काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ ।
म्याग्दी । ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विप्रेषणबाट प्राप्त आम्दानीका कारण कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन् । डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जो कोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे । रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणका क्रम बढेको स्थानीय बूढापाकाको भनाइ रहेको छ । सडकको प्रभावित पुराना परम्परागत घरमा परेको उनीहरुको बुझाइ छ । परम्परागत घर र ढुङ्गे घर गाउँबाट विस्तारै ओझेलिँदै छन् । अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठडिँदै गएका छन् । सक्नेले पक्की पिल्लर घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन् । यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पुर्याएको छ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटा, मालिका गाउँपालिका–७ बिम, रघुगङ्गा गाउँपालिका–६ पाखापानीलगायतका विभिन्न बस्तीमा पाँच वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुङ्गा र केही खरले छाइएका थिए । तर अहिले ती बस्तीमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रङका जस्तापाताले छाएर घर रङ्गीचङ्गी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घर कम पाइन्छन् । गाउँमा सडक आएपछि गाउँलेले सहर बजारियाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “डेढदशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो पनि थिएन, अहिले ती सबै घर लोप भइसके ।” बेनी नगरपालिका–४ सिँगामा पनि करिब एकदशक अगाडिसम्म ढुङ्गे टन्नै थिए । तर अहिले ढुङ्गाका घरले भएका ठाउँमा ठूलाठूला कङ्क्रिटका घर ठडिएका छन् । सडक सिंगामान पुग्दा धेरैको घर ढुङ्गाले नै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवन बनाउन थालेको स्थानीय केशव पौडेलले बताउनुभयो । उहाँले गाउँमा सडक आएपछि धेरै मानिसले बजारबाट सहजरूपमा घर निर्माण गर्ने सामान ल्याउनसक्ने भएपछि ठूलाठूला भवन बनाउन थालेको बताउनुभयो । पौडेलले यहाँका धेरैजसो मानिस विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुङ्गाको घर विस्थापित गरी पक्की घर बनाउन थालेको जानकारी दिनुभयो । विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्याङ्क छ । घर, घडेरी र मोजमस्तीमा नै धेरैजसो पैसा खर्च हुने गरेको पाइएको छ । यहाँका मान्छे सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूलाठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको छ, दिनदिनै सिमेन्टका घर ठडिरहेका छन्, एक÷दुई वर्षमा यहाँ ढुङ्गाका घर पनि देख्न नपाइने स्थानीय बासिन्दाको अनुमान रहेको छ । सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घर विस्थापित भएको स्थानीयको भनाइ छ । सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीकाअनुसार मानिस सजक र सचेत हुँदै गएको हुँदा नयाँनयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन् । परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने जनाउँदै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको बताइएको छ ।
कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा हुनुहुन्थ्यो । हतारमा घरबाट निस्कनुभएका उहाँले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुपर्यो । डुङ्गा (स्टिमर)को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कयौँ व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन् । “भाइटीका दिन साइतमै पुगेर टीका लगाउने मनस्थितिले घरबाट निस्किएको थिएँ । एक घण्टाभन्दा बढी समयसम्म डुङ्गाको पालो पर्खिन लाग्यो । “उहाँ भन्नुहन्छ, “नदीमा पुल भइदिएको भए कसैले कसैका लागि पर्खनुपर्ने अवस्था आउने थिएन होला ।” एउटै डुङ्गामा सयौँलाई वारपार गराउनुपर्दा र यात्रुले पालो नपाउँदा समयमै गन्तव्यमा पुग्न पाएनन् । डुङ्गालाई एकपटक वारपार गर्न आधा घण्टा लाग्ने भएका कारणले पनि वीरबहादुरलाई गन्तव्यमा पुग्न समय लागेको हो । बर्दियाको पाताभारबाट टीकापुर आउनुभएका अनिश थारू पनि डुङ्गाको पालो पर्खेर बस्नुभएको थियो । निकै छट्पटी देखिनुभएका उहाँ निकै हतारमा हुनुहुन्थ्यो भन्ने कुराको भाव बाहिरै छल्किन्थ्यो । “तिहारको अघिल्लो दिन नै टीकापुर आएको थिएँ, दिदीले बर्दिया आउन नसक्ने भनेपछि टीका थाप्न आएको थिएँ”, अनिश भन्नुहुन्छ, “निकै ढिलो भयो । डेढ घण्टादेखि पालो पर्खेको अझै पालो आएको छैन । घरमा दिदीबहिनी टीका लगाउन मलाई पर्खेर बसेका छन् । कतिबेला पुगिन्छ थाहा छैन ।” कैलालीको लम्कीचुहा नगरपालिकाका मीनबहादुर धामीलाई पनि निकै हतार थियो । हतारमा सन्कट्टी पुग्नुभएका उहाँलाई कर्णाली नदी पार गर्न एक घण्टाभन्दा बढी लाग्यो । घरमा भएका दिदीबहिनीसँग टीका लगाएर बर्दियामा रहनुभएकी दिदीको हातबाट टीका लगाउनका लागि शान्तिबजार जान लाग्नुभएका उहाँलाई डुङ्गामा सवार गर्ने नागरिकको भीडले समयमै गन्तव्यमा पुग्न पाउनुभएन । “राजापुरबाट जाँदा एक घण्टा ढिलो हुने भएकाले यताबाट आएको हुँ । सन्कट्टीमा पनि अवस्था उस्तै रहेछ”, धामी भन्नुहुन्छ, “मानिसको निकै चाप छ, त्यसैमा पनि सवारीसाधनले भरिएको डुङ्गामा यात्रा गर्दा पारि पुग्न पाइन्छ कि पाइँदैन भन्ने ठूलो डर ।” चाडपर्वको समयमा नदी वारपार गर्ने नागरिकको निकै भीड लाग्ने गरेको छ । एकपटकमा १५ देखि २० जनासम्मलाई नदी तार्न सक्ने डुङ्गामा त्यहीँ मात्रामा सवारीसाधन पनि भरिएका हुन्छन् । नदी वारपार गर्ने अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । एउटा व्यक्तिले नदी तर्दा रु २५ र मोटरसाइकलको रु ५० तिर्नुपर्छ । नदीसम्म सवारीसाधन नभएकालाई पुग्न अझ कठिन छ । टीकापुरबाट नदीसम्म पुग्नका लागि एकमात्र विकल्प बनेको छ अटोरिक्सा । नदीसम्म पुगेको एक यात्रुको रु पाँच सयसम्म रिक्सा चालकले लिने गरेका छन् । टीकापुरका मनोज चौधरी विगत तीन वर्षदेखि त्यहीँ मार्गमा अटोरिक्सा चलाउनुहुन्छ । टीकापुरदेखि सन्कट्टीसम्म पुर्याएको रु पाँच सय लाग्ने गरेको छ । नदी तरेर पारि बर्दिया क्षेत्रमा पुगेपछि पनि अटोरिक्साभन्दा अर्को सवारीसाधनको विकल्प छैन । त्यहाँबाट शान्तिबजार पुगेको पनि रु पाँच सय तिर्नुपर्ने बाध्यता छ । अस्तव्यस्त सडकका कारण रिक्साको भाडा महँगो हुन गएको उहाँ बताउनुहुन्छ । “बाटो निकै अप्ठ्यारो छ, पेट्रोल महँगो छ । ”, मनोज भन्नुहुन्छ, “बाटो राम्रो भए समयमै यात्रुलाई पु¥याउन सकिन्छ, । बाटोकै कारण यात्रु मारमा परेका छन् तर हाम्रो पनि बाध्यता छ ।” बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकासँग टीकापुरको सम्बन्ध पारिवारिक र व्यापारिकरूपमा नजिक छ । हुलाकी राजमार्गअन्तर्गत सत्तीमा पुल निर्माण भएको भए पनि त्यहाँको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुने गरेको छ । त्यहाँ दुवै क्षेत्रमा वर्षौँदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ । स्थानीय सरकारले डुङ्गा सञ्चालन गरेवापत राजस्व सङ्कलन गर्दै आएको छ । सनकट्टीमा पुल निर्माणका लागि गत आर्थिक वर्षमा नै बोलपत्र आह्वान भएर ठेक्कासमेत भएको छ । ठेक्का भएको पुल निर्माणको कुनै प्रक्रिया अहिलेसम्म नभएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् । पुल निर्माण भएपछि सहजरुपमा आवागमन गर्न सक्ने भन्दै पुल निर्माणको काम समयमै सम्पन्न गर्न स्थानीयवासीको माग छ ।
पाल्पा । भवन निर्माणमा पुरुषकै नेतृत्व प्राय:जसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुनुहुन्छ । अहिले उहाँलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याई छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित बाङ्गेपसलकी सुमन करिब दुई दशकदेखि यस क्षेत्रमा आबद्ध हुनुहुन्छ । एक दशकदेखि भने आफ्नै नेतृत्वमा घर भवन निर्माण गरिरहनुभएको छ । सुरुमा ढुङ्गा, इँटा, छड, सिमेन्ट बोक्ने, तारजाली भर्ने, गारो लगाउने, प्लाष्टर गर्ने काम गर्नुभएकी उहाँले यतिबेला समाजमा अब्बल र साहसी महिला निर्माण व्यावसायीका नामले आफ्नो पहिचान बनाउनुभएको छ । आफूले पढ्ने रहर भएर पनि परिवारको अर्थावस्थाले पढ्ने वातावरण नबनेपछि श्रीमान्सँगै सुमन यस क्षेत्रमा लाग्नुभएको हो । उहाँ भन्नुहुन्छ, “मैले पढ्न नपाए पनि दुःख गरेर छोरीलाई काठमाडौँमा राखेर उचित शिक्षामा लगानी गरिदिएको छु, छोरीले पनि चारवर्षे कम्प्युटर इञ्जीनियरिङ उत्तिर्ण गरिन्, मैले भोगेको दुःख छोरीले भोग्न नपरोस् ।” पूर्वी पाल्पा मजदुर व्यवसायी समितिको उपाध्यक्षसमेत रहनुभएकी सुमन घरमा बेरोजगार बसेका महिलालाई आर्थिक उपार्जनका निम्ति आफूले सीप सिकाएर काम दिने गर्नुहुन्छ । समय र कामअनुसार मजदुरलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको उहाँ बताउनुहुन्छ । सुमनको नेतृत्वमा काम गर्ने मजदुरले दैनिक आठ घण्टा काम गरेवापत रु छ सयदेखि रु एक हजारसम्म ज्याला बुझ्छन् । उहाँले दैनिक न्यूनतम १० देखि बढीमा २० कामदार परिचालन गर्दै आउनुभएको छ । “हातमा सीप भएपछि पुरुषसरह नै काम गर्न सकिन्छ, अरुको भरमा रहँदा महिला हेपिनुपरेको छ”, उहाँले भन्नुभयो, “यस कामबाट समाजमा दाम र नाम मिलेको छ, यसमा म एकदमै सन्तुष्ट छु । तर कतिपय सन्दर्भमा भने मजदुर वर्ग भनेपछि गाउँ समाजमा कामको सम्मान छैन ।” आफूले सकुञ्जेलसम्म यसै व्यवसायमा रहने सुमनको भनाइ छ । विभिन्न स्थानबाट माग आए पनि कामको चापले रामपुर नगरपालिकाभित्रै व्यस्त हुनुहुन्छ । हाल उहाँ दुईवटा घरको ठेक्का लिएर काम गरिरहनुभएको छ । उहाँले आवासीय घरमात्र नभई विद्यालय तथा मस्जिद, विभिन्न सङ्घसंस्थाको भवन निर्माण गर्दै आउनुभएको छ । सम्बन्धित घरधनी तथा सङ्घसंस्थाले दिएको आकारअनुसार नै जस्ताको तस्तै निर्माण गर्ने उहाँको कला छ । त्यसकारण पनि सुमन यस क्षेत्रकै निर्माण व्यवसायीमा साहसी, सफल व्यवसायीका रूपमा कहलिनुभएको छ । यस क्षेत्रमा काम सुरु गरेपछि साढे चार आनाको जग्गा किनेर घर बनाउनुभएको