पाल्पा । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गर्नुभएका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गर्नुभएको छ । “तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्री गर्न भ्याइनभ्याई छ”, उहाँले भन्नुभयो । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । यसपटक तिहारमा मात्रै करिब रु दुई लाख ५० हजार बराबरको फूल बिक्री गर्ने उहाँको अनुमान छ । प्रतिमाला रु एक सय, प्रतिकिलो फूल रु पाँच सयमा धमाधम घरबाटै बिक्री भइरहेको छ । पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यालयमा दीपावलीको शुभकामना आदान–प्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनुअघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मात्रै करिब रु एक लाख ५० हजार बराबरको फूल बिक्री गर्नुभयो भने सङ्घ र प्रदेश तहको निर्वाचनको उम्मेदवारी दर्ता, प्रचार–प्रसार तथा स्थानीयस्तरमा हुने विभिन्न कार्यक्रममा गरी दसैँयता मात्रै करिब रु ५० हजार बराबरको फूलमाला बिक्री गरेको उहाँ बताउनुहुन्छ । “फूलखेती सुरु गरेपछि मेरो पहिचान नै फेरिएको छ, पहिला घरपरिवार, आफन्तबाहेक कसैले चिन्दैनथे”, उहाँले भन्नुभयो, “करिब एक दशक विदेश बसेर गाउँ फर्केरलगत्तै फूलखेती गरेपछि सबैले राम्रोसँग चिन्नुहुन्छ, समाजमा नाम र दाम दुवै पाएपछि धेरै सन्तुष्टि छु ।” फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । दिलबहादुरलाई यस व्यवसायमा श्रीमती सुकमाया थापाले सघाउँदै आउनुभएको छ । घर अगाडिको खेतभरि पहेँलै फुलेका फूलको दृश्यले घरको वातावरणमा सौन्दर्यता थपेको बताउनुहुन्छ, सुकमाया थापा । गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ । हाइब्रिड जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फुल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री खेतीका अलवा लोपोन्मुख मखमली फूलको खेती गर्ने दिलबहादुरले योजना बनाउनुभएको छ । यसै वर्ष मखमली लगाउने सोच बनाए पनि बीउ समयमा उपलब्ध नहुँदा सयपत्रीमात्रै लगाउनुभएको छ । यहाँ ढकमक्क फुलेका फूलले सबैको मन लोभ्याएको छ । टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिकादेखि युवायुवती, वयस्क उमेरसम्मका पुग्ने गर्दछन् । गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिनुभएको छ । सो तालिमले व्यवसायमा धेरै सहज भएको उहाँले बताउनुभयो । फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान, सीप पाएपछि नयाँ ढङ्गबाट खेती गर्नुभएको छ । करिब पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ ।
नुवाकोट । नुवाकोट र रसुवाका पशुचौपाय तथा पंक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो । त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख (पशु विकास अधिकृत) भरत पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार तथ्याङ्क सङ्कलनका लागि आवश्यक तालिम र सामग्री दिएर तोकिएको मापदण्डअनुसार विवरण लिन गाउँ तथा नगरपालिका तोकेर पशु सेवा प्राविधिकलाई खटाइएको छ । “राज्य पुनःसंरचनापछि प्रदेश सरकार स्थापना भएसँगै रुपान्तरित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग जिल्लामा रहेका पशुचौपायको विवरण नभएकाले लगत सङ्कलन गर्न लागिएको हो ।” उहाँले भन्नुभयो, “अभियानमार्फत दुई जिल्लाको पालिकागतरूपमा घरपालुवा पशुचौपाय र पक्षीको