गलकोट । विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पाहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ । पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदलयात्राका लागि समेत अध्ययन भइसकेको बताउनुभयो । “भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अग्र्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रुचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोनापछि केही पर्यटक आउन ठिक्क परे पनि ल्याउन सकिएन”, ज्याकले भन्नुभयो, “अब भकुण्डेमा एक दिन बिताएपछि सिगानाको बौडैचोर हुँदै काठेखोला गाउँपालिका–७ रेशको बौरसम्म पैदल मार्गमा विदेशी पर्यटक ल्याउने योजनामा छु ।” अहिले उक्त मार्गको अध्ययन सकिएको ज्याकको भनाइ छ । यसो त बागलुङ सदरमुकाम घुम्नका लागि आउनेहरु आन्तरिक पर्यटकको पहिलो प्रश्न हुन्छ बागलुङ बजारबाटै छोटो दूरीमै घुम्ने, खाने र बस्ने राम्रो स्थान कहाँ छ रु बागलुङका अधिकांश होटल व्यवसायीलाई आउने प्रश्नको जवाफ हुन्छ पर्यटकीय गाउँ भकुण्डे । दश वर्षअघिसम्म गुमनाम रहेको यो गाउँ अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक, संस्कृति र घरबासका कारण अहिले बागलुङ आउने पर्यटकको पहिलो रोजाइ बन्दै आएको छ बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँ । बागलुङ बजार आएका स्वदेशी तथा विदेशी पाहुनाहरु अहिले पदमार्ग र सडक मार्ग भएर दुई घण्टामै मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ जाने गर्दछन् । प्रकृतिको बरदानको रुपमै रहेको भकुण्डे गाउँमा जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएपछि पर्यटकीय रौनकता थपिएको वासिन्दा स्थानीय खिमबहादुर थापाको बताउनुहुन्छ । अतिथि सत्कार सामुदायिक घरबासको अध्यक्ष समेत रहनुभएका थापाका अनुसार भकुण्डे गाउँमा पछिल्लो समय पर्यटकीय पदमार्ग, सङ्ग्रहालय, ताल संरक्षण र उद्यान निर्माणलगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरु समेत निर्माण भइसकेको छ । किन लोभिन्छन् भकुण्डेमा पर्यटक एउटा पर्यटकीय गन्तब्य बन्नका लागि धेरै कुराको मेल खान आवश्यक हुन्छ । सहज पहुँच, प्राकृतिक र भौतिक संरचना र दृश्यावलकन । नभन्दै यस गाउँमा तालदेखि दृश्यावलोकन स्तम्भसम्म र सङ्ग्रहालयदेखि उद्यानसम्मको पूर्वाधार निमाृण गरिएको छ । भकुण्डेको मध्यभागमा छ सुन्दर बराह ताल छ । बराह तालमा पर्यटकको माग अनुसार डुङ्गासमेत शयर गर्न सकिन्छ । यहाँको कला संस्कृतिसँगै अग्र्यानिक खानाका परिकार र न्यानो आथित्यताले यहाँ आउने पर्यटकहरु लोभिने गरेका छन् । तालको छेउबाटै बागलुङ बजारको दृश्यसमेत अवलोन गर्न सकिन्छ । भकुण्डेस्थित मुलावारीमा हिराताल भने विस्तारै सुक्दै गएको छ । सोही तालको शिरमा एक करोड लागतमा निर्माण गरिएको दृश्यावलोकन स्तम्भबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेसहित एक दर्जन हिमश्रृङ्खलाको मनोरम दृश्य आँखामा कैद गर्न पाइन्छ । समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको दृश्यावलोकन स्तम्भबाट देखिने सूर्योदयका दृश्यले पर्यटकहरु सम्मोहित हुने गरेका छन् । घरबासमा आएका पहुनाको स्वागत र बिदाई गर्ने संस्कारले घरबासमा आउने पर्यटकहरु लोभिन्छन् । यहाँले मगर सङ्ग्रहालयले स्थानीय जीवनशैलीलाई जीवन्त तुल्याएको छ । भकुण्डेबाट केही बेरको पदयात्रामै वलेवामा रहेको प्रसिद्ध कालभैरव मन्दिरको दर्शन समेत गर्न सकिन्छ । घरबास पर्यटनका