झापा: झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो । गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उहाँले बताउनुभयो । त्यस्तै, जिल्लामा आव २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।
पोखरा: सूचनाको हकका लागि पोखरा महानगरको वडा सञ्जाल विस्तार अभियान अन्तर्गत ६ नं वडा सञ्जाल विस्तार एव प्रशिक्षण कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले वडाभित्र भए गरेका सार्वजनिक काम कार्यको सूचना माग्न आउने जो कोहीलाई पनि सूचना दिन वडा सधैं तत्पर रहेको र यसले वडाका जनप्रतिनिधिहरूलाई जनताप्रति उत्तरदायी रहन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गरे । वर्तमान राजनिति परिवर्तनको राजनिति भएकाले समाज र राष्ट्र भ्रष्टचार मूक्त अभियान तर्फ उन्मुख रहेको बताउदै अध्यक्ष भट्टराईले सूचनाको हकले समग्र नेतृत्व पंतिलाई नै खबरदारी गरिरहेकोमा अभियन्ताहरूको प्रशंसा समेत गरेका थिए । सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका उपाध्यक्ष शिवराज बस्ताकोटी शिव दाईले वडा नं ६ का टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सूचनाको हक सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रममा महिला वडा सदस्य पवित्रा थापा, टोल विकास संस्थाका प्रतिनिधिहरू जुना अधिकारी र सुशिला वाग्लेले सूचनाको हकको विषयमा बोलेका थिए । सञ्जालले दुर्गा प्रसाद तिमिल्सीनाको संयोजकत्वमा १६ सदस्यीय वडा सञ्जाल समेत गठन गरेको छ । नव गठित सञ्जालमा माधव पहारी, भिष्मा नेपाली, बुद्धिनाथ पाण्डे, रामेश्वर न्यौपाने, सुशिला वाग्ले, रेणु लामिछाने, जुना अधिकारी, नविन त्रिपाठी, आविस्कार तिमिल्सिना, कबिन नेपाली, शंकर तिवारी, मुक्तिराज रेग्मी, पशुपति तिमिल्सिना, दिलिप आचार्य, बिष्णु देवकोटा र धनेश थापा रहेका छन । सूचनाको हकका लागि पोखरा महानगरका अध्यक्ष अनिल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिका आचार्य सुवेदी र कार्यक्रम सञ्चालन संस्थाका सचिव सागर कार्कीले गरेका थिए ।
पोखरा: इ.अ.स पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखरामा शनिबार पूर्वविद्यार्थीसँग पुर्नमिलन कार्यक्रम (२०७९) सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनद्धारा स्थापनाकालदेखि अहिलेसम्म क्याम्पसमा अध्ययन गरेका सम्पूर्ण विद्यार्थीहरूसँग पुनर्मिलन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा पूर्वविद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस तदर्थ समितिका सचिव उमेश रुपाखेतीले पूर्वविद्यार्थी मञ्चका लागि विधान तयार गरी जिल्ला प्रशासनमा ‘पूर्व विद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस’ दर्ता प्रक्रियालाई अघि बढाएकोमा आफूहरू हर्षित रहेको जानकारी गराउनु भएको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख ई. सुरेश तिमिल्सिनाले क्याम्पसका गतिविधिहरू र भावी कार्ययोजनाका बारेमा गहन प्रस्तुति दिनुका साथै देशका विभिन्न क्षेत्रका नीति निर्माता, सफल व्यवसायी तथा प्राविधिकका रूपमा रहेका पूर्वविद्यार्थीहरू क्याम्पसलाई गतिशील गराउने गौरवका आधार भएको वताउनु भयो । क्याम्पसका पूर्वविद्यार्थी उर्जा सचिव श्री रामकुमार श्रेष्ठ र ई. दामोदर तिवारीको पहलमा क्याम्पसको नवनिर्मित भवनमा २० किलोवाटको सोलार उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकारको सहयोग प्राप्त भएको, त्यसैगरी पूर्वविद्यार्थी ई.