पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

गलेश्वरः   मौलिक कला र संस्कृतिले नेपालीको मनलाई कसरी आकर्षित गर्न सक्दोरहेछ भन्ने कुराको उदाहरण ‘थाली नाच’ बनेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला थाली नाँचको उद्गम थलो हो ।    हिरामाया पुन श्रीसले पाँच दशकअघि सो नाचको सुरुआत गर्नुभएको थियो । गीतको लय र शब्दसँगै हातमा थाल राखेर गरिने थाली नृत्य स्वदेशमा मात्र सीमित नभई सात समुन्द्रपारी प्रवाससम्म पुगेको छ । हातमा थाल राखेर हत्केलाले घुमाइघुमाइ नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ ।     सावधानीपूर्वक गरिने नृत्य मौलिक, आकर्षक र संयमित हुने भएकाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नृत्यसम्बन्धी गीत पनि ‘रेकर्ड’ भएकाले यसको लोकप्रियता अझै बढेको लोक कलाकार धनकुमारी थापाले बताउनुभयो । देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलनमा मात्र नभएर विदेशमा समेत थाली नाच देखाउने गरिएको कलाकार थापाको भनाइ रहेको छ ।   विसं २०२८ मा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । विसं २०४४ मा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रदर्शन गरेपछि थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाँच’ नामकरण गरिएको म्याग्दीका पुराना लोक गाएक प्रकाश श्रेष्ठले बताउनुभयो ।        हिरामाया पुन र धनकुमारी थापासहितको चार जनाको टोलीले विसं २०४२ मा वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेका थिए । विसं २०३५ मा शान्ति पुन र धनकुमारी थापाले थाली नाचसम्बन्धी गीत रेकर्ड गराउनुभएको थियो । उक्त गीतको विसं २०७३ मा म्युजिक भिडियो छायाँकन गरिएको छ ।   चिमखोलामा थालीनाचसँगै जुरेचल्ला, शर्माजाले, कलश जुधाउने, टोपा नाच, भूमे खुसी बनाउन कालोमोसो लगाउने जस्ता मौलिक संस्कृति रहेका छन् । यी चिमखोलाका मौलिक संस्कृति अहिले म्याग्दीमा मात्रै होइन संसारभरिका नेपालीका लागि आकर्षक बन्दै गएका चिमखोलाका धु्रवकुमार पाइजाले बताउनुभयो ।   पाइजाका अनुसार अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायतका देशमा रहेका नेपालीहरूले विशेष अवसर वा फुर्सदको समयमा थाली नाचको आयोजना गर्ने गरेका छन् । मनोरञ्जनका लागि मात्रै नभएर लोकसंस्कृतिको संरक्षणका लागि पनि विदेशमा रहेका नेपालीले चासो देखाएका पाइजाले बताउनुभयो । 

