आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...

  रसुवा । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ ।  यसबाट  होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ ।  कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्षरूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्षरूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित भएका छन् । विगतमा कोरोना त्रासा कारण धरासायी बनेको हिमाली क्षेत्रका होटल तथा लज अहिले चलायमान भइसकेका छन् । आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट छिटोछरितो सेवा प्रदान भइरहेको पर्यटकीय होटल व्यवसायी सङ्घ रसुवाले जनाएको छ । असोजको पहिलो सिजनअन्तर्गत आगमन भएका पर्यटकलाई स्थानीयस्तरमा उत्पादन भएका तरकारीको परिकारले उनीहरूको मन लोभ्याउँदै गएको छ । भ्रमणमा आएका पाहुनालाई स्थानीय आलु, रायोको साग, काउली, बन्दाकोभी, फर्सी, बरेला, स्कुस, डल्लेमुलाजस्ता सब्जीको तरकारी र खानाको हकमा स्वदेशी तथा विदेशी पर्यटकको चाहनाअनुरूप मकैको ढिडो, चामलको भात, गहुँ वा आटाको पिठोबाट तयार गरिने रोटी एवं पाहुनाको चाहनाबमोजिम खाना तयार पारिँदै आएको व्यवसायीले बताएका छन् । पाहुना फर्कदा लौ साहुजी मिठो खुवाउनुभयो भनी फ्रफुल्लित मुद्राले धन्यवाद भन्दै जाने गरेको होटल व्यवसायी बताउँछन् । पदयात्राका क्रममा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकका रूपमा महिलाको समेत सहभागिता बढ्न थालेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको अद्यावधिक अभिलेखले बताएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत कात्तिक १५ गतेसम्म आन्तरिक एवं बाह्यरूपले आगमन भएका १४ हजार तीन सय ९३ पर्यटकमध्ये स्वदेशी तथा विदेशीसमेत करिब तीन हजार महिलासमेत आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज वन प्राविधिक नितेन्द्र सिंहले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने प्रत्येक नागरिकको लगत अद्यावधिक गर्ने र नियमानुसार तोकिएको प्रवेश शुल्क उठाउन पदमार्गका प्रवेशद्वारमा कर्मचारीको व्यवस्थापन एवं ठाउँ–ठाउँमा चेतनामूलक होर्डिङबोर्डसमेत राखिएको छ । हिमाली पदयात्राका लागि हेलम्बुतर्फको पूर्वी एवं धुञ्चेतर्फबाट चन्दनबारी जाने यी दुई पदमार्गबाट पर्यटक गोसाइँकुण्ड पुग्ने र चोलाङपाटीबाट ठूलोस्याफ्रु हुँदै लाङ्टाङको क्याङ्जेन पुग्ने गरेका छन् । हिमाली प्रकृति छटाको रसास्वाधन लिन जाने पाउनाको स्वागतार्थ धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको कार्यालय नजिक स्वागतद्वार निर्माणका साथसाथै सन्देशमूलक सूचना एवं महत्वपूर्ण जनावरको चित्रणसमेत राखिएका कारण पर्यटकको यात्रामा केही सहजता आएको बताउँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई सहयोग दिन निकुञ्ज प्रशासन तयार रहेको जानकारी दिनुभयो । आगमन भएका विदेशी पर्यटकहरूमा भने सार्क राष्ट्रका साथै अमेरिका, जर्मन, जापान, कोरिया, अष्ट्रेलियासमेत विभिन्न देशका छन् । अन्य क्षेत्रको तुलनामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागमा अवस्थित हिमाली प्रकृतिको छटा अवलोकन गर्न राजधानी काठमाडौँबाट छोटो दूरी पर्ने र धुञ्चे पुग्नासाथ नजिक जसरी देख्न सकिने लाङ्टाङ हिमाल एवं गोसाइँकुण्ड नजिकको चुचुराले मनमोहक बनाउने आफ्ना अनुभव रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो ।  कुनै पनि यात्रुले पैदलमार्गमा हिँड्दा देखिने जनावरलाई मार्ने, तर्साउनेजस्ता क्रियाकलाप नगर्ने, कुनै पनि वनस्पति बिरुवा भाँच्ने एवं काट्ने काम नगर्ने र आफूबाट उत्पन्न हुने कागज वा प्लाष्टिकजन्य सबै प्रकारका फोहर तोकिएको स्थान वा ठाउँ–ठाउँमा राखिएका ड्रममा मात्र फ्याँक्न अनुरोध गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । प्रतिव्यक्ति नेपालीका लागि रु एक सय, सार्क राष्ट्रका नागरिकका लागि रु एक हजार पाँच सय एवं अन्य देशका नागरिकको हकमा रु तीन हजार शुल्क लिने कानुनी प्रावधानलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गर्दै साउनदेखि कात्तिक १५ सम्म उठाएको रु ५३ लाख ४२ हजार पाँच सय राजस्व राज्यकोषमा दाखिला गरिसकेको छ । आगन्तु पाहुनालाई सफा मौसमको शरद ऋतुमा देखिने हरियाडाँडा, पदयात्रामा भेटिने वन्यजन्तु, उकाली–ओराली, लाङ्टाङ हिमाल, गोसाइँकुण्ड, धुञ्चेस्थित नेपालको पहिलो तामाङ सङ्ग्रहालय र ऐतिहासिक घलेराजाको दरबारस्थल, बाटोमा हिँड्दा भेटिने पुराना माने, चट्टानले भरिएका पहाड, छ्याङछ्याङ गर्ने ठाडो खोल्छा, स्थानीय परिकारका अग्र्यानिक खाना, लोकल वेषभूषा, स्थानीय सांस्कृतिक नाचगानले नै पर्यटक प्रफुल्लित हुने गरेका छन् । फर्किने क्रममा सबै पाहुना खुसी भएर जाने गरेको पाइएको निकुञ्जका कर्मचारीले बताएका छन् ।  