काठमाडौं: काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् । कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौँको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौँ, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको जानकारी दिनुभयो । आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो । आगो निभाउन बौद्ध रामहिटी, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो । आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।
पोखरा: स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखराले अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत स्रोत कक्षाको स्तरोन्नतीका लागि विभिन्न समाग्री हस्तान्तरण गरेको छ । ह्याण्डिक्याप ईन्टरनेशनल र विश्व शिक्षासँगको साझेदारी तथा युएसएआइडीको आर्थिक सहयोगमा कास्की जिल्लामा संचालित “सबैका लागि पढाइ कार्यक्रम“ परियोजना अन्तर्गत पोखराका तीन विद्यालयलाई अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो । पोखरा १२ स्थित अमरसिंह मावि, पोखरा १० स्थित कुँडहर आधारभूत विद्यालयका दृष्टिविहीन विद्यार्थी र पोखरा ३३ स्थित सरस्वती टिका मा.विका बौद्विक अपाङ्गता विद्यार्थीका लागि करिब सात लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको केन्द्र अध्यक्ष हेम बहादुर गुरुङले जानकारी दिनुभयो । विद्यालयलाई स्मार्ट टिभि, राउण्ड टेबल, पि. फोम म्याट्रेस, जुट कार्पेट, वाटर प्युरिफायर, सिलिङ्ग पंखा, स्टिल दराज, कुसन, शिक्षण सिकाइ तथा खेल सामाग्री लगायत २० प्रकारका सामग्रीहरू प्रदान गरिएको छ । पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले ती सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उप–प्रमुख गुरुङले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि काम गर्नु सरकारको कर्तव्य भएको बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच स्थापित गर्न प्रोत्साहन सहितको भर्नालाई प्राथमिकता दिएको र निकट भविष्यमा नै आवश्यक कार्यविधि बनाइ अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले हुनेले आफ्नो लागि आफैले गर्न सकेपनि नहुनेका लागि राज्य आवश्यक भएको बताउनुभयो । केन्द्रका अध्यक्ष हेम बहादुर गुरूङले महानगरले समावेशी शिक्षा नीति बनाइ अपाङ्गतालगायत कठिनाइमा रहेका सबै बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा ह्याण्डिक्याप इन्टरनेशनलका प्रतिनिधि शिवानी भट्टराई, महानगर शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्य, सामाजिक विकास महाशाखाका प्रतिनिधि गीता नेउपानेलगायतको उपस्थिति रहेको थियो ।
मनाङ: हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिना साथ विद्यालय रित्तिने गरेका छन्”, उहाँले भन्नुभयो । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उहाँको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईले बताउनुभयो । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उहाँले बताउनुभयो । जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थीविहीन भएका छन् । “विद्यालय भवन र शिक्षक छन् । विद्यार्थी छैनन् । यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन”, चपाईले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थी छन् ।” बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उहाँले बताउनुभयो । जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ । बाल विकासदेखि कक्षा १२ सम्म कूल पाँच सय ४५ विद्यार्थी तथा एक सय ६१ शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।
हेमजा: पोखरा २५ हेमजामा रहेको चौरासी नहरको नक्सांकन कार्य भोलि विहिवारदेखि शुरु हुदैछ । जसका लागि प्राविधिकको टोलीले बुधवार स्थलगत अवलोकन गरेको छ । पोखरा २५ का वडाध्यक्ष मोतिराज तिम्सिनाको नेतृत्व र वडा सदस्य सुभास भण्डारीको संयोजकत्वसहितको प्राविधिक टोलीले हेमजाको प्रगतिचोक (चाक्लेकुला)बाट सुईखेत कालिकाचोक (नहरको मुहान)सम्म स्थलगत अवलोकन गरेको हो । पुरानो र जीर्ण अवस्थामा रहेको यो नहर वर्षातको समयमा भत्किएर मानव बस्ती डुवान हुने साथै खेतियोग्य जमिनमा क्षति पुर्याउने भएकोले यसको दीर्घकालिन समाधानको लागि मर्मत सम्भार गर्नुपर्ने भएकोले शुरुवातमा नक्सांकन गरि डिपिआर तयार पारेर काम अगाडि बढाईने वडाध्यक्ष मोतिराज तिम्सिनाले