घोडाघोडी: कैलालीको पहाडी गाउँपालिका चुरेको बाटेगढामा पहिलो पटक बिजुली पुगेपछि स्थानीयमा खुसी छाएको छ । चुरे गाउँपालिका –४ बाटेगढामा पहिलो पटक बिजुली बत्ती पुगेपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीयहरू खुसी भएका हुन् । यद्यपि सो गाउँपालिकाको ४० प्रतिशत क्षेत्रमा अझै बत्ती पुग्न सकेको छैन । चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले वडा २ र ४ को एउटा गाउँमा मात्र बत्ती पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाका अन्य वडाका धेरै गाउँमा अझै बत्ती पुगेको छैन, समग्रमा भन्नुपर्दा अझै ४० प्रतिशत क्षेत्र बिजुली बत्तीको पहुँचभन्दा बाहिर रहेका छन् ।’ अध्यक्ष बोगटीले आफ्नो कार्यकालभित्र सबै ठाउँमा बत्ती पुगाउन पहल गर्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बाटेगढामा एक करोड ६० लाखको लागतमा बिजुली बत्ती बालिएको बताउनुभयो । सो क्षेत्रका स्थानीयले बत्तीका लागि सोलारको प्रयोग गर्दैआएका थिए । केन्द्रका प्रमुख मण्डलले विस्तारित विद्युतीकरण अन्तर्गत चुरेमा १२ औँ ट्रान्सफर्मर बाटेगढा रहेको जनाउँदै चुरे गाउँपालिका अन्तर्गत पर्ने चुरेफेदीको गाउँ बालुवागडमा २०७६ मा विद्युतीकरण गरिएको बताउनुभयो । जागती, गर्भा दरबारलगायत चुरेका अन्य गाउँमा समेत विद्युत् लाइन विस्तार गर्ने योजना प्राधिकरणको रहेको छ ।
कावासोती: मौसममा आएको परिवर्तनसँग चिसो बढेको छ । दिनहुँ बढ्दै गरेको चिसोले यस क्षेत्रको जनजीवन थप कष्टकर बन्दैगएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –१ जुकेपानीका १८ घरपरिवार पहिरो प्रभावित अस्थायी टहरामा बस्दैआएका छन् । गत बर्खामा हुप्सेकोट –५ वाकखोरमा पहिरोले विस्थापित भएका उहाँहरूलाई टहरामा कसरी जाडो कटाउने भन्ने चिन्ता छ । ५५ वर्षका खगिसरा रानाको परिवार, पहिरोले विस्थापित भएर शिवालय सामुदायिक वन नजिकैको अस्थायी टहरामा बस्न थालेको १६ महिनाभन्दा बढी भयो । जसोतसो बर्खा बिताए पनि हिउँदको जाडो कसरी छल्ने चिन्ताको विषय छ । गत असारमा वाकखोरमा पहिरोमा घर परेपछि १८ परिवार विस्थापित भए । खेमबहादुर सोमैलाई वाकखोरमा जग्गा भए पनि पहिरोको डरले फेरि फर्कन मन छैन । उहाँ स्थायी बसोबासको प्रबन्ध राज्यले मिलाई दिनुपर्ने बताउनुभयो । पहिरोका कारण लालपुर्जा भएको जग्गा नै छाडेर गाउँपालिकाले बनाइदिएको अस्थायी टहरामा बस्नुपर्ने बाध्यता छ । खेती किसानी गर्नेलाई टहराको बसाइमा जीवन धान्न सजिलो नभएको २६ वर्षका तिलबहादुर सोमैले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसममा बालबालिकालाई विशेषगरी श्वास प्रश्वासमा समस्या देखिने, वृद्ध वृद्धमा जाडोले कठ्याङ्ग्रिने, हाड जोर्नी दुख्ने समस्या देखापरेको छ” रानाले भन्नुभयो । चिसो बढेसँगै हामीलाई निकै समस्या परेको छ, न बस्ने ठाउँ छ न खेती किसान गर्ने ठाउँ छ । निर्वाचनका समय जुकेपानीका पहिरो प्रभावितको अस्थायी टहरामै पुगेर उम्मेदवारले मत मागे तर अहिले विजयी भएपछि कोही पनि फर्किएर त्यहाँ नपुगेको स्थानीयको गुनासो छ । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले अस्थायी टहरामा बस्दै आएका परिवारलाई व्यवस्थित गर्न पहल भइरहेको बताउनुभयो ।
पोखराः गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार 'तमु ल्होसार' पर्व मनाउँदैछन् । 'ल्हो'को अर्थ वर्ष र 'सारु' को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई 'तमु ल्होसार' भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवार भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ । आज गुरुङ समुदायले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभुषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत देश निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुसरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
