गलेश्वरः जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ । मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा÷खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडालाई बस्ती नजिकैका न्यानो क्षेत्रमा झारिएको हो । मुस्ताङ र म्याग्दीको उच्च लेकाली क्षेत्रमा पालिएका चौँरी र भेडा गर्मीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ । घुम्ती गोठ बनाएर चौरी र भेडापालन गर्दै आएका मुस्ताङको मूली, बतासे क्षेत्रका चौँरी नाउरीकोट, बोक्सीखोलाका चौरी पालक किसानले चरनका लागि चौँरीलाई गर्मी महिनामा धौलागिरि, निलगिरि र टुकुचे हिमालको फेदमा रहेका खर्कमा लैजाने गर्छन् भने जाडो सुरु भएपछि बेँसी झार्ने गर्दछन् । मुस्ताङका चौरी पालक किसान सहेन्द्र शेरचनले लेकाली क्षेत्रमा अत्यधिक चिसो बढ्नुका साथै हिमपात हुन सुरु भएपछि चौँरीलाई नीलगिरि फेदीका चौँरी चोखोपानी, सौरु, टिटी क्षेत्रमा सारिएको जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण क्षेत्रका चौँरीलाई लरेनी क्षेत्रमा ओरालिएको चौरीपालक सोभित खोरजाले बताउनुभयो । अहिले बेँसी झारिएका चौँरीलाई वैशाख लागेपछि मात्रै पुनः बुकी ९लेक० फर्काइने उहाँको भनाइ छ । चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्या रहेको किसानले गुनासो गरेका छन् । “सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा चरिचरनलाई रोक लगाएपछि समस्या उत्पन्न भएको छ”, उहाँले भन्नुभयो, “लेकाली क्षेत्रमा चरनको समस्या छैन, तर बेँसीका चरन क्षेत्रमा चरनको अभाव हुने भएकाले चौँरी पाल्ने किसानको सङ्ख्या कम हुँदै गएको छ ।” त्यसैगरी मुस्ताङको मूली लेकका चौँरीपालक किसान सकेन्द्र गौचनले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो बढ्न थालेपछि हामी चौँरीगोठ बेँसीतिर झार्छौँं गर्मी सुरु भएपछि फेरि लेकतिर ल्याउने गर्छौँ, जाडोले पशुचौपाया मात्र नभइ मानिसलाई समेत समस्या हुने भएकाल बेँसी झर्नु बाध्यता हो ।” तेन्जिङ जस्तै यहाँका सबै चौरी किसान बेँसी झर्न थालेका छन् । यहाँका किसान छ महिना लेकतिर र छ महिना बेँसीतिरको खर्कमा चौँरी तथा गाईभैँसी पाल्दै आएका छन् ।
पोखरा: पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगितामा शिर्ष वरियताकी सर्भानी श्रेष्ठले महिला डबल्सतर्फ मंगलबारको खेलमा जित हाँसिल गरेकी छन् । भारतकी इशी महेश्वरीलाई पार्टनर बनाएकी नेपालको तेश्रो वरियाता प्राप्त सर्भानी जोडीले भारतकै पद्मा मनिकोण्डा र संस्कृती भाडाकट्टु जोडीमाथि ६–०, ६–० को सहज जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरे । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका सेली ठाक्कर र साक्षि ठाक्करको जोडीले श्रीलंकाकी भिस्मी ओन्थेरा सेरासिंगे र भारतकी श्रीथिका रेडिको जोडीलाई ६–३,६–४ को सोझो सेटमा जित निकाले । त्यस्तै, कोरियाकी डोङ हेयुन युम र केगान जोनाथनको जोडीले भारतका आर्यन अरोरा र मायंका सर्माको जोडीलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । भारतकै श्रीनिधी बालाजी र लक्ष्मीश्री डन्डुको जोडीले भारतका देवांशी गोहिल र नेपालका रायना शाहको जोडीलाई पराजित गरे । भारतका ऐरा सिद्धार्थ चेत्नानी र दुर्गाशीको जोडीले कोरियाका युन्जी जोङ र नेपालका आध्या पौडेल जोडीलाई पराजित गरेका छन् । मंगलबार पुरुष डबल्सतर्फ भारतका सिद्धान्त सर्मा र रसियाका फेडोर सोसेड्किन जोडीले नेपालका राजविक्रम प्रथान र सक्षम विक्रम शाहको जोडीलाई ६–४, ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा भारतका सागर कुमार र स्वस्तिक सर्मा जोडीले जर्मनीका यस बाहाल्कर र ताइवानका चेन हुई हो जोडीमाथि ६–१, ६–२ को नजिता निकाले । त्यस्तै, नेपालका आर्यन गिरी र भारतका बंश नन्नदल जोडीले भारतका विभु चालागुण्डला र श्रीनिकेत कन्नन जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गरे । मंगलबार महिला एकलतर्फ भएको खेलमा भारतकी आकृती सेन्कुसारे नारायनले रसियाकी लैला अख्मेटोभालाई ७–५, ६–४ ले, ताइवानकी के हाउ हङले भारतकी तनुसा गिल्ड्याललाई ६–४, ६–३ ले, ताइवानकी चेन हुई हो ले भारतकी सर्भामन्यु सिंहलाई २–६, ६–२ र ६–४ ले, भारतकी जान्भी असावाले कोरियाकी युन्जी जेयोङलाई ६–०, ६–४ ले तथा भारतकी आर्जन खोराकिवालाले भारतकै हर्सिनी विश्वानन्दलाई ६–४, ६–२ ले पराजित गरिन् ।