सङ्ख्या, जात, उमेर, लगानीसहितको विवरण खोज्न लागिएको छ ।” साविक जिल्ला पशु सेवा कार्यालयले हरेक आर्थिक वर्षमा पशुचौपाय तथा पक्षीको लगत सङ्कलन र अद्यावधिक गर्ने गरेको थियो । प्रदेश सरकारको स्थापनापछि पहिलोपटक तथ्याङ्क सङ्कलन गर्न लागिएकाले यथार्थ विवरण सङ्कलन गर्न खटिएका सङ्कलकलाई केन्द्र प्रमुख पाण्डेले निर्देशन दिनुभयो । उहाँका अनुसार सङ्कलन गर्न लागेको विवरणबाट नुवाकोट र रसुवामा पालन गरिएका पशुचौपाय तथा पक्षीसँग सम्बन्धित योजना तर्जुमा गर्न, रोग फैलिएमा नियन्त्रण गर्न, पकेट क्षेत्र घोषणा गर्न, व्यावसायिक पशुपालनको वस्तुस्थितिसहित त्यसमा किसानको लगानी के– कति रहेको छ त्यो समेत थाहा पाउन सकिने प्रश्नावली र अनुसूची समावेश गरिएको छ । आजदेखि कार्यक्षेत्रमा पठाइएका तथ्याङ्क सङ्कलक पशु सेवा प्राविधिकलाई आगामी मङ्सिर १५ भित्र लगतको विवरण विज्ञ केन्द्रमा बुझाउन समयसीमा तोकिएको छ ।
कैलाली । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उहाँको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् । उहाँहरू पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । “हामी हरेक वर्ष तिहारमा रोटी पकाउँछौँ, सबै जना मिलेर पालैपालो पकाउँछौँ, यसरी पकाउँदा सजिलो र रमाइलो हुन्छ”, जैसीले भन्नुभयो, “तिहारमा देउसीभैलो खेल्नेलाई खानेकुरा दिन, भाइलाई कोसेली दिन र छिमेकीलाई बाँड्नका लागि पनि धेरै रोटी पकाउनुपर्छ”, उहाँले भन्नुभयो, “एउटै घरमा पाँच किलोदेखि १० किलोसम्म पिठोको प्रयोग हुन्छ । अन्य मीठाइका परिकार पनि बन्छन् ।” तिहारमा धेरैजसो नेपालीका घरमा सेल रोटी, फिनी रोटी, अनरसा अनिवार्य नै पाक्छ । यसबाहेकका अन्य मीठाइ र रोटीका परिकार पनि तिहारमा पकाउने गरिन्छ । लम्कीचुहाकी झरना विक र उहाँका छिमेकी पनि तिहारको रोटी पकाउन जुटेका छन् । उनीहरूले पनि पालैपाले पकाउन थालेका छन् । “तीन घरमा पकाएर सक्यौँ, अब तीन जनाको घरमा पकाउन बाँकी छ”, उहाँले भन्नुभयो, “मैले पनि पाँच किलो मैदा किनेकी छु । विभिन्न किसिमका गुलिया र चिल्ला रोटी बनाउने गरिन्छ । तिहारलाई रोटीको पर्व भनेर चिन्छौँ ।” यसरी हुनेखानेले तिहार तथा पर्वमा खर्च गर्दा नहुनेलाई भने पीडा हुन्छ । टीकापुरको एकतानगर शिविरकी रुपा विकलाई भने सबैले तिहारमा चहलपहल गर्दा पीडा हुन्छ । “छिमेकीहरू रोटी पकाउन थाले, किनमेल गर्छन्, मानिसको आउजाउ बढेको छ”, उहाँले भन्नुभयो, “हामीलाई छाक टार्नै मुस्किल छ । कसरी थरिथरिका रोटी पकाउने होला ? छोराछोरीले सताएका छन् ।” रुपा आर्थिक अवस्था कमजोर हुुनेका लागि चाडपर्वले निकै पीडा दिने बताउनुभयो । “छिमेकीजस्तै गर्न नसक्दा पीडा हुन्छ, बालबालिका पनि मान्दैनन्”, उहाँले भन्नुभयो, “तिहारको दिन सेलरोटी पकाएर केटाकेटीको तिहार मनाइदिने योजना छ । थरिथरिका रोटी पकाउन त रकम छैन ।” जोशीपुरकी झुमा शर्मा पनि तिहार नजिकिएपछि व्यस्त हुनुहुन्छ । हरेक वर्ष तिहारमा भाइलाई टीका लगाउन माइत जाने तयारीमा रहेकी झुमा किनमेल र विभिन्न थरिका रोटी पकाउन व्यस्त हुनुहुन्छ । “चार दाजुभाइ छन्, सधैँ माइतीमै टीका लगाउने गर्छौँ, चार भाइका लागि चार पोका कोसेली तयार गर्दैछु”, उहाँले भन्नुभयो, “चिल्ला रोटी नपकाए कोसेली के लैजाने भन्ने समस्या हुन्छ । रोटी त पकाउनैपर्छ ।” तिहारमा खाइने रोटीमा गुलियो र चिल्लोको मात्रा बढी हुन्छ । तर कतिपयले तिहारलाई सरल तरिकाले समेत मनाउन थालेका छन् । टीकापुरकै सरिता साउद भने सामान्य तवरले तिहार मनाउनुहुन्छ । “तिहारमा अनावश्यक चिल्ला रोटी पकाउँदैनौँ, तिहारमा आवश्यक मसला भाइलाई कोसेलीका रूपमा दिन्छौँ, कोसेलीमा काजु, बदाम, नरिवल, फलफूल दिइन्छ”, उहाँले भन्नुभयो, “देउसीभैलो खेल्नेलाई पनि फलफूल प्रसादका रूपमा दिने गर्दछौँ, पाके पनि सेलरोटीसम्म पाक्छ । नभए चिल्ला र गुलिया रोटी प्रयोग घटाएका छौँ ।” यसरी चिल्ला र गुलिया खानेकुराले मधुमेह, उच्च रक्तचापलगायतका समस्या भएकाले गुलियो र चिल्लो खानेकुरा नखाएकै राम्रो हुने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा सम्वाद खरेल गुलियोले शरीरमा ग्लुकोजको मात्रा बढाउने, चिल्लोले ग्याष्ट्रिकको समस्या निम्त्याउने भएकाले यस्ता खानेकुरा कम प्रयोग गर्न सल्लाह दिनुहुन्छ । “हरेक चाडपर्वमा बढी खानेकुरा खाइन्छ, यसले मानिसको स्वास्थ्यमा असर पार्छ”, उहाँले भन्नुभयो, “खानपानमा ध्यान दिनुपर्छ । चाडपर्वमा धेरै चिल्ला र गुलिया खानेकुरा कम बनाउने, कम खाने, खाइहालेमा पनि फलफूल र सागपात पनि खाने गर्नुपर्छ ।”
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदी प्रवाही प्रकृतिको हो । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको ‘हब’ का रुपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्रणालीमा बिजुलीसमेत जोडिसकेका छन् । आयोजनाले सुख्खायाममा दुई सय ९५ र वर्षायाममा छ सय ८८ गिगावाट घण्टा गरी वार्षिक रुपमा कूल नौ सय ८४ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । दूधकोसी नदी किनारै किनार भएर आयोजना स्थलको पहुँचमार्ग निर्माण हुनेछ । मुख्य संरचना ‘डाइभर्सन वेयर’, ‘अन्डरस्लुइस’, ‘ग्राभेल ट्र्याप’, ‘सेटलिङ’, ‘बेसिन’, ‘हेडरेस पाइप’, ‘हेडरेस टनेल’, ‘सर्ज ट्याङ्क’ र ‘अडिट टनेल’ जस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । सोलुखुम्बुको पासाङल्हमु गाँउपालिका ३ मा निर्माण हुने सो आयोजनाको ‘नेट हेड’ तीन सय ६७ मिटर रहेको छ । आयोजनाको विद्युत् गृह भूमिगत रहनेछ । तीन वटा ‘फ्रान्सिस टर्बाइन’ रहने आयोजनाबाट उत्पादित बिजुली दुई सय २० केभी क्षमताको ६३ किलोमिटर लामो प्रसारणलाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सवस्टेशनमा जोडिनेछ । आयोजनाको कूल लागत रु ३० अर्ब ८० करोड बराबर रहनेछ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको उक्त प्रतिवेदन सार्वजनिक गर्दै सम्बन्धित निकाय वा प्रभावित क्षेत्रका बासिन्दालाई राय सुझाव दिन आग्रह गरेको छ । आयोजनाले कूल आठ दशमबल तीन हेक्टर जग्गा प्राप्त गर्नुपर्नेछ । आयोजनाको निर्माण अवधिमा पाँच सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । जैविक वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाले रु १३ करोड ७५ लाख २९ हजार बराबरको रकम छुट्याएको छ ।
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना अघि सारेको छ । कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले तिहार तथा छठ पर्वमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्नका लागि विशेष रणनीति तयार पारेको बताए । ‘चाडपर्व तथा निर्वाचनको सरगर्मी बढेकाले कुनै पनि अप्रिय घटना हुन नदिन हामीले विशेष योजना बनाएका छौ, सुनगाभा न्यूजसँग भने, ‘संभावित घटना हुन नदिन सादा पोसाकका प्रहरीदेखि गस्तीलाई बाक्लो बनाएका छौं ।’ डिएसपी तिवारीले पर्वको समयमा आपराधिक क्रियाकलापमा संलग्न हुदै आएका व्यक्तिहरुलाई विशेष निगरानीमा राखेको बताए । ‘नेपालीहरुको चाडपर्वसँगै निर्वाचनको मिति नजिकिएको छ । चाडपर्व तथा निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन सादा पोसाकका प्रहरी परिचालन, गस्ती बाक्लो बनाएका छौ, उनले भने, ‘यस्तो समयमा बहुमूल्य पसल तथा वित्तिय सेवा क्षेत्रमा हुने चोरी डकैटी हुन सक्ने कुरालाई मध्यनजर गरेर त्यसतर्फ विशेष टोली परिचालन नै गरेका छौं ।’ चाडपर्वहरुमा ठुला सुनचाँदी पसलमा जनताले बहुमूल्यको गहना किनबेच गर्ने भएकाले त्यहाँ चोरी डकैटी हुन सक्ने भएकाले त्यसलाई रोक्न सादा पोसाकदेखि निरन्तर गस्तीलाई तिव्रता दिइएको हो । कास्कीमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा पटका, आतिजबाजी झिरझिरे, भुइचम्पा जस्ता विष्फोटकजन्य पदार्थको प्रयोग कानून विपरित रहेकाले प्रयोग गर्न नहुने बताए । ‘पर्वको बहानामा पटका लगायत विष्फोटकजन्य पदार्थको प्रयोग तथाओसारपोसार र विक्रीवितरण कानून विपरित हो, उनले भने, ‘त्यसैले त्यस्तो क्रियाकलापमा संलग्न भए कानून अनुसार कारवाही गर्छौ ।’ देउसी भैलो राति ९ बजेपछि खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय कास्कीले राति ९ बजेपछि देउसी भैलो खेल्न नपाउने बताएको छ । जिल्ला प्रकाशन कार्यालय कास्कीका सूचना अधिकारी गुरुदत्त ढकालले कास्कीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिए । ‘जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै हामीले देउसी, भैलो, नाचगान जस्ता कार्यहरु राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेर सुचना जारी गरेका छौं, उनले भने ‘आगामी चुनाव तथा शान्ति सुरक्षालाई मध्यनजर गरेर राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हौ ।’ देउसी भैलोको नाममा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको । गतवर्ष भने राती १० बजेसम्म देउसी भैलो खेल्न अनुमति दिइएको थियो ।
चितवन । राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहनुभएन । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागिपर्नुभएकी श्रेष्ठ सबैका लागि श्रेय र प्रिय हुनुहुन्थ्यो । राजनीतिमा निष्ठा, समाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्नुहुने उहाँ नेपाली समाजका लागि साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिनुभएको थियो । उहाँ आदर्श, त्याग र समर्पणको प्रतिमूर्तिका रूपमा चिनिनु हुन्थ्यो । श्रेष्ठको आज ९८ वर्षको उमेरमा चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ । विसं १९८५ फूलपातीका दिन तनहुँको बन्दीपुरमा बुबा वीरबहादुर श्रेष्ठ र मुमा गणेशकुमारी श्रेष्ठको कोखबाट उहाँको जन्म भएको हो । किशोरावस्थादेखि नै राणाशासनको क्रुर पञ्जाबाट देशलाई मुक्त गर्न राजनीतिमा प्रवेश गर्नुभएकी उहाँ नेपाली इतिहासको जीवन्त पात्र हुनुहुन्छ । विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरी मुलुकमा प्रजातान्त्रिक हक र हितका निम्ति अनवरत रूपमा उहाँले क्रान्ति गर्नुभयो । विसं २००७ माघ १ गतेका दिन सशस्त्र क्रान्ति गर्ने निर्णयअनुसार भएको कार्यक्रममा उहाँको भूमिका महत्त्वपूर्ण रह्यो । सो क्रान्तिमा छ जना उहाँका साथीले वीरगति प्राप्त गर्नुभएको थियो । तत्कालीन समयमा विसं २००८ मा तनहुँको बन्दीपुरमा सामाजिक नारी सङ्घ खोलेर