काठमाडौँ । नेपाली बृहत् शब्दकोशले दर शब्दको अर्थ तीजका अघिल्ला रात खाने, दह्रिलो विशेष भोजन भनेको छ । शब्दकोशको यो अर्थको अनर्थ लाग्ने गरी अहिले राजधानीलगायत ठूला सहरमा तीजको महिनौँअघिदेखि दर खानेको लर्को लाग्छ । तीजमा व्रत बस्ने बर्तालुलाई आड होस् भन्ने उद्देश्यले दर खाने परम्पराको विकास भएको हो । वैदिक सनातन हिन्दू धर्मअनुसार भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाइन्छ । त्यसको अघिल्लो रात दर खाने संस्कृति सनातनदेखि नै चल्दै आएको छ । यो परम्परामा केही वर्षअघिदेखि भने विकृतिको सुरुआत भएको छ । संस्कृतिविद् डा गोविन्द टण्डन तीजका नाममा सुरु भएको यो विकृतिलाई रोक्नुपर्ने बताउनुहुन्छ । तीजको एक दिनअघि आमा, दिदी, बहिनी घरपरिवारमा बसेर आडिला चीजबीज खानुलाई दर भनिने उहाँ सुनाउनुहुन्छ । तडकभडकका रूपमा मनाउने यस्तो विकृतिले फजुल खर्च बढाएको छ । “अहिले हाम्रो संस्कृतिभन्दा भिन्नरूपमा तीज मनाउन थालिएको छ, यसले नहुनेलाई तनाव दिएको छ, नकारात्मक सोच बढाएको छ, गरिष्ठ कुरा मांस, मदिरा दरमा खाने होइन, सेल, पुरी, खीरलगायत शरीरलाई तागत दिने खानेकुरा दरका रूपमा खाने हो”, संस्कृतिविद् टण्डनले भन्नुभयो । विकृतिका रूपमा मौलाएको तीज भोजले होटल र पार्टीप्यालेस व्यवसायीलाई फाइदा भए पनि संस्कृतिलाई भने विकृत बनाएको छ । होटल र पार्टीप्यालेसमा साथीभाइसँग दर खाने परम्परा नै गलत रहेको टण्डनको भनाइ छ । टाढा टाढाबाट माइत आएका चेलीबेटीले घर परिवारमा बसेर खाने मौलिक परम्परालाई अहिले विकृत बनाइएको छ । तीजको दुई महिनाअघिदेखि दर खाएर देखाउँदा विपन्न वर्गका मानिसलाई पर्व मनाउन मुस्किल हुने गरेको छ । समाजमा दर भनेको एक महिनाअघिदेखि नै खानुपर्ने रहेछ भन्ने सन्देश गएको छ । सहरमा एक महिनाअघिदेखि धेरै पार्टीप्यालेस दर खानकै लागि रिजर्भ हुने गरेका छन् । यसरी रिजर्भ भएका पार्टीप्यालेसमा दरका नाममा मांस, मदिराको सेवन हुन्छ । व्रत बस्ने अघिल्लो दिन खाने विशेष परिकारलाई दर भन्ने शब्दकोशको अर्थअनुसार अहिले अधिकांशको व्यवहारमा चलेको दर खाने प्रक्रिया मिल्दैन । व्रतको अघिल्लो दिन घाम अस्ताएपछि देखि नै बर्तालुले शुद्ध खानेकुरामात्र खानुपर्ने शास्त्रीय नियम रहेको बताउनुहुन्छ धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई । दरका नाममा एक महिनाअघि नै भएपनि मांस, मदिराको सेवन संस्कृतिका नाममा बढेको विकृतिको स्वरूप भएको उहाँले सुनाउनुभयो । “तीजमा निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन शुद्ध, विशेषगरी दूधबाट बनेका सात्विक परिकार खाने शास्त्रीय नियम हो, व्रतको अघिल्लो दिन एकछाकी भएकाले पनि जे मन लाग्यो त्यही खान हुँदैन, दर तीजको अघिल्लो रात ११ बजेसम्ममात्र खान सकिन्छ, त्यसपछि राक्षसी समय सुरु हुने भएकाले ११ बजेपछि दर खान निषेध गरिएको छ”, धर्मशास्त्रविद् भट्टराईले भन्नुभयो । उपभोगवादी संस्कृतिले अहिले तीज, व्रत जस्ता शब्द देखाउने कुरामात्र हुन