तनहुँ: तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडा स्थित रिमाल अटो केयरमा कार्यरत विरम आलेको हत्या भएको छ । सोहि अटो केयरमा कार्यरत पूर्व कर्मचारी सर्लाही गौरीशंकर नगरपालिका–५ का २५ वर्षिय यन बहादुर चौधरीले शुक्रवार दिउँसो रड प्रहार गर्दा उनको मृत्यु भएको हो । रड प्रहारपछि घाइते भएका २४ वर्षिय आलेलाई दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा प्राथमिक उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालले जानकारी दिए । आले देवघाट–२ घर भई हाल दुलेगौंडामा बस्दै आएका थिए । रड प्रहार गर्ने चौधरीलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईको अर्यालले बताए
पोखरा: यहाँको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । ६२ समुहले विज्ञानका ती सामाग्री प्रर्दशनीमा राखेका थिए । सापकोटाका अनुसार दसैं–तिहारको लामो बिदामा गृहकार्य मात्र नदिएर विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन प्रोत्साहन गरेको बताए । ‘किताबी गृहकार्य मात्र दिएर बोझ बोकाउनु हुँदैन । विद्यार्थीमा भएका आन्तरिक क्षमता पनि बाहिर ल्याउनुपर्छ,’ सापकोटाले भने, ‘विद्यार्थीमा रहेको ज्ञान र आन्तरिक क्षमता बाहिर ल्याउन शैक्षिक संस्थाको पनि दायित्व हो ।’ प्रदर्शनीको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले उद्घाटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव साट्दै कुलपति गुरुङले विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए । ‘विद्यार्थीले आफुभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउनुपर्छ । अन्तरनिहित ज्ञानलाई भित्र लुकाएर राख्ने होईन,’ उनले भने । प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता विज्ञान प्रदर्शनीले विद्यार्थीलाई नयाँ कुरा सिक्ने अवसर दिलाउने बताए । ‘यो एउटा खोज पनि हो । विद्यार्थीले आफुभित्र लुकेको कुरालाई बाहिर ल्याउनुपर्छ । नयाँ कुरा सिक्नमा सधैं चाँसो दिनुपर्छ,’ पौडेलले भने, ‘यो मेहनतलाई आगामि दिनमा निरन्तरता दिनपर्छ । परिश्रम गर्नबाट कहिल्यै पछाडि हट्नुहुँदैन ।’ प्रदर्शनीमा सहभागि भएका विद्यार्थीको समुहबाट उत्कृष्ट समुहलाई पुरस्कृत गरिने निर्देशक सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार हरेक समुहमा ३ जना विद्यार्थी सहभागि छन् । उनीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामाग्री निर्माण गरेका छन् । उत्कृष्टमध्ये प्रथम हुने समुहले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । दोश्रो समुहले १५ र तेश्रो तथा चौथो समुहले ७ हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् । कार्यक्रममा सहभागि विश्वविद्यालय पदाधिकारी सहितका पाहुनाले विद्यार्थीले बनाएका सामाग्रीको अवलोकन गर्दै आवश्यक जानकारी पनि लिएका थिए । विद्यालयले ११ र १२ कक्षाका व्यवस्थापन विषयका विद्यार्थीका लागि शनिबार ‘व्यवसायिक योजना’ बारेको प्रस्तुती राखेको छ । यसमा ११ र १२ कक्षाका विद्यार्थीले एकअर्काबीच आफुले बनाएको व्यवसायिक योजना प्रस्तुत गर्नेछन् । पोखराको प्रतिभा माविमा शुक्रबार आयोजित विज्ञान प्रदर्शनीमा सहभागि विद्यार्थी ।
घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदै आउनुभएको छ । उहाँ डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत हुनुहुन्छ । अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आउनुभएको छ । बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उहाँ बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थाल्नुभएको हो । “मैले यतै आएर चलाउन सकेकी हुँ”, चालक अनिता बताउनुहुन्छ । “कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए”, उहाँले भन्नुभयो, “घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।” घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउनुहुन्थ्यो । उहाँसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउनुहुन्छ । निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उहाँको भनाइ छ । करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने हुनुभयो । तर उहाँसँग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिनुभयो । परीक्षमा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला हुनुहुन्थ्यो । “पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफ भए”, अनिता भन्नुहुन्छ । उहाँले त्यसपछि जागीरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गर्नुभयो । “ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो”, उहाँले भन्नुभयो, “विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।” अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ”, चालक अनिता भन्नुहुन्छ, “तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।” बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरु महिलालाई सल्लाह छ । निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ । “निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ”, अनिताले भन्नुभयो, “धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।” अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुनुहुन्छ । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तिर्ण गर्नुभएकी उहाँले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गर्नुभएको हो । कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थाल्नुभयो । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उहाँ सम्झिनुहुन्छ । “अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ”, अनिताले भन्नुभयो ।
पोखरा: मंसिर ४ गतेको चुनावी माहोल दिनप्रतिदिन बढीरहेको छ । मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई कात्तिक १७ देखि १ गतेसम्म चुनावी प्रचारप्रसार, जुलुुस, आमसभा गर्न अनुमति दिएसँगै चुनावी सरगर्मी बढेको छ । २०७४ को प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा नेकपा एमाले, माओवादी र जनमोर्चा सयुक्त बामगठबन्धन गरी निर्वाचनमा होमिए, दुईतिहाईसहित केही वर्ष स्थिर सरकार चलाए तर बाम गठबन्धन ५ वर्षपनि टिक्न सकेन । बाम गठबन्धन फुटेर अहिले पाँचदलिय गठबन्धन र केही जिल्लामा एमालेसहितका गठबन्धनसँगै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा जुटिरहेका छन् । सबैले आफु चुनाव जितेर गए देशसँगै आफ्नो क्षेत्रको विकाससँगै समृद्धको सपना बाँड्दै चुनावी प्रचारप्रसारमा लागेका छन् । तर राजनीतिक दलको हबिगत हेर्दा अहिले युवापुस्ताहरु भने सन्तुष्ट देखिदैनन् । यसैबीच, निर्वाचन विशेष समाचार रिपोर्टिङकोक्रममा भेटिइन पर्वत कुश्मा नगरापालिका ११ का सुमित्रा रिमाल । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन उनको पहिलो मतदानको अनुभव हो । उनले स्थानीय निर्वाचनमा पार्टी र कसैको सिद्धान्त नहेरी योग्य जनप्रतिनिधिलाई मतदान (भोट) दिएको बताइन् । उमेरले २५ वर्ष पुगेका रिमाल पोखरामा बस्दै आएकी छिन् । आफु शारीरिक अपाङ्गता भएका कारण आफुसँगै अपाङ्गता भएका नागरिकको पक्षमा र देशलाई समृद्ध बनाउने उम्मेदवारलाई मतदान गर्ने उनको योजना रहेको छ । यस्तै म्याग्दीको मालिका गाउँपालिका ३ स्थायी घर भएका मिलन पर्तेलसँग मतदान गर्न पाउने परिचय पत्र नभएका कारण मतदान गर्न नपाउने भए पनि योग्य व्यक्तिलाई मतदान गर्न सुझाव दिए । ‘म्याग्दी हिमाली जिल्लामा कायम भएपनि त्यही अनुसारको राज्यबाट नीति निर्माण र बजेट बिनियोजन हुन सकेको छैन’, उनले भने,‘ समर्ग म्याग्दी बासीको समस्यालाई समाधान गर्न सक्ने र जिल्लाको विकासमा विशेष ध्यान पुर्याउन सक्ने उम्मेदवारलाई मतदान गर्नुहोला ।’ बजार देखि गाउँको आगनसम्म चुनावी माहोलले तातिरहेको छ । कस्तो उम्मेदवारलाई विजयी बनाउने जिम्मामा मतदाताको हातमा रहेको छ । यस्तै दृष्टिविहिन सञ्जु रानाले भने दृष्टि बिहिन तथा शारीरिक अपाङ्गता भएको व्यक्तिको पक्षमा वकालत गर्ने उम्मेदवारलाई मतदान गर्ने योजना सुनाइन् । २७ वर्षीय राना स्याङ्जाका मतदाता हुन् । उनले आफै मतदान गर्न भने सक्दैन् कारण हो उनी दृष्टि बिहिन जसले गर्दा गएको बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा मतदान गर्न बाबाको सहयोग लिनुपरेको थियो । पोखराको पृथ्वीनारायण क्याम्पसमा शिक्षा संकायमा स्नातकोत्तर चौथो सेमेष्टरमा अध्ययनरत उनी योग्य र सक्षम नेतृत्व चुन्न मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुदैछिन् । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा ७४ को निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेका उम्मेदवार निर्वाचित भएका थिए । तर यस पटक यसै क्षेत्रका मतदाता सर्पन भुजेलले यस निर्वाचनमा फरक उम्मेदवारले जित्नुपर्ने तर्क राखे । ‘आफ्नो पक्षमा मतदान गर्न राजनीतिक पार्टीदेखि स्वतन्त्र उम्मेदवार घरदैलोमा आएका छन्’ उनले भने, अघिल्लो निर्वाचनमा जितेर गएका उम्मेदवारले सोजेजस्तो काम गर्न नसकेकाले फरक उम्मेदवारलाई मतदान गर्न पर्छ ।’
बागलुङ : अर्गली मगरको पुस्तैनी ‘भुस पोल्ने पर्व’ बुधबारदेखि सुरु भएको छ । ताराखोला गाउँपालिका-२ मा बर्सेनि यो पर्व मनाइन्छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको सम्झनामा सो पर्व मनाउने प्रचलन छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरहरूले पर्वको चलन बसालेको मानिन्छ । अर्गल खेलकुद विकास मञ्चका अनुसार आउँदो आइतबारसम्म विविध कार्यक्रमसहित पर्व मनाइनेछ । मञ्च परम्परागत भुस पोल्ने पर्वको संरक्षण र प्रवद्र्धनमा क्रियाशील छ । मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले हरेक वर्ष कात्तिक २४ देखि २६ गतेसम्म मुख्यरूपमा पर्व मनाउने चलन रहेको बताउनुभयो । मञ्चले यो वर्ष अघिल्लो दिनदेखि नै कार्यक्रम तय गरी पर्व मनाउन सुरु गरेको हो । मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले भुस पोल्ने पर्वलाई प्रकृति पूजाका रुपमा लिनुभयो । उहाँका अनुसार कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने काम हुन्छ । मकै बाली भित्राएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा पनि शङ्खुबारीमा पूजाआजा हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु ९मुल० घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ । पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी ९दुःख० उम्काउने चलन छ । २४ गते अघि जहिले मृत्यु भएको भएपनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्ष भरिनै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ । मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोशेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको समितिका सचिव घर्तीमगरले बताउनुभयो । पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्ने चलन छ । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिक स्वरुप मुल घर र बारीलाईसमेत शङ्खु भनेर चिनिन्छ । पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवतीहरु पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बिउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् । छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मीएका घरमा पुत्र बढाइँ सुरु हुन्छ । पुत्र बढाइँमा गोपीचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । पर्वका अवसरमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भइसकेको मञ्चले जनाएको छ । महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषवाण, रस्साकस्सीलगायत प्रतियोगितात्मक खेल पनि आयोजना गरिएको छ । सांस्कृतिक नाच र झाँकी पनि प्रदर्शन गरिनेछ ।
दमौली : तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा अघिल्लो मङ्गलबार साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । घर नजिक रहेको गोठबाट चितुवाले आक्रमण गर्दा आठ वर्षीय अभिनव कुँवरको ज्यान गयो । उनको शव घरभन्दा दुई सय मिटर टाढा जङ्गलमा फेला परेको थियो । बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा गत कात्तिक ४ गते चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भयो । बिहान ६ः३० बजे घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा बालिका चितुवाको आक्रमणमा परेकी थिइन् । एकै महिनामा भएका यी दुई घटना प्रतिनिधिमूलक मात्र हुन् । तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आतङ्क बढ्दै जान थालेको छ । घरआँगनबाटै बालबालिका चितुवाको सिकार हुन थालेपछि सर्वसाधारण त्रसित छन् । व्यास–१२ छिर्कनेका विष्णु पाण्डे घरछेउमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको बताउनुहुन्छ । पाण्डे भन्नुहुन्छ, “कतिबेला चितुवाले आक्रमण गर्ने हो भन्ने त्रास बढेसँगै साँझ पर्न थालेपछि मानिसहरुलाई घरबाहिर निस्कन डर हुन थाल्यो ।” मङ्गलबार साँझ आठ वर्षीय बालकलाई चितुवाले आक्रमण गरेको थाहा पाउनेबित्तिकै स्थानीयवासी दौडिए पनि बालकलाई बचाउन नसकिएको उहाँले बताउनुभयो । “चितुवाले आक्रमण गरेको थाहा पाउनेबित्तिकै पछिपछि दौडिँदै गएका थियाँै, तर बालकलाई बचाउन सकिएन,” पाण्डेले भन्नुभयो । व्यास–१२ सँगै सीमा जोडिएको बन्दीपुर गाउँपालिकामा विगत चार महिनामा चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बन्दीपुरमा अझै पनि चितुवाको त्रास कायमै छ । बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ भन्नुहुन्छ, “चितुवा नियन्त्रणका लागि चार/पाँच ठाउँमा खोर राखेका छौँ, तर पनि चितुवा नियन्त्रणमा आउन सकेको छैन ।” बन्दीपुरमा चितुवाको त्रासले बिहान झिसमिसे उज्यालो र साँझ परेपछि सर्वसाधारणलाई बाहिर ननिस्कन सचेतना जगाउँदै आएको श्रेष्ठले बताउनुभयो । विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए । तनहुँमा पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ । “यहाँ चितुवा र मानवबीच द्वन्द्व बढिरहेको छ, चितुवाको आक्रमणबाट बालबालिका सिकार भइरहेका छन्,” काफ्लेले भन्नुभयो, “चितुवाबाट बच्ने प्रमुख उपाय भनेको सतर्कता हो ।” चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न काफ्लेले आग्रह गर्नुभयो । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔं, झाडी सफा गरौँ, एक्लै नहिँडाँै,” काफ्लेले भन्नुभयो, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।” सञ्चारमाध्यमले पनि चितुवाको आक्रमणबाट बच्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको बताइन्छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराउँदै आएपनि चितुवा आक्रमण न्यूनीकरण हुन सकिरहेको छैन,” डिभिजन वन प्रमुख काफ्लेले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।” जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । “वन जङ्गलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ,” उहाँ भन्नुहुन्छ, “त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।” काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । सानो बच्चा साथमा भएको अवस्थामा, बुढो वा घाइते भई शिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको बताइन्छ । कार्यालयले चितुवा आक्रमणबाट बचाउन विभिन्न ठाउँमा चेतनामूलक कार्यक्रम पनि गरेको थियो । तर पनि चितुवाको आक्रमण रोकिन सकेको छैन । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिँदै आएको वन कार्यालयले जनाएको छ । चौध बालबालिकाले ज्यान गुमाए चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् । चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो । त्यस्तै २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको थियो । यसैगरी २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुप्रिम बगाले, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का ११ वर्षीया विना चेपाङ, कात्तिक १५ गते व्यास नगरपालिका–१२ का आठ वर्षीय अभिनव कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । एक सामुदायिक वन : एक पोखरी निर्माण डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्षमा विभिन्न १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । भानु नगरपालिकामा १२, देवघाट, ऋषिङ र बन्दिपुरमा एक÷एक, म्याग्दे गाउँपालिकामा दुई÷दुईवटा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशिराज पण्डित बताउनुहुन्छ । वनमा पानीको स्रोत मासिँदै गएपछि घरछेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो । नरभक्षी चितुवा मार्न प्रशासनको आदेश पछिल्लो समय तनहुँका विभिन्न ठाउँमा आतङ्क मच्चाएको नरभक्षी चितुवा मार्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुमति दिएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको बुधबारको पत्र तथा स्थानीय व्यक्तिहरुको निवेदन समेतका आधारमा प्रशासन कार्यालयले नरभक्षी चितुवा मार्न अनुमति दिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ (४) बमोजिम नरभक्षी चितुवा मार्न अनुमति दिने निर्णय भएको जानकारी दिनुभयो । लामो समयसम्मको प्रयासबाट समेत चितुवालाई नियन्त्रणमा लिन नसकिएको र मानिस तथा घरेलु चौपायामाथि निरन्तर आक्रमण भइरहने स्थिति भएकाले चितुवा मार्न अनुमति दिने निर्णय भएको अर्यालले बताउनुभयो । “त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीयवासीलाई जीउज्यानको सुरक्षाको अनुभूति दिलाउन हिंस्रक नरभक्षी चितुवा मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाउन अनुमति दिने निर्णय भएको छ,” अर्यालले भन्नुभयो । चितुवाको आक्रमणबाट मङ्गलबार साँझ व्यास नगरपालिका–१२ छिर्कनेमा आठ वर्षीय अभिनव कुँवरको मृत्यु भएको थियो । साथै बन्दीपुर गाउँपालिका–१, ३, ४ र ५ तथा व्यास नगरपालिका–११ र १२ मा गरी चितुवाको आक्रमणबाट पाँचजना बालबालिकाको मृत्यु तथा आठजना घाइते भएका छन् ।