बताए । साथै नहर आसपासको सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन पनि नक्सांकन कार्य महत्वपूर्ण रहेको उनको भनाई छ । यसैगरि चरणबद्व रुपमा डुवान क्षेत्रहरु सुन्दरीपुरी, म्याग्दीचोक लगायतका क्षेत्रमा नक्सांकन गरी तीन/चार ठाउँबाट नाला निर्माण गरेर खोलामा पानी लैजाने योजना रहेको वडाध्यक्ष तिम्सिनाले बताए । स्थलगत अवलोकनपछि पोखरा महानगरपालिकाका अमिन दिवाकर सुवेदीले ७ देखि १० दिन भित्रमा नहरको नक्सांकन सकिने जानकारी दिए । हेमजाको अधिकांश कृषि क्षेत्र तथा विशेष गरी विरुवा फाँट सिञ्चित हुने चौरासी नहर झण्डै चार किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो नहर पोखरा महानगरपालिका वडा नम्वर २५ मा पर्ने पुरानो नहर हो । नहर निर्माण समितिका सचिव कमलमणि त्रिपाठीले समयमै नहर क्षेत्रको सार्वजनिक जग्गा खोजी नभए अतिक्रमण हुने सम्भावना रहेको बताए । यति नै वर्ष पुरानो नहर भनेर आधिकारिक जानकारी नभएपनि करिव दुई÷ तिन सय वर्ष पुरानो चौरासी नहर सो समयमा ६ वटा गाउँका स्थानियहरुको जनश्रमदानबाट बनेको स्थलगत अवलोकनमा सहभागि ७२ वर्षीय मधुसुदन त्रिपाठी बताउँछन् । नहर खन्नको लागि आधुनिक औंजार नभएको उक्त समयमा कोदालो, गैंचि, गल, कोर्काे, घन लगायतका स्थानिय औजारले नहर निर्माण गरेको हो भन्ने आफ्ना हजुरबुवाहरुले सुनाउने गरेको उनले स्मरण गरे । बुधवार भएको स्थलगत अवलोकनमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका अधिकृत मानबहादुर थापा, जलस्रोल तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर सिमा के.सी, पोखरा महानगरपालिकाका अमिन गणेश गिरी, प्रकाश सिग्देल र दिवाकर सुवेदी, पोखरा २५ का प्राविधिक प्रतीक्षा अर्याल, अमिन जीवन कठायत, वडासचिव इश्वरीप्रसाद बास्तोलालगायत जनप्रतिनिधिहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,नागरिक समाज, नहर निर्माण समितिका पदाधिकारी साथै स्थानियको सहभागिता रहेको थियो । वडाले चाक्लेकुला प्रगतीचोकदेखि चौरासी नहरको मुहान सुईखेतसम्म नक्सांकन गर्नको लागि उक्त क्षेत्रसँग जोडिएका जग्गाधनी तथा सरोकारवाला सबैको जानकारीको लागि सूचना निकालेर नक्सांकनको कार्य अगाडि बढाएको हो ।
काठमाडौं । वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन भएको छ । लामो समय बिबिसी र एएफपीमा काम गर्नुभएका पत्रकार श्रेष्ठको आज मध्याह्न ८१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि मुटुसम्बन्धी बिरामी उहाँको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा आज मध्याह्न १२:०५ बजे निधन भएको उहाँका छोरा सुसनमान श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ–२१ भोटेबहाल निवासी मृतक पत्रकारको धर्मपत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । नेपालबाट एएफपीमा ४० वर्ष र बिबिसीमा २० वर्ष काम गर्नुभएका पत्रकार श्रेष्ठले पछिल्लो समयमा स्वतन्त्ररूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आउनुभएको थियो ।
मेलम्ची । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाउनुभएको छ । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उहाँले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहनुभएको छ । इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उहाँको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उहाँले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गर्नुभएको छ । व्यावसायिकरुपमा सञ्चालित फाममा उहाँले केही सहयोगीहरु राख्नुभएको छ । तर पनि उहाँलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उहाँलाई फार्ममै भेट्न सकिन्छ । सशस्त्र प्रहरीमा कार्यरत उहाँले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोड्नुभयो । तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभयो । उहाँलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाउनुभएन । “म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन”, उहाँले भन्नुभयो । वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उहाँले नेपालमै केही गर्ने सोच बनाउनुभयो । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गर्नुभयो । सामाजिक सञ्जालमा बढी चाख राख्ने उहाँले त्यहीँबाट बाख्रापालनका बारेमा सिक्नुभयो । गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिनुभयो । त्यसले पनि उहाँलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित गर्यो । सुरुमा रु एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गर्नुभयोे । उहाँको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उहाँले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा र्भँसी र एउटा गाई पनि पाल्नुभएको छ । व्यावसायिक पशुपालनबाट अहिले मासिक रु ६०÷७० हजार आम्दानी हुने गरेको उहाँको भनाइ छ । करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उहाँको फाममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उहाँले रु २४ लाख लगानी गरिसक्नुभएको छ । “आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने रु ४० लाख लगानी भएको छ”, उहाँले भन्नुभयो । कतिपय आफैँले गर्नसक्ने कामहरु उहाँ आफैँ पनि गर्नुहुन्छ । जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ । उहाँले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिनुभएको छ । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उहाँलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउनुहुन्छ । “उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु”, उहाँले थप्नुभयो । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उहाँको भनाइ छ । स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उहाँ बताउनुहुन्छ । बाख्रा सँगसँगै कुखुराबाट पनि उहाँले राम्रो आम्दानी गर्नुभएको छ । दश पटक ब्रोइलर कुखुरा बेच्दा रु छ लाख फाइदा भएको उहाँको भनाइ छ । उहाँले १८ महिनाको अवधिमा रु १३ लाख आम्दानी गरिसक्नुभएको छ । उहाँले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरु पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन् । बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । “दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ”, उहाँले भन्नुहुन्छ । कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उहाँले लगाउनुभएको छ । आफूलाई खान पुग्ने तरकारी आफँै लगाउनुभएको छ । उहाँको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् । केही समयअघि उहाँले च्याउखेतीसमेत गर्नुभएको थियो । च्याउबाटसमेत रु ८० हजार आम्दानी भएकोे उहाँ बताउनुहुन्छ । “भेन्टा पनि हुकिँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो”, उहाँले भन्नुभयो । मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उहाँले बताउनुभयो । व्यवसायमा उहाँलाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ । “हामी श्रीमान् श्रीमती मिलेर काम गर्छौं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ”, उहाँले भन्नुभयो, “म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन् ।” उहाँहरुले कुटानीपिसानी मिलसमेत सञ्चालन गर्नुभएको छ । बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गर्नुभएको छ । यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ । सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो । स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउनसके कृषकहरुमा थप ऊर्जा थपिने थापाले बताउनुभयो । त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उहाँको भनाइ छ । “कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ । सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ । सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जाने उहाँको तर्क छ ।
काठमाडौं । नेपाल पत्रकार महासङ्घले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्ने बताएको छ । महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो । महासङ्घका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासङ्घ सर्धँ क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ ।
