बागलुङ । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले गाउने गर्छन् । केहीले एकलरूपमा पनि गाउने गर्छन् । अहिले बजारमा आएका आधुनिक र लोकदोहोरीलगायतका गीतले गर्दा यानीमाया गीत गाइन छाडेको बूढापाकाको भनाइ छ । धवलागिरिको म्याग्दी, बागलुङमा बढी चर्चित यानीमाया गीत पर्वतका मगर तथा मुस्ताङका केही थकाली समुदायले गाउने गरेको पाइन्छ । खासगरी आदिवासी, जनजाति समुदायमा लोकप्रिय मानिने यो गीत मगर र छन्त्याल जातिले बढी गाउने गर्छन् । बजारमा भन्दा बढी गाउँहरूमा गुन्जिने यानीमाया गीत कम गाइन थालेको पाइन्छ । बागलुङ जिल्लाको निसीखोलाका बूढापाकाले अहिले पनि मेला महोत्सव हुँदा यो गीत गाउने गरेको पाइन्छ । तर पहिलेको जस्तो रौनक भने छैन । गाउँदा–गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरी गीतभन्दा विल्कुलै फरक हुन्छ । गीतको बीच–बीचमा यानीमाया जोडेर गाइने हुँदा यसलाई यानीमाया गीत भन्ने गरिएको निसीखोला गाउँपालिका–६ सिपकी ५९ वर्षीया तिर्सना घर्तीमगरले सुनाउनुभयो । उहाँले यो गीत नयाँ पुस्ताले नजान्ने बताउनुभयो । “गीतहरू सबै एउटै हुँदैनन्, शब्दै एउटै भए पनि त्यसको लय फरक हुन्छ, यानीमाया गीतको बीच–बीचमा यानीमाया भनेर जोडिन्छ, त्यही भएर यसलाई यानीमाया गीत भन्ने गरिएको हो, पहिले–पहिले हामीहरूले निकै गाउने गथ्र्यौँ”, उहाँले भन्नुभयो, “अहिले यो गीत कहीँकतै पनि सुनिदैन, अहिलेका युवायुवतीले गाउन जान्दैनन्, हामी पनि बूढो भइयो, पहिलेको जस्तो स्वर तान्न सकिँदैन, यो गीतका लागि धेरै लामो स्वर तान्नुपर्छ, यानीमाया गीत गाउँदा–गाउँदै कति रुन्छन्, कति हाँस्छन्, यो गीतमा मान्छेलाई रुवाउने र हँसाउन सक्ने शक्ति हुन्छ ।” घर्तीमगरले आफूहरूले रोधी बस्दा पनि यानीमाया गीत गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडिएको बताउनुभयो । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक र लोकगीतले यानीमाया गीत हराउन थालेको उहाँको भनाइ छ । घर्ती यानीमाया गीत कलाकारले पनि कमै मात्रा गाउने गरेको बताउनुहुन्छ । “हाम्रो गाउँतिर पहिले–पहिले रोधी बस्ने चलन थियो, रोधीमा तरुनी–तन्नेरी भएर गीत गाउने गथ्र्यौँ, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छाडिएको हो”, उहाँले भन्नुभयो, “यो गीत त कलाकारले पनि गाएका छैनन्, पुराना केही कलाकारले गाएको त सुनियो तर अहिले सुनिदैन ।” उहाँले रोधीमा यानीमाया गीत गाउँदा–गाउँदै आफूले विवाहसमेत गरेको सुनाउँदै अहिले त्यो चलन हटेको बताउनुभयो । गीत गाउँदा–गाउँदै यस क्षेत्रमा धेरैले विवाह गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले त रोधी बस्ने, गीत गाउने, गीत गाउँदा गाउँदै तरुनी तन्नेरी मन पर्यो भने बिहे गर्ने चलन थियो, अहिले रोधी पनि बस्न छाडियो, त्यसरी बिहे पनि हुँदैन, गीत गाउनेहरू पनि छैनन्, हामीभन्दा पछाडिका नयाँ युवाले यो गीत गाउँदैनन् ।” बागलुङ गलकोटका पूर्णबहादुर श्रीषले यानीमायासँगै गीतमा मौलिकता हराउँदै गएको सुनाउनुभयो । उहाँले यानीमाया गीतहरूमध्ये विशिष्ट गीत रहेको जनाउँदै पछिल्लो समय धवलागिरि क्षेत्रमै निकै कम गुन्जिने बताउनुहुन्छ । “यानीमाया गीतले मौलिकता बोकेको थियो, त्यो गीतले जस्तो अन्य कुनै पनि गीतमा मौलिकता पाइँदैन, यसले साङ्गीतिक क्षेत्रमा सिङ्गो धवलागिरिको पहिचानलाई बेग्लै बनाउन सफल भएको थियो, अहिले हराउन थालेको”, उहाँले भन्नुभयो । उहाँले लोक, आधुनिक र पप गीतजस्तै रेकर्ड भएर विभिन्न माध्यमबाट नागरिकसम्म पुगेको भए अरु गीत ओझेलमा पर्ने बताउनुभयो । यानीमायासँगै सुनिमाया र शिरफुलेमाया पनि हराएको श्रीषको भनाइ छ । “यानीमाया तीन दिन तीन रात गाएर पनि सकिँदैन, गाउँदै गयो भने यसको गहिराइमा पुगिन्छ, गहिराइबाट निस्किन समय लाग्छ”, उहाँले भन्नुभयो, “अहिले गाइने गीतहरुजस्तै यानीमाया गीत पनि रेकर्ड भएर रेडियो, टेलिभिजन र मोबाइलमा आएको भए, अरु गीत ओझेलमा पर्ने थियो, यानीमाया गीत गाउन सुन्न थालियो भने अरु गीत सुनेजस्तो, गाएजस्तो हुन्न ।” उहाँले यानीमाया गीत टिभी, रेडियोमा सुनेर नभई बूढापाकाले गाएको सुनेर सिकेको बताउनुभयो । कलाकारले यो गीतलाई रेकर्ड गरेर जनस्तरमा ल्याउन सके संरक्षित हुन सक्ने उहाँको भनाइ छ ।
