पोखराः घान्द्रुक समाज हङकङले अन्नपूर्ण संरक्षणकर्मी चिन्त बहादुर गुरुङलाई छैठौं ब्रेज मेश्रों अवार्ड प्रदान गरेको छ । घान्द्रुक (कोंड) क्होइबों धिं निर्माण सहयोगार्थ रकम हस्तातरणको अवसरमा अन्नपूर्ण संरक्षणकर्मी गुरुङलाई नगद रु २६ हजार ५ सयसहित छैठौं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको हो । ७२ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा ४२ वर्ष गरेको सेवाको मूल्याकङ्कन गर्दै छैठौं औं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङले बताए । उनका अनुसार यस अघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ र ललित गुरुङलाई सम्मान अर्पण गरिसकेको छ । सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले सरकारले विकासको लागि छुट्याएको बजेट दुरुपयोग नगर्ने बताए । ‘सामाजिक विकासबाट सरकारबाट विनियोजित रकम दुरुपयोग भएको सुन्न सकिन्छ’ उनले भने, ‘ घान्द्रुकको विकासका लागि सरकार तथा विभिन्न संस्थाहरुले गरेको आर्थिक सहयोग दुरुपयोग गर्ने छैनौं । विकासका लागि आएको बजेटको सदुपयोग गर्न उपभोक्ता समिति गठनको तयारीमा छौं ।’ सामाजिक विकासको लागि विभिन्न क्षेत्रमा आवद्ध रहेका समुदायले आर्थिक र भौतिक रुपमा सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरेका थिए । क्होइबों धिं निर्माणार्थ १० लाख ६० हजार सहयोग सो कार्यक्रमको अवसरमा घान्द्रकमा निर्माण हुन लागेको (कोंड) क्होइबों धिं निर्माण घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले आज (मंगलबार) घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरुङलाई १० लाख ६० हजारको हस्तारण गरेको हो । आर्थिक हस्तातरणपछि बोल्दै संयोजक गुरुङले सामाजिक सेवामा आर्थिक, नैतिक र भौतिक रुपमा गरिने सहयोगले समाजको माया बढेर जाने बताए । ‘विभिन्न देशविदेशमा घान्द्रकका समुदायहरु बसोबास गर्दै आएका छन्, उनले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्न समाजमा सहयोग अनिवार्य छ । समाजमा आर्थिक, नैतिक र भौतिक सहयोगले समाजको माया अझै बढेर जान्छ ।’ घान्द्रकमा स्थापना गर्न लागेको घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणमा गर्न ढिलाई भएको भन्दै गुरुङ फागुनमा शिलन्यास गरेर निरन्तर काम अगाडी बढाउने उद्घोष गरे । ‘चाँडै नै बनाउने तयारी हो तर नेपाल मात्र नभएर विश्व नै कोभिड महामारिले काम गर्न सकिएन अब फागुनबाट निर्माणको तयारी गछौं’ उनले भने । कार्यक्रममा घान्द्रुुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङ, बौद्ध अर्घौँ सदन रामघाटका अध्यक्ष भुवन गुरुङ, तमु प्हेलु संघका अध्यक्ष हितकाजी गुरुङ, क्होइवों धि निर्माण समितिका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष मिलन गुरुङको सभापतित्वमा सम्मन्न कार्यक्रममा कोषाध्यक्ष प्रेम गुरुङले सहयोग आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लामा अमृत फाउण्डेशन घान्द्रकका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।
धनकुटा: धनकुटामा शङ्कास्पद बस्तु फेला परेको छ । धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ९ को बेलहारामा रहेको प्रहरी कार्यालयको डेढ किलो मिटरमाथि शङ्कास्पद वस्तु फेला परेको हो । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गइसकेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । नेपाली सेना घटनास्थल पुगेपछि मात्र बम भए नभएको पुष्टि हुने उहाँले जानकारी दिनुभयो ।