नवलपरासी:  (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो कावासोती : मेरो गौरव’ लागू गरेको हो ।   विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेको नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयारी गरी लागू गरिएको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । “स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनिबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि आदर सत्कारलगायतका विषयवस्तु समेटेका छौँ”, नगरप्रमुख भुसालले भन्नुभयो ।   उहाँले पाठ्यक्रममा समग्र कावासोतीभित्रको आर्थिक, सामाजिक, भौतिक तथा शासकीय पक्ष, वनवातावरण, आचरण, बानीव्यहोरा, जनसाङ्ख्यिक अवस्थाका बारेमा जानकारी दिएको बताउनुभयो । विद्यार्थीलाई कक्षा कोठाभित्र पढाएर मात्रै नहुने भएकाले व्यवहारिक सिकाइ प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले स्थलगत सिकाइलाई स्थानीय पाठ्यक्रममा अनिवार्य गरिएको नगरप्रमुख भुसालले बताउनुभयो ।   कावासोतीका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान प्रदान गर्ने र अनिवार्य सीप सिकाउने गरी स्थानीय पाठ्यक्रमका विषयवस्तु तयार पारिएको बताउनुभयो । “हामीले तयार पारेको स्थानीय पाठ्यक्रमको अध्ययन–अध्यापन नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सुरु भइसकेको छ”, शिक्षा अधिकारी भण्डारीले भन्नुभयो, “नगरभित्रका केही विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित हुँदै व्यवहारिक ज्ञान प्रदान गर्न स्थलगत सिकाइका लागि विद्यार्थीलाई जोड्न सुरु गरिसकेका छन् ।” यहाँका विद्यालयले व्यवहारिक सिकाइअन्तर्गत नगरपालिका कार्यालय, यहाँका धार्मिक र पर्यटकीयस्थल, प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदामा अवलोकन भ्रमण गराइसकेका भण्डारीले बताउनुभयो ।   कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमअनुसार अहिले नगरका विभिन्न विद्यालयले स्थलगत सिकाइमा विद्यार्थीलाई संलग्न गराउने सिलसिला बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही विद्यालयले नगरपालिका कार्यालय, केहीले पर्यटकीयस्थल, सार्वजनिकस्थल तथा सामाजिक सङ्घ संस्था, धार्मिकस्थल, स्वास्थ्य संस्थामा स्थलगत अध्ययन तथा अवलोकन गराएर स्थानीय पाठ्यक्रममा समावेश व्यवहारिक ज्ञान प्रदान गर्ने विषयलाई सार्थकता दिँदै छन् ।”   नगरपालिकाले कक्षा ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेको हो । पाठ्यक्रम लागू भइसकेपछि आगामी दिनमा व्यवहारिक सिकाइको सिलसिला नियमितरूपमा नै सञ्चालन हुने पाण्डेले बताउनुभयो । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रममा आधारित हुँदै स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्य गरिहेको पाण्डेको भनाइ छ । यसै शैक्षिकसत्रभित्र कक्षा ३ सम्मको स्थानीय पाठ्यपुस्तक लेखनकार्य सम्पन्न गर्ने गरी काम भइरहेको पाण्डेले बताउनुभयो ।

काठमाडौंः   प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सचेत गराएको हो । “स्थिर समय सुरु हुनुभन्दाअघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डा÷व्यानर, श्रव्यदृश्यलगायत सामग्री समेटी सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुनेहुँदा त्यस्तो कार्य नगर्न÷नगराउनहुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ”, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहितामा मतदान हुनु अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा ‘टक सो’, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन/प्रसारण/सम्प्रेषण गर्न नपाइने व्यवस्था छ ।  कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सोअघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढङ्गबाट अनुगमन गरिरहेको जनाएको छ । “स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिनेछ”, विज्ञप्तिमा भनिएको छ ।  निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कन/वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिने काउन्सिलले जनाएको छ । काउन्सिलले आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा विशेष अपिल गरेको छ ।

बागलुङ:  सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि नसकिँदै सम्पन्न भएको बताएको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघिनै सम्पन्न भएको बताएको छ।  मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा छ महिना अगाडि सम्पन्न भएको हो ।  चालु आर्थिक वर्ष सडक स्तरोन्नति गर्ने मुस्ताङ खण्डको करिब ६ किमी सडक ६ महिनामै सम्पन्न भएको हो । गत चैत २७ गते सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो ।  सडक निर्माण सम्पन्न गर्ने मिति २०८० को असोज ३० सम्म थियो । तर जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको हो । चार करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्याङ्कनसमेत भइसकेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले बताउनुभयो ।  सडकमा एक लाख ८७ हजार घनमिटर माटो खन्ने, तीन हजार पाँच सय घनमिटर ग्याबीन पर्खाल लगाउने तथा खाल्डाखुल्टी सम्याएर ग्राभेल विच्छाउने समेतको काम थियो ।  ठेकेदारका प्रतिनिधि जीवन रोकायले चिसो मौसममा काम गर्न नसकिने भएकाले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको बताउनुभयो ।  “उहाँको काम निकै प्रभावकारी रहेछ, समय अगाडि सक्नुभयो” लेखा अधिकृत रामनाथ शर्माले भन्नुभयो, “उहाँलाई डिभिजनले सम्मान गर्नेछ । वर्षौँदेखि काम अलपत्र भएको गुनासो आउने बेलामा उहाँले गरेको काम उदाहरणीय भएको बताउनुभयो ।” डिभिजनले मुस्ताङ जिल्ला पनि हेर्छ । यो करिडोरको मनाङदेखिकै खण्ड हेरिरहेको मल्लले जानकारी गराउनुभयो ।  पाँच वर्षदेखि निर्माण सुरु भएको यो सडक खण्डमा ११ मिटर चौडा पार्ने काम पनि भएको छ । यो सडक अधिकांश खण्ड चार हजार मिटरभन्दा माथि पर्ने र मङ्सिर लागेपछि यहाँ हिमपात हुन्छ ।  “हिमपातका कारण काम गर्न कठिन हुन्छ । चैतसम्म हिउँ रहने र निर्माण उपकरण सोही स्थानमा राख्नुपर्दा खिया लाग्ने, इञ्जिन बिग्रने भएपछि समयमा काम सकेर उपकरण तल्लो खण्डमा झारिएको हो”, रोकायाले भन्नुभयो ।

