काठमाडौँ । ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिनुहुँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्नको मापनसहितको प्रतिवेदन आज सार्वजनिक गर्दैछ ।
कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो, भनिदिन्थेँ”, तर अहिले पर्वत नचिन्ने कमै छन् । साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ ।” जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्वीङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ । “पर्वत र बागलुङलाई जोडेर बन्जी निर्माण गरिए पनि यसको बढी फाइदा पर्वतलाई नै भएको छ ।”, कुश्माका दिनेश तिवारीले भन्नुभयो, “यहाँका होटल तथा रेष्टुराँ व्यवसाय फस्टाएका छन् भने गुमनाम पर्वतलाई सबैले चिन्न थालेका छन् ।” बन्जी र स्वीङका लागि बनाइएको झोलुङ्गे पुल तरेर कुश्मादेखि पारी बागलुङमा बनेको रिसोर्टमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । रु पाँच सयको टिकट काटे पछि मात्रै पुलको बाटो रिसोर्ट परिसरमा पुग्न सकिन्छ । त्यहाँ गुलेली पिङ, स्काइचियर, साइकिलिङ, स्काइक्याफेलगायत खेलको मज्जा लिन सकिन्छ । प्रत्येक खेलको चाहिँ बेग्लाबेग्लै पैसा तिनुपर्ने हुन्छ । “हिजो पोखरा बसेर बिहानै कुश्मा आइकन बन्जी पनि गरिसक्यौँ ।” रिसोर्ट परिसरमा तस्बिर खिच्नमा व्यस्त धादिङका सुसन तामाङले भन्नुभयो, “बागलुङ दर्शन गरेर आजै धादिङ फर्कन्छौँ ।” धादिङका सुसन तामाङजस्तै अन्य पर्यटक पनि बन्जीमै मस्त देखिन्थे । “कुश्माको नजिकमा थुप्रै प्राकृतिक तथा धार्मिक महत्वका आकर्षक गन्तव्य छन् ।” सञ्चारकर्मी अगन्धर तिवारीले भन्नुभयो, “स्थानीय सरकारको उदासिनता र उचित प्रचारप्रसार नहुँदा बन्जी आइपुग्ने पर्यटक त्यहाँ सम्मपुग्न सकेको देखिँदैन ।” दुर्लुङकोट कुश्मादेखि दुर्लुङ गाउँपुग्ने बाटो पहिलेजस्तो अप्ठ्यारो छैन । हरियाली वनभित्रको नागबेली कालोपत्रे सडक हुँदै १५ मिनेट यात्रा गरेपछि सुन्दर गाउँ, दुर्लुङ पुग्न सकिन्छ । गाउँ उक्लँदै गर्दा वरैबाटडाँडाको टुप्पोमा अवस्थित दुर्लुङकोट भूमे मन्दिर पुगिन्छ । बाइसे, चौबिसे राजाको पालादेखिनै महत्वपूर्ण मानिएको दुर्लुङकोट भूमे मन्दिरमा पुगी पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । “हरेक वर्ष बडादसैँ, चैते दसैँ र उभौलीमा पूजाआजादेखि बलि दिने गरिएको छ ।” दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सदस्य प्रितम गुरुङले भन्नुभयो, “धार्मिक तथा ऐतिहासिक महत्वको यो ठाउँ प्राकृतिक दृष्टिले समेत अर्थपूर्ण छ ।” उहाँले भन्नुभयो, “दुर्लुङकोटबाट म्याग्दी, बागलुङ, कास्की, पाल्पा, स्याङ्जा र पर्वतलाई एकै पटक नियाल्न सकिन्छ । यहाँबाट धौलागिरि, धौलाशिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खला पनि देख्न सकिन्छ ।” केही वर्षदेखि दुर्लुङ पुग्ने पर्यटकलाई लक्षित गरेर होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । होमस्टेमा पुग्ने पर्यटकले गाउँको कला, संस्कृति र खानपानको पनि मज्जा लिन सक्नेछन् । मोदीबेनी दिब्यधाम दामोदर कुण्डबाट अविरल बग्दै आएको कालीगण्डकी नदी र माछापुच्छ«े हिमशृङखलाबाट बगेर आएको मोदिनदीको सङ्गमस्थलमा भगवान नृसिंहको पुरानो मन्दिर छ । विसं १८९० मा निर्मित यस मन्दिर क्षेत्रलाई मोदीबेनी दिब्यधाम भनेर पनि चिनिन्छ । कालीगण्डकीमा मात्र पाइने शालीग्रामलाई