महिलाको चेतना वृद्धि गर्दै विकासका काममा उहाँ अगाडि बढ्नुभयो । विसं २०११ मा तिरो आन्दोलन सफल बनाउन, विसं २०१२ मा प्रजातान्त्रिक ग्रामीण महिला मण्डल, २०१३ सालमा राप्ती दुन विकास विभाग वितरण समिति, सोही वर्ष नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य रहेर उहाँले योगदान दिनुभयो । उहाँको निधन हुनुअघि संवादमा बताएअनुसार विसं २०१४ मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा बन्दीपुरमा उहाँ गिरफ्तार हुनुभयो । विसं २०१५ को निर्वाचनमा पार्टीलाई विजयी गराउन उहाँको भूमिका महत्वपूर्ण रह्यो । विसं २०१७ पुस १ गते मुलुकमा स्थापित प्रजातन्त्रलाई कुठाराघात गरी पञ्चायती व्यवस्थाको निरङ्कुश शासन मुलुकमा सञ्चालन भएको अवस्थामा प्रजातन्त्रको पुनःस्थापनाका लागि उहाँ गोप्य रूपमा सङ्गठनमा लाग्नुभयो । विसं २०१७ देखि २०१९ सम्म देवघाटमा बसेर पार्टीका लागि निरन्तर काम गर्नुभयो । विसं २०३६ मा चितवन जिल्ला महिला सङ्घको अध्यक्ष भएर जनमतसङ्ग्रहमा उहाँले भाग लिनुभयो । विसं २०४२ मा सत्याग्रह सफल पार्न भूमिका निर्वाह गर्नुभएकी श्रेष्ठ विसं २०४४ मा बिपी स्मृति दिवसका दिन पक्राउ पर्नुभयो । विसं २०४६ को जनआन्दोलनमा चितवनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी उहाँ २०४८ सालमा पार्टीले टिकट दिएपछि गोरखा क्षेत्र नं २ बाट निर्वाचनमा भाग लिई प्रतिनिधिसभाको सदस्यमा विजय हुनुभएको थियो । त्यस्तै गरी २०५३ मा नेपाली कांग्रेस पार्टीको केन्द्रीय पर्यवेक्षकको नवलपरासीको संयोजक भई उहाँले पार्टीले दिएको जिम्मेबारी पूरा गर्नुभएको थियो । ‘सुश्री मैयाँदेवी श्रेष्ठ, व्यक्ति एक ः व्यक्तित्व अनेक’ पुस्तकमा लेखिएअनुसार श्रेष्ठले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय पर्यवेक्षकको रूपमा सिन्धुलीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । तनहुँ क्षेत्र नं २ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यमा उहाँ विजयी भएर काम गर्नुभयो । विसं २०५२ साउन ४ गते नेपाली कांग्रेस केन्द्रीय सङ्गठन विभागको सदस्य पदमा मनोनित हुनुभएकी उहाँ २०५८ साल असार १३ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०६२ असार १७ गते उहाँ त्रिभुवन विश्वविद्यालय सभामा मनोनित हुनुभयो । विसं २०६२÷६३ को जनआन्दोलनमा उहाँ सक्रियपूर्वक लाग्नुभयो । विसं २०६४ मा संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभयो । आफ्नो जीवनभर अरूका लागि समर्पित उहाँ दान गरेर कहिल्यैँ थाक्नु भएन । सानातिना उहाँका सहयोगको कुनै गणना नै छैन । नारायणगढस्थित बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा उहाँले दान गर्नुभयो । मैयाँदेवी कन्या कलेज चितवनलाई १२ कठ्ठा जग्गा खरिदका साथै भवन निर्माणका लागि लागेको सम्पूर्ण खर्च उहाँले नै बहन गर्नुभयो । नेपाली कांग्रेस भरतपुर वडा नं ३ लाई कार्यालय बनाउन उहाँले जग्गा उपलब्ध गराउनुभयो । उहाँले भक्त थानेश्वर महाप्रभुलाई धार्मिक मन्दिर निर्माणका लागि मैयाँदेवी मार्गमा रु एक करोड बराबरको जग्गा दान गर्नुभएको छ । उहाँले आफूलाई सहयोग गर्ने ऋषि गौतम, हरिनारायण सापकोटा, शिश्वासर बाजे ९पुरेत०, षडानन्द लामिछाने (पुरेत), सुल श्रेष्ठ, सुरला पिया, दुर्गा श्रेष्ठ, सुस्मिता श्रेष्ठ, टिना श्रेष्ठ, टङ्कनाथ पौडेल, स्वामी कैलाशानन्द सरस्वती, थानेश्वर महाप्रभु र मन्दिरा श्रेष्ठलाई