कञ्चनपुर । कञ्चनपुरमा किसान धान भित्र्याउनमा व्यस्त छन् । खेतमा लगाएको बाली तयार भएपछि काटेर भित्र्याउन उनीहरु जुटेका हुन् । “धान पाकिसक्यो, वर्षाले भिजाउला कि भन्ने पिरले धान काटेर भित्र्याइरहेका छौँ”, कृष्णपुर नगरपालिका–७ का किसान मोहन भट्टले भन्नुभयो, “पानीले अब क्षति नगरेमा बाली राम्रै लागेको छ, किरा पनि नलागेकाले यस वर्ष उब्जाउ विगतभन्दा राम्रै हुन्छ ।” कञ्चनपुरमा उन्नत जातका बीउको प्रयोग र समयमै भएको वर्षाका कारण यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । “गत वर्षभन्दा यस वर्ष धानको उत्पादनमा २५ देखि ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौँ”, कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भन्नुभयो, “यसपटक नयाँ जातको बीउको प्रयोग र समयमै वर्षा भएकाले पर्याप्त सिँचाइ पुगेको छ, त्यसैले धानको उत्पादन बढ्ने अनुमान गरेका छौँ ।” दुई/तीन वर्षको अन्तरालमा धानको बीउ बदलेर खेती गरेमा उत्पादन वृद्धि हुने गरेको उहाँले बताउनुभयो । “विगतमा चार/पाँच वर्षसम्म एउटै बीउ लगाउने गरिन्थ्यो, अहिले कृषकमा नियमितरूपमा उन्नत जातको बीउ प्रयोग गर्नेक्रम बढेको छ”, उहाँले भन्नुभयो, “यसले किरा लाग्न दिँदैन, त्यसले गर्दा बीउ बदलेर खेती गर्दा २० देखि २५ प्रतिशत उत्पादन बढ्छ ।” उक्त केन्द्रका अनुसार केही वर्षयता उन्नत जातको बीउको प्रयोग बढेको छ । अहिले कृषकले हर्दीनाथ, सुक्खाको एकदेखि चारसम्म, राधा चार, साँवा मन्सुलीलगायत उन्नत जातका बीउ प्रयोग गरिरहेका छन् । गत वर्ष कात्तिकमा आएको बाढीले कञ्चनपुरमा धान बालीमा ठूलो क्षति गरेकाले गत वर्ष दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर अर्थात् एक लाख २१ हजार दुई सय ४० मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । “अहिले गत वर्षको जस्तो बाढी र वर्षाले धानमा क्षति पु¥याएको छैन, करिब पाँच÷सात प्रतिशत धानमा मात्रै क्षति पुगेको छ, पूर्वसूचनाले किसानले यसपटक धान काटेनन्”, सूचना अधिकारी जोशीले भन्नुभयो, “बेलौरी, लालझाडीतिर बढी क्षति छ तर गत वर्षभन्दा धान उत्पादन बढ्छ ।” यस वर्ष कञ्चनपुरमा तीन दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । यस वर्ष किसानले मलखाद पनि समयमै पाएको सूचना अधिकारी जोशीको जिकिर छ । विसं २०७७ मा कञ्चनपुरमा धानको उत्पादन तीन दशमलव नौ मेट्रिकटन प्रतिहेक्टर थियो । कञ्चनपुरको बेलौरी, पुर्नर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पार्नुभएको छ । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उहाँले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्छ भन्नुभयो । व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको बरिष्ठ नेता पौडेलको भनाइ थियो । हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक परेको जनाउँदै उहाँले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राख्नुभयो । गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको उहाँले बताउनुभयो । सो अवसरमा तनहुँ क्षेत्र नं १ प्रदेश (क)का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाटलाई तीब्रता दिनुभएको छ । यसक्रममा उहाँले व्यास,भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गर्नुभएको थियो ।
सुर्खेत । वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो । कर्णाली प्रदेशको राजधानी कायम भइसक्दासमेत वीरेन्द्रनगर उपत्यकामा निर्माणाधीन चक्रपथको काम पूरा हुनसकेको छैन । सत्र वर्षअघि सुब्बाकुनाबाट घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्न चक्रपथ निर्माण थालिएको थियो । करिब २९ किलोमिटर लामो सो चक्रपथको हालसम्म २२ किलोमिटरमा मात्रै काम भएको छ । चक्रपथअन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुँदा बेला–बेला विवाद हुँदै आएको छ । अरू त अरू चक्रपथको सुरुको विन्दु सुब्बाकुनामै व्यक्तिको घरजग्गा परेका कारण सो ठाउँमा काम हुनसकेको छैन । चक्रपथअन्तर्गत संरक्षित वन क्षेत्र र व्यक्तिगत घरजग्गा परेकै कारण अझै ४० प्रतिशत काम हुन बाँकी छ । निर्माण भएको सडकमध्ये पनि करिब दुई किलोमिटर कालोपत्र हुन बाँकी छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं १, २, ८ र १२ को क्षेत्रमा पनि व्यक्तिगत घर, जग्गा पर्ने हुदाँ विवाद सुल्झिनसकेको छैन । स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै लामो समयदेखि आयोजना निर्माणमा अवरोध गर्दै आएका छन् । “जनताका लागि विकास हो भने सही तरिकाले विकास हुनुपर्यो । विकासका नाममा उठिबास त लगाउनु भएन नि”, वीरेन्द्रनगर–२ की अमृता कार्कीले भन्नुभयो, “हामी जग्गा दिन्छौँ, तर हामीलाई उठिबास लगाएर विकास गर्न खोज्दा समस्या भएको छ ।” उहाँले क्षतिअनुसार सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने स्थानीयवासीको माग रहेको बताउनुभयो । निर्माणाधीन चक्रपथ हेरिरहेको रुकुम–पश्चिम चौरजहारी सडक डिभिजन कार्यालयले भने ६० प्रतिशत काम सकिएको जनाएको छ । विवाद नभएको क्षेत्रमा निर्माण सकिए पनि विवादित क्षेत्रको काम बाँकी रहेको