बागलुङ: बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु २० लाखमा बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्न थालिएको छ । वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा रु ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवर्द्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रवर्द्धन का लागि रु १० लाख खर्च गरिनेछ । “तित्याङमा यस वर्ष रु १० लाखको सुन्तला प्रवर्द्धन र रु १० लाखकै तरकारी खेती प्रवर्द्धन का लागि काम गरिनेछ”, उहाँले भन्नुभयो, “यस वर्ष त्यहाँका किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, नयाँ बगैँचा स्थापना र सुन्तलाको नर्सरी स्थापना गर्ने गरी प्रस्ताव आह्वान गरेका छौँ ।” पछिल्लो समय नगरपालिकाले उन्नत जातको मकै खेती प्रवर्द्धन गरिरहेको छ । यस वर्ष मकैको बीउदेखि उपकरणलगायत कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरेको कृषि शाखाले जनाएको छ । नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवर्द्धन कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको तित्याङका वडाध्यक्ष राजु थापाले बताउनुभयो । “तित्याङमा पछिल्लो समय बगैँचा व्यवस्थापन हुन सकेको छैन”, उहाँले भन्नुभयो । पछिल्लो समय तित्याङमा सुन्तला खेतीमा विस्तार भइरहेको छ । तित्याङमा तरकारी खेतीका लागि चार हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यस वर्ष रु १० लाख खर्च गरिनेछ । सङ्घीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवर्द्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ ।
झापा: ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ। इलाम जिल्ला रोङ गाउँपालिका– ६ की २३ वर्षीया उषा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–१३ मा आइतबार राती साढे ८ बजे ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार राई गम्भीर घाइते भएकी थिइन्। घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक पाँचथर मिक्लाजुङका सुन्दरराज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।
काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई निर्विरोध चयन भएका छन् । काठमाडौंमा भएको पाँचौं महाधिवेशनबाट १० सदस्यीय कार्यसमिति चुनिएको छ । चार जना उपाध्यक्षमा ‘डान्सिङ स्टार्स नेपाल’ फेम्ड अभिनेत्री छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी चुनिएका छन् । महासचिवमा होमकुमारी माझी चयन भएकी छन् । सचिवमा अर्बिन विश्वास राजवंशी र गणेश थामी, कोषाध्यक्षमा विपना भुजेल, सहकोषाध्यक्षमा सविता धिमाल सर्वसम्मत चुनिएका छन् ।
पोखरा: शितलादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले उद्घाटन गर्दै शितलादेवी बहुउद्देश्यीय सहकारीले वडा नम्बर ११ ले अगाडि सारेको फोहोरमैला ब्यवस्थापन र अभियानमा सहकार्य गर्न आग्रह गर्नुभयो । त्यसैगरि पछिल्लो समय आर्थिक मन्दी वढिरहेको अवस्थामा सहकारीकै कारण आर्थिक चलायमानमा सहज भइरहेको वताउदै कर्माचार्यले आगामी दिनमा सहकारीले कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिदै त्यस्ता अभियानमा वडाले समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यसैगरी जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीले मानिसकोे दैनिकी चलायमान गराउन ठूलो भुमिका रहेको भएतापनि सहकारीहरु सहकारीको मुल्य मान्यता विपरित सञ्चालन भइरहेकाले त्यसतर्फ सम्पूर्ण सहकारीहरुले ध्यान दिन आवश्यक रहेको वताइन । सयपत्री सहकारी संस्थाका अध्यक्ष टिका बहादुर कार्कीले अहिलेको विषम परिस्थितीमा सहकारीहरु बीच एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठले बहुद्देश्यीय सहकारीको भावना अनुसार यस संस्थाले फोहोरमैला ब्यवस्थापन, कृषि तथा पशुपालन र कौशी खेतीमा विशेष जोड दिदै संस्थाले आफ्नो कार्य सम्पादन गर्ने जानकारी दिनुभयो । सो साधारण सभामा अध्यक्ष तीर्थलाल श्रेष्ठ, सचिव राजु श्रेष्ठ, कोषाध्यक्ष रोमनमान श्रेष्ठ र लेखा समिति संयोजक सुक्र कुमार प्रधानले प्रस्तुत गर्नुभएको प्रतिवेदन सभाले अनुमोदन गरेको थियो । कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत मन्तब्य राख्नुभएको थियोभने संस्थाका सल्लाहकारको तर्फबाट ज्ञान बहादुर कार्की, शेयर सदस्यहरुको तर्फबाट प्रमिला श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीको सात सिद्धान्तको बाचन संस्थाका संचालक समितिका सदस्य जीवन श्रेष्ठले बाचन गर्नुभएको थियो । सहकारीमा २ सय ४३ जना शेयर सदस्य रहनुभएको छभने संस्थाको कुल पुंजी २ करोड ४० लाख रहेको छ ।
