पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरिपाटन स्थित युनिटी टोल विकास संस्थाले १० दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।   १० दिन सम्म सञ्चालन भएको तालिममा १८ जना प्रशिक्षार्थीले बोल्ने कलाका विषयमा तालिम लिएका थिए । तालिममा बोल्ने कलाका विषयमा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्ल, मानवअधिकारका विषयमा इन्सेक गण्डकीका संयोजक शिब खकुरेल, मनोविद विजय राईले प्रशिक्षण प्रदान गरेका थिए ।    समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले वडा नम्बर १४ भरिमै युनिटी टोलको छवि पृथक भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालको १ बर्ष सकिएको तथा अब ४ बर्ष अझै जुझारु ढंगले वडाको विकासमा समर्पित हुने दावी गर्नुभयो । युनिटी टोल विकास संस्थाका अध्यक्ष तेजिन्द्र बहादुर कंडेलले तालिममा सिकेका विषयलाई व्यवहारिक ज्ञानको विषय बनाए मात्रै तालिमको औचित्य हुने बताउनुभयो । उहाँले यस्ता सृजनात्मक तालिमहरुले मानिसमा अब्यक्त  प्रतिभा प्रस्फुटन हुने साथै बोल्नेकलाले नै नेतृत्वकलाको विकास हुने बताउनुभयो ।   उक्त अवसरमा टोलका तर्फबाट पोखरा महानगरपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगितामा सान्तन्वा स्थान हासिल गर्ने सुमित्रा लम्साल, कविता अधिकारी र लक्ष्मी अधिकारी तथा प्रथम वडाअध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने टोलका चोकबहादुर थापा र थमनसिंह थापालाई सम्मान गरिएको थियो ।    कार्यक्रममा युनिटी टोल विकास संस्थाबाट तालिममा सहभागीहरुले तालिममा सिकेका अनुभवका बारेमा बोलका थिए । तालिममा लक्ष्मी लामिछाने अधिकारी, रामबहादुर कार्की, शुशिला गुरुङ, कविता अधिकारी, सुवेदार मेजर चन्द्रबहादुर क्षेत्री, गीता अधिकारी, जेजुनाथ लम्साल, छलिमाया कँडेल, प्रविण गुरुङ्ग, अनिता थापा, सुमित्रा लम्साल, शारदा केसी, गौतम क्षत्री, तारा गुरुङ, रिता गुरुङ, स्मृति गुरुङ, अनुषा कार्की सहभागी थिए ।   

काठमाण्डौ:  बाढीले कल्भर्ट पुल बगाएपछि अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा आएको छ ।    बाढीले गएराति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा कल्भर्ट भत्काएपछि अवरुद्ध भएको सडक आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।   कालीगण्डकी करिडोर सडक आयोजनाले अस्थायी रुपमा खोलामा गाडी वारपार हुने गरी मर्मत गरेको अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।    सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्गतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो ।   तर, गएराति वर्षासँगै आएको बाढीले फेरि ह्युमपाइप र वरपरको सडक कटान गरेको छ ।   

तनहुँ: तनहुँकाे व्यास नगरपालिकामा आमा र नवजात शिशुको  ज्यान गएकाे छ । सुत्केरी गराउने क्रममा व्यास नगरपालिका–१२ कमलबारीकी २७ वर्षीया शर्मीला दरै र शिशुकाे पोखरामा रहेकाे क्षेत्रीय गण्डकी अस्पतालमा ज्यान गएकाे हाे ।   मृतक दरैका आफन्तले चिकित्सकको लापरबाहीका कारण आमा र शिशुकाे ज्यान गएकाे भन्दै छानबिनको माग गरेका छन्।    छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएकाले पोष्टमार्टमको रिपाेर्ट आएपछि छलफल गर्ने सहमति भएको चीजबहादुर दरैले बताउनु भएकाे छ ।    पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरे पनि बचाउन नसकेको बताएका दरैले बताउनु भयाे ।    चीजबहादुरले भन्नुभयो,  'छानबिनका लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।'  