कार्यालयका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिनुभयो । “विवाद नभएको ठाउँहरूमा त काम सकिसकेको छ । केही ठाउँमा जग्गा र संरक्षित वन क्षेत्रको विवादले काम रोकिएको छ”, उहाँले भन्नुभयो, “जग्गा र वनको विवाद नभएका ठाउँमा करिब ६० प्रतिशत काम सकिएको छ ।” निर्माण कम्पनी र कार्यालयले समय सीमाभित्रै काम सक्ने गरी लागे पनि विवादका कारण कठिनाइ भएको उहाँको भनाइ छ । सम्झौताविपरति साँघुरियो सडक चार वर्षभित्र सक्ने गरी चक्रपथ निर्माणको सम्झौता भएकामा पटक–पटक म्याद थप भइरहेको छ । पछिल्लोपटक म्याद थप भएअनुसार २०७८ चैत मसान्तभित्र निर्माणकार्य पूरा गर्नुपर्ने सम्झौता थियो । तर अवरोध कायमै रहेकाले काम सकिने कुनै टुङ्गो छैन । सङ्घीय सरकारले निर्माण थालेको चक्रपथको काम अहिले प्रदेश सरकारमातहत छ । रु १३ करोड बजेटमा निर्माण सम्झौता हुँदा चक्रपथ १५ मिटर चौडा हुने उल्लेख थियो । तर जग्गा अभावकै कारण ११ मिटरमा मात्रै सडकको काम भइरहेको छ । पर्याप्त जग्गा उपलब्ध नहुँदा सडकको चौडाइ घटाउनुपरेको सडक डिभिजन कार्यालयका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिकाले छिट्टै विवाद समाधान भएर काम अघि बढ्ने जनाएको छ । सरोकारवालाबीच विवाद समाधानका लागि छलफल भइरहेकाले केही समयमै समस्या समाधान हुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँले प्रभावित नागरिकलाई मर्का नपर्ने गरी सहमतिबाटै चक्रपथको काम अघि बढ्ने जानकारी दिनुभयो । “समस्या समाधानका लागि सम्बन्धित व्यक्ति र निकायबीच विभिन्न चरणमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “वीरेन्द्रनगर नगरपालिकाको मात्रै नभएर प्रदेशकै गौरवका रूपमा रहेको ‘वीरेन्द्रनगर चक्रपथ’ निर्माणको कामलाई प्रदेश र सङ्घीय सरकारले पनि प्राथमिकतामा राखेको हुँदा अब छिट्टै काम अघि बढ्छ ।”
तनहुँ । को बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो । “घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ”, उहाँले भन्नुभयो । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् । पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
बागलुङ । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुनुहुन्छ काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राख्नुभयो । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उहाँको बारी बाझिँदै थियो । तर बारीलाई बाँझै राख्न उहाँलाई पटक्कै मन लागेन् । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेबारी पाउनुभएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका लामिछानेले अहिले भने त्यही बाझिँन थालेको बारीबाट लाखौँ कमाइ गर्न थाल्नुभएको छ । काठेखोला गाउँपालीका–७ रेशमा रहेको उहाँको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । “चार–पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ”, लामिछानेले भन्नुभयो, “वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैप¥यो”, लामिछानेले दुई रोपनी बाँझो बारीमा ४५ वटा किवीका बिरुवा लगाउनुभएको छ । तिनै बिरुवामा यो वर्ष सात सय किलो किवी फलेको लामिछानेले बताउनुभयो । “दुई क्विन्टल त बिक्री भइसके, अझै पाँच क्विन्टल जति बोटमै छन्”, उहाँले भन्नुभयो, “बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौँ”, पाँच सय रुपैयाँ प्रतिगोटा खरिद गरेका ४५ वटा बिरुवाले गत वर्ष नै लगानी उठाएको उहाँले बताउनुभयो । बगानमा किवीको बिरुवालाई आडदिन गत वर्ष ७० हजार खर्चेर उहाँले टहरा बनाउनुभएको छ । लामिछानेको बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो रु दुई सय ५० मा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उहाँकी श्रीमती कमला लामिछानेले बताउनुभयो । “बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर बिचौलिया आउँछन्, उपभोक्तालाई पनि महँगो पर्ने”, लामिछानेले भन्नुभयो, “हामी आफौँले उपभोक्तालाई दिँदा उहाँहरूले रोजेर लैजान पाउनुभएको छ, मूल्य पनि सस्तो पर्छ ।” यो वर्षमात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उहाँले बताउनुभयो । वहुबर्षे बाली भएकाले बेला–बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उहाँको भनाइ छ । त्यही बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभव समेत लामिछानेसँग छ । “हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ”, लामिछाने भन्नुहुन्छ, “पछिल्लो समय मैले नगदेबाली र फलफूल खेतीमा वडावासीलाई प्रेरित गर्ने गरेको छु ।” लामिछानेले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आउनुभएको छ । उहाँ गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड (भिडियो एक्सले मेसिन) सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ । लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने नेपालीले सङ्कलन गरेको सहयोगले युकेमै खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन (भिडियो एक्सरे) धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई सहयोग गरिएको हो । गाउँमै गर्भवती महिलाको स्वास्थ्यपरीक्षणका लागि निकै