राम पराजुली, ई. सोभियत खड्काको पहल तथा पूर्वविद्यार्थी निवर्तमान भौतिक योजना तथा सहरी विकास पुर्वाधारमन्त्री कुमार खड्काको सहयोगमा क्याम्पसको सिभिल एकेडेमिक ब्लकको मल्टिमिडिया हल निर्माण कार्य भइरहेको तथा पूर्वविद्यार्थीहरू ई.धुब्र भट्टराई र ई.नविन गौतमको पहलमा क्याम्पस परिसरभित्र ओपन जिम निर्माण कार्य पोखरा महानगरपालिकाको सहयोगमा सम्पन्न भएकाले सम्बद्ध सबैप्रति क्याम्पस परिवार आभारी रहेको वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान माननीय मन्त्री कुमार खड्काले यस क्याम्पसमा आफूले अध्ययन गर्दाको समयभन्दा अहिले क्याम्पस स्तरोन्नति भई नयाँ नयाँ कार्यक्रमहरू थपिएकाले आवश्यकताहरू पनि बढ्दै गईरहेको वताउनुभयो । त्यसैले गर्दा पनि क्याम्पसमा अध्ययन सम्पन्न गरेर कार्यक्षेत्रमा लागेका विद्यार्थीहरू आफैले मनन् गरी क्याम्पसलाई आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मलप्रसाद बरालले क्याम्पसका लागि अत्यावश्यक भौतिक पूर्वाधारको विकासमा पूर्वविद्यार्थीहरूको अविस्मरणीय योगदान रहँदै आएको र आगामी दिनहरूमा पनि साथ सहयोग आवश्यक रहने वताउँदै उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । क्याम्पस प्रमुख बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलेक्ट्रोनिक्स तथा कम्प्युटर विभागका उपप्राध्यापक होमनाथ तिवारीले स्वागत् मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्याम्पसका पुर्वविद्यार्थी तथा सिभिल विभागमा कार्यरत उपपा्रध्यापक नारायणप्रसाद दवाडीले गर्नुभएको थियो ।
पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर मुल थलो भएका बरेली पौडेलहरूको यही मङ्सिर २२ गते हुने धान्यपूर्णिमाका दिन हुने कुलपूजाका लागि विभिन्न उपसमिति गठन गरिएको छ । बर माझथरको सिलिङ्गेमा शनिबार सम्पन्न बरेली पौडेल वंश तथा कुल पूजा व्यवस्थापन समितिको बैठकले कुलपूजालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेको समितिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूजा सञ्चालन तथा पूजा सामाग्री व्यवस्थापन समितिको संयोजकमा पिताम्बर पौडेल, सह संयोजकमा शंकरप्रसाद पौडेल, सदस्यहरूमा चर्तुभुज शर्मा पौडेल र पशुपति पौडेल रहनुभएको छ । अभिलेख तथा सचिवालय उपसमितिमा संयोजक कमलप्रसाद पौडेल र सदस्यहरूमा शान्ति पौडेल(पाध्या), दण्डपाणि पौडेल, प्रकाश पौडेल र विष्णुहरि पौडेल हुनुहुन्छ । पूजा मण्डप, आवाशस्थल र साउन्डसिष्टम व्यवस्थापन उपसमितिमा संयोजकमा दामोदर पाध्या, सहसंयोजक नरहरि पौडेल र सदस्यहरूमा सुनिल पौडेल, मदन पौडेल र कृष्ण पौडेल रहनुभएको छ । प्रसाद तथा भान्छा व्यवस्थापनमा संयोजकमा श्रीलाल पौडेल, सह संयोजकमा कमलप्रसाद पौडेल र सदस्यहरूमा किरण पौडेल, सुदन पौडेल हुनुहुन्छ । समान ढुवानी तथा यातायात व्यवस्थापन उपसमितिमा संयोजक हरिराम पौडेल र सदस्यहरूमा दीपक पौडेल र नरहरी पौडेल हुनुहुन्छ । मन्दिर सरसफाई तथा मर्मत उपसमितिमा टेकनाथ पौडेल पौडेलको संयोजकत्वमा रवि पौडेल, इन्दिरा पौडेल, शान्ति पौडेल र सविता पौडेल सदस्य हुनुहुन्छ । मन्दिर सरसफाई तथा मर्मत आगामी मङ्सिर १७ गते शनिबार विहान १०.०० बजे गरिने उक्त अवसरमा जानकारी गराइयो । कूलपूजाको प्रचारप्रसारका लागि यस अघिको बैठकले वासुदेव पौडेलको संयोजकत्वमा दण्डपाणि पौडेल र दामोदर पाध्या रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरेको थियो । कुलपूजामा बरेली पौडेल बन्धुबाटै महागरुड पुराण पारायण गर्ने निर्णय समेत गरिएको सचिव कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । बरेली पौडेल बंश तथा कुलपूजा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षता एवम् सचिव कमलप्रसाद पौडेलको सञ्चालनमा भएको बैठकमा सल्लाहकार एवम् सदस्यहरू तीलकराम पौडेल, सोमनाथ पौडेल, प्रा. चतुर्भुज शर्मा पौडेल, पिताम्बर पौडेल, शंकरप्रसाद पौडेल,रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, किरण पौडेल, पशुपति पौडेल, दामोदर पाध्या, श्रीलाल पौडेल लगायतले विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