थालेको छ । मर्म विनाका पर्व मनाउन थालिएका छन् । हुनेखानेले रवाफ देखाउने माध्यम चाडपर्व बन्न थालेको छ । सहरमा बस्ने अधिकांशलाई महँगीका कारण हातमुख जोर्न, बालबालिका पढाउन, औषधोपचार गर्नसमेत मुस्किल हुन थालेकामा हुनेखानेले गर्ने खर्चसँगै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थपिएको छ । यस्तो विकृतिले भ्रष्टाचारलाई पनि प्रोत्साहन गर्ने बताउनुहुन्छ समाजशास्त्री कीर्तिकुमार दुमी राई । परिवारको चाहना पूरा गर्न गलत प्रक्रियाबाट स्रोत जुटाउने बाध्यता संस्कृतिका नाममा मौलाएको विकृतिले बढाउन थालेको छ । अहिले अन्य संस्थाका अतिरिक्त सरकारी कार्यालयमा समेत तीजको दरका नाममा विकृति भित्रिन थालेको छ । तीजकै नाममा लाखौँ खर्च हुन थालेको छ । आर्थिक मन्दीको राप अलापिरहँदा सरकारी संयन्त्रले पर्वका नाममा मौलाएको विकृतिका पक्षमा हुने खर्च रोक्न सकेका छैनन् । विद्यालयमा समेत तीजका कार्यक्रमका नाममा खानपान एवं भोज हुन थालेको छ । अभिभावकसँग पैसा लिएर शिक्षक, कर्मचारी र कुनै विद्यालयमा त अभिभावकलाई पनि दर खुवाउने कार्यक्रम हुन थालेको हो । समाजलाई संस्थागत भ्रष्टाचारको आहालमा डुबाउन यस्ता गतिविधिले प्रेरित गर्ने समाजशास्त्री राईको विश्लेषण छ ।
झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभयो । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ । उज्यालो नेपालका पूर्वध्यक्ष एवं स्वयंसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको र हात्ती आउँदा बजेको सो मेसिनको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवाज सुनिने बताइएको छ । साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ । “साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ”, उज्यालो नेपालका स्वयंसेवक थापाले भन्नुभयो, “त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउँदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।”
लेखनाथ । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २७ कास्कीको शनिवार सम्पन्न आठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले सुमन भट्टराईको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, सचिवमा नवराज तिवारी र कोषाध्यक्षमा रामजी पौडेल रहेका छन् । संचालक समितिको सदस्यमा खेमराज पौडेल, पवित्रा श्रेष्ठ, बीरेन्द्र बानिया, राजेश सुवाल र शोभा पण्डित क्षेत्री निर्वाचित भएका छन् । अधिवेशनले केशवराज पौडेललाई लेखासमितिको संयोजक र डिल्लीराम पौडेल र उत्तमदत्त बराललाई सदस्यमा निर्वाचित गरेको छ । यसअघि साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहकारीमा जम्मा भएको पूँजिलाई उद्यमशिलतामा लगानी गर्न सुझाव दिए । अध्यक्ष आत्रेयले सहकारीका शेयर सदस्यलाई लाभांस उनिहरुको कर्जा र निक्षेपमा सक्रियताको आधारमा दिईनु पर्नेमा जोड दिए । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले कृषिमा आधारित व्यवसायलाई प्रर्वद्धन गर्न आग्रह गरे । सहकारीका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी प्रसाद त्रिपाठी, देवराज पन्थि, नवराज सापकोटा, मानकुमारी पराजुली नवराज पौडेल लगायतले बोलेका थिए । साधारण सभाले अध्यक्ष सुमन भट्टराईको प्रतिवेदन, सचिव नवराज तिवारी र कोषाध्यक्ष रामजी पौडेलको प्रतिवेदन पारित गरेको थियो ।