बाजुरा: निर्वाचनको क्रममा बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर.७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिए। प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी ल्याइँदै छ।
रामेछाप: रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो । घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल रामेछाप उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण उनीहरुलाई काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हुम्ला: हुम्लाको सर्केगाड गाउँपालिका ३ को देवकोटा आधारभूत विद्यालय केन्द्रमा मतदान पुन:सुरु भएको छ । झडप भएपछि तनावपूर्ण बनेको उक्त केन्द्रमा मतदान सुचारु भएको हो । वारेसनामा विवादका कारण सत्ता गढबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । त्यसक्रममा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका थिए । उनीहरुको टाउकोमा चोट लागेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको थियो ।
रौतहट: रौतहटको दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिकामा स्थित मावी कनकपुरमा एक राउण्ड र गरुडा नगरपालिका स्थित प्रावि भवन अमरपटी बुथमा एक–एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले जानकारी दिएका छन् । जिल्लामा शान्ति पूर्ण अवस्था नरहेको प्रहरी प्रवक्ता मल्लले बताएका छन् । रौतहटको क्षेत्र नं–३ मा पर्ने कनकपुर मावीमा बुथ मित्र झडप हुन थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएका छन् । यता रौतहट क्षेत्र नं–४ मा पर्ने गरुडा नगरपालिका स्थित प्रावि भवन अमर पटी बुथमा मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले अवस्थगा नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बुझिएको छ ।
काठमाडौँ: चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिनुभयो । एमबिबिएस सकेर विवाह गरेकी उहाँको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो,उहाँको योजना पनि असफल हुदै गयो । उहाँले पढन् पाउनुभएन । कारण थियो, घरेलु हिंसा । विवाह भएको केही दिनदेखि नै श्रीमानले विभिन्न माग राख्दै घरेलु हिंसा गर्न सुरु गरेको र आफूलाई घरमै सीमित पारेको उहाँको भनाई छ । “सासुले विवाहको पहिलो दिनमै पुत्र भवः भन्दै आशिर्वाद दिनुभएको थियो, त्यसलाई मैले स्वभाविक रुपमा लिएँ”, उहाँले भन्नुभयो, “तर पछि भने उहाँले छोरा जन्माउन दबाब दिन थाल्नुभयो”, महिला आयोगका कर्मचारीसँग उहाँले भन्नुभयो । केही समयपछि श्रीमानले शारीरिक हिंसा पनि सुरु गरेको आयोगमा दिएको उजुरीमा उल्लेख छ । “घरमा काम गर्ने मान्छे हटाएर मलाई काम गर्न लगाइयो, शरीरमा तातो चिया हालिदिने र भ¥याङबाट धकेल्नेजस्ता शारीरिक हिंसा हुन थाल्यो”, उजुरीमा भनिएको छ । अहिले उहाँले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाडौँमा मुद्धा दर्ता गर्नुभएको छ । उहाँको जस्तै समस्या दोलखा घर भइ काठमाडौँ बस्ने ३४ वर्षे अर्की एक महिलाको पनि छ । उहाँले अंश नपाएको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिनुभएको छ । श्रीमान र छोरा दुबै बितेपछि परिवारले आर्थिक अधिकारबाट समेत बञ्चित गरेको उहाँका दुखेसो छ । प्रेम विवाह गरेकी उहाँले परिवारले सुरुदेखि नै नरुचाएको उहाँको भनाइ छ । विवाहपछि श्रीमानसँग काठमाडौँ आइ आफू सरकारी कार्यालयमा करारमा र श्रीमान व्यापारमा लागेको उहाँको भनाइ छ । तर सन्तान जन्मिएपछि भने श्रीमानसँगको सम्बन्ध पनि बिग्रदै गएको उहाँले उल्लेख गर्नुभयो । “हाम्रो वैवाहिक सम्बन्धमा तनाव सुरु भयो अनि श्रीमानले आत्महत्या गर्नुभयो, श्रीमान बितेको केही महिनामा छोरा पनि बित्यो”, उहाँले