काठमाडौँ:  नेपालको पहिलो बैंक कुन होला? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन् नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकभन्दा पनि जेठो यस बैंकले अनेकन घुम्ती, मोड र सुखदुःख व्यहोरेको छ । बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ ।  सो बैंकका वित्तीय विवरणले पनि अब सबल संस्थाका रुपमा नेपाल बैंक आफ्नो गन्तव्यमा स्पष्ट छ भन्ने सन्देश दिएको छ । विसं १९९४ देखि २०१३ सम्म देशको केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको गौरवपूर्ण इतिहास समेत बोकेको छ ।  नेपाली बजारमा भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन् ।  विसं १९९४ कात्तिक ३० गते सोमबार लक्ष्मीपूजाका दिन स्थापना भएको सो बैंक आजदेखि ८६ वर्षमा प्रवेश गरेको छ । नेपालको समग्र आर्थिक एवं वित्तीय क्षेत्रको एउटा ऐनाका रुपमा रहेको बैंकले विगतमा अनेकन आरोह अवरोह भोगेको छ ।  बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गर्नुभएको थियो । विश्वव्यापी रुपमा बैंकिङको अभ्यास धेरै पहिले भए पनि नेपालमा भने २०औँं शताब्दि कुर्नुपरे पनि नेपालको नामसँगै जोडिएको यो बैंक सार्वजनिक निजी साझेदारीमा ढाँचामा सुरु भएको पहिलो वित्तीय संस्था हो ।  स्थापना गर्दा बैंकमा १० जना लगानीकर्ता थिए । सुरुवाती वर्षमा रु आठ लाख ४२ हजार चुक्तापूँजी र रु १७ लाख निक्षेपबाट सुरु भएको बैंकले गत असोज मसान्तसम्म रु एक खर्ब ९७ अर्ब बराबर निक्षेप सङ्कलन गरेको छ । त्यस्तै रु एक खर्ब ७३ अर्ब ५४ करोड बराबरको कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो ।  छयासी वर्ष पहिले सुुरु भएको सो बैंकको चुक्ता पूँजी हाल रु १४ अर्ब ४० करोड बराबर छ । हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैंकको जगेडा कोषमा रु २१ अर्ब ६८ करोड बराबरको रकम छ । कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ । प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्नुहुन्छ, “हामी अस्तीभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील छौँ ।” बालक, बृद्ध, प्रौढ हुँदै ज्येष्ठ नागरिकको रोजाइमा रहेको भन्ने दाबी गर्ने बैंकमा हाल २३ लाख बढी ग्राहक जोडिएका छन् । एकाध वर्ष पहिलेसम्म पनि निजी क्षेत्रका अन्य बैंकले अत्याधुनिक प्रविधिको सुरु गर्दासमेत सो बैंक परम्परागत  रुपमा नै ढ्डामा नै आधारित थियो । समय बदलियो, बैंकको नेतृत्व बदलियो, सोच र योजनामा पनि परिवर्तन आयो । फलस्वरुप नेपाल बैंकले पनि आधुनिक बैंकिङ प्रणाली अवलम्बन गर्यो । बैंकिङ क्षेत्रमा उपलब्ध सबै प्रकारका सेवा उपलब्ध गराइरहेको सो बैंकले डिजिटल बैंकिङ सेवा पनि प्रदान गरेको छ । कूल दुई सय २६ शाखामार्फत् कारोबार गर्दै आएको सो बैंकको एक सय १९ एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।  आधुनिक प्रविधिसँगै बैंकमा युवा पुस्ताको प्रवेशले बैंकलाई गतिशील व्यवहारिक र प्रविधिमा पनि उत्तिकै निपूर्ण बनाएको बैंकका सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीको भनाइ छ । बैंकमा कार्यरत जनशक्तिको औसत उमेर ३६ वर्ष छ भने राज्य अङ्गालेको समावेशीतालाई पनि उत्तिकै आत्मसात गरेको छ ।  कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथकिता प्राप्त क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको छ । युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैंकले अन्य संस्थाको तुलनामा महत्वपूर्ण योदना दिएको छ ।  अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमार्फत् व्यवस्थित गरी नेपालमा बैंकिङ संस्कृतिको सुरुवात गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो आर्थिक आर्थिक विकास र समृद्धिका लागि सरकारले लिएको लक्ष्य र योजनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

