काठमाण्डौ: पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षकी बालिकाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा शीतल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो । घाइतेमध्ये चार वर्षका प्रिन्स क्षेत्री र ५० वर्षकी चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो । उकालो बाटोमा गुड्दै गरेको जीप अनियन्त्रित भइ सडकबाट झण्डै ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दार्चुला: भारतले धार्चुलाको नयाँबस्तीमा विस्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गर्दा उछिट्टिएको ढुङ्गाले लाग्दा नेपालतर्फ घर र गोठमा क्षति पुगेको छ । भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माण गर्दा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्याएको हो । बिहीवार र शुक्रवार लगातार सडक निर्माणका लागि विस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । ुब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले विनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छु, स्थानीय नरभान बडूले भन्नुभयो ।
चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो ३ बजे गौरीगन्ज गाउँपालिका-१ टुनु बस्तीकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। सिला खेतमा काम गरेर घर फर्किएकी थिइन्। फोन आएपछि मोबाइल उठाउँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले बताए।
जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन्। असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए। चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए। सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो। पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ। भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या भएको उनीहरुले बताए। ‘यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो,’ उनले भने। स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए। ‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ,’ उनले भने। स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।
काठमाण्डौ: देशभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिनै लाग्दा यसवर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गएको वर्ष भन्दा यसवर्ष १२ प्रतिशत कम रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म ६५ प्रतिशत रोपाइँ भएको थियो । देशभर १३ लाख ५७ हजार हेक्टरमध्ये अहिलेसम्म सात लाख १८ हजार हेक्टरमा रोपाइँ भएको छ । पोहोरको तुलनामा यसवर्ष कम रोपाइँ हुनुमा मनसुन र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको मुख्य प्रभाव रहेको कृषि मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । साउनको दोस्रो हप्तासम्ममा ९० प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको अनुमान छ । यसवर्ष मधेस प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको थियो । यस वर्ष मनसुनमा पानी कम पर्ने यसअघि नै पूर्वानुमान गरिएको थियो । सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । त्यस्तै जनशक्तिको अभाव र लागत महंगो हुँदा पनि किसान समस्यामा छन् । यहि बेला पशुचौपायमा लम्पी स्कीन रोग फैलिएको छ । यो रोगबाट मुख्य गरी गोरु सङ्क्रमित हुँदा रोपाइँमा असर परेको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजार भन्दा धेरै पशु चौपायामा लम्पी स्किन रोग देखिएको छ । सङक्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् ।
काठमाण्डौ: काठमाण्डौ महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेट सर्वसम्मतले पारित भएको छ । उपमेयर सुनिता डङ्गोलले गएको असार १० गते २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट नगरसभामा पेश गर्नुभएको थियो । हिजो बसेको नगरसभाको पाँचौँ बैठकमा मेयर बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेश गरेपछि पारित भएको हो । महानगरले चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरेको छ । असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेका थिए । विरोधपछि बैठक २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल हिजो सकिएपछि नगरसभाबाट बजेट पारित भएको हो । महानगरले आउँदो आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १४ करोड धेरै बजेट ल्याएको छ ।
बुढानिलकण्ठमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बुढानिलकण्ठ नगरपालिका -९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी-३ का २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।
भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन्। सुर्यविनायक नगरपालिका(७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन्। असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाठकले जानकारी दिए। ‘शव काठमाडौं मेडिकल कलेज ( केएमसी) लगिएको छ, बाहिरी चोटपटक देखिएको छैन,ʼ डिएसपी पाठकले भने। उनलाई प्रहरीले १६ गतेदेखि खोजीरहेको थियो तर भेटिएकी थिइनन्। उनका श्रीमान् रामकुमार नगरकोटीको आग्रहमा बिहिबार पुन जंगलको बाहिरी भागमा खोज्दा माया मृत भेटिएको डिएसपी पाठकले जानकारी दिए।
काठमाण्डौ: सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । आज शुक्रवार बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ । ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।