पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ ठुलढुङ्गाचोक, गण्डकीवेसी प्रधान कार्यालय भएको एग्रो टुरिजम सहकारी संस्था लिमिटेडले आजदेखि विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सेवा केन्द्रको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री बुढाले आर्थिक समृद्धिका लागि उत्पादनसँग जोडिनु बर्तमानको आवश्यकता भएको बताउँदै सहकारीले कृषि र पर्यटनलाई जोड्ने लक्ष्यका साथ अघि बढाएको योजनाको सफलताको कामना गर्नुभयो । सहकारीका अध्यक्ष डिल्लीराम बरालले सहकारीले उत्पादनसँग जोडिदै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको बताउनुभयो । सहकारीले कृषि एम्बुलेन्स सञ्चालनको लक्ष्य लिएको बताउँदै उहाँले एक सहकारी एक उत्पादनको योजना अनुसार उत्पादित बस्तुको बजारीकरणमा पनि जोड दिइएको बताउनुभयो । उहाँका अनुसार संस्थाको सुरुको पूँजी चार करोड १२ लाख ५० हजार रुपैयाँ रहेकोमा शेयर सदस्य संख्या ४६७ जना रहेको छ । सहकारीका उपाध्यक्ष टीकाराम पौडेलले आँफूहरूको यो अभियान उत्पादन र पर्यटनलाई जोड्नु भएको बताउँदै यसबाट समृद्धि हासिल हुने विश्वास लिइएको बताउनुभयो् । उहाँले संस्थाले सहकारी नमुना ग्राम निर्माणको दीर्घकालीन लक्ष्य लिएको जानकारी गराउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष राधिका शाही योगी, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारी, अग्रसर बचत तथा ऋण सहकारी संस्थाका रजनी कोइराला, निरा पोखरेल लगायतले बोल्नुभएको थियो ।
पोखरा: बैदाम तामाङ सेवा समाज पोखरा ६ बैदामको ११औं साधारण सभा सम्पन्न भएको छ । बिहिवार लेकसाइडको खहरेमा रहेको पेमा ढेचेलिङ गुम्बामा साधरणसभा सम्पन्न भएको हो। साधारण सभामा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष रामबहादुर ह्लोन शिबुले बैदाम तामाङ समाज राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित रहेको बताए । उनले समाजले आयोजना गर्ने मिस तामाङ्कले पनि तामाङ समुदायको पहिचान जोगाउन सफल रहेको जनाए । अध्यक्ष ज्याक तामाङले समाजले तामाङ जातिको पहिचान हुने सबै कार्यक्रमहरु गर्दै आएको बताए । उनले समाजका युवाहरुलाई समय परिस्थिति अनुकुल शिक्षा र तालिमहरु दिदै जाने जनाए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले तामाङ समुदायको भाषा, संस्कृती लगाएतका अन्य पक्षहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा पूर्व उपाध्यक्ष जयन्ती मेक्तान, सल्लाहकारहरु धनबहादुर तामाङ, कृष्णबहादुर तामाङ र नेपाल तामाङ घेदुङ बैदामका पूर्व अध्यक्ष दोर्जे तामाङ लगाएतले बोलेका थिए । कार्यक्रममा सचिव निमा तामाङले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने कविता योञ्जनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने दुबै प्रतिवेदन पारित गरिएको थियो । यसका साथै भेलाले गुम्बाको प्रमुखमा लामा गुरु प्रेमबहादुर तामाङलाई नियुक्त गरेको छ । मनोज लामाको नेतृत्वमा सात सदस्यीय तम्बा टोलि गठन गरिएको छ ।
गलेश्वर: खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–१०स्थित तोरीपानीमा हुने गरेको छ । टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ पचास मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो । यहाँ उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौँको बजारमा बिक्री हुनाका साथै विदेशमा समेत निर्यात हुन थालेको उनले बताए । प्रतिकिलो रु दुई हजार पाँच सयदेखि चार हजारका दरले टिमुर बिक्री हुने गरेको सम्बद्ध कृषकहरुले बताए । बेनी नगरपालिका(९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । जिल्लाको २५ हेक्टर जमिनमा टिमुर खेती भएको उक्त कार्यालयले जनाएको छ । धेरैजसो कृषकले बोटबाट टिमुर टिपेर सुकाइ बजारमा पुर्याउने गर्दछन् । कतिपय ब्यापारी टिमुर खरिद गर्न गाउँमै आउने गरेका घतानस्थित भूमेसिद्ध टिमुर सञ्जालका अध्यक्ष सागर बानियाँले बताउनुभयो । यस वर्ष तोरीपानीमा एक सय दश मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सञ्जालअन्तर्गत १९ समूहका करिब एक सय घरधुरी कृषकले टिमुर खेती गरेका छन् । तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन् । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने योजना रहेको यहाँका कृषकले बताए । टिमुर खेतीले यहाँका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । स्थानीय जुनकिरी परियारले आफ्नो आम्दानीको मुख्य स्रोत नै टिमुर भएको बताए। गत वर्ष टिमुर बिक्री गरेर रु ३५ हजार आम्दानी भएकामा यस वर्ष फल लाग्ने समयमा असिना र पानी परेकाले टिमुर उत्पादन घट्नाका साथै आम्दानी पनि कम हुने चिन्तामा रहेको उनले उल्लेख गरे । जिल्लामा टिमुर उत्पादन र बजारीकरणका लागि सघाइरहेको गैरसरकारी संस्था इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सघाइरहेको बताए। यस वर्ष यहाँका कृषकलाई टिमुर टिप्न सजिलो होस् भनेर रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराएको पनि उनले जानकारी दिए । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताए । फूल फुल्ने र फल लाग्ने समयमा परेको असिना पानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उनको भनाइ थियो । टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ । गाईबस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रुपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिक रुपले खेती विस्तार भइरहेको छ ।
धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका–१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ । जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटनामा परेको हो ।
पोखरा: बैदाम तामाङ सेवा समाज पोखरा ६ बैदामको ११औं साधारण सभा सम्पन्न भएको छ । बिहिवार लेकसाइडको खहरेमा रहेको पेमा ढेचेलिङ गुम्बामा साधरणसभा सम्पन्न भएको हो। साधारण सभामा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष रामबहादुर ह्लोन शिबुले बैदाम तामाङ समाज राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित रहेको बताए । उनले समाजले आयोजना गर्ने मिस तामाङ्कले पनि तामाङ समुदायको पहिचान जोगाउन सफल रहेको जनाए । अध्यक्ष ज्याक तामाङले समाजले तामाङ जातिको पहिचान हुने सबै कार्यक्रमहरु गर्दै आएको बताए । उनले समाजका युवाहरुलाई समय परिस्थिति अनुकुल शिक्षा र तालिमहरु दिदै जाने जनाए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले तामाङ समुदायको भाषा, संस्कृती लगाएतका अन्य पक्षहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा पूर्व उपाध्यक्ष जयन्ती मेक्तान, सल्लाहकारहरु धनबहादुर तामाङ, कृष्णबहादुर तामाङ र नेपाल तामाङ घेदुङ बैदामका पूर्व अध्यक्ष दोर्जे तामाङ लगाएतले बोलेका थिए । कार्यक्रममा सचिव निमा तामाङले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने कविता योञ्जनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने दुबै प्रतिवेदन पारित गरिएको थियो । यसका साथै भेलाले गुम्बाको प्रमुखमा लामा गुरु प्रेमबहादुर तामाङलाई नियुक्त गरेको छ । मनोज लामाको नेतृत्वमा सात सदस्यीय तम्बा टोलि गठन गरिएको छ ।
बागलुङ: पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको सिकार भएको छ । नेपालका चार सिकार कम्पनीमार्फत आएका विदेशी सिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम सिकार गरेका छन् । पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र आठ वटा नाउरको कोटा निर्धारण गरिएको थियो । यस पटक एक वटा नाउरको सिकार हुन सकेन । एक नाउरको अनुमति प्राप्त गरे पनि ग्लोबल फारिसज प्रालिबाट सिकार गर्न जानुभएका अमेरिकी नागरिक निकोलस भाइन्सेन्ट रोड्रिगेजले बार्से सिकार ब्लकमा नाउरको सिकार गर्न चुक्नुभयो । यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत् अमेरिकी नागरिक वारर्डी ग्यारेट भानहोस्ले घुस्तुङ ब्लकमा एक नाउरका सिकार गर्नुभएको छ । हिमालयन सफारीमार्फत शिकारमा जानुभएको मेक्सिकोका सिकारी ओस्कार अलेक्जेन्डरले सुनदह र सेङ ब्लकमा एक झारल र एक नाउर, मेक्सिकोका सिकारी माउरीको जेभरले दोगाडी ब्लकमा एक झारल र एक नाउर र अमेरिकी सिकारी टलाएर लि इस्टनले दोवाडी ब्लकमा एक नाउर र झारलको सिकार गरेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । ग्लोबल सफारीमार्फत सिकारमा जानुभएका क्यानेडियाली सिकारी एडमन मिचेल रुक्सले फागुने ब्लकमा एक नाउर, जर्मनीका सिकारी इरिक डिटररिजरिष्टले फागुने ब्लकमा एक झारलको सिकार गर्नुभयो । ट्याक एण्ड ट्राभल्समार्फत सिकारमा निस्कनुभएका अमेरिकी सिकारी जोफ्रे माथेवप्राजिले दोगाडी र घुस्तुङमा गरी एक झारल र एक नाउर तथा अर्का अमेरिकी सिकारी मिचल कुर्तच्याम्पमेनले घुस्तुङ ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ । ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्न पाउँछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । हरेक वर्ष असोज–मरसङ र फागुन–वैशाख गरी दुई सिजनमा सिकार हुन्छ । विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यावसायिक सिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा सिकारीले एउटा नाउरको २० लाख र झारलको छ लाख रुपियाँ राजश्व तिरेका थिए । सिकार पर्यटनबाट प्रतिवर्ष करोडौँ रुपियाँ राजश्व ढुकुटीमा जम्मा हुन्छ । सिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने हो । सिकार पर्यटनमा विश्वका प्रसिद्ध सिकारी लाखौँ खर्च गरेर ढोरपाटन पुग्छन् । उनीहरू हेलिकप्टरमार्फत त्यहाँ पुग्ने गरेका छन् । आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रदर्शक, भरिया र सहयोगीसहित सिकार ब्लकमा पुग्छन् । आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ब्लकमा पुग्न दुईरतीन दिनसम्म लाग्न सक्छ ।
सिन्धुली: बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन्। उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएका छन् । ‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ’, उनले भने । विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् । ‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रुपमा लैजाने गरेका छन्’, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन्। एकै दिनमा रु ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् । किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताए । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन् । उनी जुनार बेचेर वर्षको रु एक लाख बचत गर्छिन्। खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरुपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो रु ६५ देखि रु ७० सम्ममा किसानसँग खरिद गरी रु ८० देखि रु १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन् । गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष रु सात लाख २० हजार आम्दानी भएको बताए । उनको बगैचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन् । किसानको बगैचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन । जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ । जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ । पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनी बताउँछन् ।
गुल्मी: गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषदमार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम रु दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौँका इञ्जिनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइले रङ्गशालाको रूप दिएको छ । दोस्रो चरणमा रु एक करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रङ्गशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जिनियर शाहीले बताए । पहिलो चरणमा गरिएका काम भत्कँदै जाने र दोस्रो चरणको काम समयमै सुरु नहुने कारणले गर्दा रङ्गशाला निर्माण हुने स्थानका स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । रङ्गशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय ओमबहादुर कुमालले तीन वर्षदेखि रङ्गशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए । “राम्रै चौर थियो गाईभैँसी चराउन भएकै थियो, दशैँमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो”, ६६ वर्षीय ओमबहादुर भन्छन्, “रङ्गशाला बन्दा खुसी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौँ”, उनले भने । सोही स्थानका बेदुमाया कुमाल पनि रङ्गशाला नबन्ने पिरलोमा छिन् । रङ्गशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा विस्तारै निराशामा परिणत भएको उनले बताइन् । सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदा हुँदैको चौरलाई रङ्गशालाको नाममा त्यसै छोड्न नहुने बताउँछिन् । राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए । “सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो”, उनी भन्छन्, “बेवारिसे अवस्थामा रङ्गशाला हुँदा भएको संरचना पनि भत्किन थाले”, उनले भने । रङ्गशाला निर्माण सम्पन्न भइसक्दा रु एक अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो । पन्ध्र हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने गरी चरण–चरणमा काम सुरु भएको हो । रङ्गशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका तीन सय २५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए । यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषदमार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने बताए । आफ्नो मातहतमा नभए पनि समय–समयमा रङ्गशालाको रेखदेख गर्ने गरेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरीकन रङ्गशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रङ्गशालामा बजेट नआउने भएकाले रङ्गशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए ।
चितवन: इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः १५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो । ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ । पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।