पोखरा: नेपाल मगर विद्यार्थी संघ गण्डकीको दोस्रो अधिवेशन विवादित बनेको छ । असोज ७ र ८ गते नेपाल मगर संघ कास्कीको सभाहलमा भएको अधिवेशनमा राजनीति हाबी भएपछि विवादित बनेको हो । उक्त अधिवेशन विवादित मात्रै बनेन । गण्डकीको नेतृत्व सम्हाल्न डेक पुनमगरमार्फत निर्वाचित भए । भने प्रेम बुढामगरले अर्काे समिति घोषणा गरे । र दुवैले सामाजिक सञ्जाल (फेसबुक) मा बधाईसमेत खाए । नेपाली कांग्रेस निकटका डेक पुनमगरले चुनावमार्फत र माओवादी केन्द्र निकटका प्रेम बुढामगरले आफ्नै ढंगबाट गण्डकी प्रदेश समितिको घोषणा गरेका थिए । अधिवेशनको जिम्मेवारी पाएका केन्द्रीय महासविच प्रेम रोकामगरले सचिव मान बहादुर थापा मनिषलाई निर्वाचन मण्डलको जिम्मेवारी हस्तान्तरण गरेर राजिनामा दिएपछि चुनावमार्फत डेक पुन मगरले ४२ मत प्राप्त गर्दै विजयी बनेका थिए । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको सर्कुलर अनुसार असोज ७ र ८ गते सातै प्रदेशमा अधिवेशन गर्ने कार्यक्रम थियो । केन्द्रीय समितिको बाँडफाँड अनुसार गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गर्न केन्द्रले महासचिव प्रेम रोकामगर र सचिव मान बहादुर थापा (मनिस) लाई पठाएको थियो । तर सो अधिवेशनमा राजनीति हाबी भएपछि गण्डकी प्रदेशले सर्वसम्मत नयाँ कार्यसमिति पाउन सकेन । तर चुनाव मार्फत भने डेक पुनकाे नेतृत्वमा १५ सदस्यीय समिति गठन भएकाे थियाे । अहिले डेक पुनमगर र प्रेम बुढामगरको नेतृत्वमा गण्डकी प्रदेशमा मगर विद्यार्थी संघको दुइवटा समिति घोषणा गरिएपनि नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले डेक पुनमगरकाे नेतृत्वलाइ जिम्मेवारी दिने बताइएको छ । केन्द्रीय अध्यक्ष विष्णु कुमार थापामगरले सुनगाभा न्यूजसँग बोल्दै सर्वसम्मत हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘आज बिहान मात्र सामाजिक सञ्जालमार्फत थाहा पाए । सबैतिर सौहाद्र वातावरणमा सम्पन्न भएको छ । तर गण्डकीमा भने राजनीति हाबी भएको पाइयो । जातिय संस्थामा यसरी राजनीति हुन नकरात्मक कुरा हो । यसले राम्रो सन्देश दिदैंन ।’ उनले गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिको सचिव र महासचिवलाई जिम्मेवारी दिएको जानकारी दिए । दुवै पक्षले दाबी गरेको बताउदै अध्यक्ष थापामगरले विधि विधान अनुसार गठित समितिलाई मान्यता दिइने दोहोर्याए । ‘दुवै पक्षले आधिकारिक विधि र विधान अनुसार समिति गठन गरेको भनिएको छ, उनले भने, ‘अहिले फोन सम्पर्क भइरहेको छ । दुवै पक्षलाई राखेर छलफल गछौं, विधि विधानअनुसार को आएको छ हेरेर आधिकारिकता दिन्छौं ।’ विधान अनुसार डेक पुनको टोली वैधानिक रहेको केन्द्रको ठहर छ । के भन्छन् डेक ? अध्यक्ष पदका लागि अन्य आकांक्षीहरु सहमतिमा नआएपछि निर्वाचनमार्फत आफु अध्यक्षमा चुनिएको डेक पुनमगरले बताए । ‘हामी सहमतिमा नै जान खोजेको हो । पटकपटक गरिएको छलफलमा सहमति नभएपछि हामी निर्वाचनमा होमिएका हौं, उनले भने, ‘उनीहरु निर्वाचन वहिस्कार गर्दै बाहिरिए । पछि घर गएर बन्द कोठामा बसेर समिति गठन गर्नुभयो । अनि त्यस्तो समिति कसरी वैधानिक हुन्छ ?’ उनले प्रश्न गरे । सो समितिको निर्वाचन मण्डलको संयोजकमा संघका केन्द्रिय महासचिव प्रेम रोकामगर थिए । तर रोकामगरले सचिव मान बहादुर थापा मनिषलाई निर्वाचन मण्डलको जिम्मेवारी हस्तान्तरण गरेर राजिनामा दिएका थिए । त्यसपछि मनिषको नेतृत्वमा निर्वाचन सम्पन्न गरिएको थियो । प्रेम रोका मगर माओवादी केन्द्र पार्टी निकटमा मात्रै होइनन् उनी गण्डकी प्रदेशको भूमी, व्यवस्था तथा कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्र बुढामगर (सागर) का स्वकीय सचिव समेत हुन् । रोकामगरले निर्वाचन मण्डलबाट राजिनामा दिएपछि केन्द्रीय सचिव मान बहादुर थापा (मनिष) जो नेपाली कांग्रेस निकटका थिए । उनलाई निर्वाचन समितिको संयोजक बनाउँदै रोकामगर र असन्टुष्ट पक्ष प्रेम बुढामगर ‘क’ नेतृत्वको टोलीले वहिष्कार गरेका थिए । को–को थिए डेकको टिममा ? निर्वाचन मण्डलको संयोजकका रुपमा प्रेम रोका मगरले राजिनामा दिएपछि नेपाली कांग्रेका मान बहादुर थापा (मनिष) लाई संयोजक तोक्दै डेक पुनमगरको टोलीले आफ्नो नेतृत्वमा समिति घोषणा गरे । सो समितिको उपाध्यक्षमा सुजन पुनमगर, अठार मगरात भाषिक उपाध्यक्षमा सागर घर्तिमगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा बुद्ध गर्जामगर, महिला उपाध्यक्षमा स्मिता थापामगर, सचिवमा दिलिप रानामगर, सहसचिवमा प्रेम बुढामगर(ख) र कोषाध्यक्षमा पर्वत श्रीसमगर चयन भएकी थिइन् । यसैगरि सदस्यहरुमा कृष्ण बहादुरमगर, सुरेस रानामगर, सन्जोक थापामगर, भरत अर्मजा, मोहन बुढामगर, योगेन्द्र थापामगर, विपना बुढामगर, यम पुनमगर र अस्मिता थापामगरलाई छनौट गरेका थिए । बुढामगर भन्छन्– के प्रेम १ भोट आउने मान्छे हो ? प्रदेश समितिमा सर्वसम्मत गर्न पहल गरेको बताउदै निर्वाचन वहिष्कार गरेको अर्काे समितिका अध्यक्षका उम्मेदवार प्रेम बुढामगर ‘क’ ले बताए । उनले निर्वाचन मण्डलको संयोजक विना नै गठन गरिएको डेक पुनमगरको समिति अवैधानिक भएको बताए । आफ्नो समितिमा सबै जिल्लाबाट छनौट गरिएको बताउदै आफ्नो नेतृत्वमा गठितसमिति वैधानिक भएको दोहोर्याए । ‘मगर संघको विधि विधानले मगर संघको भातृसंगठनहरुको निर्वाचन नगर्ने भनेको छ, तर यहाँ सहमतिको प्रयास गर्दापनि निर्वाचन जाने भएपछि वहिस्कार गरेका हौं । उनले भने, ‘हामीले विधान अनुसार समिति गठन गरिएकाले हाम्रो समिति वैधानिक छ ।’ उनका अनुसार विधानमा सर्वसम्मत गर्ने भनिएकै कारण निर्वाचनमा नजाने अडान गरेको उनले बताए । ‘विधानमा सर्वसम्मत गर्ने भनिएको छ, उनले प्रश्न गरे, ‘के प्रेम बुढा १ भोट आउने मान्छे हो ? ’ को–को थिए प्रेमको समितिमा ? प्रेम बुढामगर ‘क’ नेतृत्वको समितिको उपाध्यक्षमा समीर रोकामगर, बाह्र मगरात भाषिक उपाध्यक्षमा विजय घर्तीमगर, अठार मगरात भाषिक उपाध्यक्षमा सगुन रानामगर, महिला उपाध्यक्षमा स्मिता थापामगर, सचिवमा सुशील थापामगर, सह–सचिवमा सोनम थापामगर र कोषाध्यक्षमा अस्मिता थापामगर सर्वसम्मत भएको घोषणा गरिएको थियो । यसैगरि सदस्यहरुमा मोहन बुुढामगर, कृष्ण बुढामगर, महेश घर्तीमगर, अनुप बुढामगर, सन्जोक थापामगर, विशाल पुनमगर र मौसम थापामगर चयन भएका थिए ।
डोल्पा । डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउनुहुन्छ । उहाँले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउनुहुन्छ । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ । दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ । पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा जानकारी फोन, इन्टरनेटमार्फत लिने गर्दछन् । धो आफैँमा सुन्दर फाँट छ । उपल्लो डोल्पाको चर्चित ठाउँसमेत हो । अहिले धो मा पहेलपुर हुँदै उवा बाली पोकेको छ । कृषक वर्षमा एकपटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउनका लागि उपयुक्त समयको खोजीमा छन् । उवा उपल्लो डोल्पाको मुख्यबालीरुपमा लिइन्छ । हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लोे डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ । वैशाखमा लगाएको उवा बाली असोज महिनामा उपयुक्त साइत हेरेर भित्र्याउने गरिन्छ । उपल्लो डोल्पाका स्थानीयवासी अबको हप्ता दिनमा उपयुक्त समय हेरेर उवा भित्र्याउने योजनामा रहेको दोर्जेले बताउनुभयो । धो, छार्कामोट, सिमेन, फोक्सुण्डो, कु गाउँलगायतका २३ वटा गाउँमा उवाको खेती गरिन्छ । वर्षायामको झरीसँगै उपल्लो डोल्पाको फोक्सुण्डो ताल, पौराणिक गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट उपल्लो डोल्पाका सर्वसाधारण जाने गर्दछन् । उपल्लो डोल्पालाई चिनाउनका लागि बर्सेनि विभिन्न नाम दिएर मेला तथा महोत्सवसमेत हुँदै आएका छन् । मध्य तथा उपल्लो डोल्पाको भाग समेटेर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसमेत रहेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्र डोल्पा र मुगु जिल्लामा समेत फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत दुई सय प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण हिमाल (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ । उपल्लो डोल्पाको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । जैविक विविधताको धनी उपल्लो डोल्पामा राज्यले हिमाली सहरको नीति ल्याएर काम सुरु गरेको छ । पशुपालनका लागिसमेत जोड दिँदै सरकारले अनुदानको व्यवस्थालाई व्यापक बढाएको छ । वर्षको आधा समय हिउँले ढाक्ने यहाँ आधा समयमा मात्र खेतीबाली गरिँदै आएको छ । चिसो मौसममा हिमपात हुने भएकाले खेतीबाली १२ महिना नहुने गरेको शे–फोक्सुण्डोकी प्रेमा गुरुङले बताउनुभयो । उवा बाली भित्र्याएपछि उपल्लो डोल्पाका सर्वसाधारण चिसो छल्न बेंसी झर्ने गर्दछ । केही सर्वसाधारण उपल्लो डोल्पामा आयतित र आफैँले उत्पादन गरेको उवाबाट बनेका परिकार खाएर जीवन चलाउने गरेको गुरुङले बताउनुभयो । उपल्लो डोल्पाको मौसम कुन समय के हुन्छ भन्ने थाहा नहुने गर्दछ । पानीभन्दा पनि हिउँ मात्र पर्ने भएकाले मौसमबारे धारणा बनाउन मुस्किल हुने गर्दछ । उपल्लो डोल्पामा छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो गाउँपालिका पर्दछन् । भूगोलको हिसाबले ठूलो रहेको डोल्पा चीनको सिमानासँग जोडिएको क्षेत्र हो । मुस्ताङबाटसमेत उपल्लो डोल्पामा सडक जोड्ने प्रयास जारी रहेको छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्का लागि काम निरन्तर जारी रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडक निर्माण जारी राखेको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्याक खुलेसँगै साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण कार्य जारी रहेको छ । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ । मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने पूवमन्त्री सत्य पहाडीको बुझाइ छ । अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुने अपेक्षा गरिएको छ । कृषिउपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्नेसमेत विश्वास छ । भेरी करिडोरअन्तर्गत अर्को नेपाल र भारतको सिमाना जमुनाह सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिब्बत जोड्ने त्रिदेशी सडकको निर्माण कार्य जारी रहेको छ । यही सडकको जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तरोन्नति कालोपत्रको काम निरन्तर जारी रहेको छ । यो पर्यटकीय रुटका रुपमा स्थापित हुँदै आएको छ । यो सडक निर्माणसँगै मध्य डोल्पामा निर्माण कार्य जारी रहेका