उपयोगी मानिएको भिडियो एक्सले मेसिन धम्जा सामुदायिक स्वास्थ्य एकाईलाई सहयोग प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाइका अनमी कृष्णमाया पुनले जानकारी दिनुभयो । दुर्गम गाउँमा भिडियो एक्सरे सेवाले गाँउका महिला अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि सहयोग गरिएको सहयोगकर्ता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । भिडियो एक्सरे सञ्चालनका लागि काठेखोला गाउँपालिकामा एक जना जनशक्तिको माग गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले जानकारी दिनुभयो । “यहाँका जनताको माग अनुसार अत्यन्त आवश्यक उपकरण प्राप्त भएको छ, यसको सञ्चालनका लागि जनशक्तिको व्यवस्थापनका लागि पालिकासँग कुरा भइरहेको छ”, अध्यक्ष बिकले भन्नुभयो, “यहाँका गर्भवती महिला भिडियो एक्सले गर्नकै लागि बागलुङ बजार पुग्नुपर्ने बाध्यता हटेको छ ।” स्वास्थ्य एकाइका अनमी पुनले भिडियो एक्सरेका लागि तालिम प्राप्त गर्नुभएकाले हाललाई भिडियो एक्सरे सेवा सुरु गरेपनि पुनसँगै एक कार्यालय सहयोगीको भरमा चलेको इकाइलाई जनशक्तिको भने अभाव रहेको छ ।
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहाँले बताउनुभयो । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ । कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ । कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ । कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ । यस दिन साइत खोज्नेले बिहान ११:३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।
‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ । कोभिड–१९ को महामारीअघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा विसं २०७६ चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि सङ्क्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसाय यस वर्षको सुरुआतदेखि नै सुधार हुँदै आएकामा गत असोजको पहिलो सातादेखि पुनः पुरानै लयमा फर्किएको हो । मौसम सुरु भएसँगै यतिबेला सदरमुकाम बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । बेनीबजारमा अहिले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो र महिला भलिबल खेल भइरहेको छ । खेल हेर्न विभिन्न जिल्लाबाट दैनिक दुई हजार बढी दर्शक बेनी बजारमा आउने गरेका छन् । म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् । विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजारमा तत्कालीन समयमा भोट, तिब्बत र मधेसको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रूपमा बेनी बजार रहेको छ । पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धवलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा तीन वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् । कोभिड–१९ को त्रासका कारण पर्यटक आउन सक्ने वातावरण नभएपछि सुनसान बनेका पर्यटकीयस्थलमा असोज सुरु भएपछि पर्यटकको भीड लाग्न थालेको छ । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतिक्षा गरिरहेका छन् । विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रूप लिएपछि व्यापार व्यवस्थित गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपबम मल्ल ९डिम्ब मल्ल० गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिङ्गा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उहाँले जानकारी दिनुभयो । पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । गोरखाले बेनी कब्जामात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो । उहाँका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारिबेनी थियो । बाग्लुङ मुस्ताङतिरको थोक बजार पारिबेनी नै थियो । बेनीमा स्कुल पाठशाला नखुल्दै पारि बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयो । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उहाँको भनाइ रहेको छ । अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररूपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ । पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटल र यातायात क्षेत्रमा यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् । बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १४।४५ जनघनत्व रहेको बेनी बजारमा विसं २०६८ को जनगणनाको तथ्याङ्कानुसार दुई हजार घरधुरी र सात हजार जनसङ्ख्या रहेको छ ।
नवलपरासी: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट रु ९० लाखको अवैध चिनी बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले आज बिहान प्रतापपुर गाउँपालिका–२ बाट ना६ख २१९७ नंको ट्रकमा रहेको ४२० बेरा (२१ हजार केजी) र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु१ख ९८७१ नंको ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्रीले राससलाई जानकारी दिनुभयो । बरामद चिनीको प्रारम्भिक मूल्य रु ९० लाख अनुमान गरिएको उहाँले बताउनुभयो । चिनीसँगैै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको उहाँले बताउनुभयो ।