पर्यटक सेवाका लागि धुञ्चे, स्याफ्रुबेँसी, ठूलोस्याफ्रु, लाङ्टाङ तथा गोसाइँकुण्डसमेतका स्थानमा एक सयभन्दा बढी लज तथा होटलले सेवा दिइरहेका छन् । हिमाली क्षेत्रमा चिसोपन बढिसकेका कारण नयाँ–नयाँ बाक्ला सिरक, डस्नासमेतका बिस्तारा राखिएकाले रातको समयमा पाहुनालाई जाडोको प्रवाह नहुने बताउँदै पर्यटकीय होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान)ले जानकारी दिनुभयो । पर्यटकीय पदमार्गका ठाउँ–ठाउँमा रहेका सबै होटल तथा लज सञ्चालन भएका कारण जति बेला पनि बास बस्न सक्ने व्यवस्थाले आगन्तुक पाहुना प्रफुल्लित हुने गरेको पाइएको छ । पाहुनाको आगमनले हिमाली पाखामा रौनकता छाएको, होटल तथा लज सञ्चालकले राम्रो सेवा दिइरहेको समेत अध्यक्ष गजुरेलले बताउनुभयो ।  यस्तै भ्रमण गर्न आएका पाहुनाको खर्च साउनदेखि कात्तिक १५ सम्म लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गका होटल लज तथा होमस्टे क्षेत्रमा भ्रमण गरेका पाहुनाले  खर्च गरेको बताइएको छ । यस्तै गोसाइँकुण्ड तथा लाङ्टाङका साथै तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जुङ, गतलाङ, चिलिमे, नाकथली, थुमन तथा बृद्विम होमस्टेसम्मको यात्रासमेत रोमाञ्चकारी बन्दै गएको छ । पाहुनाका लागि समयसाक्षेप, स्थानीयका साथै नेपाल–तिब्वत युद्व झल्काउने कलासमेत देखाउने गरेका छन् । होमस्टेमा बस्नका लागि पर्यटकको पहिलो रोजाइ गतलाङ हुने गरेको पर्यटन व्यवसायी फुर्पुसिङ्गी तामाङ बताउनुहुन्छ । गतलाङ क्षेत्रमा हिमालयकी पुत्री पार्वती माता बिराजमान रहनुभएको पवित्र कुण्ड, तामाङ समुदायको झुरुप्प बस्ती, अग्र्यानिक भोजन, स्याब्रु, जरायो, घोडानाचजस्ता प्रहसनले पर्यटकको बसाइ गतलाङतर्फ आकर्षित बन्दै गएको हो । काठमाडौँबाट सिधा बस सेवासमेत सञ्चालनले गतलाङ जाने पाहुनाको आगमनमा निकै सरलता मिलेको छ । रसुवा भ्रमणमा आउने सबै पाहुनाका लागि विशेष सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरीका साथै स्याफ्रुबेँसीमा पर्यटन प्रहरी युनिटसमेत रहेकाले यात्राका लागि सुरक्षा आवश्यक पर्नासाथ प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले सबै पाहुनामाझ अनुरोधसमेत गरेको छ । 

पोखरा : पोखराको नयाँ गाउँस्थित ’ग्लो संस्था’ मा सिलाई कटाईको तालिम लिइरहेका २० जना महिलाहरूलाई संस्थाले सिलाई मेसिन वितरण गरेको छ ।    पोखरा महानगरपालिका-१५ नयाँ गाउँ स्थित उक्त संस्थामा विगत ४ महिनादेखि निःशुल्क सिलाई कटाईको तालिम लिइहेका २० जना गरिब तथा विपन्न महिलालाई संस्थाले बिदाइ गर्दै निःशुल्क सिलाई मेसिन समेत वितरण गरेको हो ।   निःशुल्क मेसिन वितरण कार्यक्रममा मेसिन प्रदान गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले आफूहरू निर्वाचित भएर आए लगत्तै यस पवित्र संस्थासँग सहकार्य भएको र निर्वाचनका बेला वडावासीसँग वाचा गरे अनुरूप वडामा महिला उद्यमशीलता र युवा स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाउँदै लगिएको बताए। उनले पवित्र उद्देश्य लिएर हिँडेको ’ग्लो संस्था’ले समाजमा रहेका असहाय, अपाङ्ग, गरिब तथा विपन्न वर्ग र समस्यामा परेकाहरूको उत्थानका लागि निःशुल्क शैक्षिक सामाग्री वितरण लगायत हरेक क्रियाकलापमा सहयोग गर्दै आइरहेको प्रति संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य रहने बताए। साथै बानियाँले वडाको उद्देश्य अनुरूप यो पहिलो सुरुवाती कार्य मात्र भएको र अबका दिनमा वडाका अन्य संस्थाहरूसँग पनि सहकार्य गदै यस्ता कार्यक्रमलाई अगाडि बढाउँदै लैजाने बताए ।    संस्थाकी संस्थापक सिता पौडेलले सिकेको सीपलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरूलाई सुझाव दिइन्। बिदाइ कार्यक्रममा भावुक समेत देखिएकी पौडेलले सिकाईका क्रममा सहभागीहरूसँग छुट्टै आत्मीययता गाँसिएको भन्दै यही सीपबाट आत्मनिर्भर भएर प्रगति गर्नु भन्दै सबैलाई आशीर्वाद दिइन् ।   वडा सदस्य बलराम पौडेलले सहभागी महिला दिदी बहिनीहरूलाई प्रदान गरिएको मेसिन मेसिन मात्र नभएर जीवन रूपान्तरण गर्ने साधन भएकाले यसको जतनसँग उपयोग गर्न आग्रह गरे। उनले सिलाई कटाई पेसा अति उत्तम पेसा रहेको भन्दै आत्मनिर्भर भएर समाजमा उदाहरणीय बन्न सबैलाई सुझाव दिए ।   यस्तै, संस्थाका निर्देशक आगमन राज पौडेलले आज उपलब्ध गराइएको मेसिन आफ्नै खुट्टामा उभिन र आफै श्रम गरेर जिउनका लागि औजारको रूपमा रहेको बताए। उनले यस औजार लाई नचलाए औजारमा मात्र नभई सीपमा पनि खिया लाग्ने भन्दै यसको सही प्रयोग गर्दै आफ्नो सीपलाई पनि उधाएर अगाडि बढ्न तथा उन्नति प्रगति गर्न शुभकामना दिए ।   वडा नं –१५ को सिफारिस तथा समन्वयमा वडावासी २० जना गरिब तथा विपन्न महिलालाई उक्त संस्थामा निशुल्क सिलाई कटाई तालिमका दिइएको थियो ।   संस्थाले तालिममा सहभागी सबैलाई ३ लाख बराबरको उषा कम्पनीको सिलाई मेसिन र मेसिन राख्ने स्ट्यान्ड वितरण गरेको हो। निःशुल्क मेसिन वितरण कार्यक्रममा संस्थाका संस्थापक, निर्देशक तथा वडाका जनप्रतिनिधिहरू लगायत तालिमकी प्रशिक्षक उषा नेपालीको सहभागिता रहेको थियो ।   उक्त संस्थामा हाल पुनः १० जना गरिब तथा जेहेन्दार छात्र छात्राले निःशुल्क कम्प्युटरको तालिम लिइरहेका छन् । 