कुश्मा । पर्वतका गाउँगाउँमा मोटरबाटो पुगेको छ । उपभोग्य वस्तु सहजै गाउँमा पाइन थालेको छ । स्थानीय सरकार आएपछि प्रशासनिक कामका लागि गाउँबाट सदरमुकाम कुश्मा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यहाँको व्यापार व्यवसाय फष्टाएको छ । व्यवसायी विभिन्न विकल्प खोज्दै छन् । व्यापार व्यवसायलाई अघि बढाउन पाँच सयभन्दा बढी व्यवसायी तथा स्थानीयले बागलुङको बलेवा र कुश्मालाई जोड्न केबलकार मोडेलको यान्त्रिक पुल सञ्चालनमा ल्याएका छन् । यसले सुस्ताएको कुश्मालाई जुरमुराउने काम गरेको छ । सदरमुकाम कुश्मा र दक्षिणी बागलुङका दर्जन बढी गाविसलाई जोड्ने काम यही यान्त्रिक पुलले गरेको छ । पर्वत उद्योग वाणिज्य सङ्घको अग्रसरतामा कालीगण्डकीको खोंच माथि करिब रु पाँच करोड खर्चेर निर्माण गरिएको उक्त पुलमा दैनिक तीन सयभन्दा बढी यात्रु आवतजावत गर्दै आएका छन् । “हामीले बागलुङ र पर्वतलाई जोड्न यान्त्रिक पुलको निर्माण गरेका हौँ”, बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो, “सङ्घीयता आइसकेपछि पर्वतको व्यवसाय धरासायी बन्दै गएका बेला यहाँको व्यवसाय चलायमान बनाउन पुलले महत्वपूर्ण काम गरेको थियो ।” दक्षिणी बागलुङमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा ल्याइन्छ । खाद्यान्न कुश्माबाट बागलुङतर्फ लैजाने गरिन्छ । पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पु¥याएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा, रोजगारीलगायतमा पनि यसले सहजता प्रदान गरेको छ । “बागलुङको दक्षिणी भेगका बासिन्दाका लागि पुल निकै लाभदायिक सावित भएको छ”, यान्त्रिक पुल चढ्दै गर्दा भेटिनुभएका बलेवाका गोविन्दप्रसाद सिग्देलले भन्नुभयो, “हाम्रा छोराछोरी कुश्माको विद्यालयमा पढ्न जान्छन् । यहाँबाट रोजगारीका लागि कुश्मा जाने पनि धेरै छन् । पुलले भूगोल मात्र नभई पर्वत र बागलुङका बासिन्दाको मन पनि जोडेको छ ।” दक्षिणी बागलुङ क्षेत्रका नारायणस्थान, अमलाचौर, कुश्मिशेरा, दमेक, सर्कुवा, पैँयुन्थापलगायतका स्थानीयलाई बागलुङ बजार पुग्नुभन्दा कुश्मा आउन सहज हुने गरेको छ । उनीहरु पोखरा र काठमाडौँ जाँदासमेत यान्त्रिकपुलकै प्रयोग गरी कुश्मा आएर गाडी चढ्ने गर्छन् । प्रशासनिकबाहेक अन्य कामका लागि पनि उनीहरु कुश्मा नै आउने गरेका छन् । बागलुङको दक्षिणी भेगका स्थानीयलाई घण्टौँ लगाएर भिरको बाटो भएर कुश्मा आइपुग्नुपर्ने बाध्यता अब हटेको छ । त्यहाँका बान्दिालाई भाडादरमा सहुलियतसमेत दिइएको छ । अन्य यात्रुले एकतर्फीको रु एक सय १३ तिर्नुपर्ने हुन्छ भने उनीहरुले रु ८५ मात्र तिरे पुग्छ । नेपाली प्राविधिकले बनाएको यान्त्रिक पुल नेपालकै पहिलो हो । तारको सहायतामा दुई डिब्बालाई वारिपारि गराइन्छ । एउटा डिब्बामा आठ यात्रु बस्न मिल्छ भने छ सय किलो सामान ढुवानी गर्न सकिन्छ । पछिल्लो समय यान्त्रिक पुल आन्तरिक पर्यटकको रोजाइमा समेत पर्न थालेको छ ।