मलेखु: अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ हाँसेबजारस्थित माइथानबेंसी सारिदाको यसरि तामझामसित सारिन्छ । भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो । अझ रोचक त के छ भने बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पनि नपाइने परम्परा छ । भगवती माइको दर्शनका लागि बाटो कुरेर बस्नुभएका स्थानीय कृष्णबहादुर थापाले भन्नुभयो, “पहिलेदेखिकै परम्परा यही हो । भगवानलाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षेता चडाउने हो ।” देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो ढुकेर बसेका थिए । मुर्ति देख्न र छुन नपाएपनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गरिरहेका थिए । वडा दसैँको चतुर्थीको दिनपूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाँघी घर आगिञ्चोक हाँसे बजार मन्दिरमा सारिएको हो । रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरा सुन्दरी भगवतीमाइको मूर्तिलाई पिँठ्युमा बोकेका थिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिनाबाहेक अरु कसैले हेर्न र छुन नपाउने परम्परा छ । यी तीन जातीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम छ । यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूल अक्षेताले पूजा गर्ने स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताउनुभयो । विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईंलाई तुलना गरिएको छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरका रुपमा प्रसिद्ध छ । स्थानीय पुजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिञ्चोक गाविसस्थित बेंसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीका रुपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ । मङ्सिर महिनाको विशेष तिथि पारेर आइतबार गाउँको मन्दिरबाट बेंसीको मन्दिरमा भगवतीलाई ल्याइँदै गर्दा भक्तजनले बाटोमा नै भगवतीको दर्शन र पूजापाठ गरेका थिए । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । “प्रत्यक वर्ष मेला हेर्न आउँछौँ, तर छुन हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो, हामी यो परम्परा बदल्न सक्दैनौँ”, मेला हेर्न आउनुभएकी अप्सरा खड्काले भन्नुभयो । नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आशीर्वाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । तर भगवतीको माइतीका रुपमा परिचित माइथानबेंसीको मन्दिर राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित बन्ने भएको छ । सरकारले व्यवस्थित ढङ्गबाट स्थानान्तरण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम धादिङबेंसीबाट ४० किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँलगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिँठ्युमा बोकेर करिब तीन घण्टाको पैदल दूरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माइथानबेंसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।