पोखरा: सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको संस्थाका जेष्ठ सदस्य खगेन्द्रमान ताम्राकारले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै खगेन्द्रमान ताम्राकारले संस्थाकै जेष्ठ सदस्यलाई प्रमुख अतिथि बनाएर सहकारीका सेयर सदस्यहरुलाई उत्साह थप्ने काम गरेको वताउदै सहकारीमा आवद्ध सम्पूर्णले सहकारीको मर्म अनुसार काम गर्दै सहकारीलाई उत्कृष्ट बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुुभयो । त्यस्तै संस्थाका सल्लाहकार टुव राज बास्तोलाले सहकारीको सिद्धान्त अनुसार सहकारी अगाडि वढ्दै उत्पादनशील क्षेत्र संगै ब्यवशायी क्षेत्रमा सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा स्नातक र स्नाकोत्तर उतीर्ण भएका सहकारीमा आवद्ध शेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शेयर सदस्यहरु विश्व हरि जोशी र अनिता जोशीका सुपुत्री एलिना जोशी (ब्याचलर अफ साइन्स एण्ड नर्सिङ) विशिष्ट श्रेणीमा उतीर्ण, नविन नापित र कमला नापितका सुपुत्र र सुपुत्री सृष्टी नापित (बीडिएस) प्रथम श्रेणीमा उतीर्ण र अभिषेक नापित (ब्याचर अफ साइन्स) द्धितिय श्रेणीमा उतीर्णलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट बचत गर्ने शेयर सदस्यहरु जुनाकुमारी पोख्रेल पन्त, राजु श्रेष्ठ, आरती गुरुङ, रामकुमारी गुरुङ, पवन श्रेष्ठ र मोहनमान जोशीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकृष्ण बास्तोला, सचिव सचिव चिन्तामणी बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सिना र लेखा समिति संयोजक राजु श्रेष्ठले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदनमाथी सभाले अनुमोदन गरेको थियो । कार्यक्रमाम स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सरिता ताम्राकारले गर्नुभएको थियोभने सहकारीको सात सिद्धान्तको बाचन अध्यक्ष चिन्तामणी बास्तोलाले गर्नुभएको थियो । ६ सय ४३ शेयर सदस्य रहेको सहकारीमा ५ करोड १६ लाख ६ सय शेयर पुंजी रहेको छ ।
दुलेगौंडा: तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कारकालागि सम्मानित व्यक्ति छनौट गरिएको छ । पहिलो पटक प्रदान गर्न लागिएको सम्मानमा पत्रकारितातर्फ अग्रज पत्रकार विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्त बहादुर रिमाल छनौट भएका छन् । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो । सम्मानित हुन लागेका अग्रज पत्रकार भण्डारी ४ दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । दमौलीबाट प्रकाशित हुने भञ्ज्याङ दैनिकको संस्थापक सम्पादक भण्डारीले सम्पादकीय संग्रह भाग १ र २ प्रकाशन गरेका छन् । स्याङ्जाको हरिनाश–२ खहरेमा जन्मिएका भण्डारी हाल भिमादमा बस्दै आएका छन् । यसैगरी साहित्यतर्फ सम्मानित हुन लागेका ७३ वर्षिय आचार्य वि.स. २०२२ सालदेखि साहित्यका विभिन्न विधामा कलम चलाउन थालेका हुन् । शुक्ला साहित्य संगमका संस्थापक एवम् संरक्षक रहेका उनका आधी दर्जन कविता संग्रह र कृति प्रकाशित छन् । लमजुङको मध्यनेपाल नगरपालिकामा जन्मिएका आचार्य दुलेगौंडामा बस्दै आएका छन् । यस्तै समासेवातर्फ छनौट भएका ७७ वर्षिय रिमालले यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा शनिवार बसेको बैठकले पुरस्कृत व्यक्ति छनौट गरेको हो । छनौट समिति सदस्यहरुमा रेडियोका अध्यक्ष ज्योती श्रेष्ठ, सदस्य टिकाराम श्रेष्ठ र सल्लाहकार आनन्द सुन्दर श्रेष्ठ रहेका थिए । रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ । रेडियोको सातौं वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनको अवसरमा सोमवार दुलेगौंडामा आयोजना हुने विशेष कार्यक्रममा प्रदेशभा सदस्य श्यामराजा महतले सम्मान गर्ने कार्यक्रम रहेको सचिव ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । सोहि अवसरमा रेडियोले प्रत्येक वर्ष उत्कृष्टस्रोता र विज्ञापनदातालाई सम्मान गर्ने कार्यक्रम राखिएको प्रसारण समिति संयोजक टिकाराम श्रेष्ठले जानकारी दिए । ६ वर्षअघि स्थापित रेडियोमा गीत संगीतको अलवा हाल दैनिक ७ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ ।