दुई ठूलो जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्नेछ । यातायात जोडिएसँगै डोल्पामा उत्पादन हुने जडीबुटी निर्यातमा सहयोग पुग्नेछ । डोल्पामा पाइने उच्च कोटीको स्याउलेसमेत बजार पाउनेछ । आर्थिकरुपमा सक्षम बनाउनका लागि यहाँको स्याउ आम्दानीको स्रोत हो । यार्सागुम्वासहित अन्य मुल्यवान जडीवुटी डोल्पाका आम्दानीका आधार हुन् । डोल्पाको पूर्वमा मुस्ताङ, चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु पर्दछन् । उत्तरमा चीनको तिब्बत, दक्षिणमा जाजरकोट र रुकुम पश्चिम पर्दछन् । डोल्पामा स्थलमार्ग हुँदै घुम्न जानेको सङ्ख्या दुई हजार भन्दाबढी रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले बताएको छ ।
पोखरा : रंग तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले निर्देशन गरेको भिडियो तथा डकुमेन्ट्रीहरु पोखरामा प्रर्दशन हुने भएको छ । हरीनास सिर्जनशील समूह पोखराको आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । असोज १५ गते पोखरा थियटरमा सिञ्जालीले निर्देशन गरेका १५ वटा भिडियोहरु प्रर्दशन हुने कार्यक्रम संयोजक तथा हरीनास सिर्जनशील समुह पोखराका अध्यक्ष रुद्र सन्देशले जानकारी दिए । प्रर्दशनीमा मुस्ताङ ,कास्की, स्याङजा लगायतका स्थानका मौलिक लोक संस्कृति बोकेका भिडियो र डकुमेन्ट्रीहरु देखाईनेछ । भिडियोका निर्देशक सिञ्जालीका अनुसार मुस्ताङ जिल्लाका धाज्याङ, झोम्लु,याङजी,घ्या ला सिङसो,क्याङ ल्याचे क्याङ ,तलुु ,याङजी लगायतका गीत र नृत्य भिडियो स्याङजा र कास्कीमा प्रचलित ठाडोभाका ,बाजेबजै पुजा साथै भैरमथानको यात्रा भाग १ ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्रीको प्रर्दशन हुनेछन । भिडियोहरुले संस्कृति संरक्षण गदै पुस्ता हस्तान्तरणमा लागि सहयोग पुग्ने आसा राखेको निर्देशक थापाले बताए । मुस्ताङको वारागुङ गाउँपालिकाले स्थानीय कला ,संस्कृति,भाषा संस्कृति संरक्षण गर्ने क्रममा यस्तो कार्यक्रममा जोडिन पाउदा खुशी लागेको प्रमुख प्रशासकीय अधिकृत जीत वहादुर रानाको भनाइ छ ।
गलेश्वर । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देख्नुभएको छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा जानुहोस् । टोपीदेखि जुत्तासम्म चोयाकै पोशाक लगाएर जीविकोपार्जन गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ, रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेल । विगत दुई वर्षदेखि चोयाका पोशाक तयार पारी तिनलाई लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी उहाँले जीविकोपार्जन गर्दै आउनुभएको छ । जङ्लबाट निगालो ल्याइ त्यसबाट चोया निकालेर उहाँले टोपी,कोट,इस्टकोट,पाइन्ट,जाँगे,जुता,झोला,मनिव्यागलगाएत पोशाकहरु बनाउने र आफूले बनाएका ती पोशाकहरु लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्नुहुन्छ । आधुनिक युगमा पनि पर्तेलले चोयाँका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरु छक्कै पर्ने गर्दछन् भने कतिले उहाँको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्ने गर्दछन् । शौखिन व्यक्तिहरुले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन् । “मेरो आम्दानीको श्रोत भनेकै यही कला हो । मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु, उहाँ भन्नुहुन्छ । पर्तेलको घरमा चार छोरा,एक छोरी र श्रीमती छन् । छोराहरु अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले घरमा दुई दम्पतिमात्र छन् । बिहान