काठमाडौँ । सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँदै गएका छन् । केही वर्ष अघिसम्म परम्परागत र ढड्डामा विवरण राखेर सेवा प्रदान गरिरहेका संस्था अहिले कम्प्युटराइज हुनुका साथै खानेपानीसँग सम्बन्धित विभिन्न सफ्टवेयर प्रयोग गरेर अत्याधुनिक बन्दै गएका छन् । हालसम्म देशभरका छ सयभन्दा बढी खानेपानी तथा उपभोक्ता समिति डिजिटलाइज भइसकेको सरकारी विवरण छ । हाल ६८ जिल्लाका ११ लाख घरधुरी र करिब ४६ लाख जनसङ्ख्यामा यस्तो डिजिटलाइज सेवा पुगिसकेको छ । ती समितिले दियालो टेक्नोलोजीले विकास गरेको वाटरमार्क नामक सफ्टवेयर प्रयोग गर्दै आएका छन् । नेपालको फिनटेक कम्पनी दियालोले खानेपानीको क्षेत्रमा आवश्यक पर्ने विभिन्न सफ्टवेयर तथा प्रविधिको विकास गर्दै आइरहेको छ । दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, जिन्सी व्यवस्थापन, लेखा प्रणाली, मानव संशाधन प्रणाली, पानी चुहावट विश्लेषण प्रणाली, प्रयोगशाला व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, भूमिगत तहको पानी विश्लेषण गर्ने प्रविधि, पानीको तह मापन गर्नेलगायतका प्रणाली तथा प्रविधिको विकास गरेको छ । यस्तै कतिपय प्रविधि निर्माणको अन्तिम चरणमा छन् । यी प्रविधि प्रयोग गरी खानेपानी संस्था डिजिटलाइज बन्नुका साथै अत्याधुनिक सेवा प्रदान गर्न सक्षम हुँदै गएका छन् । देशभित्रै सबैभन्दा ठूलो उपभोक्ता समितिमध्येको एक कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नवलपुरका व्यवस्थापक बाबुराम ज्ञवालीले प्रविधिको प्रयोगले आश्चर्यजनक परिवर्तन ल्याएको बताउनुभयो । मानिसले गर्नुपर्ने कतिपय काम सहजैरूपमा प्रविधिको प्रयोगबाट भएका छन् । पानी खोल्न वा बन्द गर्न प्रत्यक्षरूपमा जानु पर्दैन भने पानीको गुणस्तरसमेत पत्ता लगाउन सजिलो भएको छ । जमिनमुनिको पानीको सतहसमेत सेन्सरको सहयोगले पत्ता लगाउने गरिएको छ । कति समय पानी तानियोदेखि उपभोक्ताको घरमा के–कति पानी पठाइयो भन्ने विवरणसमेत मोबाइल एपको माध्यमबाटै हेर्न सकिने ज्ञवालीको भनाइ छ । उपभोक्ताले समेत पानीको बिल तिर्न खानेपानीको कार्यालय वा उपभोक्ता समितिको कार्यालय पुग्नु पर्दैन । मोबाइलमार्फत अनलाइन माध्यमबाटै बिल तिर्न सक्छन् । आगामी तीन महिनाभित्र कुनै पनि कामका लागि अब मानवीय उपस्थिति नै नभए पनि हुने गरी प्रबन्ध गर्ने गरी थप तयारी भइरहेको ज्ञवालीको कथन छ । प्रविधिको प्रयोगले खानेपानी संस्थाहरू परदर्शी र उपभोक्ताप्रति जवाफदेहीसमेत हँुदै गएको उपभोक्ताहरूको अनुभव छ । नेपालको वर्तमान नीतिअनुसार कुनै पनि खानेपानी योजना निर्माण गर्दा स्थानीय उपभोक्ता समितिको संलग्नता अनिवार्य रहेको छ । नेपालमा यस्ता उपभोक्ता संस्था ४२ हजार बराबर रहेका छन् । तीमध्ये करिब १६ हजार चार सय संस्था मात्र दर्ता छन् । दर्ता भएकामध्ये ११ हजार आठ सय २८ वटा संस्था सञ्चालनमा छन् । यीमध्ये पनि नियमित बैठक बस्ने, आवधिकरूपमा साधारणसभा गर्ने, संस्थाको हरहिसाब पारदर्शी राख्ने समिति त झन् निकै न्यून छन् । प्रविधिको प्रयोग नभएका समितिमा आवश्यक सही तथ्याङ्क निकाल्न समस्या हुने, निर्णय गर्न ढिला हुनेजस्ता समस्या देखिने गरेका छन् । परम्परागत ढङ्गले सञ्चालन हुँदा संस्थालाई चुस्तदुरुस्त राख्न नसक्ने, पारदर्शी नहुने, समितिमा विवाद हुनेजस्ता समस्या देखिँदै आएका थिए । त्यसलाई सही मार्गमा ल्याउन पनि प्रविधिको प्रयोग नै उत्तम विकल्प हुनसक्ने उपभोक्ता लक्ष्मण जोशीको भनाइ छ । प्रविधिको प्रयोग गर्दा ढड्डा, फाराम, रसिदजस्ता कगजी वस्तुको प्रयोग गर्दा जस्तो समस्या नआउने खानेपानी समितिका सञ्चालकको अनुभव छ । प्रविधिको प्रयोग भएका खानेपानी समितिले हाल चुस्तदुरुस्त सेवा मात्र दिएका छैनन् कि ती समितिमा पारदर्शिता कायम हुनुका साथै उपभोक्तामा जवाफदेही सेवासमेत भइरहेको छ । प्रविधिको प्रयोग गरेका खानेपानी समितिका उपभोक्तालाई समेत निकै सहजता भइरहेको छ । उपभोक्ताले आफ्नो खानेपानीको महसुलको बिल पनि आफ्नो मोबाइलबाटै जानकारी पाएका छन् । महसुल मोबाइलबाटै भुक्तानी गरिरहेका छन् । जसले गर्दा उनीहरूको समय र खर्च दुवै बचत भइरहेको छ । हाल मासिक तीन लाख ५० हजारभन्दा बढी घरधुरीले मोबाइलबाटै आफ्नो महसुल भुक्तानी गरिरहेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिकाका केही खानेपानी उपभोक्ता समितिले पनि यस्तै प्रविधिको प्रयोग गरेका