भन्नुभयो, “श्रीमान र छोरा दुवै गुमाएपछि जीविकोपार्जनका लागि श्रीमानले सञ्चालन गर्ने पसल मलाई दिइएन ।” पसलमा आफ्नो पनि लगानी रहेको भएपनि पसल अर्कैको नाममा दर्ता भएको हालै मात्रै थाहा पाएको उहाँको भनाई छ । “श्रीमानले बच्चाका लागि १५ लाख रुपैयाँ बचत गरेको बताउनु भएको थियो तर उहाँको मृत्युपछि त्यो रकम बैंकमा थिएन”, उहाँले भन्नुभयो, “अहिले परिवारले श्रीमानले पहिले नै अंशवण्डाका नाममा दुई लाख लिएको र बाँकी अंश छाडेको बताउँदै आएको छ ।” महिला आयोगको तथ्याङ्कअनुसार गत आवमा घरेलु र महिला हिंसाका एक हजार चार सय ६४ वटा उजुरी दर्ता भएका छन् । आयोगका अनुसार मानसिक हिंसाका एक हजार तीन सय ७४, आर्थिक हिंसाका एक हजार १२, शारीरिक हिंसा सात सय ६९ र यौनजन्य हिंसाका ९३ वटा उजुरी दर्ता भएका छन् । चालु आवको साउन महिनामा मात्रै एक सय ३० वटा हिंसाका घटना उजुरी भएकोमा ७७ वटा उजुरी आर्थिक हिंसाका छन् । भदौमा ९५ वटा हिंसाका घटनामध्ये ६० वटा आर्थिक हिंसाका उजुरी छन् भने असोज महिनामा ६० वटा हिंसाका उजुरीमध्ये ३९ वटा आर्थिक हिंसाका उजुरी छन् । आयोगका अनुसार कात्तिक महिनामा ६२ वटा हिंसाका उजुरीमध्ये आर्थिक हिंसाका उजुरी ४८ वटा छन् । आयोगकी प्रवक्ता चमिला भट्टराई सम्बन्ध विच्छेद गर्दा सम्पत्ति दिनुपर्ने डरले श्रीमान र परिवारले सम्पत्ति लुकाउने गरेको बताउनुहुन्छ । “श्रीमान र परिवारबाट हिंसा भएको गुनासो लिएर आउनुहुन्छ । परामर्श गर्दा कुरा नमिलेपछि सम्बन्ध विच्छेदसम्म पुग्छ”, उहाँले भन्नुभयो । “बुहारीमात्रै होइन छोरीलाई पनि सम्पत्ति दिनुपर्ने डरले जन्मदर्ता र नागरिकता नबनाउने परिवार छन्”, उहाँले भन्नुभयो । कानूनी सहायता र परामर्श केन्द्रकी (ल्याक) अनिता न्यौपाने अधिकांश घरेलु हिंसा र महिला हिंसामा आर्थिक पक्ष जोडिएको बताउनुहुन्छ । “परिवारमा महिला सदस्यलाई सम्पत्ति नदिन परिवारबाटै हिंसा हुन्छ । छोरी र बुहारीको पहिचान खुल्ने कागजात नबनाइदिनुको कारण पनि आर्थिक अधिकारबाट बञ्चित गराउनु हो”, उहाँले भन्नुभयो । विवाहित महिला मात्र नभइ ‘लिभिङ टुगेदर’ मा बस्ने महिलाहरु पनि आर्थिक हिंसामा परेका घटना आयोगमा आउने गरेको उहाँको भनाइ छ । “हालै मात्र लिभिङ टुगेदरमा बस्दै आएकी एक जना २७ वर्षे महिला आर्थिक हिंसाको उजुरी लिएर आउनुभएको छ । केटासँग विवाह गर्ने सर्तमा संयुक्त लगानीमा व्यवसाय सुरु गरेको तर केटाले ऋण जति उहाँको नाममा बाँकी राखेर छाडेछ ।” श्रमशक्ति सर्वेक्षण सन् २०१७/१८ का अनुसार श्रम क्षेत्रमा दुई करोड सात लाख जनसङ्ख्या छ । त्यसमा ५५ दशमलव छ प्रतिशत महिला छन् । साथै, महिलाका नाममा ३३ प्रतिशतको घरजग्गा छ । महिला अधिकारकर्मी रेनु साह कर छुट हुने भएकाले मात्रै महिलाका नाममा घर जग्गा राख्ने चलन बढेको तर भोगचलनमा भने अधिकार निकै कम भएको दाबी गर्नुहुन्छ । “आर्थिक रुपमा सशक्तिकरण नभएसम्म महिला अधिकारको विषय कोरा कागज जस्तै हो, उजुरी दिन जाँदा न्यायीयक प्रणाली सुस्त, खर्चिलो र झण्झटिलो छ”, उहाँले भन्नुभयो । लामो समयदेखि महिला अधिकारका विषयमा वकालात गर्नुभएकी अधिवक्ता मिरा ढुङगाना भन्नुहुन्छ आफूहरु कानून ल्याउन २२ वर्ष लडेको र कानून बनेपछि पनि कार्यान्वयन प्रभावकारी नभएको बताउनुहुन्छ । “कानूनमा महिलालाई सम्पत्तिको समान अधिकारको व्यवस्था छ तर सम्पत्तिमा आफनो समान अधिकार हुन्छ भन्ने चेत धेरै महिलामा नै छैन”, उहाँले भन्नुभयो । आर्थिक हिंसा भनेको के हो ? घरेलु हिंसा (कसुर÷सजाए) ऐन, २०६६ अनुसार आर्थिक यातना भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनु पर्छ । महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दबाब दिने वा दाइजो नल्याएको कारणबाट गरिने घुणा, हेला वा तिरस्कार समेतलाई जनाउँछ । संविधानको भाग ३ मौलिक हकअन्र्तगत धारा ३८ मा महिलाको हकको व्यवस्था छ । यस्तै मुलुकी देवानी संहिता, २०७४ मा अंशबण्डाको व्यवस्था छ । संविधानले नै पैतृक सम्पत्तिको हकमा लैंङ्गिक भेदभाव गर्न नपाइने, महिलाको पनि समान वंशीय हक लाग्ने सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक रहने व्यवस्था छ ।