नृसिंह भगवान्को अवतारका रुपमा पूजाआजा गरिँदै आइएको छ । गङ्गा स्नान गरेपछि पवित्र भइने मान्यताका कारण मोदी र कालीनदीमा स्नानका लागि तीर्थाल आउने गर्छन् । “दाहासंस्कारका लागि पनि मोदीबेनीदिब्य धाम उत्तम मानिन्छ ”, नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास बैरागीले भन्नुभयो, “पहिले भारतबाट आउने धेरै तीर्थालरु यहाँ आइपुग्थे तर हिजोआज त्यो सङ्ख्या ज्यादै कम छ ।” यातायातको सहज पहुँच नहुँदा भारतबाट मुक्तिनाथ र दामोदरकुण्ड हिँडेका तीर्थालु यहाँ एक दिन बास बसेर भोलिपल्ट बिहानै यात्रामा निस्कन्थे । यहाँ एक सय आठ तुलसीको बोट, गणेश मन्दिर, शिवमन्दिर, हनुमान मन्दिरलगायतका संरचना निर्माण गरिएको छ । कुश्मा–मुडिकुवा पुल छेउको बाटोदेखि दश मिनेटमा नै मोदीबेनी दिब्यधाम पुग्न सकिन्छ । गुप्तेश्वर गुफा बन्जीस्थलबाट मात्र पाँच मिनेटमा गुप्तेश्वर गुफा पुग्न सकिन्छ । यो गुफा डेढ किलोमिटरभन्दा बढी लामो र सात तला भएको अलौकिक गुफा हो । “धेरै गुफा ओरालो मुखतर्फ फर्किएर बनेका हुन्छन्, तर गुप्तेश्वर गुफा ओरालो नभइ उकालो मुख फर्किएको छ ।” गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन संस्थाको अध्यक्ष पृथवीनारायण शर्माले भन्नुभयो, “शिवपार्वतीको मिलन भएको ठाउँका कारण पनि यस गुफाको महत्व विशेष छ ।” यस गुफामा बालाचतुर्दशी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्तिलगायतका चाडपर्वमा विशेष मेला लाग्छ । गुफाभित्र भगवान् शिवका दसौँ पाउँ, विभिन्न देवीदेउताका मूर्ति, शिवलिङ्ग शिवपञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्ति देख्न सकिन्छ । गुफाको महत्वलाई प्रचारप्रसार गर्दै उल्लेख्य पर्यटक भित्र्याउने उद्देश्यले १५ रोपनी जग्गामा ७८ फिट अग्लो शिवपार्वतीको मूर्ति, सिसमहल र मन्दिर निर्माण भइरहेको छ । अल्पेश्वर गुफा पहिलो नेपालकै अग्लो र लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुलबाट पाँच मिनेटको दूरीमा जङ्गलको बीचमा अल्पेश्वर गुफा अवस्थित छ । बजारबाट एकान्त मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । फराकिलो क्षेत्रफलमा रहेका हरियाली वनभित्र चराचुरङ्गीको चिरबिरले मनलाई आनन्दित बनाउने गर्छ । विसं २०६४ मा कटुवा चौपारीका केही युवाले गुफा पत्ता लगाएका थिए । गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदीखोलामा निस्कन सकिन्छ । तीन तला रहेको गुफाभित्र प्राकृतिक तालतलैया र छहरा छन् । एडभेन्चर मन पराउनेका लागि यस गुफा उत्कृष्ट गन्तव्य भएको अल्पेश्वर गुफा पर्यटकीय केन्द्र पर्वतका पूर्व अध्यक्ष नारायण अधिकारीको भनाइ छ । उहाँका अनुसार यस गुफामा विभिन्न प्रजातिका २० हजारभन्दा बढी चमेरा बस्छन् । “सदरमुकामबाट नजिकमा भएर पनि ओझेलमा परेको छ ।”, उहाँले भन्नुभयो, “चुन ढुङ्गाबाट बनेका ३३ कोटी देवीदेउताको मूर्ति जताततै देख्न सकिन्छ । कम्तीमा दुई घण्टा यहाँभित्र मज्जाले भुल्न सकिन्छ ।” सहस्रधारा सहस्रधारा पुग्न कुश्माबाट यातायातको साधनमा जम्मा १५ मिनेट लाग्छ । बाह्रै महिना पहाडबाट खस्ने झरना हेर्न र नजिकै रहेको लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न केही पर्यटक आउने गरेका छन् । तर यसको प्रचारप्रसार नहुँदा पर्यटकीय सम्भावना भएर पनि ओझेलमै परेको छ । कालन्जर पहाडमा शिवजी बस्ने, पार्वती गुप्तेश्वर