पोखरा : युवा ब्यवशायी पूर्ण कुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी विभिन्न ब्यक्तिहरुलाई निः शुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएका छन ।   पोखराका विभिन्न संघ संस्थामा आवद्ध श्रेष्ठले आफ्नो जन्मदिनको अवसर  पारी १२ जना युवाहरुलाई निशुल्क कम्प्यूटर शिक्षा प्रदान गर्न लागेका हुन ।    श्रेष्ठले जन्मदिनको अवसरमा साथीहरु संघ रमाइलो गरी खर्च गर्ने पैसाले आफु भन्दा कम अवसर पाएको र पर्याप्त तालिमको कमीका कारण रोजगार बिहिनहरुलाई रोजगार दिने उद्देश्यले १ लाख बराबरको खर्चमा उक्त तालिम निशुल्क रुपमा प्रदान गर्न लागेका हुन् ।     श्रेष्ठले आफुले संचालन गरेको संध्या जब्स प्रा.लि र युवा ब्यवशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी गठन गरिएको “युथ कम्युनिटी क्लब”को आयोजनामा ६ जना युवालाई बेसिक कम्प्युटर तलिम र ६ जनालाई कम्प्युटर हार्डवेयर नेटवर्किङ तालिम दिने बताए ।    पोखरामा बिगत १० वर्षदेखि रोजगार सम्बन्धी विभिन्न तालिम तथा परामर्श सहित रोजगार र संघ संस्थाहरुको लागि कर्मचारी साथै पोखराका एजेन्सीको रुपमा काम गर्दै आइरहेको हजारौ युवालाई रोजगार दिलाउन सफल संध्या जब्स प्रा लि बुद्धचोकमा उक्त तालिम प्रदान गरिने श्रेष्ठले वताए । तालिममा सहभागीहरुलाई रोजगारको समेत अवसर प्रदान गरिने र आगामी दिनमा सन्ध्या जब्स प्रालिबाट निशुल्क रोजगार उपलब्ध गराउने समेत बताए ।    युवा ब्यवशायी श्रेष्ठले संध्या जब्स प्रालि संगै युवा ब्यवयशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी “युथ कम्युनिटी क्लब” गठन गरी पोखरा साथै नेपाल भरिनै विगत तीन बर्षदेखी युवाहरुलाई ब्यवसायमा संलग्न बनाउदै आएका छन ।     श्रेष्ठले आगामी दिनमा पनि रोजगारी नपाएकाहरुलाई नेपालमै रोजगार दिलाउनका लागि विभिन्न तालिम परामर्श सहित निःशुल्क रोजागार उपलब्ध गराउने आफ्नो कम्पनीको उद्देश्य रहेको समेत वताएका छन । श्रेष्ठले जन्मदिनको अवसरमा विभिन्न संघ संस्थाबाट उपहार स्वरुप प्राप्त केक काटी विभिन्न ब्यवशायीहरु संगै आफ्नो जन्मदिन समेत मनाए । उक्त अवसरमा सहभागीहरुले श्रेष्ठको प्रगति तथा उत्तरउत्तर प्रगतिको कामना गर्दै आफुहरुले पनि आफ्नो जन्मदिनमा केही न केही सामाजिक काम गर्ने समेत वताएका थिए ।   

महेन्द्रनगर : सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।   कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ ।  कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।   बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुर्ण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ-आफ्नो घर लैजाने गर्छन् ।    उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गङ्गाजलजस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न सो नदी किनारमा हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन् । 

ढोरपाटन : आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले  अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै उनीहरूलाई  निर्वाचन हुँदैछ भन्ने थाहा हुने जनाइएको छ । अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरू भोट माग्न पुगेका छैनन् ।      न्यूनतम पनि विकासको पूर्वाधारले नजोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् । पहिले–पहिले सिजनअनुसार बसाइँसराइ गर्ने यहाँका स्थानीय अहिले स्थायीरूपमा बसोबास गर्दै आएका छन् । यहाँ करिब ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन् । वर्षात्को समयमा भने चार सय बढी घरका सयौँ स्थानीय यहाँ बस्ने गर्छन् । वर्षात्को समयमा निसीखोला–५ निसीगाउँबाट सयौँ घरपरिवार पशुचौपाया लिएर निसेलढोरमा जाने गर्छन् । चिसो बढेपछि अधिकांश असोज पहिलो साता नै बेसी (निसीगाउँ)मा झरिसके । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् ।   हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्पराजस्तै हो । उनीहरूले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा लेकबेँसी गर्नुपरेको हो । अहिले ६० घरपरिवारका एक–डेढ सय जनसङ्ख्यामात्रै निसेलढोरमा रहेको हुँदा नेताहरू भोटमा माग्न नपुगेको स्थानीय गोरख घर्तीमगरले जानकारी दिनुभयो । हिउँदमा जाडो हुने हुँदा पहुचौपाया लिएर धेरै स्थानीय निसीमा झरेको हुँदा नेताहरू त्यतै भोट माग्न हिँडेको उहाँ बताउनुहुन्छ । भोट माग्न गए पनि अलि ढिला जाने गरेको उहाँको भनाइ छ ।   