पोखराः राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राजा विरेन्द्र शाहको ७७ औं जन्मजयन्ती मनाएको छ । राजा विरेन्द्रको जन्मजयन्तीका अवसरमा उनको तस्वीरमा माल्यार्पणसहित प्रवचन कार्यक्रम र साँझ दिपावली गरेको छ । पोखरा स्थित राप्रपा कास्कीको कार्यालयमा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले राजा विरेन्द्रको तस्वीरमा माल्यार्पण गरेका थिए । सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले राजा विरेन्द्र देशभक्त र शान्तिप्रेमी रहेको भन्दै उनको योगदानको स्मरण गरेका थिए । उनको जन्म विक्रम संवत २००२ पुष १४ गते भएको थियो । राजा विरेन्द्रको अकालमा हत्या नभएको भए देशको स्थिति अहिलेको जस्तो नाजुक नहुने उनीहरुले तर्क गरेका थिए । उनीसहित सपरिवारको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा हत्या भएको थियो । उक्त हत्याकाण्ड अहिले पनि रहस्यमै छ । राजा विरेन्द्रको स्मरणमा राप्रपाले बिहिबार साँझ वीरेन्द्रचोक रामबजारमा दीप प्रज्वलनसमेत गरेका थिए । सो अवसरमा राप्रपा कास्कीले वीरेन्द्रचोकमा राजा विरेन्द्रको शालिक पुननिर्माण गर्न सघाउने निर्णय पनि गरेको छ । शालिक निर्माण समितिसँग सहकार्य गरेर यथाशीघ्र राजा वीरेन्द्रको शालिक बनाउने निर्णय गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । राजा वीरेन्द्रको जन्मजयन्तीकै अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा राप्रपाबाट समानुपातिक सांसद निर्वाचित सांसदद्धय पञ्चराम गुरुङ र बिन्दु पहाडीलाई सम्मानसमेत गरेको छ । गुरुङ राप्रपाका गण्डकी अध्यक्ष हुन् भने पहाडी केन्द्रिय सदस्य हुन् । कार्यक्रममा विवेकशील साझा पार्टीबाट राप्रपामा समाहित भएर केन्द्रिय सदस्य चुनिएका अर्जुन खनाल, सुशिला केसी अधिकारी र माधव भण्डारीलाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद गुरुङले देश र जनताका हितमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाए । राप्रपाका एजेण्डा स्थापित गर्न लागिपर्ने भन्दै उनले जनताका पीरमर्का संसदमा पु¥याउन भूमिका खेल्ने बताए । यस्तै, अर्का सांसद पहाडीले पार्टी नीतिमा रहेर जनताका पक्षमा खरो उत्रने बताइन् । विगतमा सर्वस्वहरण हुँदासमेत पार्टीका पक्षमा अडिग रहेको भन्दै उनले अब संसदमा देश र जनताका पक्षमा पार्टीले उठाएका मुद्धा उठाउने प्रतिवद्धता जनाइन् । राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले अहिलेको दुषित राजनीतिमा राजा विरेन्द्रको अभाव खड्किएको बताए । नवनिर्वाचित सांसदलाई शुभकामना दिँदै उनले गण्डकीका सबै जिल्लासँग समन्वय गरेर अघि बढ्न सांसदलाई सुझाव दिए । कार्यक्रममा केन्द्रिय सदस्यहरु जयलाल पुन, विष्णुप्रसाद पोखरेल, महेन्द्रबहादुर कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठन कास्की र राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन कास्कीको समन्वयमा सम्पन्न भएको थियो ।
पोखराः अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा बुधवारदेखि २४ औं सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न २४ औं संस्करणको महोत्सव आयोजना गरेको छ । महोत्सवमा लेकसाइडको हल्लनचोकबाट सुरु भएको विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुगेपछि सडक महोत्सव औपचारिकरूपमा सुरु भएको हो । महोत्सवको उद्घाटन पोखरा महानगरपालिका मेयर धनराज आचार्यले गरे । पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको झन्डै तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी मेला आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन हुने छ । महोत्सवलाई लक्षित गरी लेकसाइड क्षेत्रलाई दुलही झैँ सिँगारिएको छ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने छ । महोत्सव सञ्चालन हुने सडकका दायाँ–बायाँ रङ्गरोगन गर्नुका साथै ध्वजा पताका टाँगिएको छ । महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खानेकुरा, लत्ताकपडा, बाल उद्यान मुख्य आकर्षण रहेका छन् । पाँच दिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रमका प्रस्तुत हुने छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुने छ ।
गैरागाउँ: भूकम्पले पालको बास बस्न बाध्य डोटीको पूर्वीचौको–३, गैरागाउँकी १५ वर्षीया देवी भुललाई महिनावारी हुँदा छाउछाप्रोमा बस्न निकै कठिन छ। देवी भुलको छाउछाप्रो च्यात्तिएको प्लास्टिक र परालले बेरबार पारेर बनाइएको छ। फलेकमाथि एकसरो लुगाले चिसोमा रात कटाउनु देवी भुलको बाध्यता छ। गैरागाउँ खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ। गाउँमा खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरको समेत डर हुन्छ। देवता रिसाउने र थप अनिष्ट हुने डरले भूकम्पपछिका दिनमा महिनावारी हुँदा अलग्गै बस्नुपर्ने प्रथालाई महिलाले अझ कडाइसाथ पालना गर्न थालेका छन् । स्थानीय जयराम भूलले भन्नुभयो, “केही दिनअघि मात्र छाउगोठ नजिकै सर्प देखिएको छ। यदि देउता नरिसाएको भए पुस महिनामा कसरी सर्प आयो। छाउपडी नमान्ने कुरा त हामी सोच्नै पनि सक्दैनौँ।” महिनावारी हुँदा बस्नका लागि परम्परागत रूपमा बनाइएका छाउगोठ भूकम्पका कारण भत्किएका छन्। हालै निर्माण गरिएका छाउगोठ हावा लाग्दासमेत उडाएर लैजाने किसिमका छन्। एक जनाले खुट्टा तानेर सुत्नसमेत नमिल्ने ठाउँमा महिनावारी हुँदा तीनरचार जनाले कोचिएर प्रत्येक महिना पाँच दिनसम्म बस्नु परेको स्थानीय मनिदेवी बोहराले बताउनुभयो। बोहराले भन्नुभयो, “पहिलाका छाउगोठमा त भित्रै आगो बाल्न मिल्ने त हुन्थ्यो आजभोलि आफू मात्र बस्न मिल्ने गरी बनाएका छौँ। छाउ हुँदा साह्रै समस्या हुन्छ। खुट्टा तानेरसमेत सुत्न सकिँदैन।” भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षालगायतका जनचेतनामूलक क्रियाकलापको आवश्यकता रहेको छ। देउता रिसाउने र गाई–भैँसीले दूध नदिने डरले महिनावारी हुँदा, महिलालाई दूध, दहीलगायत पोसिलो खानेकुरा दिइँदैन। महिनावारी हुँदा ओढ्ने र ओछ्याउनेसमेत अलग्गै हुन्छ। पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपतिदेवी खड्काले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणलगायत विकासका लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो। राज्यले छाउपडी प्रथालाई अपराध मानेको छ। मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १० दफा १६८ को उपदफा–३ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भन्ने कुरा उल्लेख गरिएको छ।
बाजुरा: बाजुराको छेडेदह गाउँपालिका–४ लिसाना निवासी हरि रावतको घर छेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको छ । बूढीगङ्गा नगरपालिका–४ को भुक्तोली हुँदै लिसाना र बूढीगङ्गा नगरपालिका–७ र ८ को बेतालमाण्डौ, झाली हुँदै लिसाना बस्तीको चारै तिरबाट सडक सञ्जालले जोडिएपछि यहाँका स्थानीयलाई अहिले गाउँमै व्यापार गर्न सहज भएको रावतले बताउनुभयो । छेडेदह गाउँपालिका–४ लिसाना हरि रावतले, सडककै कारण व्यापार व्यवसाय गर्न म जस्तै अन्य गाउँका सबैलाई पनि सहज भएको छ । उहाँले पहिले दैनिक उपभोग्य सामान किन्न पसिना चुहाउँदै बूढीगङ्गा नगरपालिकाको बाम्का र बेतालमाण्डौ बजारमा धाउनुपर्दथ्यो अहिले सो वस्तु गाउँमै पाइन थालेको बताउनुभयो । पछिल्लो समय स्थानीय निकायले सबै वडा सडकले जोडेपछि स्थानीयबासीको जनजीवनलाई सहज मात्र छैन् दैनिकी समेत फेरिएको रावतले बताउनुभयो । बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै गोगडी थामलेख अन्तर्गतको सो सडक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ । स्थानीय निकायको पछिल्लो समयमा भइरहेको तीर्व विकासले बाजुराका चार नगर र चाँच वटा गाउँपालिकाले पनि सबै वडामा सडक सञ्जाल पुर्याउन जोड दिएका छन् । पछिल्लो समय यहाँका सबै स्थानीयबासीले गाउँ बस्तीमै सडक पुर्याउने पहिलो प्राथमिकता भएपछि अहिले बाजुराका प्रत्येक गाउँ बस्ती सडकको पहुँच रहेका हुन् । बर्खाको समयमा गाउँपालिकाका एक दुइ वडामा गाडी पुर्याउन कठिन भए पनि हिउँदको समयमा भने गाउँपालिका सबै वडामा गाडी पुग्ने गरेको छेडेदह गाउँपालिकाका सूचना अधिकारी मीरा जोशीले बताउनुभयो । उहाँले,गाउँपालिकाकै सहयोगमा जिल्लाकै दुर्गम बस्ती काँडा जयवागीश्वरी लगायतका बस्तीमा पनि सडक पहुँच भएपछि स्थानीयलाई सामान नुन तेल चालमलगायतका दैनिक उपभोग्यका सामान ढुवानी गर्न धेरै सहज भएको बताउनुभयो । त्यसै गरी बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक, खगौमुल, गाउँपालिका र बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका लगायतका स्थानीय तहका स्थानीयबासीलाई पनि गाउँमा जोडिएको सडक सञ्जालने दैनिक उपभोग्यका सामान ढुवानी गर्न सहज बनेको छ । स्थानीयको सहजताका लागि स्थानीय सरकारले पनि वडाका सबै गाउँ बस्ती बस्तीमा सडक सञ्जाल जोड्ने लक्ष्य राख्दै आएका छन् । बाजुरा पहिरोको जोखिम जिल्लाका रुपमा चिनिँदै आएको भए पनि स्थानीय तह भने आफ्ना सबै वडाका गाउँटोलमा डोजरको प्रयोग गर्दै सडक सञ्जाल जोड्ने प्रयासमै छन् । त्रिवेणी नगरपालिका –५ का सामाजिक अगुवा दिनेश सार्कीले भन्नुहुन्छ, “स्थानीय सरकारले वडाका प्रत्येक बस्ती बस्तीमा सडक सञ्जाल जोडे सँगै स्थानीयलाई गाउँमै व्यापार व्यवसाय गर्न सहज भएको छ ।” उहाँले, बर्खाका तीन महिना बूढीगङ्गा नदिमा पानीको बहाव बढ्ने भएकोले सवारी रोकिए पनि हिउँदमा भने किम्नी बाहेक अन्य सबै ठाउँमा यातायातको राम्रो सुविधा भएपछि गाउँमै व्यापार गर्न धेरै सहज भएको बताउनुभयो । त्रिवेणी नगरपालिका नगर प्रमुख कर्णबहादुर थापाले, गतका पाँच वर्ष गाउँमा सडक जोड्ने काम भए पनि अबका दिनमा गाउँमा जोडिएका ती सडकको स्तरोन्नति गर्ने कामलाई बढी प्राथमिकता दिंदै जाने बताउनुभयो । उहाँले, त्रिवेणीका अधिकांश वडामा सडक जोडिएको केही गाउँ बस्ती अँझै सडक सञ्जालको पहुँचबाट टाढा रहेकोले ती बस्तीमा पनि यो वर्षमा सडक जोडिने प्रयास भइरहेको बताउनुभयो । सडक पुगेको गाउँ बस्तीमा कालोपत्रे र सडक नपुगेको ठाउँमा अहिले सडक जोड्ने तयारी रहेको नगरप्रमुख थापाले बताउनुभयो । गोरखापत्र अनलाइन
ओखलढुङ्गा: ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच् वर्षीया भान्जाको हत्या आरोपमा १२ वर्षीय मामालाई प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका–६ का पाँच वर्षीय साङ्गे शेर्पाको हत्या आरोपमा मामा पर्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबारदेखि अचानक बेपत्ता भएका शेर्पा आइतबार गाउँ नजिकैको जङ्गलमा स्थानियले मृत अवस्थामा फेला पारेका थिए । मृतक बालकको शरीरका विभिन्न भागमा चोट लागेकाले घटना शंकास्पद देखिएको र मामा पर्ने बालकले उक्त घटना घटाएको हुन सक्ने परिवार र स्थानियको आशङ्कामा बालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरिक्षक केशव अधिकारीले बताउनुभयो । प्रारम्भिक सोधपुछका क्रममा कुटपिट गर्दा बालकको ज्यान गएको पक्राउ परेका बालकले बताएको प्रहरी निरिक्षक अधिकारीको भनाइ छ । घटनाका विषयमा थप सुस्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