गुफामा तपस्या बस्ने र सहस्रधारामा स्नानका लागि जाने गरेको किम्वन्दती छ । यसलाई शिव र पार्वतीको क्रिडास्थलको रुपमा लिने गरिएको छ । धार्मिक क्षेत्र कालन्जर पर्वतबाट बग्दै आएको पानीको छहरा सहस्रधारामा आएर झरनाको रुप लिएको स्थानीय बताउँछन् । केही वर्ष अघि स्थानीयस्तरबाट सह्रसधारा दिब्यधामलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचले महायज्ञको आयोजना गरिएको थियो । सङ्कलित रकमले एक सय आठ गौ धारा निर्माण, शिवको मूर्ति, मन्दिरलगायत पूर्वाधारको समेत निर्माण गरियो तर, उचित प्रचारप्रसार र व्यवस्थापन नहुँदा सोचेअनुरुप पर्यटक भने भित्रन सकेका देखिँदैन । कुश्मामा रहेका अग्ला र लामा झोलुङ्गे पुल, बन्जी, जिपलाइनलगायत साहसिक खेलले पर्वतको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको छ । अब यहाँ आइपुग्ने पर्यटकलाई अन्य प्राकृतिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय गन्तव्यसम्म पुर्याउने वातावरणको सिर्जना गरिनु आवश्यक छ ।
काठमाडौं । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले रेल गुडाएर परीक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र साधारण काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो । रेलको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन गरिने झाको भनाइ छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएको थियो । त्यसयता रेल सेवा नियमित छ ।
हिले । गायक शम्भु राई धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ सिफारिस हुनुभएको छ । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुम्माङ्ग जन्मथलो रहेका राईलाई नेकपा माओवादी केन्द्रेले सिफारिस गरेको हो । उहाँसँगै तीन व्यक्तिलाई समेत सिफारिस गरेको छ । त्यस्तै केन्द्रले प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता हेमराज भण्डारीलाई चयन गरेको छ । भण्डारी २०७४ सालको धनकुटा एकबाट संविधान सभा सदस्यसमेत हुनुहुन्छ । नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । त्यस्तै केन्द्रले प्रदेश क र ख प्रत्यक्ष तर्फ ४र४ जना तथा समानुपातिकतर्फ ५र५ जना सिफारिस गरेको छ ।
भैरहवा । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा आउन चाहन्नथे । बसाइँसराइको प्रभाव पनि भैरहवामा न्यून थियो । तर अहिले भैरहवाको रुप फेरिएको छ । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा–तौलिहवा फराकिलो सडक, नगरको भित्री क्षेत्रमासमेत फराकिलो तथा हरियाली बाटो, आकर्षक प्रवेशद्वार, तारे होटल, ‘सपिङ मल’, क्रिकेट रङ्गशालाले भैरहवाको आकर्षण बढाएका छन् । केही पहिलासम्म यहाँ आउन नाक खुम्च्याउनेहरु अहिले भैरहवा आउन लालयित हुने गरेका छन् । अन्र्राष्ट्रिय विमानस्थल भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई अहिले स्तरोन्नति गरी मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । करिब ३० अर्बको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अल जजिरा एयरलाइन्सले साताको तीन उडान गर्दै आएको छ । भदौ ३१ गते देखि जजिराको दैनिक उडानको तयारी रहेको छ । त्यस लगत्तै कात्तिक १३ गते देखि बिज एयरलाइन्सले पनि भैरहवामा अवतरणको तयारी गरिरहेको छ । यस बाहेक यहाँबाट अन्य विमान कम्पनीलेसमेत उडानमा चासो दिइरहेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताउनुभयो । गौतमबुद्ध विमानस्थल अहिले वैदेशिक रोजगारीमा जान चाहनेका लागि रोजाइँमा पर्ने गरेको छ । अहिले उडान भरिरहेको जजिरा एयरमा पनि आउने जानेको सङ्ख्या बराबरजसो रहेको छ । जजिरा एयरका देशीय व्यवस्थापक अमित नागरथका अनुसार विमानमा ९० प्रतिशत सिट बुक गरी उडान गरिरहेको छ । लुम्बिनी भैरहवाको अर्को परिचय हो गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार । स्थलमार्ग हुँदै सबै भन्दा बढी पर्यटक भित्र्याउने भैरहवामा अब अन्तर्राष्ट्रिय हवाई मार्ग पनि जोडिएको छ । यसले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई अझै बढावा दिएको छ । लुम्बिनी आउने पर्यटक भैरहवा हँुदै गन्तव्यमा जानुपर्ने हुन्छ । बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई स्वागत गर्न भैरहवा तम्तयार भएर बसेको छ । पर्यटनमा पूर्वाधार भैरहवालाई आकर्षक बनाउनमा यहाका होटल व्यवसायको पनि उत्तिकै सहयोग छ । भैरहवा, लुम्बिनी तथा बेलहियामा गरी ८९ वटा स्तरीय होटल रहेको सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) बताउनुहुन्छ । होटल कसाइ, होक्के, पवन प्यालेस, टाईगर रिसोर्ट, मौर्या होटल, होटल बोधी रेडसन्, बुद्धमाया गार्डेन लगायतकास्तरीय होटलको लामै सूची छ यहाँ । यस अतिरिक्त अहिले करिब आधादर्जन पाँच तारे होटल निर्माणाधीन अवस्थामा रहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भित्र्याउने पर्यटकलाई लक्षित गरी होटल व्यवसायमा अहिले अर्बौको लगानी भइरहेको छ । यस बाहेक पर्यटकलाई लक्षित गरी भैरहवा क्षेत्रमा ६ वटा मिनी क्यासिनोसमेत सञ्चालनमा रहेका छन् । विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरी खोलिएका यी क्यासिनो नै कोभिडपछिको वर्तमान अवस्थामा यस क्षेत्रको विदेशी मुद्राको साधन बनेका छन् । औद्योगिक क्षेत्र भैरहवा–लुम्बिनी, भैरहवा–बुटवल तथा भैरहवा–परासी औद्योगिक कोरिडोर गरी यहाँ दर्जनाँै उद्योग रहेका छन् । मुलुुककै अर्थतन्त्रमा असर गरिरहेका पञ्चकन्या समूह, अर्घाखाँची सिमेन्ट, गोयन्का सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे स्टिल, श्री स्टिल, सिद्धार्थ सिमेन्ट, ब्रिज सिमेन्ट लगायतका उद्योग रहेका छन् । औद्योगिक विकासको सम्भावना देखेर नै उद्योगीमा अहिले यहाँ लगानी गर्न आकर्षण बढेको छ । अहिले भैरहवा–परासी करिडोरमा ठूलाठूला उद्योग खुलिरहेका छन् । स्टिल, छड, प्लास्टिक, जुत्ता–चप्पल, चाउचाउ, खाद्यान्न, दाल, साबुन, मैदा, बियर, छाला, बिस्कुट, कृषिजन्य उद्योग भैरहवामा सञ्चालन भइरहेका छन् । यस बाहेक मुलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको विशेष आर्थिक क्षेत्र (सेज) पनि भैरहवामा सञ्चालनमा आइसकेको छ । कूल ५२ बिघा क्षेत्रफलमा रहेको सेजमा एक हजार चार सय देखी तीन हजार सात सय वर्गमिटर सम्मका ६८ वटा प्लट रहे पनि हालसम्म सात वटा उद्योग सञ्चालनमा आइसकेका छन् । दोस्रो ठूलो भन्सार नाका स्थलमार्गबाट सबै भन्दा बढी पर्यटक भित्र्याउने भैरहवामै दोस्रो ठूलो भन्सार रहेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानका अनुसार यस भन्सारले गत आर्थिक वर्षमा रु एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख पच्चीस राजश्व आर्जन गरेको थियो । दैनिक सरदर चार मालबाहक ट्रक भित्र्याइरहेको भैरहवा भन्सार