उहाँ भन्नुहुन्छ, “अहिले जाडो बढ्यो, धेरै जसो मान्छे बेँसी झरिसके, यहाँ थोरै मात्रै छन्, पहिले–पहिले चुनाव आउनेबित्तिकै नेताहरु उतै बास बस्ने गरी भोट माग्न जान्थे, अनेक आश देखाउँथे, तर अहिले खासै गएका छैनन्, अलि अस्तितिर दुई–तीन जना घुम्न गएकाहरूले भोटका कुरा गर्थे, तर नेताहरू देखिएनन्, अब चुनाव नजिकै आयो भन्छन्, अब जालान् ।”   आफूहरूले भोट दिएर जिताएको मान्छे पटक–पटक सांसद भएको तर निसेलढोरको विकास भने गर्न नसकेको गुनासो पोख्नुभयो । उहाँले अहिलेसम्म यस ठाउँमा विद्युत् नपुगेको भन्दै यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको बताउनुभयो । घर्तीले मोटरबाटो पुगे पनि गाडी गुड्ने खालको नभएको भन्दै स्वच्छ पिउने पानीको समेत अभाव रहेको उहाँको भनाइ छ । यो ठाउँ विगतदेखि नै ओझेलमा पर्दै आएको र अहिलेसम्म मुहार फेरिन नसकेको घर्तीमगरले बताउनुभयो ।   “हाम्रो क्षेत्रबाट धेरै नेताहरू सांसद हुनुभयो, केही त मन्त्रीसमेत हुनुभयो, तर निसेलढोरको विकास गर्नतर्फ ध्यान भने दिनुभएन, अहिलेसम्म यहाँका नागरिक अन्धकारमा बस्न बाध्य छन्, खानेपानीको राम्रो व्यवस्था छैन, सडक भए पनि गाडी चल्दैनन्”, घर्तीमगरले भन्नुभयो, “चुनाव त आयो भोट माग्न त यो ठाउँमा जसरी पनि आउँछन्, यसपालि जसले बिजुली ल्याइदिने प्रतिबद्धता जनाउँछ उसैलाई भोट दिने हो, अब पार्टी भन्ने हुँदैन, काम गर्नेलाई रोज्नुपर्ने भयो ।”   निसेलढोरमा कुँडे, मस, झुललगायतका गाउँ पर्छन् । यी कुनै पनि गाउँमा विद्युत्को पहुँच छैन । स्थानीय प्रेमकुमारी विकले चुनावका बेला गाउँमा स्वास्थ्य संस्था बनाउने आश देखाउने नेताहरू अहिले देखिन छाडेको भन्दै स्वास्थ्योपचारका लागि बुर्तिबाङ आउनुपर्ने बाध्यता रहेको बताउनुभयो । यहाँबाट बुर्तिबाङ पुग्न झण्डै १२ घण्टा लाग्छ । नेताहरूले अघिल्ला निर्वाचनमा बाटोघाटो, विद्युत्, खानेपानी, स्वास्थ्य संस्थाको निर्माण गर्ने बाचा गरे पनि अहिलेसम्म कुनै काम नगरेको विकले गुनासो गर्नुभयो ।   उहाँ भन्नुहुन्छ, “हामीहरू त चुनाव आउँदामात्रै चाहिँदा रैछौँ, अघिपछि हाम्रो कुनै वास्ता छैन, पहिला भएका चुनावमा भोट माग्न आउने नेताहरूले मोटरबाटो, बिजुली र घर–घरमा धारा बनाइने बाचा गरे तर जितेर गएपछि हाम्लाई फर्किएर हेरेनन्, यो ठाउँमा पाइलो पारेनन्, अहिले पनि चुनाव आयो रे, अब फेरि भोट माग्न आउँछन्, उनीहरूलाई यसपालि भोट नदिने विचार गरेँ, उनी ठूलो मान्छे बन्ने हामी गरिब दुःखीलाई झुक्याउने मात्रै गरे ।”   निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले आफू निर्वाचित भएर आएपछि निसेलढोरको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरेको बताउनुभयो । अध्यक्ष घर्तीमगरले स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले रु १५ लाख विनियोजनसमेत गरिरहेको बताउनुभयो ।   उहाँले विगतदेखि नै यो ठाउँ राज्यको नजरमा नपरेको भन्दै गाउँपालिकाको स्रोत र साधानले भ्याएसम्मको विकास गर्ने बताउनुभयो । ढोरपाटन नगरपालिका–९ बाट विद्युत् जडान गरी लैजानका लागि आवश्यक छलफल भइरहेको भन्दै केही समयमा यहाँका नागरिक उज्यालोमा बस्न पाउने बताउनुभयो । यहाँको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्ने उहाँका भनाइ छ ।   “यो ठाउँ भौगोलिक हिसाबले विकटमा त छँदैछ, त्यसमाथि ठूला नेताहरूको नजरमा कहिल्यै पर्न सकेन, हामीहरू त भर्खर निर्वाचित भएर आएका छौँ, यहाँका समस्या सबै बुझेका छौँ, गाउँपालिकाको स्रोत साधनले भ्यायसम्म विकास गर्ने प्रयत्न गर्नेछौँ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्नेछौँ, यहाँ स्वास्थ्य, शिक्षा, विद्युतलगायतका न्यूनतम विकास पनि हुनसकेको छैन, पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो ।”   यहाँका मतदाता भोट हाल्न पनि झण्डै एक दिन लगाएर निसीखोला –५ निसीमा आउनुपर्छ । कम जनसङ्ख्या भएको हुँदा निसेलढोरमै मतदान गर्न पाउने सुविधा छैन । स्थानीयले यस विषयमा पटक–पटक मागसमेत राखेका थिए ।

  लेखनाथ । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग रु एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी रु एक हजार पुगेको थियो  । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले  उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो ।       पोखरा महानगरपालिका–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन नभए पनि दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएकीमा भदौ र आसोज महिनामा उत्पादन गरिएको काँक्राले मात्र रु एक लाख आम्दानी गरायो । यसै महिनामा उत्पादन भएको सिमीले रु ५० हजार मुनाफा दियो । बजारमा  यतिबेला  सिमीको मूल्य प्रतिकेजी रु एक सय २० थियो । तीन रोपनी जग्गामा लगाइएको तरकारीबाट मासिक रु ३० हजार मुनाफा हुने गरेको कृषक मिजारले सुनाउनुभयो । उहाँको पति कुमार रोजगारीका लागि कतारमा हुनुहुन्छ, कतार गएको पनि तीन महिना मात्र भयो ।  