पर्वत । जिल्ला ट्राफिक कार्यालय पर्वतले सडक सुरक्षाका लागि पर्वतको कुश्मा बजारमा जेब्राक्रसिङ बनाउने अभियान सञ्चालन गरेको छ । साविकको सदरमुकाम कुश्मा बजारभित्र सडक स्तरोन्नति भएसँगै सडकमा यात्रुलाईसमेत सहज रुपमा वारपार गर्नसमेत समस्या भएपछि ट्राफिक कार्यालय पर्वतको सक्रियतामा जेब्रा क्रसिङ बनाइएको हो । कुश्मा नगरपालिकाको सहयोगमा कुश्मा बजारभित्रका विभिन्न ६ स्थानमा ट्राफिक प्रहरीले जेब्राक्रसिङ बनाएको छ । विशेष गरी ग्रामीण क्षेत्रबाट सदरमुकाममा विविध काम लिएर आउने सर्वसाधरण बढी समस्यामा परेको गुनासो आएपछि जेब्रा क्रसिङ बनाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन न्युरेले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले विशेष गरी बढीजसो सेवाग्राही जाने कार्यालयको सम्मुख र विद्यालय क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेको छ । योसँगै पर्वतमा पछिल्लो समय ट्राफिक प्रहरीले सक्रियता बढाएपछि दुर्घटनासमेत न्यूनीकरण भएको छ । व्यवस्थित बसपार्क नहुँदा राजमार्गमा रोकेर राखिने गरिएका सवारी साधन स्थानीय तहको सहयोग र समन्वयमा ट्राफिक कार्यालय पर्वतले नै निर्माणाधीन बसपार्कमा अस्थायी रुपमा स्तरोन्नति गरी व्यवस्थापन गरेको न्यूरेले जानकारी दिनुभयो । पर्वतमा सञ्चालित साहसिक पर्यटकीय पूर्वाधारका कारण कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ । बढ्दो जनघनत्वसँगै सवारी दुर्घटनासमेत बढ्ने भएकाले सडक सुरक्षाका लागि जेब्राक्रसिङ अत्यावश्यक भएको प्रहरीको भनाइ छ ।
बलेवा । बागलुङ बजारदेखि जिल्लाको दक्षिण केन्द्र कुश्मिशेरा बजार पुग्न एक घण्टा समय लाग्छ । २१ किलोमिटर सडकमध्ये २० किलोमिटर सडक कालोपत्र भएको छ । पक्की सडकमा २१ किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ होला ? जो–कोहीलाई लाग्न सक्छ पक्की सडकको भाडा सरकारले तोकेबमोजिम नै हुन्छ, तर यो सडक खण्डमा गुड्ने सवारीले तोकिएको भाडाभन्दा दोब्बर भाडा उठाउँछन् । केही महिना पहिले यातायात व्यवस्था कार्यालयसँग परामर्श गरेर जैमिनी नगरपालिकाले नगरपालिकाभित्रका सडकको भाडादर कायम गरेर सूचना प्रकाश गर्यो । नगरको सूचनाअनुसार बागलुङ बजारदेखि कुश्मिशेरा बजारसम्म यात्रा गर्दा रु दुई सय १० मात्रै भाडा लाग्नुपर्ने हो । अधिकांश निजी सवारी गुड्ने यो रुटमा यात्रुले एकतर्फी चार सय भाडा तिर्दै आएका छन् । यो त एउटा उदाहरण मात्रै हो । सार्वजनिक सवारी एकाध मात्रै चल्ने र निजी बोलेरो जिपहरु धेरै चल्ने बागलुङका अधिकांश ग्रामीण सडकमा भाडाको समस्या एकै खालको छ । बागलुङका १० वटै स्थानीय तहका यात्रुले तोकिएको भाडा तिर्न पाएका छैनन् । घरघरमै सुविधा पु¥याउने भएकाले यात्रु भाडाको विषयमा खुलेर बोल्दैनन् । निजी सवारीलाई निरुत्साहित गर्दा सार्वजनिक सवारीको पहुँच नभएकाले अप्ठयारो पर्ने यात्रुहरु नै बताउँछन् । यात्रुले महङ्गो भाडा मात्रै तिरेका छैनन् उनीहरुको यात्रा जोखिमपूर्णसमेत छ । अधिकांश निजी सवारीसाधनले यात्रु बोक्ने गरेकाले दुर्घटना बीमा, उपचार सुविधा लगायतका सुविधा यात्रुले नपाउने यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापा बताउनुहुन्छ । कार्यालयले पछिल्लो समय अनुगमन गर्ने र निजी सवारीसाधनलाई यात्रु नबोक्न आग्रह गर्ने गरेको छ । “हामीले अनुगमन गर्दा यात्रु बोकेको भेटेपछि