अभियन्ता क्याप्टेन रुद्रमान गुरुङको नाममा भकुण्डेमा उहाँको शहिदसहितको उद्यान समेत निर्माण भइरहेको छ । क्याप्टेन रुद्रमानले नै नेपालको पहिलो घरबासको रुपमा स्याङजाको शिरुबारीमा घरबास सञ्चालन गर्नुभएको थियो । आन्तरिक पर्यटकको आकर्षण केन्द्रका रुपमा लिए पनि यहाँको घरबास विदेशी पर्यटकहरु हेलिकप्टरमार्फत समेत आउने गरेका छन् । भकुण्डेमा चीन, कोरिया र जापान, अमेरिकालगायतका देशबाट पर्यटकहरु आउने गर्दछन् । घरबासको प्रचार प्रसारका कारण भेगन अर्गनाइजेशनमा आबद्ध विभिन्न देशका पर्यटकहरु पदयात्रा गर्दै यहाँ आउन थालेका छन् । साहसिक पर्यटकको गन्तव्य बनेको कुस्माको बन्जी पुलमा आएका पर्यटकहरुमध्ये केही पर्यटक बागलुङ कालिका दर्शनपछि भकुण्डे पुग्ने गरेका छन् । खानेपानी र सडक सुधारको आवश्यक घरबासका कारण भकुण्डे गाउँको मुहार फेरिएको भए पनि यहाँ आउने सडक मार्ग भने सुधार गर्न आवश्यक रहेको बागलुङ नगरपालिका–१० का वडाध्यक्ष तीलबहादुर थापाले बताउनुभयो । थापाका अनुसार यहाँ आउने पर्यटकलाई सडक मार्गको स्तरोन्नति नहुँदा सास्ती छ, बरु हिडेर छिटो आउन सकिन्छ तर सडक मार्गमार्फत ढिलो हुँने गरेको छ, पर्यटकको विकास भइसकेको स्थानमा पक्की सडक पु¥याउन पहल भइरहेको उहाँले बताउनुभयो । “यहाँका महिलाहरु चुलाचौकामा मात्रै सीमित थिए, अहिले पर्यटकका कारण यहाँका महिलाले घरबास सञ्चालन गरी राम्रो आम्दानी समेत गर्दै आएका छन्, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण भकुण्डेमा अन्य विकासका पूर्वाधारहरु समेत निर्माणले गति लिएको छ” थापाले भन्नुभयो “अहिले मुख्य समस्या भनेको पानी र सडकको सुधार हो । खानेपानीको चरम समस्या रहेको भकुण्डे गाउँमा प्रत्येक घरमा वर्खाको पानी संकलनका लागि घैटो निर्माण गरिएको छ । केहीवर्ष यता भकुण्डेको घरबास गाउँमा लिफ्ट मार्फत खानेपानी ल्याउनका लागि खानेपानी योजना निर्माणधीन अवस्थामा रहेको छ ।” भकुण्डे विशेष पर्यटकीय क्षेत्र घोषणाको तयारी बागलुङ नगरपालिकाको पहलमा भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा औपचारिक घोषणा गर्ने तयारी रहेको छ । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार बागलुङ नगरपालिकाको भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र घोषणा गरेर थप विकास गर्ने तयारी रहेको बताउनुभयो । “गण्डकी प्रदेशको पर्यटन मन्त्रालयसँग मैले कुरा गरेको छु, बागलुङ नगरपालिकाले पर्यटनकै शिर्षकमा बर्षेनी बजेट हाल्ने गरी भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरे अगाडि बढ्नेछ” उपप्रमुख खड्काले भन्नुभयो । भकुण्डे बागलुङ जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य भइसके पनि पर्यटकीय पूर्वाधारमा जोड दिइएको उहाँको भनाइ छ । भकुण्डे नजिकै बलेवाको ढिकबाट प्यराग्लाइडिङ समेत गर्नका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले पूर्वाधार निर्माण गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुरु भएपछि सराङ्कोटको प्याराग्लाइडिङ गुम्ने खतरा छ । त्यसको विकल्पको रुपमा उक्त स्थानलाई लिन सकिने भन्दै प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण भइसकेको छ भने प्याराग्लाइडिकङको सफल परीक्षण समेत भइसकेको छ । पर्यटकको आकर्षण अग्र्यानिक परिकार भकुण्डे गाउँमा उत्पादन भएका अग्र्यानिक परिकारले समेत पर्यटकहरुलाई थप आकर्षण गरेको छ । अहिले यहाँका आठ घरमा घरबास सञ्चालन गरिएको छ । भकुण्डे घुम्न आएका पर्यटकहरुको बसाई लम्बाउनका लागि स्थानीय परिकारले सहयोग पुर्याएको घरबासका सञ्चालक इन्द्र कुमारी थापाले बताउनुभयो । विसं २०७३ मा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारिक रुपमा सञ्चालनमा आएका यहाँको घरबासमा एकै रात ५० जना भन्दा बढी पहुना राख्न सकिने क्षमता रहेको घरबास सञ्चालक अप्सरा थापाले बताउनुभयो । सामुदायिक घरबासमा पछिल्लो पटक पहुनाको रोजाइअनुसारको सेवा सुविधा दिँइदै आएको छ । सामुदायिक घरबासबाहेक भकुण्डेमा अन्य व्यक्तिगत रेष्टुराँ र होटल समेत सञ्चालित छन् । घरबासमा कोदोको सेल रोटी, गुन्द्रुकको अचार, आलुको परिकार, लोकल खसी तथा कुखुराको मासुको परिकारले पर्यटकहरलाई लोभ्याउने गरेको घरबास सञ्चालक इन्द्र कुमारी थापाले बताउनुभयो । चिसो स्थानमा फल्ने यहाँका आलुको परिकार र भाङ्गोको अचार समेत निकै स्वादिष्ट हुने गरेको छ । घरबास सञ्चालकहरुले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, मकै, भटमास, साग, सिस्नो, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् भने बस्नका लागि आरमदायी कोठाको सुविधा दिइएको छ । शुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै लगेका छन् । घरबासमा तातो चिसोपानीको व्यवस्थापनसहितको शौचालय र स्नानघरको समेत सुविधा छ । स्थानीय उत्पादनहरुको स्वादको मज्जा लिन, हिमश्रृङखलाहरुको मनोरम दृश्य हेर्दै प्रकृतिसँग रमाउन आन्तरिक पर्यटकहरु घरबाससम्म पुग्ने गरेका छन् । कोरोनाको महामारीको समयमा थलिएको घरबास पर्यटकन अहिले पुनः फष्टाउन थालेको छ । वर्षाको समयमा समेत जिल्लाका अन्य घरबास सुनसान भइरहेको बेला यहाँका घरबासमा भने पर्यटकको चहलपहल भइरहेको अतिथि सत्कार घरबासका सञ्चालक थापाले बताउनुभयो । भकुण्डे गाउँमा आउने पर्यटकको कारण यहाँको मुहारै फेरिएजस्तै जिल्लाको अन्य स्थानमा समेत ग्रामीण पर्यटनको अवधारणा ल्याउन सकिनेतर्फ ध्यान दिन थालिएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै आउँदो असोज १ गतेबाट महानगरका सार्वजनिकस्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जनाएको छ । यसैगरी महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने कामपाका निर्देशक तथा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।
पोखरा । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्यु भएको हो । पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बन्जराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।
धनुषा । राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको छ । बुधबारदेखि क्षीरेश्वरनाथ नगरपालिकाबाट विवरण सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले जानकारी दिनुभयो । मिश्राले सेवाग्राहीलाई सहज हुने हिसाबले टोकन वितरण गरेर सोहीअनुसार आवश्यक विवरण जुटाउने काम भइरहेको बताउनुभयो । जिल्लाको १६ वटा स्थानीय तहबाट विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । उहाँले जिल्लाका १८ स्थानीय तहमध्ये १६ वटामा विवरण सङ्कलन कार्य सुरु गरिएको जनाउनुभयो । “बाँकी स्थानीय तहमा छिट्टै व्यवस्थापन गरिने छ । उपकरणमा समस्या देखिएकाले रोकिएको हो, दुरुस्त हुने बितिक्कै पठाउँछौँ”, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भन्नुभयो । स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई एक–एक कर्मचारी खटाइएको छ । सो स्थानबाट फारम