पर्वत । भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला र भारीको बोझ बिसाउँला भन्ने गर्दथे । भारी बोक्ने मात्र होइन, बाटो हिँड्ने बटुवासमेत चौतारी भेटेपछि थकानलाई विश्राम लिन्थे । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई विश्राम लिँदा छुट्टै आनन्द आउँथ्यो त्यो बेला । अहिले ती इतिहास बोकेका चौतारी, पोखरी र पँधेरा बिरानो हुँदै गएका छन् । बरपिपलका रुख पनि बुढेसकाल लागेर सुक्दै गएका छन् । धोद्रा लागेका रुखले तिनै बटुवालाई कुरिरहेका छन् । कुनै बेला सञ्चारको विकास नहुँदा अगाडि हिँड्दै गरेको साथीले पछि आउँदै गरेको साथी भेट्न चौतारीमा कुरेर बस्ने प्रचलनसमेत थियो । एक दशक अगाडि बाटेमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । विकास निर्माणको गतिसँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला त्यतै अल्मलिँदा पुराना संरचना भत्किँदै जान थालेका हुन् । एक दशक अगाडि पर्वत सदरमुकाम कुश्मा आउनजान प्रयोग हुने पैदलमार्ग मोदीवेणी, मुडिकुवाअन्तर्गत सिर्सुवाको चौतारी बटुवाहरूको थकाइ मेट्ने स्थानका रूपमा चिनिन्थ्यो । कुश्माबाट भारी बोकेर फर्किएका भरिया मोदीवेणीको उकालो काटेर सिर्सुवाको चौतारीमा विश्राम लिँदा भारीको थकान बिर्सन्थे । डाँडाको चौतारीमा चल्ने चिसो हावाले उकालो चढ्दा पसिनाले भिजेको शरीरलाई शीतलता दिन्थ्यो । चौतारीमा बिसाइ मेट्नेहरूको सङ्ख्या बढ्दै जाँदा नजिकै रहेका होटल व्यवसायीको पनि व्यापार बढेको थियो । कुश्मा आउनेहरू बाटोमा पानी पर्दा मोदीवेणीमा रहेको ठाँटीमा ओत बस्न पाउँदा घरमै पुगेको आभास हुन्थ्यो । आज ती चौतारी, पाटीपौवा झाँडीले भरिएका स्थानीय थानेश्वर भुसालले बताउनुभयो । चौतारीका ढुङ्गा लेउ लागेका छन्, संरक्षण अभावमा छन् । यो त एउटा उदाहरण मात्र हो आज कैयौँ चौतारी यस्तै अवस्थामा पुगेको उहाँको भनाइ छ । बाटो आसपासका कुवा तथा पोखरी यतिबेला मोटरबाटोले पुरिएका छन् । पैदलयात्री हिँड्ने गाउँको गोरेटो बाटो सुनसानै भएका छन् । इतिहास बोकेका ती ढुङ्गे छपनी बिछ्याएका बाटा त्यस्तै अवस्थामा छन् । बाटो हिँड्दा पानी पर्दा घामले पौल्दा अनि कुनै गन्तव्यमा हिँडेका बटुवा साँझ पर्दा बास बस्ने ठाँटीमा कोही पुग्दैन, ती पुराना संरचना भत्किएका छन् । अहिले पाटीपौवा बन्न छाडेका छन्, विकासले फड्को मारेको हाम्रो समाजमा गाउँमा मोटरबाटो पुगेपछि हिलाम्मे भएका सडकमा यतिबेला गाडी गुडिरहेका छन् । हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउँलेको बाध्यता बनिसकेको छ । महाशिलाका वृद्ध झमनाथ अधिकारीले भन्नुभयो, “भौतिक विकाससँगै गाउँको इतिहास बोकेका गोरेटो बाटो