बागलुङ: पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ । जिल्लाकै सबैभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन् । केन्द्र सरकारले विनियोजन गरेको साढे रु १४ करोड ७६ लाख लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शय्याको हुने थापाको भनाइ छ । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा कुनै पनि स्वास्थ्य संस्था थिएनन् । नगरपालिकाले विसं २०७६ मा ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थापना गरेको स्वास्थ्य शाखा संयोजक थापा बताउनुहुन्छ । त्यसभन्दा पहिले यहाँका स्थानीयवासी उपचारका लागि बुर्तिबाङ नै झर्ने गरेको उहाँको भनाइ छ । थापा भन्नुहुन्छ, “ढोरपाटनमा अहिले प्रसूति सेवाका लागि बर्थिङ सेन्टर छ, बर्थिङ सेन्टरसँगै नगरपालिकाले ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ सुरु गरेको छ, अहिले तीन स्वास्थ्यकर्मी र दुई कर्मचारीले सेवा दिइराख्नुभएको छ, हामी यहाँको सेवालाई थप विस्तार गर्ने योजनामा छौँ ।” नगर उपप्रमुख धनबहादुर कायतले नागरिकको सहजताका लागि ढोरपाटनमा नगर अस्पताल निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले वर्षौँदेखि यहाँका सयौँ नागरिक सामान्य स्वास्थ्य उपचारका लागि पनि बुर्तिबाङ धाउनुपर्ने बाध्यता रहेको जनाउँदै अस्पताल निर्माणपश्चात यहीँ उपचार गर्न पाउने बताउनुभयो । ढोरपाटन उपत्यका क्षेत्रमा खास गरी घुम्ती बसाइँ हुने गर्छ । यहाँका वडा नं ६, ७, ८ र ९ का करिब तीन हजार बढी नागरिक बस्ने गर्छन् । यहाँका बासिन्दा हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गरेका उपप्रमुख कायत बताउनुहुन्छ । अस्पताल निर्माणपछि ढोरपाटनसँगै रुकुमको तकसेरा र हुकाम मैकोट तथा म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने उहाँको भनाइ छ । “अस्पताल नजिक नहुँदा केहीले बाटोमै ज्यान गुमाउनुपरेको छ, यहाँ अस्पताल बनिसकेपछि ढोरपाटनका नागरिक मात्र नभइ रुकुम र म्याग्दीका बासिन्दाले पनि सेवा लिन पाउने छन्, अहिले सामुदायिक स्वास्थ्य एकाइबाट सामान्य उपचार हुने गरेको छ”, उहाँले भन्नुभयो । स्थानीय कुलबहादुर विकले अस्पताल नजिकमा नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले अहिले नजिकैमा स्वास्थ्य एकाइ सञ्चालनमा आए पनि सामान्य उचार मात्रै हुने गरेको बताउनुभयो । अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । अस्पताल निर्माणका लागि सम्झौता भएर काम सुरु गरिएको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताउनुभयो । उहाँले आगामी २०८१ को असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको र काम पनि सोहीअनुसार अगाडि बढाइएको जानकारी दिनुभयो ।
काठमाडौं: यही मङ्सिर ९ गतेदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ मा आज भारत र श्रीलङ्काका दुई नाटक, नाटकको पुस्तक विमोचन र साङ्गितिक प्रस्तुति हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को मञ्चन हुँदैछ । छायाँ नाटक र कचहरि नाटकको मिश्रितशैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाइएको छ । नाटकले आघातबारे अन्तक्र्रियामा आधारित अभ्यासको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्दछ । श्रीलङ्काको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ । ‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथा सुनाउँछन् । पात्रहरुले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ । ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन समेत आज हुनेछ । त्यहाँ साहित्यकार नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मी विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन् । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौँ दिनको अन्तिम कार्यक्रममा कलाकार हुम विसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको साङ्गितिक प्रस्तुति दिनेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । महोत्सवमा १८ नाटकका २५ मञ्चन तथा, अन्तक्र्रिया कार्यक्रम, कार्यशाला, सेमिनार हुँदैछ ।