कालीकोट: भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु छन् । जिल्लामा चार सय २० मेगावाटको तिला–१, चार सय ४० मेगावाटको तिला–२, चार सय ८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको पादमघाट जलविद्युत् आयोजनाले निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति पाएका छन् । यी सबै आयोजना बनेका एक हजार पाँच सय ५६ मेगावाट विद्युत् उत्पादन क्षमता राख्छन् । यसको उत्पादनले कालीकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रुपमा विकास सहयोग दिने देखिन्छ । जिल्लामा थुप्रै अन्य जलविद्युत् आयोजना बन्ने ठाउँहरु भए पनि तिनीहरुको उपयोगिता हुन सकेको छैन । कूल चार सय ८० मेगावाट विद्युत् उत्पादन क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए), निर्माणका लागि स्वीकृति र विद्युत् उत्पादनका टेष्ट टनेल खोल्ने काम भइसकेको छ । यो आयोजनाको निर्माणको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको ऊर्जा उत्पादन कम्पनी लिमिटेडले लिएको छ । आयोजनाको विस्तृत डिजाइन, अध्ययन, आयोजनाका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पूरा भइसकेको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । “फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रायः सबै काम पूरा भइरहेको छ”, उनले भने, “लगानीको मोडालिटी टुङ्ग्याउन बाँकी रहेको छ ।” आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म करिब एक हजार रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट कालीकोट जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रभावित हुनेछन् । यस आयोजना निर्माण भएमा जिल्लावासीले शेयर पाउनाका साथै रोजगारीको सिर्जनासमेत हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । “यो राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएका छौँ । आयोजना निर्माणको काम अगाडि बढ्दा स्थानीयवासी निकै उत्साहित भएका छन्”, उनले भने । आयोजनाका लागि रु ९२ अर्ब तीन करोड लाग्ने अनुमान गरिएको छ । निर्माण थालेको पाँच वर्षमा आयोजना पूरा गर्न लक्ष्य राखिएको छ । सान्नी त्रिवेणी गाउँपालिका–३ लुसाबाट एक किलोमिटर लामो र ११ किलोमिटर व्यास डाइभर्सन सुरुङमार्फत कर्णाली नदीलाई सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोलामा झारिने आयोजनाले जनाएको छ । जिल्लाको तिला नदीमा बन्ने तिला–१ र २ जलविद्युत् आयोजनाको क्षमता आठ सय ६० मेगावाट क्षमताको रहेको छ । तिला–१ को विद्युत् उत्पादन क्षमता चार सय २० मेगावाट र तिला–२ को चार सय ४० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । खाँडाचक्र नगरपालिका–२ मा तिला–१ जलविद्युत् आयोजना निर्माण हुनेछ भने तिलागुफा नगरपालिका–५ खल्लामा तिला–२ जलविद्युत् आयोजना निर्माण हुनेछ । दुवै आयोजनाको निर्माणको जिम्मा एससी पावर कम्पनीले कम्पनीले लिएको छ । नेपाल विद्युत् प्राधिकरणले तिला–१ र तिला–२ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौताका लागि समझदारी भइसकेको छ । दुई जलविद्युत् आयोजनाको काम भने अहिले अगाडि बढ्न नसकेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए । यी आयोजनाबाट कालीकोटका तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने विद्युत् निर्माण एसी पावर कम्पनीका आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए । दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), आयोजनाको विस्तृत अध्ययन (डिपिआर) भइसकेको र आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम बाँकी रहेको आयोजनाले