ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिनुभयो । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताउनुभयो ।
कैलाली । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए । छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताउनुभयो । उहाँले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताउनुभयो । “जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ । यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ ।” मानिस अल्छी बन्दै गएकाले भएको जग्गाजमिन मासिँदै जान थालेको, अवसरवादी र सुविधाभोगी बन्न थालेका उहाँको भनाइ छ । टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले दिगो विकास उत्पादकत्व बढेपछि हुने भएकाले अनी मात्र आर्थिक विकास सम्भव भएको बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन जरुरी रहेको उल्लेख गर्दै राज्यले दिने कृषितर्फका सेवामा पनि नक्कली किसान तयार भएकाले समस्या भएको बताउनुभयो । “यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषितर्फ लगानी गरेको छ । कृषितर्फ दिइने अनुदान खान नक्कली किसान बनेका छन्”, उहाँ भन्नुहुन्छ, “वास्तविक किसान मर्कामा परेका छन्, कृषिको लगानी सदुपयोग भएन, सदुपयोग नभए उत्पादन बढ्ने कुरा भएन, अनि कसरी समृद्धि हुन्छ ।” वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारीले विकास एकीकृत पाटोबाट सँगसँगै जानुपर्ने तर यहाँ फरक–फरक तरिकाले पटक–पटक संरचना बन्दा पनि स्थानीय सरकार हेरेर बस्ने गरेको आरोप लगाउनुभयो । उहाँले नगरपालिका बलियो हुनुका साथै विकासका कार्यमा कडाइ गर्न आवश्यक रहेको बताउनुभयो । “एउटै सडक पटक–पटक खनिन्छ, कहिले खानेपानी, कहिले टेलिकम, कहिले विद्युत्, कहिले कसैले, यसरी पटक–पटक किन बनाउनु ?”, भण्डारी भन्नुहुन्छ, “स्थानीय सरकारले एक खालको मापदण्ड बनाएर सबै संरचना एकैसाथ बनाएको भए विकास दिगो हुन्थ्यो । नागरिकलाई पनि कम सास्ती हुन्थ्यो ।” उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका संयोजक एकिन्द्र तिमिल्सिनाले टीकापुरमा भएको विकासजति यहाँकै स्रोतबाट बनेकाले सन्तोषजनक रहेको बताउनुभयो । उहाँले यहाँ तीन थरिका मानिस रहेका उल्लेख गर्दै गर्न चाहनेलाई सहयोग नभएको बताउनुभयो । “यहाँ बनेका क्याम्पस, विद्यालय, अस्पतालजस्ता संरचना यहाँकै जमिन बेचेर बनेका हुन् । अन्य सहयोग र लगानी भित्रिएको छैन, त्यो हिसाबले सन्तोषजनक छ”, उहाँ भन्नुहुन्छ, “यहाँ गर्न चाहनेसँग आर्थिक श्रोत छैन, भएकाहरूलाई पुगेकाले गर्ने इच्छाशक्ति छैन, यसले समस्या भइरहेको छ ।” महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शोभा शर्मा ज्ञवालीले आफूहरूले सहकारीमार्फत शुद्ध तोरीको तेल पेल्ने मेसिनसमेत सञ्चालनमा ल्याएको बताउनुभयो । “हामीले आफ्नै लगानीबाट उद्योग स्थापना गरेका छौँ, यसरी काम गरिरहेका हामीलाई सरकारले अनुदान, सहयोगजस्ता कार्यमा सघाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “लगानी गरिए हामी रोजगारीको वातावरण सिर्जना गर्न तयार छौँ ।”