बागलुङ: बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् । औँसा किराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्न लागेका हुन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका कृषक फल झरेपछि मर्कामा परेका छन् । बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर भुइँमा झरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोपबहादुर खड्काले बताउनुभयो । “बर्सेनि समस्या बढ्दै आएको छ र्आँसा किराका कारण सुन्तला उत्पादनमा केही कमी आउने देखिएको छ”, उहाँले भन्नुभयो, “झरेका सुन्तलाको सही व्यवस्थापन गर्न नसक्दा बर्सेनि यस्तो समस्या आइरहेको छ ।” सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा किराको प्रकोट देखिएपछि कृषि ज्ञानकेन्द्रले कृषकको बगैँचामा पुगेर त्यसको अध्ययन तथा रोकथाम र व्यवस्थापनबारे सचेत गराएको केन्द्र प्रमुख भट्टराईले बताउनुभयो । औँसाको जीवनचक्र अध्ययन गर्न ज्ञानकेन्द्रले प्लाष्टिकको बोतलमा माटो हालेर त्यसमा औँसा राखेको छ । माटोमा राखेको छ दिनमा प्युपाबाट लार्भा भएको र कुन समयमा विषादी प्रयोग गर्दा औँसा बढीभन्दा बढी मार्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाभर समस्याकै रुपमा सुन्तलाखेतीमा फैलिएको औँसाको नियन्त्रणका लागि एक÷दुई जना कृषकले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या देखिएको अभियानकैरुपमासञ्चालन गर्नुपर्नेमा कृषकहरुले जोड दिए । सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमो यो रोगको सङ्क्रमण फैलिएको छ । बोटबाट रोग सङ्क्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थितरूपले व्यवस्थापन गर्न आवश्यक रहेको कार्यालय प्रमुख भट्टराईको भनाइ थियो । झरेका दानामा भएका औँसालाई माटोमा हुर्कंन नदिन दाना टिपेर प्लाष्टिकको झोलामा पोको पारेर राख्नुपर्ने हुन्छ । बागलुङको सिगाना, तित्याङ, बिहुँ, भकुण्डे र सर्कुवालगायत स्थानमा सुन्तला बढी उत्पादन हुन्छ ।
डोल्पा: डोल्पा अस्पतालमा जटिल खालको शल्यक्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा सदरमुकाममा दुई वर्षदेखि मजदूरी गर्दै आउनुभएकी कमला विकको सफल शल्यक्रिया गरिएको हो । पाठेघरको नलीमा बच्चा बसी,नली फुटेर पेटभित्र रगत जमेपछि उक्त समस्याको लागि डोल्पामै पहिलो पटक शल्यक्रिया गरिएको डा अखण्ड उपाध्ययले बताउनुभयो । यस्तो खालको शल्यक्रिया तत्काल नगरे आमाको ज्यान जोखिममापर्ने सम्भावना बढी हुने डा उपाध्ययको भनाइ छ । ‘एक्सप्लोरेट्रि ल्याप्सटोमि’ को शल्यक्रिया डोल्पामा पहिलो पटक भएको उहाँको भनाइ छ । डाक्टर उपाध्ययले भन्नुभयो, “पेट खोलेर पाठेघर भन्दा बाहिर पाठेघरको नली फुटेको पत्ता लगाइ, त्यो फुटेको भाग मिलाएर पेटमा जम्मा भएको रगत सफा गर्ने कामलाई एक्सप्लोरेट्रि ल्यापारोटोमी भन्ने गरिन्छ ।” बिरामीलाई समयमा जिल्ला बाहिर सिफारिस गरेमा पनि तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याउन मुस्किल हुँदै आएको छ । जुफाल विमानस्थलमा जहाज नियमित नआउने भएकाले पनि बिरामीले भनेको समयमा उपचार पाउन पाउँदैनन् । रगतको अभावमा जिल्लास्थित सुरक्षाकर्मीको सहयोगमा रगत दिने काम हुँदै आएको डा उपाध्यायले जानकारी दिनुभयो ।