चौतारी, पोखरी, पाटीपौवाको अस्तित्व हराउँदै गएको गयो ।” पछिल्लो समय गाउँगाउँमा पर्यटन प्रवद्र्धनको धारणा आए पनि स्थानीय तहबाट यस्ता ऐतिहासिक संरचना पुनःनिर्माणको चर्चा चलेको पाइएको छैन । पूर्वाधार विकासका नाममा सडक सञ्जालको विकासलाई नै मुख्य विकास मानिँदै आएको पाइन्छ । आधुनिक विकाससँंगै बाउबाजेले स्थापना गरेका ती ऐतिहासिक संरचनाको प्रवद्र्धन हुन नसक्दा सङ्कटमा परेको स्थानीय पदमपाणि शर्माले बताउनुभयो । “गाउँमा भएका यस्ता पुराना संरचना जोगाइराख्नु सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो । त्यसैले सङ्कटमा परेका इतिहास बोकेको संरचना संरक्षणमा लाग्नुपर्ने देखिन्छ । वातवरणका दृष्टिकोणले पनि मानव सभ्यतासँग जोडिएका संरचना जोगाइ राख्नुपर्ने तपाईँ हामी सबैको दायित्व रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय वातवरण संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालयद्वारा चौतारीपोखरी संरक्षण अभियान सञ्चालन गरिए पनि यस अभियानमा स्थानीयवासीको सहभागिता देखिँदैन । गत आर्थिक वर्षमा पर्वत जिल्लामा छवटा चौतारी र ११ वटा पोखरी निर्माण भएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले बताउनुभयो । यस वर्ष पनि सामुदायिक वन क्षेत्रमा पानीका मुहान संरक्षण अभियानअन्तर्गत पोखरी निर्माण गर्ने तथा हरियाली प्रवद्र्वनका लागि चौतारी निर्माण अभियान सञ्चालन गर्ने डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।
पोखरा । रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । ‘कुशे औँसी र हरितालिका तीजको अवसरमा पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । क्लबको अध्यक्ष डिम्पल क्षेत्रीले सो शिविरमा ६० बढी अभिभावकले शिविरबाट लाभ लिएको जानकारी दिइन् । उनका अनुसार सो शिविरमा क्लबमा आवद्ध कर्मचारीहरुको अभिभावकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । उनले अभिभावकहरुको रक्तचाप, सुगर तथा छाला सम्बन्धि जाँच गरिएको बताइन् । ‘विशेषत हामिले रोट्रयाक्ट क्लबसँग आबद्ध कर्मचारीहरुको अभिभावकहरुलाई प्राथमिकतामा राखेर निशुल्क स्वास्थ्य परिक्षण गरेका हौं, उनले भनिन्, ‘यसको लागि हामीलालाई प्राविधिक रुपमा डाइग्नोस्टिक रिसर्च सेन्टरले सहयोग गरेको थियो ।’ विगत सन् २००७ सालमा स्थापना भएको सो क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउदै विभिन्न अस्पतालहरुको समन्वयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिसकेको समेत जानकारी दिएकी थिइन् । ‘स्वास्थ्य सेवाबाट बञ्चित भएका बालबालिका तथा अभिभावकहरुको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरि उपचार गरिने पश्चिमाञ्चल डाइग्नोस्टिकका अध्यक्ष पुरुषेत्तम सुवेदीले बताए ।’ उनले भने, ‘आज हामि पोखरा फिस्टेलसँग सम्बन्धित रहेर उहाँहरुको अभिभावकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिरहेका छौँ ।’ यस पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालीले बाझोपना, थाइराइड, हेपाटाइटिस, बाथरोग, मधुमेह, कलेजो, मृगौला, मुटुरोग तथा रगत, दिशा, पिसाब, खकार, विर्यसम्बन्धि जाँच तथा भिडियो एक्सरेको माध्यमद्वारा सेवा प्रदान गर्दै आइरहेको छ ।
आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ तारा खेल । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । यस खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि यो खेलको संरक्षण हुने आशा पलाएको छ । तारा खेल खासगरी मगर, छन्त्याल र थकालीलगायतका आदिवासी जनजाति समुदायका युवा बढी आकर्षित छन् । निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो । पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका छन् । बागलुङको ढोरपाटन नगरपालिका सहित तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकामा खेल अझ बढी प्रचलित छ । अहिले तारा हान्ने खेल प्रतियोगिता विभिन्न मेला तथा पर्वमा समेत आयोजना गरिँदै आइएको छ । यसले युवापुस्तालाई थप आकर्षित गरेको छ । रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, यसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीदेखि वाणको सहायताले तारालाई बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो । तारा खेल अङ्कका आधारमा खेलिने खेलाडीले बताएका छन् । नेपालको दुर्लभ खेलमध्येको तारा हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रवद्र्धन हुन थालेको बडिगाड गाउँपालिका–८ का ७७ वर्षीय मोतीप्रसाद पुनले बताउनुभयो । करिब ४० वर्षको अवधिसम्म लोप भएको यो खेल पुनः खेलिन थालेको उहाँको भनाइ छ । अहिलेको युवापुस्ताले यो खेलप्रति बढी रुचि देखाएको हुँदा चर्चामा आएको उहाँको भनाइ छ । “आजभन्दा ४० वर्ष अगाडि यो खेल हामी निकै खेल्ने गरिन्थ्यो, माघेसङ्क्रान्ति आयो कि साथीभाइ जम्मा भएर तारा खेल्न सुरु हुन्थ्यो, हामीभन्दा पछिका पुस्ताले यो खेलप्रति खासै चासो दिएनन्, त्यसले गर्दा लोप भएको थियो, अब यो खेल देख्न पाइँदैन जस्तो लागेको थियो, अहिलेका युवाहरू खुब चासो दिएर लागेका छन्”, स्थानीयवासी पुनले भन्नुभयो, “अब संरक्षण होला भन्ने आश लागेको छ, स–साना बालबालिकालाई पनि यो खेल खेल्न प्रेरित गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ ।” उहाँले ताराखेल जनजातिको पहिचानसँग जोडिएको हुँदा यसको संरक्षणमा युवापुस्ताले नै बढी जोड दिनुपर्ने बताउनुभयो ।वुढापाकाका अनुसार यो खेल सिकार खेलसँग सम्बन्धित रहेको छ । पुर्खाहरूले जङ्गलमा वन्यजन्तुलाई निशाना बनाएर सिकार गरेर मासु खाने गरेको र पछि गएर त्यसबाटै तारा खेलको विकास भएको बताइएको छ । “हाम्रा पुर्खाहरू धेरै वर्ष अगाडि जङ्गलमा बस्ने सिकार गर्ने गर्थे, उनीहरुले जनावरलाई निशाना बनाएर वाण हान्थे, सिकार गरेर ज्यान पाल्थे, सिकार गर्ने प्रचलनपछि गएर हरायो र तारा खेलको विकास भयो, त्यसले गर्दा यो खेल जनजातिको पहिचान र अस्तित्वसँग जोडिएको छ”, उहाँले भन्नुभयो, “हामी