छन् । चन्द्रागिरि नगर विकास समिति मातहतको खानेपानी, टोखा खानेपानी, महादेवस्थान र तीनथाना खानोपानीमा यस खालका प्रविधिको प्रयोग गरिएको छ । यसबाट आफूहरूलाई असाध्यै सहज भएको उपभोक्ता जोशीको अनुभव छ । यस्ता छन् खानेपानी क्षेत्रमा प्रयोग भएका सफ्टवेयर मिटर रिडिङ मोबाइल एप : मिटर रिडिङ मोबाइल एप हाल खानेपानी समितिमा सञ्चालनमा रहेको छ । मिटर रिडिङ मोबाइल एपले पिओएस मेसिनमार्फत घरघरमै पुगेर थर्मल पेपरमा ग्राहकले तिर्नुपर्ने रकम प्रिन्ट गरेर दिन्छन् । मिटर रिडिङ गरेको र रकम भुक्तानी लिएको विवरण कुनै पनि स्थानबाट सिधै सफ्टवेयरमा अपडेट हुन्छ । यस सुविधाबाट मिटर रिडिङ र महसुल सङ्कलनको कामलाई पारदर्शी बनाएको छ । यसअघि कागजी बिल प्रयोग गर्दा बिल हराउने, कार्यालयको ढड्डामा अपडेट गर्न बिर्सिनेजस्ता समस्या आउने गरेका थिए । सिधै सफ्टवेयरमा अपडेट हुने हुँदा यसबाट ग्राहक र खानेपानी समितिलाई काम गर्न सहज भएको छ । त्यस्तै बिलिङ व्यवस्थापन प्रणाली पनि हाल सञ्चालनमा छ । यस प्रणालीमा ग्राहकको सम्पूर्ण जानकारी ९केवाइसी० विवरण रहेको हुन्छ । यस प्रणालीमा खानेपानी महसुलको छुट तथा जरिवाना व्यवस्थापन हुन्छ । यसमा खानेपानीको दर पनि समावेश हुन्छ । यसबाट खानेपानीको उपभोग, आम्दानी विश्लेषण गर्नुका साथै ग्राहकको परिचयपत्र बनाउन सकिन्छ । पहिले–पहिले हरेक ग्राहकको छुट्टाछुट्टै फारम रहन्थे । ती फारम कहिले हराउने, कहिले च्यातिनेजस्ता समस्या आउँथे । फारम हराउने, अव्यवस्थित हुँदा आफ्नै ग्राहक हो कि होइन भनेर चिन्न नसक्ने अवस्था पनि आउँथ्यो । तर यस प्रणाली राखिसकेपछि सबै विवरण दुरुस्त हुन्छ । कसैले आफ्ना नजिकका व्यक्तिलाई ग्राहक नै नबनाई निःशुल्क पानी दिनसक्ने, आवश्यकताभन्दा बढी छुट दिनेजस्ता गलत क्रियाकलापलाई पनि यस प्रणालीले नियन्त्रण गर्छ । यो प्रणाली भएपछि ढड्डामा केरमेट गर्ने, हराउने समस्याको निराकरण हुन्छ भने एक क्लिकमा सम्पूर्ण विवरण प्राप्त गर्न सकिन्छ । यसमा खानेपानीको रकम कति उठ्यो, बक्यौता कति उठ्न बाँकी छ जस्ता कुरा सहजै राख्न सकिने हुँदा पारदर्शी हुन्छ । एसएमएस सिस्टमले ग्राहक र समितिका बीचमा पुलको काम गरेको छ । यसअघि साधारणसभा गर्नुपरेमा अथवा कुनै सूचना ग्राहकका बीचमा पु¥याउनुपरेमा सबै ग्राहकलाई पत्राचार गर्नुपर्दथ्यो । तर अहिले यस सिस्टमले सबै ग्राहकका बीचमा एसएमएसमार्फत एकैपटक सूचना सम्प्रेषण गर्न सकिन्छ । साथै यस प्रणालीले खानेपानीको महसुल नतिरेको अवस्था अथवा जरिवाना लागेको अवस्थामा सिस्टमले नै सूचना उपलब्ध गराउँछ । अनलाइन भुक्तानी अनलाइन भुक्तानी प्रणालीले गर्दा आम उपभोक्तालाई महसुल भुक्तानी गर्नका लागि खर्चनुपर्ने समय र खर्चको बचत भएको छ । खानेपानी समितिका कार्यालय केही किलोमिटरको दूरीमा हुँदा सवारीसाधन चढेर कार्यालयमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । उपभोक्ताले आफ्नो मोबाइलमार्फत सहजै खानेपानीको महसुल भुक्तानी गर्न सक्छन् । हाल ६० भन्दा धेरै बैंक तथा वित्तीय संस्था, इसेवा, खल्ती, आइएमईलगायतका भुक्तानी प्रदायकमार्फत सहजै महसुल भुक्तानी गर्न सकिन्छ । खानेपानी क्षेत्रमा रहेका विभिन्न प्रणालीमध्ये लेखा प्रणाली पनि एक प्रमुख प्रणाली हो । हाल यो प्रणाली सञ्चालनमा रहेको छ । यो प्रणालीले संस्थाको आम्दानी खर्च, सम्पत्ति दायित्व, नाफा–नोक्सान, आर्थिक अवस्थालगायतका सबै विवरण हेर्छ । यो प्रणाली नेपाल लेखामानकअनुसार विकास गरिएको छ । यो प्रणाली खानेपानी सफ्टवेयर, एसएमएस, मिटर रिडिङलगायतका सबै प्रणालीसँग जोडिएको हुँदा यसले हरेक विषयलाई पारदर्शी बनाउन सहयोग पुगेको दियालो टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत परशुराम (पीआर) खनालको भनाइ छ । यो प्रणाली क्लाउड बेस टेक्नोलोजीमा आधारित रहेको हुँदा सञ्चालक समिति अथवा खानेपानी व्यवस्थापकले कुनै पनि स्थानमा बसेर संस्थाको हिसाब–किताब हेर्न सक्ने उहाँको भनाइ छ । जिन्सी व्यवस्थापन प्रणालीमार्फत संस्थामा कुन सामान, कति मात्रामा मौज्दात छ, कति खरिद–बिक्री भए, कति फिर्ता भए, कति मर्मतसम्भारमा प्रयोग भएजस्ता सबै विवरण उल्लेख हुने हुँदा जिन्सी तथा सामानको अपचलन हुने कुरालाई निराकरण गर्छ । मौज्दात परीक्षण गर्न सकिने सुविधाले मौज्दात नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाएको प्रमुख कार्यकारी अधिकृत खनाल बताउनुहुन्छ । त्यस्तै भौगोलिक सूचना प्रणालीले खानेपानीको प्रसारण र वितरण पाइपलाइन तथा अन्य संरचनाको भौगोलिक अवस्थितिको जानकारी दिन्छ । यसैगरी मर्मतसम्भारका लागि पाइपलाइन गाडिएका स्थान, च्याम्बर, भल्व, ट्याङ्की, ग्राहकको घरजस्ता खानेपानीका सम्पत्तिलगायतका सबै विवरण उपलब्ध गराउँछ । पानी चुहावट विश्लेषण गर्ने प्रविधि पनि हाल सञ्चालनमा छ । यसमा स्रोतबाट खानेपानी कति उत्पादन भयो, ट्याङ्कीमा पानी कति जम्मा भयो, उपभोक्ताले कति उपभोग गरे र कति चुहावट भयो भन्ने सबै कुरा उल्लेख हुन्छ । यसले दिने तथ्याङ्कका आधारमा चुहावट भइरहेको स्थानसमेत सहजै पत्ता लगाउन सकिने खनालको भनाइ छ । त्यस्तै पानी ट्याङ्की सफा गर्दा कति पानी खेर गयो, उत्पादन र उपभोगको विश्लेषणलगायतका सबै विवरण हेर्न सकिन्छ । पानी चुहाहट नियन्त्रण गर्न सहज हुने हुँदा घर–घरमा खानेपानीको आपूर्ति बढाउन सहयोग पुग्छ । यसैगरी प्रयोगशाला व्यवस्थापन प्रणाली पनि हाल सञ्चालनमा छ । यसले खानेपानीको स्रोत, वितरण प्रणालीका विभिन्न खण्डमा खानेपानीको गुणस्तर स्वचालितरूपमा मापन, विश्लेषण तथा सम्प्रेषण गर्दछ । यसमा आम उपभोक्ताले मोबाइबाटै आफूले प्रयोग गरिरहेको पानीको गुणस्तर हेर्न सक्छन् । जसले गर्दा हरक्षण खानेपानीको गुणस्तर मापन भइराख्छ भने शुद्ध र सफा पानी उपभोग गर्न पाइन्छ । पम्प कन्ट्रोल प्रणालीले स्वचालितरूपमा पम्प अन र अफ गर्छ । यसअघि पम्प खोल्न वा बन्द गर्न निरन्तररूपमा जनशक्ति लाग्थ्यो । तर यो प्रणाली जडान गरेपछि पम्प अन अफ गर्न कुनै मानिसको आवश्यकता पर्दैन । यसले ट्याङ्की खाली हुँदा अटोमेटिकरूपमा पम्प अन हुन्छ भने ट्याङ्की भरिएपछि आफैँ अफ हुन्छ । जसले गर्दा पम्प सञ्चालन नहुँदा पानी नपाइने र पानी भरिएपछि खेर जानेजस्ता समस्याको निराकरण हुने गरी प्रविधिको विकास गरिएको दियालो टेक्नोलोजिजको भनाइ छ । यस प्रणालीमा पम्पबाट कति पानी उत्पादन भयो, पम्प कति घण्टा चल्योजस्ता सबै विवरण हेर्न सकिन्छ भने पम्प सञ्चालन खर्चमा समेत कमी आउँछ । पम्पलाई मोबाइल र सफ्टवेयरबाट नियन्त्रण गर्न सकिन्छ । ग्राहक गुनासो व्यवस्थापन प्रणालीले मोबाइल एपमार्फत नै ग्राहकले आफ्ना गुनासो राख्न सक्छन् भने कर्मचारीले गुनासाको समाधान गर्छन् । समितिले संस्थामा के–कति र कस्ता गुनासा आएका छन्, कति सम्बोधन भए भनेर सबै विवरण हेर्न सक्छन् । यसले गर्दा संस्थालाई जवावदेही बन्न सहयोग पु¥याउँछ । भूमिगत पानीको तह विश्लेषण यस प्रणालीले जमिनको सतहमुनि कति पानी छ, यो पानीले कति समयसम्म पुग्छ, जमिनमा पानी पुन जम्मा भइरहेको छ कि, छैन जस्ता कुराको विश्लेषण गर्छ । पानीको स्रोत कति घटिरहेको छ, हरेक महिना, वर्ष कति पानी घटिरहेकोे छ, पानी सुक्दै गइरहेको छ या पुनः जम्मा पनि भइरहेको छ भन्ने कुराको विश्लेषण हुने हुँदा पानीको स्रोत कहिले सुक्न सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । यसले गर्दा भविष्यमा आउने पानीको सङ्कट समाधान गर्न वैकल्पिक स्रोत व्यवस्थापनमा रणनीति बनाउन सकिन्छ । मोबाइल एप ग्राहक र खानेपानी समितिका लागि छुट्टाछुट्टै विशेषता भएका मोबाइल एप्लिकेशनको विकास गरिएको खनालले बताउनुभयो । ग्राहकका लागि ग्राहक सूचना प्रणाली र सञ्चालक तथा व्यवस्थापनका लागि खानेपानी ज्ञान प्रणालीको विकास गरिएको छ । ग्राहक सूचना प्रणालीमा ग्राहकले संस्थाका सूचना, जानकारी पढ्ने, एपबाटै महसुल भुक्तानी गर्ने, संस्था र समितका सम्पर्क नम्बर हेर्ने, खानेपानीको महसुल विवरण हेर्ने, मिटर रिडिङ विवरण हेर्ने, खानेपानीको गुणस्तर हेर्ने, खानेपानी वितरण तालिका हेर्ने, खानेपानीको गुनासो तथा सेवा अनुरोध गर्नेजस्ता कुरामा सहजता ल्याएको उहाँको भनाइ छ । खानेपानी ज्ञान प्रणालीले संस्थाको विभिन्न महत्वपूर्ण सूचकहरू बिलिङ, महसुल सङ्कलन, लेखा, जिन्सी, गुनासो, पानी चुवाहट, गुणस्तर, पम्प नियन्त्रण, कर्मचारीलगायतका सबै विषयमा निर्णय गर्न आवश्यक पर्ने सबै सूचना मोबाइलबाटै प्राप्त गर्न सकिन्छ । इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर जस्तो प्रविधि पानीको स्रोतमा जडान गर्दा स्वचालितरूपमा प्रतिसेकेण्ड कति पानी उत्पादन भएको छ भनेर वास्तविक समयमै जानकारी पाउन सकिन्छ । जसका