उठेर नजिकको जङ्लमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै पोशाक तथा अन्य कृषि सामाग्रीहरु बुनेर दिन विताउने गर्नुभएका उहाँ चोयाका पोशाक बेचेरै वर्षमा रु एक लाख बराबरको आम्दानी गर्दै आएको बताउनुहुन्छ । चोयाका पोशाक लगाएर गाउँघर र सहर बजार जाँदा मानिसहरुले त्यस्ता पोशाक लगाएको देखेर खशी हुँदै पैसा समेत दिने गरेका र अहिलेसम्म त्यसरी रु ६० हजार भन्दा बढी कमाएको पर्तेलको भनाइ छ । हिजोआज गाउँघरका युवायुवतीले उहाँले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने र त्यसबापत रु एक सय दिने गरेका छन् । पर्तेल भन्नुहुन्छ, “अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोशाक लगाएर मोवाइलमा फोटो खिच्छन्, टिकटक बनाउछन् र बदलामा मलाई पैसा दिने गरेका छन् ।” शनिवार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाकहरु प्रदर्शन गरेर नै उहाँले रु तीन हजार भन्दाबढी आम्दानी गर्नुभयो । पर्तेलको सीपको सम्मान गर्नु पर्ने र उहाँलाई प्रोत्साहित गरेर यस्तो कला प्रवद्र्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुन बताउनुहुन्छ। । पर्तेलले पोशाकका अतिरिक्त चोयाँबाट डोका, नाम्ला, भकारी,थुन्सेलगायत घरायसी कृषि सामाग्रीहरु पनि बनाउने गर्नुभएको छ । यस्ता सामाग्रीहरु गाउँघरमा फाट्ट फुट्ट विक्री हुने गरे पनि यो पेशा व्यवसायिक हुन नसकेकाले आफूले पोशाक बनाएर प्रर्दशन तथा विक्री वितरण गर्न थालेको उहाँको भनाइ छ । आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरु र प्रशासन प्रमुखहरुलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेल बताउनुहुन्छ । “चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,” उहाँ भन्नुहुन्छ, “यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरुको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन् ।”स्थानीय सरकार वा सम्वन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्रीहरु बनाउन सक्ने पर्तेलको भनाइ छ ।
काठमाडौं । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । दसैँ प्रवेशको दिन घटस्थापना आइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार बिरलै देख्न सकिन्छ । “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, भेटे बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो,” कावासोतीका स्थानीय विनोद सिग्देलले भन्नुभयो, “अहिले सबै नौलो जस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।” गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नु अघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको, बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उहाँले स्मरण गर्नुभयो । “कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गार्थौँ, बाहिरबाट आएका पनि जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह उस्तै हुन्थ्यो,” सिग्देलले भन्नुभोय, “पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराए जस्तो लाग्न थाल्यो ।” नेपाली संस्कृति परम्परा अनुसार दसैँमा पिङ राख्ने चलन छ । अझ गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने बिश्वास रहिआएको छ । तर, नेपाली संस्कृति बोकेको पिङ आफैमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ । कावासोतीका रमाकान्त पौडेलले भन्नुभयो, “सहरबजारमा त केही वर्ष पहिलेनै पिङ हराउदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ ।” बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय गौड बन्दै गएको उहाँको भनाइ छ । “सहर बजारमा पिङ राख्ने सार्वजनिक खाली ठाउँ पनि पाउन मुस्किल बन्न थाल्यो, त्यसमाथि मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थाले,” पौडेलले भन्नुभयो, “सहरबजारका मानिसको दैनिकी पनि आफैमा व्यस्त हुन्छ, कसले पिङका लिङ्गा खोज्नु, कसले लठ्ठा खोज्नु ।” गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको होकी भन्ने हुप्सेकोटका रामकृष्ण चापागाईंको ठम्याइ छ । “रोजगारीको खोजीमा युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँ घर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ,” चापागाईंले भन्नुभयो, “यसैले पहिले जस्तो चहलपहल पनि हरायो, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो ।” फाट्टफुट्ट रुपमा कही कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको चापागाईंले बताउनुभयो । पहिले टोल टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको उहाँको भनाइ रहको छ । पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । दसैँ र तिहार जस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो की भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन पर्वसँगै जोडिएका परम्परागत कार्यकोसमेत जगेर्ना गर्दै जानुपर्ने उनीहरुको भनाइ छ । “हामीले हाम्रा संस्कृति, परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यलाई समेत जगेर्ना गर्दै जानुपर्छ, यी सबै हराउन सक्छन्, यसका लागि सबै लाग्नुपर्छ”, कावासोती–१७, का अगुवा युक्तप्रसाद गौडेलले भन्नुभयो ।
लेखनाथ । सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा—२७, कास्कीको तेश्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै, राष्ट्रिय सहकारी वैंक लिमिटेड तालचोक शाखाका प्रवन्धक सन्तोष घिमिरेले जोखिमको पूर्व आंकलन गरेर सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए । प्रवन्धक घिमिरेले पछिल्लो समय एक दुई सहकारीले वित्तिय अनुशासन पालन नगर्दा समग्र सहकारी त्यसको प्रभावमा परेको उल्लेख गरे । सहकारीले आफ्ना सदस्य परिवार भित्र निक्षेप संकलन र कर्जा प्रवाहलाई सुदृढ बनाए वित्तिय जोखिम कम हुने उल्लेख गरे । सहकारी संस्थाका अध्यक्ष चक्रवहादुर शाहीको अध्यक्षतामा भएको साधारण सभामा शेयर सदस्य एवं संचारकर्मी नवराज सापकोटा, सहकारीका सल्लाहकार चन्द्रकान्त पौडेल, बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोला, शेयर सदस्य सुर्यमणि लामिछाने, लेखा समितिका संयोजक बिष्णु सुवेदी, संस्थाका उपाध्यक्ष डम्बर प्रसाद अधिकारी लगायतले सहकारीले शेयर सदस्यलाई बोनस भन्दा पनि सुविधा दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा ७० बर्ष नाघेका झण्डै एक दर्जन जेष्ठनागरिकलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । साधारण सभाले अध्यक्ष चक्रबहादुर शाही र कोषाध्यक्ष सुर्यप्रसाद पौडेलको प्रतिवेदन अनुमोदन गरेको छ ।
पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङ्गले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि विद्यार्थीहरुमा रुपान्तरणको आवश्यकता रहेको औल्याएका छन् । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा—२७ को सातौ बार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै, कुलपति गुरुङ्गले विद्यार्थी संगठनले शिक्षाको विकासमा भन्दा राजनितिक दलको एजेण्डा बोक्दा गुणस्तर खस्कदै गएको उल्लेख गरे । गुरुङ्गले सरकारले संचालन गरेका प्रमुख विश्वविद्यालय र मातहतका क्याम्पसहरुलाई राजनितिक अभिष्ट पुरा गर्ने थलोका रुपमा दलहरुले प्रयोग गरी पढाई भन्दा लामोसमय बन्द हड्तालमा उत्रदा शैक्षिक तालिका प्रभावित भएको बताए । कुलपति गुरुङ्गले मुलुकका प्राय सवै प्रधानमन्त्री र दोश्रोपुस्ताका नेताहरुलाई भेटेर विद्यार्थी संगठनलाई शैक्षिक रुपान्तरणमा प्रयोग गर्न आफुले सुझाव दिए पनि कार्यन्वयन नभएको उल्लेख गरे । गुरुङ्गले जवसम्म विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपतिका रुपमा रहने र बालुवाटार वा सिंहदरवारमा सिनेट बोलाउने परम्परा रहँन्छ तवसम्म विश्वविद्यालय राजनितिक छायाँ भन्दा टाढा नरहने बताए । उनले आफुले राष्ट्रपतिलाई भेट्दा समेत विश्वविद्यालयको कुलपति राष्ट्रप्रमुख वा अहिले उपकुलपति भनेर नियुक्त गरिने व्यक्तिलाई नै कुलपति दिईनु पर्ने सुझाव सरकारलाई दिन आग्रह गरेको बताए । विकास निर्माण, मन्त्रालय, विभागलाई निर्देशन र अनुगमन वा प्रत्यक्ष संलग्न हुनुपर्ने प्रधानमन्त्री विश्वविद्यालयको कुलपति भन्दा समस्या सिर्जना भएको समेत गुरुङ्गले बताए । कलेजलाई गुणस्तरिय बनाउँन प्राध्यापकहरुको अहम भूमिका हुने उल्लेख गर्दै, प्रविधि र अन्तरक्रियात्मक अध्यापन विधी प्रयोग गर्न सुझाव दिए । कलेजबाट उत्पादित जनशक्ति अनुशासित र मर्यादित हुनु पर्नेमा जोड दिदै, प्राप्त शिक्षालाई संस्कारको रुपमा अघि बढाउन आग्रह गरे । पोखरा विश्वविद्यायका पूर्व कार्यवहाक उपकुलपति प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले राज्यले नीजि क्षेत्रले शिक्षामा गरेको लगानीको सुनिश्चितता गर्न नसकेको बताए । प्राध्यापक तिवारीले राज्यले आफ्ना विश्वविद्यालय र कलेजलाई प्रतिस्पर्धात्मक पनि नवनाउने र नीजि क्षेत्रले हासिल गरेको उत्कृष्ट नतिजालाई सम्मान पनि गर्न नसकेको बताए । तिवारीले राज्यले रोजगारीको ग्यारेण्टी गर्न नसक्दा दैनिक सयौं बौद्धिक विद्यार्थी विदेश पलायन हुने गरेको उल्लेख गरे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अध्यापनका परम्परागत पद्दतीलाई परिवर्तन गरी प्रविधि र बजारको माग अनुसारको जनशक्ति उत्पादन हुने विषय छनौट गर्नुपर्नेमा जोड दिए । उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ नेपाल हिसान कास्कीका अध्यक्ष यम बहादुर रोकाले शिक्षा क्षेत्रमा राज्यले गर्न नसकेको लगानी र सेवा नीजि क्षेत्रले गरिरहेको उल्लेख गर्दै, राज्यले उल्टै कर लिएर हतोत्साही बनाएको उल्लेख गरे । रोकाले शिक्षामा सवैभन्दा उत्कृष्ट व्यवस्थापन बिषय भएको उल्लेख गर्दै, त्यसबाट उत्पादित जनशक्ति पनि अब्बल हुने गरेको बताए । त्रिवेणी इन्टरनेशनल कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, शेयर सदस्य राजेन्द्रमणि लामिछाने, अमरसिद्ध नमूना मा.विका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, कलेजका प्रमुख यदुराज आचार्य, सहायक प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष श्रृष्टी तिवारी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामकृष्ण लामिछाने, शेयर सदस्य बलराम ढकाल लगायतले कलेजले पछिल्लो समय लेखनाथ क्षेत्रमा पुर्याएको शैक्षिक योगदानका विषयमा चर्चा गरेका थिए । सोही कार्यक्रममा कलेजका अध्यक्ष सुमन भट्टराईले आफ्नो तर्फबाट चार जना, लक्ष्मी हाउस पोखराको तर्फबाट पाँच जना, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको तर्फबाट एक जना पावर जिमको तर्फबाट एक जना र संबृद्धि सहकारीका तर्फबाट एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विविएसको अध्ययनको व्यवस्था मिलाईएको जानकारी दिएका थिए । ५४ जना विद्यार्थीबाट लेखनाथमा नीजि क्षेत्रबाट स्नातक तहको अध्यापन शुरु गराएको कलेज अहिले आफ्नै सुविधा सम्पन्न भवन सहित व्यवस्थापन विषयमा स्नाकोत्तर समेत गरेर पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन ।