तनहुँ । चिसो मौसम सुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला । चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुग्ने क्रम बढेको छ । पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको मानुङकोटमा विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम श्रृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । “जाडो महिनामा कुहिराले ढाकेको दमौली, सूर्योदय र हिमाल हेर्न पर्यटक मानुङकोट उक्लिने क्रम बढेको छ, दैनिक एक सयको हाराहारीमा पर्यटक मानुङकोट पुगिरहेका छन्,” श्रेष्ठले भन्नुभयो । मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । व्यास नगरपालिका–३ शान्तिनगरका सौगातराज खनियाँले बिहान मानुङकोटबाट देखिने दृश्य अत्यन्तै लोभलाग्दो रहेको बताउनुभयो । “डाँडामा बसेर दमौली बजार ढाकेको कुहिरो हेर्दा आनन्द आउँछ, यहाँबाट देखिने दृश्य साँच्चै लोभलाग्दो छ”, उहाँले भन्नुभयो । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर शहर झरेकापनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा विसं २०५२ सालमा मानुङकोट छाड्नुभएकी बसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आउनुभएको छ । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उहाँले बताउनुभयो । मानुङकोट जाने सडक कालोपत्र भएको छ । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ ।
काठमाडौं । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८÷७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक लागत अनुमान परिवर्तन गरी दुई कोठे भवन निर्माण थालियो । गत आवको बजेटबाट दुई कोठे भवन निर्माणका लागि जग निर्माण र छत ढलानको कार्य पनि सम्पन्न भयो । तर भवनमा पर्खाल लगाउने, झ्यालढोका राख्ने, रङरोगन गर्न बजेट पर्याप्त थिएन । “विद्यालयको कोषमा रहेको रु ६० हजार रकमसमेत निकासा गरी हालसम्मको निर्माण कार्य गरियो”, विद्यालयका प्रधानाध्यापक चित्रकला घिमिरेले भन्नुभयो, “तर यस वर्ष बजेट नछुट्टिँदा हामी समस्यामा परेका छौँ ।” प्राविधिक लागत अनुमानअनुसार जग निर्माण र छत ढलानको कार्य उक्त बजेटले सम्पन्न हुनुपर्ने थियो । तर विद्यालयसम्म मोटर बाटो आई नपुगेकाले निर्माण सामग्री मानिसले बोकेर ढुवानी गर्नुपर्ने भएपछि लागत बढ्यो । “रड, सिमेन्ट र बालुवाको करिब रु तीन लाख ऋण छ”, प्रअ घिमिरेले भन्नुभयो, “एकातिर भवन निर्माण अलपत्र छ, अर्कातिर ऋण लागेको छ ।” यस विषयमा फिदिम नगरपालिकामा निवेदन दिइनुका साथै जनप्रतिनिधिलाई पटकपटक आग्रह गरेको र प्रधानाध्यापकको बैठकमा आफूले कुरा राख्दै आएको भए पनि बजेटको प्रबन्ध नहुँदा समस्या भएको घिमिरेले बताउनुभयो । नगरपालिकाबाट सुरुआत भएको योजना भएकाले नगरबाटै सम्पन्न हुनुपर्ने आफूहरुले बुझे पनि भवन निर्माणलाई पूर्णता दिन बजेट नछुट्टिँदा समस्या भएको फिदिम–११ का वडाध्यक्ष राजेन्द्रकुमार थापाले वताउनुभयो । “नगरप्रमुख, उपप्रमुखलाई यहाँ आएर समस्या हेरिदिनुस् भनेर आग्रह गरे पनि उहाँहरु आउनुभएको छैन”, थापाले भन्नुभयो, “वडासँग भवन निर्माण पूरा गर्ने बजेट छैन् ।” भवन निर्माणको योजना अलपत्र हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको उहाँको भनाइ छ । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा अहिले ३५ जना विद्यार्थी छन् । एक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र दुई शिक्षक रहेको विद्यालयसँग अहिले तीन कोठे भवन छ । उक्त भवनमा कार्यालयसहित पाँच वटा कक्षा सञ्चालन गर्नुपर्दा शिक्षण सिकाइ प्रभावित भएको प्रधानाध्यापक घिमिरेले बताउनुभयो । विद्यालयले एउटा कोठामा कार्यालय, पूर्वप्राथमिक कक्षा र कक्षा १, दोस्रो कोठामा कक्षा २ र ३ तथा तेस्रो कोठामा कक्षा ४ र ५ सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । “एकातिर पर्याप्त शिक्षक छैनौँ, अर्कातिर भौतिक संरचनाको अभाव छ”, प्रअ घिमिरेले भन्नुभयो, “नयाँ भवन पूरा गर्न पाए केही सहज हुने थियो ।”