स्याङ्जा आरुखर्कबाट पाँच वर्षअघि विवाह गरेर  भुम्दी आउनुभएकी अप्सराले गाउँका किसानले व्यावसायिकरुपले तरकारी खेतीबाट मनग्य आम्दानी गरेको देखेर उहाँ पनि तरकारी खेतीतर्फ आकर्षित हुनुभएको थियो ।  गाउँलेको तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको पाँच वर्ष भयो, यस अवधिमा उहाँले मासिक रु ३० हजार आम्दानी गरेर आत्मनिर्भर हुँदै आउनुभएको हो । अप्सराले भन्नुभयो, “तीन वर्षदेखि तरकारी खेतीको आम्दानीले नै परिवार पालिएको छ । यतिबेला भाडाको जमिनमा केराउका बेर्ना लगाइएको छ । यस गाउँमा व्यावसायिक कृषि सुरु भएको १८ वर्ष पुगिसकेको छ । एक सयभन्दा वढी किसानले तरकारी खेती गर्दै आएका छन् ।”  भुम्दीका अधिकाशं परिवारले तरकारी खेतीमै व्यस्त छन् । किसानको उत्पादन बारीबाटै बिक्री हुँदै आएको छ । अठार वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका ४९ वर्षीय श्यामु अधिकारीले नौ रोपनी जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ । छ रोपनी आफ्नै  र तीन रोपनी जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले प्रतिवर्ष रु नौ लाख मुनाफा गर्दै आउनुभएको छ । पछिल्लो समय तरकारीले बजार र मूल्य पनि पाउन थालेको छ । यहाँ उत्पादन भएको तरकारी पोखरा बजारमा बिक्री हुने गर्छ । आफूले पाँच जनाको परिवार तरकारीबाट नै पाल्दै आएको जानकारी दिँदै  श्यामुले भन्नुभयो– “यहाँका किसानलाई प्राविधिक ज्ञान र कोल्ड स्टोरको खाँचो छ ।”  किसानले गोलभेडा, काउली, सिमी, काँक्रो, साग, मुला, बन्दा, करेला, घिराँैला, धनियाँ, फर्सी, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन् ।”  कृषि फार्म सञ्चालन गर्दै आउनुभएका श्यामुले कुखुरा र भैँसी पालनसमेत गर्नुभएको छ । यतिबेला उहाँका बारीमा अन्नपूर्ण दामी र वाइट टप जातका काउली लहलह भएका छन् । बारीमा काम गर्दै गर्नुभएका उहाँले भन्नुभयो,  “सधै ओझेलमा पारेका  किसानको उत्पादनले बल्ल बजार र मूल्य पाउनु थालेको छ ।” गाउँमा कृषि  समूह बनाएर तरकारी खेती गर्ने थुप्रै किसान छन् ।  अर्का  तरकारी खेती  गर्दै आउनुभएका रमेश अधिकारीले भन्नुभयो, “माटोमा खेल्न सके सफल भइँदोरहेछ । चार पाँच रोपनी जग्गामा लगाइएको तरकारी खेतीको आम्दानीले एक परिवार सजिलै पाल्न सकिने रहेछ । कसैसँग ऋण माग्न जानु परेको छैन, दुई छाक खान र छोराछोरी पढाउन पनि पुगेको छ आवश्यक परेमा केही पैसा गोजीबाट निकाल्न पनि सकिने तरकारी खेतीले बनाइदियो ।”  सोही गाउँ निवासी ५५ वर्षीया किसान धनकुमारी गुरुङले आफू विवाह गरेर यहाँ आउँदा लोग्ने छोराले रक्सी पिउने र तासै मात्रै खेल्ने गर्थे, सडकसँगै तरकारीको व्यावसायिक खेती हुन थालेपछि अहिले गाउँमा जुवातास खेलेको देख्न  पाइँदैन, ७५ वर्षका वृृद्धवृद्धासमेत तरकारी बारीमा व्यस्त भएको देखिन्छ ।  गाउँमा तरकारीले अनौठो परिवर्तन ल्याइदियो उहाँले भन्नुभयो । किसानले उत्पादन गरेको तरकारी अवलोकनका लागि आइतबार बिहान  पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया, वडाध्यक्ष हिमलाल बरालसहित सञ्चारकर्मीको टोली त्यहाँ पुगेको थियो । अवलोकनमा आएका पाउनालाई उक्त गाउँका किसानले  यहाँका एक सय घरपरिवारले वार्षिक दुई करोडभन्दा बढीको तरकारी उत्पादन गर्दै आएको जानकारी दिए ।    तरकारी खेती अवलोकन गर्दै प्रमुख कडरियाले  यस गाउँबाट अन्य गाउँका किसानले पनि व्यावसायिकरुपले  तरकारीे खेती सिक्न जरुरी भएको बताउनुभयो । घरका मान्छे विदेश भए पनि र यहाँका बाझो जग्गा भाडामा लिएर पनि व्यावसायिक तरकारी  सुरु हुनु कृषिमा क्रान्ति भएको उहाँले प्रतिक्रिया दिनुभयो ।  वडाध्यक्ष बरालले तरकारीमा सिँचाइको लागि पानी अपुग भएमा थप स्रोतबाट पानी ल्याउनका लागि आफूले वडाको तर्फबाट पाइप उपलब्ध गराइदिने आश्वासन दिनुभयो । पुम्दी र भुम्दी दूध र तरकारी उत्पादनमा कास्कीमै अगाडि भएकाले यहाँका किसानलाई व्यावसायिक तालिमको व्यवस्था गर्नसमेत उहाँले कृषि महाशाखालाई आग्रह गर्नुभयो । 

परदेशी दाजुभाइको कस्तो होला अहिले हाल हाल राम्रो भए पनि नबिगार्नू आफ्नो चाल    पोखरा : स्वर्गीय सुवेदार इमानबहादुर तमुद्धारा लिखित ‘ लाहुरे दाई’को कविता संग्रह पोखरामा चर्चा गरिएको छ ।    म्हिकी कोने परिवार घान्द्रुक र लामा अमृत फाउन्डेशन घान्द्रुकको आयोजनामा स्वर्गीय तमुद्धारा प्रकाशित ‘लाहुरे दाई’ कविता संग्रह पोखरामा चर्चा गरिएको हो ।    २०७९ असोज २ गते  घान्द्रुक समाज हङकङको आयोजनामा उपाध्यक्ष आशा गुरुङको अध्यक्षतामा विमोचन गरिएको ‘लाहुरे दाई’ कविता संग्रह पोखरामा चर्चा गरिएको हो ।    स्वर्गीय तमुद्धारा प्रकाशित ‘देखेपछि लेखेँ’ ( कविता संग्रह २०७० ) र सरल ( कविता संग्रह २०७७ ) पछि हङकङबाट प्रकाशित डायस्पोरिक साहित्य पत्रिका साब्लाबुङको सम्पादक साहित्य विश्लेषक वरिष्ठ साहित्यकार राज कुमार राईको सल्लाह सझावमा कृति पुस्तको नाम ‘ लाहुरे दाई’ र साहित्य पत्रिका सुरप्रभा पोष्टका प्रकाशक सम्पादक वरिष्ठ साहित्यकार तथा गीतकार भावेश भुमरी तथा गीतकार विशु समको सहयोगमा ‘ लाहुरे दाई’ कविता संग्रह प्रकाशित भएको थियो ।    कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका १० का वडा अध्यक्ष गौतम गुरुङले साहित्यकार स्वर्गीय सुवेदार इमान बहादर तमु घान्द्रुकबासीका लागि अमर रहेको बताए ।    ‘ स्वर्गीय इमानबहादुर तमुको स्वर्गारोहन भएको २ वर्ष बित्न लाग्यो’ उनले भने, ‘उहाँ हामीमाझ नभएपनि समाज परिवर्तनमा गरेका सहयोग र उहाँको साहित्यले घान्द्रुक बासीका लागि मात्र नभएर सिङ्गो साहित्यको क्षेत्रमा अमर रहनुभएको छ ।’   यस्तै मेश्रम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिन गुरुङले स्वर्गीय ईमान बहादुर तमुद्धारा प्रकाशित ‘लाहुरे दाई’ कविता संग्रह विक्रीबाट आएको आम्दानी विद्यालयमा स्मृतिकोषमा राखिने बताए ।    ‘ स्वर्गीय सुवेदार तमु साहित्यकार मात्र नभएर एक असल समाजसेवी हुन्’ उनले भने,‘ स्वर्गीय सुवेदार तमले विद्यालयमा महत्वपुर्ण योगदान पु¥याउनुभएको छ । उहाँले प्रकाशित गर्नुभएका पुस्तक विक्रीबाट आएको आम्दानी विद्यालयमा उहाँको स्मृतिकोषमा राख्नेछौं ।’   २०११  कात्र्तिक ३ गते घान्द्रुकमा जन्मनुभएका सुवेदार तमुको २०७७ मंसिर २५ गते मृत्यु(देहाववसान ) भएको थियो । स्वर्गीय तमुले यस अगाडी देखेपछि लेखेँ ( कवितासङ्ग्रह २०७०) र सरल ( कवितासङ्ग्रह २०७७ कृति प्रकाशित गरेका छन् ।    ‘लाहुरे दाइ’ कवितासङ्ग्रह भावेश भुमरीको भाषा सम्पादन, राजकुमार राईको भूमिका र कवि सुवेदार इमानबहादुर तमुको लेखन र मैनाकुमारी तमुको प्रकाशनमा प्रकाशित भएको थियो ।    

  ताप्लेजुङ । ग्रामीण क्षेत्रमा तीनदशक अघि घर छेउकै मकैको थाङ्ग्रोको आकारबाट व्यक्तिको आर्थिक हैसियत मापन हुन्थ्यो ।  गाउँ घरमा कमै मात्र देखिए पनि मकैको थाङ्ग्रोले आर्थिक हैसियत मापन गरेको पाइँदैन । पछिल्लो समय मकैको थाङ्ग्रो राख्ने परम्परा लोप हुँदै गएको छ । मुख्य गरी विवाहको लागि केटी माग्न जाँदा होस् वा छोरी दिँदा, केटाको पक्षको आर्थिक हैसियत मकैको थाङ्ग्रोबाट मापन गरिन्थ्यो तर अहिले त्यसको ठीक उल्टो भएको छ । आर्थिक हैसियत मापन गर्ने विधि नयाँ आएको छ ।  यसको ठूलो मकैको थाङ्ग्रो त्यस घर धनी मानिन्थ्यो । अनि विवाहको तयारी सुरु हुन्थ्यो । अहिले विवाहको लागि केटी माग्न जाँदा केटाको पढाइ र पेसाको बारेमा सोधिन्छ र अनि मात्र विवाहको फैसाल गर्न थालिएको फुङ्लिङ नगरपालिका–३ केनेम गाउँका ८१ वर्षीय भगिरथ भट्टराईले बताउनुभयो । “हामीले छोराछोरीको विवाह गर्दा पनि मकैको थाङ्ग्रो हेरेर विवाह गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले नाती नातिनाको बिहे गर्दा पेसा, पढाइ सोध्न थालिएको छ । जसले पढेको छैन । विदेश गएको छैन । उसको बिहे नै नहुने जस्तो भएको छ ।” विगतमा मकैको थाङ्ग्रो भनेको जो कुनै घर परिवारको आर्थिक हैसियत पत्ता लगाउने माध्यम भएकाले जसको ठूलो थाङ्ग्रो छ । उसको धेरै जग्गा जमिन भएको धनी व्यक्ति मान्ने परम्परा रहेको भट्टराईले बताउनुभयो । अहिले समय परिवर्तन भएको छ । पहाडी क्षेत्रमा अझै पनि मकै भण्डारण गर्न आगनमा थाङ्ग्रो राख्न परम्परा लोप हुँदै गएको छ । प्रमुख खाद्यन्न बाली मानिने मकै ताप्लेजुङको पहाडी क्षेत्रमा सिँचाइ सुविधा नभएको धेरै जसो ठाउँमा मकै खेती गरिन्छ । विगतका वर्षहरुमा पहाडी क्षेत्रका प्रायः प्रत्येक किसानका घर आँगनमा अग्लो थाङ्ग्रो देखिन्थ्यो । विगतमा कति कोठाको मकैको थाङ्ग्रो लगाएको छ त्यो देख्न बित्तिकै परिवारको मेहनती, आर्थिक तथा सामाजिकरुपमा अवल परिवार मान्ने परम्परा रहेको पाथीभरा याङवरक गाउँपालिका–१ खेमराज गुरुङले बताउनुभयो । आँगनमा बाँस अथवा काठको माच बनाएर खोसेलासहितको मकैका घोगालाई मिलाएर राखेको थाङ्ग्रो भनिन्छ । फक्ताङलुङ गाउँपालिका–६ सन्तकुमार लिम्बूले भन्नुभयो, “पहिला पहिला बाबुबाजेले मकैकै थाङ्ग्रा देखाएर विवाह गर्नुभयो रे अहिले मकैको थाङ्ग्रो देखाएर छोरा नातिको बिहे हुँदैन । अहिले मकै खेती गर्न छोडदै गएको लिम्बूले बताउनुभयो । खासमा मकैलाई थाङ्ग्रो बनाएर राख्दा घामले चाँडै सुक्ने, धुनपुतली, मुसा नलाग्ने बैज्ञानिक कारण भएकाले थाङ्ग्रो लगाउने परम्परा रहेको छ । गाउँभरि देखिने मकैको थाङ्ग्रोले सुन्दरता दिएको हुन्छ । वर्षभरिका लागि अन्नको जोहो गरेको सङ्केत पनि प्रष्ट पाइन्छ । कसैका थाङ्ग्रो ठूला छन् त कसैका साना । कुनै समय थाङ्ग्रोको आकारले समाजमा आर्थिक हैसियत निर्धारण गर्दथ्यो । बिहावारीको फैसाला गर्ने एउटा माध्यम  मकैको थाङ्ग्रो पनि एक भएको स्थानीयको भनाइ रहेको छ ।  थाङ्ग्रो बनाएर मकै भण्डारण गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने यकिन जानकारी नभए पनि पूर्वी पहाडी जिल्लामा धेरै वर्षअघिबाट मकै खेती सुरु भएको इतिहास पाइन्छ । थाङ्ग्रो बनाएर राखेको मकै सुकेपछि जातोमा पिसेर च्याख्ला बनाई खाने र भुटेर खाजा खाने चलन छ । त्यही भएकाले सुरक्षित राख्न र बीउको संरक्षण गर्न थाङ्ग्रो बनाउने प्रचलन कायम छ तर त्यही थाङ्ग्रो आर्थिक हैसियत मापन गर्नेमध्ये अहिले पाइँदैन । जिल्लामा मकै बालीतर्फ चालु आवमा ५७ हजार नौ सय ८८ मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो । मकै १६ हजार एक सय ९८ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । गत वर्ष सोही क्षेत्रफल बराबरको खेतीबाट ५८ हजार तीन सय १२ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