ढोरपाटन:    रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो । अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन् । अझ घरका झ्यालढोकामा कलात्मक शैलीमा बनाइएका आकृति तथा मूर्ति त भेटिनै छाडिसके । पछिल्लो समय प्रविधिको विकासका कारण मौलिक घर लोप हुँदै गए भने आधुनिक घर धमाधम बनिरहेका छन् । बागलुङका अधिकांश गाउँमा ढुङ्गा, काठ र माटोका घर छन् । एक दशक अगाडिसम्म गाउँका धेरै घर खरका थिए । अहिले खरका घर भेट्टाउनै मुस्किल पर्छ । जिल्लाका स्थानीय पालिकाले पनि खरका घर विस्थापित गरी जस्तापाताका छानो हाल्ने नीति ल्याएपछि गाउँका मौलिक घर ओझेलमा परेका छन् । ढोरपाटन नगरपालिका–९ बोबाङमा दुई दशक अगाडिसम्म ढुङ्गाको पर्खाल र काठका फल्याकले छाएका घर मात्रै थिए । ती घर एउटा पनि अहिले भेट्टाउन सकिन्न । काठ र ढुङ्गाबाट बनेका घर विस्थापित बनेपछि बिस्तारै ढुङ्गा र खरका घर बने । अहिले ती ढुङ्गा र काठका घर पनि विस्थापित हुँदै गएका छन् । अहिले बोबाङ गाउँमा जस्तापातले छाएका घरले गाउँ नै ढाकिन थालेका छन् । जस्तापाताका घर बनाउन स्थानीयवासीलाई सहज भए पनि गाउँको सुन्दरतामा भने धेरै प्रभाव पारिरहेको छ । बोबाङ गाउँसँगै निसीखोलाको निसी गाउँ, तमानखोलाको तमान गाउँ, बोङ्गादोभान तथा जिल्लाका अधिकांश गाउँमा अहिले धमाधम जस्तापातले छाइएका घर निर्माण भएका छन् । पहिले टाढैबाट चिटिक्क देखिने खर र ढुङ्गाले छाएका घर अहिले जस्तापाता तथा कङ्क्रिटबाट बनेका घरमा परिणत भइरहेका छन् । मौलिक ढुङ्गे तथा खरका घर बनाउन बढी झण्झटिलो र खर्चिलो हुने हुँदा पछिल्लो समय स्थानीयले जस्तापाताका घर बनाउन थालेको ढोरपाटन–८ बोबाङका कुशल विश्वकर्माले बताउनुभयो । उहाँले १५र२० वर्ष अगाडिको तुलनामा अहिले घरको बनावट तथा निर्माण गर्ने शैलीमा निकै परिवर्तन आएको बताउनुभयो । “अहिले गाउँ र बजारका घरमा धेरै फकर पाइँदैन, गाउँमा पनि बजारकै शैलीमा घर बन्न थाले, सबै आधुनिकतासँग जोडिएका छन्, मौलिकता बोकेका घर बिस्तारै हराउँदै गए, मान्छे विदेश तथा सहर बजार जान थाले, विदेश र सहर बजारमा बनेका जस्तै घर गाउँमा बनाउन थाले”, विश्वकर्माले भन्नुभयो, “पहिले त यहाँ काठैकाठका घर थिए, पछि ढुङ्गा, घर र काठका घर बने, अहिले धेरैले टिन (जस्तापाता) ले छाउन थाले, अलि हुने खानेले ठूला सिमेन्टकै घर बनाउन थाले, यसले गाउँ नै आधुनिकीकण भयो, मौलिक संस्कृति र परम्परा हराउन थाले, अब पालिकाहरुले गाउँका सबै घर मौलिकतासँग जोडेर बनाउनुपर्ने नीति ल्याउनुपर्छ ।” निसीखोलाका ७९ वर्षीय तीर्थबहादुर पुनले अहिले बन्ने घरले गाउँको स्वरुप नै बदलिदिएको बताउनुभयो । पहिले गाउँमा बन्ने घर सबै एउटै खाले हुने गरेको जनाउँदै अहिले