पोखरा । एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम विल्डिङ कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भयो । कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध, कृषि बिज्ञ, पर्यटन बिज्ञ, निति तथा कानुन बिज्ञ, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु साथै बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । नेपालको समग्र सामाजिक एवं श्रम आप्रसनका क्रममा श्रमिकहरुको हक तथा अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयका साथमा स्वदेश फिर्ता आप्रवासी श्रमिकहरुको आर्थिक सामाजिक तथा संबेगात्मक पुनःएकिकरण का लागि स्थानीय, प्रदेश तथा केन्द्रमा के कस्ता निति तथा कार्यक्रम हुनुपर्छ भन्ने विषयमा केन्द्रीत रहेको थियो । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमा दक्षता प्राप्त ब्यबसायीहरुले आफ्नो तवरबाट बिचार प्रस्तुत गरि कार्य योजना अनुसार काम प्रतिबद्धता जनाएका थिए । सो गोष्ठीमा आगामी दुई बर्षको लागि स्वास्थ्य र स्वच्छता सम्बन्धी कार्यक्रम संस्थाका कार्यक्रम तथा गतिविधि तय गरिएको संस्थापक अध्यक्ष सिद्धिचन्द्र वरालले वताए । एशियन फोरमका केन्द्रिय अध्यक्ष किस्मतमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रम आप्रबासन विज्ञ निलाम्बर बडालले सहजीकरण गरेका थिए ।
कास्की । फुल कन्ट्याक्ट करातेका रेफ्रिहरुका लागि आयोजना गरिएको राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते फेडरेसनको आयोजना भएको सेमिनारमा गण्डकी र लुम्बिनी प्रदेश सगै धादीङ ओखलढुङा लगायतका जिल्लाका गरि ३२ जना रेफ्रिहरुको सहभागीता रहेको थियो । खेलका अन्तराष्टिय रेफ्रिहरु विष्णुकान्त अर्याल, शालिग्राम कुँवर र विकास महजनले खेलका नयाँ नियम सगै भएका अन्य नियमहरुको रिभिजन सगै नयाँ रेफ्रिहरुलाई कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो । शुक्रबार र शनिबार चलेको सेमिनारमा सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, आयोजक संघका अध्यक्ष शालीग्राम कुँवर लगायतले प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण पछि राखेप सदस्य गुरुङले सेमिनारमा सिकको कुराहरु आफनो कार्यक्षेत्रमा गएर लागु गर्न आग्रह गरेका थिए । नवौ खेलकदलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आ आफनो कार्यक्षेत्रमा गएर लाग्न सहभागीहरुलाई आग्रह समेत गरेका थिए । एकेडेमीको ४० हजार नगद र खेल सामग्री सहयोग कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेका राखेप सदस्य गुरुङले नगद ४० हजार सगै आवश्यक खेल समाग्री कार्यक्रममा हस्तान्तरण गरेका थिए । एकेडेमीका संरक्षक समेत रहेका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्र राम्रो बनाउन सगै आवश्यक खेल सामग्रीका कारण पछि परेका खेलाडीलाई सहयोग गर्नका लागि विभिन्न कार्यक्रम गर्न दिएको सुझाव अनुसार सहयोग गरिएको भनाई गुरुङको थियो । एकेडेमीले स्थापनाकालदेखि समस्याका परेका खेलाडी सगै विभिन्न खेल संघहरुलाई सहयोग गदै आएको गुरुङको भनाई थियो ।