पोखरा: कञ्चन क्यापिटल प्रालिको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । प्रालि ४ वर्ष पुरा भई ५ वर्ष प्रवेशको अवसरमा गरिएको विविध कार्यक्रम अन्तर्गत सोमबार रक्तदान गरिएको थियो । अध्यक्ष विमलमान गुभाजुले पहिलो रक्तदाता जितेशमान गुमाजुलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको थियो । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा प्रालिका शेयर सदस्य र कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । मानव जीवन रक्षाका निम्ती वार्षिकोत्सवमा रक्तदान प्राथमिकतामा परेको अध्यक्ष गुभाजुले बताए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन उनको भनाइ थियो । वार्षिकोत्सव अन्तर्गत नै मंगलबार पुरस्कार विरतण लगायतका कार्यक्रम हुने गुभाजुले जानकारी दिए । ‘यो सुरुवात मात्रै हो । आउने दिनमा अरु सामाजिक कामहरु पनि गर्दै जाने हो,’ उनले भने, ‘कोरोनाका समयमा राहत बाड्ने र आर्थिक सहयोग उपलब्ध गराउने काम गरिएको थियो ।’ २०७६ सालमा स्थापना भएको प्रालिको पोखरा र लेखनाथमा ९ वटा व्यावसायिक फर्म छन् । जसमा पोखराका विभिन्न स्थानमा सुनचाँदीका ९ वटा पसल छन् । यसबाहेक अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर र बेगनास ताल माझिकुनामा बेगनास एक्वा पार्क प्रालि सञ्चालनमा छन् । १७ जना शेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजुले जानकारी दिए ।
बझाङ: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको गाडी बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिका देउरा नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री सिंहसँगै उहाँकी श्रीमती, भाउजु र दुई जना सुरक्षा गार्ड र चालक घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको देउरा स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भइरहेको छ । घाइते सबै जना अचेत रहेका प्रहरीले जनाएको छ ।
काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग गर्दै काठमाण्डौ जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । आज मङ्गलवार बृहत् नागरिक आन्दोलनले उपप्राध्यापक चलाउनेलाई न्याय माग्दै प्रदर्शन गरेको हो । मन्त्रिपरिषद्को बैठकले गएको जेठ ३० गते नेविसङ्घका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत सात जनाविरुद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो । मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा हिजो सोमवारदेखि अनशन पनि सुरु गर्नुभएको छ । चलाउनेमाथि गएको २०७७ असोज २० गते आक्रमण भएको थियो । चलाउनेले सुरु गर्नुभएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।
पोखरा: बसपार्क कास्कीमा रहेको श्री सहारा वाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । मिति २०८० असार ४ गते वडा नं ९ वडा का अध्यक्ष दिपेन्द्र मर्सानिको अध्यक्षतामा वसेको वैठकले समाजसेवी, शिक्षा तथा खेलप्रेमी, विकासप्रेमी सहारा क्लब पोखराका पूर्व अध्यक्ष श्री विक्रम थकालीलाइ सर्वसम्वत निर्वाचित गरेको छ । यस अघिनै मिति वि।व्य।स समितीमा अभिभावकहरुको तर्फबाट मिति २०८० जेठ १९ गते भएको भेलाले विकास बराल, जुना दर्जी र रामु बस्नेत त्यसैगरी वडावाट मोनित सदस्यहरु ठाकुर प्रसाद काप्री, समाजसेवी, बुद्दिजीवी एवम चन्दादाताहरुको तर्फवाट शुशिल लामिछाने त्यसैगरी शिक्षक प्रतिनिधि रुद्र बहादुर कार्की राजु र सदस्य सचिव मा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी चयन हुनुभएको छ। विद्यालय निरिक्षक जीवन प्रसाद रेग्मि र वडा सदस्य नन्दराम गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा विद्यालयको चौतर्फी विकासका बारेमा छलफल भएको थियो ।
गलकोट: बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आश मारिसक्नु भएको थियो । तर छोरा घर फर्केपछि उहाँले हर्षका आँसु झार्नुभयो । “मैले त कान्छो छोराको आश मारिसकेको थिए, विदेश गएको केही वर्ष त सम्पर्कमा थियो, त्यसपछि अत्तोपत्तो भएन”, आमा रेग्मीले भावविह्वल हुँदै भन्नुभयो, “छोरा २४ वर्षपछि घर फर्कँदा बुढेसकालको सहारा हुने भएको छ ।” विसं २०५६ माघमा घर छोडेर जानुभएका चन्द्रदत्त रेग्मी घर फर्किनुभएको छ । रोजगारीका लागि बेलायत जानुभएका रेग्मीलाई अलपत्र अवस्थामा काठमाडौँबाट उद्धार गरी ल्याइएको हो । बेलायत गएको तीन वर्षपछि परिवारको सम्पर्कमा आउन नसक्नुभएका चन्द्रदत्त २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसियाली छाएको छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ वर्षीय चन्द्रदत्त बेलायतमा धनसम्पत्ति जोडेर नेपाल आउन चाहे पनि बेलायतमा स्थायी बसोबासका लागि अनुमति (पिआर) नपाएपछि उहाँ परिवारको सम्पर्कमा नआएका हुन् । चन्द्रदत्त घर फर्किएसँगै ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीको खुसीको सीमा रहेन । घरको कान्छो छोरा बुढेसकालको