  सुर्खेत । मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै सकेन । प्रदेशमा रहँदै आएका छाउलगायतका विभिन्न कुप्रथाले महिला हिंसा, बलात्कार र अकालमै ज्यान गुमाउने अवस्थाले विकाससँगै जनजीविकामा नकारात्मक असर पुर्याएको छ ।      छाउ प्रथा दुर्गम हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट डोल्पासहित सुगम मानिने दैलेख र सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि विद्यमान छ । छाउमा बसेको अवस्थामा किशोरी बलात्कृत हुने, सर्प तथा जङ्गली जनावरको शिकार हुने समस्या उत्तिकै छ । सुर्खेतमा छाउ बस्दा हालसम्म दर्जनौँले ज्यान गुमाएको भए पनि यकीन तथ्याङ्क भने कसैसँग छैन । सुर्खेतमा विभिन्न सरकारी तथा गैरसरकारी निकायको पहलमा छाउ भत्काउने अभियान थालिए पनि अहिले पुनःछाउ बनाउनेक्रम बढेको छ ।      विसं २०७६ मा गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न जिल्लामा छाउगोठ भत्काउने अभियान थालियो । यसअन्तर्गत कर्णालीमा एक हजार पाँच सय बढी छाउगोठ भत्काइएको प्रहरीको तथ्याङ्क छ । हालसम्म पनि कर्णालीमा करिब दुई हजारभन्दा बढी छाउगोठ रहेको बताइन्छ । कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरी महिनावारी भएका बेला छाउगोठमै बस्ने गरेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाएको छ ।        कार्यक्रम हुञ्जेल अभियान चले पनि कार्यक्रम सकिएपछि यो प्रथा अझै ज्यूँकात्यूँ छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका साथै कर्णालीका अन्य स्थानीय तहमा पनि छाउप्रथा अहिले पनि कायम छ । स्थानीय तहले पनि छाउपडी प्रथा उन्मूलन गर्ने भनिए पनि ठोस कार्यक्रम ल्याउन सकिरहेका छैनन् ।      छाउगोठ भत्काउने अभियान कर्णालीमा खासै सफल हुन सकेन । सफल होस् पनि कसरी रु जब मान्छेको मनभित्रको छाउगोठ भत्किएको छैन । छाउगोठ भत्काउनेभन्दा पनि जनचेतनाका कार्यक्रममा जोड दिनुपर्ने सुझाव सरोकारवालाको छ । अधिकारकर्मी वसन्त भण्डारी भन्नुहुन्छ, “सरकारले छाउगोठ भत्काउने अभियान पनि चलायो तर त्यसको अनुगमन गर्ने, त्यसबाट महिलाले भोग्नुपरेको समस्या आम मानिसमा जसरी लैजानुपर्छ तर त्यसो भइरहेको छैन । यसले गर्दा छाउप्रथा अहिले पनि कायम छ ।” भण्डारी जनचेतनासँगै छाउप्रथाविरुद्ध बनेका कानुन पनि कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुहुन्छ ।      छाउगोठ कर्णालीका विकट तथा दुर्गम क्षेत्रमा मात्रै नभई सुगम र विकसित ठाउँमा पनि छ । अन्य ठाउँको त कुरै छौडौँ, कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकामा समेत छाउ बार्ने चलन छ । मध्यपश्चिम विश्वविद्यालयमा कानुन सङ्कायमा अध्ययनरत विनिता बोगटी आफूले केही वर्षअघि अनुसन्धान गर्दा प्रदेश राजधानी वीरेन्द्रनगरमै १२ मा समेत छाउ प्रथा रहेको पाएको बताउनुहुन्छ । कर्णालीका दुर्गममा मात्रै होइन, सुगममा समेत यो प्रथा गजडिएको उहाँको भनाइ छ ।      यसको न्यूनीकरण गर्न कानुन नबनेका होइनन् तर कानुनको कार्यान्वयन हुन सकिरहेको छैन । बनेका कानुनको कार्यान्वयन र अझै कडा कानुन निर्माण गरी कार्यान्वयन गरे मात्रै यो प्रथा न्यूनीकरण हुने बोगटीको भनाइ छ । “छाउप्रथाविरुद्ध बनेका कानुनहरुको कार्यान्वयन गर्नुप¥यो, प्रदेश सरकारले जनचेतनासँगै नयाँ कानुन पनि निर्माण गरी लागू गर्नुपर्छ”, बोगटीले भन्नुभयो । छाउप्रथा वर्षौंदेखि जगडिएको प्रथा भएकाले यो एक वर्ष वा एकपटक अभियान चलाएर मात्रै नहुने सरोकारवाला बताउँछन् । यसको न्यूनीकरण गर्न स्थानीय सरकारले पाठ्यक्रममा नै राखेर विद्यालय तहमा पढाउन सुझाव उनीहरुको छ । नागरिक समाजका अगुवा पीताम्बर ढकालले निरन्तररुपमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै भन्नुभयो, “एक वर्ष वा एकपटक अभियान चलाएर मात्रै छाउप्रथा अन्त्य हुने म देख्दिन । यसको लागि निरन्तर चेतनामूलक कार्यक्रमहरु सञ्चालन हुनुपर्छ । त्यति मात्रै होइन, स्थानीय सरकारले आफ्नो स्थानीय पाठ्यक्रममा नै समावेश गरेर विद्यार्थीलाई छाउ प्रथा गलत मान्यता हो, भनेर पठनपाठन गराउनसके यो प्रथा उन्मूलन हुन सक्छ ।” बाटो खनेर, पुल बनाएर वा अन्य कुनै भौतिक संरचना निर्माण गरेर मात्रै विकास हुन्छ भन्ने मान्यता जबसम्म रहिरहन्छ तबसम्म कर्णालीमा यस्ता कुप्रथा कायमै रहने उहाँको तर्क छ ।      