भूमिदान गर्नुभयो । यसैगरी देवी कार्की, इन्दिरा (भान्से), ब्रम्हचारी नारायण फलारी बाबा, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, खिनाकुमारी श्रेष्ठ, पतञ्जली योग समिति, नेवा पुच ः नारायणगढ, विष्णुमाया श्रेष्ठ, दिव्यराज श्रेष्ठ, युनिभर्सल पिस फेडेरेसन, नेपाली कांग्रेस चितवन, नेपाल प्रेस युनियन चितवन लगायतका संस्था र व्यक्तिलाई पनि उहाँले करोडौंँ मूल्य बराबरको जग्गा दान गर्नुभएको पुस्तकमा उल्लेख छ । उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलले अहिले हिसाब गर्दा आमाले दान गरेका जमिनको मूल्य रु एक अर्ब बढी हुने बताउनुभयो । पछिल्लो समय उहाँको नाउँमा मैयाँदेवी ट्रस्ट खोलिएको छ । नारायणगढको आफ्नो घरजग्गालाई उहाँले ट्रस्टको लागि प्रयोग गर्नुभएको छ । देवघाटमा रहेको ट्रस्टका लागि जग्गा र भवनको व्यवस्था गर्नुभएको छ । जीवनभर अविवाहित रहनुभएकी श्रेष्ठले समाजसेवालाई सर्वोपरी ठानी गरेको योगदानको कदरस्वरूप विभिन्न सङ्घ संस्थाले सम्मान गरेका छन् । उहाँलाई तत्कालीन श्री ५ वीरेन्द्र वीरविक्रम शाहबाट समाजसेवा पदक, सनातन धर्म सेवा समितिमार्फत् राष्ट्रिय सम्मान, जेपी प्रतिष्ठानबाट अभिनन्दन, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिबाट कदरपत्र, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट सम्मान, तत्कालीन श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहबाट ग्रिनअनर सम्मान प्राप्त गर्नुभएको छ । यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट चन्द्राकान्ता राष्ट्रिय महिला शिक्षा सेवा पुरस्कार, नेतृत्व र सुशासनबाट छैठौं विश्व सम्मेलनको अवसरमा जापानको टोकियोमा एम्बेस्डर फर पिसबाट सम्मानित हुनुभएको छ । आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारको राशि पनि उहाँले समाजसेवामा नै खर्च गर्नुभएको छ । औपचारिक शिक्षा प्रवीणता प्रमाणपत्र तहसम्म गर्नुभएकी उहाँ २०४८ सालमा प्रतिनिधिसभा सदस्य, २०५८ सालमा राष्ट्रियसभा सदस्य र २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य हुनुभयो । नेपाली, नेवारी, हिन्दी र अङग्रेजी भाषामा दख्खल राख्नुहुने उहाँले इजरायल, भारत, बङ्गलादेश, चीन, थाइल्याण्ड, हङ्कङ्, कोरिया, अमेरिका, क्यानडा, बर्मा, इटली, पाकिस्तान, जापान, स्विट्जरल्याण्ड, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, बेलायत र कतारजस्ता देशको भ्रमण गर्नुभएको छ । स्वाध्ययन, अध्यात्म चिन्तन, सामाजिक सुधार र सद्भावका लागि राजनीति भन्ने श्रेष्ठको आफ्नो पूर्ण जीवन समाज र राजनीतिमा बित्यो । चितवनलाई मानवबस्ती बसाउन उहाँको महत्त्वपूर्ण योगदान छ ।
काठमाडौं । रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ । मादल बेचेरै दुई दशक बिताउनुभएका उहाँको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन । नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून छ । तिहारले छोपिसक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेका छन् । तर नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून भएको उहाँले बताउनुभयो । “तिहारले छोपिसक्यो, नयाँ मादल तेस्तै २५ वटा राखेको थिएँ, लगभग सबै बाँकी छ, बिक्री भएको छैन, पुरानो केही मादलमा खरी लगाउने कामबाहेक अहिले केही छैन”, व्यवसायी नेपालीले भन्नुभयो, “तिहारमा मादलको किनबेचमा ग्राहको चहलपहल