आधारमा उत्पादनको मात्रा विश्लेषण गरी पानी आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न सकिन्छ । ट्याङ्कीको पानी तह मापन प्रविधिले खानेपानी ट्याङ्कीमा कति पानी छ भनेर हेर्न सकिन्छ । यस आधारमा कति वितरण गर्ने, कति पानी स्रोतबाट थप्ने, घटाउने आदि कुराको नीति बनाउन सहज बनाउँछ । खानेपानी क्षेत्रका संस्थालाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउन दियालो टेक्नोलोजीले निकट भविष्यमै स्मार्ट मिटर प्रविधि, खानेपानीको स्रोतको सुरक्षा प्रणाली, खानेपानी मर्मतसम्भार प्रणाली, गेटभल्भ अटोमेशनजस्ता प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो ।
पोखरा : राष्ट्रिय लोकदोहोरी पत्रकारीता पुरस्कार कास्कीबाट पत्रकार एकराज गिरी सम्मानित भएका छन् । राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीले पत्रकार एकराज गिरी सहित विभिन्न ब्यक्तिलाई सम्मान गरेको हो । आठौँ जिल्ला अधिवेशन तथा २१ औ साधारण सभामा पत्रकारीताको क्षेत्रबाट लोकदोहोरी गीत प्रतिष्ठानका गतिविधिलाई पत्रकारीताको माध्यमबाट प्रचार प्रसार गरी पु¥याएको योगदानको कदर गदै नगद, सम्मानपत्र, दोसल्ल्ला र खाँदाले सम्मान गरिएको हो । पत्रकार गिरी विगत १९ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् । उनले गोरखापत्र दैनिक, पोखरा हटलाईन दैनिक, पोखरा एफएम, गोरर्खाली रेडियो लगायतकामा काम गरेका थिए भने हाल सफल न्यूज डटकममा कार्यकारी सम्पादकका रुपमा कार्यरत रहेका छन् । कार्यक्रमा लोकदोहोरी गायक बद्री पराजुली, अधिबक्ता दुर्गाप्रसाद कोइरालालाई पनि नगद, सम्मानपत्र सहित खादा लगाएर सम्मान गरिएको थियो । त्यस्तै प्रतिष्ठान कास्कीले तीन वर्षको मुल्याकन गदै उत्कृष्ट कार्यसमित सदस्यबाट रचित पौडेल,उत्कृष्ट विभाग प्रमुख सुनिल गायक, प्रोत्साहन पुरस्कारबाट दिवाकर भण्डारी र अनुशासिल सदस्य पुरस्कारबाट नवराज अधिकारीलाई सम्मान गरेको छ । सम्मानित सवैलाई प्रमुख अतिथि प्राज्ञ तथा प्रतिष्ठान पूर्व केन्द्रीय अध्यक्ष एवं कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुली, प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कोषका उपाध्यक्ष पुरुषोत्तम न्यौपाने, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले लोकदोहोरी प्रतिष्ठानलाई अगाडी बढाउने सक्षम नेतृत्व चयन गर्न शुभकामना दिदै सम्मानित सबैलाई बधाई ज्ञापन गर्नुभयो । ,उहाँले लोकदोहोरी कलाकारहरु कामले सक्षम हुनुपर्छमा जोड दिदै भन्नुभयो,‘राम्रो गर्ने जहापनि विक्छ । त्यसैले काम गरौ ।’ उहाँले अग्रलाई सम्मान गर्ने परिपाटी विस्तारै हराउदै गएका गुनासो गदै त्यसलाई कार्यम राख्दै संस्थाको हितमा अग्रको आग्रहलाई स्वीकार गर्न अनुजलाई अनुरोध गर्नुभयो । उहाँले गीत गाउन सक्ने बनाएपनि संंस्थाका सदस्यहरुमा धैर्यता र अनुशासन सिकाउन नसकिएको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, पूर्व केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल, पूर्व केन्द्रीय सदस्य तारापति सुवेदी, प्रतिष्ठानका सल्लाहकार दुर्गाप्रसाद कोइराला, कानुनी सल्लाहकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष शान्ति गुरुङ, प्रतिष्ठानका पर्वतका अध्यक्ष दिपक गदाल, सम्मानित ब्यक्तित्व बद्री पराजुली, केन्द्रीय सदस्य शंकर बिरहि गुरुङ लगायतले बोल्नुभएको थियो । अधिवेशनको उद्घाट कार्यक्रम लोकदोहोरी गीत प्रतिष्ठान कास्की अध्यक्ष टेक क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
पोखरा । नवौै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तत एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न खेलअन्र्गत एक हजार पाँच सय मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती रानाले स्वर्ण पदक जितेका छन् । त्रिभुवन आर्मी क्लबका मुकेशले तीन मिनेट ५२ दशमलव २१ सेकेन्ड समय खर्चदै स्वर्ण पदक जितेका हुन । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)का अजित यादव र नागेश्वर अहिर क्रमश ः दोस्रो र तेस्रो भए । अजितले तीन मिनेट ५३ दशमलव ११ सेकेन्ड समय लगाउँदै दोस्रो भए भने नागेश्वरले तीन मिनेट ५६ दशमलव पाँच सेकेन्ड समय खर्चदै तेस्रो भए । सोही स्पर्धाको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) की फुलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन् । फुलमतीले चार मिनेट ३८ दशमलव १९ सेकेन्ड समय लगाउँदै पहिलो बनेकी हुन । रजत पदक विजेता सरस्वतीले चार मिनेट ४१ दशमलव ८० सेकेन्ड समय लगाइन् । सोही स्पर्धामा त्रिभुन आर्मी क्लबकी रेखा लिम्बूले कास्य पदक हात पारिन । उनले पाँच मिनेट ०३ दशमलव ८० सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहेकी हुन् । त्यसैगरी आजै भएको सटपुटतर्फ तिलक विक र चन्द्रकला लामगादेले स्वर्ण जिते । त्रिभुवन आर्मी क्लबका तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन । सोही स्पर्धामा वलीले रजत पदक जित्दा बागमती प्रदेशका ललित रावतले कास्य पदकमा चित्त बुझाए । यसैगरी एक सय मिटर दौडको पुरुषतर्फ शिवराज पार्की र महिलामा सरस्वती चौधरीले स्वर्ण जिते । सशस्त्र प्रहरी बलका शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई पछि पार्दै स्वर्ण जितेका हुन् । स्वर्ण विजेता शिवराजले निर्धारित दूरी १० दशमलव ५९ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा आर्मीका युवराजले १० दशमलव ५८ सेकेन्ड समय लगाउँदै रजत पदक जिते भने त्रिभुवन आर्मी क्लबका डिल्ली भण्डारीले कास्य पदक जिते । उनले १० दशमलव ७० सेकेन्ड समय लगाए । सोही स्पर्धाको महिला विधामा स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । उनले निर्धारित दूरी १२ दशमलव १३ सेकेन्डमा पूरा गरिन । सरस्वतीले स्वर्ण पदकसहित राष्टिय कीर्तिमानसमेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । निशाले हिट चरणमा १२ दशमलव १५ सेकेन्ड समय लगाएकी थिइन । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२ दशमलव ९३ सेकेन्ड समय खर्चेकी थिइन् । त्यस्तै दश हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी थिइन् ।
मोरङ । बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन । नहरमा पानी नहुदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए । त्यस क्षेत्रमा कृषिमा सिँचाइ सेवा पु¥याउने गरी पाँच दशकअघि निर्माण भएको उक्त शाखा नहरमा दुई दशकदेखि पानी सञ्चालनअवरुद्ध भएको थियो । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले नहरमा थुप्रिएको बालुवा र माटो सफाइ गरेपछि पानी सञ्चालन भएको हो । मोरङ जहदा गाउँपालिका–४ मा मात्र करिब पाँच सय बिघा जग्गामा अहिले पानी पुग्दा किसान हर्षित भएको सो शाखा नहरका जल उपभोक्ता समितिका अध्यक्ष देवानन्द साहले बताउनुभयो । उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारीको पकेट क्षेत्र हो । यहाँका किसान मौसम अनुसारको बाली लगाउँछन् । “बाली मात्र लगाएर के गर्नु पहिले त नहर भएर पनि सिँचाइ थिएनन् । अहिले नहरका पानी बगेको देखेर किसानको अनुहारमा उज्यालो आएको छ”, अध्यक्ष साहले भन्नुभयो,“बाली र मानवको लागि पानी निकै महत्व छ, यो बिना दुबैको जीवन अन्धकार हुन्छ ।” धान, मकै, गहुँ प्रर्याप्त उत्पादन हुने यो क्षेत्रमा तरकारी पनि प्रशस्त उत्पादन हुन्छ । यो क्षेत्र तरकारीका लागि पकेट मानिन्छ । यो क्षेत्र तरकारी पकेट क्षेत्र भएको र यसमा परियोजनामार्फत कृषि उत्पादन बढाउन लगानी पनि भइरहेको अध्यक्ष साहले बताउनुभयो । धान, मकै र गहुँ बाली भन्दा पनि तरकारी उत्पादन गरेर यस क्षेत्रका जनताको जीवनस्तरमा निकै परिवर्तन आएको स्थानीय किसान हरिनाथप्रसाद सिंहले बताउनुहुन्छ । उहाँले पनि एकदेखि दुई बिघा जग्गामा तरकारी लगाउनुभएको छ । “तरकारी उत्पादन त गर्छु तर, बजार अभाव छ, ग्रामीण क्षेत्र भएकाले बाटोको असुविधा छ, बाटो राम्रो भएको भए हामीले उत्पादन गरेको तरकारी सजिलै सहरसम्म पु¥याउन सक्थ्यौँ भन्नुभयो ”, उहाँले यहाँका किसानले प्रयोगगर्ने दुई किमी बाटो व्यवस्थित भयो भने निकै सुविधा हुने थियो ।” अर्का किसान नहरको दुबै तर्फ तरकारी उत्पादक किसान रहेकाले नहर दुबै तर्फ गर्न केही स्थान सुनसरी मोरङ सिँचाइ आयोजनाले कल्भर्ट बनाइदिनुपर्ने माग गर्नुभयो । आयोजनाका इञ्जिनीयर महेश चौधरीले किसानको माग र आवश्यकता अनुसार नहर सञ्चालनमा ल्याइएको बताउँनुभयो । आयोजनाका प्रमुख भिलानन्द यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाले सुनसरीमा ४० हजार र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले नहर निर्माण गरेको बताउनुभयो । उहाँले नहर स्थानमा अहिले पनि पानी चल्ने समस्या देखिएपछि नहरलाई सफाइ गर्ने योजना बनाएर अघि बढिरहेको जानकारी दिनुभयो । “नहर छ तर पानी छैन भने त्यो नहरको कुनै काम छैन, उहाँले भन्नुभयो,“त्यसैले लामो समयदेखि सिँचाइबाट वञ्चित किसानलाई खेतसम्म पानी पु¥याउने नै आयोजनाको प्रमुख काम हो”, आयोजना प्रमुख यादवले भन्नुभयो ।