छ भने दुई घडेरीसमेत जोड्न सफल हुनुभएको छ । अहिले श्रीमान् र श्रीमती नै यसै क्षेत्रमा सक्रिय भएर काम गरिरहनुभएको छ । हातमा सीप भएका कारण कोभिड–१९ को समयमा पनि उहाँलाई एक दिन खाली बस्नु परेन । यस व्यवसायमा खर्च कटाएर वार्षिक न्यूनतम रु दुई लाख बराबरको कमाइ गर्दै आउनुभएको छ । घर भवन निर्माणमा आवश्यक पर्ने करिब सात लाख बराबरको विभिन्न सामग्री आफैँ बन्दोबस्त गर्नुभएको छ । बर्सेनि रु एक लाख ५० हजारभन्दा बढी सामग्री खरिदमा नै लगानी गर्नुहुन्छ । हालसम्म तीन सय बढी घर भवन निर्माण सम्पन्न गरिसक्नुभएको छ । निर्माण व्यवसायसम्बन्धी व्यावसायिक तालिम परिषद्बाट छ महिने तालिम लिनुभएको छ । रामपुर क्षेत्रमा मात्रै करिब ६० भन्दा बढी निर्माण व्यवसायी आबद्ध छन् । पूर्वी पाल्पामै यस क्षेत्रमा उहाँ एक्लो महिला व्यवसायीका रुपमा चिनिनुहुन्छ । महिलाको नेतृत्वमा आफू ज्यालादारीमा काम गर्ने अवसर पाउँदा धेरै सहज भएको बताउनुहुन्छ, २९ वर्षीया सपना परियार । सुमनकै प्रेरणा र साथ पाएपछि घर बनाउने मिस्त्री काम सिक्नुभएकी सपनालाई यतिबेला यस क्षेत्रमा काममा भ्याइनभ्याई नै छ । “महिलाका समस्या बुझ्ने महिलाले नै हो रहेछ, कतिपय समस्या आइपरे पनि झट्ट पुरुषलाई भन्न अप्ठ्यारो लाग्ने, सुरक्षाका हिसाबले महिला निर्माण व्यवसायी भएपछि ढुक्कसँग काम गर्न पाइयो, आफ्नै सन्तानसरह व्यवहार पाएकी छु, त्यसैले एक दिन पनि घरमा आराम गरेर बस्नै मन लाग्दैन”, उहाँले भन्नुभयो । कक्षा ७ सम्मको औपचारिक शिक्षा लिनुभएकी सपनाका १० र १२ वर्षका दुई छोरा छन् । हाल दैनिक मजदुरीबाट रु छ सय ज्याला बुझ्नुहुन्छ । यसैबाट परिवारको जीविका र दुई छोराको पढाइ खर्च चलेको छ । सात वर्ष अगाडि भारतमा रोजगारी गर्न जानुभएका उहाँका श्रीमान्को मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएपश्चात् उहाँ मजदुरीकै भरमा गुजारा चलाउन बाध्य हुनुहुन्छ । उहाँले सिमेन्ट घोल्ने, घरको गारो लगाउने, प्लाष्टर गर्नेजस्ता घर भवन निर्माणका सबैजसो सीप सिक्नुभएको छ । निर्माण व्यवसायमा महिला भए पनि पुरुषसरह नै हिम्मत र साहस, व्यवसायमा सफल र सबैका लागि प्रेरणादायी, उदाहरणीय महिलाका रूपमा रहेको कपिलवस्तुको गोरुसिङ्गेका ६० वर्षीय टीकाराम थारू बताउनुहुन्छ । उहाँ पनि सुमनकै नेतृत्वमा अहिले भवन निर्माणमा संलग्न हुनुहुन्छ ।
काठमाडौं । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिनुभएको थियो । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो । शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।
महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । यसअघिका दुई वर्ष कोराना (कोभिड–१९) सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि भने महाव्याधि नभएपछि पर्व मनाउन सहज भएको बर्तालु बताउँछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् । आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि पर्सी आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ । मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ । यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ । त्यसैले यसलाई लोकपर्व भनिएको मैथिल संस्कृतिविद् बताउँछन् ।
गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पुर्याउनु अघि नै उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत हुनुभएको थियो । वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासङ्घको नेपालको केन्द्रीय सचिवालय सदस्यसमेत हुनुहुन्थ्यो ।
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिनुभयो । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताउनुभयो ।
कैलाली । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए । छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताउनुभयो । उहाँले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताउनुभयो । “जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ । यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ ।” मानिस अल्छी बन्दै गएकाले भएको जग्गाजमिन मासिँदै जान थालेको, अवसरवादी र सुविधाभोगी बन्न थालेका उहाँको भनाइ छ । टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले दिगो विकास उत्पादकत्व बढेपछि हुने भएकाले अनी मात्र आर्थिक विकास सम्भव भएको बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन जरुरी रहेको उल्लेख गर्दै राज्यले दिने कृषितर्फका सेवामा पनि नक्कली किसान तयार भएकाले समस्या भएको बताउनुभयो । “यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषितर्फ लगानी गरेको छ । कृषितर्फ दिइने अनुदान खान नक्कली किसान बनेका छन्”, उहाँ भन्नुहुन्छ, “वास्तविक किसान मर्कामा परेका छन्, कृषिको लगानी सदुपयोग भएन, सदुपयोग नभए उत्पादन बढ्ने कुरा भएन, अनि कसरी समृद्धि हुन्छ ।” वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारीले विकास एकीकृत पाटोबाट सँगसँगै जानुपर्ने तर यहाँ फरक–फरक तरिकाले पटक–पटक संरचना बन्दा पनि स्थानीय सरकार हेरेर बस्ने गरेको आरोप लगाउनुभयो । उहाँले नगरपालिका बलियो हुनुका साथै विकासका कार्यमा कडाइ गर्न आवश्यक रहेको बताउनुभयो । “एउटै सडक पटक–पटक खनिन्छ, कहिले खानेपानी, कहिले टेलिकम, कहिले विद्युत्, कहिले कसैले, यसरी पटक–पटक किन बनाउनु ?”, भण्डारी भन्नुहुन्छ, “स्थानीय सरकारले एक खालको मापदण्ड बनाएर सबै संरचना एकैसाथ बनाएको भए विकास दिगो हुन्थ्यो । नागरिकलाई पनि कम सास्ती हुन्थ्यो ।” उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका संयोजक एकिन्द्र तिमिल्सिनाले टीकापुरमा भएको विकासजति यहाँकै स्रोतबाट बनेकाले सन्तोषजनक रहेको बताउनुभयो । उहाँले यहाँ तीन थरिका मानिस रहेका उल्लेख गर्दै गर्न चाहनेलाई सहयोग नभएको बताउनुभयो । “यहाँ बनेका क्याम्पस, विद्यालय, अस्पतालजस्ता संरचना यहाँकै जमिन बेचेर बनेका हुन् । अन्य सहयोग र लगानी भित्रिएको छैन, त्यो हिसाबले सन्तोषजनक छ”, उहाँ भन्नुहुन्छ, “यहाँ गर्न चाहनेसँग आर्थिक श्रोत छैन, भएकाहरूलाई पुगेकाले गर्ने इच्छाशक्ति छैन, यसले समस्या भइरहेको छ ।” महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शोभा शर्मा ज्ञवालीले आफूहरूले सहकारीमार्फत शुद्ध तोरीको तेल पेल्ने मेसिनसमेत सञ्चालनमा ल्याएको बताउनुभयो । “हामीले आफ्नै लगानीबाट उद्योग स्थापना गरेका छौँ, यसरी काम गरिरहेका हामीलाई सरकारले अनुदान, सहयोगजस्ता कार्यमा सघाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “लगानी गरिए हामी रोजगारीको वातावरण सिर्जना गर्न तयार छौँ ।”