छैन ।” पछिल्लो केही दिनयता दैनिक १० जतिका दरले पुराना मादलमा खरी लगाउने काम आउने गरेको उहाँको भनाइ छ । बाइस वर्षदेखि हुलाकी मादल पसल सञ्चालन गर्दै आउनुभएका उहाँका अनुसार पछिल्लो पाँच वर्षयता तिहारमा मादलको व्यापारमा कमी आउँदै गएको बताउनुभयो । त्यसअघिसम्म नयाँ मादल राम्रै बिक्री गर्दै आएको भए पनि अहिले क्रमशः व्यापारमा कमी हुँदै गएको उहाँको भनाइ छ । “पहिले तिहारमा नयाँ मादलको माग धेरै हुन्थ्यो, खरी लगाउने काम पनि भ्याइनभ्याई हुने गथ्र्यो तर केही वर्षयता घट्दै गएको छ”, उहाँले भन्नुभयो । मादलबाट पहिले राम्रै आम्दानी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी हुँदा आम्दानीसमेत घट्दै गएको उहाँले बताउनुभयो । तर वर्षौँदेखि आफूले जानेको सीप, किन खाली बस्नु भनेर यही व्यवसाय गरिरहेको नेपालीले बताउनुभयो । अहिले उहाँले नयाँ मादल आकार हेरि रु दुई हजार पाँच सयदेखि रु छ हजारसम्ममा बेच्ने गरको बताउनुभयो । यस्तै पुरानो मादल मर्मत र खरी लगाउन भने कम्तीमा रु एक हजार दुई सय लाग्ने नेपालीले बताउनुभयो । पछिल्लो समय तिहारको देउसीभैलोमा ‘डेक’ बजाउने चलन भित्रिएसँगै मादलको व्यापारमा कमी आएको उहाँले बताउनुभयो । पहिले मादल बजाएर मादलकै भरमा देउसीभैलो खेल्ने चलन भए पनि हिजोआज कलाकारका गीत ‘डेक’मा बजाएर देउसीभैलो खेल्ने गर्दा मादलको प्रयोग घट्दै गएको उहाँको भनाइ छ । “पहिले मादल नभई देउसीभैलो हुन्थेन, अहिले डेकमा गीत बजायो, नाच्यो, सजिलो भयो, त्यसैले मादल खोज्ने कम हुनथाले”, उहाँले भन्नुभयो । पहिले–पहिले देउसीभैलो खेल्ने समूह टोलटोलमा हुने र मादलकै भरमा गाउने नाच्ने चलन भए पनि हिजोआज त्यसमा कमी आएको देवचुलीका प्रेमनारायण रिमालले बताउनुभयो । भए पनि मादलको तालमा गीत गाउने, देउसी भट्याउने चलनमा कमी हुँदै गएको उहाँले बताउनुभयो । “पहिले हाम्रै टोलका दुई, तीन समूह देउसीभैलो खेल्ने हुन्थे, मादलको तालमा देउसी भट्याउने, गाउने, नाच्ने चलन थियो, अहिले गाउँघरमा यस्ता टोली हराउँदै गए”, उहाँले भन्नुभयो, “कहीँकतै समूहमा देउसी खेल्न हिँडे पनि यसो देउसी भट्याएजस्तो ग¥यो, डेकमा गीत लगायो नाच्यो, सजिलो भयो ।” डेकका गीतमा नाच्ने र देउसी खेल्ने गरे पनि पुरानो संस्कृति र देउसीभैलो खेल्दा विभिन्न विषयलाई जोडेर भट्याउने चलनलाई पनि कायम राख्नुपर्ने उहाँको भनाइ छ ।
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उहाँले भन्नुभयो, “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।” उहाँले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गर्नुभएको छ । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो”, उहाँले भन्नुभयो, “फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।” फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ । “गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । तिहारका बेला फूलको माग बढी हुने गरेको र पु¥याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ । “तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन”, श्रेष्ठले भन्नुभयो, “तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ ।” गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ । “यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ”, किसान श्रेष्ठले भन्नुभयो । उहाँले प्रतिथुङ्गा रु चारमा फूल बिक्री गर्दै आउनुभएको छ । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्दै आएको उहाँले सुनाउनुभयो । “मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचार–प्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिदिएको छ”, उहाँले भन्नुभयो । सरकारले केही दिन अगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ । सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भन्नुभयो, “विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ । नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ ।” भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिकरूपमा फूलखेती लगाएका छन् । तिहार नजिकिँदै गरेको ७० प्रतिशतमात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताउनुभयो । विकले भन्नुभयो, “बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्याउनुपर्छ ।” वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लाग्नुभएका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताउनुभयो । फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताउनुभयो । सोही ठाउँका गोविन्द अधिकारीले विगत केही वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । स्थानीयस्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या रहँदै आएको उहाँको गुनासो छ । तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या हुँदै आएको उहाँ बताउनुहुन्छ ।
पोखरा : कस्केली अधिकृत समाजले एक समारोहका बीच आज रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समसामयिक विभिन्न विषयमा स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा सरुभक्तले कविताको वास्तविक मूल्य नै शाश्वत मूल्य भएको बताउनुभयो । नेपालमा साहित्यकारहरू समाज र राष्ट्रका लागि सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ कृयाशिल बनिरहेको बताउँदै उहाँले साहित्य तथा वाङ्मयको सेवामा अधिकृतहरूले आआफ्ना तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले साहित्य आँफैंमा महत्वपूर्ण पक्ष भएको बताउँदै यसले सेवा निबृत्त जीवनलाई पनि सिर्जनात्मक बनाउने बताउनुभयो । कार्यक्रम संयोजक बसन्त चालिसेले समाजले अन्य विभिन्न गतिविधिसँगै रचना वाचनका माध्यमबाट साहित्यिक गतिविधि अघि बढाएको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका गडा नं ३ का वडा अध्यक्ष प्रकाशमान उदास, सल्लाहकार शिवप्रसाद पराजुली लगायतले बोल्नुभएको थियो । समाजका अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलको सञ्चालन र कार्यक्रम संयोजक वसन्त चालिसेले स्वागत गर्नुभएको कार्यक्रममा समाजका सल्लाहकार एवम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाबहादुर शाह ʿबाबाʾ, सल्लाहकारहरू शिवप्रसाद पराजुली, शिवहरि शर्मा, देबेन्द्र केसी(देबु), उपाध्यक्ष लोकनाथ दवाडी, गण्डकी साहित्य संगमका सचिव भीमबहादुर रानाभाट(ज्यालादारी), गण्डकी बाङ्मय समाजका अध्यक्ष डा.कृष्णराज अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, रामचन्द्र आचार्य, चन्द्रावती वाग्ले, भगवती बञ्जारा, शिवप्रसाद गौतम, रुजिन्द्र तुलाचन लगायतले कविता, कथा, मुक्तक लगायतका रचना वाचन गर्नुभएको थियो । रचना वाचनका सहभागीलाई सरुभक्त, समाजका अध्यक्ष सुवेदी लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।