त बूढो भइयो अब सकिँदैन, जानेको कुरा सिकाउने हो, युवाले नयाँ पिँढीलाई सिकाउनुपर्छ, हाम्रो संस्कार, संस्कृति जोगाउनु पर्छ ।” परम्परागत तारा हान्ने खेल अझै पूर्णरूपमा संरक्षण हुन नसकेको खेलप्रेमी बताउँछन् । तारा खेलाडी दिप्सन छन्त्यालले लामो समय ओझलेका परेको यो खेलको तीव्र प्रचार र समय–समयमा खेलिराख्नुपर्ने बताउनुभयो । उहाँको यसको प्रवद्र्धन गर्न सकेमा बाह्य पर्यटक तान्न सक्ने भनाइ छ । “लामो समय ओझेलमा परेको खेल फेरि खेल्न थालिएको छ, यसको अझै पूर्णरूपमा संरक्षण भएको छैन, यो खेल निकै कलात्मक र रचनात्मक हुन्छ, खेल्ने र हेर्ने सबैलाई यसले आनन्दित बनाउँछ, यसले आन्तरिकमात्रै होइन, बाह्य पर्यटकसमेत भित्र्याउने सम्भावना छ, पछिल्लो समय अलिअलि चर्चामा आइरहेको छ, यसभन्दा अगाडि त यो लोप भइसकेको थियो”, खेलाडी छन्त्यालले भन्नुभयो, “हामी पनि लागिपरेका छौँ, नयाँ पुस्तालाई पनि सिकाउन जरुरी छ ।” तारा हान्ने खेल मुस्ताङ, म्याग्दी र बागलुङलगायत कास्की, काठमाडौँमा समेत प्रचलित भए पनि प्रचारप्रसारको अभावमा फेरि लोप हुनसक्ने खेलाडी सोनाम थकाली बताउनुहन्छ । “यो खेलको व्यापकरूपमा प्रचार गर्नुपर्छ, हरेक मेला, महोत्सव र चाडपर्वमा आयोजना गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ, नत्र पहिलेको जस्तो लोप हुने अवस्थामा पुग्न सक्छ”, उहाँले भन्नुभयो, “सरकारले पनि यो खेलको विकासका लागि बजेट छुट्याउने, समय–समयमा कार्यक्रम गरिदिने हो भने वर्षौँ वर्षसम्म यो खेल संरक्षित भइरहने छ ।” तारा खेल जनजातिहरू खासगरी माघेसङ्क्रान्तिमा मात्रै खेल्ने गर्थे तर अहिले आएर दशै तिहार जस्ता ठूला पर्व र अन्य मेला महोत्सवमा समेत खेल्ने गरेका छन् । युवापुस्तामा निकै आकर्षण रहेको तारा हान्ने खेल प्रवद्र्धनका लागि पालिकाले समेत जोड दिनुपर्ने खेलाडीको भनाइ छ । उनीहरूले नयाँ खेलाडी उत्पादन गर्नका लागि समय–समयमा प्रशिक्षण दिनुपर्ने र प्रशिक्षणको व्यवस्था स्थानीय तहले गर्न सके यो खेल लोप नहुने बताउँछन् । साहसिक खेलप्रति विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन नगरपालिका वडा नं ६ का मिलन छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“ यो खेल विदेशमा पनि चर्चित रहेको हुँदा नयाँ खेलाडी उत्पादन गर्नुपर्छ । आफ्नै गाउँठाउँमा ठूलो प्रतियोगिता आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।” पाँच जनाको ‘समूह’ खेलिने यस खेलमा सहभागी टिममध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अङ्कका आधारमा उसैलाई विजेता टिम घोषणा गरिन्छ । वाण र तीर यस खेलका लागि आवश्यक सामग्री हुन् । कतिपय प्रतियोगितामा आलमोनियमको बार प्रयोग गर्छन् भने कतिपयमा काठको नै प्रयोग गर्ने गरेका छन् । –––
