काठमाण्डौ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गएको असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरी २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । यस अवधिमा पुरीको वैध आय एक करोड २० लाख ७७ हजार सात सय ४८ रुपैयाँ बराबर रहेको पाइएको छ । त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत रहेको छ । यस अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार छ सय ९० रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । आयोगले बिगो बमोजिम जरिबाना र कैद सजायको माग गरेको छ । सार्वजनिक पदमा रहँदा गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ ।
पोखरा: गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको निसीखोला गाउँपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि हो । पालिकाबासीहरु सामान्य खेतीकिसान,भेडाबाख्रा,गाईभैसी पालनमै व्यस्त छन् । परम्परागत कृषि र पशुपालनलाई थप व्यवस्थित बनाउन स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम बनाएको छ । नयाँ आर्थिक वर्षको सुरुवातबाट नै गाउँपालिकाले कृषि उत्पादन,विस्तार र प्रवद्र्धनमा जोड दिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् । “वन जलस्रोत र संस्कृति, पर्यटन र कृषि,सभ्य सम्मुनत सुखी र समृद्ध निसी” भन्ने मुल नाराका साथ पाँच वर्षको मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पालिकालाई समृद्ध बनाउने कार्य सुरु भएको उपाध्यक्ष घर्तीमगरले बताए । “बार्हौ गाउँसभाबाट मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पाँच वर्षको आवधिक योजना बनाएका छौ”,उनले भने,“यसै योजना मार्फत पालिकाको नारामा उल्लेख गरिएका मुख्य विषयहरुलाई प्राथमितामा राखेर पुरा गर्ने कसरत गरेका छौ ।” स्थानिय सरकारले कृषि रणनीतिक योजना मार्फत पालिकालाई आत्मनिर्भर बनाउनका लागि मुख्य गरि आलुखेतिलाई प्राथमिता दिएको छ । पालिकाभर परम्परागत शैलिमा हुदै आएको यसखेतिको तथ्याङ्क संकलन कार्य जारी रहेकोले त्यपछि यसको उत्पादकत्व बढाउने,बजारीकरण गर्ने लगाएतका योजना बनाउने उनले बताए । पालिकामा विशेषगरि बर्खे र हिउदे गरि दुई सिजनमा आलु उत्पादन हुदै आएको छ । उपाध्यक्ष घर्तीमगरका अनुसार पालिकालाई तेलमा पनि आत्मनिर्भर बनाउने उद्धेश्यले गत वर्ष परिक्षण स्वरुप पहिलो पटक प्रत्येक कृषकलाई सुर्यमुखिको विउ वितरण गरिएको छ । यो अभ्यासले राम्रै उत्पादन दिने आशा पलाएको र तेल पेल्ने मेसिन पनि अनुदानमा उपलब्ध गराउने योजना रहेको छ । साथै निसीखोलाका निसेलढार लगाएत केहि उच्च स्थानमा स्याउ खेति हुदै आएकोले बाँकी स्थानमा यो खेतिको अभ्यास गरि पालिकालाई स्याउ पकेट क्षेत्र विस्तार गर्ने क्रम जारी रहेको र यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ । “हाम्रो पालिकामा ४ हजार उचाई भन्दा माथि पर्ने भुगोल छन्,निसेलढोर लगाएत उच्च स्थानमा स्याउखेति हुदै आएको छ”,उपाध्यक्ष घर्तीमगरले भने, “हावापानी र सुहाउदो माटो अनुसार बाँकी ठाँउमा पनि स्याउ पकेट क्षेत्र विस्तार गर्ने यस वर्ष १० लाख बजेट विनियोजन गरेका छौ ।” अवको ५ वर्षमा स्थानिय सरकारले भांगो खेति,तेलहन खेति,स्याउ,आलु,मकै,जौँ,गहुँ लगाएत रैथाने बालीको संरक्षणमा जोड दिदै आत्मनिर्भरताको कदम चालेको छ । “कृषि र पशुपालनमै आश्रित यहाँका स्थानियले उत्पादन गरेको वस्तुले राजधानी काठमाडौँसम्मको बजार धान्न सक्ने क्षमता छ,उनले भने, “अझै उत्पाकत्व बढाउने र बजारीकरण गरि स्थानियको आयआर्जनलाई सुनिश्चित गर्न स्थानिय सरकारले हरपर्यत्न कोसिस गरिरहेको छ ।” समुन्द्रि सतहबाट ८ सय ८९ देखी ४ हजार मिटर सम्मको उचाईमा र २४४.३७ वर्ग कि.