाषा निसीखोला गाउँपालिका वडा नम्बर ५ र ६ बस्ने स्थानीयहरुले बोल्ने गर्छन् । नेपाली खस भाषाको बढ्दो प्रयोगका कारण आफ्नो भाषा लोप हुने अवस्थामा पुगेको निसीखोला गाउँपालिका वडा नम्बर ६ का ७६ वर्षीय तुलबहादुर बुढामगरले बताउनुभयो । बुढामगरले यसको संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ । “भाषा, संस्कार र संस्कृति भनेको हाम्रो पहिचान हो, पहिचाननै गुम्यो भने हाम्रो अस्तित्व के, अहिलेका युवा पुस्तालाई भाषा हराउन थालेको प्रति केही चासोनै छैन”, बुढा मगरले भन्नुभयो, “अब भाषा संरक्षणमा लागिएन भने अबको पाँच÷सात वर्षमा खाम भाषा कोही बोल्दैन, त्यसले गर्दा स्थानीय सरकारले पनि ध्यान देहोस्, हामी स्थानीय के गर्न पर्छ गर्छौँ ।” निसीबाट रोजगार र अध्ययनको लागि जिल्ला बाहिर जानेको सङ्ख्या ठूलो छ भने विदेश पलायन हुनेको सङ्ख्या पनि उत्तिकै छ । अहिले गाउँमा वृद्धवृद्धा र ससाना बालिबालिका मात्रै छन् । केही वर्ष अगाडिसम्म यहाँका अधिकांश स्थानीयको मुख्य कृषि र पशुपालन थियो । गाउँमै पशुपालन र कृषि कार्य गर्दा आफ्नै भाषा प्रयोग हुन्थ्यो । अहिले विदेश जाने र सहर पस्ने गर्दा भाषाको कम प्रयोग हुनेको गरेको निसीखोला गाउँपालिका वडा नम्बर ५ का नन्दबहादुर घर्तीमगरले बताउनुभयो । “पहिले–पहिले गाउँमै भेडापालन गर्थे, आलु, भाँगो र सिमी उत्पादनमा लाग्ने गर्थे, अहिले धेरै जसोले भेडापालन र आलु खेती गर्न छोडे, युवाहरु विदेशिए, केटाकेटी पढ्न बजार झरे, अहिले गाउँमा त उही बुढापाका मात्रै छन्, उनीहरुले खाम भाषा नै बोल्छन्, उनीहरुले मात्रै बोलेर पक्कै भाषाको संरक्षण हुन्न होला, पुस्ता हस्तान्तरण हुनैपर्छ”, घर्तीमगरले भन्नुभयो, “स्थानीय सरकारले सहर पढ्न जाने बालबालिकालाई गाउँमै गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, रोजगारका लागि जाने युवालाई यहीँ नै काम गर्ने वातावरण सिर्जना गर्ने हो भने भाषा संरक्षणमा समस्या हुने थिएन ।” सरकारी कार्यालयमा हुने कामकाज र विद्यालयमा हुने पठनपाठनदेखि सबै नेपाली भाषामा हुँदा खाम भाषा लोप हुने अवस्थामा पुगेको निसीखोला गाउँपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो । उहाँले राज्यको प्रष्ट नीति नहुँदा सयौँ वर्षदेखि बोलिँदै आएको खाम भाषा संकटान्मुख बन्दै गएका बताउनुभयो । स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरे पनि निसीखोला गाउँपालिकाले अहिलेसम्म पाठ्यक्रम निर्माण गर्न सकेको छैन । स्थानीय पाठ्यक्रममा यो भाषा समेट्न सके यो संरक्षणमा टेवा पुग्ने देखिन्छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराम पुनले अन्य भाषामा पाठ्यक्रम तयारीको अन्तिम चरणमा पुगेको र मगर खाम भाषासहितको पाठ्यक्रमका विषयमा छलफल चलिरहेको बताउनुभयो । पुनले आगमी शैक्षिक सत्रदेखि दुवै भाषाका पाठ्यक्रमहरु लागु हुने गरि काम गर्ने बताउनुहुन्छ । “पालिकाले पाठ्यक्रम निर्माणको अन्तिम चरणमा पुगेको छ, खाम भाषाको भने अहिले बल्ल छलफल चलेको छ, अहिले निर्माण चरणमा रहेको पाठ्यक्रममा पालिका भित्र भएका कला, संस्कृति, पर्यटन, कृषि तथा पशुपालन लगायतका विषयलाई समेटेका छौँ”, शिक्षा शाखा प्रमुख पुनले भन्नुभयो “आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी दुवै भाषाका पाठ्यक्रम तयार हुने छ ।” उहाँले मगर खाम भाषा पालिकाको सात वडा मध्ये वडा नम्बर ५ र ६ मात्रै बोलिने हुँदा पाठ्यक्रम निर्माणमा केही समस्या भएको बताउनुभयो । “पालिकाको वडा नम्बर ५ र ६ मा मात्रै खाम भाषा बोल्नुहुन्छ, अन्य वडामा बोलिदैन, हामीले दुई प्रकारका पाठ्यक्रम बनाउनुपर्ने अवस्था छ, अहिले तयार हुने अवस्थाका पाठ्यक्रमलाई खाम भाषामा ‘ट्रान्सलेट’ गरेर गराउने कि छुट्टै बनाउने भन्ने विषयमा छलफल भएको छ ।” RSS
लमजुङ । ‘झरेको पात झै भयो, उजाड मेरो जिन्दगी, निभेको दीप झै भयो उदास मेरो जीन्दगी।’ स्वर सम्राट नारायण गोपालले यी हरफमा उल्लेख गरे झै बागलुङ जिल्लाको कालापैरा घर भई विगत नौ वर्षदेखि लमजुङमा बस्दै आउनुभएका ४७ वर्षीय मनबहादुर विकको जीवन पनि यस्तै भइरहेको छ । शारीरिक रुपमा अशक्त उहाँको देब्रे खुट्टा छैन । पाँच जनाको परिवार रहेको मनबहादुरको आम्दानीको कुनै स्रोत छैन । काम गरेरै खान पनि शारीरिक अवस्थाले पनि दिँदैन । परिवारको गुजारा चलाउन दैनिक बिहानैदेखि विभिन्न स्थानमा बैसाखीको सहारामा आर्थिक सहयोग माग्दै परिवारको जीवन धान्नुपर्ने बाध्यता छ । बागलुङमै रहँदा घर बनाउने काम गर्दै आउनुभएका उहाँ विसं २०६८ मा आफ्नै घरमा पालेको बस्तुभाउका लागि स्याउला काट्ने क्रममा रुखबाट खसेर देब्रे खुट्टाको दुई ठाउँको हड्डी भाँचियो । जिल्ला अस्पतालमा उपचारका क्रममा गोडाभन्दा तलको सबै भाग काटेर फाल्नु पर्यो । चार महिना उपचार गरेर घर फर्केपछि करिब १४ महिना घरमै आराम गरेर बस्नु परेको उहाँको भनाइ छ । मनबहादुरको दुःख त्यतिमै सीमित भएन । उपचारका लागि रु सात लाख लाग्यो । त्यतिका पैसा घरमा नभएको र उहाँको आफ्नै दाइले प्रभु बैंकबाट ऋण निकालेर उपचार खर्च तिर्नुभयो । मेलापात र घरबनाउने काम गरेर जसोतसो गुजारा चलाउँदै आउनुभएका उहाँलाई यतिको रकम खर्च गर्नुपर्दा र शारीरिकरुपमा अशक्त हुनुपर्दा चिन्ताले सताउन थाल्यो । श्रीमतीसहित दुई छोरा र एक छोरी भए पनि छोराछोरी बालकै भएकाले कमाउन सक्दैनन् । आफूले पनि काम गर्न नसक्ने भएपछि मामाको सल्लाहअनुसार लमजुङ भोटेओडारको फेदीकुनामा विसं २०७० मा बसाइ सरेर मागेरै परिवारको गुजारा चलाउँदै आएको मनबहादुर बताउनुहुन्छ । बेँसीसहर नगरपालिका–८ बस्दै आउनु भएका उहाँका १७ वर्षीय एक छोरी, १४ वर्षीय र १२ वर्षीय छोरा बागलुङमै रहेका त्यहीको सरकारी विद्यालयमा अध्ययनरत छन् । उनीहरुसहित आफू र श्रीमतीका लागी दैनिक मागेर जीवनयापन गर्नाका साथै उपचार गर्दा लागेको ऋण मासिक साढे १२ हजारका दरले बुझाउँदै आएको उहाँ सुनाउनुहुन्छ । मागेरै दैनिक न्यूनतम रु एक हजार २०० देखि रु दुई हजारसम्म जम्मा हुने र छोराछोरीका लागि दुई तीन महिनामा रु २० हजारदेखि रु ३० हजारका दरले पैसा पठाउने गरेको बताउनुहुने मनबहादुर महिनाभर मागेरै हिँड्न नसक्ने उल्लेख गर्नुहन्छ । थकाई लाग्छ, कहिले बिमारी होइन्छ, त्यसैले महिनामा १४÷१५ दिन मात्र मागेर हिँड्ने गरेको छु उहाँ भन्नुहुन्छ । “मेला महोत्सव, चाडपर्वका साथै जिल्लाको सिमपानी, खुदी भूलभूले, बेँसीसहर, घलेगाउँ, मालिङ, मध्यनेपाल, सुन्दरबजार, भोटेओडारलगायत स्थानका घरघरै र बाटोमा बसेर पैसा माग्ने गर्दा प्रतिव्यक्ति रु पाँच देखि ५० रुपैयाँसम्म दिने गरेको