कि त सार्वजनिक यातायात बनाउने वा यात्रु नबोक्ने गर्न अनुरोध गरेका छौँ”, थापाले भन्नुभयो, “रातो प्लेट बनाउने र भाडा लिएर यात्रु बोक्नेहरु धेरै छन् ।” थापाका अनुसार बागलुङ जिल्लाभर चल्ने तीन सय ५० बढी पिकअप भ्यानमध्ये अधिकांश रातो प्लेट भएका छन् । “निजी सवारीले न त तोकिएको भाडा लिन्छन्, न त हामीलाई अनुगमन गर्न सम्भव हुन्छ”, थापा भन्नुहुन्छ, “व्यक्ति व्यक्ति पुगेर अनुगमन गर्न सकिँदैन्, त्यसैले सरकारले तोकिएको मापदण्डमा चल्नुस् भनेका छौँ ।” थापाले निजी प्रयोजनका लागि दर्ता गरेका सवारीले भाडाका यात्रु बोक्न निरुत्साहित गरिने बताउनुभयो । कार्यालयले जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, ट्राफिक प्रहरीसँगको सहकार्यमा अनुगमन र सचेतना थालेको छ । पहिलो चरणमा नियम विपरीत यात्रु बोकेका २७ वटा पिकअप भ्यानका कागजात कार्यालयले लिएको छ । “रातो प्लेटमा भन्दा कालो प्लेटलाई राजस्व पनि कम लाग्छ, सरकारको आँखा पनि पुग्छ, यात्रुको जीवनसँग खेलबाड गरेर किन निजी गाडीले यात्रु बोक्नु”, कार्यालय प्रमुख थापा भन्नुहुन्छ, “तत्कालै कम्पनीमा दर्ता भएर सार्वजनिक यातायातका रुपमा नआए वा रातो प्लेटमै यात्रु बोके कारबाही गर्छौं ।” निजी सवारीले यात्रु बोक्न रोक लागउने र ट्राफिक नियमको पूर्ण पालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी पनि सक्रिय रहेको छ । कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने, तोकिएभन्दा धेरै यात्रु बोक्ने कार्यमा सवारी चालकहरु सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले पनि निगरानी बढाएको हो । “हामीले नियमानुसारको कारबाही गर्छौं, निजी सवारीसाधनले यात्रु बोक्न पाइँदैन र बढी भाडा उठाउन पनि पाइँदैन्”, ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले भन्नुभयो, “यातायात व्यवस्था कार्यालयले निजीलाई सार्वजनिक सवारीमा रुपान्तरण गर्न सहजीकरण गर्ने छ ।” कच्ची र पक्की सडकमा भाडामा रहेको मनोमानी निजी सवारीले यात्रु बोक्न छोडेपछि स्वतः समाधान हुने केसीको विश्वास छ । विधि मिचेर व्यक्तिले निजी सवारीमा भाडा कायम गर्ने भएकाले समस्या भइरहेको केसीले बताउनुभयो ।
दाङ: दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले) का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुग्नुभएको थियो । बबई गाउँपालिकाको केन्द्र हापुरेबाट गङ्गटेको दूरी २४ किलोमिटरमात्रै हो । तर त्यहाँ पुग्न यी दुवै उम्मेदवारलाई करिब साढे दुई घण्टा लाग्यो । किनकि त्यहाँको सडकको अवस्था निकै दयनीय छ । एकपटक उम्मेदवार जितेपछि होस् वा हारेपनि अर्कोपटक त्यहाँ पुग्ने गरेका छैनन् । चुनावका बेला पुग्ने तर अन्य समयमा चासो नदिने भएपछि त्यहाँका नागरिकले असन्तुष्टि व्यक्त गरेका छन् । “चुनावका बेला नेताहरू आउनुहुन्छ, भोट हाल्न भन्नुहुन्छ”, स्थानीय उषा मगरले भन्नुभयो, “हामी भोट हाल्छौँ, तर जितेपछि फर्केर पनि आउनु हुँदैन ।” यी दुवै उम्मेदवारले अहिले भने गङ्गटेको विकासका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । जिते पनि, हारे पनि बीच–बीचमा गङ्गटे पुग्ने प्रतिबद्धता जनाएका छन् । गङ्गटेलाई दाङको कर्णालीका रूपमा पनि लिइन्छ । त्यहाँ पुग्न सडक सञ्जालको अवस्था नाजुक भएकै कारण आधा घण्टामा पुग्नुपर्ने त्यो सडकमा गाडीमा जाँदासमेत साढे दुई घण्टा लाग्ने गर्छ । त्यो सडकको ट्रयाक खोलेको १० वर्ष पुगेको छ । तर त्यहाँको सडक स्तरवृद्धि हुनसकेको छैन । अहिले पनि वर्षात्को समयमा आवतजावत ठप्प हुन्छ भने अन्य