सामाजिक चेतना नभए विकास पनि सम्भव नहुने भन्दै नेतृत्वमा बस्नेहरुले यो विषयमा गम्भीर हुन आवश्यक रहेको सरोकारवालाको भनाइ छ । विसं २०७६ मा गृह मन्त्रालयले छाउप्रथा कायम रहेका सम्बन्धित जिल्लामा जिल्ला प्रशासनको नेतृत्वमा छाउगोठ भत्काउने अभियान चलाइएको थियो । त्यहीअनुसार सुर्खेत, दैलेख, कालीकोट, जाजरकोटलगायतका कर्णालीका जिल्लामा छाउगोठ भत्काउने अभियान थालियो । यसले नागरिकमा एकखालको चेतना वृद्धि पनि भएको थियो  तर अभियान अहिले भने सेलाएको छ । हाल जिल्ला प्रशासन आफैँले त्यस्ता केही कार्य गरेको देखिँदैन । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भन्नुहुन्छ, “गृह मन्त्रालयअन्तर्गत त्यस्ता कुनै काम नभए पनि स्थानीय तह र प्रदेश सरकारले समन्वय गरेका ठाउँमा अनुगमनमा पुग्ने गरेको बताउनुहुन्छ ।”     कर्णाली प्रदेशमा छाउप्रथा उन्मूलनका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट करोडौँको बजेट खर्च भएको छ । स्थानीय गैरसरकारी सङ्घसंस्थाले पनि यो प्रथा न्यूनीकरणका लागि थुप्रै कार्यक्रम गर्दै आएका छन् तर परिणाम भने गतिलो देखिँदैन ।      देश सङ्घीय संरचनामा गएपछि अहिले तीन तहका सरकार छन् । सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले नै छाउप्रथा उन्मूलनका लागि ठोस कार्यक्रम ल्याउन सकिरहेका छैनन् । विशेषगरी छाउप्रथा धेरै रहेको सुर्खेत पश्चिम क्षेत्रमा रहेका स्थानीय सरकारका प्रमुखहरु नै आफूहरुले ठोस कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्छन् । सुर्खेत बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारीले विगतको भन्दा यो प्रथा कम हुँदै गएको भन्दै पालिकाको तर्फबाट खासै केही कार्यक्रम नराखिएको बताउनुहुन्छ ।      उहाँ भन्नुहुन्छ, “विगतमा यो प्रथा धेरै समस्याका रुपमा थियो तर अहिले मानिसमा एक खालको चेतनाको स्तर उठेको छ, अहिले त्यति समस्याको रुपमा छैन । पालिकाको तर्फबाट पनि त्यस्तो कार्यक्रम केही ल्याएनौँ ।” चौकुने गाउँपालिकाले पनि यस कुप्रथाको अन्त्यका लागि कुनै ठोस कार्यक्रम ल्याएको छैन । गाउँपालिका प्रमुख लालबिर भण्डारी भन्नुहुन्छ, “हामीले यो प्रथाविरुद्धका त्यस्ता कार्यक्रम ल्याएका छैनौँ, केही संस्थाले यससम्बन्धी काम गरिरहनुभएको छ, हामीले त्यसमा केही सहयोग गरेका छौँ ।”     पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले भने छाउप्रथालगायतका अरु सामाजिक कुप्रथा उन्मूलनका लागि कार्यक्रम र बजेटको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष खड्क विक बताउनुहुन्छ । “हामीले छाउप्रथा मात्रै होइन, जातीय विभेद, महिला हिंसालगायत अन्य कुप्रथा उन्मूलनका लागि नीति कार्यक्रम र बजेटमै कार्यक्रम राखेर काम गरिरहेका छौँ”, भण्डारीले भन्नुभयो ।      सङ्घीयतापछि सञ्चालनमा रहेका तीनै तहका सरकारको पाँच बर्षे कार्यकाल पूरा भइसकेको छ भने स्थानीय सरकारमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी म।्सिर ४ गते हुँदैछ । निर्वाचनपछि नयाँ सरकार त बन्ला । तर बितेका पाँच वर्षको अवधिमा स्थानीय सरकारपछिको नजिकको सरकार प्रदेश सरकारले छाउप्रथा न्यूनीकरणको लागि थुप्रै काम गरेको दाबी गर्छ ।      कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले प्रदेश सरकारले विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको भन्दै विगतभन्दा धेरै परिवर्तन भएको दाबी गर्नुहुन्छ । मन्त्री विसीको निर्वाचन क्षेत्र छाउप्रथा धेरै रहेको सुर्खेतको पश्चिम क्षेत्र नै हो । उहाँ भन्नुहुन्छ, “मेरो क्षेत्रमा नै धेरै छाउप्रथा थियो, अहिले विस्तारै परिवर्तन भइरहेको छ, प्रदेश सरकारको तर्फबाट म मन्त्री हुँदा धेरै काम यो प्रथा न्यूनीकरणका लागि भएको छ ।”     अब आउने सरकारले पनि छाउप्रथाविरुद्धका कामलाई प्राथमिकता दिनुपर्ने मन्त्री विसीको सुझाव छ । “प्रदेश सरकार गठन भएको पाँच वर्षमा हामीले छाउप्रथाविरुद्ध धेरै काम गरेका छौँ, विषेशगरी यो प्रथाको विषयमा त मलाई धेरै कुरा थाह छ, महिला दिदीबहिनीको पीडा बुझेको छु, उहाँले भन्नुभयो, “हामी प्रतिपक्षमा हुँदा होस्, या सरकार पक्षमा हुँदा यो विषयलाई जोडतोडले उठाएका छौँ ।”     विद्यार्थीलाई जनचेतना अभिवृद्धि गर्न विभिन्न तालिम, महिला र पुरुषलाई समेत सहभागी बनाएर विभिन्न तालिम दिने काम प्रदेश सरकारबाट भएको मन्त्री विसीले बताउनुभयो । अहिले पनि समाजमा महिनावारी भएका महिलाले पुरुष सदस्यलाई छुन गाईबस्तु, फलफूलका बोटहरु, बालीनाली छुन, घर तथा भान्सामा प्रवेश गर्न, मन्दिर परिसरमा हिड्न धार्मिक तथा सामाजिक क्रियाकलापमा भाग लिन, दूध तथा दुग्धजन्य पदार्थ खान, पारिवारिक शौचालय, धारा प्रयोग गर्न विद्यालय जान तथा अन्य ठाउँमा जान नदिने गरिएको महिलाहरु बताउँछन् ।