पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

काठमाण्डौ:  सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो ।   सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ । वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ ।   तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्दा उनीहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदा परिचयपत्रका आधारमा प्रदान गर्ने गरिब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झविन्द्र पाण्डेले जानकारी दिनुभयो । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारले आफ्नो क्षमताअनुसार उनीहरूलाई सहुलियत प्रदान गर्नेछन् ।   सरकारले उनीहरूलाई शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य बिमाका साथै गरिबी न्यूनीकरणका परियोजनामा प्राथमिकता दिएको छ । २०७० सालमा गरिब पहिचानको कार्यक्रम शुरु गरिएकोमा शुरुमा २६ जिल्ला र २३ जिल्लाका गरिब पहिचान गरिएको थियो ।   बाँकी २८ जिल्लामा पहिचानका कार्य सकिएकाले आगामी वर्षमा परिचयपत्र वितरण गरिने छ । पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि सरकारले अहिलेसम्म झण्डै एक अर्ब ५३ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ । 

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका (८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनका अनुसार असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२ (०२६ प। ०६५३ नम्बरको मोटरसाइकलले घिमिरेलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।   उपचारको क्रममा सोमबार साँझ न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको डिएसपी पाठकले बताए।   प्रहरीका अनुसार मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका (५का २० वर्षीय राजन थापा र मोटरसाइकल पछाडि बस्ने २४ वर्षीय साजन कार्की सामान्य घाइते भएका थिए।  

काठमाण्डौ: काठमाण्डौ महानगरपालिकाले हनुमानढोका परिसरभित्र गाडी निषेध गरेको छ ।   महानगरका मेयर बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताउनुभयो । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।’    वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गर्नुभएको छ । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र गाडी निषेध गरिएको मेयर शाहले बताउनुभयो ।

काठमाडौं: मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।   नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।   आज छापावाल सुनको मूल्य एक लाख १० हजार रुपैयाँ प्रतितोलाबाट बढेर एक लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।   तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० रुपैयाँबाट बढेर एक लाख ९ हजार ८५० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पोखरा:    गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले स्नातक तहको प्रश्नपत्र नेपालीमा बनाउन  माग गरेका छन् ।   प्रदेश सभाको मंगलबार बसेको बैठकको शून्यमा समयमा बोल्दै सांसद बरालले स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्गेजी र उत्तर नेपालीमा दिने व्यवस्था छ अब प्रश्नपत्र पनि नेपालीमा हुने व्यवस्था गर्न माग गरेका हुन् ।   ‘स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा, उत्तर नेपालीमा दिन पाइने व्यवस्था छ’, सांसद बरालले भने, ‘यो प्रश्नपत्र अङ्ग्रेजीमा हुने कुराले विद्यार्थीहरुले आफ्नो ज्ञान प्रस्फुटन गर्न अप्ठेरो भएकाले यो प्रश्नपत्र पनि नेपाली विषयमा बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहान्छु ।’   यसअगाडि संघीय संसदमा पनि प्रश्नपत्र नेपालीमा बनाउन सांसदले माग गरेका थिए । 

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।   बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका १ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उहाँका तीन जना नातिनातिनाको ज्यान गएको हो ।   पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार पहिरोमा परेर १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको ज्यान गएको हो । ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी भएका उहाँले बताउनुभयो ।   पहिरोमा पुरिएका अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् । 

दार्चुला:  गएरातिको वर्षाका कारण पहिरो खसेपछि दार्चुलाको महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ ।   सडक माथिबाट पहिरो खसेपछि मङ्गलवार आज बिहानदेखि यो सडकको पनेबाजदेखि ऐरिछानासम्मको खण्ड अवरुद्ध भएको हो ।   हिलोसहित ढुङ्गा खसेपछि सडक अवरुद्ध हुँदा गाडी सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार यो सडक खण्डको विभिन्न ठाउँमा पहिरो थुप्रिएको छ । सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने गाडी बाटोमै रोकिएका छन् ।   पटक–पटक पहिरोका कारण अवरुद्ध हुने यो लोकमार्गमा छोटो दूरीका गाडी समेत सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नु परेको छ ।    बिहानैदेखि डिभिजन सडक बैतडी पाटनले पहिरो हटाउने प्रयास गरिरहेको भए पनि अवरुद्ध लोकमार्ग खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । 

काठमाण्डौ:  मुग्लिन–नारायणगढ सडकमा यतिबेला सामान्य रुपमा गाडी चलिरहेका छन् ।   हिजो बिहान सवा सात बजेदेखि यो सडकमा समान्य रुपमा गाडी आउजाउ भइरहेको प्रहरीले जनाएको छ । तर, पहिरोको जोखिम भने कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।   कार्यालयका अनुसार पहिरो गएपछि सडक खुलाउन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक खण्ड गएको बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।

रुपन्देही:  झुटो विवरण पेस गरी अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा प्रहरीले रुपन्देहीमा दम्पतीलाई पक्राउ गरेको छ ।    इलाका प्रशासन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४२ वर्षीय रमेश कसौधन र उनकी श्रीमती ४२ वर्यीया सीता कसौधनलाई आज साेमवार पक्राउ गरिएको हो । कसाैधन दम्पतीले आफूसँग नाता नै नरहेका एक जनालाई छोरा र दुई जनालाई छोरी भनेर झुटो विवरण पेस गरेका थिए ।   इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णु ज्ञवालीले पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यायल बुटवलको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनुभयाे । नागरिकताका लागि आवेदन दिन जाने व्यक्तिहरू रमेश र सीताका छोराछोरी हुन भनेर बुटवल–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको बताइएको छ ।   पक्राउ परेका रमेशले २०६७ जेठ ३० गते सीतासँगकाे विवाह दर्ता र छोरा मनोज तथा सरिता र सन्ध्या भन्ने छोरीहरू हुन् भनेर जन्मदर्ता गराएको देखिन्छ । रमेशले २०७६ सालमा सीतालाई वैवाहिक अङ्गीकृत नागरिकतासमेत दिलाइसकेका थिए ।    प्राप्त र प्रमाणित कागजातका आधारमा नागरिकताका लागि सिफारिस गरेको बुटवल–१ का वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।