भोजपुर । भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आर्कषित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको भनाइ छ । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका–४ नागीको लुङ्गिन, वडा नं ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यवसायिक खेती गरिरहेका छन् । केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । नागीका नविन राईले एक सय ५० भन्दाबढी बिरुवा लगाएर यसको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिबाट किवीको व्यावसायिक खेती भइरहेको कृषक राईले बताउनुभयो । आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमै खपत हुने र बाँकी बाहिरी जिल्लामा बिक्री गर्दै आएको राईले जानकारी दिनुभयो । किवी प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा स्थानीय बजारमा बिक्री गर्दै आएको राईको भनाइ छ । नजिकै मध्यपहाडी लोकमार्गसमेत बनिरहेको हँुदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा आशावादी रहेको राईको भनाइ छ । ‘‘मैले खेती गर्न थालेपछि अन्य साथीको पनि यसतर्फ आकर्षण बढेको छ । सडकको पहुँच वृद्धि भइरहेको छ । आगामी दिनमा बजारीकरणसमेतमा थप सहजता हुने आशा बढेको छ’’, कृषक राईले भन्नुभयो । त्यस्तै टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीयबासी एकराज विष्टले पनि किवीको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । विष्टले करिब सात रोपनी क्षेत्रमा गत वर्षबाट किवी खेतीको विस्तार थालेको बताउनुभयो । विष्टले भन्नुभयो, ‘‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको छु । फल लिनको लागि तीनदेखी चार वर्षसम्म लाग्छ । तर अन्यबालीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । म धेरै वर्ष विदेशमा बसेर अहिले नेपालमै किवीको खेतीमा लागेको हुँ ।’’ किवी खेतीबाट सोचेजस्तो आम्दानी लिन सुरुमा जमिन तयार गर्दा विषेश ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पहिलो पटक खेती विस्तार गर्ने कृषकले कृषि प्राविधिक अथवा अनुभवी कृषकको सल्लाह लिनुपर्ने उहाँले बताउनुभयो । कृषक विष्टले भन्नुभयो, ‘‘खास गरेर किवीको विरुवा हिउँद महिना अर्थात पुसदेखि माघ अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ । विरुवा विस्तार गर्नुपूर्व तीनदेखी चार फिट गहिराई र सोही बराबरको चौडाइमा प्राङ्गारिक मल कुवाएर लगाएमा राम्रो फस्टाउँछ ।’’ उत्पादित किवीको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानको भनाइ छ । ‘‘किवी किसानको आर्थिक अवस्था सुधारमा टेवा पु¥याउने बाली हो । एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सहजरुपमा आम्दानी लिन सकिन्छ । त्यसैले यसको थप विस्तारमा राज्यले सहयोग गर्न आवश्यक छ । धेरै मात्रामा उत्पादन गर्न सकियो भने बिक्री वितरण गर्न खासै समस्या छैन,’’ किसान विष्टले भन्नुभयो । स्थानीय कृषक रत्न बहादुर विष्टले भन्नुभयो, ‘‘किवीको राम्रो जातको पहिचान गरेर लगाउन सकियो भने एक बोटबाट एक सयदेखि एक सय ५० किलोसम्म फलाउन सकिन्छ । यसबाट वर्षमा चारदेखि पाँच लाख रुपैँयासम्म कमाउन सकिने युवा बताउँछन् । किवी एक हजार पाँचसय मिटरदेखी दुई हजार चारसय मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