म्याग्दी: गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस बगर गाउँका बासिन्दालाई मतदानका लागि तीनदिन छुट्टयाउनुपर्ने बाध्यता हटेको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा व्यवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो । यसपटक बगरको कैलाश आधारभूत विद्यालयमा नयाँ मतदान केन्द्र स्थापना भएको छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनअघिका चुनावमा मतदानका लागि तीन दिनको समय व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो । गाउँमै मतदान केन्द्र स्थापना भएपछि समयको बचत र सहज भएको स्थानीयबासी चित्रबहादुर तिलिजाले बताउनुभयो । “मतदान हुनुको अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुग्ने र भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्किएर त्यहीँ बास बस्नुपर्ने र हिँडेको तेस्रो दिन मात्र घर पुग्ने गरेका थिर्याँ,” उहाँले भन्नुभयो “यसपटक गाउँमै केन्द्र भएपछि सहज भएको छ । गाउँले खुसी भएका छन् ।” धौलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती सिमकोस गाउँमा ५० घरधुरीको बसोबास छ । साविक मुदी गाविस–९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र यसअघि मुदीको बुद्धिविकास मावि थियो । त्यहाँ जिल्लामा सबैभन्दा कम एक सय ५७ मतदाता छन् । गत स्थानीय तह चुनावमा ५० जनाले मतदान गरेका थिए । विसं २०५४ को स्थानीय चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयबासी मतदान केन्द्रमा जान सकेका थिएनन् । ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको थियो । पशु गोठमा बस्ने गोठाला प्नि मतदानबाट बञ्चित हुने गरेका थिए । नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर नौ घण्टा पैदल हिँडेर मतदान अधिकृत गिरिप्रसाद छन्त्यालको टोली बगर पुगेको छ । पहिलो पटक गाउँमै मतदान गर्न पाउँदा बगरबासी खुसी र उत्साहित भएका उहाँले बताउनुभयो । अपायक पर्ने र भौगोलिकरूपमा विकट बस्तीका लागि स्थानीय तह चुनावपछि आठ ठाउँमा नयाँ मतदान स्थल थपिएको थियो । म्याग्दीका एक सय २० वटा मतदान केन्द्रमा आइतबार हुने चुनावको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो । नौ सय ५६ कर्मचारी र दुई हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा परिचालित भएका छन् । छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार मतदाता छन् । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
रामपुर: निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोख्नुहुन्छ । गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घण्टाभन्दा बढी ९एकतर्फी० हिँडेर स्कुल पुग्न उहाँलाई सहज छैन । गाउँमै रहेको गोरखनाथ आधारभूत विद्यालयमा कक्षा ८ सम्मको शिक्षा लिनुभएका उहाँ कक्षा ९ देखि माथिल्लो तहको शिक्षा लिन दैनिक डेढ घण्टा हिँड्नुहुन्छ । दैनिक आउन जान गरेर तीन घण्टा पैदलमै खर्चिनुपर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चन नपाएको विद्यार्थी परियारको गुनासो छ । “गाउँमा मावि तहसम्म पढ्ने विद्यालय या टाढाको विद्यालयमा जान स्कुल बसको व्यवस्था भए सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “लामो समय हिँडेर विद्यालय पुग्दा थकाइ लाग्छ र पढाइमा धेरै समय दिन सकिँदैन, गाउँमै सहजरूपमा पढ्ने व्यवस्था हुनुपर्यो” । उहाँ घरबाट बिहान ८ बजे निस्कने र ४ बजे स्कुल छुट्टी भएर साँझ ६ बजे मात्रै घरमा पुग्नुहुन्छ । ट्युसन पढ्ने समयमा बिहान ५ बजे नै घरबाट निस्कनुपर्दा जाडोयाममा विद्यालय पुग्न गाउँको बाटो, जङ्गली जनावरको भय र जोखिम मोलेर जानुपरेको उहाँले बताउनुभयो । आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन यहाँका विद्यार्थीलाई अन्यत्र घण्टौँ हिडेर जानुपर्दा निकै समस्या छ । भिरपानीमा आधारभूत तहसम्म अध्ययन सकाएपछि यहाँका विद्यार्थीलाई माथिल्लो तहको शिक्षा लिन निकै पिरलो पर्छ । यहाँका विद्यार्थी मित्यालको गौरीशंकर मावि र धिर्जेमा रहेको जनप्रिय माविमा दैनिक डेढदेखि दुई घण्टा हिँडेर पढ्न जाने गरेको जनकल्याण आधारभूत विद्यालय खोप्लाकका शिक्षक धनबहादुर ठाडाले बताउनुभयो । “भिरपानी र धिर्जे दुई ठाउँमै बसोबास गर्ने परिवारका बालबालिका आधारभूत तह उत्र्तीण पश्चात् तल बेँसीमा झरेर पढ्ने गर्छन्, बेँसीमा बसोबास नहुने बालबालिका गौरीशंकर माविमै अध्ययनका लागि पुग्दछन्”, उहाँले भन्नुभयो । भिरपानीकै शर्मिला जर्घा गौरीशंकर माविमै कक्षा १२ मा अध्ययनरत छात्रा हुनुहुन्छ । गाउँका करिब एक दर्जन बढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि डेढ घण्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय पुग्ने गरेको उहाँ बताउनुहुन्छ । आधारभूत तहसम्मको शिक्षा गाउँमै लिनुभएकी उहाँ कक्षा ९ र १० सम्मको शिक्षा तल बेँसीमा रहेको जनप्रिय माविमा लिएको बताउनुहुन्छ । “गाउँमा राम्रो पढ्ने विद्यालय नहुँदा हामीले विभिन्न विद्यालयमा धाउनुपरेको छ, किताब कापी बोकेर दैनिक घण्टौँ समय लगाएर विद्यालय गई घर फर्कंदा थकाइले पढाएको कुरा नै झट्ट सम्झन सकिँदैन, हामीलाई गाउँमै बसेर पढ्ने वातावरण सम्बन्धित निकायले मिलाइदिनुपर्यो”, उहाँले भन्नुभयो । घरमा कहिलेकाहीँ कामको चटारो हुँदा सहयोग गर्नुपर्ने अवस्थामा टाढा विद्यालय भएकाले कक्षा छाडेर बस्नुपर्ने बताउनुहुन्छ, कक्षा १२ मा अध्ययनरत अस्मिता सोमै । विद्यालय टाढा हुँदा सधैँ विद्यालय आउने जाने कुराले नै चिन्तित बनाउने गरेको तिलमाया दर्जीको गुनासो छ । पढेर ठूलो मान्छे बन्ने सुन्दर सपना बोकेका विद्यार्थीहरू गाउँमै व्यवस्थितरूपमा उच्च शिक्षामा राज्यले लगानी गरिदिए विद्यालय आउनजान लाग्ने समय पढाइमा खर्च गर्न पाउने बताउँछन् । निस्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले कक्षा थप गर्ने कुरा उठिरहे पनि ग्रामीण भेगमा विद्यार्थी सङ्ख्या न्यून हुने भएकाले प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुहुन्छ । उहाँका अनुसार निस्दीभित्रका विद्यालयमा चलेका ९ देखि १२ कक्षासम्म न्यूनतम १८ देखि बढीमा ४० जनासम्म मात्रै विद्यार्थी भर्ना हुने गरेका छन् । निस्दीकै वडा नं १ मा रहेको एकमात्र मावि तहको विद्यालय राधाकृष्ण माविमा भोटाहा क्षेत्रका विद्यार्थी करिब डेढ घण्टा, २ को अंशुबर्मा मावि र बालहित माविमा सेरडाँडाका विद्यार्थी करिब ४५ मिनेट, वडा नं ४ को गौरीशंकर माविमा भिरपानी, लामेदमार, मुढाबास क्षेत्रका विद्यार्थी डेढदेखि दुई घण्टाको दूरी हिँडेर विद्यालय जान बाध्य छन् । निस्दी गाउँपालिकामा माविस्तरीय १२, आधारभूतस्तरीय १३ र प्राविस्तरीय २८ गरी जम्मा ५३ वटा सामुदायिक विद्यालय छन् ।