विराटनगर: ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न आर्थिक सहयोग पुगोस् भन्ने उदेश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश नं. १ का संयोजक नवराज केसीले जानकारी दिनुभयो । आश्रमका लागि आपतकालीन कोष स्थापना पनि गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । उक्त आश्रममा हाल १९ जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय र घरपरिवार तथा समाजबाट परित्याग व्यक्ति बस्दै आएकामा विराटनगरको उक्त आश्रममा भने ९० पुरूष, ६५ महिला र पाँच बालबालिका गरी एकसय ६० आश्रित छन्। मानवसेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको उक्त कन्सर्ट विरगन्ज, हेटौंडा , चितवन ,नेपालगन्ज , धनकुटा , सुर्खेत , पोखरा तथा काठमाडौलगायत मुख्य सहरमा तीन–तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ । फरक शैलीका गीतका कारण देश विदेशमा आफ्नो छुट्टै परिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्सर्टका लागि टिकट बिक्री वितरणे भइरहेको श्रमका अभिभावक प्रविण खड्काले जानकारी दिनुभयो ।
पोखरा: विभिन्न कसुरमा जेल सजाय र पुर्पक्षमा बन्दी जीवन व्यतीत गरिरहेका कास्की कारागारका २१ महिलाले उत्साहसाथ कुकिङ बेकिङ तालिम सिकिरहेका छन् । जीवनमा जान अन्जानमा भए÷गरेका गल्तीमा प्रायश्चित गर्दै कैद भुक्तानपछि जीवनलाई सुन्दर बनाउने उद्देश्यसहित उनीहरु तालिममा व्यस्त छन् । आर्थिक लेनदेनको विवादमा पुर्पक्षका लागि तीन महिनादेखि थुनामा रहनुभएकी नवलपरासीकी ४२ वर्षीया सञ्जु केसी (नाम परिवर्तन)ले तालिम निकै फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले बन्दी जीवन बिताइरहँदा आयआर्जनका लागि सीप सिक्ने अवसर पाएकी छु, मेरो मुद्दाको टुङ्गो लागेर र यहाँबाट निस्केपछि यो काम पनि मैले गर्न सक्छु ।” बिएड अध्ययनरत उहाँ बाँकी जीवनलाई अब सृजनात्मक र व्यावसायिकतातिर लाने सोच रहेको छ भन्नुहुन्छ । त्यसैगरी एक वर्षका लागि कैद फैसला भुक्तानमा रहनुभएकी कास्की घाचोककी ४३ वर्षीय शर्मिला शर्मा (नाम परिवर्तन) ले पनि तालिम निकै उपयोगी भएको बताउनुभयो । “अझै केही समय छ, यहाँभित्र हुने तालिम सिकेर अब आत्मनिर्भर हुने बाटो खोज्नेछु”, अरूभन्दा प्रभावकारी कुकिङ बेकिङको तालिम लागेको उहाँको भनाइ थियो । पोखरा पर्यटकीय क्षेत्र भएको र आफूले पनि यसमा दक्षता हासिल गर्न सके सहज जीवन बाँच्न सक्ने आशा पलाएको उहाँको भनाइ छ । पोखरा व्यावसायिक महिला क्लब पोखरा–१ बगरको आयोजनामा इन्टरनेसनल होटल ट्रेनिङ सेन्टरले यहाँ तालिम प्रदान गरेको हो । प्रशिक्षक झङ्क ढकालले कारागारका महिलाले निकै उत्साहसाथ तालिममा सहभागी भएको बताउनुभयो । “अरू तालिममा भन्दा उहाँहरुको रुचि यसमा अलि बढी छ । स्वादिलो खाना बनाउन र विभिन्न परिकार बनाउन सिक्न साथै बनाएको परिकारको स्वाद लिन पनि पाइने भएकाले उहाँहरु को रुचि बढी देखिन्छ ।” प्रशिक्षक ढकालका अनुसार ४५ दिनमा कुकिङ बेकिङका ४५ भन्दा बढी परिकार बनाउन सिकाइनेछ । जिल्ला कारागारका सूचना अधिकारी झङ्कनाथ पौडेलले एकै प्रकारको दैनिकीमा रहँदा उहाँहरुलाई नैराश्यता आउन सक्ने भएकाले विभिन्न रचनात्मक एवम् सृजनात्मक कार्यका लागि तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो । पौडेलले भन्नुभयो, “कतिपय लामो र कतिपय छोटो समयका लागि बन्दी जीवन व्यतीत गरिरहनुभएको छ । तालिमले उहाँहरुलाइ रिफ्रेस साथै यहाँपछि आयआर्जनमा जोडिन सहयोग पुग्ने विश्वास छ ।” कारागारका कैदीबन्दीलाई विभिन्न सङ्घसंस्थाको सहकार्यमा विभिन्न सीपमूलक तालिम दिइन्छ । कारागारको क्षमता चार सय २० जनाको भए पनि भौतिक संरचना अभावमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । पौडेलका अनुसार आठ सय ३१ जनाले बन्दीजीवन बिताइरहेका छन् । जसमा महिला ३९, पुरुष सात सय ९२ र तीन आश्रित नाबालक छन् ।