पोखरा । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित हात पारेर एक खेल अगाबै सेमिफाईनलमा स्थान बनाएको छ । पोखरामा शनिबार भएको खेलमा नेपाल एपीएफ क्लबले मधेश प्रदेशलाई २७ रनले पराजित गरेको छ ।एपीएफले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ७ विकेट ७४ रन बनायो । मधेशका लागि कप्तान कविता गौतमले अविजित १३ तथा सरस्वती कुमारीले १३ रन बनाईन् । अनुराधा चौधरीले ११ रनमा आउट भईन् । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका लागि नेरी थापाले ३ तथा ईन्दु बर्मा,सुमन विष्ट,सुस्मा श्रेष्ठ र सरिता मगरले समान १र१ विकेट लिए । पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले अविजित १७ तथा राजमती ऐरीले १६ रन बनाईन् । ज्योती पाण्डेले १५ रन जोड्दा नेरी थापाले १२ रन बनाएकि थिईन् । कप्तान सिता राना मगर र रोमा थापाले समान ८८ रन बनाएकि थिईन् । मधेशका लागि सरस्वती कुमारीले ३ तथा कविता गौतम र शान्ति चौधरीले समान २र२ विकेट लिए । जितसँगै एपीएफ ३ खेलमा ६ अंक जोड्दै समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाईनल प्रवेश गरेको छ । मधेश भने ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । मधेशको सेमिफाईनलको सम्भावनामा कायमै रहेको छ । समूह ‘बी’ बाट भने समूह बिजेताका रुपमा पुलिस क्लब र उपबिजेताका रुपमा लुम्बिनी प्रदेश सेमिफाईनल पुगिसकेका छन् । आजनै हुने दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश(१ र लुम्बिनी प्रदेश रहेको छ ।
पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला दश हजार मिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जित्नुभएको हो । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभएको हो । राजपुराले उक्त दूरी ३६ मिनेट २९ दशमलव ४५ सेकेन्ड समय खर्चदै दोस्रो स्थानमा रहनुभयो । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)की पुस्पा भण्डारी तेस्रो रहनुभयो । पुस्पाले ३७ मिनेट ०४ दशमलव २ सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहुनुभएको हो । सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको तेह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जित्नुभएको थियो । त्यतिबेला उहाँले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । सन्तोषी सागको एथलेटिक्स खेलमा स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ । खेलपछि सन्तोषीले राष्टिय किर्तिमान कायम गर्नुभन्दा पनि मेडलको लागि मात्र खेलेको बताउनुभयो । उहाँले आर्मी म्याराथनबाट घाइते भएदेखि राम्रो खेल प्रर्दशन गर्न नसकेको र किर्तिमान तोड्न गाह्रो भएकोसमेत बताउनुभयो । शारीरिक भन्दा पनि मानसिक रुपमा दृढ भएर स्वर्ण जित्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो
भरतपुर । विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रबार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको साथबाट एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र एक सय ४० मिलीग्राम खैरो हेरोइन फेला परेको उहाँले जानकारी दिनुभयो । मोबाइल चार थान, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थाल्नुभएको थियो । अहिले उहाँको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाउनुभएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहनुहुन्छ, किनकि उहाँले परिवारबाटै त्यस्तै शिक्षा पाउनुभयो । अहिले उहाँ महिनावारी हुँदा छ दिनसम्मै बाध्य भएर छाउगोठमै बस्नुहुन्छ । तर देउताको डरले घरभित्र बस्ने कुरा भने उहाँको मस्तिष्कमै आउँदैन । गाउँघरमा छाउगोठ भत्काउने अभियान चले पनि रमिला त्यसको विपक्षमा हुनु उहाँको बाध्यता नै छ । खप्तडछान्ना गाउँपालिका–४ की हरिना रोकायाले पनि देउता रिसाउने भन्दै महिनावारीको बेला अहिलेसम्म घरमा बस्न पाउनुभएको छैन । घरमा