बन्ने घरका रङ्ग तथा आकार फरक–फरक हुँदा गाउँको सुन्दरतामा ह्रास आएको गुनासो गर्नुभयो । मौलिक कला संस्कृतिमा बजारभन्दा गाउँ निकै अब्बल रहेको सुनाउँदै मान्छेहरुले बजारको नक्कल गरी घर पनि त्यस्तै बनाउन थालेको उहाँ बताउनुहुन्छ । संस्कृति संरक्षणका लागि घर नयाँ बनाए पनि पुरानै शैलीमा नवीन प्रविधि अपनाउनुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिले यहाँ बनेका घर स्वास्थ्यका लागि फाइदाजनक छैनन्, सिमेन्ट बालुवाले बनेका छन्, टिनले छाएका छन्, हिउँदमा चिसोले मान्छेलाई रोगी बनाउँछ, पहिले–पहिलेका घर सबै मौसमका लागि उपयुक्त हुन्थे, हिउँदमा न्यानो हुने, गर्मीमा शीतल हुने खालका हुन्थे, अहिले गाउँ हेर्नु हुन्छ भने खरका घर कतै भेटाउनु हुन्न, घुमाउने घर पनि पहिले गाउँमा बाक्लै थिए, अहिले कतै देख्नुहुन्छ रु, किन हराए रु, यो सब अरूको देखासिकीले गर्दा हो, गाउँमा कसैले टिनले छाएको घर बनाउँछ भने भोलि अर्कोले त्यस्तै घर बनाउँछ, पुरानो घरलाई पहिलेकै जस्तो बनाउनुपर्छ भन्ने कसैलाई लाग्दैन ।” गाउँका पुराना घरलाई संरक्षण गरिराख्न सके केही वर्ष पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने पुन बताउनुहुन्छ । उहाँले खास गरी खरको घर विस्थापित हुनाका कारण यो बनाउन धेरै समय लाग्ने, आगलागीको जोखिम हुने र अहिले कसैले पनि वनमा गएर खर काटेर ल्याउन झण्झट मान्ने हुँदा जस्तापाताले छाएका घर बढ्दै गएको बताउनुभयो । बागलुङका धेरै पालिकाले खरको छानोमुक्त गाउँ अभियानलाई तीव्रता दिएका छन् । तमानखोला गाउँपालिकाले भने मौलिक घर संरक्षण गर्न थालेको छ । सो गाउँपालिकाले पुराना मौलिक घरको संरक्षण गरी नयाँ बन्ने घर पनि पुरानै शैलीमा निर्माण गर्ने नीति बनाएको छ । गाउँपालिकाले सबै घरलाई एउटै रङ्ग, एउटै शैली र एउटै आकार प्रकारको बनाउने अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने उहाँको भनाइ छ । आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले घरलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उहाँले बताउनुभयो । “गाउँमा बन्ने घर गाउँकै स्रोत र साधनको प्रयोग गरी बनाउनु पर्छ, यहाँ यति धेरै स्रोत साधन छन्, तर हामीहरुले आयातित सामानको प्रयोग गरेर घर, भवन बनाइरहेका छौँ, गाउँमा पनि सिमेन्टका ठूला–ठूला घर, भवन बन्न थाले, यसलाई रोक्नका लागि गाउँपालिकाले स्थानीय स्तरमा भएका स्रोत साधनलाई प्रयोग गरेर गाउँका घरलाई मौलिक घर बनाउने योजना बनाएका छौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले संस्कृति संरक्षण गर्न लागिएन भने पछिको पुस्ताले गर्दैनन्, संस्कृति नै मासिँदै जाने खतरा बढेको हुँदा यसलाई रोक्न हामी लागेका छौँ ।”