वालिङ: स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष रु एक अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु ५७ करोड भित्रिएको उहाँले बताउनुभयो । “यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ”, उहाँले भन्नुभयो । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । “यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ”, हमालले भन्नुभयो । स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगैँचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ । यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको छ । कात्तिकको दोस्रो सातामा प्रतिकिलो रु ५० तथा अहिले रु ६५ का दरले सुन्तला बिक्री भइरहेको छ । अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट रु ५० लाखसम्म आम्दानीको दाबी गर्नुहुन्छ । गत वर्ष उहाँले रु २५ लाख आम्दानी गर्नुभएको थियो । “अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ”, उहाँले भन्नुभयो । उहाँको बगैँचामा अहिले दुई हजार सुन्तलाका बोट छन् । अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मेसिन जडान गरी बजारीकरण गर्दै आउनुभएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु दुई लाख आम्दानी गर्नुभएका वालिङ–२ फुटेढुङ्गाका लेखनाथ काफ्लेले रु चार लाख आम्दानी हुने बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उहाँले भन्नुभयो, “गत वर्ष रु दुई लाखमा ठेक्का दिएको थिएँ, यस वर्ष रु चार लाखमा ठेक्का दिइसकेको छु ।” ठेकेदारले सुन्तला बगैँचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । काफ्लेको सुन्तला बगैंँचामा अहिले एक सय बोटमा फल लागेको छ । गत वर्ष रु २२ लाखको सुन्तला बिक्री गर्नुभएका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यस वर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताउनुभयो । गत वर्ष ३१ टन सुन्तला बिक्री गरेर रु २२ लाख आम्दानी गर्नुभएका भण्डारीको यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ । उहाँको बगैँचामा अहिले आठ सय सुन्तलाका बोट छन् । जिल्लाभर बाइस हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड आम्दानी गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख हमाल बताउनुहुन्छ । रु २५ करोड मूल्य बराबरको सुन्तला घरमै खाने, कोसेली पठाउने तथा कुहिने उहाँको भनाइ छ । गत वर्ष सुन्तला उत्पादनमा कमी आए पनि बजार मूल्य राम्रो पाइएको हमालले बताउनुभयो । गत वर्ष १३ हजार आठ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा स्याङ्जामा कुल एक हजार छ सय ५५ हेक्टर क्षेत्रफलमध्ये कुल एक हजार एक सय ६० हेक्टरमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार छ सय ३२ टन सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा अघिल्लो आवमा सुन्तला उत्पादन धेरै भए पनि किसानले उचित मूल्य पाउन सकेका थिएनन् । आव २०७७/७८ जिल्लामा रु ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको सुन्तला उत्पादन भए पनि जम्मा रु ५५ करोडको बिक्री भएको थियो । स्वादका दृष्टिले देशैभर छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायत बजारमा खपत हुने गरेको छ । सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्ने व्यावसायिक कृषक पनि स्याङ्जामा प्रशस्तै छन् । सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाउने व्यावसायिक अगुवा कृषकले यसबाट बर्सेनि पर्याप्त आम्दानी गर्दै आएका छन् ।