म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भदौ, असोज र कात्तिक तथा फापरको फूल फुल्ने समय कात्तिकदेखि मङ्सिरमा अनुकूल मौसम भएका कारण फापर उत्पादन बढेको किसानले बताएका छन् । म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङका अधिकांश बारी र सिँचाइ नहुने तथा सुक्खा टारी खेतमा लगाइएको मिठे, तितेलगायत स्थानीय जातका फापर बालीमा दाना राम्रैसँग लागेपछि किसान खुसी भएका छन् । अन्य अन्नबालीको तुलनामा फापरका लागि धेरै मेहनत गर्न नपर्ने र गोडमेलको झन्झटसमेत नहुने भएकाले धान र गहुँको तुलनामा फापरखेती गर्नका लागि किसानले सजिलो मान्दै आएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । ग्रामीण भेगमा किसानले फापरको रोटी र ढिँडोजस्ता परिकार खाने गरेका छन् । पछिल्लो समयमा सहर बजार क्षेत्रमा समेत ठूला होटलमा फापरको ढिँडो र रोटी बढी प्रचलनमा छ । “फापरको माग बजारमा बढ्दै गएको छ”, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का शैलेन्द्र शेरचनले भन्नुभयो । फापरको पिठो मानव स्वास्थ्यका लागि उपयोगी हुनेमात्र होइन फापरको छवाली घाँस घर पालुवा गाई भैँसीका लागि पौष्टिक मानिने र फापरको भुस पनि खेर नजाने भएकाले खेतीमा किसानले जोड दिएको उहाँको भनाइ छ । फापरको पिठो गहुँ, मकै, कोदो र चामलको पिठोमा मिसाएर रोटी–ढिँडोलगायतका परिकार बनाएर खाने गरिन्छ । फापरको पिठो प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुँदै आएको छ । फापरको पिठो विभिन्न खालका औषधिमा समेत प्रयोग गरिन थालेको छ । बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा फापरखेती हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।
काठमाडौं: काठमाडौंको शंखपार्क नजिक आज ठेलागाढामा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा बा ९८ प ४८ ९८ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भई हाल काठमाडौं बस्दै आएका ३३ वर्षीय प्रकाश दुलाल गम्भीर घाइते भएका हुन् । उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजे चप्पल कारखानाबाट सुकेधारातर्फ जाँदै गरेको दुलाल सोही दिशातर्फ जाँदै गरेको ठेलामा ठोक्किएको थिए ।
बागलुङ: बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा सङ्घीय सरकारबाट अनुदान प्राप्त योजना हुन् । जिल्लाको १० वटै पालिकामा योजना परेका छन् । सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् । जिल्लामा सहजरुपमा सिँचाइको व्यवस्थापन गर्न सरकारले हरेक वर्ष करोडौँका योजना पार्दै आएको छ । यस वर्ष केन्द्र सरकारले रु सात करोड ५७ लाख र प्रदेश सरकारले ११ करोड ६७ लाख ३० हजार बजेट विनियोजन गरेको छ । दशवटै पालिकामा सहजरुपमा सिँचाइको व्यवस्थापन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको छ । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न कठिन देखिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका निमित्त डिभिजन प्रमुख झकलमान ओझाले जानकारी दिनुभयो । उहाँले यस कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आए पनि जनताको चाहनाअनुसार काम हुन नसकेको बताउनुभयो । “अहिलेसम्म बागलुङमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्रै सिँचाइ गर्न सकेका छौँ, जिल्ला भौगोलिकरुपमा विकट छ, खेतीयोग्य जमिन धेरै ठाउँमा छरिएर रहेको हुँदा जनताले चाहेअनुसार सिँचाइको व्यवस्थापन हुन सकेको छैनँ”, ओझाले भन्नुभयो । बागलुङमा सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पु¥याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उहाँले बताउनुभयो । सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । गत वर्ष पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष छ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि यस वर्ष जिल्लामा धान उत्पादनसमेत बढेको पाइन्छ । गत वर्ष १८ हजार तीन सय ५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार छ सय ९० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । बागलुङ नगरपालिका–४ का टीकाराम सापकोटाले जिल्लामै बढी धान फेदीमा उत्पादन हुने भन्दै यहाँ सिँचाइको राम्रो व्यवस्थापन नहुँदा हरेक वर्ष धान उत्पादनमा कमी आएको बताउनुहुन्छ । सापकोटा भन्नुहुन्छ, “यहाँ यति ठूलो धान फल्ने फाँट छ, तर सिँचाइको समस्या छ, कुलो सानो छ, खेतीयोग्य जमिन धेरै भए, धान रोपेपछि पानी पाउनै मुस्किल हुन्छ, कहिले त आकाशे पानीको भरमा खेतमा धान रोप्नुपर्ने अवस्था हुन्छ ।” स्थानीय यामबहादुर केसीले खेतीयोग्य जमिनमा सिँचाइको राम्रो प्रबन्ध नहुँदा परनिर्भर बन्नुपरेको बताउनुभयो । केसीले खोलाबाट खेतसम्म ल्याउने कुलो राम्रो नहुँदा किसानलाई बाली लगाउने बेला सिँचाइकै पिरलो हुने बताउनुहुन्छ । धान, मकै र गहुँ यस क्षेत्रमा राम्रो उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हरेक वर्ष उत्पादन घट्दै गएको उहाँको भनाइ छ । “हाम्रो गाउँ ठाउँमा बालीनाली निकै राम्रो हुन्छ, पहिले–पहिले सिँचाइको समस्या थिएन, अहिले मान्छे बढ्दै गएपछि खेती गर्ने ठाउँ पनि बढेको छ, पहिले निर्माण गरेका कुलो अहिले साँघुरा भए”, केसीले भन्नुभयो । बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।