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ ।   समितिको बुधबार बसेको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श गरी जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने प्रस्ताव पुनरावलोकन गर्न निर्देशन दिएको हो ।   १५ जेठमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी निकाय खारेज गर्ने बताएका थिए। जसमा जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रुपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने बजेट वक्तव्यको अनुसूचीमा उल्लेख गरिएको थियो।   निर्वाचन आयोगले  जिल्लास्थित आफ्ना संरचना खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको थियो । 

काठमाण्डौ:  अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र त्यहि ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् ।   लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसूर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका हुन् ।   अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।    

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।   शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेले नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहेर डिस्चार्ज भएको जनकारी दिएका छन् । उनले राष्ट्रपति पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी पनि गराएका छन् ।

पोखरा ३३ मा चार दिवसीय उद्घोषणकला तथा भाषणकला तालिम सोमबार सम्पन्न भएको छ ।    पोखरा महानगरपालिका वडा नम्बर ३३ वडा कार्यालयको आयोजनामा भएको तालिम पोखरा ३३ को वडा कार्यालय, भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउँ र उपल्लो पुडीटारमा गरी तीन ठाउँमा एकसाथ आयोजना गरिएको थियो ।   वडामा रहेका महिलाहरुको नेतृत्व तथा व्यक्त्तित्व क्षमता विकास गर्नको लागि गत शुक्रबारबाट आयोजना गरेको तालिममा वडामा रहेका विभिन्न आमा समुहबाट ८० जनाले सहभागिता जनाएको वडा सचिव युवराज पौडेलले जानकारी दिए । जसअनुसार वडा कार्यालयमा २९ जना, पुडीटारमा २३ जना र भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउमा २८ जना सहभागी बनेका थिए ।   आगामी दिनमा यस्ता तालिमका कार्यक्रमलाई निरन्तरता दिदै महिलाको क्षमता विकासमा वडाले हरपल साथ दिने वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । यस अगाडि वडाले महिलालाई लक्षित गरेर ढाका बुन्ने तालिम, कृषि तालिम, साबुन पानी तालिम, कृष्टलका चुरापोते लगायतका तालिम समेत सम्पन्न गरेको उनले बताए । आगामी आर्थिक वर्षको लागि केही नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको समेत उनले खुलाए । हरेक टोलमा पुगेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेर समेत यहाँको आवश्यकता के हो भन्ने पहिचान गर्ने गरिएको उनको भनाई थियो ।   तालिम कार्यक्रमको आयोजना गर्नुको उद्धेश्यबारे वडा सदस्यहरु विनोद भण्डारी, प्रकाश कार्की, दुर्गा थापा केसी, लिलादेवी नेपालीले सहभागीमाझ प्रकाश पारेका थिए । सबैजनालाई सहज होस् भनेर तीन ठाउँमा कार्यक्रम आयोजना गरिएको उनीहरुले बताए । सिकेका सिपलाई समुहका अन्य सदस्यलाई हस्तान्तरण गर्न सहभागी समक्ष उनीहरुको आग्रह थियो  ।   तालिममा सहभागी रमा गौतम, आकृती आचार्य, शान्तिदेवी आचार्य लगायतले यस्ता तालिम कार्यक्रलाई निरन्तर आयोजना गर्न वडासँग अनुरोध गरें । चार दिने तालिमले सबैको अगाडि गएर निर्धक्कका साथ आफ्नो भनाई राख्न तथा विभिन्न शैलीका कार्यक्रम सहज तरिकाले सञ्चालन गर्ने क्षमता थपेको बताए । तालिम मार्फत प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्ने उनीहरुको प्रतिवद्धता थियो ।    तालिममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, महासंघका पूर्व केन्द्रिय सदस्य सुष्मा पौडेल, महासंघ कास्की उपाध्यक्ष जमुना शर्मा वर्षा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले सहजीकरण गरेका थिए । 

काठमाडौं:  वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ ।   राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको ब्याजदर नचलाउने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताएका छन् ।   चालु आर्थिक वर्षको मौद्रिक नीतिका मुद्रास्फीति ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको केन्द्रिय बैंकले मुद्रास्फीतिका लक्षित सीमाभन्दा तल नजाने गरी नीतिगत दर पनि ७ प्रतिशत नै राखेको थियो ।   मुद्रास्फीति लक्षित सीमाभन्दा माथि नै रहेकोले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाबाट बैंकदर चलाएपनि नीतिगत दर यथावत राखेको थियो । आगामी आर्थिक वर्षको लागि सरकारले बजेट मार्फत मुद्रास्फीति साढे ६ प्रतिशत भित्र राख्ने लक्ष्य मौद्रिक नीतिलाई दिएको छ । सोही अनुसार मौद्रिक नीतिमा नीतिगत दरहरु तय हुन्छ । बैंकरले मौद्रिक नीतिबाट ब्याजदरको संकेत कुर्दै असारमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन् ।   वैशाखदेखि बैंकहरुको निक्षेपको ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत र बचतमा ५.४ देखि ७.४ प्रतिशतको ब्याजदर कायम गरेका छन् ।   राष्ट्र बैंकले व्यक्तिगत मुद्दतिमा भन्दा संस्थागत मुद्दतिको ब्याजदर २ प्रतिशत बिन्दुले कम कायम गनुृपर्ने व्यवस्था गरेको छ ।