जनाएको छ । कालीकोटमा उत्पादन भएको विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माण हुने भएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान हुने भएको हो । प्राधिकरणले कालीकोटमा फुकोट कर्णाली जलविद्युत् आयोजना, तिला–१ र २ लगायत माथिल्लो कर्णालीमा निर्माण हुने जलविद्युत् आयोजना निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान गर्ने तयारी थालेको कर्णाली प्रदेशसभाका सदस्य दुर्गबहादुर रावतले जानकारी दिए । उनले भने, “यो चार सय केभी प्रसारण लाइन कालीकोट तथा कर्णालीका माथिल्लो भागमा बन्ने जलविद्युत् आयोजनाका लागि निर्माण हुन लागेको हो ।” प्राधिकरणले चार सय केभी प्रसारण लाइन जडानका लागि कालीकोटमा जग्गा खरिद गरिसकेको र लाइन जडानको अध्ययन पनि भइसकेको जनाएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माणका लागि करिब रु १६ अर्ब लगानी लाग्ने प्राधिकरणले जनाएको छ । कालीकोटमा निर्माण हुने यी आयोजना बनेमा कालीकोट तथा कर्णालीको सम्बृद्धि आधार हुने स्थानीयले बताएका छन् । यी आयोजनाबाट कालीकोटका हजारौँ युवायुवतीले रोजगारी, विद्युत्मा लगानी गर्ने अवसर पाउनेछन् । जलविद्युत् आयोजनाले कालीकोट जिल्ला र कर्णाली प्रदेशका लागि समृद्धिको आधार रहेको यसको विकास गर्नका लागि अहिलेका स्थानीय, प्रदेश र सङ्घीय सरकारले कामको थालनी गर्नुपर्ने सान्नीले बताए । “जलविद्युत्का ठूला आयोजना बन्नु कालीकोट र कर्णाली प्रदेशका लागि गौरवको विषयमा हो”, त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भने । जिल्लामा सञ्चालन रहेको निर्माण कार्य थालिएका दर्जनौँ लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा छन् । जिल्लाका झन्डै २० मेगावाट उत्पादन हुने सक्ने लघु जलविद्युत् आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मतसम्भारको अभावलगायत कारणले अलपत्र अवस्थामा छन् । तिलागुफा नगरपालिका फाइमहादेव नाग्मगाडस्थित ५७ किलोवाट, नरहरिनाथ गाउँपालिकाको माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला लघुजलविद्युत् आयोजना, ३० किलोवाट क्षमताको तिलागुफा नगरपालिकाको छाप्रेस्थित वालिगाड खोला लघु जलविद्युत् आयोजना, तीन किलोवाट क्षमता भएको चिल्खायाको घट्टेखोला लघुविद्युत् आयोजना विद्युत् बलेर पनि मर्मतसम्भारको अभावमा बन्द भएका छन् । त्यस्तै ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडीगाड लघु जलविद्युत् आयोजना, ३० किलोवाटको बालिगाड खोला लघु जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजना रकम अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् । शुभकालिका गाउँपालिकाकै घट्टेगाड जलविद्युत आयोजना (१८ किवा), थिर्पुगाड जलविद्युत् आयोजना (२० किवा), साना लघुजलविद्युत् आयोजना (१५ किवा), नरहरिनाथ गाउँपालिकाको माल्कोट लघु लघुजलविद्युत् (३० किवा) आयोजनाहरु काम अगाडि बढेको भए पनि रकम अभावका कारण काम सुरु हुन सकेको छैन । हाल पाँच सय किलोवाटको सान्नीगाडको साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । महावै गाउँपालिकाको गेलास्थित ७० किलोवाट क्षमताको भ्याकुनेगाड जलविद्युत् आयोजना, पचालझरना गाउँपालिकाको ७० किलोवाटको लाफा गाउँ लघुजलविद्युत् आयोजना, ५० किलोवाट क्षमता भएको शुभकालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना पनि सञ्चालनमा आउन सकेका छैनन् । यस्तै भर्ता, तिलागुफा नगरपालिकाको एक सय किलोवाट क्षमता भएको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट औलाखोला लघुजलविद्युत् आयोजना खिन, ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्युत् आयोजना सुकाटिया अलपत्र अवस्थामा रहेका छन् ।