पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

काठमाडौं:  काठमाडौंको शंखपार्क नजिक आज ठेलागाढामा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा बा ९८ प ४८ ९८ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भई हाल काठमाडौं बस्दै आएका ३३ वर्षीय प्रकाश दुलाल गम्भीर घाइते भएका हुन् । उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजे चप्पल कारखानाबाट सुकेधारातर्फ जाँदै गरेको दुलाल सोही दिशातर्फ जाँदै गरेको ठेलामा ठोक्किएको थिए ।  

बागलुङ:   बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा सङ्घीय सरकारबाट अनुदान प्राप्त योजना हुन् । जिल्लाको १० वटै पालिकामा योजना परेका छन् । सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् । जिल्लामा सहजरुपमा सिँचाइको व्यवस्थापन गर्न सरकारले हरेक वर्ष करोडौँका योजना पार्दै आएको छ ।  यस वर्ष केन्द्र सरकारले रु सात करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख ३० हजार बजेट विनियोजन गरेको छ । दशवटै पालिकामा सहजरुपमा सिँचाइको व्यवस्थापन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको छ । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिनुभयो । उहाँले यस कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आए पनि जनताको चाहनाअनुसार काम हुन नसकेको बताउनुभयो । “अहिलेसम्म बागलुङमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्रै सिँचाइ गर्न सकेका छौँ, जिल्ला भौगोलिकरुपमा विकट छ, खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहेअनुसार सिँचाइको व्यवस्थापन हुन सकेको छैनँ”, ओझाले भन्नुभयो । बागलुङमा सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पु¥याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उहाँले बताउनुभयो । सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । गत वर्ष पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष छ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि यस वर्ष जिल्लामा धान उत्पादनसमेत बढेको पाइन्छ । गत वर्ष १८ हजार तीन सय ५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार छ सय ९० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बागलुङ नगरपालिका–४ का टीकाराम सापकोटाले जिल्लामै बढी धान फेदीमा उत्पादन हुने भन्दै यहाँ सिँचाइको राम्रो व्यवस्थापन नहुँदा हरेक वर्ष धान उत्पादनमा कमी आएको बताउनुहुन्छ । सापकोटा भन्नुहुन्छ, “यहाँ यति ठूलो धान फल्ने फाँट छ, तर सिँचाइको समस्या छ, कुलो सानो छ, खेतीयोग्य जमिन धेरै भए, धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, कहिले त आकाशे पानीको भरमा खेतमा धान रोप्नुपर्ने अवस्था हुन्छ ।” स्थानीय यामबहादुर केसीले खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नुपरेको बताउनुभयो । केसीले खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा किसानलाई बाली लगाउने बेला सिँचाइकै पिरलो हुने बताउनुहुन्छ । धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।  “हाम्रो गाउँ ठाउँमा बालीनाली निकै राम्रो हुन्छ, पहिले–पहिले सिँचाइको समस्या थिएन, अहिले मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ, पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए”, केसीले भन्नुभयो ।   बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।

बागलुङः    राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । महासङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा प्रधानसम्पादक पाठकलाई आज यहाँ पुरस्कृत गरिएको हो ।  प्रधानसम्पादक पाठकलाई उक्त पुरस्कार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले एक समारोहबीच प्रदान गर्नुभयो । पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतमले आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न सो पुरस्कार स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ । यसैगरी रासस समाचारदाता रामबहादुर थापा, पत्रकार सिर्जना पन्त, सरोजराज पन्त र सज्जनकुमार सिंहलाई हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार प्रदान गरिएको छ । पत्रकार भाषा शर्मा र गणेश पौडेललाई ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’ तथा राजेशचन्द्र राजभण्डारीलाई ‘टीकाधना पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ । व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफ्नो बुबा नारायणप्रसाद र आमा हरिलक्ष्मीको स्मृतिमा २०७३ सालमा उक्त पुस्कार स्थापना गर्नुभएको हो ।