नाकाबन्दीको समयमा पनि चलेको थियो । भैरहवा भन्सार वीरगञ्जपछि मुलुकको दोस्रो ठूलो नाकामा पर्छ । भारततर्फ चार लेन र नेपालतर्फ ६ लेनको सडक बनेको छ । आयातनिर्यातका लागि सहज पहुँच भएको भैरहवा नाका मुलुककै ‘लाइफलाइन’ बनेको छ । भन्सारमा मालबाहक सवारीको चाप बढ्दै जाँदा अहिले पार्किङको समस्या बढेको छ । नेपाल र भारत सरकारले भैरहवा र सुनौली नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्दै छन् । नेपालले ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । तर भारतले जग्गा अधिग्रहणको काम सकिसकेको छैन । अहिले ‘आइसिपी’ बनाउने भनिएको जग्गामा कन्टेनर पार्किङ गर्न थालिएको छ । व्यवस्थित सहरीकरण भैरहवाले पछिल्लो समय व्यवस्थित सहरीकरणको परिचय बनाएको छ । विशेष गरी एसियाली विकास बैंकले भैरहवामा गरेको लगानीको कारण यसको मुहार फेरिएको छ । भैरहवाका भित्री बाटो फराकिलो बनेका छन् । बाटोको छेउमा रहेको ग्रिनरीले यसलाई थप सुन्दर बनाएको छ । भैरहवा–बुटवल ६ लेनको व्यापारिक मार्ग, यसमा रहेका अपाङ्गतामैत्री आकाशे पुल, भैरहवा–तौलिहवा चार लेनको बाटोले नगरलाई भव्य बनाउन सहयोग गरेका छन् । भैरहवामा प्रवेश गर्ने पर्यटकका लागि बेलहियाबाट एक किलोमिटर उत्तर सात करोड बढीको लागतमा आकर्षक प्रवेशद्वार बनेको छ । यस्तै भैरहवाबाट लुम्बनी जाने पर्यटकलाई पनि “लुम्बिनी गेट”ले स्वागत गरिरहेको छ । सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईश्तियाक अहमद खाँनले भैरहवालाई थप सुन्दर र हरियो बनाउने लक्ष्य रहेको बताउनुभएको छ । उहाँले भैरहवालाई सुन्दर बनाउनुको साथै बेलहिया हुँदै आउने पर्यटकलाई फुलले स्वागत गर्ने नगरपालिकाको लक्ष्य रहेको जानकारी दिनुभयो । मेडिकल तथा बैंकिङ– हब पर्यटकीय, औद्योगिक र व्यवस्थित सहरीकरण रहेको भैरहवा मेडिकल तथा बैंकिङ हब पनि हो । भैरहवामा रहेको रण अम्बिका शाह आँखा अस्पतालमा आउने आँखाका बिरामीमा ९० प्रतिशत भारतीय रहेका छन् । यसबाहेक यो अस्पतालले तेस्रो मुलुककासमेत बिरामीलाई सेवा प्रदान गरिरहेको छ । यस क्षेत्रकै उत्कृष्ट अस्पतालको रुपमा रहेको अस्पतालको कारण “हेल्थ टुरिज्म” समेत फस्टाएको छ । यस्तै भैरहवामै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि ख्याति कमाएको छ । अस्पतालका प्रशासन प्रमुख तेज केसीका अनुसार सात सय शय्याको अस्पतालले विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै यसै क्षेत्रमा सिद्धार्थनगर सिटी अस्पताल, क्रिमसन अस्पतालले पनि उत्कृष्ट सेवा दिने अस्पतालका रुपमा रहेका छन् । यस्तै भैरहवामा प्राय सबै वाणिज्य बैंकहरुले आफ्नो शाखा खोलेका छन् ।
कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ असुलउपर गरेको छ । कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुल नबुझाएका नौ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत काटिएको बताउनुभयो । रु चार करोड ८४ लाख ८३ हजार नौ सय ९७ मूल्य बराबरको ग्राहकबाट असुुल गर्न बाँकी रहेकोमध्ये विद्युत् लाइन पुन: जडान गरिएबापत अहिले तत्काल रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ सङ्कलन गरेको केन्द्र प्रमुख साहले जानकारी दिनुभयो । छ सय २५ जना ग्राहकले उक्त रकम बराबरको महसुल तिरेको उहाँले बताउनुभयो । कञ्चनपुर वितरण केन्द्रको औसत सङ्कलन पनि ९९.