म्याग्दी । म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दसैँ र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताउनुभयो । “अन्य समय विवाह र छेवारमा झिनीया कोशेली लैजाने चलन छ । विदेशमा पनि लैजाने गर्छन्”, उहाँले भन्नुभयो, “यसपालीको दसैँ तिहारमा हाम्रो समूहले रु सात लाख बराबरको झिनीया बिक्री गरेका छौँ ।” गौरासहित हुमादेवी फगामी, बुद्धीमाया रोका, कुशल शेरपुञ्जा र तारादेवी शेरपुञ्जाले सामूहिकरुपमा झिनीया उत्पादन गर्नुहुन्छ । घरायसी कामबाट बचेको समयमा झिनीया बनाउने गरेको कुशल शेरपुञ्जाले बताउनुभयो । “झिनीया आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “खेर जाने समय सदुपयोग भएको छ । घरखर्च चलाउने पैसा पनि यसैबाट जुटेको छ ।” बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्र, पर्वत, पोखरा, काठमाडौँ र बागलुङमा झिनीया बिक्री हुने गरेको छ । पहिले पहिले घरायसी उपभोगका लागि मात्र झिनीया बनाउने चलन थियो । पछिल्लो समय बजारमा माग बढेपछि व्यावसायिकरुपमा झिनीया उत्पादन गर्न थालेको बेनपा–८ अस्पतालचोककी भुलकुमारी रोकाले बताउनुभयो । उहाँले हाल रु ७० हजारमा झिनिया बनाउने विद्युत्बाट चल्ने आधुनिक मेसिन खरिद गर्नुभएको छ । तिहारका लागि मात्र पाँच बोराभन्दा बढी चामलको रु एक लाख पच्चिस हजार मूल्य बराबरको झिनीया बनाएर बेचेको रोकाले बताउनुभयो । चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनीया तयार हुन्छ । एक दर्जन ९प्रति १२ गोटा० झिनियाँलाई आकारअनुसार रु १३० देखि २०० सम्ममा बिक्री हुन्छ । बेनी नगरपालिका–७ मङ्गलाघाटका झिनीया उत्पादक हरिकुमार श्रेष्ठले झिनीयाको माग धेरै भएको बताउनुभयो । बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या पचास जनाभन्दा धेरै छ । घरमा बनाउन झञ्जट हुने, बिग्रने डर, धेरै समयसम्म भण्डारण गरेर राख्न सकिने, आवश्यकताअनुसार फ्राई गरेर उपभोग गर्न सकिने भएकाले झिनीया प्रयोग बढेको बेनपा–२ खबराकी देवी शर्माले बताउनुभयो । हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ ।
पर्वत । कृषिकर्म गरिरहेका कृषकलाई मेहेनत गरेअनुसार अन्नबाली उत्पादन भएको छ ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर आउँछ ‘कहाँको उत्पादन हुनु ? नगरी नभएर हो ।’ उनीहरूको जवाफ पनि सही हो । खेतबारीमा जति मेहेनत गरिएको हुन्छ, त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोजेका छन् त कतिले व्यावसायिकरूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् । यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेतीबाली लगाउनु भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो । कृषकलाई व्यावसायिकरूपमा कृषिमा आकर्षण गरी थोरै माटोको अवस्थाअनुसारको खेती गर्न भन्दै गण्डकी प्रदेश सरकारले २०७८ सालदेखि प्रदेशका हरेक कृषि ज्ञान केन्द्र माटो परीक्षणका लागि ‘मिनी ल्याब’ स्थापना गरेको छ । गत वर्षको साउनदेखि हालसम्मका १३ महिनाको अवधिमा कुल २२ वटा नमूनाको मात्रै परीक्षण भएको छ । त्यो पनि कृषकले ल्याएको नभई ज्ञान केन्द्र आफैँले माटो ल्याएर । विगतका वर्षमा जस्तो माटो परीक्षणका लागि पोखरा नै जानुपर्ने अवस्था रहेको भए ती २२ वटा नमूना पनि आउने थिएनन् । तर जिल्लामै परीक्षण हुने भएकाले कार्यालयको सक्रियतामा जिल्लामा मोटोको अवस्थाका बारेमा थाहा पाउन सजिलो भएको छ । माटो परीक्षणको क्रममा माटोमा रहने धेरै प्रकारका खाद्य तत्वको अवस्थाबारे पत्ता लगाइन्छ । ठूला अनुसन्धानमा सबै प्रकारका खाद्य तत्वको परीक्षण गरिने भए पनि कृषकलाई लक्षित गरेर गरिने परीक्षणमा नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गर्ने गरिन्छ । यसबाहेकका अन्य दुई प्रकारका खाद्य तत्वलाई पनि अवस्थाअनुसार परीक्षण गरिन्छ । माटोमा रहेका पाँच प्रकारका तत्वको परीक्षण गर्दा खास लाग्ने शुल्क रु पाँच सय हो । तर कृषि ज्ञान केन्द्रले कृषकलाई रु एक सयमा नै परीक्षण गर्दै आएको छ । विद्यार्थी वा अन्य प्रयोजनको अनुसन्धान गर्न माटो परीक्षण गर्नेले भने रु तीन सय तिर्नुपर्छ । निकै सुलभ दरमा माटो परीक्षण हुँदा पनि कृषक भने परम्परावादी तरिकामा आफ्नै ढङ्गले खेती गरिरहेका छन् । जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामकृष्ण लामिछानेले जिल्लामा माटो परीक्षण हुन्छ भन्ने थाहा पाए पनि त्यसका लागि नगएको बताउनुभयो । “माटो परीक्षण हुन्छ भन्ने त थाहा थियो, त्यही पनि खै अरूले माटो लगेको देखेको छैन, मैले पनि लगेको छैन । अन्न फल्नै छाडे त के भयो भनेर खोजी हुने थियो होला”, उहाँले भन्नुभयो, “बरु अब एकचोटी लगेर देखाउन पर्ला । यहाँको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनि यतातिर परीक्षणमा खासै कसैको रुचि देखिन्न ।” वरिष्ठ कृषि विकास अधिकृत थापाले यसमा कृषकको चासो निकै कम भएको बताउनुहुन्छ । गाउँमा रहेका कृषि फार्म तथा विभिन्न अनुगमनका लागि जाने बेलामा परीक्षणका लागि आउन भनिए पनि कृषक नआएको उहाँको अनुभव छ । बिरामी परेको मान्छेलाई अस्पताल नलगी घरमै राखेर ‘एक–दुई दिन विचार गरौँ न १’ भन्ने मानसिकता रहेको बेलामा माटोको खोजी गर्नु परको कुरा भएको उहाँको भनाइ छ । “मान्छे नै बिरामी परे पनि एक–दुई दिन हेरौँ, भएन भने लैजाउँला भन्ने मानसिकता अझै पनि भेटिन्छ । मान्छेलाई त समयमा उपचार नगर्ने अवस्थामा माटोको उपचार गर्न कसलाई पो चासो लागोस ?” उहाँले भन्नुभयो, “तर जब कुरा बुझ्नुहुन्छ, त्यसपछि कृषक आफैँले माटो बोकेर आउनुहुने छ । यसको फाइदाका बारेमा जानकार नभएर पनि चासो नभएको होला ।” कृषकहरू यसमा आकर्षित नहुनुको कारण ज्ञान केन्द्रको सक्रियता यो भन्दा पनि बढी आवश्यक भएको हुनसक्ने अहिलेसम्म आफूहरूले सकेसम्म प्रचार–प्रसार गरिरहेको उहाँको भनाइ छ । कृषकले परीक्षणका लागि माटो नल्याएको भए पनि कृषि ज्ञान केन्द्रले अनुगमन वा कार्यक्रममा गएको बेलामा फरक–फरक ठाउँबाट माटोको नमूना ल्याएर परीक्षण गर्ने गरेको छ । त्यो नतिजालाई हेर्दा नेपालभर रहेको अवस्थाभन्दा पर्वतको माटो झनै बिग्रिएको अवस्थामा रहेको पाइएको छ । नेपालको माटोको पिएच हेर्दा राष्ट्रियरूपमा ६० प्रतिशत छ । यो आफैँमा माटोको कमजोर अवस्था हो । जबकि पर्वतको माटोमा त्यही पिएचको अवस्था ८४ प्रतिशत रहेको पाइएको छ । २२ वटा नमूनाको परीक्षणबाट यो अवस्था देखिएको र यसले कृषि उत्पादनलाई विस्तारै कमजोर पार्दै लगेको थापाको भनाइ छ । माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा जति धेरै भयो उति नै राम्रो हुने भए पनि पर्वतको माटोको अवस्था मध्यम देखिएको छ । माटोको गुज्रिएको अवस्थाका कारण नै माटोको शक्ति जोगाउन सबै कृषकलाई कार्यालयमा आएर यसबारेमा आह्वान गरिएको उहाँले बताउनुभयो । माटोको अवस्था यही गतिमा खस्किँदै जाने हो भने केही वर्षपछि उत्पादन शून्य अवस्था आउन सक्ने र भोकमरीको अवस्था आउन सक्ने थापाले बताउनुभयो ।