मी. क्षेत्रफल फैलिएको निसीखोला गाउँपालिका प्रशस्त हरियो घाँसे मैदान र चरिचरणको सुव्यवस्थित भुगोल समेत हो । प्रशस्त चरिचरणको भौगलिक सु–व्यवस्थाकै कारण हाल करिव २५ हजारको संख्यमा भेडाबाख्रासंग कृषकहरु आवद्ध रहको उनको दावी छ । किसानलाई प्रत्साहन गर्नका लागि अवको एकवर्षमा संघ सरकारबाट उपलब्ध भएका कृषि तथा पशुमा आधारित विभिन्न अनुदानका कार्यक्रमलाई लागु गर्ने स्थानिय सरकारले तयारी गरेको उनले बताए । “स्थानिय सरकाले यो वर्षदेखि कृषकलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु ल्याउने योजनामा छ,यो सेवा प्राप्त गर्नका लागि कृषकहरु पालिकाको सम्पर्कमा आउनुपर्छ,” उनले भने,“हाम्रो पालिका जिल्लाको निकै विकट भुगोलमा पर्छ,पर्याप्त सुचनाको सुविधा छैन र वास्तविक कृषकलाई फुर्सद नभएकोले सेवाको पहुँच सम्म आउन समस्या छ,त्यसैले अव छिट्टै हामी नै स्थलगत रुपमा कृषक कहाँ पुगेर तथ्याँक संकलन गरि उनीहरुलाई सेवाको पहुँचमा ल्याउने योजना बनाएका छौ ।” स्थानिय सरकारसंग पर्याप्त बजेट नभएपनि यहाँका कृषकको आवश्यकता र भोगोलका दृष्टिले के–कस्तो कार्यक्रम ल्याउन सकिन्छ त्यसको विषयमा पालिकाले स्थानियसंग छलफल,अनुसन्धान र अभ्यास जारी राखेको उनले बताए ।
खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा जीप दुर्घटना हुँदा पाँच जना घाइते छन् । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङका लागि छुटेको ००१ ज ३३८७ नम्बरको जीप हिजो बेलुका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा घाइते भएकामध्ये चार जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको छ । दुर्घटनामा जीपका चालक दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज थापा, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रोजी राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सरिस्मा राई र डाँडागाउँका सुमन थापा घाइते भएका हुन् । घाइतेमध्ये सुमन प्राथमिक उपचारपछि घर फर्किएका दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । जीपमा चालकसहित १४ जना थिए । पञ्चमी–याङसोलाटार सडक खण्डमा ठूलो ढुङ्गा खसेको र फुटाउने काम भैरहेका कारण वैकल्पिक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: एक टिभी शाेमार्फतजातिय सद्भाव भड्काउने खालकाे अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए । उनले भने, ‘चारदिन अघि तामाङ र मगर समुदायका विभिन्न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिनु भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ। अहिले पक्राउ पुर्जी जारी भएकाे छ।’ पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए । यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै अभिव्यक्ति दिएकी थिइन् । सो विषमा मुस्लिम समुदायले बेवास्ता गरेपनि नेपालको तेस्रो ठुलो जनसँख्या रहेको मगर समुदाय र तामाङ समुदायमा आँच पुगेको भन्दै चौतफी विरोध भएको थियो । त्यसपछि सदनमा सांसद इश्वरी घर्तीमगर र शुशिला तामाङले पाण्डेलाई कारवाहीको माग गरिएको थियो ।
काठमाण्डौ: राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रवार बिहान ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यस अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो । राष्ट्रपति पौडेललाई पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले त्यस क्षेत्रको जानकारी गराउनुभएको थियो ।
डडेल्धुरामा बुधबार रातिदेखि घरबाट निस्किएकी एक युवती मृत फेला परेकी छन्। आलिताल गाउँपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद बिहीबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। उनका अनुसार युवती राति घरबाट निस्केकी र पहिरोमा हाम फालेको भन्ने अनुमान गरिएको छ। यद्यपी, प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी टोली खटाएको डिएसपी भट्टले बताए। मृतक साउँद स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। मृतकका परिवारले घटना शंकास्पद भएकाले सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन्।