९ प्रतिशत रहेको बताउँदै बितेको आर्थिक वर्षमा विद्युत् चुहावट गर्ने दुई सय ८१ जनालाई कार्वाहीसमेत गरिएको प्रमुख साहले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् चुहावट गर्ने क्रममा ४२ जनालाई कारबाही गरिएको छ ।” चुहावटबाट रु २० लाख ८४ हजार चार सय ९३ असुल गरिएको हो । आर्थिक वर्ष २०७७/७८मा औसत २६ प्रतिशत घटी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २४.०३ प्रतिशतमा झारिएको साहले दाबी गर्नुभयो ।कञ्चनपुर वितरण केन्द्र अन्तर्गत २२ प्रतिशत ग्राहकले अनलाईनमार्फत भुक्तानी गरेका छनु । इन्टरनेटको पहुुँचमा हुने ग्राहकलाई अनलाईनमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ ।
महोत्तरी । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । उहाँका अनुसार रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो । अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरि हो–हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए । हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक नष्ट भएको छ भने घर भत्किएर ती परिवारको बिजोग भएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
पोखरा : पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य मन्दिरा नेपालीले वडामै ‘दलित’ भनेर विभेद गर्न खोज्दा अघिल्लो कार्यकालमा केही महिना कार्यालय नगएकोमा पछुतो मानेकी छिन् । दलित महिला संघ (फेडो), कास्कीले आयोजना गरेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनबारे राजनीतिक दलका नेता, निर्वाचन कार्यालय, नागरिक समाज र संचार माध्यमसँगको संवाद कार्यक्रममा उनले यस्तो धारणा राखिन् । महानगरमा पाँच वर्षको अनुभव र अहिले पुनः निर्वाचित भएर जनताको सेवामा लाग्दाको अनुभव सुनाउने क्रममा नेपालीले कोटा र आरक्षणकाकारण विभेद गर्न खोजेको दुखेसो पोखिन् । ‘वडामा दलितहरुलाई कोटा पुर्याउन आरक्षणबाट ल्याएको भन्दै विभेद गर्न खोजे’ उनले भनिन् ‘सोही कारण केही महिना वडा कार्यालय नगएकोमा अहिले पछुतो लागेको छ ।’ सँगै निर्वाचित भएका साथीहरुलेसमेत वडामा कोटा पुर्याउन आरक्षणबाट आएको भन्ने हिसाबले अप्रत्यक्षरुपमा कुरा गरेको उनले सुनाइन् । ‘विभेदको सामना गर्दै जनताको काममा लागिरहँदा आरक्षणबाट आएर पनि मैले प्रमाणित गरेर देखाए’ नेपालीले गर्वसाथ भनिन् । त्यस्तै, पोखरा ३० की वडा सदस्य उमादेवी परियारले दलित समुदायलाई उम्मेदवारमा अविश्वास गर्दा पछाडी पर्नु परेको धारणा राखिन् । ‘चुनावमा दलित समुदायलाई टिकट दिएर जित्यो भने उसलाई नमस्कार गर्नुपर्ने मानसिकता रहेको छ’ परियारले भनिन् ‘चुनाव जित्न सक्दैन भन्ने सोंच राखेर प्रत्यक्ष तथा कार्यकारी पदमा टिकट नपाउँदा पछाडी पर्यौं ।’ अहिले राज्यले सुनिचित गरेको दलित कोटामा एका–दुुई बाहेक अधिकांश कार्यकारी पदमा दलित उम्मेदवारहरुलाई ठूला राजनीतिक दलहरुले पछाडी राखेको वडा सदस्य परियारको गुनासो छ । पुरुषभन्दा बढी महिलाबाटै पीडित हुनुपरेको बताउँदै उनले सँगै निर्वाचित भएका महिला सदस्यले गरेको व्यवहारबाट झनै पीडित भएको उल्लेख गरिन् । नेकपा एमाले कास्कीको नेता झपट रानाभाटले अब चेतनाको आन्दोलन गर्न आवश्यक रहेको बताए । नेपालको संविधानमा जातीय छुवाछुतमुक्त घोषणा गरिएको छ’ उनले भने ‘अहिले पनि सामन्ती चिन्तनकाकारण दलितहरुमाथि दमन भइरहँदा कसैले नसुनेकाले अब चेतनाको आन्दोलन आवश्यक छ ।’ सदियौँदेखि जोसँग जे सीप छ, जसले राज्य परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ, उसैलाई दलित भनेर अपमानित गरेको उनले प्रष्ट्याए । उनले भने ‘दलित भन्ने शब्द अब दिमाग र शब्दकोषबाट हटाउन आवश्यक छ ।’ कार्यक्रममा नेपाल मानवअधिकार इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले पुरानो सामाजिक चिन्तन अझै हावी हुँदा जातीय दमन भइरहेको बताए । राज्यले व्यवस्था गरेको आरक्षणबाट माथि उठेर खुल्ला प्रतिस्पर्धामार्फत दलित समुदायले राजनीतिक विद्रोह नगरेसम्म कार्यकारी पदमा पुग्न नसक्ने उनको सुझाव छ । ‘पछिल्लो समय ठुला राजनीतिक दलमा दलित समुदायको महत्पुर्ण योगदान छ’ उनले भने, ‘तर टिकट दिए हारिन्छ की भन्ने अविश्वास कायमै रहेकाले विद्रोह आवश्यक छ ।’ त्यस्तै, नेपाल समाजवादी पार्टीका कास्की इन्चार्ज टिकाराम पौडेलले सत्ता गठबन्धनबाट कास्कीको एक क्षेत्रमा दाबी गरेको बताउँदै त्यहाँ दलितलाई अवसर दिने उनले बताए । कार्यक्रममा पोखरा ६ का वडा सदस्य सभा जलारी, नेपाल दलित संघ कास्कीका सचिव गोविन्द नेपाली, मुक्ती समाज नेपालका केन्द्रिय सदस्य किसन परियार लगायतले बोलेका थिए । कार्यक्रममा दलित महिला संघ (फेडो) कास्कीका अध्यक्ष सुमित्रा गाएकको अध्यक्षता र कार्यक्रम संयोजक ईश्वरी विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौं । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष बिद्यार्थीको चापका कारण भर्ना नै रोक्नु पर्ने भएको छ । क्याम्पस प्रमुख डा विश्व सुवेदीका अनुसार ‘क्युएए’ प्राप्त भएसँगै भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षालगायतका कारण छात्राहरुको आकर्षण बढेको हो । यस बर्ष कक्षा ११ मा तीन सय जना विद्यार्थी भर्ना भइसकेका छन् । गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई सय २० विद्यार्थी भर्ना भएका थिए । सुवेदीले भन्नुभयो, “अब हामीसँग थप विद्यार्थी पढाउन कक्षा कोठा नभएकाले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ ।” एसइईको पूरक परीक्षाको नतिजा आएपछि विद्यार्थीहरू भर्ना हुन आउने गर्दछन् । ती विद्यार्थीलाई भर्ना गर्ने अवस्थामा आफूहरु नरहेको उहाँले बताउनुभयो । क्याम्पसमा मुख्यरुपमा चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै आउने गरेका छन् । यसका अतिरिक्त २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । ती जिल्लामा प्रचारात्मक अभियानका लागि प्राध्यापक कर्मचारीहरु आफैँ जानुपर्ने बाध्यता विगतमा रहेको थियो । ‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्नुहुन्छ, “क्याम्पसले प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको हो ।” समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उहाँको भनाइ छ । स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो क्याम्पस सबै हिसावबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ ।” अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले–पहिले हामी विद्यार्थी खोज्दै हिँड्थ्यो, अहिले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ ।” क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातकोत्तरसम्मको पढाइ हुने गरेको छ । हाल एक हजार सात सय विद्यार्थी विभिन्न सङ्कायमा अध्ययनरत छन् ।