भर्ने भौचर बुझ्ने कार्य भइरहेको छ । इपासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र सरकारबाट प्राप्त हुने अन्य सेवा यसकै आधारमा प्रवाह गर्ने लक्ष्यबमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । सिरहामा पालिकाबाटै राष्ट्रिय परिचयपत्र यस्तै गत २०७७ साल कात्तिकदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेकोमा अब सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट नै बन्ने भएको छ । सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गरी सो जानकारी दिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सिरहाको नौ गाउँपालिका र आठ नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने भएको छ । परिचयपत्र बनाउन बाँकी रहेका जिल्लावासीले आउँदो असोज २ गतेदेखि आ–आफ्नो पालिकामा नै सम्पर्क गरी परिचयपत्र बनाउन सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
पोखरा: पोखरामा नेपाल भारत मैत्री संघको आठौं केन्द्रिय सभा हुने भएको छ । नेपाल भारत मैत्री संघका कार्यवाहक अध्यक्ष शैलेन्द्रमोहन झाले पोखरामा पत्रकार सम्मेलन गरेर संघको भेला पोखरा आयोजना गर्न लागेको बताएका हुन् । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ संघले पोखरामा केन्द्रीय सभाको आयोजना गर्न लागेको हो । उक्त सभामा भारतीय राजदूतको टिम नै पोखरा आउने कार्यक्रम रहेको बताइएको छ । संघले नेपाल र भारत एकअर्काको देशमा रहेका नागरिकको हकहितका लागि काम गर्दै आइरहेको जानकारी संघका कार्यवाहक अध्यक्ष झाले बताए । उनले नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि भारतीय सरकारसंग पटकपटक पहल गर्दै आइरहेको र भविष्यमा पनि उक्त विषयलाइ प्राथमिकताका साथ अघि बढाउने दावी गरे । भारतको ४ वटा प्रदेशले मुक्तिनाथ क्षेत्र भ्रमणका जाने आफ्ना नागरिकलाई प्रति नागरिक २० हजार भारु दिँदै आइरहेको र अब २६ प्रदेशमै उक्त योजना लागू गराउनका लागि आफूहरु लागिपरेको सुनाए । दैनिक जसो नेपालमा १० हजार बढी पर्यटक आउने भारतबाट आउने उनको दावी छ । आठौँ केन्द्रीय मैत्री सभामा कसरी यहाँको पर्यटन विकासमा काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने तयारी भइरहेको छ ‘भारतमा रहेका धामहरुको दर्शन गरेर मात्रै पुग्दैन । मुक्तिनाथको दर्शन नगरेसम्म मुक्ति पाइँदैन भन्ने विश्वास छ । त्यसैले पोखरा हुँदै मुक्तिनाथ जानुपर्ने हुन्छ।’ उनले भने । नेपाल भारत मैत्री संघ गण्डकीका अध्यक्ष ऋषिराम सापकोटाले भारतीय राजदूतलाई पोखराको भ्रमण गराउने कार्यक्रम रहेको र सभाका लागि भदौ ३१ गतेसम्म ३ सयभन्दा बढी प्रतिनिधि पोखरा आउने कार्यतालिका रहेको बताए ।
काठमाडौं । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन टेवा पुर्याउने उद्देश्यले नेपालमा पहिलोपटक आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आयोजना हुने भएको छ । होटल सङ्घ नेपाल (हान) ले आगामी असोज ८ र ९ गते सम्मेलन आयोजना गर्न लागेको हो । कोभिडपछिको नयाँ परिस्थितिमा हस्पिटालिटी क्षेत्रको विकासका लागि आगामी कार्यदिशाबारे छलफल गर्न सम्मेलन आयोजना गर्न लागिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिनुभयो । राजधानीमा आयोजना हुने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसियालगायत मुलुकका आतिथ्यता क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता रहनेछ । नेपालका तर्फबाट राष्ट्रिय