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले वडा–वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नेदेखि गरिब, विपन्न परिवारको उपचारका लागि सहयोगसमेत गर्दै आएको छ । नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना बनाएको पालिकाले यसवर्ष मात्रै दुई हजार पाँच सय जनाको निःशुल्क बीमा गर्दैछ । आगामी पाँच वर्षसम्म करिब २० हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । उहाँले स्वास्थ्य बीमाका लागि गाउँपालिकाले कार्यविधि तयार गरिसकेको र केही समयमै काम सुरु गर्ने जानकारी दिनुभयो । “हामी निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयास भएका छन्, गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ, यसबाट नागरिकले भरपुर सेवा लिन सक्छन्, यो एक महिनामा एक पटक मात्रै होइन, यो त पालिकाका १० वटै वडामा निरन्तर चल्छ” उहाँले भन्नुभयो “स्वास्थ्य संस्था पुगेर उपचार गराउन नसक्नेको थोरै भए पनि पैसा बचेको छ, रोग लुकाएर बसेकाको उपचार भएको छ, उहाँहरुले थोरै भए पनि राहत महसुस गर्नुभएको हामीले पाएका छौँ ।” अध्यक्ष अधिकारीले अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था नागरिकलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा गरिने बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वम्सेविकालाई ५० प्रतिशत पालिका र ५० प्रतिशत केन्द्र सरकारले बीमा गरी दिने बताउनुभयो । “निःशुल्क स्वास्थ्य बीमा सबै नागरिकका लागि होइन, एउटा मापदण्ड बनाएका छौँ, सोही मापदण्डभित्र पर्ने नागरिकको मात्रै निःशुल्क स्वास्थ्य बीमा हुन्छ, हामीले बनाएको मापदण्डभित्र अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था भएका नागरिक पर्छन्” उहाँले भन्नुभयो “उपचारमै मान्छेले हजरौँ खर्च गरेका हुन्छ, गरिब विपन्नले उपचार गर्न नसक्ने भएको हुँदा कम्तीमा पालिकाले बीमा गरिदियो भने उनीहरुलाई सहुलियत हुने हुँदा हामीले यो कार्यक्रम ल्याएका हौँ, कार्यविधि तयार छ, अब केही समयमै बीमाको काम सुरु हुन्छ ।” गाउँपालिकाले बिरामीको अवस्था र रोगको प्रकृति हेरेर १० देखि २० हजारसम्म भत्ता दिने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । दश वडा रहेको बडिगाडमा स्वास्थ्य चौकी सात, आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन र सामुदायिक स्वास्थ्य इकाई ६ रहेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले ग्वालीचौरमा ‘फार्मेसी’समेत सञ्चालन गरेको अध्यक्ष अधिकारीले जानकारी दिनभयो । नागरिकलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउनका निम्ति फार्मेसी सम्भालन भएको उहाँको भनाइ छ । गाउँपालिकाले तीन स्थानमा प्रयोगशाला सेवा, भिडियो एक्सेरे र कुपोषण भएका बालबालिकाको उपचारका लागि उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।
भरतपुर । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाउनुभएको छ । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाउनुभएको हो । कपाल काटेरै उहाँले भरतपुरमा तीन तलाको घर बनाउनुभएको छ । त्यसो त उहाँका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । कलैया जिल्लाको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लाग्नुभएको हो । स्थानीयस्तरमा काम सिकेर छ महिना उहाँले भारतको दिल्ली पुगेर तालिम लिनुभएको हो । विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उहाँले कपाल काट्न सुरु गर्नुभयो । त्यतिबेला उहाँको उमेर १८ वर्षको थियो । उहाँले भन्नुभयो, “म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।” २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उहाँ अहिले केही पर सर्नुभएको छ । यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उहाँ सम्झनुहुन्छ । त्यतिबेला दाह्री र कपाल काटेको रु १० लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर रु एक सय ७० पुगेको छ । त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उहाँलाई अनुभव छ । अहिले यो सङ्ख्या ३०÷३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उहाँमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसक्नुभएको थियो । सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किन्नुभयो । सोही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थाल्नुभएको छ । कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गर्नुभएको छ । उहाँका छोरी कक्षा १२ पढ्दै हुनुहुन्छ । अहिले पनि निरन्तर कपाल काट्दै आउनुभएका ठाकुर मेहनत ग¥यो भने यही कमाइ हुने बताउनुहुन्छ । जीवनको झण्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भन्नुभयो, “मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।” कर्मथलो चितवन बनाउनु भएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो । अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उहाँ बताउनुहुन्छ ।