काठमाडौं: भुटान सरकारले निर्वासित गरेका एक नेपाली भाषी सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो  वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व  क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ ।  क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरेर सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उहाँलाई निर्वासित गर्यो भन्ने रहस्य क्याप्टेन सुब्बा र उहाँका परिवारजनले यस वृत्तचित्रमार्फत् खोतलेका छन् । ‘फ्याम्ली प्रोडक्शन’ को निर्माणमा तयार पारिएको यो वृत्तचित्र नेपाली भाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहने जोकोहीले एक पटक हेर्नुपर्ने किसिमको छ ।  बिएम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवं सञ्चारकर्मी रविन शर्माको प्रस्तुति रहेको छ । कमल राईको छायाङ्कन र सम्पादन रहेको वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो । ‘असल टिभी नामक युट्युब’ च्यानलमार्फत् वृत्तचित्र सार्वजनिक गरिएको छ । वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा सार्वजनिक गरिएको जनाइएको छ ।

भोजपुर:   भोजपुरको पौवा दुम्वानमा गाउँपालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।   जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको हाे ।   बम विस्फोट हुँदा भोजपुरको अरूण गाउपालिका वडा नं ४ का सुमन श्रेष्ठ घाईते भएकाे बताइएकाे छ ।  उनको खुट्टामा चोट लागेको छ ।​ यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।   साे सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी थियाे । 