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ, एनआरएनएको बैंककमा आज आयोजित एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको उहाँको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुले आफू रहेका स्थानमा आर्जन गरेका ज्ञान, सीप र पूँजी स्वदेश भित्र्याउन जरुरी छ । यसो गर्न सकियो भने हाम्रो देशमा समृद्धि छाउन धेरै समय लाग्दैन”, उहाँले बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले नेपाली नागरिकहरू विदेश जाने विश्वविद्यालयमा अध्ययन गर्न, कुनै विशिष्टिकृत सीप सिक्न र पूँजी आर्जन गर्नका लागि नै हो भन्दै विदेशी भूमिमा आफूले गरेको आर्जन स्वदेशको विकासमा लगाउन सके नेपालको विकास धेरै टाढा नरहेको बताउनुभयो । सो सम्मेलनमा उहाँले भन्नुभयो, “संसारमै छरिएर रहेका हामी नेपालीहरूको तीन उद्देश्य ज्ञान, सीप र पूँजी आर्जन गर्नु नै हो । देश विकासका लागि हामीलाई आवश्यक पर्ने चिज पनि यिनै हुन् । त्यसैले हामी संसारको जुनसुकै कुनामा भए पनि हाम्रो आफ्नो मातृभूमिलाई बिर्सनु हुँदैन । आफ्नो विदेशको कमाई आफू जन्मेको माटोका लागि खर्चिनुपर्दछ ।” वरिष्ठ उपाध्यक्ष ढकालले सबै गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र आफू रहेका स्थानका विदेशीहरूलाई पनि नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा लगानीको वातावरण छ । हाम्रै देशको माटो मलिलो छ । आफ्नै देशको माटोमा सुन फलाउने अनगिन्ती अवसरहरू हामीसँगै छन् । प्रकृतिले पनि हामीलाई संसारकै धनी बनाइदिएको छ । त्यसैले हाम्रै देशमा लगानी गरौँ । अहिले जहाँ जेसुकै काममा रहेको भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ ।” श्रीलङ्कामा सुरु भएको आर्थिक सङ्कटका समयमा पनि संसारबाटै नेपालीहरूले चिन्ता व्यक्त गरेको आफूले महसुस गरेको स्मरण गर्दै ढकालले सबै नेपालीको चिन्ता आफ्नै मातृभूमिका लागि हो भन्ने कुरा स्पष्ट भएको बताउनुभयो । अहिले हामीले आर्जन गरेको पूँजी स्वदेशका लागि र हाम्रै सन्ततिका लागि नेपालमै लगानी गर्नुपर्ने उहाँको आग्रह थियो । उहाँले भन्नुभयो, “सबै मिलेर नेपालमा लगानी भित्र्याउँ र हाम्रो आफ्नै मातृभूमिलाई समृद्ध बनाउँ ।”
पोखरा । पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ । बिशाल बचत तथा ऋण सहकारी सस्थाँको स्वास्थ्य उप समिति सयोजनमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै बिशाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुवन नेम्कुलले सहकारीले विभिन्न समयमा सामाजिक उतर दाहित्वका कामहरु गरिरहेको बताउदै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरीएको बताए। सहकारीका उपाध्यक्ष शिव शर्माले सामाजिक उतरदायित्व अन्तरगत सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा सहकारीका स्वास्थ्य उप समिति सयोजक बुद्धी पौडेल सहकारीकी सचिव तारा पराजुली पौडेल लगाएतले रक्तदान कार्यक्रमको बारेमा बोलेका थिए । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । उक्त अवसरमा सहकारी सस्थाको २३ औँ स्थापना दिवसको अवसरमा केक समेत काटिएको थियो । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विशेष सयोग गरेको थियो ।