कञ्चनपुर: दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनु भएको छ । गत वर्ष उहाँले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव रु डेढ लाख आम्दानी गर्नुभयो । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले रु तीन लाख ५० हजार आम्दानी गर्नुभएको छ । थोरै मिहिनेतमा धेरै आम्दानी हुने भएकाले भटमास खेतीलाई निरन्तरता दिदै आएको घिमिरेले बताउनुभयो । भारतको पन्तनगरबाट भटमासको बीउ ल्याएर यस क्षेत्रका किसानले भटमास खेती गर्दै आएका छन् । “भटमास खेतीका लागि माटो उयुक्त छ” अर्का किसान महेश घिमिरेले भन्नुभयो, “आधुनिक तरिकाले भटमास खेती गर्नका लागि किसानलाई तालिमको आवश्यकता छ, किसानको क्षमता वृद्धि भए उत्पादन बढाउन सकिन्छ ।” उहाँका अनुसार दोधारा चाँदनी भटमास खेतीको हवका रुपमा विकसित भैरहेको छ । यहाँ उत्पादन हुने भटमास नेपालगञ्ज र धनगढीका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । भटमास खेतीमा सम्लग्न किसान दीपक सापकोटाका अनुसार यो खेती गर्दा त्यतिधेरै सिचाईको आवश्यकता पर्दैन । “गाईबस्तुले भटमासका विरुवा खादैनन्” उहाँले भन्नुभयो, “छाडा चौपायाले खाने समस्या हुदैन, थोरै गोडमेलले पुग्छ, थोरै परिश्रममा धेरै उत्पादन हुनाका साथै मनग्य आम्दानी पनि यस खेतीबाट लिन सकिन्छ ।” तीन वर्षदेखि भटमास खेती गर्दै आउनुभएका सापकोटाले प्रति वर्ष रु दुई लाखभन्दा बढीको भटमास बिक्री गर्दै आउनुभएको छ । “भटमास खेती पहाडी क्षेत्रमा मात्रै हुने गरेको थियो” दोधाराकै किसान हरिनारायण तिवारीले भन्नुभयो, “निकटबर्ती क्षेत्रका भारतीयहरुले भटमास खेती गरेको देख्यौँं र त्यसकै अनुसरण गर्दै परीक्षणका रुपमा खेती गर्न लाग्यौँ, उत्पादन राम्रो भएपछि यसलाई निरन्तरता दिदै आएका छौँ ।” दोधारा चाँदनीमा करिव सय बिघा जग्गामा भटमास खेती हुने गरेको छ । भटमास काट्न र चुटनका लागि स्थानीय किसानले उपकरणको प्रयोग गर्ने गरेका छन् । फल र पातमा रोग किराको प्रकोप देखिने भएकाले तीनदेखि चार पटकसम्म बिषादी छर्कनु पर्ने अबस्था रहेको किसान तिवारीले बताउनुभयो । रोग तथा किरा रोकथामका लागि सल्लाह र सुझाव लिन भारतीय प्राविधिकको भर पर्नुपर्ने उहाँको भनाइ थियो । भटमासबाट तेल र सोयाविन बन्ने गरेको छ । भटमास प्रतिकिलो रु एक सयका दरले बिक्री हुने गरेको छ । भटमास खेतीमा सम्लग्न किसानले सुदूरपश्चिम क्षेत्रमै भटमासबाट सोयाविन र तेल निकाल्ने उद्योगको माग गर्दै आएका छन् भटमासलाई बहुउपयोगी कोशेवालीका रुपमा लिइने गरिन्छ । घरमा भटमासको गेडा भुटेर, अचार बनाएर, उसिनेर खाने गर्नाका साथै दालका रुपमा प्रयोग गरिँदै आइएको छ । कृषि प्राविधिक करन सिंह बुढाऐरका अनुसार भटमासबाली काटिसकेपछि गहुँ बाली लगाउदा युरिया मलको मात्रा कमै मात्र प्रयोग गर्दा हुन्छ । भटमासको जरामा नाइट्रोजन प्रर्याप्त मात्रामा हुने भएकाले रासायनिक मलको मात्रा कम गरे पुग्ने उहाँले बताउनुभयो । “मकैसँंगै भटमास खेतीगर्दा छुट्टै मल आवश्यक पर्दैन” प्राविधिक बुढाएरले भन्नुभयो, “एक्लो बालीका रुपमा लगाउँदा भने मल प्रयाग गर्नुपर्दछ ।” भटमास खेतीका लागि पानी नजम्ने दोमट किसिमको माटो आवश्यक पर्दछ । समुन्द्री सतहको पााच सय मिटरदेखि दुई हजार मिटरको उचाईसम्म भटमास खेती गर्न सकिन्छ ।
नेपालगञ्ज: नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकामा यहाँको सदरलाईन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडसम्म अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै पटक पटक सूचना जारी गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेपछि डोजर चलाउनु परेको नगरप्रमुख बिष्टको भनाइ थियो । सडक पेटी र नाला कब्जा गरेर व्यापार गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो । यो अभियानले नगरको ट्राफिक व्यवस्थापन पनि सुदृढ हुने उहाँको भनाइ थियो ।