बस्दा अनिष्ट हुने भन्दै परिवारकै सल्लाहमा उहाँ छाउगोठमा बस्न बाध्य हुनुहुन्छ । “घरको दैलो पनि छुन दिँदैनन्”, उहाँले भन्नुभयो, “सबैभन्दा समस्या महिनावारी भएकै बेलामा हुन्छ, तर परिवारले नै त्यो स्वभाविक प्रक्रिया भन्दै छाउगोठमै बस्न बाध्य पार्छन् ।” रोकायाका अनुसार माइतीघरभन्दा बढी पोइलीघरमा छाउपडी मानिन्छ । उहाँको माइतीघर वडा नं ७ मा छोरीलाई महिनावारी हुँदा घरको दैलो छुनेदेखि गाईवस्तु दुहुनेसम्म गरिन्छ । पोइलीघरमा भने आँगनदेखि तरकारीका लहरा छुनसमेत बञ्चित गरिएको उहाँले बताउनुभयो । “बिहेको सुरुमा त सिस्नाको झाडी नजिकैको गोठमा बस्थ्यौँ । एक दिन सुतेकै बेलामा राति भत्कियो । त्यो दिनको घटना सम्झिँदा त आङै सिरिङ्ग हुन्छ ।” राति छाउगोठ भत्किने बेलामा तीन–चार दिने साउने झरी रहेछ । रोकाया सम्झिनुहुन्छ, “छाउगोठभित्र पानी पनि जमेको थियो । झरी रोकिने अवस्थै थिएन । गोठको छतको काठ कुहिएर पूरै झर्नै लागेजस्तो थियो । प्लाष्टिक ओढेर सुत्न खोजेकी थिएँ । माथिबाट झ्याप्प भत्कियो । खरको छानो हुँदा बाँचियो ।” रोकायाका अनुसार अहिले छाउपडीले पहिलेको जस्तो दुःख भने भोग्नु पर्दैन । “छाउगोठ भए पनि सुरक्षित हुन्छन्”, उहाँले भन्नुभयो, “राति एक्लै सुत्न पनि केही डर हुँदैन । पहिलेको अवस्था त कुरै छाडौँ”, उहाँले छाउगोठ मुक्त नभए पनि अलि व्यवस्थित भएको बताउनुभयो । बुङ्गल नगरपालिका–६ की सीता बोहराले ३९ वर्षमा पाइला टेक्नुभयो । उहाँ १३ वर्षको उमेरदेखि नै महिनावारी हुन थाल्नुभयो । माइती र पोइलीघर नजिकै भएको हुँदा उहाँलाई सुरुको बेला महिनावारी भएकै समयजस्तो अहिले पनि भइरहन्छ । घर, वस्तुभाउ, भाँडाकुँडा तथा पुरुष मान्छेलाई अहिले पनि छुन पाइँदैन । बस्ने, खाने, हिँड्नेदेखि पानी पँधेरा पनि छाउपडीका लागि अलग भएको उहाँले बताउनुभयो । “सबैभन्दा कष्टकर समय नै महिनावारीको बेलामा हुन्छ । तर हाम्रो गाउँ ठाउँमा देउताले भनेको नमाने उल्टै आफैँमाथि दुर्घटना हुने भन्छन् र डर लाग्छ । घर नजिकै पनि जान मन लाग्दैन ।” उहाँले एकपटक सङ्घसंस्थाले भत्काएका छाउगोठ समाजले पुनःनिर्माण गरेको बताउनुभयो । “पहिलेका गोठभन्दा अहिले केही त राम्रा र अलि व्यवस्थित भएका छन् । तर, मनमा भने देउताको डर कहिल्यै हराउँदैन”, उहाँले भन्नुभयो । बुङ्गलमा विवाहित÷अविवाहित नभनी सबैले गोठमै बस्नुपर्ने उहाँले बताउनुभयो । “हाम्रो यता जोसुकै महिला भए पनि महिनावारी हुँदा छ दिनसम्म गोठमै बस्नुपर्छ । घरमा मेरो दुई जना छोरी पनि त्यसै गोठमा बस्छिन्”, उहाँले भन्नुभयो । रमिला, हरिना र सीतामात्रै होइनन्, बझाङमा हजारौँ महिला अहिले पनि महिनावारीका बेलामा छाउगोठमै बस्छन् । स्थानीय सरकारका जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको अगुवाइमा छाउगोठ भत्काए पनि फेरि छाउगोठ बनाएर बस्न थालेका छन् । “छाउगोठको रूपमात्रै फेरिएको छ”, महिला अधिकारकर्मी तथा अल्पकालीन महिला सेवा केन्द्रकी इन्चार्ज गीता शाहीले भन्नुभयो, “संस्कार र सोच जहाँको त्यहीँ छ । मानसिकरूपमा चेत खुल्दैन भने गोठजन्य संरचना भत्काएर केही हुँदैन ।” उहाँले मुलुक सङ्घीयतामा जानुअघि पनि जिल्ला विकास समितिको नेतृत्वमा छाउपडीमुक्त अभियान चलाएको र बीचमै रोकिएको बताउनुभयो । “सुरुमा छाउगोठ पनि भत्काइए”, उहाँले भन्नुभयो, “विभिन्न सङ्घसंस्थाले चेतनामूलक कार्यक्रम गरे । जिविसले पनि धेरै गाविसमा काम ग¥यो । पछि सबै निकाय सुस्ताए । स्थानीयवासीले छाउगोठ पुनःनिर्माण गरे ।” उहाँका अनुसार छाउगोठ भत्काउने अभियानका बेलामा केही महिलाले त त्रिपाल टाँगेर रात बिताएका थिए । उहाँले महिनावारी हुँदा घरभित्रै छुट्टै कोठामा बस्दै आएका महिला भने अन्धविश्वास तोडेर अघि बढेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा पहिलेको तुलनामा धेरै परिवर्तन भएको बताउनुहुन्छ । “सुदूरपश्चिममा सबैभन्दा बढी छाउपडी मान्ने जिल्ला बझाङ पनि हो । तर पछिल्लो समयमा भने चेतनाको विकासले धेरै परिवर्तन भइसकेको छ । छाउपडी मान्नेहरू धेरै नै व्यवस्थित भइसकेका छन्”, उहाँले भन्नुभयो । बोहराका अनुसार बझाङमा सबैभन्दा बढी जयपृथ्वीका केही वडा, सुर्मा, छविस, मष्टा, खप्तडछान्ना र थलारामा बढी मान्ने गर्छन् । छाउगोठ भत्काउन तथा चेतना फैलाउने फेरि अर्को अभियान सुरू गर्ने उहाँले बताउनुभयो ।