समयमा धुलाम्मे हुने गरेको छ । गङ्गटेमा कक्षा १० सम्म पढाइ हुने एउटा विद्यालय छ । त्यो भन्दा माथिको शिक्षा लिनका लागि कि त तुलसीपुर, कि नेपालगञ्ज जानुपर्ने अवस्था छ । “यहाँ उच्च शिक्षाका लागि एउटा क्याम्पस पनि छैन, कि त नेपालगञ्ज कि तुलसीपुर नै पुग्नुपर्ने अवस्था छ”, स्थानीय गम्बर रोकाले भन्नुभयो, “यहाँ क्याम्पस नहुँदा धेरै जना कक्षा १० पढ्ने र त्यसपछि पढाइ छाड्ने गरेका छन् ।” त्यहाँ खानेपानी समस्या पनि उस्तै छ । नजिकमा पानीका मुहान हुँदैनन् । टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्छ । खानेपानीका धारा ल्याउनका लागि पटक–पटक गङ्गटेवासीले माग गरे, तर ती माग सम्बोधन हुन सकेनन् । विद्युत्को त्यस्तै समस्या छ । गएको वर्ष बबई गाउँपालिकाले त्यहाँ विद्युत् पुगेको भनी उद्घाटन गर्यो । त्यो दिनमात्रै विद्युत् बल्यो, त्यसको अर्को दिनदेखि बल्न छाडेको त्यहाँका विद्युत् अहिलेसम्म पनि बलेन । गाउँ–गाउँमा विद्युत्का पोल गाडिएकै दुई वर्ष भइसक्यो, तर ती पोलमा तारसमेत जोडिएको छैन । पटक–पटक निर्वाचनका बेला त्यहाँ नेताहरू पुग्छन् । तर जिते पनि हारे पनि अर्कोपटक नेता त्यहाँ पुग्ने गरेका छैनन् । “हामीले यो भन्दा पहिले पनि धेरै नेतालाई जितायौँ, निर्वाचनका बेला गाउँमै आउनुहुन्छ”, स्थानीय उषा मगरले भन्नुभयो, “त्यसपछि एकैपटक अर्को चुनावमा मात्रै देखिनुहुन्छ ।” त्यहाँका बासिन्दाले पटक–पटक उम्मेदवारलाई सडक, विद्युत्कै माग राख्ने गर्छन् । तर लामो समय हुुँदा पनि उनीहरूका समस्या ज्यूँका त्यूँ छन् । त्यहाँको तीनतले भन्ने स्थानमा केही समयअघि टेलिकमको टावर निर्माण भयो । त्यही टावरले काम चलेको छ । त्यो भन्दा पहिले सञ्चारका हिसाबले पनि शून्य थियो । अहिले तीनतले टावरले काम गरिरहेको भए पनि प्रभावकारी नभएको भन्दै अझै अर्को टावर आवश्यक पर्ने स्थानीय श्याम केसीले बताउनुभयो । त्यहाँ स्वास्थ्यको पनि त्यस्तै समस्या छ । एउटा स्वास्थ्यचौकी छ, त्यसमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूला–ठूला उपचार गर्न पनि तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ । सडक नभएको अवस्थामा बिरामीलाई एक दिनभर बोकेर लैजानुपर्ने अवस्था हुन्छ । त्यहाँ बबई नदीमा तटबन्ध पनि छैन भने स्थानीय खोलामा पनि पुल बन्न नसकेको अवस्था छ । यसले पनि त्यहाँका नागरिकको जीवनस्तर कष्टकर छ । गङ्गटे विकट क्षेत्रमा भएपनि सडक पुगेपछि भने रमणीय ठाउँ छ । वरपर डाँडाकाँडा र बीचमा उपत्यका छ । बबई गाउँपालिका वडा नं १ मा पर्ने त्यो ठाउँमा मकै, धान, कोदो, तोरीलगायतका खाद्यान्न राम्रो उत्पादन हुने गर्छ । बबई नदी नजिक पर्ने भएकाले माछा मारेर पनि उनीहरूले जीवन निर्वाह गर्ने गर्छन्, वनजङ्गल पनि भएकाले दाउराको समस्या छैन । त्यहाँ ठूला–ठूला साललगायतका रुख सुकेर नष्ट भइरहेका हुन्छन् । तिनलाई निकासी गर्न कानुनीलगायतका समस्या भएपछि ती त्यसै सुकेर नष्ट हुने गरेका छन् । त्यहाँ पाँच हजारभन्दा बढी जनसङ्ख्यामा बसोबास छ । तर अधिकांश सुकुम्वासी छन् । त्यहाँको ३८ बिघा क्षेत्रफलमात्रै नापी छ । अरु सबै ऐलानी जग्गा रहेको छ । त्यहाँका यस्ता धेरै समस्या समाधान गर्न राज्यको ध्यान पुग्न नसकेको बताउँदै अबको पाँच वर्षमा देखिने खालका विकास गर्ने राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बताउनुभयो । “गङ्गटेको सोचेअनुरुप विकास गर्न सकिएको छैन, राज्यको ध्यान पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “अब हामीले पाँच वर्षभित्र यसको ब्याजको स्याज तिर्नेछौँ ।”