सहारा सम्पर्कमा आउँदा चिरिञ्जीवीको आँखामा हर्षका आँसु बर्सिएका छन् । बेलायमा पिआर नबनेपछि २०६८ सालमा नेपाल फर्किएका चन्द्रदत्त घर नफर्केर पुनः कामका लागि विभिन्न जिल्लामा भौँतारिनुभएको थियो । बेलायतमा पिआर नबनेपछि २०६८ सालमा नै रेग्मी नेपाल आएको भए पनि धन कमाउन नसकेको भन्दै विभिन्न जिल्लामा काम गरेर बसेको पाइएको र २४ वर्षपछि मात्रै सम्पर्कमा आउनुभएको बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । “विदेशमा हुँदा सानो दुर्घटनामा पर्नुभएछ, त्यहाँ कार्ड बनेन कमाई पनि हुन नसकेपछि नेपालमै भए पनि थोरै धेरै कमाएर घर लैजान्छु भन्ने सोचपछि काठमाडौँसँगै हेटौँडा, सल्यान, प्यूठानलगायतका विभिन्न ठाउँमा काम गर्दै आउनुभएको रैछ”, वडाअध्यक्ष पौडेलले भन्नुभयो, “काठमाडौँ अलपत्र अवस्थामा घुमिरहेको बेला हेटौँडाको थाहा नगरपालिका–१ का जनप्रतिनिधि सरोज प्रधानले भेटेर उनलाई परिवारको सम्पर्कमा ल्याइएको हो ।” चन्द्रदत्तका दाजु लेखनाथ शर्माले सरोजलाई चन्द्रदत्तले आफ्नो जन्मघरको ठेगाना बताएपछि उनले बागलुङ नगरपालिका–१३ का वडाअध्यक्ष नारायण शर्मा पौडेललाई फोन सम्पर्क गरेका थिए । वडाअध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भने अनुसारको सबै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडौँबाट घरमा ल्याएका हुन् । “हाम्रो परिवारलाई भाइ जिउँदो छ भन्ने झिनो आशा मात्रै थियो तर अहिले घर फर्कंदा खुसी लागेको छ”, दाजु लेखनाथ शर्माले भन्नुभयो, “धेरै ठाउँमा भाइको विषयमा सोधखोज गरेका थियौँ, तर कुनै अत्तोपत्तो भएन, आशा नै मारेर बसेका थियौँ, आफूले बिदाइ गरेर विदेश पठाएको भाइ नफर्किंदा यही कुराले पिरोलेको थियो, भाइ फर्किएर आयो हाम्रो परिवारमा ठूलो खुसी छाएको छ ।” कानुन विषयमा स्नातक तह पढेका चन्द्रदत्त बेलायत जानुअगाडि लामो समय काठमाडौँमै कानुन व्यवसायीको फर्ममा काम गर्नुभएको थियो । परिवारमा चार भाइका कान्छा छोरा चन्द्रदत्त गाउँ फर्किएपछि गाउँलेहरुले नै खुसी साटेका छन् ।
काठमाण्डौ: तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । हिजो सोमवार बेलुका नाली बनाउँदै गर्दा सडकको माथिबाट खसेको माटोको ढिस्कोले पुर्दा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षका भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षका बलबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा ज्यान गएको हो । घाइते झापाको शिवशताक्षी–७ का ४५ वर्षका कृष्ण लिङ्देनको दमौलीको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत सडक छेउमा नाली बनाउँदै गर्दा हिजो बेलुका पहिरो खसेको थियो ।
काठमाण्डाै: काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ । संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा काठमाण्डौ महानगरको वार्षिक आयमा झन्डै एक अर्ब ४३ करोड ४० लाख रुपैयाँ क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै मेयर शाहले यस्तो बताउनुभएको हो । बहाल आयमा लाग्ने कर सङ्कलनकाे अधिकार संविधानले पालिकालाई मात्र दिएको भन्दै मेयर शाहले यसबाट सिर्जना भएको अन्योल तत्काल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको हो । पत्रसँगै संवैधानिक तथा कानुनी प्रबन्धहरू संलग्न गरेर पठाइएको पत्रमा मेयर शाहले अबदेखि घर बहाल कर पालिकाबाहेक कसैले सङ्कलन गर्न नपाउने सुनिश्चित गर्न पहल गरिदिन वित्त आयोगलाई आग्रह गर्नुभएको छ ।
कोशी प्रदेश सरकारले बाढी पहिराेबाट ज्यान गुमाएकाकाे परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ दिने भएकाे छ । प्रदेश मन्त्रिपरिषद्को हिजाे साेमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिराेमा परेर ज्यान गुमाएकाकाे परिवारलाई एक लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले याे निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो । बैठकले कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
काठमाण्डौ: पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएका छैनन् । बाढी पहिरोमा परेर सङ्खुवासभामा २१ जना तथा ताप्लेजुङ र पाँचथरमा तीनरतीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहे पनि अवस्था पत्ता लागेको छैन । लगातार पानी परिरहेकाले खोजीमा कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गएको शनिवार र आइतवार आएको बाढी पहिरोमा परेर अहिलेसम्म आठ जनाको ज्यान गएको पुष्टि भएको छ । ताप्लेजुङ र पाँचथरमा तीनरतीन जना तथा भोजपुर र सङ्खुवासभामा एकरएक जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । यस्तै छ जना घाइते भएका छन् । बाढी पहिरोले सडक ध्वस्त भएकाले प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भइरहेको छ । पहिरोले मध्यपहाडी राजमार्गको पाँचथर–तेह्रथुम सडक खण्ड पनि बन्द भएको छ । आज मङ्गलवार पनि यी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।