मनबहादुर सुनाउनुहुन्छ । मुलुकमा कोरोना सङ्क्रमण फैलिनुभन्दा केही महिनाअघि पैसा माग्दै दुई पटकसम्म मनाङको खाङसारसम्म पुगेको र त्यति बेला राम्रो पैसा उठेपछि पुनः गत जेठमा मनाङ पुगेपनि मनाङवासी यार्सागुम्बा सङ्कलनका लागि गएकाअवस्था परेकाले खासै पैसा नउठेपछि लमजुङमै फर्किएर आउनुपरेको थियो । यसरी पैसा माग्दै जीवन चलाउँदै आएपनि पैसा माग्नलाई सजिलो नभएको र माग्दा कसैले दिने र कसैले सहन नसक्ने गरी बचन लगाउने गरेको उहाँको भनाइ छ । कसैले तपाईजस्तो मान्छेलाई दिनुपर्छ भन्छ, कोहीले अहिले पैसा छैन पछि दिउला भन्छ, कसैले हातको सीप गरेर कमाउन सुझाव दिएर मात्र जान्छन् । कोहीले त पैसा दिनाको सट्टा नानाथरीका बचन लगाउने गरेको मनबहादुर गुनासो गर्नुहुन्छ । मलाईजस्तो दुःख कसैलाई नपरोस्, तर दःुख परेपनि मेरो जस्तो दुःख नहोस् भन्नुहुने उहाँको एउटै चाहना छ, यस्तो हालत भए पनि छोराछोरीलाई राम्रोसँग पढाउन सकौँ, उनीहरुको भविष्य उज्वल बनाउन सकौँ भन्ने लाग्छ । श्रीमती पनि काम पायो भने कहिलेकाहीँ अरुको मेलापात गर्ने र आफूलाई खाना बनाएर बस्ने गर्छिन् । हामी जस्ताका लागि बसेर गर्न सक्ने सीपसँगै काम गर्ने वातावरण मिलाइ दिए हुन्थ्यो । रासन पानी पनि सस्तो गर्दिए हुन्थ्यो, झन् झन् महँगी बढ्दै जाँदा हामीलाई धेरै मार पर्ने गरेको छ तर सरकारले हाम्रो कुरा नै नसुन्ने मनबहादुरको गुनासो छ । कसैले सहयोग गरे धेरै दुःखकष्ट सहेर हिँड्नु नपर्ने उहाँको अपेक्षा छ । बेँसीसहर नगरपालिकाका उपप्रमुख पद्ममा गुरुङ आफूले त्यसरी मागेर खाने मानिस भएको जानकारी नभएकाले उनीहरुका लागि हाल नगरपालिकाले कुनै योजना नबनाएको बताउनुहुन्छ ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ मा सीमित भएको छ । कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर रु एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ चार दशमलव ८९, व्यापार २० दशमलव ७४, होटल तथा पर्यटन ४१ दशमलव ६४, विकास बैंक ५७ दशमलव ४८, जलविद्युत् ३७ दशमलव ३७, निर्जीवन बीमा २१ दशमलव ७३, उत्पादन ७९ दशमलव ९५, अन्य ३३ दशमलव ३३, लघुवित्त २७ दशमलव शून्य सात, जीवन बीमा ५८ दशमलव ५६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य आठ र लगानी शून्य दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड २४ लाख ६५ हजार दुई सय ६१ बराबरको कारोबार भयो । त्यस्तै रिडी हाइड्रोपावर रु नौ करोड ४१ लाख २८ हजार नौ सय ९२, नेस्डो समृद्धि लघुवित्त रु आठ करोड ३१ लाख ४० हजार दुई सय ७३, अरुण काबेली पावर कम्पनी रु सात करोड २८ लाख ६१ हजार नौ सय ६८ र राधी विद्युत् कम्पनी रु चार करोड ८३ लाख ७४ हजार छ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव नौ, रुरु जलविद्युत् कम्पनी आठ दशमलव ९३, नेष्डो लघुवित्त दुई दशमलव शून्य सात, ग्लोबल आइएमई बैंकको ऋणपत्र दुई र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाएका छन् । त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनी पाँच दशमलव ८२, मल्टिप्रपोज फाइनान्स कम्पनी चार दशमलव २७, खानीखोला हाइड्रोपावर कम्पनी चार दशमलव १८, सूर्योदय बोमी लघुवित्त चार दशमलव शून्य नौ र दोर्दीखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।