काठमाडौँ: काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो । उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ । प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत जनाएको छ ।
चितवन: विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ । अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन् । त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीको छ । चिकित्सकमात्रै होइन, कर्मचारीहरू पनि हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो छ । रोल्पाको थवाङबाट उपचारका लागि एक साताअघि चितवन आउनुभएका मालबहादुर डाँगी पाँच दिनदेखि अस्पतालमा भौँतारिइरहनुभएको छ । उहाँले अझै चिकित्सक भेट्न सक्नुभएको छैन । विगत एक महिनाअघि परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउनका लागि उहाँ अहिले चिकित्सकको पर्खाइमा हुनुहुन्छ । मङ्गलबार दिउँसो अस्पताल परिसरमा पुग्दा सँगै डाँगीले अस्पतालको प्रशासनका कर्मचारीलाई गुनासो गर्नुभयो, “हाम्रो रिपोर्ट कहिले देखाउन पाउँछौँ ।” अस्पताल प्रशासनका कर्मचारीले जवाफ दिए ‘भोली’ । “आज चिकित्सक शल्यक्रियामा व्यस्त हुनुहुन्छ”, ती कर्मचारीले भन्नुभयो । आफ्नो पीडा सहेर डाँगी फेरि भोलिको आशामा फर्कनुभयो । उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको डाँगीको भनाइ छ । उहाँले भन्नुुभयो “चिकित्सक कुरेर बस्नु पर्ने बाध्यता छ ।” उहाँको पेटमा समस्या भएका कारण जाँचका लागि आउनु भएको हो । “खाएको कुरा केही अडिदैंन । मुखबाटै फर्कन्छ । यस्तो अवस्थामा चिकित्सक कुर्नु परेको छ ।” उहाँले भन्नुभयो । यस्तै पीडा पाल्पाबाट आउनुभएकी भिमकुमारी थापाको पनि छ । उहाँ रेडियो थेरापीका लागि आउनुभएको हो । “आज पालो भनेर आएको, पाइने नपाइने थाहा छैन ।” उहाँले भन्नुभयो । अस्पताल आएका बिरामी र उनका आफन्त चिकित्सकको खोजी र उपचारका लागि दिइएको समयको पर्खाइमा बस्दै गरेका छन् । तनहुँको दुलेगौडाबाट उपचारका लागि आउनुभएकी इन्द्रकला लम्साल बहिरङ्ग विभागमा आएर चिकित्सक कुर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “चिकित्सक आउनुहुन्छ भन्नुभएको छ । कति खेर भेट्न पाइन्छ पत्तो छैन ।” नियमित जाँचका क्रममा आउनुभएकी लम्साल विगत एक सातादेखि क्यान्सर अस्पतामा हुनुहुन्छ । उहाँले विभिन्न किसिमको परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउँदै भन्नुभयो, “अब यो देखाएर त घर जान पाइन्छ कि भन्ने आश छ, तर डाक्टर भेट्न पाइन्छ, पाइँदैन निश्चित छैन ।” चिकित्सक नभेटिएपछि त्यहाँ भेटिएका सहयोगीले चिकित्सक भेट्ने वैकल्पिक उपायस्वरुप निजी अस्पताल देखाउने गरेको बिरामीका आफन्तको गुनासो छ । यी उदाहरणीय पात्र हुन् । अस्पतालमा आएका बिरामीले विशेषज्ञ चिकित्सकसमेत भेट्न कठिन हुने गरेको छ । चिकित्सक भेट्नका लागि वहिरङ्ग विभागमा आएका बिरामीलाई त्यहाँका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो गर्छन् । विशेषज्ञ चिकित्सक हाजिर गरेर आफ्नो बहिरङ्ग सेवामा नबस्ने गरेको उनीहरूको गुनासो छ । उनीहरू हाजिर गरेर न बहिरङ्ग सेवामा हुन्छन् न त शल्यक्रियाकक्षमा नै हुन्छन् । एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नुपरेको बिरामी बताउँछन् । एनेस्थेसियाले दिउँसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताउनुभयो । गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उहाँ कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारबाही गरिने बताउनुहुन्छ । अस्पतालमा हाल एक सय जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । विगत केही वर्षअघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं हालका गृहसचिव विनोदप्रकाश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियान थालिएको थियो । त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो समय पुनः अस्पताल अस्तव्यस्त बनेको छ ।