यस वर्षको मनसुनजन्य विपदबाट हालसम्म ३१ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार बुधबारसम्म यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता छन् भने ३४ जना घाइते छन्। ९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ। महाशाखाका अनुसार बाढी(पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट त्यहाँ ४ जनाको मृत्यु भएको थियो भने भने १८ जना अझै बेपत्ता छन्। ताप्लेजुङको पहिरामा ३ जनाको मृत्यु भएको तथ्यांक छ। त्यहाँ ३ जना अझै बेपत्ता छन्। पाँचथरको बाढीमा पनि ३ जनाको मृत्यु भएको थियो भनेर ३ जना अझै भेटिएका छैनन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको थियो। २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसको आकलन छ।
काठमाडौं: सत्तारूढ दल नेपाली कांग्रेसक सचेतक सुशिला थिङले तामाङ समुदायको संस्कृतिमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गरेकी छन् । एउटा टेलिभिजन कार्यक्रममा पाण्डेले तामाङ समुदायमाथि दिएको अभिव्यक्तिको विषयलाई लिएर उनले कार्यक्रम प्रस्तोता र अधिवक्ता पाण्डेलाई कारबाहीको माग गरेकी हुन् । 'अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा तामाङ मगरलगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट पर्ने गरी जुन अभिव्यक्ति दिनुभएको छ, त्यसको घोर आपत्तिजनक भएकाले घोर भत्र्संना गर्न चाहन्छु,' उनले भनिन्, 'हाड नाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजु बहिनीबीचमै विवाह हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधामा संलग्न हुने भन्ने अभिव्यक्तिले मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ ।' उनले यस्तो अभिव्यक्तिले आफू कति आपराधिक समुदायको माननीय भएछु भन्ने चिन्ता लागेको बताइन् । उनले गलत उदाहरण दिएर जाति समुदायको संस्कार संस्कृतिमाथि धावा बोल्ने जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ मर्मविपरीत भएकाले हदै सम्मको कारबाही गर्न माग गरिन् ।
काठमाडौँ : तामाङ, मगर, मुस्लिम लगायत समुदायको विवाह संस्कारबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ताविरुद्ध नेपाल तामाङ घेदुङले प्रहरीमा जाहेरी दिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै गुल्मीकी अधिवक्ता भगवती पाण्डेविरुद्ध घेदुङका कार्यवहाक अध्यक्ष कुमारसिंह घिसिङले काठमाडौं जिल्ला प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गरेका हुन् । अधिवक्ता पाण्डेले एक टेलिभिजन कार्यक्रममा हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीच हुने विवाहबारे घृणा फैलाउने अभिव्यक्ति दिएकी थिइन् । जाहेरीमा अभिवक्ता पाण्डेसहित कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रसारण गर्ने टेलिभिजनलाई विपक्ष बनाइएको छ । उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्तासमेत भइसकेको तामाङ घेदुङका कार्यवहाक महासचिव जगतमान लामाले जानकारी दिए । भगवती पाण्डे संघले टेलिभिजनलाई पनि विपक्षी बनाएको छ । कुनै समुदायको सामाजिक मान्यता, सांस्कृतिक मुल्य माथि चोट पुग्ने गरी र जातिय घृणा उत्पन्न हुने कुनै सामग्री प्रशारण पत्रकार आचार संहिता विपरित भएको कारण टेलिभिजनलाई विपक्षी बनाइएको हो । प्रेस काउन्सिल नेपालद्धारा जारी पत्रकार आचारसंहिता, २०७३ मा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको दोस्रो बुँदामा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’