म्याग्दी । म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताउनुभयो । “अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ”, उहाँले भन्नुभयो, “सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ ।” सिग्देलका अनुसार स्केल रोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने सिग्देलले बताउनुभयो । यसैबीच यसअघिका वर्षमा म्याग्दीको सुन्तला बगैँचामा फैलिएको फ्रुट फ्लाइका कारण दाना झर्ने समस्या यसपालि कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झरेका दानालाई पलाष्टिकको थैलोमा राखेर व्यवस्थापन गरिएपछि यसपालि समस्या कम भएको हो । आगामी वर्ष पनि यस्तो समस्या आउन नदिनका लागि कृषकलाई पलाष्टिकको थैलो वितरण गर्न लागिएको छ । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष तीन सय ५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
म्याग्दी । तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्नुहुन्थ्यो । कुनै पनि विषादीको प्रयोग नगरीकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खेबाली बिक्री गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मङ्गलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउनुहुन्छ । जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन । आग्र्यानिक तरकारीमात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमानदार कृषक’को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितृष्णा जागेको हो । माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएपछि आग्र्यानिक रैथाने कृषि उत्पादन अब तीव्ररूपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौँदेखि गर्दै आएको ‘खेती गरौँ कि छाडौँ’ को स्थितिमा पुगेको उहाँले बताउनुभयो । “मैले सुरुदेखि नै आग्र्यानिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडेँ”, कार्कीले भन्नुभयो, “विगत पाँच–छ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने बीउबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो”, उहाँले भन्नुभयो । “अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन, बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुखै छैन”, कार्कीले भन्नुभयो । कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । फलफूलहरु ढिलो पाक्न थालेका छन्, वातावरणीय सन्तुलन किग्रँदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको छ । कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन, जताततै देखिन थालेका छन् । उहाँ भन्नुहुन्छ, “जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउहरू त लोप पनि भइसकेका छन् ।” कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको छ । परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयास नगरिँदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइ छ । किसानका अनुसार सुन्तला, आँपलगायतका फलफूलमा कोपिला लाग्ने, फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मङ्सिरमा पाक्न थालेको छ । पहिला–पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकले बताएका छन् । कृषि प्राविधिक जगत बानियाँ अनपेक्षितरूपमा कम वा बढी वर्षा हुँदा सिमी, आलु, करेला, भिन्डी, काँक्रो, बोडी र घिरौँलाजस्ता तरकारीको गुणस्तर र रङ तथा स्वाद पनि बदलिएको बताउनुहुन्छ । हिउँदमा खेती गर्ने काउली र बन्दाजस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको छ । बालीनालीमा मात्रै होइन, पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु”, कृषक तीर्थ सापकोटाले भन्नुभयो । खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् ।