  काठमाडौँ:  नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिनुभएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुँदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्नुहुन्छ । उहाँको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समातेर नयाँबानेश्वर चोकमा ट्राफिक व्यवस्थापन गर्न र नजिकै रहेको आकासे पुल चढ्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सघाउने गर्दा बित्ने गरेको छ । दोलखा स्थायी घरभएकी भुजेल श्रीमान्सँग काठमाडौँ बस्दै आउनुभएको छ । तीन सन्तानको शिक्षाका लागि आफू दोलखाबाट काठमाडौँ आएर बसेको उहाँ बताउनुहुन्छ । “श्रीमान्को आम्दानीले मात्र पुग्दैन । बेरोजगार बस्न मन लाग्दैन तर काम पाउन सीप छैन”, उहाँले भन्नुभयो, म्यादी प्रहरीको भर्ना खुल्यो, बालबच्चा हेरचाहको जिम्मा श्रीमान्लाई सुम्पेर म्यादीको काममा आउने गरेकी छु ।” अहिले छोटो समयका लागि भए पनि म्यादी प्रहरीको रोजगारीबाट पाउने पारिश्रमिकले सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । “घरमा यतिकै बस्नुभन्दा यहाँ काममा खटिँदा रमाइलो पनि हुने र आम्दानी पनि हुने यसैमा खुसी छु”, उहाँले भन्नुभयो । म्यादी प्रहरीका रुपमा सडकमा रहँदा कतिपयले आफूहरुको अनुरोधलाई बेवास्ता गर्दा असहज लाग्ने गरेको उहाँ बताउनुहुन्छ । मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ । सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भन्नुहुन्छ, “निर्वाचनपछि त्यही पुरानो दैनिकीमा फर्किन्छु ।” नयाँबानेश्वरको व्यस्त चोकमा सडक पार गर्न आकासे पुल छ । तर कतिपय पैदलयात्रु गुडिरहेका सवारीको भीडमै सडक वारपार गर्छन् । नीलो पोसाकमा लट्ठी हातमा लिएर डिउटीमा खटिएका म्यादी प्रहरीको समूहले सिठ्ठी फुक्छन् । तर पनि पैदल यात्रु उनीहरुले फुकेको सिठ्ठीको आवाजलाई कुनै वास्तै गर्दैनन् ।   “हामी म्यादी प्रहरीलाई पैदल यात्री र सवारी चालकले पनि अटेर गर्छन् । हामीले भन्दा उहाँहरु (पैदलयात्रु र सवारी चालक) हाँस्नु हुन्छ, मान्नु हुन्न”, २१ वर्षिय म्यादी प्रहरी शङ्कर बोहराले आफ्नो काम गर्दाको अनुभव सुनाउँदै भन्नु्भयो । नयाँबानेश्वर चोकमा खटिनुभएका अर्का म्यादी प्रहरी मनोज कुँवरले सँगैको साथी बोहराको भनाइमा सहमति जनाउँदै थप्नुभयो, “कतिले त म्यादी भनेर गिज्याउनु हुन्छ ।” उहाँहरु दुवैजना बैतडीका स्थानीय बासिन्दा हुनुहुन्छ । काठमान्डौँ बसेर अध्ययनरत दुवै विद्यार्थी हुनुहुन्छ । अध्ययनका र रोजगारीका सिलसिलामा काठमाडौँ छिरेका दुवैजना सँगै डेरामा बस्नुहुन्छ । मनोज शिक्षण पेसाभन्दा म्यादी प्रहरीमा धेरै पारिश्रमिक पाउने भएपछि भर्ना भएको बताउनुहुन्छ । शङ्कर भने यसअघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।  मनोज र शङ्कर दुवैजना म्यादी प्रहरीको जिम्मेवारी सकिएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाएको बताउनुहुन्छ । “नेपाल प्रहरीमा भर्ती हुने इच्छाले म्यादीसम्म डोर्यायो । तर अब प्रहरीमा भर्ती हुन उमेरले नमिल्ने भएकाले विदेश जाने सोचमा छु,” शङ्करले भन्नुभयो । काठमाडौँको सामान्य घर भाडा तिर्नसमेत धौ धौ हुने भएकाले निर्वाचनलगत्तै जुन देश जाँदा कम लगानी लाग्छ त्यहीँ जाने सोचमा रहेको मनोजले बताउनुभयो ।  काठमाडौँमा नियमित खटाइएका ट्राफिक प्रहरी निर्वाचनका कारण बाह्य जिल्लामा थप मद्दतका लागि पठाइएका अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनको समेत सहयोगका लागि परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताउनुभयो । अहिले काठमाडौँमा करिब चार सय ट्राफिक प्रहरी खटिएका र बाँकी म्यादी प्रहरीहरुको सहयोगमा सवारी व्यवस्थापनको काम भइरहेको उहाँले बताउनुभयो  ।  देशभर निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार म्यादी प्रहरी खटिइएका छन् । ८४ हजार तीन सय ६८ पुरुष छन् भने ३० हजार ६ सय ३२ महिला रहेका छन् । काठमाडौँमा अहिले तीन हजार दुई सय ७८ म्यादी प्रहरी छन् । आवश्यतानुसार मतदानस्थल, मोबाइल र रिजर्भमा समेत परिचालन गरिनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्ररुपमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान संयुक्त रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरीअन्तर्गत म्यादी प्रहरीको परिचालन गरिएको हो । म्यादी प्रहरीहरु मतदानस्थलको सुरक्षा, मतदान बक्सको सुरक्षा र नेपाल प्रहरीले गर्ने दैनिक कार्य गस्ती, निगरानी, सूचना सङ्कलन, घटनास्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा खटिरहेका छन ।  म्यादी प्रहरीलाई नेपाल प्रहरी जवानसरह आधारभूत तलब मासिक रु २२ हजार ६ सय ८० हुनेछ । बढीमा ४० दिनसम्मका लागि जम्मा रु ३० हजार दुई सय ४० हुनेछ । साथमा खाद्यान्नबापत सात हजार दुई सय र पोसाक तथा अन्य सामानका लागि रु ६ हजार सरकारले उपलब्ध गराएको छ । म्यादी प्रहरीका लागि बीमाको व्यवस्थासमेत गरिएको छ । प्रहरी प्रवक्ता राईले म्यादी प्रहरीलाई मतदानका दिन अधिकांश बुथमा खटाइने बताउनुभयो । प्रहरी जवानमा भर्ना खुल्दा नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना भएको अनुभवलाई प्राथमिकतामा राख्ने गरेको छ ।

  भक्तपुर:  मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् ।  आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।       आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उहाँले जानकारी दिनुभयो ।      बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।