पोखरा:  पहिलो पाइला नेपाल पोखरा शाखाको आयोजना र धौलागिरि सम्पर्क समाज पोखरा विश्वविद्यालय सहयोगि संस्थाको भुमिकामा रहेर आयोजना भएको ‘चिया पिउँदै समाजसेवा’अभियान बिहिबार पोखरा विश्वविद्यालयमा संपन्न भएको छ।  पहिलो पाइला नेपालका कार्य समिति सदस्य साथसाथै धौलागिरि सम्पर्क समाजका सचिव विकास जंग कुवरले कार्यक्रममा पोखरा विश्वविद्यालय विद्यार्थीहरुको भव्य उपस्थिति रहेको जनाउदैँ  कार्यक्रमलाइ सफलताका साथ सम्पन्न गर्न साथ दिने सम्पूर्णलाइ आभार व्यक्त गरे।  कार्य्रक्रममै कुवरले अभियानबाट पहिलो पाइलाका संयोजक समियुन निशालाई उठेको कुल रकम २३,८४० हस्तान्तरण गरेका थिए ।  ‘यस अभियान बाट उठेको  रकम गरिब तथा विपन्न वर्गका बालबालिकालाइ जाडोमा न्यानो कपडा वितरणमा,बालबालिकालाई र क्यान्सर पीडित हिमा कुमारी आलेलाई सहयोग गरिने’ निशाले बताइन ।

काठमाडौं:   काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

पोखरा:  पोखरा ११ काँहुडाडालाई पर्यटकिय केन्द्र बनाउने योजनासहित गठित धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिको सातौं वार्षिक साधारणसभा बिहिबार पोखरामा सम्पन्न भएको छ । पोखरा ३ नदिपुरस्थित धर्मशिला बुद्ध बिहारमा आयोजित साधारणसभाको प्रमुख अतिथि समितिका सल्लाहकार शंकर गुरुङले दीप प्रज्जलन र विहारका भिक्षु धजवन्तले मन्त्रोबाचन गरी उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि शंकर गुरुङ, सल्लाहकारहरु तिथ श्रेष्ठ, बिलबहादुर गुरुङ र कर्णेल राजकाजी गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। समितिका सचिव पुर्ण लामा र कोषाध्यक्ष श्याम शाक्यले प्रस्तुत गर्नुभएको वार्षिक र आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो। धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी(मैना) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सम्मानित र निर्वाचित समितिका पदाधिकारी एवम सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो भने उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पुर्ण लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कालिकोट:  कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।  बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव सोमबार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबीका चालक मंगल चुडारीको शव मंगलबार फेला परेको हो ।  सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीसँगै दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीकोे खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।  मंसिर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनामा घटनास्थलमै २ जनाको मृत्यु भएको थियो । यससँगै मृतकको संख्या ५ पुगेको छ ।   

बाजुरा:  बाजुरा जिल्लाको पुर्वी उतरी क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिका वडा नं.१ मुक्तिकोटकि एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।    १८ वर्षीय पवित्रा कडारालार्ई हेलिकप्टर मार्फत मार्फत उद्धार गरिएको सामाजिक अगुवा रन्दीप बुढाले बताए । उनले भने, ‘स्वाथ्य संस्थाले ३ दिन अगाडी रिफोर गरी सकेको भए पनि गर्भवती महिला पवित्रा कडारको आर्थीक अभावको कारण  सुत्केरी बेथा लागेकी कडारालाइ घरमै बसाएकोले उनको स्वस्थ्य अवस्था जटील बन्दै गएपछी आज नेपाली सेनाको हेलिक्प्टर मार्फत उद्वार गरिएको हो ।’ पवित्रा कडारालाई सुत्केरी बेथा लागेपछी मंसिर २५ गते सामुदायिक इकाई स्वास्थ्य केन्द्र फयालगाँउमा ल्याएर भर्ना गरिएको थियो । तर उक्त स्वास्थ्य इकाई केन्द्रमा पवित्रा कडारा सुरक्षित प्रसूती गराउन नसकेपछी हेलिकप्टर मार्फत मंगलबार सुर्खेत पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताएका छन् । स्वास्थ्य केन्द्रबाट हिजो रिफर गरिएकि पवित्रालाई आज राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत उनको उद्धार गरिएको सहायक प्रमुख विष्टले बताएका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।  

सिरहा:  सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो। गाँजा तयार हुन नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, ‘हामीले पाएको सूचना र यो गाँजाको बोट देखिने समय पनि भएकाले फडानी गरीरहेका छौ । सूचनाको आधारमा हामी गाँजा भएका ठाउँसम्म पुगेर फडानी गरिरहेका छौं।’ सानो छदा नदेखिने र सूचनासमेत नपाउने भएकाले अहिले गाँजा फडानी गरिरहेको प्रहरीको भनाइ रहेको छ। सिरहाको पूर्वपश्चिम राजमार्ग आसपास र विशेषगरी उत्तरी क्षेत्रका किसानहरूले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ।