आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।   विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहु...

बागलुङः    राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । महासङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा प्रधानसम्पादक पाठकलाई आज यहाँ पुरस्कृत गरिएको हो ।  प्रधानसम्पादक पाठकलाई उक्त पुरस्कार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले एक समारोहबीच प्रदान गर्नुभयो । पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतमले आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न सो पुरस्कार स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ । यसैगरी रासस समाचारदाता रामबहादुर थापा, पत्रकार सिर्जना पन्त, सरोजराज पन्त र सज्जनकुमार सिंहलाई हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार प्रदान गरिएको छ । पत्रकार भाषा शर्मा र गणेश पौडेललाई ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’ तथा राजेशचन्द्र राजभण्डारीलाई ‘टीकाधना पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ । व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफ्नो बुबा नारायणप्रसाद र आमा हरिलक्ष्मीको स्मृतिमा २०७३ सालमा उक्त पुस्कार स्थापना गर्नुभएको हो ।

पोखरा:  पहिलो पाइला नेपाल पोखरा शाखाको आयोजना र धौलागिरि सम्पर्क समाज पोखरा विश्वविद्यालय सहयोगि संस्थाको भुमिकामा रहेर आयोजना भएको ‘चिया पिउँदै समाजसेवा’अभियान बिहिबार पोखरा विश्वविद्यालयमा संपन्न भएको छ।  पहिलो पाइला नेपालका कार्य समिति सदस्य साथसाथै धौलागिरि सम्पर्क समाजका सचिव विकास जंग कुवरले कार्यक्रममा पोखरा विश्वविद्यालय विद्यार्थीहरुको भव्य उपस्थिति रहेको जनाउदैँ  कार्यक्रमलाइ सफलताका साथ सम्पन्न गर्न साथ दिने सम्पूर्णलाइ आभार व्यक्त गरे।  कार्य्रक्रममै कुवरले अभियानबाट पहिलो पाइलाका संयोजक समियुन निशालाई उठेको कुल रकम २३,८४० हस्तान्तरण गरेका थिए ।  ‘यस अभियान बाट उठेको  रकम गरिब तथा विपन्न वर्गका बालबालिकालाइ जाडोमा न्यानो कपडा वितरणमा,बालबालिकालाई र क्यान्सर पीडित हिमा कुमारी आलेलाई सहयोग गरिने’ निशाले बताइन ।

काठमाडौं:   काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

पोखरा:  पोखरा ११ काँहुडाडालाई पर्यटकिय केन्द्र बनाउने योजनासहित गठित धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिको सातौं वार्षिक साधारणसभा बिहिबार पोखरामा सम्पन्न भएको छ । पोखरा ३ नदिपुरस्थित धर्मशिला बुद्ध बिहारमा आयोजित साधारणसभाको प्रमुख अतिथि समितिका सल्लाहकार शंकर गुरुङले दीप प्रज्जलन र विहारका भिक्षु धजवन्तले मन्त्रोबाचन गरी उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि शंकर गुरुङ, सल्लाहकारहरु तिथ श्रेष्ठ, बिलबहादुर गुरुङ र कर्णेल राजकाजी गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। समितिका सचिव पुर्ण लामा र कोषाध्यक्ष श्याम शाक्यले प्रस्तुत गर्नुभएको वार्षिक र आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो। धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी(मैना) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सम्मानित र निर्वाचित समितिका पदाधिकारी एवम सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो भने उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पुर्ण लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कालिकोट:  कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।  बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव सोमबार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबीका चालक मंगल चुडारीको शव मंगलबार फेला परेको हो ।  सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीसँगै दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीकोे खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।  मंसिर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनामा घटनास्थलमै २ जनाको मृत्यु भएको थियो । यससँगै मृतकको संख्या ५ पुगेको छ ।   

बाजुरा:  बाजुरा जिल्लाको पुर्वी उतरी क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिका वडा नं.१ मुक्तिकोटकि एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।    १८ वर्षीय पवित्रा कडारालार्ई हेलिकप्टर मार्फत मार्फत उद्धार गरिएको सामाजिक अगुवा रन्दीप बुढाले बताए । उनले भने, ‘स्वाथ्य संस्थाले ३ दिन अगाडी रिफोर गरी सकेको भए पनि गर्भवती महिला पवित्रा कडारको आर्थीक अभावको कारण  सुत्केरी बेथा लागेकी कडारालाइ घरमै बसाएकोले उनको स्वस्थ्य अवस्था जटील बन्दै गएपछी आज नेपाली सेनाको हेलिक्प्टर मार्फत उद्वार गरिएको हो ।’ पवित्रा कडारालाई सुत्केरी बेथा लागेपछी मंसिर २५ गते सामुदायिक इकाई स्वास्थ्य केन्द्र फयालगाँउमा ल्याएर भर्ना गरिएको थियो । तर उक्त स्वास्थ्य इकाई केन्द्रमा पवित्रा कडारा सुरक्षित प्रसूती गराउन नसकेपछी हेलिकप्टर मार्फत मंगलबार सुर्खेत पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताएका छन् । स्वास्थ्य केन्द्रबाट हिजो रिफर गरिएकि पवित्रालाई आज राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत उनको उद्धार गरिएको सहायक प्रमुख विष्टले बताएका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।  

सिरहा:  सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो। गाँजा तयार हुन नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, ‘हामीले पाएको सूचना र यो गाँजाको बोट देखिने समय पनि भएकाले फडानी गरीरहेका छौ । सूचनाको आधारमा हामी गाँजा भएका ठाउँसम्म पुगेर फडानी गरिरहेका छौं।’ सानो छदा नदेखिने र सूचनासमेत नपाउने भएकाले अहिले गाँजा फडानी गरिरहेको प्रहरीको भनाइ रहेको छ। सिरहाको पूर्वपश्चिम राजमार्ग आसपास र विशेषगरी उत्तरी क्षेत्रका किसानहरूले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ।

धनकुटा:  शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्रे हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तत्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तत्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत रु २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो । सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन् २०२३ मार्च २२ मा सम्पन्न हुने गरी ठेक्का पाएको रायमाझी आजद जेभी प्रालि काठमाडौँका  प्रमुख प्रेम मगरले ७० प्रतिशत सडकको काम पूरा भएको जानकारी दिए । यस सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी  जिल्लासँग जोड्ने छ । यस सडकको निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । सुनसरी र भोजपुर जिल्लासँग प्रत्यक्ष पहुँच राख्न सहयोग राख्ने यस सडकले गाउँपालिका क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लान विशेष सहयोग पुग्ने उनले बताए ।

धादिङ:  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।  जस्ता र काठको कच्ची घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए । “विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा भने कपडा ओडिइराखेको अवस्थामा छ”, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, “निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौंँ ।”  मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।