योजना आयोग, सरोकारवाला निकायका उच्च अधिकारी एवं प्रतिनिधिको सहभागिता रहने छ । हानको अर्थवार्षिक साधारणसभाका बखत उक्त सम्मेलनको उद्घाटन गरिने कार्यक्रम रहेको प्रथम उपाध्यक्ष शाहले जानकारी दिनुभयो । उहाँले लामो समयदेखि तयारी गरिएको नेपालकै पहिलो आतिथ्यता सम्मेलनमार्फत होटल क्षेत्रमा देखिएका, भोगिएका र भविष्यमा आउन सक्ने समस्याको समाधान खोज्न सहयोग पुग्ने प्रकारका छलफल सत्र सम्मेलनमा सञ्चालन हुने बताउनुभयो । पर्यटन व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाको बजारीकरण गरिनुका साथै केही नयाँ अभ्यास प्रयोग गर्दै नेपाली होटल उद्योगको स्तरीयता कायम राख्न र समग्र पर्यटनको विकासका लागि सम्मेलनले भूमिका खेल्ने हानको विश्वास रहेको छ । सम्मेलनमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गर्ने स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न सत्रहरु सञ्चालन हुनेछन् । दक्षिण एशियाका उदियमान हस्पिटालिटी ब्राण्ड, डिजिटल बजारीकरण, होटल सञ्चालन र सेवाको गुणस्तर अभिवृद्धि, नीतिगत सवाल, दिगो ऊर्जा वचत र पर्यावरणमैत्री सेवा सञ्चालन आदिबारे विज्ञले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ । छलफलले होटल सञ्चालनमा नीतिगत उपाय सुझाउनुका साथै दीर्घकालीनरुपमा होटल सञ्चालनमा अवलम्वन गर्नुपर्ने विषयमा सुझाव नेपाल सरकारका सम्बन्धित निकायमा प्रस्तुत गरिने जनाइएको छ । सो अवसरमा होटलमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्री उपलब्ध गराउने कम्पनी तथा व्यवसायीलाई समेटी बृहत् प्रदर्शनी गरिनेछ भने हानबाट प्रकाशित गरिएको ‘नेपाल अ जर्नी फ्रम इस्ट टु वेस्ट’ स्मारिकाको विमोचन कार्यक्रम पनि रहेको छ । हानमा पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी चार हजार हाराहारी होटल आबद्ध छन् । नेपालमा हाल १८ वटा पाँच तारे होटल छन् । अबको डेढ वर्षभित्र थप १८ वटा पाँच तारे होटल थपिने र त्यसमध्ये आठवटा राजधानी काठमाडौँमै रहेको हानका उपाध्यक्ष शाहले बताउनुभयो । अहिले होटल शय्या करिब ५० हजार रहेको बताइन्छ । हालको अवस्थामा ५० लाख पर्यटकलाई धान्न सक्ने पूर्वाधार रहेको व्यवसायीको भनाइ छ । नेपालमा कोभिडपूर्व १२ लाख हाराहारी विदेशी पर्यटक भित्रिएका थिए ।
काठमाडौं । बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी प्रवद्र्धन तथा स्थापनाका लागि बालबालिकासम्बन्धी ऐनको कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरिएको छ । ‘बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च’ले राष्ट्रिय बाल दिवसका सन्दर्भमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्यमा बालमैत्री स्थानीय शासन अभियानको प्रगति, चुनौती र भावी कार्यदिशाका विषयमा आयोजित राष्ट्रिय कार्यशालामा स्थानीय तहमा बालमैत्री शासनको प्रवद्र्धन हुनुपर्ने बताइएको हो । बालबालिकासम्बन्धी ऐनका मुख्य व्यवस्थाको कार्यान्वयनको लागि स्थानीय सरकार थप जिम्मेवार हुन आग्रह गरिएको छ । बालविवाह, भेदभाव, महिनावारी समस्या, बालबालिकालाई फरकफरक शौचालयको कमी, यौन हिंसा, अपहेलना, सामाजिक कुरीति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका बालबालिकालाई दुव्र्यवहार, अनलाइन हिंसाजस्ता समस्याका रूपमा बालबालिकाको चौतर्फी विकासका बाधकका रूपमा कायमै रहेको वक्ताको भनाइ छ । यस वर्षको राष्ट्रिय बाल दिवस ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी समाज’ भन्ने नाराका साथ देशव्यापीरूपमा मनाइयो । बालअधिकार महासन्धिको कार्यान्वयनका क्रममा हालसम्म मुलुकका दुई सय ९० स्थानीय तहमा बालअधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधि तर्जुमा गरिएकामा यसलाई स्थानीय तहमा विस्तार गर्न आग्रह गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को आब २०७८÷७९ को तथ्याङ्कअनुसार दुई सय छ स्थानीय तहमा स्थानीय बालअधिकार समिति गठन र दुई सय तीन तहमा बाल कल्याण अधिकारी तोकिएको छ । यस्तै एक सय ८० तहमा बालकोष स्थापना भई सञ्चालनमा आएको छ । राष्ट्रिय योजना आयोगको सन् २०२० को तथ्याङ्कअनुसार पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता दर ७७.२ प्रतिशत पुगेको छ । नेपालमा बालश्रम प्रतिवेदन, २०२१ अनुसार नेपालमा अझै पनि पाँचदेखि १७ वर्ष उमेर समूहका १५।३ प्रतिशत बालबालिका श्रममा संलग्न छन् । नेपालले बालअधिकार महासन्धि १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेको सन्दर्भमा हरेक वर्ष भदौ २९ मा राष्ट्रिय बाल दिवस मनाइन्छ । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त गौरी प्रधानले बालबालिकाका लागि सवल वातावरण सबै उमेर समूहको लागि सहज हुने तर अरु उमेर समूह केन्द्रित वातावरण सबैका लागि सवल नहुनेमा बताउँदै त्यसका लागि बालबालिकामा लगानी बढाउन जरुरी रहेको बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बाल संरक्षण तथा विकास शाखाका उपसचिव कृष्ण थापा, बाल अधिकार परिषद्का तर्फबाट डा देवकी आचार्य, परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेल, मञ्चका संयोजक अध्यक्ष तिलोत्तम पौडेल, नागरिक सङ्घसंस्थाका सञ्जालका तर्फबाट बेनुमाया गुरुङलगायतले बालअधिकारको संरक्षणका लागि स्थानीय तहले सक्रियता अपनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुईजनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको सनाखत भएको छ । नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरामा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन् । घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उहाँले बताउनुभयो । पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडि मात्रै निर्देशन दिएको थियो । त्यस्ता उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पु¥याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ ।
काठमाडौं । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुन:स्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुन:स्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार, “रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पु¥याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेशनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।” उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन् । बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा कानुनी प्रक्रिया मिलाएर बालकलाई अभिभावकसँग पुनर्मिलन गराउने जिम्माका साथ नेपाल ल्याइएको संयोजक भट्टराईको भनाइ छ । उद्धार गरिएका बालकलाई नेपालको अपराध अनुसन्धान ब्यूरोसँग समन्वय गरी अभिभावकको जिम्मा लगाइने छ । अवैध नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका बालकको उद्धार गर्न सफल भए पनि उनीहरुलाई भारत पुर्याउने व्यक्तिको पहिचान हुन सकेको छैन ।